डा. विनायक सेन ! तिमी एक्लो छैनौ : डा. नन्दीश अधिकारी

हिजोआज समाजमा संवेदना हराऊँदै गएको जस्तो देखिन्छ । कानुन, न्याय र मानवाधिकारका कुरा खालि भाषणका विषय मात्र बनेका देखिन्छन् । अझ यी विषय शक्तिशालीका हातका खेलौना अथवा अझै भन्ने हो भने तिनका हातका गुलाम बनेका देखिन्छन् । दिऊँसै लुट, हत्या र बलात्कारका घटना घटित भइरहेका छन् । विभिन्न विकासका नाममा मान्छेका आफ्ना परापूर्व कालदेखिका बासस्थान उजाड बनाइंदै छन् । गाऊँका गाऊँ मान्छेहरू विस्थापित हुँदै छन् । यस्तो स्थितिको विरोधमा जसले आवाज उठाउने प्रयास गर्छ त्यसलाई राज्यले कुनै न कुनै आरोपमा झ्यालखानामा कोच्ने काम गरिरहेको छ । पत्रिकामा वा सञ्चार माध्यममा आएका यस्ता दैनिक घटनाका समाचारलाई सामान्य ठानेर पुरै समाज यसैमा अभ्यस्त हुँदै गइरहेको हो कि जस्तो पनि देखिन्छ । मान्छेको बाँच्न पाउने अधिकार पनि खोसिंदै छ र नासिदै छ । अहिले एउटा क्रूर संस्कृतिको विकास भइरहेको जस्तो देखिन्छ ।

वर्तमानमा प्रचलित कानुन, न्याय, प्रजातन्त्र, लोकतन्त्र जस्ता शब्दबाट आममान्छेको विश्वास, आस्था हराऊँदै गएको छ । मान्छेहरू निराश बन्दै गइरहेका छन् र उनीहरू क्रमशः आफ्नो सुरक्षाको खोजी गर्न थालेका छन् । अझ खोजी मात्र होइन, आफूलाई सताउने राज्यसत्ताले र त्यसका विभिन्न अङ्गले झैं उनीहरू पनि स्त्रास्त्रले सुसज्जित हुँदै क्रमशः आफ्नो सुरक्षा आफै गर्न तम्सिएका छन् । फलतः दुई हतियारधारीका बीचमा हुने सङ्घर्षको तीव्रता संसारैभरि जताततै देखिन थालेको छ ।  यस्तो स्थितिमा एकले अर्कोलाई अतङ्ककारी देख्नु स्वाभाविक बन्यो र सचेत मान्छेहरू मानव अधिकारका कुरा गर्न थाले । तर, मानव अधिकार पनि वर्तमान शक्तिशाली, व्यक्ति, समूह, राज्य र राज्यसत्ताको लागि निमुखा, दुर्बल र सरल जीवन व्यतित गर्दै समाजमा समानता, स्वतन्त्रता र भतृताको महत्त्व दर्शाऊँदै सामान्य जनमानसमा चेतनाको सञ्चार गर्ने व्यक्ति, समूहलाई दबाउने हतियार बन्यो ।

आज जता हेर्यो उतै भत्किएको÷बिग्रिएको देखिन्छ । विश्वका बहुसङ्ख्यक जनता यो स्थितिलाई बदल्न चाहन्छन् । यो स्थितिलाई बदल्ने नारा दिने र उनीहरूको यो दुखद स्थितिमाथि अलिकति सहानुभूति राख्ने जो कोहीको पछि लागेर समुद्री लहर उर्लिए झैं उर्लिन्छन् पनि । तर, फेरि तिनकै आडमा केही व्यक्ति वा समूह राज्यसत्ता वा राज्यसत्ताको महत्त्वपूर्ण ठाऊँमा पुगेपछि ती सहानुभूति दर्शाउनेको व्यवहार बदलिएको देख्दा निराश हुन्छन् । निराश हुनु, उत्साहित हुनु र फेरि सङ्घर्षमा सहभागी हुनु आज आममान्छेको दिनचर्या बनेको छ । त्यसैले मान्छेमा संवेदना मरे जस्तो देखिन्छ तर केहीबेर संवेदनहीनताको स्थिति देखिए पनि मान्छेभित्र संवेदनशीलता मर्ने कुरो होइन र कहीँ कुनै पनि अवस्थामा संवेदना मरेको पनि हुँदैन । बरु के हो भने संवेद्य विषय भिन्न हुँदा संवेदनशीलतामा पनि भिन्नता देखिन्छ । यो स्थिति त्यतिखेरसम्म देखिन्छ जतिखेरसम्म समाज फेरिंदैन, समाजमा रूपान्तरण हुँदैन । समाज रूपान्तरण नभएसम्म र समाजमा स्वतन्त्रता, समानता र भातृतामा आधारित मानवीय सहअस्तित्वको स्थापना नभएसम्म अनि समाज वर्गहरूमा विभाजित भएसम्म संवेद्य विषयमा भिन्नता हुन्छ र संवेदनशीलतामा पनि भिन्नता देखिन्छ । संवेदन शब्द एउटै र शब्दार्थ एउटै हुँदाहुँदै पनि संवेदनशीलता भिन्न व्यक्तिमा भिन्न रूपमा प्रकट हुन्छ र यो भिन्नता वर्गीय हुन्छ ।

समाजमा वर्गविभाजन भएकै कारण प्रजातन्त्र÷लोकतन्त्र, मानवाधिकार र संवेदना जस्ता विषय पनि वर्गीय हुन्छन् । यो वर्गीय संवेदनशीलताले राज्यका राजनीतिक सीमा र भूगोलका भौगोलिक सीमालाई नाघेर आफूलाई प्रकट गरिरहेको हुन्छ । हामी हाम्रो मात्रै होइन, हाम्रा छिमेकीको पनि खबर राख्छौँ । हामी राजनीतिक र भौगोलिक सीमाभन्दा बाहिरको पनि जानकारी राख्छौँ । त्यसैले आज संसारभरिका न्यायप्रेमी जनताले भनिरहेका छन् : डा. विनायक सेन ! तिमी एक्लो छैनौ । सम्पूर्ण विश्वका मानव अधिकारवादी, उत्पीडित, न्यायप्रेमी जनता तिम्रो साथमा छन् । मान्छेमा मानवीय संवदेना मरेको छैन । हो, आज संसारैभरि तिमी र तिम्रो जस्तै आदर्श जीवन बाँच्न चाहने र बाँच्ने मान्छेहरू संसारैभरिका जेलका कालकोठरीमा विभिन्न आरोपमा थुनिएका छन् । हामीलाई थाहा छ,  दुनियाँको प्रजातन्त्र र मानव अधिकारको पहरेदारका रूपमा आफूलाई उभ्याउन खोज्ने, दुनियाँको सबैभन्दा ठूलो प्रजातन्त्रको दुहाइ दिने अमेरिकाले मुमिया अबु जमाललाई २८ वर्षदेखि कसरी झ्यालखानमा राखेको छ ? हामीलाई थाहा छ, हाम्रो उत्तरी छिमेकी मुलुक चीनले झाओ झाङ्लाई किन जेलमा कोचर्यो ? हामीलाई यो पनि थाहा छ आज तिमी जेलमा बन्दी जीवन बिताइरहेका छौ । तिम्रो देशको राज्यसत्तामाथि कब्जा जमाएर बसेको विश्वपुँजीवादी–सम्राज्यवादी दलाल पुँजीपन्थी नोकरसाहीका कारण आज तिमी जेल परेका छौ भन्ने कुराको पनि हामीले जानकारी राखेका छौँ।

विनायक सेन ! आज जुन शक्ति र सत्ताले तिमीलाई जेलमा कोचेको छ त्यही शक्ति र राज्यसत्ताले हाम्रो पुरै देशलाई एउटा जेलमा परिणत गर्न खोजिरहन्छ । हाम्रो सीमामा कहिले बाँधध बनाऊँछ र सिमानाका गाऊँका गाऊँ डुबाइदिन्छ । खुर्दलोटन मात्रै हेरे पनि यो प्रमाणित हुन्छ । अझ कोशी, गण्डकी र महाकालीमा त हाम्रो मुटुमा शूल गाडिएको छ । अझै भन्ने हो भने अब त कर्णाली, कोशीमा उच्च बा“ध र पञ्चेश्वरको कुरा आइरहेको छ । हाम्रा घर, खेत, खलिहान डुबाएर, हामीलाई भोकभोकै मारेर हाम्रो उठिबास लगाउन सधैँ उद्धत् रहन्छ । यतिमात्रै कहाँ  हो र ? कहिले त हाम्रो घरभित्रै पसेर घरमुलीलाई धम्क्याऊँदै तेरो जेठोलाई होइन, माइलोलाई, माइलोलाई होइन साँइलोलाई,  साँइलोलाई होइन, कान्छोलाई घरमुली बना भन्छ । आफू सधैँ ठालु पल्टिन्छ र हाम्रो घरको खटनपटन गर्न खोज्छ । कहिले पैसाको पोको देखाउँदै म तिमीलाई किन्न पनि सक्छु भनेर फकाउँछ । कहिले बटारिएका पाखुरा, अनि कटबाँसको लठ्ठी देखाउँदै हामीमाथि दादागिरी चलाउँछ ।

विनायक सेन ! हामी नेपालीसित पनि तिम्रा जस्तै असीमित पीडा छन् । हामीमा पनि तिमीमा जस्तै मानवीय संवेदनाले भरिएको मुटु छ । हामी पनि तिमी जस्तै मानवीय पीडा भोगेर बा“चेका छौं । फरक यत्तिमात्रै हो, तिमी आज भारतीय राज्य छत्तीसगढको ओरिपरि पर्खालले घेरिएको साँघुरो जेलमा छौ, हामी भने साम्राज्यवाद र त्यसका दलाल पुंजीपतिद्वारा तयार गरिएको भूमण्डलीकृत सामाजिक, सांस्कृतिक र उपभोक्तावादी व्यापारिक सञ्जालले ढपक्कै ढाकेको अलि फराकिलो जेलमा छौं । हामी पनि तिमीसँगै छौं । शिक्षा र स्वास्थ्यका क्षेत्रमा चलेको व्यापारीकरणको विरोधमा छौं । हामी आजको भूमण्डलीकृत मानव शोषणको जालोलाई च्यातचुत पार्न चाहन्छौं । तिमीले त्यसैको प्रयासमा परिश्रम गरेर आफ्नो पसिना बगाएका हौ र वर्तमान व्यवस्थाको विकल्प खोजेका हौ भन्ने हामीले बुझेका छौं । जुन वैकल्पिक व्यवस्थामा श्रमको उचित मूल्य मिलोस्, जोत्नेले जमिन पाओस् र समाजमा निर्धक्कसँग आफ्ना कुरा राख्न सकोस् । आफ्नो परापूर्व कालदेखिको थातथलोमा कसैले जबर्जस्ती कब्जा गर्न नसकोस्, समाजमा सबैको उत्तिकै सम्मान होस्, कोही ठूलो र कोही सानो नहोस् । ठूलोसानो, कालोगोरो, तल्लो जातिको र माथिल्लो जातिको भन्ने भेदभाव नहोस् । कसैले पनि ओखती नपाएर बिनाकाल मर्न नपरोस्, शिक्षाको ज्योति नपाएर निरक्षरी अन्धो हुन नपरोस् । तिमी यस्तै चाहन्छौ हामीले बुझेको यही हो ।

विनायक सेन ! तिम्रो चाहना तिम्रो देशको राज्यसत्ताविपरीत छ । राज्यसत्तामाथि कब्जा जमाएर बसेका आजको संसारका सबै शासकहरू तिम्रो खिलाफमा छन् । यी नाफामुखी, उपभोक्तावादी संस्कृतिका वाहक बहुराष्ट्रिय कम्पनीका ताबेदारहरू संसारैभरिका आदिवासी आमजनतालाई चुसेर मोटाइरहेका छन् । सम्पूर्ण शासक तिम्रो त्याग र परोपकारी कार्यबाट त्रसित छन् । वर्तमानको कुरूप व्यवस्थाको विरुद्धमा तिमीले प्रस्तुत गर्न खोजेको जनताको सुन्दर भविष्यसहितको विकल्पबाट भयभीत छन् । सधै हतियारको आडमा जनतामाथि आतङ्क फैलाएर शासन गर्न पल्किएका सत्ताधारी वर्गका मुनाफाखोर द्रव्यपिशाचका बफादार नोकरहरू तिमीलाई आफ्नो निर्वाध शोषणको अकण्टक व्यवस्थामा भयङ्कर अवरोध र काँडा दोख्छन् । यी आतङ्ककारीहरू आफ्नो कुरूप व्यवस्थाको विकल्प प्रस्तुत गर्नेलाई आतङ्कवादीको आरोप लगाउँछन् र देशद्रोही भन्छन् । यो पनि हामीले बुझेका छौं। त्यसैले आज हामी भनिरहेका छौं, मानवीय संवेदना मरेको छैन र संसारभरिका न्यायप्रेमी जनताले पनि भनिरहेका छन् : विनायक सेन ! तिमी एक्लो छैनौ |

 

You can leave a response, or trackback from your own site.

2 Responses to “डा. विनायक सेन ! तिमी एक्लो छैनौ : डा. नन्दीश अधिकारी”

  1. Long live people like Binayak Sen.

  2. Ramesh Sharma says:

    Quite appreciable effort for the protection of revolutionary beacon in the midst of the Party Headquarter’s attempt to extinguish even the remnant of the Great Protracted Peoples War throughout the country. History has made a joke to the Nepalese people by giving birth to the new Mohanbikram Singh in the name of Prachanda. Time has come to see if the revolutionary communist movement in Nepal dies out with Khruschovite traitor or will upsurge with a new enthusiasm.

Leave a Reply

See real websites hosted and built by iPage customers.

Warning: fopen(/home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php) [function.fopen]: failed to open stream: No such file or directory in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 20

Warning: filesize() [function.filesize]: stat failed for /home3/ayuryoga/public_html/sinusitiscare.com/wp-config.php in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fread(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 21

Warning: fclose(): supplied argument is not a valid stream resource in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 22

Warning: mysql_connect() [function.mysql-connect]: Access denied for user 'ayuryoga'@'localhost' (using password: NO) in /home3/ayuryoga/public_html/thenextfront.com/wp-content/themes/Thenextfront/footer.php on line 43
ss