केही नेताहरू नवसामन्तमा फेरिएका छन् : बराल

 (समसामयिक राजनीतिक तथा सांस्कृतिक पक्षमा अन्नपूर्ण दैनिकका लागि साहित्यकार तथा पत्रकार अशोक सुवदीले डा. ऋषिराज बरालसित गरेको कुराकानीका केही महत्वपूर्ण अंशहरू सो पत्रिकामा प्रकाशित हुन छुटेकाले यहाँ पूर्ण पाठ प्रकाशित गरिएको छ )

१. तपाईँ जागिर, परिवार सबै कुरा त्यागेर दसबर्से जनयुद्धमा होमिनुभयोजेल पर्नुभयो, भूमिगत हुनुभयो, फर्केर ती दिनहरू हेर्दा कस्तो अनुभूति हुन्छ ?

० लामो सङ्घर्ष र कठिन परिश्रमपछि सगरमाथाको टुप्पोमा पुगेर झन्डा गाड्नै लागेको बेलामा अचानक हुरी आएर आफूलाई उडाएको र ब्युँझदा अपरिचित कुनै खोँचमा एक्लो भएको जस्तो बोध भएको छ । यो एउटा गजबको शिक्षा हो विश्व कम्युनिस्ट  आन्दोलनका लागि ।

२. तपाईँ राजनीतिक, बौद्धिक र साहित्यकला हरेक क्षेत्रमा सक्रिय देखिनुहुन्छ, तपाईँ आफूलाई मूलतः के ठान्नुहुन्छ ?

० यी त कामका क्षेत्रहरू हुन् । कामको आवश्यकताअनुसार कहिले कुन क्षेत्र र कहिले कुन क्षेत्रमा सक्रिय हुने गरिन्छ । साथै यी कुराहरू एकअर्कासित अन्तर्सम्बन्धित पनि छन् । हुन त हामीकहाँ राजनीति र बौद्धिकता अन्तर्विरोधीजस्ता भएका छन् । राजनीतिक क्षेत्रमा बौद्धिकता चाहिँ  दुस्मनजस्तो भएको छ । त्यसमा पनि तर्क, विवेक र सत्यतथ्यको पक्षधर  बुद्धिजीवी त झन् दुस्मन नै हुनथालेको जस्तो देखिनथालेको छ । पेशा र कामको प्रकृतिले गर्दा यसरी छुट्याइए पनि राजनीतिमा लाग्ने बुद्धिजीवी नहुने र साहित्यकलामा लाग्ने व्यक्ति राजनीतिक नहुने भन्ने होइन । साहित्यकलाको माध्यमबाट सामाजरूपान्तरणको पक्षमा निरन्तर सक्रिय भएकाले म कलमजीवी बुद्धिजीवी हुँ, साहित्यकार  हुँ ।  एउटा पार्टीमा आबद्ध भएर  आवश्यकता पर्दा कलम र बन्दुक दुवै चलाउने प्रतिबद्धताका साथ राजनीतिक गतिविधिमा लागेकाले म राजनीतिक व्यक्ति पनि हुँ ।

३.र पनि यी तीनवटामध्ये एउटा छान्नुपर्यो भनेँ ?

० म आफूलाई एउटा स्रष्टा भन्न मन पराउँछु ।  म कलमको सिपाही हुँ ।  मेरो कलम बन्दुक र तरवारभन्दा तेजिलो र धारिलो बनोस् भन्ने मेरो चाहना हुन्छ । एउटा स्रष्टाले जनविरोधीहरूका विरुद्ध मात्रै होइन, आवश्यक पर्दा आफ्नैहरू र आफू स्वयमका विरुद्ध पनि लड्न सक्नुपर्दछ । यो काम क्रान्तिकारी विश्वदृष्टिकोणमा आधारित बौद्धिकचेतनाबाट मात्र सम्भव हुन्छ ।

४. उसोभए यतिबेर तपाईँको स्रष्टा  मान्छे केमा व्यस्त छ त ?

० म मान्छेको जीवन जमेको पोखरी होइन, छङ्छङी बगिरहने प्रवाहमय कर्णालीजस्तो हुनुपर्दछ भन्ने चाहन्छु । किनभने सत्य त्यहीँ छ र  सुन्दर पनि त्यही प्रवाह र गतिमा छ । म केही नगरी— केही नपढी  र केही नलेखी एकछिन पनि रहन सक्तिन, छटपटी हुन्छ मलाई  । समय धेरै छैन मान्छेका लागि, यसको असाध्यै सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ । यतिबेर म दुइटा पुस्तकमा व्यस्त छु । एउटा पुस्तक दसबर्से महान् जनयुद्धमा केन्द्रित छ । दसबर्से जनयुद्ध साँच्चिकै महान् थियो । तर यो इतिहासलाई हिँड्दैछ पाइला मेट्तैछ झैँ  गरी जसरी मेटाउन थालिएको छ, जसरी यसलाई एउटा सामान्य परिघटनामा सिमित पार्न खोजिँदैछ, १३ हजारको शहादतको इतिहासलाई जसरी ‘इतिहासको मजाक’ र व्यापारव्यवसायमा परिणत गर्न खोजिँदैछ, यसले मलाई केही पीडा  भएको छ र जिम्मेवारीबोध पनि । यो गरिमामय  इतिहासलाई सुरक्षित राख्नुपर्छ भनेर मैले यो पुस्तक तयार पारेको हुँ, प्रकाशनको तयारीमा छु ।

अर्को पुस्तक मेरो भूमिगत जीवनसित सम्बद्ध डायरी हो । यसलाई त्यस समयको अनुभव र अनुभूतिको अभिलेखीकरण भन्दा पनि हुन्छ । यी पुस्तकहरूकमा एउटा राजनीतिक व्यक्ति, समाज र कतिपय सन्दर्भमा आफैँसित पनि सङ्घर्षरत एउटा बुद्धिजीवी र एउटा स्रष्टा मान्छेसित पाठकको भेट हुनेछ ।

५. सात्यिमा तपाईँ आख्यानकार, निबन्धकार, समालोचक र सौँन्दर्यचिन्तकका रूपमा परिचित  हुनुहुन्छ । लेख्दा तपाईँको केन्द्रबिन्दु के हुन्छ ?

० लेख्दा म वरिपरि केही हेर्दिन र देख्दिन । मात्र मेरो सामु मैले प्रहार गर्नुपर्ने अथवा मेले   प्राप्त गर्नुपर्ने, म पुग्नुपर्ने बिन्दु भनौँ एउटा निसाना हुन्छ, म सम्पूर्ण रूपले त्यहीँ केन्द्रित हुन्छु । म अरूभन्दा फरक हुन चाहन्छु । विषयवस्तु र प्रस्तुतिमा  मेरो आफ्नैपन र मौलिकता होस् भन्ने चाहन्छु । म विषयवस्तु, विचार, भाषाशैली र अभिव्यक्तिकलाले पाठकलाई उद्वेलित पार्न चाहन्छु । म आक्रामक लेखनमा विश्वास गर्छु ।

६. तपाईँका पुस्तकहरू विवादका विषय पनि त बने, युद्धकालमै प्रकाशित भएको फेरि लालभन्ज्याङमा उभिएर रोल्पामै जलाइयो भन्ने सुनियो र यता ‘शान्तिकाल’मा प्रकाशित भएको सत्ता र संस्कृति पनि विवदास्पद भनेर प्रचण्ड र किरण दुवैले खारेज गरेको भन्ने सुनियो  । यथार्थ केहो ?

०  ( हाँस्तै) गजबको प्रश्न सोध्नुभयो । फेरि लालभन्ज्याङमा उभिएरका विषयमा यसअघि प्रशस्तै लेखिसकेको छु । मेरो प्रकाशोन्मुख डायरीमा थप कुरा आउनेछन् । जहाँसम्म रोल्पामा जलाइएको भन्ने छ यो पुस्तक रोल्पामा पढ्न प्रतिबन्ध लगाइयो र किरणजीको जिल्ला प्यूठानमा जलाइएको हो ।  यसबारे अहिले यति नै । जहाँसम्म सत्ता र संस्कृति को कुरा छ, यो प्रचण्ड र किरण दुवैले बहिष्कार गरेको पुस्तक हो । यसबारे मैले नौलो बिहानीको अन्तर्वार्तामा अलि विस्तृत रूपमै भनेको छु । प्रचण्डले वहिष्कार गर्नु स्वाभाविक थियो, किनभने त्यसमा ‘भैँसीपूजक’ प्रवृत्तिदेखि नवधनाढ्य वर्गका विरुद्ध प्रहार थियो । किरणजीले सो पुस्तकको भूमिका लेख्नसमेत अस्वीकार गर्नुभयो र विमोचन नगर्ने र सहभागी पनि नहुने भन्नुभयो । यो बडो उदेकलाग्दो कुरा हो । यसबारे पनि म अहिले  केही भन्दिन ।

७. भर्खरै तपाइँको युद्ध डायरीको अंश भनेर एउटा रोचक अंश प्रकाशित भयो । त्यसमा तपाईँले पार्टीले आलोक प्रवृत्ति भनेर किटान गरी कसैमाथि  सबैभन्दा कडा आरोप लगाउनु परेमा ‘आलोक प्रवृत्ति’ भन्ने गरिएको पात्र आलोकलाई ‘म आलोकलाई सलाम गर्छु’ भन्नुभयो । यो त पार्टी निर्णयलाई ठाडै चुनौती होइन र ?

०  (हाँस्तै)  । हिजोका  कुरा म भन्दिन । हामी सापेक्षित रूपमा अनुशासित र आदर्शमै थियौँ । सबैभन्दा बढी अनुशासन र पद्धति–प्रक्रियाको पालना गर्नुपर्ने र  यसप्रति गम्भीर  हुनुपर्ने प्रचण्डबाट नै  आज सबैभन्दा बढी पार्टीको अनुशासन, विधि र पद्धतिको उल्लङ्घन भएको छ र बाबुरामको नाम चाहिँ यस मामलामा गिनिज बुकमै लेख्नुपर्ने  सूचीमा पर्छ । त्यसैले एमाओवादीमा पार्टीअनुशासन, पद्धति र  विधिको कुरा नगरौँ ।

यो सत्य हो, आलोकमा केही कमीकमजोरी थिए । तर त्यस्ता कमीकमजोरी अरू थुप्रैमा पनि थिए । ती कमीकमजोरीलाई सच्याएर एउटा राम्रो नेताका रूपमा उसको विकास गर्न सकिन्थ्यो । तर उसलाई सच्याउनमा भन्दा सिध्याउनमा जोडदिइयो । उसलाई दक्षिणपन्थी अवसरवादका विरुद्ध लट्ठी बनाएर प्रयोग गरियो । जब ऊ आफ्नो  भूमिकाप्रति सजग भयो, अनि डन्डा प्रयोग गरेर सिध्याइयो । निषेधात्मक द्वन्द्ववादको आरोप लगाएर ऊमाथि त्यसैको प्रयोग गरियो । सारमा ऊ प्रचण्डप्रवृत्तिको सिकार भयो । उसको मृत्यु विवादास्पद छ । ऊ मारिएकै हो  भने  सबै कुरा खुलाएर प्रस्टताका साथ बाहिर ल्याउनुपर्छ । यो घटनाविवरण खुलस्त किसिमले  बाहिर आउनुपर्छ सबैले जान्ने र बुझ्ने गरी । ऊ शाही सेनाबाट मारिएको हो भने उसलाई  सहिद घोषणा गर्नुपर्छ । म यसको माग पनि गर्दछु ।  त्यसैले मैले ‘म आलोकलाई सलाम भन्छु’ भनेको हुँ ।

यससित जोडिएको अर्को पाटो पनि छ ।  जेजस्ता मान्छे पार्टीएकताका नाममा भित्रिए, तिनलाई देख्दा आत्मग्लानी र पीडा हुन्छ । हाम्रा टाउकाको मोल तोकिँदा हामीलाई सामाजिक फासिवादी भनेर प्रतिक्रियावादी सरकारसित स्वर मिलाउनेहरू एकताका नाममा ठूलै नेता बनेर हाम्रो सलाम खाइरहेका छन् । गौर हत्याकाण्डमा  पार्टीले बनाएको आयोगले दिएको प्रतिवेदनमा कार्बाही गर्नुपर्ने भनेर नामै किटिएकाहरूमध्ये एकजना एकताका नाममा पार्टीका सिसिएम  कमरेड बनेर  गौरमा शहादत प्राप्त गर्ने  सहिदहरूको खिल्ली उडाइरहेका छन् । यो भन्दा पीडाको विषय के हुन्छ ! चोर, फटाहा, बलात्कारी र दुर्घटनामा मरेकालाई समेत सहिद बनाएर लाभांश वितरण भइरहेका बेला बेथान र भट्टेडाँडाको नायक आलोकलाई सलाम भन्नु म मेरो दायित्य ठान्दछु । मलाई यसमा खुसी नै लाग्दछ । त्यसैले मैले सलाम कमरेड आलोक भनेर लेखेँ, साहस गरेँ । यो पनि मेरो कलमको विशेषता हो ।

८. तपाईँले अहिले पार्टीएकताका सन्दर्भमा गलत व्यक्तिहरू प्रवेश गरे भन्नुभयो । यस्ता व्यक्ति र नेताहरूलाई प्रचण्ड–बाबुरामले मात्र प्रवेश गराएका हुन् र ? सिङ्गो पार्टी  त्यसमा अझ एकताका लागि बनेको समितिको संयोजक कमरेड किरण नै  हुनुहुन्थ्यो  होइन र ?

० ठीक हो । यही त विडम्बनाको कुरा छ ।  प्रचण्ड–बाबुरामले गरेका हरेक गलत कार्यको साक्षी बस्ने र भोजभतेर  खाने ।  केही नहुँदा सबै ठीक । फुड प्वाइजन भएर पेट गडबड हुनथालेपछि चाहिँ अनेक प्रश्न उठाउने प्रवृत्ति त किरण कमरेडहरूमा पनि देखियो । एकताकेन्द्र होस् वा नवराज सुवेदीसितको एकताको सन्दर्भ होस् अथवा रामकुमार शर्माजस्ता अपराधी भनेर नाम किटिएका व्यत्तिसितको एकताप्रक्रियाको कुरा होस्, यी मान्छेहरू  प्रचण्डले खसुक्क भित्र्याएका मान्छेहरू होइनन् । अघिल्लो दिनका डिसी भोलिपल्ट सिसि बनाएर ल्याउने कुरामा होस् या माओवादी पिडित भनेर युरोपमा बसेर अर्कै कामधन्दामा लागेको मान्छे होस्, एकताका नाममा  पार्टीमा सिसिएम बनाएर रातो टीकासहित भित्र्याउने  कार्य ‘क्रान्किारीहरू’ साक्षी बसेर र औँठाछाप ठोकेर भएका काम हुन् भन्ने कुरा यहाँ स्मरणीय छ । माओवादीका कट्टरविरोधी, राष्ट्रघाती र अपराधीहरूलाई  रातो लाइसेन्स दिने कार्यमा आफ्नो भूमिका छैन भनेर किरण कमरेडहरूले भन्न सक्ने अवस्था छैन ।  यसको समीक्षा किरण कमरेडहरूले गर्ने कि नगर्ने ? प्रश्न यहाँनेरी छ ।

९. उसोभए तपार्ईँ माओवादीभित्रको ‘रेड फ्याक्सन’ सित असन्तुष्ट हो ?

० यसको उत्तरले लामो व्याख्या  खोज्दछ । म अहिले त्यतातिर जान्न । पछिल्ला दिनमा फेरि पनि यो रेड फ्याक्सन भनिने समूह चुकेको छ । प्रचण्डको कार्यशैलीको विरोध गर्छन्, तर उही प्रचण्डकै चेला बन्ने प्रतिस्पर्धा त्यहाँ पनि भएको देख्छु । यसका गतिविधि हेर्दा  रेड फ्याक्सन पदावलीप्रति नै मेरो विमति छ । खास समयसम्म विचारसमूहमा क्रियाशील हुन सकिन्छ । तर सधैँ विचारसमूहका नाममा यसरी रहने कुरा मार्क्सवाद होइन, ट्रट्स्कीवाद हो भनेर ५०/५१ मा हामीले दस्ताबेजीकरण गरिसकेका हौँ  । यस किसिमको चिन्तनपद्धति भनेको सारमा विसर्जनवादी प्रवृत्ति नै हो ।

 र पनि यथार्थ के हो भने माओवादी भित्रका क्रान्तिकारीहरू वैद्य समूहका नाममा चिनिन्छन् । यो समूह नहुँदो हो भने यो एमाओवादी पार्टी प्रजातान्त्रिक समाजवादको नयाँ संस्करणमा रूपान्तरित भएर भाइ काङ्ग्रेस भइसक्थ्यो । यही ‘रेड फ्याक्सन’ ले यसलाई यतिसम्म राखेको हो । यस कुरामा विवाद पनि छैन  र अन्यथा सोच्नु गलत हुन्छ । तर यसका कतिपय गतिविधि र व्यवहार हेर्दा यो साँच्चिकै रेड फ्याकसन हो या अपोजिसनल फ्याक्सन हो, मलाई छुट्याउन गाह्रो परेको छ । कहिलेकाहीँ र कतिपय व्यवहार हेर्दा कतै हाम्रा क्रान्तिकारी साथीहरू क्रान्तिकारीताको आवरणमा साधन, स्रोत र सुविधासितको पहुँचका लागि घुर्की र बार्गेनिङको राजनीति त गरिरहेका त छैनन् ? भनेजस्तो लाग्ने स्थिति पनि  उत्पन्न भएको छ । उहाँहरुले ‘गोंगबु डिनर’ देखि ‘धोबिघाट  लन्च’ सम्मको समीक्षा गर्नु आवश्यक  छ ।

पछिल्ला घटनाक्रमहरू र वैचारिक र व्यावहारिक पक्ष हेर्दा यो समूह नवसारसंग्रहवादमा फस्न थालेको पो हो कि भनेर प्रश्न उठाउनुपर्ने स्थिति पनि देखिएको छ । यहाँ पनि अब नयाँ बहस चलाउनु आवश्यक छ भन्ने मलाई लागेको छ ।  अहिले  यसबारे अरू कुरा भन्न चाहन्न । यहाँ इमानदार र क्रान्तिकारी कमरेडहरू हुनुहुन्छ । सबैका बारेमा म भन्न सक्तिन, तर नेपाली क्रान्तिले लिने दिशामा यो समूहको भूमिका यतिबेर निर्णायक बनेको छ ।  सत्ताको थोरबहुत सुखसुविधा आदिको प्रभावबाट हामी कोही पनि अछुतो छैनौँ भन्ने कुरा यसका सन्दर्भमा पनि सही हो । हामी सबैको केही न केही मात्रामा बोसो बढेको कुरा यथार्थ हो  । फेरि प्रचण्ड–बाबुरामको आलोचना र विरोधमा मात्रै राजनीतिलाई सीमित गर्ने हो भने वैद्य समूहको  भूमिकाबारे पनि प्रश्न उठ्नु स्वाभाविक हुन्छ भन्ने मलाई लागेको छ। सबैभन्दा क्रान्तिकारी कुरा त मार्क्सदेखि माओका दस्ताबेजहरूमा छन् ।वैद्य समूहले तलदेखि माथिसम्म साङ्गठनिक सञ्जाल बनाएको भन्ने सुनेको छु, विचारका दृष्टिले यो समूह मेरो सबैभन्दा नजिकको समूह हो, तर म यसको साङ्गठनिक सञ्जालमा  चाहिं छैन ।

१०.अब फेरि साहित्यकलातर्फ जौँ । यतिबेर क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्रले खेल्नुपर्ने भूमिकालाई कसरी व्याख्या गर्न सकिन्छ ?

० हेर्नोस् हाम्रो सांस्कृतिक मोर्चा असाध्यै समृद्ध थियो । वैचारिक रूपमा विवाद छैन, हामी अझै पनि बलिया छौँ । तर सङ्गठनात्मक रूपमा यो अहिले विचलन, स्खलन र खिण्डनको स्थितिमा छ र यसमा नरमगरम सबै उत्तिकै जिम्मेवार छन् ।

नेपालको बौद्धिक र सांस्कृतिक क्षेत्रले हिजोका दिनहरूदेखि नै समाजरूपान्तरणको पक्षमा असाध्यै सक्रिय र महत्वपूर्ण भूमिका खेल्यो । अङ्ग्रेजहरुका विरुद्ध ‘गोरा त सुरा एक दुई हुन्छन्’ देखि लिएर योगमाया,  कृष्णलाल, धरणीधरसम्मको भूमिकालाई त्यति बेलाको सापेक्षतामा हामीले ओझेलमा पार्नु हुँदैन । देवकोटा र रिमालहरू त खुलेरै राणाविरोधी आन्दोलनमा मोर्चाबद्ध भए । कम्युनिस्ट पार्टीको स्थापनापछि त यो मोर्चा झन् सशक्त किसिमले आयो । केवलपुरे किसानका रचना पढ्दा त्यतिबेर होइन, हामी वर्तमान पढिरहेका छौँ भन्ने लाग्छ : ‘मन्त्रीमंडल गठन गर्न पुग्छन यिनै दिल्ली, नेपालमा शासन गर्ने नेहरूका बिल्ली’  ।

हिजोका दिनदेखि नै हामीले अमेरिकी साम्राज्यवाद–भारतीय  विस्तारवादका विरुद्ध र राष्ट्रिय एकता र स्वाधीनताका पक्षमा जोडदार आवाज उँठाउँदै आएका छौँ । तर वर्तमानमा यो पक्ष असाध्यै कमजोर भएको छ । हिजो काङ्ग्रेस र एमालेमाथि औँला ठड्याउँथ्यौँ, आज तीभन्दा निष्कृष्ट किसिमले राष्ट्रघाती काम बाबुराम सरकारले एकपछि अर्को गरेर गरिरहेको छ । यो सरकार त इतिहासकै कलङ्क साबित भएको छ । राष्ट्रघातका विरुद्ध र राष्ट्रिय स्वाधीनताका पक्षमा हामी बुद्धिजीवी तथा सांस्कृतिक कर्मीहरूले  वैचारिक र भौतिक दुवै किसिमले मोर्चा कस्नु आवश्यक छ । राष्ट्रघातका एकपछि अर्को शृङ्खला जारी रहँदा पनि बोल्न नमिल्ने, नबोल्ने कथित एकता हामीलाई चाहिँदैन । अहिले किरण समूह र प्रचण्ड समूहबीच देखिएको ‘एकता’ अपराधीहरूलाई चलखेल गर्न वातावरण मिलाएजस्तो भएको छ, अपराधीहरूलाई रातो लाइसेन्स दिएजस्तो भएको छ ।

दैनिक जीवन कति कष्टकर छ र महङ्गी, बेरोजगारी, कालाबजारी कस्तो छ भन्ने कुरा हामी पलपलमा भोगिरहेका छौँ । बजारमा ग्याँस छैन । मटितेल छैन । केही छ्रैन हाहाकार छ सर्वत्र, अन्योल र अराजकता छ । प्रधानमन्त्री र मन्त्राणी मस्तीले नाचेको दृश्य खबरहरूमा पढ्न र हेर्न पाइन्छ ।  अमुक नेताको १०  करोडसित  प्रतिस्पर्धा गर्दै अमुक नेताले  अरबौँको महल ठड्याउँदै छन् भन्ने समाचार पनि आजभोलि चर्चामा आउन थालेका  छन् । अर्थात् जनजीवीकासित सम्बद्ध अहिलेको स्थिति त्यतिबेला बाबुरामले ४० बुँदे पेस गरेको स्थितिभन्दा पनि जटिल छ ।

जनतन्त्रका प्रश्नहरू झन् जटिल छन् ।  महान् जनयुद्धका प्राप्तिहरू एकपछि अर्को गरेर सिध्याइएको छ । केही बाँकी छैनन् । क्रान्ति सकियो भनेर खुलेआम घोषणा गरिएको छ । जनयुद्धमा जानु गलत थियो भन्न मात्र बाँकी छ, व्यवहारले त यो सबै देखाइसकिएको छ । केही नेताहरू नवसामन्तमा फेरिएका छन्, ती दलाल पुँजीपतिवर्गको हैसियतमा पुगेका छन् । कर्णाली भोकै छ, मधेस अस्तव्यस्त छ । काठमाडौँमा नेताहरू विलासी जीवनको नयाँ प्रयोगमा छन् । सहिदका सपनाहरूमाथि नवसामन्तहरूका महल ठडिएका छन् । यस्तो बेला एउटा प्रगतिशील, देशभक्त र क्रान्तिकारी बुद्धिजीवीले के गर्नुपर्ने हो प्रस्ट छ । तर हाम्रो सांस्कृतिक  र बौद्धिक क्षेत्र असाध्यै भद्रगोल छ यतिबेर । पत्रपत्रिकाले मलाई वैद्य समूहको बुद्धिजीवी भनेर लेख्ने गरेको पढ्ने गरेको छु, तर वैद्य समूहको बुद्धिजीवी फाँट कहाँ छ, कसले चलाउँछ र कसरी चलाउँछ, मलाई थाहा छैन । त्यहाँ पनि सबै कुरा ‘माथि’ छन्  । एमाओवादीमा बौद्धिक क्षेत्रको भूमिका नरमगरम सबैतिर उस्तैउस्तै छ । हाम्रा सबैथरी नेताहरूलाई बुद्धिजीवी भन्यो कि ठाउको दुख्न थाल्छ ।

११. यसको कारण के ठान्नुहुन्छ ?

० यसको कारण मूलतः वैचारिक समस्या हो । पार्टीले गलत दिशा लिएपछि हुने यही नै हो । तर यति भनेर मात्र पुग्दैन । सांस्कृतिक मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी विचारलाई गुण्डागर्दीका माध्यमबाट  विस्थापन गरेदेखि नै विचलन र स्खलनको आरम्भ भएको हो । विकृति र विसङ्गतिका सारा ढोका त्यहीँबाट खुलेका हुन् । फोहोरमैला भित्रियो ह्वारह्वारती चारैदिशाबाट । अहिले सांस्कृतिक मोर्चासित सम्बद्ध आन्दोलनलाई साङ्गितिक क्षेत्रसामना परिवार र माइला लामाहरूले बचाएका छन् । त्यहाँ प्रदूषणको प्रवेश कम देखिन्छ । लेखकीय क्षेत्र त ध्वस्त नै भएको छ । सांस्कृतिक क्षेत्रका नेताहरू घरका तला थप्न र होटलमा रसलीला मच्चाउन व्यस्त रहन थालेपछि  हुने यही नै हो । यसमा मूल समस्या विचार, नीति र योजनाकै हो । राजननीतिले ठीक ढङ्गले कमाण्ड गर्न नसकेपछि हुने कुरा यिनै हुन् । प्रतिक्रान्तिविरुद्ध खबरदारी गर्नुपर्ने संस्थाहरू नै उपभोक्तावादमा फसेपछि हुने यही नै हो । यसमा प्रचण्ड—बाबुरामलाई मात्र दोष दिएर पुग्दैन,  किरणजी पनि यसबाट पन्छन पाउनुहुन्न । वास्तवमा सांस्कृतिक मोर्चामा कुन्डले–मण्डलेहरूका साथै एमालेबाट ठूलो भाग खान माओवादीमा प्रवेश गर्ने कार्य किरण कमरेड सांस्कृतिक मोर्चाको फ्र्याक्सन इञ्चार्ज भएका बेला नै भएको हो । सांस्कृतिक मोर्चा अरू मोर्चाभन्दा फरक किसिमको मोर्चा हो । किरण कमरेड  विचारमा जोड दिनुहुन्छ, तर मान्छेसित चाँडै प्रभावित भएर निर्णय गर्ने प्रभाववादी समस्या उहाँमा रहेको देखिएको छ  ।

राष्ट्रियता, जनजीवीका र जनतन्त्रका लागि जनयुद्ध आरम्भ गर्नुअघि २०५२ सालमा जसरी हामी बौद्धिक–सांस्कृतिक क्षेत्रका कर्मीहरूले प्रतिरोध अभियान चलाएका थियौँ, जनमत सिर्जना गर्दै जसरी हामी गाउँगाउँ पुगेका थियौँ,  फेरिएको परिस्थितिअनुसार अब फेरि नयाँ किसिमले जुट्नुपर्छ । सांस्कृतिक-बौद्धिक क्षेत्रलाई नयाँ किसिमले शुद्धीकरण र सुदृढीकरण गर्नुपर्छ ।  पुरानो कार्यशैलीले अबको क्रान्ति हाँकिने स्थिति छैन । नयाँ चुनौतीहरूको सामना गर्न नयाँ किसिमले सुसज्जित हुनु आवश्यक छ । ‘रेड फ्याक्सन’ भित्रका कुरा पनि यिनै र यस्तैयस्तै हुन् । त्यहाँका कतिपय कुराहरू मेरा लागि अमूर्त छन् ।

१२ हामीले प्रचण्डपथीय सौदर्यशास्त्र पनि भन्यौँ नि त ?

 भन्यौँ, के के भन्यौँभन्यौँ । हामीले त ‘राक्षस’ लाई ‘देउता’ बनाएछौँ । हाम्रा नेताहरूले हामीलाई यसरी धोका देलान् भनेर कल्पनासम्म गरेका थिएनौँ । क्रान्तिलाई यसरी विसर्जन गर्लान् भनेर अलिकति पनि सोचेका थिएनौँ । दुस्मनलाई हायलकायल पार्न सक्षम जनसेनाका साथीहरूलाई अयोग्य भनेर खारेज गर्दा र अहिले क्रान्तिको. पक्षमा रहेका क्यान्टोनमेन्टका साथीहरू असुरक्षित भएर राताराता भागारेभाग गर्नुपरेको स्थिति हेर्दा पीडा हुन्छ र भोलि के होला भन्ने भय र आशङ्का पनि हुन्छ । साँच्चै हो भित्रैदेखि पीडा हुन्छ । सायद  हाम्रो लड्ने वर्ग फेरियो । मोर्चा फेरियो ।

साँच्चै हो, नेताहरूका सन्दर्भमा हामी अलि मनोगतवादी भएछौँ, अधिभूतवादी भएछौँ । जनयुद्धकालमा हामीले सांस्कृतिक क्षेत्रमा आर्जन गरेको प्राप्तिलाई जनयुद्धको सौन्दर्यशास्त्र, बलिदानको सौन्दर्यशास्त्र भन्यौँ । यो ठीक थियो र हो  । हामीले बलिदानको सौँन्दर्यशास्त्र निर्माण गरेकै हौँ । त्यतिले पनि हामीलाई नपुगेको जस्तो लाग्यो । प्रचण्डपथसित जोडेर प्रचण्डपथीय सौन्दर्यशास्त्र भन्यौँ । तर अहिले प्रचण्डपथको पतनसँगै यो पनि ‘चमत्कार’ का साथ छलाङ हान्दै रेखा थापाको नाचगानमा विलीन भएको छ—‘नवफ्युजनवाद’ ।  यसबारे लामै लेख्दैछु,  अहिलेलाई यति नै ।

१३. तपाईँले वेब म्यागाजिन दि नेक्स्ट फ्रन्ट पनि चलाइरहनुभएको छ यो माओवादीभित्रको  वैद्य समूहको धारणाभन्दा अलि फरकजस्तो पनि देखिन्छ,  खासमा यो के हो ?

यसको  अलि व्याख्या गर्नु आवश्यक छ  । लामै कथा छ । यसबारे सङ्क्षिप्तमा भन्छु । हामी केही बुद्धिजीवी र साहित्यकार साथीहरूले, एकथरी नेताहरूले क्रान्ति विसर्जन गरेको र क्रान्तिको कुरा गर्ने अर्का थरीबाट पनि क्रान्ति अघि बढ्ने छाँटकाँट नदेखेपछि, जनयुद्धमा लागेकाहरू सबै सिद्धिएका छैनन्, त्यहाँ क्रान्तिका  लागि चिन्तितहरू अझै छन् भन्ने  सन्देश, सूचना र चेतनाको संवहन गर्न  एउटा मञ्चको अवधारणासहित अङ्ग्रेजीमा अलि बढी जोड दिएर यो वेबसाइट खोलेका हौँ । नेपाली क्रान्तिको चिन्ता गर्ने भाइचारा पार्टीहरूले यहाँका अन्य माध्यमका भ्रमपूर्ण सूचना र समाचारमा भर पर्नु नपरोस् भनेर  पनि यसको आवश्यकता बोध गरेका हौँ ।

 माओवादी पार्टीमा नेतैपिच्छे पत्रिका र टोलैपिच्छे गुट भएकाले क्रान्तिकारी विचार संवहनका लागि पत्रिका प्रकाशित गर्ने र वेबसाइट खोल्ने कुरालाई हामीले स्वाभाविक र अवश्यकताका रूपमा लियौँ र लिएका छौं  । बाफ रे  ! यहाँ त पहिरो गयो । प्रचण्ड–बबुराम र उनका आउरेबाउरेहरूले आँखा तन्काउनु स्वाभाविक थियो, यहाँ त बैद्य समूहमै पहिरो गएको महसुस गर्यौँ हामीले । यसलाई प्रोत्साहित गर्नेभन्दा निरुत्साहित गर्ने काम भयो । वैद्य समूहभित्रका सूचना र समाचारको क्षेत्रलाई आफ्नो जमिनदारी ठान्ने केहीहरूले विरोध गर्दागर्दै पनि हामीले यो चलाइरहेका छौँ । थोरै समयमा यस वेबसाइटले आर्जन गरेको लोकप्रियताका कारण देशीविदेशी प्रतिक्रियावादी र थरीथरीका विरोधीहरू यसलाई बन्द गर्न सक्रिय भएर लागेका छन् । धेरेपल्ट यसलाई ह्याक गरिएको छ र ‘अकाउण्ट सस्पेन्ड’ भनेर पोर्टलमा समेत लेखियो  । यो एक किसिमको धम्की नै हो ।

१४. उसोभए यो वैद्य समूहको वेबसाइट होइन त ?

यतिबेर नेपालमा राष्ट्रियता, जनजीवीका र जनतन्त्रका पक्षमा सबैभन्दा गम्भीर समूह वैद्य समूह  नै हो । माओवादीभित्रका अधिकांश इमानदार, स्वाभिमानी र क्रान्तिकारी कमरेडहरू यस समूहमै हुनुहुन्छ । यस अर्थमा यस  वेबसाइटले  आधारभूत रूपमा वैद्य समूहलाई समर्थन गर्छ । तर यो वैद्य समूहको मुखपत्र चाहिं होइन । कतिपय सन्दर्भमा जुझारु सुधारवादी चिन्तनजस्तो बोध हुने र कतिपय सन्दर्भमा अकर्मण्यवाद र नवसारसङ्ग्रहवादमा फस्न खोजेजस्तो देखिने वैद्य समूहको अमूर्त राजनीतिक गतिविधिको यसले विरोध गर्छ । अहिलेलाई यति नै ।

१५. तपाईँको विचारमा अबको राजनीति कसरी जान्छ जस्तो लाग्छ ?

० पार्टीगत रूपमा जेजति पार्टीहरू भए पनि अहिले तीन किसिमका शक्तिहरू नेपाली राजनीतिमा क्रियाशील छन्ः क्रान्तिकारी, सुधारवादी र यथास्थितिवादी । आगामी दिनहरूमा यिनीहरूबीचको द्वन्द्व निकै तीव्र हुनेछ  र ध्रुवीकरण पनि तीव्र बन्ने छ । माओवादीभित्रको प्रचण्ड–बाबुरामको सुधारवादी तप्काको साँठगाँठ र मेलमिलाप अन्तत: काङग्रेस, एमाले र मधेसीमोर्चासित हुनेछ । र  यसले नयाँ ध्रुवीकरण पैदा गर्नेछ । भारतले यसको थालनी गर्न थालेको सङ्केत पनि देखिनथालेको छ । यस्तो बेला सही अर्थका प्रगतिशील,  देशभक्त र क्रान्तिकारी शक्तिहरू एक हुनुको विकल्प छैन ।

आगामी दिनहरू क्रान्तिकारी शक्तिहरूका लागि निकै चुनौतीपूर्ण हुनेछन् र यसका लागि तयारी अहिलेको समयको आवश्यकता हो । अब गनगन छोडेर नयाँ छलाङमा नजाने हो भने इतिहासमा पछुताउनुपर्ने छ । वैद्य समूहसित ‘अयोग्य लडाकू’, ‘स्वैच्छिक अवकासमा गएका लडाकू’ वाइसिएल,  इमानदार र क्रान्तिकारी कार्यकर्ताहरू—सङ्घर्षशील बौद्धिक–सांस्कृतिक कर्मीहरूको ठूलो शक्ति  छ । तर यसलाई वैद्य समूहले सही किसिमले आकलन र व्यवस्थापन गर्न नसकेको देखिन्छ । यसलाई सो समूहले सही अर्थमा ग्रहण गर्नू र समयमै व्यवस्थापन गर्नु जरुरी छ । अहिलेलाई यति  नै ।

१६. अन्त्यमा केही …

० यतिबेर हामी देशव्यापी रूपमा सहिदसप्ताह मनाइरहेका छौँ । यो कार्य सामान्य ओपचारिकतामा सीमित नहोस् । यो मूल्यसित जोडिएको प्रश्न हो ।  यतिबेर म ती सम्पूर्ण सहिद कमरेडहरूप्रति लाल सलाम भन्छु । साथै बेपत्ता परिवारजनलाई दृढ इच्छाशक्तिका साथ अघि बढ्न अनुरोध गर्दै घाइते तथा अपाङ्ग साथीहरूको सङ्घर्षप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु । जसरी महान् जनयुद्ध लडेको योद्धा कमरेडहरूलाई अयोग्य भनेर अपहेलित गरिएको छ र स्वैच्छिक अवकासका नाममा हाम्रा योद्धाहरूप्रति उपेक्षा र अपराधीका झैँ व्यवहार गरिएको छ, यसको पनि निन्दा तथा भर्त्सना गर्दछु । साथै अलिकति पनि निरास नभई क्रान्तिको बाँकी कार्यभार पूरा गर्न आगामी सङ्घर्षका लागि आत्मिक तथा भौतिक रूपबाट तमतयार रहनु हाम्रा सामु उपस्थित चुनौती र अवसर दुवै हुन्  भन्ने कुरा पनि प्रस्ट पार्न चाहन्छु ।

000

फागुन २०, २०६८

You can leave a response, or trackback from your own site.

6 Responses to “केही नेताहरू नवसामन्तमा फेरिएका छन् : बराल”

  1. समग्रमा हेर्दा यो अन्तरवार्ता नियोजित जस्तो लाग्यो । यसले हाम्रा आदरणीय बराल सरको उचाइ बढाउनुको सट्टा बरु उहाँको छुट्टै प्रकारको क्रान्तिकारी छबि घटेको महसुस मलाई भयो ।

    • sheela says:

      खेम जी लाइ तेस्तो लाग्नु ठिकै होला, तर बराल जी ले उठाउनु भएका कुराले क्रान्ति को अझै भबिस्य छ भन्ने देखौछा/ बाबुराम-प्रचण्ड प्रतिक्रियाबादी क्याम्प मा जादैमा र बैद्य कामरेड ले ढिला-धाला गर्दैमा नेपालमा सम्रिधि र शान्ति का लागि आन्दोलन, बिद्रोह, क्रान्ति र बिचार मर्दैनन, यो बुझ्नु जरुरी छ/ शायद बराल जी ले यसको बहसको उठान गर्ने सहस गर्नु भो, सकिन्छ साथ् दिउ, सकिदैन सहयोग गरौ, त्यो पनि सकिन्न भने कम्तीमा बिरोध नगरौं .!

  2. kumaradity says:

    Comrade Khem Please gothrough the the interview with cool mind.There is nothing as you think. In my opinion this is a marvelous interview by Dr Baral.It is a timely given bold interview . In my opinion now the time has come to begin new debate within Baidhya Faction .

  3. sheela says:

    Kumaradity’s point is right. we should demand debate on the Vaidhya fraction as well. Now the point has come that we dont need to give time to discuss abt Pracchan-baburam, as they have clearly gone to reactionary camp,unfortunate!

  4. sandesh neupane says:

    Baral sir,each leader of red fraction should read this interview,,,,, we are all with u, keep it up

  5. Ajay sapkota says:

    Baral sir ! Tapaile nepali kranti bachauna GORKI vanda mathi uthera ladnu parne6.baral sir yaha ta lenin pani 6ainan stalin pani 6ainan tara mero des nepal maa BARAL jasta lekhak 6an.malai garba 6 singo maobadi party maa 1 one man army hun rishi raj baral.lalsalam comred Baral tapaiko lekh padhda ma nidauna sakdina..tapaiko lekh ko sachhaile malai ghochhirahan6.jhaskai rahan6.janaudda jari6 comred janaudda jari6..tapai eklo hunuhunna comred thulo pankti 6n tapaiko sathma..

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss