एउटा घतलाग्दो समाचार weeklynepal.comबाट

साउन ३२ । माओवादीका ‘सेरेमोनिएल’ अध्यक्ष प्रचण्ड रहस्यमयी एवम् गैरसरकारी संस्थामा आबद्ध भई विभिन्न गतिविधिमा संलग्न रहने गरेको विषयलाई माओवादी पार्टीले गम्भीरताका साथ लिएको र त्यस विषयलाई लिएर प्रचण्डसँग स्पष्टीकरण लिने तयारी भइरहेको समाचार प्राप्त भएको छ। पार्टीको अध्यक्षजस्तो सम्मानित एवम् जिम्मेवारपूर्ण भूमिकामा रहेका र प्रधानमन्त्री भइसकेका व्यक्ति कुनै राष्ट्रिय या अन्तर्राष्ट्रियस्तरको गैरसरकारी संस्थामा संलग्न हुन पाउने कि नपाउने भन्ने प्रश्न माओवादीभित्र उठेको छ।

प्रचण्ड एपेक (एसिया प्यासेफिक एक्सचेञ्ज को–अपरेसन) नामक रहस्यमयी गैरसरकारी संस्थाको उपाध्यक्ष भएको कुरालाई पार्टीले गम्भीरताका साथ लिएको हो। यसअघि नामसम्म नसुनिएको उक्त एपेक नामक संस्थाले लुम्बिनीको विकासका लागि सवा तीन खर्ब रुपैयाँ लगानी गर्ने एकतर्फी घोषणा गरेको छ। चिनियाँ सरकारको डमी संस्था मानिएको एपेकमा पूर्वयुवराज पारस पनि उपाध्यक्ष हुनु र मरिचमानसिंहद्वारा कुनै बेला गठित ‘सेभ द नेसन’ नामक जत्थामा कोषाध्यक्षका रूपमा कार्यरत व्यक्तिसमेत संस्थामा आबद्ध देखिनुलाई पार्टीका नेताहरूले सामान्य रूपमा लिन सकेका छैनन्। माओवादी पार्टीलाई ध्वस्त गर्न ठूलै शक्ति सक्रिय रहेको र त्यसनिम्ति अध्यक्ष प्रचण्डलाई नै प्रयोग गरेको हुनसक्ने माओवादी नेताहरूले ठानेका छन्। यस सम्बन्धमा माओवादीका एक नेताको ध्यानाकर्षण गर्दा उनले भने, ‘चीनका या कुनै अर्को देशका पूर्वराष्ट्रपति या प्रधानमन्त्रीलगायत राजनीतिकर्मीहरू संलग्न भई संस्था निर्माण गरिएको भए त्यसको एउटा बेग्लै अर्थ र महत्त्व हुन सक्थ्यो, अराजनीतिक र असान्दर्भिक मान्छेहरूलाई समेटेर बनाइएको, पृष्ठभूमि र ‘क्रेडिबिलिटी’ नभएको रहस्यमयी

गैरसरकारी संस्थामा संलग्न हुनुलाई हामीले आपत्तिजनक मानेकाछौँ। पार्टीलाई एनजीओकरण गर्न हामी दिँदैनौँ।’

प्राप्त जानकारीअनुसार आफू एपेकमा संलग्न हुनेबारेमा प्रचण्डले पार्टीलाई कुनै जानकारी गराउनुभएको थिएन र त्यसनिम्ति पार्टीको स्वीकृति लिनुभएको पनि थिएन। पार्टीको आगामी बैठकमा यस सम्बन्धमा कुरा उठ्ने र प्रचण्डसँग स्पष्टीकरण मागिने भएको छ। पार्टीको अध्यक्ष भएर के कारणले एनजीओमा सामेल हुनुभएको हो र केका निम्ति प्रचण्डले एपेकलाई हतियार बनाउन खोजिएको हो त्यस सम्बन्धमा प्रचण्डले पार्टीलाई स्पष्ट पार्नुपर्नेछ। ठूलो धनराशि (तीन खर्बभन्दा बढी) भित्र्याउने धाक देखाएर पार्टीभित्र र बाहिर व्यक्तिगत प्रभाव पार्न खोजेको माओवादी नेताहरूले ठानेका छन्। प्रचण्डको कार्यव्यवहारले पार्टी र सरकारलाई नै भविष्यमा अप्ठ्यारो पार्नसक्ने पनि माओवादी नेताहरूको भनाइ छ।

पार्टीलाई दरबारिया र दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको आरोप लागिरहेको सन्दर्भमा पूर्वयुवराज पारससँग एउटै संस्थामा अध्यक्ष नै आबद्ध भइदिँदा त्यस्तो आरोप लगाउनेहरूलाई बल पुगेको पनि माओवादी नेताहरूले ठानेका छन्। युद्धकालदेखि अहिलेसम्म पार्टीको हरहिसाब पारदर्शी नगरिएको र पैसाकै बलमा प्रचण्डले आफ्नो प्रभाव विस्तार गर्ने नियत राखेको हुनसक्ने धेरैले ठानेका छन्। उहाँको कार्यव्यवहारलाई लिएर गम्भीर प्रश्नहरू उठिरहेको यस घडीमा प्रचण्डले कुन अस्त्र प्रयोग गरेर सफाइ लिन खोज्नुहुने हो प्रतीक्षाको विषय बनेको छ।

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.