महाधिवेशन : उत्साहहीन निष्कर्ष

Maoist-Flagऋषिराज बराल

सात महिनाअघि अर्थात् २०६९ जेठमा प्रचण्ड–बाबुरामको नवप्रतिक्रियावादी गुटसित हामीले  आवेग र उत्तेजनामा सम्बन्ध विच्छेद गरेका थिएनौँ । त्यहाँ कसैले अमुक मन्त्री नपाउनु वा खास पार्टीपद नपाउनुको उत्तेजना र आक्रोस कारक तत्त्व बनेको थियो भन्ने लाग्दैन । त्यसको केन्द्रमा प्रमुख रूपमा वैचारिक पक्ष नै थियो । मूलतः राष्ट्रिय स्वाधीनता र जनतन्त्रको प्रश्न नै प्रमुख प्रश्न बनेको थियो । महान् जनयुद्धका बीचबाट विकसित भएको एउटा जुझारु शक्ति यस नयाँ अभियानको सशक्त मोर्चाका रूपमा अग्र पङ्तिमा आएको थियो । त्यहाँ विचार, राजनीति, नेतृत्व, कार्यदिशा सबै कुरा जोडिएर आएका थिए । त्यहाँ विश्वास र प्रतिबद्धता दुवै थियो । इतिहासबाट शिक्षा लिएर नयाँ ढङ्गको पार्टी निर्माण गर्दै नेपाली क्रान्तिलाई अन्तिम टुङ्गोमा पुर्याउँछौँ भन्ने अठोटका साथ हामीले नयाँ पार्टीको झण्डा उचालेका थियौँ ।

हामीसित हिजोका विरासतका राम्रा नराम्रा थुप्रै पक्षहरू निरन्तरतामा थिए । हिजोका फोहरमैला सफा गर्न र फोहरमैलाको डङ्गुरबाट राम्रो चिज छुट्याउन समय लाग्थ्यो । ‘शान्तिप्रक्रिया’ का यताका दिनहरूमा  हामीमा पनि बोसो बढेको कुरा सत्य हो । ‘ककस’ मा रमाउनुको दृश्य झलझली थियो आँखामा र त्यसको धङधङीले बेलाबेलामा खुट्टा धर्माराउँथे अगाडि बढ्न । मुखमा क्रान्ति र छातीमा मन्त्रीको सपना पनि हामीसित  टाँसिएको थियो । साथै यताका दिनमा  माओवादको ठाउँमा उत्तरआधुनिककतावादी एकल परिचयको राजनीतिको खेती पनि जोडतोडले हुन थालेको थियो ।  डलर राजनीतिको चर्को होहल्लामा वर्ग राजनीति हराउन थालेको जस्तो भएको थियो ।  र पनि सबै थरी विकृति र विसङ्गतिबाट मुक्त भएर हामी अघि बढ्न सक्छौँ भन्ने विश्वास र इच्छाशक्ति हामीमा थियो । हामीसित जेजस्तो वैचारिक र भौतिक शक्ति थियो, त्यसले हामी क्रान्तिको जहाज अघि बढाउन सक्षम हुन्छौँ भन्ने विश्वास र दृढता हामीमा थियो । सबैभन्दा महत्त्वपूर्ण कुरा हामीसित क्रान्तिकारी अठोट र बलिदानी भाव थियो ।

जुन उत्साह र विश्वासका साथ हामीले नयाँ पार्टी गठन गरेका थियौँ, त्यस किसिमले चिजहरू जान सकिरहेका थिएनन् । समस्या  के हो र  सङ्गति कहाँनेरी बिग्रेको छ भन्ने कुरा प्रस्ट हुँदाहुँदै पनि यो अमूर्तजस्तै बनेको थियो । विचार, सङ्गठन, नेतृत्व, कार्यदिशा र व्यावहारिक कार्ययोजनामा कताकता के के नमिलेको जस्तो, हिँड्दाहिँड्दै बाटो नै हराएको जस्तो बोध भइरहेको थियो । यी सबै कुराहरू महाधिवेशनमा हल गर्नेर्छौँ भन्ने अठोटका साथ हामी अघि बढेका थियौँ । वैचारिक, राजनीतिक, साङ्गठनिक  र कार्ययोजनाको  तहमा नयाँपनका साथ बाहिर आउँछौँ भन्ने विश्वासका साथ हामी महाधिवेशनमा जुटेका थियौँ ।

यथार्थमा स्थिति त्यस्तो हुन सकेन । महाधिवेशनको तयारीका सन्दर्भमा भएका कतिपय भेला, सम्मेलन र अधिवेशनहरू त्यति उत्साहजनक भएनन् र वैचारिक बहस र छलफल पनि त्यति सघनताका साथ भएनन् भन्ने टीकाटिप्पणी र चर्चापरिचर्चाहरू޽ सतहमा आए । प्रतिनिधि र पर्यवेक्षकको चयनमा वैज्ञानिकता र यथार्थिकताको निर्बाह भएन भन्ने प्रतिक्रियाहरू पनि  जोडदार रूपमा बाहिर आए । महाधिवेशनअघि दस्ताबेज, त्यसमा पनि कार्यदिशाका बारेमा बहसछलफलको व्यापक परिवेश र उत्साहको जेजस्तो वातावरण बनाउनु पर्दथ्यो, त्यसो हुन सकेको पाइएन । महाधिवेशन एउटा प्रक्रिया मिलाउने र परम्परा धान्ने मेलोमा मात्र सीमित भएको बोध भयो । यो एउटा औपचारिक शृङ्खलामा सीमित भयो । आयोजक समितिले महाधिवेशनलाई उत्साह र उत्प्रेरणाको महान् चाड र पर्वमा रूपान्तरित गर्न सकेन । यसलाई बहस र छलफलको एउटा नयाँ अभियानमा रूपान्तरित गर्न सकेन । अधिवेशन भनेको माथिका नेताहरूको भन्दा कार्यकर्ताका आवाज, विचार र सुझावहरू सुन्ने समारोह हो  र हुनुपर्दथ्यो, तर त्यसो हुन सकेन । आफ्ना चिच्याट लाग्दा मन्तव्यहरूद्वारा नेताहरूले  हाम्रो मानसिकतालाई अनावश्यक रूपमा बोझिलो बनाउन खोजेको मात्र बोध  भयो ।

महाधिवेशनले फरक  बोध गराउन सक्नु पर्दथ्यो । इमानदारी र निर्भीकताका साथ भन्दा यस महाधिवेशनले खरिपाटी र पालुङ्टार विस्तारित बैठकभन्दा खासै पृथकताको  बोध गराउन सकेन । खुलामञ्चको कार्यक्रम स्वदेशी तथा विदेशी अतिथि बोलाउने सन्दर्भदेखि थुप्रै  सन्दर्भमा  विवादास्पद र खल्लो रह्यो । वैचारिक र व्यावहारिक अस्तित्वमा अहिलेसम्म कतै नदेखिएकाहरू र वेबसाइटमा मात्र सीमित देखिएका पार्टीहरू र दक्षिणपन्थी पार्टीहरूलाई भाइचारा पार्टीका नाममा दिइएको महत्त्वका कारण रिमसित जोडिएका माओवादी पार्टीहरूमा असन्तुष्टि प्रस्ट रूपमा देखियो र यसको खुलासा उनीहरूले वैयक्तित रूपबाट र शुभकामनामार्फत व्यक्त पनि गरे । हाम्रो जनशक्ति त्यति मात्र होइन । आमजनता र हाम्रो आफ्नै जनशक्तिलाई खुलामञ्चमा केन्द्रित गर्ने कुरामा प्रशस्तै कमीकमजोरीहरू रहे । आयोजना व्यवस्थापनको जिम्मेवारी पाएकाहरूले उदघाटन शत्रलाई महान् उत्साहको समारोहमा परिणत गर्न सकेनन् ।

बन्द शत्र सात दिनसम्म चल्यो । अमुकअमुक नेताहरूले नयाँ केन्द्रीय समितिमा ‘आफ्ना मान्छेहरू’ पार्न रडाको मच्चाएको कुरा पनि चर्चामा आयो । आयोजक समितिको गृहकार्यको अभाव, गतिहीन कार्यशैली र योजनाबद्धताको अभाव नै यसको मूल कारण थियो । कार्यक्रमलाई कसरी छिटो–छरितो र प्रभावकारी बनाउने भन्दा त्यहाँ पनि रुढिग्रस्ताताकै निर्बाह भएको थियो ।

बन्द शत्रमा प्रवेशका सन्दर्भमा प्रतिनिधि र पर्यवेक्षकको   चयनको प्रश्न जटिल बनेको थियो । समस्याहरू अन्यत्रका पनि थिए, तर मिथिला र भोजपुराका समस्याहरू  सतहमै आएका थिए । समस्याको गहिराइमा पुगेर समाधान गर्नेभन्दा यता र उता मिलाउने र टालटुल पार्ने प्रचण्ड प्रवृत्तिको सिको गर्नाले मिथिला र भोजपुराका समस्या बल्झिरहेका थिए र  यस्तो बेला ती झन् जटिल बनेर सतहमा आउनु स्वाभाविक थियो । राज्य समिति सदस्यले मात्र आउन पाउने अवस्थामा त्यहाँको डाडुपन्यौँ समातेकाले एरिया सदस्यलाई समेत प्रतिनिधि बनाएर ल्याएका थिए भन्ने कुरा प्रकाशमा आयो । यही कुरा केन्द्रीय कार्यालयका नाममा आमन्त्रित प्रतिनिधि/पर्यवेक्षकका सन्दर्भमा पनि देखापर्यो। सबैभन्दा भद्रगोल त केन्द्रीय कार्यालयमै देखियो । नयाँ माओवादीले शुद्धीकरण र सुदृढीकरणको अभियान चलायो भने अथवा चलाउने हो भने पहिले केन्द्रीय कार्यालयबाटै आरम्भ गर्नुपर्छ भन्ने भनाइको पुष्टि भयो ।

कहिल्यै आन्दोलनमा नलागेका, अधिकांश समय विदेशमै रमाएका लगायत धेरै पैसा उठाउन सहयोग गरेका, नेतासित व्यक्तिगत हिमचिममा रहेका, आइएन्जीओको डलरखेतीले फस्टाएका लगायत थुप्रै विवादास्पद व्यक्तिहरू प्रतिनिधि र पर्यवेक्षकको चयनमा  केन्द्रीय कार्यालयको प्राथमिकतामा परेका थिए । विगतमा आन्दोलनमा जोडिएका र हाल पनि सङ्घर्षरत  केन्द्रीय कार्यालयका कतिपय  कमरेडहरूले यस्तो विसङ्गतिप्रति प्रश्न उठाउनु स्वाभाविक थियो ।  यति मात्र  नभएर प्रतिनिधि र पर्यवेक्षकका नाममा यस्ता व्यक्तिहरू पनि आमन्त्रित भएका देखिए, जसले खुलेर रूपमै आफू प्रचण्डको पार्टीमा रहेको, त्यहाँको  सदस्यता रिन्यु गरेको, लेबि तिरिरहेको,  तर अमुकले प्रतिनिधि हुन आइज भनेर बोलाएकोले आएको भनेर सार्वजनिक घोषण गरे । सात दिनअघि प्रचण्ड जिन्दाबाद भन्दै  लेख लेखेर पत्रिकाका कटिङ बाँड्दै  हिँड्नेहरू पर्यवेक्षकको ट्याग झुन्डाएर  आफूले भर्खरै लेखेको किरण जिन्दावाद नामको लेखको कटिङ बाँडिरहेका दृश्यहरू पनि देखिएका थिए ।  केन्द्रीय  कार्यालयका नाममा  बाँडिएको प्रतिनिधि र पर्यवेक्षकको अभिलेख कार्यालयमा नरहेका कारण प्रवेश शुल्क र मेस खर्चको  हरहिसाब कुनै खातामा नदेखिनु पनि अचम्मको विषय  हुने कुरा भएन ।

एकातिर गाउँठाउँमा रहेर प्रतिक्रियावादी र ‘नवप्रतिक्रियावादीहरू’ सित सङ्घर्ष गर्ने इमानदार कमरेडहरू नपर्नु र कहिल्यै आन्दोलनमा सहभागी नहुने र पार्टी सदस्य नै नभएकाहरू र नेताका आसेपासेहरू, नतागोता र मेम कमरेडहरू प्राडोबाट खुत्रुक्क झरेर ठाँटबाठका साथ प्रतिनिधिको अघिल्लो  पङ्क्तिमा विराजमान हुँदा धेरैको मन कुँडिनु स्वाभाविक थियो । यी  साँच्चिकै  गम्भीर प्रकृतिका सन्दर्भहरू थिए । यसले महाधिवेशन महान् बहस र महान् निर्णयको अभियान होइन,  वनभोजको रमाइलो र सभासद्को चुनावी अभियान पो हो कि भनेर प्रश्न उठ्नु/उठाउनु  पनि स्वाभाविक बनेको  थियो ।

बन्द शत्रमा  राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्दर्भहरूदेखि लिएर इतिहासको समीक्षा, विश्वास र आशङ्काका थुप्रै कुराहरू उठे र यसो हुनु स्वाभाविक थियो । त्यसमा पनि मूलतः प्रधान अन्तर्विरोध, वैचारिक,  सङ्गठनात्मक र नेतृत्व पक्षका साथै कार्यदिशा र परिचय राजनीतिका बारेमा  जोडदार बहसछलफलहरू भए । हामीले हामी हिँड्ने बाटो प्रस्टताका साथ अगाडि ल्याउनु आवश्यक थियो । । क्रान्तिकारी विचारका आधारमा एउटा जुझारु सङ्गठन, सशक्त नेतृत्वपङ्क्ति, क्रान्तिकारी कार्यदिशा र कार्ययोजनाका साथै क्रान्तिकारी उत्साहको निर्माणमा  कार्यकर्ताको जोड थियो । आधारभूत रूपमा यही नै महाधिवेशनको आवाज र आवश्यकता थियो । तर प्रस्टता र निर्भीकताका साथ भन्दा आयोजक समिति महाधिवेशन प्रतिनिधिहरूको आवाज, उत्साह र क्रान्तिकारी आशावादलाई सम्बोधन गर्न सक्षम देखिएन ।

अधिकांश टोलीनेताहरू ‘जनयुद्धको जगमा जनविद्रोह’ जस्तो अमुर्त र सारसङ्ग्रहवादी कार्यदिशाका पक्षमा देखिएनन् ।  क्रान्तिकारी पार्टीको कार्यदिशा नेतैपिच्छे फरकफरक व्याख्या गरिने र जस्तो पनि व्याख्या गर्न सकिने कार्यदिशा हुन सक्तैनथ्यो र यो महाधिवेशनको माग नहुनु स्वाभाविक थियो । महाधिवेशनको बन्द शत्रको समवेत स्वर दीर्घकालीन जनयुद्धको पक्षमा थियो ।  ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशालाई जसरी पारित भयो भनियो, यसले असन्तुष्टि र आक्रोस उत्पन्न गर्नु स्वाभाविक थियो । भोलि विधान र दस्ताबेजमा कसरी आउला, त्यो  पछि   थाहा होला । आइएनजिओवादीहरू र डलरजीवीहरूको पछि लागेर  मार्क्सवादमाथि धावा बोल्दै जातीय पहिचान नामको राजनीतिको वकालत माओवादी पार्टीमा जसरी हुन थालेको थियो, यसलाई सामूहिक स्वरमा अस्वीकार गर्न प्रतिनिधिहरू सक्षम हुनुलाई चाहिँ महाधिवेशनको महत्त्वपूर्ण प्राप्ति मान्नु पर्दछ ।

महाधिवेशनले नयाँ चुनौतीहरू थपेको छ । खासगरेर नेतृत्वपङ्क्तिले स्थितिको समीक्षा गरेर अगाडि बढ्नु आवश्यक छ । यो नेतृत्वपङ्क्तिले हामीसित रहेको जनमुक्ति सेनाको शक्ति, मजदुर शक्ति, बौद्धिक—सांस्कृतिक शक्ति, हिजो महान् जनयुद्धमा होमिएको उत्पडित वर्ग र अन्य समुदाय शक्तिलाई सही किसिमले संयोजन गरेर लान सक्छ सक्तैन,  प्रश्न यहीँनेर छ ।  महान् जनयुद्धबाट विकसित भएको जुझारु र क्रान्तिकारी शक्तिलाई नीतिनिर्माण र योजनाका क्षेत्रमा,  नेतृत्व निर्माण र विकासका क्षेत्रमा कसरी अगाडि बढाउने भन्ने चिन्ता र चिन्तन अहिलेको नेतृत्व पङ्क्तिमा रहेको पाइएन, यो चिन्ताको विषय हो ।

दीर्घकालीन जनयुद्ध र युवाहरूको सन्दर्भ आउने बित्तिकै आतङ्कित हुने प्रवृत्तिले आगामी दिनमा कसरी आन्दोलनको अगुवाइ गर्न सक्छ भनेर प्रश्न उठ्नु/उठाउनु  स्वाभाविक छ । कसैमा तीव्र महत्त्वाकाङ्क्षा र एक समयको ग्लामरस पात्र प्रचण्ड बन्ने प्रचण्ड चाहना पनि होला, यसप्रति चनाखो हुनु आवश्यक छ । आत्मकेन्द्रित व्यक्तिवादका विरुद्ध निर्मम प्रहार गर्नु आवश्यक छ । तर जनयुद्धको आवाजसित जोडिएको पार्टीभित्रको ठूलो जुझारु शक्तिलाई अमुक व्यक्तिको महत्त्वाकाङ्क्षाको  नाम दिएर न्यूनीकरण गर्नु भनेको चाहिँ यथार्थको सामना गर्न नसक्नु हो । हाम्रो चिन्तन र चिन्ता कसरी यो शक्तिको क्रान्तिकारी विन्यास गर्ने र यसलाई थप भौतिक शक्तिमा रूपान्तरित गर्ने कुरामा केन्द्रित हुनु आवश्यक थियो र  छ ।

 प्रस्टताका साथ भन्नुपर्दा महाधिवेशन एउटा औपचारिकता पूरा गरेर समाप्त भएको छ ।  यस महाधिवेशनले कार्यकर्तामा  जुन किसिमको ऊर्जा र उत्साह प्रदान गर्नु पर्थ्यो, त्यो हुन सकेन । क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नु पर्दथ्यो, त्यो हुन सकेन । पार्टीलाई क्रान्तिकारी निरन्तरता दिने हो भन्ने थुप्रै कुरामा  शुद्धीकरण र सुदृढीकरण अभियान चलाउनु आवश्यक छ । अण्डाको ठाउँमा माटाका डल्ला  राखेर जति ओथारो बसे पनि चल्ला निस्कने स्थिति हुँदैन ।

नयाँ पार्टी अब ‘दीर्घकालीन जनयुद्ध’ र ‘जनयुद्धको जगमा जनविद्रोह’ मा विभाजित भएको छ र यसलाई उमेरगत राजनीतिको परिणाम मात्र ठान्नु वा न्यूनीकरण गर्नु  भूल मात्र  हुन जान्छ । अहिलेको अवस्थामा नेतृत्वको उपल्लो पङ्क्तिको विकल्प छैन । तर सम्मान र विश्वास फरकफरक कुरा हुन् । विश्वासको अर्थ शङ्का पनि हो ।  नयाँ ढङ्गको पार्टी पुरानै ढङ्गले चल्न गारो छ  भन्ने कुरालाई हाम्रा श्रद्धेय कमरेडहरूले गम्भीरतापूर्वक लिनु चाहिँ आवश्यक छ ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss