सुनको सिंहासनमा बस्नेहरूविरुद्ध

Rishi 2071डा. ऋषिराज बराल

(अन्नपुर्ण पोस्टको रचनामा केही कुरा, खासगरेर चौथो अनुच्छेदमा ‘साम्राज्यवाद विरोधी ‘ हुनुपर्नेमा ‘ विरोधी ‘छुटेको र अन्य कतिपय कुरा पनि छुटेकाले मूल पाठ यहाँ प्रस्तुत गरिएको छ ।)

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलेको जनयुद्धलाई प्रचण्ड–बाबुराम गुटले गद्दारीपूर्ण किसिमले अन्त्य गरेपछि अब नेपालको माओवादी आन्दोलन कसरी अगाडि बढ्छ भन्ने कुरामा सर्वत्र चासो छ र देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू मात्र होइन, विश्वसाम्यवादी आन्दोलनका शुभचिन्तक र समर्थकहरू पनि यस विषयलाई लिएर गम्भीरताका साथ अध्ययन गरिरहेका छन् । प्रचण्ड–बाबुराम गुटको पार्टीसित माओवादी पदावली जोडिए पनि सो पार्टी कम्युनिस्ट मूल्य र आदर्शबाट धेरै पर पुगिसकेकाले नेपालको माओवादी आन्दोलन भन्दा नेकपा–माओवादीसित सम्बद्ध आन्दोलन भनेर पनि बुझ्नुपर्ने हुन्छ ।
मार्क्सवादको अन्त्य भयो, साम्यवादी आन्दोलन अब इतिहासको विषय भयो भनेर प्रतिक्रियावादीहरूले होहल्ला गरिरहेको अवस्थामा संसारलाई आश्चर्यचकित पार्नेगरी हामीले जनयुद्धमार्फत विश्वासको झन्डा उचालेका थियौँ । साथै प्रचण्ड–बाबुरामले गद्दारीको बाटो समातेपछि मालेमाको झन्डा झुक्न नदिने प्रणका साथ हामीले कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी—माओवादी गठन गरेका थियौँ । हामीमा नयाँ उत्साह र केही गर्छौं भन्ने प्रतिबद्धता थियो । परन्तु, यताका करिब दुई वर्षमा हामीले जेजस्ता भोगाइहरू भोग्यौँ, जे देख्यौँ, जे बुझ्यौँ र बुझ्दैछौँ, यसले हामीलाई गम्भीर तुल्याएको छ र नयाँ किसिमले सोच्न बाध्य पारेको छ । यथार्थतः यतिबेर हामी जेजस्तो गाईजात्रे स्थिति भोगिरहेका छौँ, यसले हामीलाई गम्भीर मात्र होइन, चिन्तित पनि तुल्याएको छ ।
एक समय माओवादीकहाँ गए न्याय पाइन्छ भन्ने समय थियो । एकाध विसङ्गत पक्ष भए पनि जनयुद्धकालमा मात्र नभएर ‘शान्तिकाल’ मा पनि माओवादीले छिटोछरितो र न्यायपूर्ण निसाफ दिन्छन् भन्ने प्रभाव जनमानसमा पार्न हामी सफल भएका थियौँ । तर दुखः र पीडाका साथ भन्नैपर्ने हुन्छ—यतिबेर हामीहरू आफैँ न्यायका लागि खुलारूपमा जनअदालतलाई गुहारिरहेका छौँ । यो आफैँमा विडम्बनाको स्थिति हो । एक समय हामी आदर्शका पात्र थियौँ । सबैले नेपालतिर देखाएर विरोधीलाई तर्कपूर्ण उत्तर दिन्थे— ‘हिमालयतिर हेर नयाँ सूर्य उदाइरहेछ’ । तर, अब हामीसित इतिहास मात्र छ । अनुभव छ । शिक्षा छ र वर्तमानको अमिलो पीडा छ । हामीसित जनसेना छैनन्, जनसत्ता छैन । अब त त्यो इतिहास, त्यो अनुभवलाई सुरक्षित राख्न पनि धौधौ परेको छ हामीलाई । त्यो इतिहास र अनुभवमाथि नै खुकुरी बजार्न थालिएको छ । दुस्मनबाट होइन घरभित्रैबाट धावा बोलिएको छ–हरामीहरू ।
हामी अन्तर्राष्ट्रियतावादको कुरा गर्छौ र हौँ पनि । थुप्रै मुलुकहरूमा माओवादलाई मान्ने कम्युनिस्ट पार्टीहरू छन् । जनयुद्ध नै आजको सर्वहारावादी क्रान्तिको एक मात्र बाटो हो भन्ने मुलुकहरू थुप्रै छन् । अरब प्रिङ्को उभारपछि एसिया, ल्याटिन अमेरिकामा मात्र होइन, अरब देशहरूमा पनि एकपल्ट फेरि माओको भूमिकाको चर्चा हुनथालेको छ । केही मात्रामा कोलम्बिया, केही मात्रमा फिलिपिन्समा भए पनि यतिबेर हामी सबैको आशाको केन्द्र भारत बनेको छ, जहाँका माओवादी कमरेडहरू भारतीय, अमेरिकी र इजराइली गठबन्धनविरुद्ध जीवनमरणको लडाइँ लडिरहेका छन् । महाशक्ति बन्न दौडधुप गरिरहेको भारतीय सरकारलाई वैचारिक र फौजी दुवै क्षेत्रमा चुनौती दिइरहेका छन् । यो साँच्चिकै खुसी र गर्वको विषय हो ।
यतिबेर हामीले केही गर्न नसके पनि भारतीय प्रतिक्रियावादका विरुद्ध लडिरहेका भारतीय उत्पीडित जनाका पक्षमा वैचारिक ऊर्जा थप्न उनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्न सक्नुपर्दथ्यो । भाकपा (माओवादी) गठनको दशौँ वर्षगाँठमा विश्वभरिका साम्राज्यवाद विरोधी  शक्तिहरूले क्रान्तिकारी ऐक्यबद्धता जाहेर गरिरहेका छन् । भर्खरै इटालीको मिलानमा यस सन्धर्भमा ऐतिहासिक सभा भएको कुरा पनि यहाँ स्मरणीय छ । तर हाम्रा ‘प्रवक्ताहरू’ अरूलाई उछिनेर माओवादी समाप्त पार्ने सपथ खाएका नरेन्द्र मोदीलाई महान् राष्ट्रवादी देख्नपुग्छन् । यो भन्दा विडम्बनाको विषय अरू के हुनसक्छ ! यसबाट हाम्रो चिन्तनको स्थिति र हामी उभिएको धरातल के–कस्तो रहेछ, हाम्रो यात्रा कतातिर जाँदैछ भन्ने कुरा प्रस्ट हुन्छ । यस्तो चिन्तन सङ्गठन र सङ्घर्षमा प्रतिविम्बित हुनु स्वाभाविक छ । अहिले हामी यही प्रतिबिम्बनको सिकार भएका छौँ ।
यो वर्षको गाईजात्रा पर्व त समाप्त भएको छ । तर, हामी दिनदनै गाईजात्रा मनाइरहेका छौँ । म मेरो घरभित्र जे देख्दैछु त्यसैका आधारमा यो सत्यलाई प्रकट गर्दैछु । जसमाथि कारबाही गर्नुपर्ने थियो, उसैले नै न्यायाधीश बनेर अन्यायमा परेकाहरूको भाग्य र भविष्यको फैसला गर्न, डन्डा बर्साउन र कोतपर्व मच्चाउन थालेपछि जनताका बीच जानु स्वाभाविक र आवश्यक दुवै हुन्छ । त्यसपछि सपना मरिसकेकाहरूका विरुद्ध, सपनाहरू नमारियोस् भन्नेहरूले कलमको मौसममा कलममा बारुद खाँद्न थाल्नु पनि स्वाभाविक हुन्छ । स्वेच्छाचारी निरङ्कुश प्रवृत्तिका विरुद्ध धावा बोल्नु मार्क्सवादसम्मत नै हुन्छ । अहिले कमरेड अनिल शर्मासित गाँसिएका प्रकरणहरूले यसै समय र सन्दर्भको सम्झना गराउँछन् ।
हुनुपर्ने कुरा अर्कै थियो ।
क्रान्ति सम्पन्न गर्न भनेर गठन गरिएको नेकपा–माओवादीमा नेपाली क्रान्ति कसरी सम्पन्न गर्ने, कार्यदिशालाई नेपाली समाजको वस्तुस्थिति र आवश्यकता अनु्सार विकसित गर्दै कसरी व्यवहारमा लैजाने भन्ने कुरामा गम्भीरताका साथ बहस–छलफल हुनुपर्ने थियो । कसरी ‘राइट म्यान इन दि राइट प्लेस’ र ‘थ्रि–इन वान’ को मालेमावादी सङ्गठनात्मक नीति र सिद्धान्तलाई व्यवहारमा अवलम्बन गरेर अघि बढ्ने भन्ने कुरामा हाम्रो साधना र सीप केन्द्रित हुनुपर्ने थियो । तर यहाँ त निषेधात्मक द्वन्द्ववादको ‘मार्सल ल’ लागु गरिएको छ । कसैलाई मनपरी लेख्न, बोल्न र व्यवहार गर्न छुट्छ । कसैमाथि आफ्नो कुरा राख्नसमेत नदिई सामन्ती शैलीमा बन्चरो उज्याइएको छ र यसैलाई मालेमावादी पद्धति भनेर दुनियाँलाई मुर्ख बनाउने दुष्प्रयास गरिएको छ । खासगरेर राष्ट्रिय स्वाधीनता र क्रान्तिकारी कार्यदिशाका पक्षमा दृढताका साथ उभिएका कमरेडहरूमाथि आतङ्कको निसाना बनाइएको छ—कतैबाट निर्देशित भएझैँ । दशैँमा काट्न ठीक पारिएको खसीलाई पनि पर्सिएर उसको ‘स्वीकृति’ लिएपछि मात्र गिँडिन्छ । यहाँ त मार्क्सवादलाई नै पाता कसेर लडाइएको छ । कस्तो हाँसउठ्दो कुरा ! यसले नेकपा–माओवादी कसरी चलेको छ/रहेछ भन्ने कुराको द्योतन गर्छ ।
यस परिस्थितिमा या त दास भएर “गल्ती भयो मालिक ! माफ पाउँ” भन्नुपर्ने हुन्छ, कि त आदिविद्रोही स्पार्टकस बन्नुपर्ने हुन्छ । यो टिप्पणीकार आदिविद्रोही बन्नु नै ठीक ठान्छ । यही दास हुन नचाहेर त सामन्तवाद र साम्राज्यवादका विरुद्ध हामीले माओवादको झन्डा उचालेर दसबर्से युद्ध लडेका हौँ र प्रचण्ड–बाबुरामको गद्दार गुटसित सम्बन्ध विच्छेद गरेका हौँ । अब अर्का थरीलाई नयाँ मालिक बनाएर काँधमा बोक्न र छोटे राजा बजाएर पूजा गर्ने पक्षमा हामी छैनौँ । मान्य छैन हामीलाई हुकुमी फरमान । कान खोलेर सुनेहुन्छ—अब खिया लागेका हतियारहरूको कुनै अर्थ छैन । कागजको फूललाई मात्र भिज्नुसित डर हुन्छ । वैचारिक सङ्घर्ष मात्र होइन, सङ्घर्षका सबै रूपहरूको प्रयोगका लागि हामी तयार छौँ–मालेमाले यही कुरा हामीलाई सिकाएको छ ।
हामी क्रान्तिकारी संस्कृति र जनवादी संस्कारको कुरा निकै जोडतोडका साथ गर्नेगर्छौँ । सांस्कृतिक आन्दोलनका हस्ति मानिने र ठानिने बडेबडे सौन्दर्यशास्त्रीहरू पनि छन् हामीसित । तर यहाँ त मार्क्सवादलाई उभिन्डो पारेर झुन्ड्याइएको छ र हेगेल र फायरबाखसित रमाउँदै ककटेल पार्टी मनाइएको छ—रात्रिभोज । गजबको कार्यशैली देखिन्छ यहाँ । भनेको कुरा नसुन्ने, लेखेर दिएको नपढ्ने र जब तपाईँ क्रान्तिको हितका लागि आमजनताका बीच खुलारूपमा जानुहुन्छ, अनि तपाईँ ‘अराजक’ ‘अनुशासनहीन’ र ‘नेतृत्वद्रोही’ ठहरिनु हुन्छ । राज्यद्रोहको अभियोग लाग्छ तपाईँमाथि— ‘नीति र नेतृत्वविरुद्ध अनर्गल प्रचार गरेको’ भनेर । गजबको जनवादी केन्द्रीयता छ हामीकहाँ । एक थरीलाई क्रान्तिविरोधी सबै हर्कत गर्न छुट छ—राजनीतिक व्यापार–व्यवसाय, खासा व्यापार, जग्गा कारोवार, राजदूतावासका भोजभतेर, कमिसनगिरीको तारतम्य र पेरिसडाँडासित गुप्त सम्बन्ध । तर, जसले यसका विरुद्ध खबरदारी गर्छ, उसलाई छप्क्याउने गरिन्छ । यो भन्दा रमाइलो जनवाद अरू के हुनसक्छ कमरेड ! प्रचण्ड खेलाईखेलाई सिध्याउँथ्यो, यी त ठाडै बन्चरो हान्दा रहेछन्— फासिवादी शैलीमा ।
पेरिस डाँडाको ‘रमझम’ बिर्सिन नसकेका र सिंहदरवारको फोहरी आहालमा डुबुल्की मार्दै “हरहर गङ्गे” भन्दै रमाएका ‘ती दिनहरू’ को मोह त्याग्न नसकेका पाखण्डी खुराफातीहरूले पोखरा बैठकपछि मलाई सिध्याउन खोजेका थिए । अहिले कमरेड अनिल शर्मालाई सिध्याउने दुस्साहस गरेका छन् र थप नामसूचीको धम्की पनि दिएका छन् । पोखरा बैठकपछि “दश जना उग्रवादीहरूलाई ठीक पारिन्छ” भनेर कार्यकर्तालाई आतङ्कित पार्दै हिँडेका थिए यिनै पाखण्डीहरू । जेलनेल, पीडा र सङ्घर्षका सबै यात्राहरू पार गरेर रगतको इतिहास लेखेर आएको पात्रको इतिहासलाई कसैको पाखण्डी हुकुमका भरमा समाप्त पार्न खोज्ने कस्तो मार्क्सवाद हो यो ! यो कस्तो जनवादी केन्द्रीयता हो ! क्रान्तिकारी योद्धाको निर्माण त्यसै हुँदैन । समय, श्रम र सङ्घर्षका थुप्रै उकालीओरालीहरू पार गरेर, थुप्रै परिक्षाहरू पास गरेर एउटा सङ्घर्षशील कार्यकर्ताको निर्माण भएको हुन्छ । नेतृत्वको जिम्मेवारी उसलाई ध्वस्त पार्ने होइन, सुरक्षा गर्नुपर्ने हुन्छ । कार्यकर्तामा उत्साह र क्रान्तिकारी आशावादको उदात्त भाव निर्माण गरेर अगाडि बढ्न ऊर्जाशील बनाउनुपर्ने हुन्छ । जब उसको इतिहासलाई सामन्ती फरमानका आधारमा ध्वस्त पार्न खोजिन्छ, ज्वालामुखी फुट्नु स्वाभाविक हुन्छ । प्रस्ट होऔँ, सुनको सिंहासनमा बसेर सर्वहारावादी क्रान्ति हाँकिन सम्भव छैन कमरेड !
मार्क्सवादी द्वन्द्ववाद कसैको हुकुमी फरमानमा चल्दैन । यसको आफ्नै वस्तुगत नियम हुन्छ । समयको क्रममा को को कसरी सिद्धिने हुन्, चाँडै छिनोफानो हुनेछ । अँध्यारा कोठामा गरिएका निर्णयहरूको सारतत्वप्रति नेकपा–माओवादीका इमानदार र क्रान्तिकारी कमरेडहरू अनभिज्ञ छैनन् । हामी सत्यका पक्षधर हौँ । हामीसित गुमाउने गाडी छैनन्, बङ्ला पनि छैनन्, खासा व्यापार र कमिसनतन्त्र छैन र ‘चुनाव बहिष्कार ‘अभियान’ मा ‘आर्जन’ गरेको ब्याङ्कब्यालेन्स पनि छैन । हामी बेलुका ‘ अलिकति नलगाई’ निन्द्रा नलाग्ने संसारमा पनि छैनौँ ।
नेकपा–माओवादी कुनै सामन्तको जमिन्दारी र बिर्ता होइन र हामी कार्यकर्ता कसेका रैती पनि होइनौँ । अब मोर्चाबद्ध हुनुको विकल्प छैन । हामी त्यसै आदिविद्रोही बन्न तयार भएका होइनौँ । प्रस्ट छ, २१ औँ शताब्दीका आदिविद्रोहीहरू हार्ने छैनन्/हार्दैनन् । माओलाई साक्षी राखेर सगर्व घोषणा गर्छन्/गर्छौँ —“तिमी तिम्रो किसिमले लड, हामी हाम्रो किसिमले लड्छौँ ।”
०००
०००

You can leave a response, or trackback from your own site.

3 Responses to “सुनको सिंहासनमा बस्नेहरूविरुद्ध”

  1. ajay sapkota says:

    धेरै धेरै धन्यवाद कमरेड ऋषिराज बराललाई
    ठिक बेलामा आयो म त भन्छु छुट्टै राष्ट्रिय भेलाको विकल्प नै छैन |जति ढिलो उति खत्तम कुहिएको आलु फालौ नयाँ आलु रोपौ |

  2. khem thapaliya says:

    यो सामग्रीले नेकपा–माओवादीको विचारधारात्मक विषयमा धेरै कुरा बोलेको छ । लेखकहरुले सधैँ अग्रमोर्चामा रहेर लड्नुपर्छ भन्थे । हो रहेछ ।

  3. प्रसान्त गोले says:

    बल्ल पो बुझ्नुभयो यस्ता कुरा ! अब कित्ता प्रस्ट पार्न बेला भयो |

Leave a Reply

See real websites hosted and built by iPage customers.