क्रान्तिकारी पत्रकारको सम्पत्ति प्रचण्डपुत्रलाई
काठमाडौं, फागुन १५ । माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले, क्रान्तिकारी पत्रकार संघका संयोजकसमेत रहेका माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले हेडक्वार्टरविरुद्ध बिभिन्न पत्रपत्रिकामा न्यूज दिएर काठमाडौंमा तीनतले घर बनाएको भन्दै दाहाललाई पार्टी छाड्न चेतावनी दिएका छन्। अर्कोतिर दाहालकै भनाइलाई साथ दिदै वाइसिएलका काठमाडौं जिल्ला अध्यक्ष शिव कोइराला ज्वालाले भने दाहालको बंगारा झार्ने फतवा जारी गरेका छन्। केही समयदेखि दाहालविरुद्ध निरन्तर अभियानमा लागेका प्रचण्डपुत्र प्रकाश दाहालले यो अभियानमा क्रान्तिकारी पत्रकार संघकै केही सदस्य र प्रचण्ड पक्षधर वाइसिएल कार्यकर्ता पनि प्रयोग गरेका छन्। गत फागुन १० गते मंगलवार माओवादी पंक्तिमा एउटा रोचक आरोप प्रत्यारोप चल्यो। अर्थमन्त्री वर्षमान पुनका मिडिया सहयोगी समेत रहेका क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य निर्मल ज्ञवालीले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखे–’आज अनामनगरको पेटीमा पैदल हिंड्नेक्रममा भेट भएका माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले मलाई ठिक पार्ने धम्की दिए। आक्रोशित मुद्रामा देखिएका दाहालले मेराबिरुद्ध लेखिस् भने ठिक गर्छु भने। मैले पनि भनिदिएँ–“नैतिकवान हुनुस् कमरेड नत्र तपाई आफैं ठिक पर्नुहुनेछ।’
ज्ञवालीको सो स्टाटसमा तत्कालै प्रचण्डपुत्र प्रकाश दाहालले प्रतिक्रिया जनाउँदै हेडक्वार्टरविरुद्ध घटिया झुटो समाचार बेचेर काठमाडौंमा घर बनाएको आरोप लगाउँदै दाहाललाई ठेगान लगाउन आफू ज्ञवालीलाई सुरक्षा दिन तयार रहेको बताए। उनले भने– ‘त्यस्ताले धम्क्याएर केही फरक पर्दैन, हामी सुरक्षा दिन तयार छौं’। दाहालले सुरक्षा दिने भन्ने बित्तिकै सोही वालमा वाइसिएलका काठमाडौं जिल्ला संयोजक शिव कोइराला ज्वालाले भुक्ने कुकुरले टोक्दैन, टोक्न खोजे बंगारा झार्नुपर्छ भनेर प्रतिक्रिया जनाइहाले। माओवादीहरूको धम्की र आरोपको सिलसिला चलिरहेका बेला सोही वालमा प्रकट भएका राजेश लामाले दुवैलाई व्यंग्य गर्दै माओवादीहरू नांगो भइसकेकाले, नांगिएपछि लाजभाँड सबै पचाइसकेको प्रतिक्रिया दिए।
उता क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहालले भने प्रचण्डपुत्र प्रकाश दाहाल नियोजित रुपमा आफ्नो चरित्रहत्यामा उत्रिएको भन्दै उनलाई प्रचण्डले लगाम नलगाउने हो भने आफू मुख खोल्न बाध्य हुने चेतावनी दिएका छन्। दाहालले आफ्नो बाबुबाजेको पैत्रिक सम्पत्ति बाहेक काठमाडौंमा होइन, नेपालभरमै घर वा सम्पत्ति भेटिए त्यो प्रकाश दाहालकै नाममा गरिदिने सार्वजनिक घोषणासमेत गरेका छन्। ‘निर्मल ज्ञवाली भन्ने अनैतिक व्यक्तिको बारेमा त मैले बोल्नु भनेको रछ्यान चलाएर मुखमा छिटा पर्नेमात्र हो, तर अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल जसरी प्रस्तुत भइरहेका छन्, यसबारेमा म गम्भीर भएको छु’ दाहालले भने ‘हेडक्वार्टरमा बसेर उनीहरूले गरेका ब्रम्हलुटका कथाहरू जसरी आइरहेका छन्, यो भन्दा गम्भीर खालका रहस्यहरू खोल्न नपरोस्, अहिले यत्तिमात्रै भन्छु।’
उनले अर्थमन्त्री वर्षमान पुनका कार्यकर्ता निर्मल ज्ञवालीलाई अनामनगरमा भेट्दा, घटिया कुरा लेखेर नहिंड्न सुझाव दिएको बताउँदै आफूले धम्की दिएको भन्ने उनको आरोपको खण्डन गरेका छन्। आफूले धम्की दिएको वा नदिएको भन्ने कुरा त्यसबेला सँगै रहेका नेपाल पत्रकार महासंघ दि हिमालयन टाइम्स शाखाका अध्यक्ष टिकाराम प्रधान र पत्रकार पुष्पराज आचार्य पनि साक्षी रहेको बताए। अर्थमन्त्री पुनको लगानीमा चल्ने व्यक्तिहरूले चलाएको अनलाइनबाट आफूहरूको चरित्रहत्या गरिएको भन्दै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष दाहाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य र चन्द्रमान श्रेष्ठले आपत्ति जनाएका छन्।
‘नेपालका राणा, शाह शासनहरू ढल्नमा तत्कालीन शासकहरूका परिवार र आसेपासेका नकारात्मक क्रियाकलापले समेत केही हदसम्म काम गरेको कुरालाई अरुले भन्दा अध्यक्ष प्रचण्डले बुझे राम्रो हुने थियो,’ माओवादी केन्द्रीय सदस्य महेश्वर दाहालले भने–’निर्वस्त्र भएर सडकमा कोही आउँछ भने आँखा छोपेर हिंड्नु उत्तम विकल्प भनेर म चुप लागेको छु तर प्रचण्डका छोरा प्रकाशले जसरी मैले काठमाडौंमा घर बनाएको भनेर प्रचार गरिरहेका छन् मैले पुर्ख्यौली विरासतमा आएको सम्पत्ति बाहेक पत्रकारिता र राजनीति गरेर कतै कमाएको छु भन्ने कुरा सम्पूण पार्टी र सरकारी संयन्त्रलाई प्रयोग गरेर पत्ता लगाउन प्रकाश दाहाललाई आग्रह गर्दछु र त्यो सबै सम्पत्ति प्रकाश दाहालकै नाममा पास गरिदिने पनि सार्वजनिक जानकारी गराउँछु।’
खाओवादी बिरुद्ध साँघुको समाचार
Posted by admin on February 27th, 2012

Posted in 








Books by Rishi Raj Baral
