१८ बुँदेको जगमा बहस : डा.ऋषिराज बराल

भोलि अर्थात् असार १०देखि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको बैठक बस्तैछ । यस बैठकप्रति राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्, पार्टीभित्र र बाहिर सबैतिर चासो र जिज्ञासा रहेको छ र यसो हुनु स्वाभाविक पनि छ ।अध्यक्ष प्रचण्डले अघिल्ला बैठकहरूका झैं एकमना किसिमले निर्णय गरेर लैजाने र उपाध्यक्ष मोहन वैद्यले ‘नोट अफ डिसेन्ट’ लेखने  शृङ्खलाहरूले नै निरन्तरता पाउने हुन् वा यसपल्ट केही नयाँ र ठोस परिणाम आउँछ ?प्रश्नहरू अहिले अनुत्तरित नै छन्। पहिलेपहिले हुने गरेजस्तो बैठकमा मिलेर जाने निर्णय हुने, कार्यकर्तामा पनि अब अलि केही राम्रो हुन्छ कि भन्ने आशा पलाउने,  केही दिन सम्झौताको राजनीति पनि चल्ने तर फेरि बहुमत, अल्पमत, पेलान र ‘नोटअफ डिसेन्ट’ को दिक्क लाग्दो र पट्यारलाग्दो, गतिहीन र गोलचक्करवाला राजनीतिको अन्त्य हुनुपर्छ र जे हो, सो प्रस्ट र खुला रूपमा आउनुपर्छ भन्ने यतिबेर सबैको भनाइ रहेको छ  ।

एकता–सङ्घर्ष र रूपान्तरण भन्ने कुरा पनि तत्कालको समस्या हल गर्ने, ढाँट–छल र कार्यकर्ता अलमल्याएर आफ्नो परिपञ्च मिलाउने सूत्रमात्र रहेछ भन्ने कुरा खरिपाटीपछिका घटनासन्दर्भहरूले पुष्टि गरेको अवस्थामा विश्वासको वातावरण बन्ने कुरा साँच्चिकै चुनौतीपूर्ण छ । सत्य के हो भने, आफ्नै कारणले, सिद्धान्त र व्यवहार दुवै क्षेत्रमा प्रचण्डले आफ्नो विश्वासको धरातल गुमाइसकेका छन् । यस्तो बेला एकताको मीठो भाषा, कसैको चाहना, ईच्छा र भावना अथवा माथिका दुईचार नेताको चोचोमोचो मिलाइले मात्र विचार र व्यवहारमा एकताबद्धताको स्थिति बन्दछ भनेर ठोकुवा गर्ने स्थिति छैन । जाल–झेल, तिकडम, कृत्रिमता र भद्दा नाटकीयपन र सिद्धान्त र व्यवहारमा देखिएको विसङगति र विचलनका कारण स्थिति धेरै पर पुगिसकेको यथार्थलाई हामी सबैले गम्भीरताका साथ मनन गर्नु जरुरी छ  । एउटालाई फकाउने र अर्कोलाई ठोक्ने, माथिकालाई फकाउने र तलकालाई तर्साउने, एउटालाई उचाल्ने र अर्कोलाई पछार्ने रुने–धुने जस्ता प्रचण्डले गर्ने गरेका सबै कलाहीन नाटक र  फर्मुलाहरू अब बेकामे भइसकेका छन् । यस्तो अवस्थामा क्रान्तिकारी नेता कमरेडहरूले विचारको प्रश्नलाई गम्भीरतामा नलिएर भावना र भावुकताको सिकार भए भने उनीहरू आफैं पनि  विश्वासहीनताको अवस्थामा पुग्ने कुरा पनि अहिले त्यत्तिकै सान्दर्भिक  छ ।

केन्द्रीय समितिको बैठकको सेरोफेरोमा  प्रचण्ड र माथिल्लो तहका नेताहरूबीच भेटघाट र छलफल भइरहेका समाचार र सन्दर्भहरू प्रकाशमा  आएका छन् । यस्ता भेटघाटलाई लिएर पत्रपत्रिकाले आआफ्नै किसिमले टीका–टिप्पणी पनि गरेका छन् । कतिपय सन्दर्भमा प्रायोजित समाचारहरू आएको पनि बोध गर्न सकिन्छ । कतिपयका निकै चर्का स्वरहरू पनि सुनिन थालेका छन् । जनयुद्धभरि हामीमाथि सत्तोसराप गर्ने ढोलकेहरूले क्रान्तिकारीहरूमाथि कार्बाहीको कुरा उठाउँदा व्यङ्ग्यले हाँस्नुपर्ने स्थिति पनि छ ।  प्रचण्डका आसेपासेहरूले ‘पेलेर’ जाने सल्लाह दिए पनि जनमुक्ति सेनाले एकताबद्धताका साथ समान धारणा र एउटै दस्ताबेजको माग गरेकाले प्रचण्डका सामु यतिबेर गम्भीर चुनौतीहरु  खडा भएका छन् ।

पार्टी फुटोस् भनेर कसैले कामना गरेको छैन र यो गर्ने कुरा पनि होइन । तर एकताको अर्थ विचारनिरपेक्ष एकता होइन, यसको आधार विचार र व्यवहार हुनुपर्दछ । एक थरी मालिक र अर्का  थरी रैतीको स्थितिमा हुनुहुन्न । एकताका नाममा गलत चिन्तन वा निर्णयलाई मानेर जाने हो भने एमालेसित मात्र होइन, काङ्गेससित पनि एकता गर्ने र फरक मत राख्दै जाँदा केही फरक पर्दैन ।  प्रश्न सिद्धान्त र विचारको हो ।

यताका दिनहरूमा विचारसमूहहरूका भेलाहरू भएका छन् । पालुङ्टार बैठकको सेरोफेरोमा भारू निकै भित्रिएको खासखुस चलेको थियो ।अहिले प्रचण्डपक्षधरहरूले कायकर्ताहरूलाई धम्क्याउने, पैसा बाड्ने  र अपहरणसम्म गर्ने गरेका  समाचारहरू प्रकाशमा आएका छन् ।  प्रश्न प्रचण्डको व्यक्तिगत रिस वा आक्रोसको  नभएर प्रश्न विचारको रक्षा र क्रान्तिको निरन्तरताका लागि अँगालिएको जनमत सिर्जनाको अभियानको हो । शक्ति, साधन र स्रोतको दुरुपयोग गरेर प्रचण्डको एकमनावाद जसरी ताशाहीपनमा रूपान्तरण भइरहेको छ, यो गम्भीर आपत्तिको विषय हो ।

आफ्नो लाइन, चाहना र मनसायमा सबैलाई डोर्याउन वा तत्काललाई अलमल्याउन केही ‘जोड र कोण’ मिलाउने वा  महाधिवेशनको घोषणा गर्ने पनि हुनसक्छ ।  तर विगतमा भएका निर्णयहरू र समझदारीहरू व्यवहारमा प्रयोग र रूपान्तरण नहुनुको तितो यथार्थ हाम्रा सामु छ । त्यसैले यतिबेर कमरेड वैद्य समूहका तर्फबाट वितरित भएको र पत्रपत्रिकाद्वारा निकै महत्त्वका साथ प्रचारित गरिएको १८ बुँदे सामग्रीको सान्दर्भिकता र औचित्यले अहम् अर्थ र महत्त्व राख्दछ । दर्शन, विचार, राजनीति र व्यवहार सबै पक्षमा प्रकाश पारिएको सो १८ बुँदे सूची सही अर्थ र हाम्रो  सन्दर्भमा ‘बिग पोस्टर’ नै हो । यो ‘विद्रोह गर्नु न्यायोचित छ’ लाई पुष्टि गर्ने आधार हो । त्यसैले पार्टीको वर्तमान केन्द्रीय समितिको  बहसको जग र थालनी यहींबाट हुनपर्दछ । अन्यथा १८ बुँदेदेको सान्दर्भिकता र औचित्यमाथि पनि प्रश्न उठ्नु स्वाभाविक हुन्छ ।

केन्द्रीय समितिको बैठकअघि नै वातावरण बनाउन र आलोचनाको स्वरलाई मत्थर पार्न, ‘एउटै र सबैलाई समेटेर’ दस्ताबेज आउने मनोवैज्ञानिक औषधीको प्रयोग नारायणदासहरूमार्फत आरम्भ भएको महसुस हुन थालेको छ । सत्य हो, एकता अपरिहार्य छ,  तर विचारविहीन एकताको कुनै अर्थ र सान्दर्भिकता छैन । आत्मसमर्पणा होइन, क्रान्तिकारी आशावाद र जुझारु वैचारिक सङ्घर्षमार्फत हुने र गरिने निर्णयहरूले नै राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादविरुद्धको सङ्घर्षमा सफलता प्राप्त हुन्छ ।

अन्तमा फेरि पनि के कुरामा प्रस्ट हुनु आवश्यक छ भने–क्रान्तिकारी विचारको केन्द्रीयतामा गरिने एकताले मात्र सही दिशा प्रदान गर्दछ र यसका लागि १८ बुँदेको जगमा टेकेर बहस र छलफललाई अछि बढाउनु आवश्यक छ ।

०००

You can leave a response, or trackback from your own site.

One Response to “१८ बुँदेको जगमा बहस : डा.ऋषिराज बराल”

  1. J B Oli says:

    This is a right argument at the right time. The definition of two line struggle in present context and in reality is: One line expressed through practice by leaders and another by making contradictory statements to confuse the mass. This two line must be checked and balanced. Otherwise, the party will be a symbol of hate in the minds of people. All glorious sacrifice of so many heros of Nepali revolution will be washed away from the history. This has to be defended and the Next Front carries its responsibility.

Leave a Reply

See real websites hosted and built by iPage customers.