नेपाल र नेपाली राष्ट्रवाद

anil sharma birahiअनिल शर्मा ‘विरही’
नेपाल प्राचीन कालदेखि नै दुई ठूला साम्राज्यको बीचमा रहेको एउटा सानो मुलुक हो । दुई ठूला साम्राज्यबाट यसले आफूलाई स्वतन्त्र राख्न कसरी सक्यो ? यो निकै महत्वपूर्ण पक्ष हो । दक्षिणको भारतीय उपमहाद्धीपमा पोर्चुगल फ्रान्स, बेलायत लगायतका देशहरूले उपनिवेश कायम गरेका थिए । उता चीन तथा तिब्बतमा बेलायत, फ्रान्स, जापान लगायतका देशहरूले उपनिवेश कायम गरेका थिए । त्यस्तो स्थितिमा तिनै औपनिवेशिक देहरूका बीचमा नेपाल कसरी प्रत्यक्ष औपनिवेशिक शासनबाट मुक्त बन्न सक्यो त ? यो निकै महत्वपूर्ण प्रश्न हो ।
नेपालका प्राचीन शासकहरूले आफ्नो स्वतन्त्रताका लागि सबै प्रकारका बलिदान गर्दैआएका छन् । कुनैबेला अयोध्याका राजा दशरथ भारतका ठूला शासक थिए । उनले आसपासका सबै राजारजौटाहरूलाई आफ्नो साम्राज्यमा विलीन गराएका थिए । नेपाललाई पनि त्यसको सुरक्षाखतरा थियो, जसका कारण राजा जनकले आफ्नी छोरी सीतालाई अयोध्याका राजा दशरथका छोरा रामसँग विवाह गरिदिएका थिए । पौराणिक कथाहरूमा जे–जसरी व्याख्या गरिएको भए पनि सीता र रामका बीचमा विवाह हुनुमा मुख्य कुरा सामरिक प्रश्न नै देखिन्छ । शक्तिशाली शासकसँग पारिवारिक सम्बन्ध कायम गरेर नेपालका शासकहरूले कुटनीतिक पल्ला भारि गरेको देखिन्छ ।
कुनै समय उत्तर तिब्बतमा श्रनचङ गम्पोले साम्राज्य विस्तार गर्दै अगाडि बढेका थिए । नेपाललाई पनि सामरिक खतरा पैदाभएको थियो । त्यस्तो आवस्थामा राजा मानदेवले छोरी भृकुटीलाई तिब्बती राजा श्रनचङ गम्पोसँग वैवाहिक सम्बन्ध कायम गराएर कुटनीतिक चातुर्य कायम गरेको देखिन्छ । त्यसैगरी प्रसिद्ध कलाकार अरनीको चीनमा गएर नेपाली कला प्रचार गरेका थिए भने भृकुटीमार्फत चीन र तिब्बतमा बौद्ध संस्कृतिको प्रचार भएको देखिन्छ । उत्तर र दक्षिणका साम्राज्यसँग सामरिक सम्बन्ध सामान्यीकरण गरिरहन नेपालका तत्कालीन शाकहरूले मैत्री भ्रमण, कोसेली आदानप्रदान आदि गर्दैआएको देखिन्छ । त्यसप्रकारको विरासतलाई पछिल्ला शासकहरूले पनि आत्मसात गर्दै भौगोलिक सुरक्षा कायम गर्दैआएका छन् । सामरिक सुरक्षाको प्रश्न तत्कालीन सामाजविकासको चरणले निर्धारण गर्ने प्रश्न हो, जसलाई तत्कालीन समाज र चेतनाविकासको आधारमा हेर्नुपर्दछ ।
युरोपमा १८ औँ शताब्दीमा औद्योगिक क्रान्ति सम्पन्न भएको थियो । त्यसको एक शताब्दी पुग्दानपुग्दै पूरै युरोप औद्योगिक क्रान्तिको उत्कर्षमा पुग्यो र त्यो एसियासम्म फैलियो । पुँजीवादी देशहरूका लागि बजारको अभाव भयो । त्यही अभाव पूर्तिको क्रममा युरोपियनहरू भारतीय उपहाद्वीप र अमेरिकासम्म पुगे । पुँजीवादी देशहरूका बीचमा बजार कब्जाका लागि हतियार, फौजीकरण र सैन्य हस्तक्षेपका होडबाजी चल्न थाले । त्यसै क्रममा प्रथम र द्वितीय विश्वयुद्धहरू भए । अठारौं शताब्दीको उत्तरार्ध र १९ औं शताब्दीको मध्यसम्म मुख्य आर्थिक शक्ति तथा सामरिक शक्तिका रूपमा रहेको ग्रेट ब्रिटेन (बेलायत) ले पूरै संसारमा आफ्नो कब्जा गर्दैआएको थियो । त्यसले भारतसहित पूरै दक्षिणएसिया कब्जामा लिइसकेको थियो । एसियामा जापान उसको बलियो प्रतिस्पर्धी थियो । जापान तथा ब्रिटेन दुवै चीन, तिब्बत, मङ्गोलिया, कोरिया तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा बजार कब्जा गर्न चाहन्थे । दोस्रो विश्वयुद्धको आसपासमा जापान बर्मासम्म आइसकेको थियो भने बेलायत जापानलाई पूर्वतिर धकेल्दै नेपालको बाटो हुँदै तिब्बतमा प्रवेश गर्न चाहन्थ्यो । ब्रिटेनका लागि नेपाल तिब्बत तथा चीन प्रवेशको आधारशिविर थियो । संसारकै सबैभन्दा विकसित उत्पादकशक्ति ब्रिटेनले आँखा गाडेको, उसले नेपालभन्दा तुलनात्मक रूपले विकसित भारतीय उपमहाद्विपहरू निलिसकेको स्थितिमा नेपालको स्थिति कस्तो थियो त ? स्वाभाविक प्रश्न उठ्छ ।
त्यसबेला नेपला उत्तर र दक्षिणको व्यापारिक मार्ग थियो, जसका कारण सिमरौनगढ, पाल्पा, मकवानपुर र बागमती उपत्यकामा समृद्धिको स्तर बढ्दैथियो । आर्थिक सम्पन्नताले सांस्कृतिक संमृद्धिलाई उचाइ प्रदान गर्दछ । बागमती उपत्यकाको सांस्कृतिक संमृद्धिले तत्कालीन नेपालको आर्थिक स्तर कति माथि उठेको थियो ? सहजै बुझ्न सकिन्छ । नेपालमा तामा, काँस, जडिबुटी, काष्ठकला, ताम्रकला, कपडा लगायतका घरेलु उद्योगको व्यापार बढ्दै थियो । उत्तर र दक्षिणको व्यापारिक मार्ग भएका कारण व्यापारिक लाभ बढ्दैगएको थियो । त्यसप्रकारको स्थितिमा नेपालमा आर्थिक रूपले बलियो तथा केन्दी्कृत शासनव्यवस्थाको आवश्यकता बन्नगयो ।
त्यतिबेला नेपालमा बाइसे र चौविसे राज्यहरू थिए । तिनीहरू एकआापसमा लडिरहन्थे । जनताले चर्को युद्धकर भुक्तानी गर्न बाध्य थिए । युद्धका कारण ठूलो आर्थिक तथा मानवीय क्षति भैरहन्थ्यो । आपसमा लडिरहेका राजारजौटाहरू दक्षिणमा मुख बाउँदै बसेको अजिङ्गररूपी ब्रिटेनको शरणमा जान्थे । आपसमा लडिरहेका भारतीय राजारजौटाहरूलाई एउटाको पक्ष लिदै अर्कोलाई कब्जा गर्दै क्रमशः पूरै दक्षिणएसिया निलिसकेको थियो । अङ्ग्रेजहरू नेपालमा पनि त्यही नीति लागू गर्न चाहन्थे । उनीहरूले इसाई धर्मप्रचारक पादरीहरूको सञ्जाल विस्तार गरिरहेका थिए । धर्मप्रचारको नाममा नेपालमा आन्तरिक कमजोरीहरू पत्ता लगाउने, शासकहरूका बीचमा सम्वन्ध कायम गर्ने, मनोवैज्ञानिक आधार तयार गर्ने तथा सामरिक रणनीति तयार गर्दैथिए । त्यस्तो स्थितिमा नेपालको स्वतन्त्र अस्तित्वका लागि केन्द्रीकृत राज्य, स्थिर शासनव्यवस्था र बलियो सामरिक शक्ति वस्तुगत आवश्यकता थियो । त्यो वस्तुगत आवश्यकतालाई बागमती उपत्यका र त्यसपछि पाल्पाली सेन राजाहरूलाई सम्बोधन गर्ने भौतिक आधार थियो । तर त्यो वस्तुगत आधारलाई आत्मगत रूपमा निकै नै कमजोर गोर्खाली राजा पृथ्वीनारायण शाहले सम्बोधन गरे । यसो पनि भन्न सकिएला कि पृथ्वीनारायण शाहको एकीकरणको महत्वकाङ्क्षी अभियान वस्तुगत आवश्यकता अनुकूल भएका कारण त्यसले आफूभन्दा निकै शक्तिशाली राज्यहरूलाई आश्चर्यजनक ढङ्गले पराजित गर्न सम्भव भयो ।
पृथ्वीनारायण शाहले एकीकरणको अभियान चलाइरहेका बेला मकवानपुरका सेन र बागमती उपत्यकाका मल्ल राजाहरूले अङ्ग्रेजसँग फौजी सहयोग मागिसकेका थिए । पृथ्वीनारायण शाहका विरुद्ध मकवानपुर सेन राजाको सहयोगमा आएको अङ्ग्रेजी फौजलाई मकवानपुरमा गोर्खाली फौजले पराजित गरेको थियो । राज्यविस्तार गरेका स्थानबाट पृथ्वीनारायण शाहले अङ्ग्रेजी धर्मप्रचारक पादरीहरूलाई देशनिकाला गरे । उनले नेपालको अर्थराजनीतिको सुन्दर व्याख्या गर्दै “गोराहरू हाम्रो मुलुककमा पस्या भने मुलुक कङ्गाल पारी छाड्न्याछन्” भनेका थिए । मकवानपुरको युद्धमा पराजय भएर भाग्नु र पादरीहरू निष्काशन हुनुपरेपछि अङ्ग्रेजहरूले नेपालका विरुद्ध युद्धको तयारी गरिरहेका थिए ।
पृथ्वीनारायण शाहको मृत्युपछि उनका उत्तराधिकारीहरूले पनि एकीकरणको अभियान जारी राखे । दरबारमा आन्तरिक शक्तिसङ्घर्ष सुरु भयो । त्यो शक्तिसङ्घर्षमा अङ्ग्रेजहरूले आफ्नो भूमिकाको खोजी गर्नथाले । लामो युद्धका कारण आर्थिक स्थिति कमजोर भएको र आन्तरिक कलह गहिरिएको अवस्थामा सन् १८१५ मा अङ्ग्रेजले ठूलो तयारी सहित नेपालका विरुद्ध युद्धको घोषणा गरे । अत्याधुनिक हतियारले सुसज्जित अङ्ग्रेजी फौजका विरुद्ध नेपाली नरनारीहरूले घरेलु हतियारको सहारामा बहादुरपूर्वक लडे । हरेक मोर्चामा नेपालीहरूले बहादुरीपूर्वक लडे । अङ्ग्रेजहरूलाई पहिलो विश्वयुद्धमा ध्यान केन्द्रित गर्नुथियो भने नेपाली फौजलाई सहजै पराजित गर्ने स्थिति थिएन । नेपाली सेनाले पनि प्रत्यक्ष युद्धमा तत्काल अङ्ग्रेजलाई पराजित गर्न सक्ने स्थिति देखिएन । नेपाली सेनाका लागि शक्तिसञ्चय गरेर दीर्घकालीन युद्धको तयारी गर्नुपर्ने देखियो । नालापानीको युद्धमा नेपाली नरनारीको बलिदानलाई अङ्ग्रेज फौजहरूले “हाम्रा बहादुर दुस्मनको स्मृतिमा” भन्दै शिलालेखहरू छोडेर गए । यस्तो स्थितिमा अङ्ग्रेजहरूले नेपाललाई आत्मसमर्पण गर्नका लागि दबाब दिए । त्यसपछि नेपालको फौज तथा भारदारहरूका बीचमा अङ्ग्रेजहरूका सामू झुक्ने कि अन्तिम लडाइँ लड्ने ? भन्ने बहस सुरुभयो । दरबारले अङ्ग्रेजका अगाडि आत्मसमर्पण गरेपछि अमरसिंह थापालगायतका देशभक्तहरूले आफ्नै प्रकृतिको विद्रोह गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले फ्रेञ्च प्रविधि र हतियारले नेपाली सेनालाई पुर्नसङ्गठित गर्नथाले । सेनाको सङ्ख्या पनि बढाइयो । अङ्ग्रेजहरूले भारदारहरूको एउटा पक्षलाई प्रयोग गरेर भीमसेन थापालगायत थापाखलकका सारा देशभक्तहरूको हत्या ग¥यो । भीमसेन थापाको देशभक्तिबाट प्रभावित भएर राजा रणबहादुर शाहले “म मरे मुलुक डुब्ने छैन, भीमसेन मर्यो भने मुलुक डुब्नेछ” भनेका थिए । रणबहादुर शाहले भनेझैँ भीमसेन थापाको मृत्युसँगै नेपालको सार्वभौमिकता तीव्र रूपमा कमजोर बन्दैगयो । देशभक्तहरूको निषेधकै क्रममा माथवर सिंह थापाको हत्या गरियो । वि.सं. १९०३ मा कोतपर्वमा सम्पूर्ण देशभक्तका भारदारहरूको सामूहिक हत्यासमेत भयो । सन् १८१६ को अपमानजनक सुगौली सन्धिमा नेपालले आफ्नो दुईतिहाई भूभाग गुमाउनु परेको थियो । त्यसपछि नै नेपालमा देशभक्त र अङ्ग्रेजपरस्त धारा पूर्ण आकारमा अस्तित्वमा आएका थिए । यी दुई धाराका बीचको टक्कर नै नेपाली राजनीतिको मुख्य प्रश्न बनेको थियो । त्यो टक्कर झनझन् पेचिलो बन्दैगयो । कोतपर्वको सामूहिक हत्याकाण्डमा सम्पूर्ण देशभक्त भारदारहरूको हत्या भएपछि नेपालको शासनप्रणालीमा अङ्ग्रेजपरस्तहरू हाबी भए । दलाल शक्तिको नेतृत्व कार्ल मार्क्सका शब्दमा “अङ्ग्रेजको कुकुर” जङ्गबहादुरले गरे । जङ्गबहादुरको बेलायत यात्रादेखि गोर्खाभर्ती हुँदै लाहुरे संस्कृति भित्रियो । राणाशासनको १०४ बर्से शासन देशद्रोहीहरूको शासनव्यवस्था थियो ।
वि.सं. २००७ सालमा राणाशासनको पतन भयो । त्यसभन्दा अगाडि सन् १९५० मा ढल्न लागेको राणासरकारलाई दबाब दिएर भारतले नेपाली सार्वभौमिकताका विरुद्ध असमान र अपमानजनक सन्धि गर्न बाध्य पार्यो। सन् १८१६ को सुगौली सन्धिले नेपाललाई अर्धऔपनिवेशिक मुलुक बनायो । नेपालमाथि अङ्ग्रेजी प्प्रभुत्त्व भारतमा हस्तान्तरण भयो । २००७ सालमा नेपाली काङ्ग्रेस, राजा र राणाहरूका बीचमा त्रिपक्षीय सन्धि भयो, जसलाई दिल्ली सम्झौता भनिन्छ । दिल्लीसम्झौता राष्ट्रियता र जनतन्त्र दुवैका विरुद्ध थियो । त्यसका विरुद्ध २००७ मा डा. के.आई.सिंह र भीमदत्त पन्तले पश्चिम पहाडमा २००८ सालमा विद्रोह गरेका थिए । ती दुवै विद्रोहहरूलाई सन् १९५० को सन्धिमा टेकेर भारतीय सेनाले दमन गर्यो । नेपालको मन्त्रीमण्डलमा भारतीय सल्लाहकार राखियो । नेपालको उत्तरी सीमानामा भारतीय सुरक्षा जाँचचौकीहरू राखिए । गण्डक, कोसी, घाँसेघिउ लगायतका राष्ट्रघाती सन्धिहरू भए । नेपाली काङ्ग्रेसले जनतन्त्रको नारा दिँदै २००८ सालमा नेकपामाथि प्रतिबन्ध लगायो । देशभक्तिपूर्ण तथा सामन्ती भू–स्वामित्वका विरुद्धको आन्दोलनलाई दमन गर्यो । नेपाली काँग्रेसले मन्त्रीपरिषद्को सल्लाहकार समितिमा दिल्लीको प्रतिनिधिलाई अध्यक्ष चयन गर्यो । नेपालको उत्तरी सिमानामा भारतीय जाँचचौकी स्थापना गर्यो त्यसका विरुद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा देशभक्ति धारा पनि सशक्त बन्दैगयो ।
२०१२ सालमा मनमोहन अधिकारीमार्फत ‘संवैधानिक राजतन्त्र र मिश्रित अर्थतन्त्र’ को नीतिमार्फत नेपाली कम्युनिस्ट आन्दोलनमा दलाल तथा नोकरशाही पुँजीपति वर्गको घुसपैठ भयो, जसका कारण देशभक्ती धारा कमजोर हुनु स्वभाविक थियो । नेपाली काङ्ग्रेसले जमिन जोत्नेको नारा र संविधान सभाको निर्वाचनमार्फत जननिर्वाचित विधायकहरूले बनाएको संविधानअनुसार शासनव्यवस्था सञ्चालन गर्ने घोषणा गरेको थियो । त्यो नारा सामन्तवाद–साम्रज्यवाद विरोधी नारा थियो । आफ्नो वर्गचरित्रका कारण नेपाली काङ्ग्रेसले २०१५ सालमा संविधानसभाको नारा छोड्यो र दिल्लीमा निर्मित संविधान स्वीकार गर्यो । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारा पनि सामन्तवादसाम्राज्यवादपरस्त भएरगयो ।
२०१५ सालपछि नेपालमा दलाल पुँजीपति वर्गले जनतन्त्र र सामन्ती वर्गले राष्ट्रियताको पहरेदारको दाबी गर्नथाले । कम्युनिस्ट आन्दोलनले सामन्तवाद र साम्राज्यवाद दुवैका विरुद्ध लडेर मात्र स्वतन्त्र राष्ट्रवादी, जनवादी धारा निर्माण गर्न सम्भव थियो, तर त्यो हुन सकेन । २०१७ सालमा राष्ट्रियताको चर्को नारा दिँदै कालापानीक्षेत्र भारतलाई सुम्पेर राजा महेन्द्रले नेपालमा पञ्चायती निरङ्कुश शासन लादे । २०१९ सालमा राजा महेन्द्रले नेपाली काङ्ग्रेसद्वारा स्थापित गरिएका भारतीय सेनाका उत्तरी सिमानाका जाँचचौकी त हटायो । तर कालापानीक्षेत्र भारतलाई सुम्पियो । यसरी सामन्त तथा नोकरशाही पुँजीपति वर्गको दुवै राष्ट्रियता र जनतन्त्रका बाधक शक्तिहरू हुन् भन्ने कुरा तथ्यहरूले पुष्टि गरिसकेका छन् ।
चालिस बर्से पञ्चायती कालरात्री मण्डले राष्ट्रवादको उत्कर्ष अवधि थियो । भारतीय विस्तारवादसँग घुँडा टेक्दै, राष्ट्रघाती सन्धिहरू गर्दै र राष्ट्रियताको चर्को नारा उराल्दै जनतामा भ्रम उत्तपन्न गरेर पञ्चायतविरोधी आन्दोलनलाई विदेशी उक्साहटको आरोप लगाएर निरङ्कुश शासनको आयु लम्ब्याउने रणनीति नै पञ्चायती व्यवस्थाको राष्ट्रवादको अर्थ थियो, जसलाई मण्डले राष्ट्रवाद भनिन्थ्यो । यद्यपि साम्राज्यवादसँग सामन्तवादको निश्चित अन्तर्विरोध रहन्छ । आजको सामन्तवाद साम्राज्यवादको स्थानीय आर्थिक एकाइ भएका कारण त्यसको स्वतन्त्र अस्तित्व सम्भव छैन । साम्राज्यवादको आधारभूत स्वार्थसँग टक्कर लिन सम्भव छैन । त्यसैले पञ्चायती व्यवस्थाले भारतीय विस्तारवादका सामू घुँडा टेक्दै आयो । ‘राजा’ वीरेन्द्रको शान्तिक्षेत्रको प्रस्ताव भारतीय हस्तक्षेपको विरुद्ध पञ्चायती निरङ्कुशताको निरन्तरताका लागि थियो, जुन प्रस्तावलाई पाकिस्तानले पछि आएर समर्थन जनाएको थियो भने भारतले कहिल्यै समर्थन गरेन ।
सन् १९५० को सन्धि भारत र नेपालले समान रूपमा लागू हुने सन्धि थियो । तर भारतको हकमा त्यो कहिल्यै लागू हुने गर्दैन । २०४५ सालमा राजा वीरेन्द्रले सन् १९५० को सन्धिको प्रतिकूल चीनसँग हतियार खरिद गरे । चीनको भारतमाथि चर्को व्यापारिक दबाब पारिरहेको थियो र भारत नेपाललाई त्यसका विरुद्ध प्रयोग गर्न चाहन्थ्यो । भारतका एक नेताले भनेका थिए : ”नेपालको जनसङ्ख्या नै १ करोड छ तर ३ करोड चिनियाँ छाता किन आयात हुन्छ ? ” नेपालको बजारमार्फत भारतीय बजारमा चिनियाँ हस्तक्षेप बढेकोप्रति संकेत गर्दै उनले यसो भनेका थिए । एक समय राजा महेन्द्र र नेहरूका बीचमा दिल्लीमा निजी वार्ता चलिरहेका बेला नेहरूले “भारतलाई नेपालमा विलय गर्दा के हुन्छ ?” भनेका थिए भनिन्छ । यसबाट भारतीय नेताहरूको नेपालप्रतिको हेपाहा मनोविज्ञान प्रष्ट हुन्छ ।
इतिहासका सबै कालखण्डमा चीनसँग नेपालको एकता मुख्य र बेलाबेलामा सङ्घर्ष हुँदैआएको छ । भारतसँग भने सङ्घर्ष मुख्य र एकता सहायक हुँदैआएको छ । त्यसकारण चीन र नेपालका बीचमा सामरिक रूपले नै रणनीतिक एकता छ र भारतसँग रणनीतिक रूपले नै सङ्घर्ष छ, जसका कारण वैधानिक रूपले स्थापित हरेक सरकारसँग चीनको सकारात्मक सम्बन्ध कायम हुँदैआएको छ । भारतीय सत्तारुढ वर्ग सामन्तवाद र साम्राज्यवादको हिँजडा चरित्रको छ । आत्मगत रूपमा (आन्तरिक) सामन्तवाद र बाह्य रूपमा विश्वसाम्राज्यवादको बोली नै त्यसको चरित्र हो । त्यसैले त्यसको पछौटे चरित्रको भण्डाफोर गर्दै माओले “भारतका लोकतान्त्रिक नेताहरूभन्दा नेपालका राजाहरू कयौँ गुना प्रगतिशील छन्” भनेका थिए । भारतीय नेता नेहरूले हिमालयशृङ्खलालाई भारतको सुरक्षा घेरा (आर्क) बताएका छन् र त्यही सोचाइ नै अहिले पनि भारतीय शासकवर्गको मुख्य सोचाइ हो ।
तीसको दशकमा पुष्पलाल श्रेष्ठले दलाल पुँजीपति वर्गसँग संयुक्त मोर्चा कायम गर्ने नीति लिएपछि अर्थात् नेपाली काङ्ग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टीका रूपमा विश्लेषण गरेपछि कम्युनिस्ट आन्दोलनको राष्ट्रवादी धार कमजोर भएको थियो । तर त्यही दशकमा झापाली विद्रोह र त्यसबाट विकसित धारले देशभक्तिको आन्दोलनमा सकारात्मक प्रभाव पार्यो । त्यसैगरी एकीकृत चौथो महाधिवेशन, मजदुर किसान सङ्गठन, रातो झण्डा समूह लगायतका समूहहरूले देशभक्तिको धारालाई अगाडि बढाए । २०३५ सालदेखि तत्कालीन एमालेम देखापरेको विसर्जनसँगै देशभक्तिको धारा कमजोर हुँदैगएको देखिन्छ ।
२०४६ सालमा विस्तारवादसँग सीमित अन्तर्विरोध भएको पञ्चायती व्यवस्थाको अन्त, राजतन्त्रको भूमिका सीमित हुनजानु, क्रान्तिकारी शक्ति आत्मगत रूपमा कमजोर हुनु तथा दलाल पुँजीपति वर्ग सत्तारुढ भएका कारण देशभक्तिको धारा इतिहासमै निकै कमजोर भएको देखिन्छ । त्यही अवधिमा साझा मुद्रा, साझा नदी, कार्यइजाजतको खारेजी, भारतीय नागरिकलाई नेपालमा नेपाली सरहको उठबसको अधिकार लगायतका खुला र गोप्य सहमती र सम्झौताहरू भए । नेपालमा भारतीय सुरक्षाअधिकारीहरू हतियारसहित प्रवेश गर्नथाले । त्यसै अवधिमा विविसी नेपाली सेवाले ‘नेपाललाई भारतको एक प्रान्त बनाउँदा के हुन्छ ?’ भनेर सार्वजनिक बहस चलाउने दुरसाहस ग¥यो । भारतका कयौँ सार्वजनिक व्यक्तिहरूले नेपाललाई भारतको एक अङ्गका रूपमा सार्वजनिक टिप्पणी गर्न थाले । २०४६ देखि २०५२ सम्मको अवधि नेपाली राष्ट्रियता कोतपर्वकालकै स्तरमा कमजोर रह्यो । दलाल पुँजीपति वर्ग सत्तारुढ हुनु र देशभक्तिको धार कमजोर हुनु नै त्यसको मुख्य कारण देखिन्छ ।
२०५२ मा नेपालमा सामन्तवाद–साम्राज्यवाद विरोधी जनयुद्धरूपी विद्रोह सुरु भयो । त्यसका विरुद्ध भारतीय हस्तक्षेप पनि बढ्दैगयो । जनयुद्ध राजनीतिक प्रत्याक्रमणमा प्रवेश गरेपछि भारतले जनयुद्धका विरुद्ध प्रत्यक्ष फौजी हस्तक्षेपको तयारी गर्यो । त्यसका विरुद्ध माओवादी पार्टीले सुरुङयुद्धको घोषणा गर्यो । त्यसरी महान् जनयुद्धको अवधि नेपाली देशभक्तिको आन्दोलनको उत्कर्षको अवधि थियो । पृथ्वीनारायण शाहको राज्य एकीकरणदेखि १८१६ को सुगौली सन्धिबीचको आवधिकै स्तरमा जनयुद्धको १० वर्ष देशभक्त धारा मुख्य धारा बनेको अवधि थियो ।
संसदीय दलहरू र माओवादीका बीचमा १२ बुँदे सहमती हुँदै बृहत् शान्तिसम्झौतासम्म आउँदा सर्वहारा वर्ग र दलाल पुँजीपति वर्गका बीचमा एकता मुख्य पक्ष बनेरआयो । सामन्तवाद–साम्राज्यवादका विरुद्ध उठेका हतियार त्यो वर्गको पतन नभई विसर्जन गरियो । आधारइलाकाहरू र सर्वहारा सत्ता विघटन गरियो । सदनमा दलाल पुँजीपति वर्गको बहुमत भयो र त्यसैले वैधानिकता प्राप्त गर्यो । संविधान सभामा लोकतान्त्रिक मोर्चाको नाममा दलाल पुँजीपतिवर्गपरस्त धारा हाबी बन्दैगएको छ । भारतीय विस्तारवाद र दलाल पुँजीपतिवर्गपरस्त धाराले देशभक्त तथा जनवादी धारालाई हतियार र संविधानसभाबाट पृथक राख्ने र दमन गर्ने रणनीति बनाएको देखिन्छ । त्यसोभयो भने देशभक्त धारा फेरि निकै कमजोर हुने निश्चित छ । नेपाली काङ्ग्रेस र एमालेले पारित गर्न नसकेको ‘सुपुर्दगी सन्धि’ बाबुराम नेतृत्वको सरकारले सदनमा पेश गरेको थियो । त्यो विडम्बनापूर्ण घटनाले देशभक्तधारमै घुसपैठ र घातप्रतिघातको सङ्केत गर्दछ । हवाइअड्डामा भारतीय सेनाको मार्सल (कमाण्डो) राख्ने प्रस्ताव बहसमा छ । यसरी देशभक्त धाराका अगाडि गम्भीर चुनौती देखिएका छन् ।
सन् १९५० को नेपालभारत मैत्री तथा शान्ति सन्धि, दिल्लीसम्झौता, कालापानीमा भारतीय अतिक्रमण, भीमदत्त पन्तको हत्या, डा.के.आई सिंह विद्रोहको दमन, उत्तरी जाँचचौकीमा भारतीय सेना, नेपाली मन्त्रीमण्डलमा भारतीय सल्लाहकार मण्डल, तराईमा हिन्दी भाषालाई सरकारी भाषाको मान्यता, सरोज कोइराला हत्याकाण्ड, २०४२ सालको बमकाण्ड, मदनआश्रित हत्याकाण्ड, सीमाअतिक्रमण, कमरेड किरणलगायत माओवादी पार्टीभित्रका क्रान्तिकारी तथा देशभक्तहरूको गिरफ्तारी, रामवृक्ष यादव, मिर्जा दिलसाद बेगको हत्या हुँदै राजा वीरेन्द्रसम्मको वंशनाश फरक आसय, उद्देश्य, सन्दर्भ, प्रकृति, विचार र रूपका भए पनि तिनमा निहित उद्देश्य र संलग्नतामा भारतीय विस्तारवाद नै केन्द्रमा रहेको देखिन्छ ।
पछिल्लो अवधिमा भारतविरोधी भनी प्रचारित व्यापारी, उद्यमी र कुटनीतिज्ञहरूमाथि हमला भएको छ । भारतीय संलग्नतामा सार्वजनिक स्थलमा आतङ्ककारी हमला भएका छन् । देशभक्त र क्रान्तिकारी धारा निषेध हुँदैजाने र भारतीय विस्तारवादपरस्त धारा मौलाउँदै जाने भौतिक आधार निर्माण गरिएको छ । त्यसैले सुगौली सन्धिमा केही पराजित अनि कोतपर्वमा पूर्णत पराजित भएको र नेकपाको स्थापनापछि फेरि उठेको र २०५२ पछि उत्कर्षमा पुगेको देशभक्त धाराको विजय र सुगौली सन्धिपछि उदाएको दलाल पुँजीपति वर्गको पराजयबिना नेपालको स्वतन्त्रता, स्वाभिमान र उन्नति सम्भव छैन ।

(रामेछापबाट प्रकाशित हुने  विचार प्रधान पत्रिका हाम्रो नयाँ किरण बाट )
०००

You can leave a response, or trackback from your own site.

2 Responses to “नेपाल र नेपाली राष्ट्रवाद”

  1. sheela says:

    Anil jee always makes very logical and research oriented writings. In this article he is standing as a ‘himal’ on the side of Nationalism, BIG salute!!

    He has the strength to facilitate the transformation process of Maobadi party into a real ‘Maobadi party’ full of patriotism , but why his attempts are not concentrated to this direction…..I wonder!

  2. J B Oli says:

    Anil ji is an intellectual. He has fairly analyzed the history of nationalism. However, he could have extended his article to the current regime’s association with the agents and bourgeois class and how they have smartly turned the popular support into a bargain power. The cost of blood is being fixed every day.

Leave a Reply

See real websites hosted and built by iPage customers.