हामीले अर्को मोर्चा खोलेकै हो : डा. ऋषिराज बराल

(माओवादी बुद्धिजीवी तथा मार्क्सवादी सौन्दर्यचिन्तक)

( क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च तथा वेबसाइट द नेक्स्ट फ्रन्ट का सम्बन्धमा थरीथरीका टिप्पणीहरू भइरहेको अवस्थामा  यसै विषयमा केन्द्रित भई  जनजिब्रो साप्ताहिकले  १८ चैत, २०६७ मा प्रकाशित गरेको अन्तर्वार्ता यहाँ पोस्ट गरिएको छ । )

मजदुर लगायतका सङ्गठनहरूमा समानान्तर कमिटी बनिरहेकोमा फेरि तपाईंहरूले बुद्धिजीवीको पनि समानान्तर कमिटी घोषणा गर्न लाग्नुभयो रे नि ?

हामीले बनाउन लागेको सङ्गठन समानान्तर कमिटी होइन । अहिलेका बुद्धिजीवी तथा सांस्कृतिक सङ्गठनहरूले समयको आवश्यकता पूरा नगरेकाले समयको मागअनुरूप बौद्धिक गतिविधिमा तीव्रता ल्याउन खोजिएको मात्र हो ।  भएका बोद्धिक–सांस्कृतिक सङ्गठनहरूले महान् जनयुद्धका मूल्य, प्राप्ति र आदर्शहरूको निर्वाह गर्न सकेनन् । महान् जनयुद्धका प्राप्ति र मूल्यहरूलाई संस्थागत गर्ने, तिनलाई निरन्तरता दिने र जनविद्रोहको पक्षमा जनमत तयार गर्ने प्रक्रियाका लागि हामी केही बौद्धिक साथीहरूले यस किसिमको मञ्चको आवश्यकता महसुस गरेका हौँ । पार्टीलाई खबरदारी गर्ने र जनताका बीचमा पनि जनविद्रोहको पक्षमा जनमतसिर्जना गर्ने कामका लागि यो एक किसिमको मञ्च निर्माणको तयारी हो, हामी त्यसको तयारीमा लागेकै हौँ । एक अर्थमा हामीले अर्को मोर्चाको तयारी गरेकै हौँ ।

 

यसो भनिसकेपछि तपाईंहरूको मञ्च कसरी समानान्तर सङ्गठन भएन त ?

यो समानान्तर सङ्गठन होइन,  किनभने त्यो बुद्धिजीवी सङ्गठनभन्दा बाहेकका र सांस्कृतिक मोर्चामा पनि नरहेका महान् जनयुद्धका पक्षधर  क्रान्तिकारी बौद्धिक तथा सांस्कृतिक कर्मीहरूको वैचारिकच बहस र विचार निर्माणको मञ्च हो  । हाम्रो यो मञ्चको तयारी त्योभन्दा पनि प्रभावशाली र शक्तिशाली  थलोको थालनी भएकाले समानान्तर सङ्गठन होइन ।

 

होइन, अझै कुरा बुझिएन । बुद्धिजीवी सङ्गठन क्रियाशील हुँदाहुँदै फेरि तपाईंहरूलाई यो मञ्चकै आवश्यकता चाहिँ किन पर्यो ?

सिङ्गो माओवादी पार्टीकै दिशा कता हो, त्यो कता गएको/जाँदै गरेको हो– त्यसमा अन्योल छ । कतिपय कुराहरूमा माओवादी पार्टीमै वैचारिक स्खलन देखिएको हुनाले बौद्धिक–सांस्कृतिककर्मीहरूले खबरदारी गर्नुपर्छ भनेर नै हामीले यस किसिमको बौद्धिक–सांस्कृतिक मञ्चको आवश्यकताबोध गरेका हौँ । त्यो आवश्यकता अहिले माओवादीसँग भएको बुद्धिजीवी सङ्गठनले पूरा गर्छजस्तो लागेन । त्यसैले  समयको आवश्यकता र क्रान्तिप्रतिको आशावादितामा केन्द्रित भएर यो बौद्धिक मञ्चको तयारीमा लागेका हौँ ।

 

पार्टीले मजदुर सङ्गठनका समस्या हल गर्न गम्भीर पहल गरिरहेकै सन्दर्भमा बुद्धिजीवीको यस्तो कदमले त झनै नकारात्मक सन्देश दिँदैन र ?

हामी पनि पार्टी एकताबद्ध बनोस्, क्रान्तिकारीहरूको एकताबद्ध केन्द्रीकरण होस्, महान् जनयुद्ध लडेर आएका हिजोका बुद्धिजीवीहरू, सांस्कृतिककर्मीहरू र खासगरी लामो अवधिसम्म महत्त्वपूर्ण जिम्मेवारी लिएर भूमिका निर्वाह गरेका साथीहरू जिम्मेवारीविहीन नबनून्, बेरोजगार नबनून् र पार्टीले समुचित व्यवस्था गरोस् भन्ने चाहन्छौँ । मजदुरहरूको फुट र विभाजनका पछाडि पार्टीका मजदुर सङ्ठन हेर्ने माथिल्ला तहका साथीहरूमा प्रस्ट दृष्टिकोण नहुनुको कारणले अहं भूमिका खेलेको प्रस्ट छ । मजदुरहरूका समस्यालाई ठीक समयमा÷ठीक ढङ्गले हल नगर्नाले नै यसले विकराल रूप लिएको हो । बौद्धिक–सांस्कृतिक क्षेत्रका समस्याहरू पनि समयमा हल गर्न नसक्दा, यस क्षेत्रका समस्याहरूलाई न्यूनीकरण गर्दा र यसको आवश्यकताकोबोध नगर्ने प्रवृत्तिका कारण हामीले नचाहँदानचाहँदै पनि हामीलाई यस किसिमको मञ्च निर्माण गर्नैपर्ने आवश्यकताबोध हुनपुग्यो । अझै पनि पार्टीले निश्चित समय लिएर यसको वैज्ञानिक हल गरोस् भन्ने चाहन्छौँ ।   त्यसबीच उपयुक्त समाधान भएन भने मञ्चलाई खुला रूपमै घोषणा गरेर गतिका साथ पूर्वदेखि पश्चिमसम्म लैजान्छौँ ।

 

भनेपछि पार्टीका नेताहरूको ‘सांस्कृतिक विचलन’ विरुद्ध पो हो कि कसो तपाईंहरूको मञ्च ?

ठीकै हो । जनयुद्धकालमा हामीले प्रचण्डपथीय सौन्दर्यशास्त्र भनेका हौँ । अहिले प्रचण्ड कमरेड नै ‘अध्यात्मवाद र भौतिकवादबीच फ्युजन’ जस्ता फजुल कुरा उठाउनुहुन्छ । कहिले उहाँ भैंसीपूजा गर्न हिँड्नु हुन्छ त कहिले रेखा थापासँग नाच्न पुग्नुहुन्छ, कहिले ‘गरूडपुराड र ‘महायज्ञ’ मा प्रमुख अथिति बन्नुहुन्छ । सुख–सुविधा र ‘मस्ती’ को जिन्दगीमा उहाँ र उहाँका वरिपरिका नेताहरू रमाउन थालेका छन् भने बाहिर कसरी हामीले साम्राज्यवाद–सामन्तवादविरुद्ध लड्ने ? आफैंभित्र सामन्तवादी र साम्राज्यवादी संस्कृति फस्टाउन थालेपछि अब लडाइँको, वर्गसङ्घर्षको मोर्चा बाहिर मात्र होइन; भित्र पनि लड्नुपर्ने भएकाले हामी बुद्धिजीवी र सांस्कृतिककर्मीहरूले हामीभित्रै हुर्कन थालेको सामन्तवादी, पुँजीवादी र राष्ट्रिय आत्मसमर्पणवादी संस्कृतिका विरुद्ध एक किसिमको मोर्चा लड्नका लागि टिमबद्ध तयारी गरेकै हो ।

 

उसो भए यो दबाबसमूह मात्रै हो कि सङ्गठन नै हो त ?

हाल हामीले यसलाई दबाबसमूहकै रूपमा मात्र अघि बढाएका छौँ । र  यो पार्टीभन्दा बाहिरको मञ्च पनि होइन । हामी माओ ‘विचारधारा’ मान्दैनौँ– स्पष्ट रूपमा मार्क्सवाद–लेनिनवाद–माओवाद मान्दछौँ । हामी जनयुद्ध र जनविद्रोह मान्दछौँ । त्यसैले खबरदारीका लागि नै हो यो मञ्च । तैपनि स्थिति सकारात्मक दिशातिर बढेन भने खबरदारीको मञ्च नयाँ किसिमले विकसित हुन सक्दछ, विद्रोह गरेर नयाँ किसिमको मञ्चमा रूपान्तरित हुन सक्दछ । अहिले खबरदारीकै लागि हामीले अर्को मोर्चा ( नेक्स्ट फ्रन्ट) नामको एउटा वेब म्यागेजिन पनि चलाउन सुरु गरेका छौँ ।

कस्तो खालको वेब म्यागेजिन ? के काम गर्छ यसले ?

माथि भनेँ यसको नाम द नेक्स्ट फ्रन्ट हो । यो मूलतः मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध सांस्कृतिक तथा बौद्धिक क्षेत्रसित सम्बद्ध साथीहरूको टिमद्वारा सञ्चालित वेब म्यागेजिन हो । यो साइटमार्फत हामी महान् जनयुद्धका प्राप्तिहरू मूलतः सांस्कृतिक र बौद्धिक आन्दोलनका प्राप्तिहरूलाई अङ्ग्रैजी र नेपाली दुवै भाषामा निरन्तर प्रवाहित गर्छौं, जनयुद्धका मूल्यहरूलाई अन्तर्राट्रियकरण गर्छौँ । पार्टीभित्र देखिएका विकृति–विसङ्गतिहरूविरुद्ध भन्डाफोर गर्दै जनविद्रोह र क्रान्तिका लागि जनमत तयार पार्ने, अन्तर्राष्ट्रिय भाइचाराहरूसँग सम्बन्ध विकसित गर्ने, प्राप्तिहरूलाई विश्वव्यापीकरण गर्ने र पार्टीका नेतादेखि तल्लो तहसम्म देखिएका विचलन र विकृतिको भन्डाफोर गर्ने काम यसमार्फत हुनेछ । जनक्रान्तिमा एउटा मोर्चा बन्दुकको हुन्छ भने अर्को कलमको । कलमको मोर्चामार्फत प्राप्तिहरूको रक्षा र वर्तमान विसङ्गतिहरूको भन्डाफोर नै यो वेब म्यागेजिनको मुख्य काम हो ।

 

पार्टीभित्र बसेर पार्टीकै नेताहरूकै ‘भन्डाफोर’ गर्न मिल्छ ? अराजकता भएन र ?

सबैभन्दा बढी भन्डाफोर त माथिका  बाबुराम र प्रचण्ड कमरेडहरूबाटै भइरहेको छ नि अहिले । उहाँहरूबाटै जताततै छताछुल्ल भएको छ । माथि नै एक किसिमको अराजकता छ, त्यो अराजकतालाई चाहिँ छुट हुने अनि क्रान्तिको चिन्ता गर्नेहरूलाई चाहिँ रोक्ने कुरा हुँदैन । हदैसम्मका अराजक र क्रान्तिविरोधीहरूलाई छाडा छोड्ने अनि क्रान्तिको चिन्ता गर्नेहरूलाई बन्देज लगाउने काम गरिनु हुँदैन । पार्टी र क्रान्तिको सीमाभित्र रहेर अनि पार्टीका नीति–नियम र विधानभित्र रहेर विकृति–विसङ्गतिको भन्डाफोर गर्नु अराजकता होइन, यो त जिम्मेवारी हो । जनताले हामीलाई दिएको जिम्मेवारी हो, त्यसप्रतिको हाम्रो दायित्वबोध हो ।

 

केही साथी ‘युवा नेता दबाव’ दिंदै  हुनुहुन्छ भन्ने सुनिएको छ, तपाईँ के भन्नुहुन्छ ?

 

म पनि पार्टी नफुटोस् । क्रान्तिकारी विचारको केन्द्रीयतामा पार्टी एक ढिक्का होओस् भन्छु । तर यो कामना वा चाहनाको मात्र कुरा होइन । यो विचारको कुरा हो र विचारको कुरालाई युवा,  प्रौढ वा बूढो भनेर कित्ता काट गर्नु ठीक होइन । यस्तो शैली पनि ठीक होइन । तर पनि साथीहरूको राम्रो प्रयासको समर्थन गर्नुपर्दछ ।

You can leave a response, or trackback from your own site.

2 Responses to “हामीले अर्को मोर्चा खोलेकै हो : डा. ऋषिराज बराल”

  1. Sheela says:

    Dear Comrade Dr Baral:
    You have been doing great job by initiating such a Front!
    Our request is to make a provision for writing comments in Nepali language as provisioned in the ‘mysansar.com’. It will help to read, write and understand the comments without language barrier.
    your’s
    Sheela

  2. ravi sharma says:

    Dear Comrade Dr Baral:
    You have been doing great

Leave a Reply

See real websites hosted and built by iPage customers.