ज्ञवाली कमरेड ! इतिहासलाई विकृत नपारौँ

आफूलाई क्रान्तिकारी क्याम्पको भन्नु र देखिनु पर्ने, तर क्रान्तिकारी आदर्श, नैतिकता र मूल्यको पालना गर्नु नपर्ने मार्क्सवादकै उपहास हुने काम एकीकृत माओवादी  पार्टीको सांस्कृतिक मोर्चाका ‘कमाण्डरहरू’ बाट भइरहेको छ र बडे कमरेडहरूको मौनता पनि यसमा रहस्यमय बनेको छ । ऋषिराज बरालको विचार, प्रतिबद्धता, दृढता र सक्रियतालाई पराजित गर्न नसकेपछि अनेक फत्तुर र आधारइलाकीय दम्भ बोकेको केही ठेट्नाहरू र ईश्वरचन्द्रहरूको संयुक्त मोर्चाले होहल्ला र हुलहुज्जत गरेर ऋषिराज बराललाई अखिल नेपाल जनसांस्कृतिक सङ्घको नेतृत्वबाट हटाउने बडो योजनाबद्ध काम भयो । बरालले जेजे भनेका र अवधारण प्रस्तुत गरेका थिए, अहिले आएर ती सबै  सही साबित र प्रमाणित भएका छन् । महान् सहिदहरूको रगतसित गाँसिएको सङ्घ ‘महासङ्घ’ बन्दै अराजकताको पराकाष्टामा पुगेको छ ।  यसबारे बरालको पुस्तक सत्ता र संस्कृतिमा वृस्तृत रूपमा पढ्न पाइन्छ ।

यो मात्र होइन, सो सम्मेलनपछि सिङ्गो जनसांस्कृतिक आन्दोलन र यसमा महत्त्वपूर्ण भूमिका खेलेका ऋषिराज बरालका विरुद्ध जसरी युद्धकै घोषणा गर्ने  काम भयो, यो सांस्कृतिक आन्दोलनको इतिहासमा एउटा कलङ्क नै थियो । पार्टीको सांस्कृतिक विभागले समेत पारित गरेको सम्मेलनमा बरालद्वारा प्रस्तुत प्रतिवेदनलाई उल्टाइयो र २०६० सालमा मात्र मोर्चाको केन्द्रमा आएका ईश्वरचन्द्र ज्ञवालीलाई २०४८ मा केन्द्रमा आएको भनेर लेखियो । यस्तै थुप्रै मनगढन्ते कुराहरू लेखियो ।   प्रमाण र  आधारसहित यसको खण्डनमनन पनि सत्ता र संस्कृतिमा गरिएको छ । सो पुस्तक प्रकाशित भएपछि कम्तीमा पनि बडे कमरेडहरूले विचारविमर्श गरेर त्यो गल्ती सच्याउन लगाउलान् भन्ने लागेको थियो, तर त्यसो भएन । पछिल्लो राष्ट्रिय सम्मेलनपछि प्रकाशित प्रतिवेदनमा अझ थप गल्ती गरिएको छ । यो बडो उदेकलाग्दो विषय हो ।

हामीले बुझेको कुरा के हो भने क्रान्तिकारीहरू आदर्श र नैतिकतामा विश्वास गर्छन्, यसको पालना गर्छन् । उनीहरू  मूल्यको राजनीति गर्छन् । तर गजबको परिदृश्य देखिएको छ सांस्कृतिक मोर्चामा । २०४८ सालमा केन्द्रमा आएको मान्छेको नामगाम छैन । २०४८मा जिल्ला तहमा मात्र राखन योग्य ठानेर जिल्लामा राखिएका ज्ञवालीले आफूले तयार पारेको २०६३ को प्रतिवेनमा आफू २०४७ सालदेखि नै र २०६५ को प्रतिवेदनमा २०४८ मा केन्द्रमा रहेको भनेर लेखेका छन् । यो भन्दा लाजमर्दो र नैतिकताहीन काम  अरू हुन सक्तैन ।

साँच्चै हो,  क्रान्तिकारी देखिएर ताउरमाउर गर्नु र सही अर्थमा क्रान्तिकारी हुनु अलग रहेछ । कम्तीमा पनि चैतन्य कमरेड सांस्कृतिक मोर्चाको इञ्चार्ज भएको अवस्थामा यस्ता प्रवृत्तिहरू सच्याउने  काम हुन्छ भन्ने आशा गरिएको थियो । तर यहाँ पनि निरासा नै हात लाग्यो । कमरेडहरू ! हामी क्रान्तिकारी हौँ र आफूलाई क्रान्तिकारी  ठान्छौँ भने इतिहासलाई विकृत नपारौं र जे सत्य हो त्यसको सामना गरौँ । आत्मसात गरौँ। इमानदार बनौँ । होइन भने यस्तो ढोंगी र पाखण्डी क्रान्तिकारीताले फाइदा होइन, व्यक्ति र आन्दोलन दुवैलाई हानी नै पुर्याउंछ । आशा गरौँ क्रान्तिकारी इमानदारी र नैतिकताको पालना  हुनेछ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.