विस्तारवादी योजनाबद्धताका विरुध्द

student protestडा. ऋषिराज बराल

अहिले मुलुकको राजनीति समग्र रूपमा प्रधान न्यायाधीश खिलराज रेग्मीको वरिपरि घुमिरहेको  देखिन्छ । संसदवादी  तथा क्रान्तिकारी सबै राजनीतिक पार्टीहरूको चासो र सन्दर्भको विषय प्रधान न्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनु  ठीक र बेठीकको सन्दर्भमा केन्द्रित रहेको देखिन्छ । चासो र सन्दर्भ फरकफरक भए पनि अहिले सबै पार्टीहरू एउटै सन्दर्भमा जोडिएका छन् ।

सरसरती हेर्दा सन्दर्भ रेग्मीलाई पंधानमन्त्री बनाउने कि नबनाउने भन्ने प्रश्नसित गाँसिएको जस्तो  लागे पनि यथार्थ यो भन्दा फरक छ । यथार्थ जटिल छ र संवेदनशील पनि छ । खिलराजको प्रसङ्ग व्यक्तिप्रसङ्गमा सीमित सन्दर्भ होइन र यो  ‘शक्तिको पृथकीकरण’ को मात्र सन्दर्भ  पनि होइन । यो सन्दर्भ प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर संविधान सभाको निर्वाचन गराउने कुरामा मात्र सीमित छैन, यसको अन्तर्य खास योजनाबद्धतासित जोडिएको छ.। यथार्थतः  अहिलेको राजनीतिक गोलचक्करको परिदृश्यको   साइनोसम्बन्ध भारतीय विस्तारवाद र अमेरिकी–युरोपली साम्राज्यवादसित गाँसिएको छ भन्ने कुरा सबैभन्दा पहिले बुझ्नु आवश्यक छ । विद्यमान संविधान, नीति र विधिका दृष्टिले यो असान्दर्भिक त छँदै छ, त्योभन्दा  पनि गम्भीर र खतरनाक कुरा यससित जोडेर ‘नागरिकता’ को सन्दर्भलाई प्रमुख मुद्दा बनाउनु रहेको छ । यसका सन्दर्भमा पहिलेदेखि नै योजनाबद्ध किसिमले हिसाबकिताब मिलाएझैँ गरी, सुनियोजित  तथ्याङ्क तयार पारेर तराईमा यति लाख र उति लाखलाई नागरिकता दिनुपर्ने प्रस्ताव    मधेशवादी भनिएका पार्टीहरूबाट जसरी उठाइएको छ,  यो सारै खतरनाक योजनाबद्धताको उपज हो । सिङ्गो तराई र पहाडका सही नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने कुरामा विमति हुनु हुँदैन, यसलाई सरल र वैज्ञानिक बनाउनु पर्दछ । तर सङ्ख्या र पद्दतिसमेत किटेर नागरिकता बनाउनु पर्ने कुराहरू जसरी  आएको छ,  यो स्वाभाविक रूपमा आएको छैन भनेर सहजै बुझ्न सकिन्छ । यो विगतमा झैँ लाखौँ भारतीयलाई नागरिकता दिने परिपञ्चको उपज हो । यथार्थतः यी सन्दर्भहरू नेपालको सिक्किमीकरण र फिजीकरणसित गाँसिएका छन् । नेपालको सिक्कमीकरण र फिजीकरणका लागि भारतले बिस बर्से योजना बनाएको कुरा ‘शान्तिप्रक्रिया’ कै आरम्भमा चर्चामा आएको कुरा हो । मैथिली, भोजपुरी र अवधीजस्ता आफ्ना समृद्ध मातृ भाषाहरूलाई निषेध गर्दै कहिले हिन्दी भाषाको वकालत गर्ने र कहिले यति लाख र उति लाखको  नागरिकताको रेडिमेड तथ्याङ्क पेश गर्ने कथित मधेशवादी दलहरू अहिले यही भारतीय योजनाबद्धताको गोटी बनेका छन् भन्ने कुरा यो देशलाई माया गर्ने तराईदेखि हिमालसम्मका सबैले बुझ्नु आवश्यक छ ।

नेपालको सिक्किमीकरण र फिजीकरणको प्रक्रिया यताका वर्षहरूमा बडो मिहीन पाराले अघि बढेको छ  । कहिले कुन सन्दर्भ र कहिले कुन  सन्दर्भमा प्रकट हुने यो प्रकरण अहिले  खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रकरणमार्फत व्यवहारमा आएको छ । राष्ट्रियताका सन्दर्भमा प्रचण्डले हेटौँडामा गरेको जनमत सङ्ग्रहको ‘उदघोष’  पनि यसै  शृङ्खलाको एउटा कडी हो । भारतीय विस्तारवादी प्रवृत्तिको विरोध र राष्ट्रिय स्वाधीनताको पक्षमा  उभिनुको सट्टा प्रचण्डले हेटौँडा महाधिवेशनमा राष्ट्रिय स्वाधीनताका सन्दर्भमा जेजस्तो कुरा उठाए, यसले उनमा निहित  राष्ट्रिय आत्मसमर्पणवादको चिनारी मात्र दिँदैन, भारतीय विस्तारवादको योजनाको पनि खुलासा गर्छ । साथै सो योजना पूरा गर्न अहिले मधेशवादी भनिने दलहरू र प्रचण्ड–बाबुरामहरू एकै ठाउँमा उभिएको यथार्थको पनि द्योतन गर्दछ । एउटा डरलाग्दो परिदृश्यको सङ्केत हो यो । यहाँ डरलाग्दो सटटाबाजी चल्दैछ भनेर बुझ्नु आवश्यक छ । यसले नेपालको राष्ट्रिय स्वाधीनता र जनतन्त्रको प्रश्न जटिल र सङ्गीन बन्दै गएको छ भन्ने कुराको पुष्टि गर्दछ । यस्तो बेला प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरू सङ्गठित र संयुक्त भएर राष्ट्रिय स्वाधीनता र जनतन्त्रको पक्षमा सशक्त अभियान चलाउनुको विकल्प छैन ।

अमेरिकी तथा युरोपेलीहरू नेपालमा सङ्घीयता,  जातीय पहिचान र  यस्तैयस्तै अनेक नाममा डलरको प्रवाहमार्फत विखण्डन, विभाजन र विद्वेशको डरलाग्दो खेतीमा लागेका छन् । दुईतीन वर्षयताका घटनापरिदृश्यहरूले जसरी हुन्छ एकताबद्ध, सामूहिक र सङ्गठित मूल्यका विरुद्ध उनीहरू विखण्डन र विभाजनको बृहत्तर योजनामा सक्रिय छन् । नेपालको दक्षिणी सिमानामा भारतीय विस्तारवाद नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डताविरुद्ध दीर्घकालीन योजनामा लागेको छ भने युरोपेली र अमेरिकी शासकवर्ग डलरमा रमाउने खासखास जातिजनजाति व्यक्ति र संस्थाहरूमार्फत नेपालको उत्तरी सिमानामा नेपालको विशिष्टतामा ‘क्ल्यास अफ सिभिलाइजेसन’ को योजना कार्यान्वयनमा सक्रिय छ । साम्राज्यवादीहरू नेपालको उत्तरी सिमानामार्फत अझ उत्तरतिर आफ्नो योजना विस्तार गर्न खोजिरहेका छन्  भन्ने कुरा  हामी सबैलाई थाहा भएको  कुरा हो । समाजवादी मूल्यमान्यताका सन्दर्भमा चीनका बारेमा हाम्रा थुप्रै मतभेदहरू भए पनि भारतीय विस्तारवाद र अमेरिकी–युरोपेली साम्राज्यवादका विरुद्धमा चीनको भूमिकाले पार्ने प्रभावलाई हामीले  सकारात्मक रूपमा लिनु वैज्ञानिक हुन्छ ।

यसका साथै नेपालको राष्ट्रिय स्वाधीनता र क्रान्तिकारी परिवर्तनका विरुद्ध अमेरिकी–युरोपली साम्राज्यवादीहरू र भारतीय विस्तारवादले  खेलिरहेको षड्यन्त्रकारी भूमिका विरुद्ध विश्वका क्रान्तिकारी पार्टीहरू खासगरेर विगतमा रिमसित जोडिएका र अहिले पनि नेपालको माओवादी आनदोलनप्रति ऐक्यबद्धता जनाइरहेका माओवादी पार्टीको सहयोग र समर्थ प्राप्त गर्ने कुरामा नेपालका माओवादी क्रान्तिकारीहरूको जेजस्तो सैद्धान्तिक र व्याहारिक पहल र प्रयास हुनु  पर्थ्यो,  त्यसो हुन सकेको देखिँदैन ।   यो पक्ष एकदमै कमजोर देखिएको छ । यसले गर्दा हामीले चलाइरहेको राष्ट्रिय स्वाधीनता र जनतन्त्रको आन्दोलनले अन्तर्राष्ट्रिय चासो र आवश्यकताको व्यापक धरातल निर्माण गर्न सकेको छैन । एकातिर सङ्घीयता, जातीय पहिचान र यस्तै यस्तै बखेडाका कारण देशभित्रै पनि सहयोग र समर्थनको व्यापक धरातल निर्माण हुन सकेको स्थिति छैन भने अर्कोतिर कतिपय सैद्धान्तिक तथा व्यावहारिक अस्पस्टताका कारण हामीले  उठाएको राष्ट्रियता र जनतन्त्रजस्तो असाध्यै गम्भीर प्रश्न भाइचारा पार्टीहरूबीच बृहत् चासो र आवश्यकताको अभियान बन्न सकेको छैन ।

क्रान्तिकारी पार्टीहरूसितको सहकार्यको कुरा त परै जाओस्, साम्राज्यवादविरोधी विश्वका शक्तिहरूसित हातेमालो  गर्दै अघि बढ्ने वातावरणको तयारीमा पनि नेपालका माओवादी क्रान्तिकारीहरूको पहल र पहुँच पुग्न सकेको छैन । सिद्धान्तमा एउटा कुरा र व्यवहारमा अर्को कुरा देखिएकोले पनि केही अन्योल उत्पन्न गरेको छ । युरोपेली शासकवर्गका प्रतिनिधिहरूको सामु पुग्दा के गर्दा उनीहरूको चित्त बुझ्छ र के भन्दा उनीहरू खुसी हुन्छन्,  त्यही बोल्ने र भारतीय शासकवर्गका सामु पुग्दा पनि  यसै गर्दै  हामीहरू यस्ता होइनौँ र उस्ता होइनौँ भनेर उल्टै स्पटिकरण दिने गरिएको पाइन्छ ।  यसले भाइचारा पार्टीहरूलाई मात्र होइन,  साम्राज्यवादविरोधी–विस्तारवादविरोधी  शक्तिहरूमा समेत विश्वास निर्माण गर्न सघाउ नपुग्नु स्वाभाविक छ ।

नेपालको राष्ट्रिय स्वाधीनता र जनतन्त्रका विरोधीहरू हाम्रा बारेमा के भन्छन् भन्दा पनि हाम्रा सहयोगी र शुभचिन्तकहरू हामीलाई कसरी हेरिहेका छन् र  कसरी बुझिरहेका छन् भन्ने कुरामा हाम्रो ध्यान बढी जानु आवश्यक छ । हामी जति नरम र उदार भए पनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू हामीलाई विभिन्न किसिमले सिध्याएर मात्रै चैनको सास फेर्ने हुन् ।  उनीहरू हाम्रै पार्टीपङ्क्तिभित्र र अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरूमा समेत आशङ्का र अविश्वास पैदा गर्न चाहन्छन् भन्ने कुरामा हामी प्रस्ट हुनु जरुरी छ । हालै  दिल्लीमा कमरेड गौरवसित .निहार नायकले. भेटेर भनेको भनेर कुराहरू जसरी बाहिर आएका छन्,  यसले, “मोहन वैद्यहरूलाई पनि विस्तारवादी चाल र जालमा पार्ने योजनाको थालनी भइसकेको छ” भन्ने आम टिप्पणीलाई पुष्टि गर्दछ । विस्तारवादी चाल र षड्यन्त्रप्रति एकदमै चनाखो हुनु आवश्यक छ ।

साम्राज्यवादी–विस्तारवादीहरूसित ‘सुमधुर’ सम्बन्ध बनाउने चिन्ता र चिन्तनद्वारा होइन, प्रतिरोधात्मक सङ्घर्ष अघि बढाएर नै राष्ट्रिय स्वाधीनताको रक्षा हुन सक्छ भन्ने कुरामा हामी प्रस्ट हुनुपर्दछ । यही कुरा घरेलु प्रतिक्रियावादका विरुद्ध मुलकभित्र गरिने सङ्घर्षका सन्दर्भमा पनि लागु हुन्छ । खिलराज रेग्मी नेपालको राष्ट्रिय स्वाधीनता र जनतन्त्रका विरुद्ध नयाँ पुराना दलालहरूमार्फत अघि सारिएका गोटी मात्र हुन् भन्ने कुरामा प्रस्ट हुँदै नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा व्यापक राष्ट्रिय–अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नु अहिलेको आवश्यकता हो । यो काम नेपालका प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूको  संयुक्त प्रयास र पहलबाट नै सम्भव हुने हुनाले प्रयासको थालनी यसतर्फ प्रवृत्त हुनु जरुरी छ  ।

०००

फागुन २६, २०६९

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss