सुधिर शर्माहरूको पाखण्डपन: ऋषिराज बराल

(This is an article by Rishi Ral Baral, a reply to those so called leftists and democrats like Kanakmani Dikshit, Khagendra Sangraula, Sudhir Sharma and others, who have made a joint front to damage the revolutionary image of Comrade  Mohan Baidhya ‘Kiran’. Of course, it is a grand design directed by reactionary forces inside the country and abroad.)

कान्तिपुर दैनिकको जेठ ११ को अङ्कमा त्यसका सम्पादक सुधिर शर्माको ‘७२ घण्टाभित्र गर्नु पर्ने काम’  शीर्षकको एउटा लेख छापिएको छ । त्यसमा निकै गन्थनमन्थन, अर्तिउपदेश र कमरेड मोहन बैद्य ‘किरण’ र जनसेनासम्बन्धी एउटा निकै ‘रोचक’ र  हास्यास्पद टिप्पणी गरिएको छ । आजभोलि पत्रपत्रिकामा एउटा गजबको परिदृश्य देखन र हेर्न पाइने गरेको छ । बिम्बविद्रूपीकरणको एउटा घतलाग्दो नाटक योजनबद्ध रूपमा मञ्चन भइरहेको यथार्थ बोध गर्न सकिन्छ । माओवादी जनयुद्ध आरम्भ भएदेखि अन्तिम अवस्थासम्म लेख, कथा र टिप्पणीमार्फत यसको उछित्तो काढ्ने र  प्रचण्डले आफ्नो हत्याको निर्देशन दिएको भनेर पत्रपत्रिकामा लेख्दै र हारगुहार गर्दै हिंड्ने खगेन्द्र सङ्ग्रौलादेखि विदेशी शक्तिसित अत्यधिक उठबस भएका भनेर बदनाम भएका, माओवादी पार्टीको बदनाम गर्ने कार्यमा  अन्तर्राष्ट्रिय ठेक्का प्राप्त गरेका भनेर परिचित भएका र पछिल्लो समयमा बाबुरामबाहेक माओवादी पार्टीका अरू नेताहरूको चौविसै घण्टा खेदो गर्ने हिमाल पत्रिकाका दीक्षित र बाबुरामबाहेक माओवादीमा अरूलाई नेता र असल मान्छे नै नदेखने सुधिर शर्मालगायतकाहरू रातारात प्रचण्डका सच्चा हिमायती बनेर देखापरेका छन् छन् । यसो त यताका दिनमा थुप्रै झारपात–पतिङ्गरहरूले यस कार्यका जम्मेवारी लिएको देखिन्छ, तर प्रमुख रूपमा यी नामहरू अग्रपङ्क्तिमा रहेका देखिन्छन् ।  तिनले प्रचण्डलाई असल,  महान् र वस्तुवादी नेता  र मोहन वैद्यलाई स्वैरकल्पनावादी, जडसूत्रवादी, सङ्कीर्ण, अनुदारवादी र शास्त्रीयतावादी  हुँदाहुँदै हिंसावादी आदिआदि देखनपुगेका छन् ।

टिप्पणी प्रचण्डको प्रशंसाको नभएर तिनीहरू रातारात  प्रचण्डको यसरी हिमायति किन बने भन्ने हो । यो त्यसै भएको छैन । यिनीहरू बाबुरामको दक्षिणपन्थी चिन्तन र भारतपरस्त राजनीतिका प्रशंसक त छँदै थिए, प्रचण्डमा रहेको अलिअलि रातोपनले शान्ति र संविधानका नाममा देशी–विदेशी शक्तिका सामु आत्मसमर्पण गरेपछि यिनले अब प्रचण्ड सुधारिएको, वस्तुवादी–क्रान्तिकारी, व्यावहारिक, शान्तिप्रेमी र असल नेता देखनपुगेका छन् । अघिल्लो रातसम्म खराब प्रचण्डले शान्ति र संविधानका साथै सेनासम्बन्धी आत्मसमर्पणवादी नीति बहुमतका आधारमा पार्टीमा पास गराउन सफल भएपछि अब सुधिर शर्मालगगायतका नजरमा उनी माहन् भएका छन् ।

कुरा यत्तिमा मात्र सिमित छैन । यिनीहरूले एकोहोरो किसिमले किरणका भनाइ र चिन्तनलाई सही ढङ्गले नलिई, बुझेर पनि नबुझेजस्तो गरी र बिम्बविद्रूपीकरण गर्दै गोयबल्स शैलीमा जसरी शान्तिविरोधी संविधानविरोधी र हिंसाप्रेमीका साथै अनुदार र जडसूत्रवादी  नेताका रूपमा प्रस्तुत गर्न खोजेका छन्, यथार्थ यो भन्दा एकदमै फरक छ । कमरेड किरणले कतै पनि शान्तिको विरोध गरेका छैनन्. तर सुशासन र शान्तिका नाममा उनले पंचायती शासनको जस्तो शान्ति र यथास्थितिवादी सुशासन पनि चाहेका छैनन् । उनले चाहेको शान्ति अर्थपूर्ण शान्ति हो । उनले संविधान निर्माणको पनि कतै विरोध गरेका छैनन् । उनको जोड जनताको संविधानमा हो ।  उही प्रतिक्रियावादी र पुंजीवादी–जनविरोध संविधान र उही यथास्थितिमै  रमाउने खालको संविधान हो भने यत्रो जनयुद्ध र जनआन्दोलनको आवश्यकता किन पर्यो भन्दै जनताको सही अर्थको संविधान निर्माणमा जोड दिनुलाई संविधानविरोधी भन्नु कमलपित्ते हेराइ मात्र हो ।  जनपक्षीय संविधानको कुरा गर्नु र जनताको सही अर्थको  शान्तिका लागि सङ्घर्ष गर्नुलाई कसैले  स्वैरकल्पना र हिंसाप्रेमी, अनुदारवादी  भन्छ भने यसलाई कुपमण्डुकताबाहेक अरू संज्ञा दिन सकिंदैन ।

हुन त प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन भनिन्छ, तर  जसरी एकोहोरो किसिमले कमरेड किरणमाथि प्रहार गर्ने र बिम्बविद्रूपीकरण गर्ने काम भएको छ, यसले थुप्रै प्रश्नहरू उठाएको छ । उनीहरू कसका लागि र केका लागि यसो गरिरहेका छन् भन्ने कुरा यहाँ प्रश्न बनेको छ । भखैरे सुधिर शर्माले कान्तिपुरमा लेखे: “माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईसहित नेतृत्वको बहुमत हिस्सा शान्तिप्रक्रियाप्रति प्रतिबद्ध देखिन्छ भने उपाध्यक्ष मोहन वैद्य अगुवाइको समूहले लडाकुको समायोजनलाई ‘आत्मसमर्पण’ ठान्दछ । त्यसैले माओवादीले समायोजनको पक्षमा निर्णयक कदम चालेपछि वैद्य पक्ष पार्टीबाटै अलग्गिने त निश्चितप्रायः छ, तर त्यसको असर लडाकुमा नपरोस् भन्नेतर्फ माओवादी नेतृत्वको चिन्ता देखिन्छ । अहिले लडाकुमा वैद्य पक्षको प्रभाव न्युन छ, तर समायोजनको प्रक्रिया सुरु हु“दा त्यहा“ असन्तुष्टि भड्कियो र केही सय वा हजार लडाकु वैद्य समूहतर्फ  लागेर हिंसात्मक विद्रोहमा उभिए भने के हुन्छ भन्ने प्रश्न आफैमा गम्भीर छ ।”

यो भनाइ कान्तिपुरका सम्पादकले लेखेजस्तो नभएर प्रचण्डको कार्यालयको कुनै सचिवले लेखेजस्तो भएको छ र  यो एकदमै मनगढन्ते र बदनियतपूर्ण पनि छ । कमरेड किरणले कहिल्यै पनि सेना समायोजनको विरोध गरेका छैनन्, बरु सेना समायोजनको नीतिगत र तौरतरिकामा उनको  प्रस्ट धारण्णा र नीतिगत अडान रहेको छ । दस वर्षसम्म प्रतिक्रियावादी सेनालाई हायलकायल पारेको र बलिदानीपूर्ण र उदात्त इतिहास बोकेको जनसेनाको समायोजन सम्मानजनक किसिमले हुनुपर्छ भन्नेमा नै उनको धारणा र अडान हो । कहिल्यै नहारेको जनसेनाले आत्मसर्पणकारी किसिमले होइन, सम्मान र स्वाभिमानका साथ जीवन भोग्न पाउंनुपर्छ भन्ने उनको जोड हो । यस धारणालाई उनले विभिन्न लेखादि, अन्तर्वाता र भनाइमार्फत प्रस्टताका साथ बाहिर ल्याएका छन् । यसको अध्ययन नगरी वा गरेर पनि यसको कुव्याख्या गर्दै वा एकोहोरो र प्रायोजित किसिमले कमरेड किरणलाई जनताका आंखामा–हिंसाप्रेमी,  शान्तिविरोधी अनुदार शास्त्रीयतावादी र यस्तै अन्य फत्तुर लगाउनु भनेको साम्राज्याद र विस्तारवादको उद्देश्यपूर्तिको साधन बन्नु मात्र हो । जहाँसम्म वैद्य समूहको पक्षमा  कति कार्यकर्ता र जनसेना छन् भन्ने कुरा समय आएपछि प्रस्ट हुनेछ ।

कमरेड किरणले, प्रतिक्रियावादीहरू–साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरू, भिजिलान्ते पत्रकारहरू र  कथित बौद्धिक वेश्यावृत्तिको धन्धामा लागेका कथित स्तम्भकारहरूको प्रशंसा र प्रचारको पात्र बन्न विचार, राष्ट्रिय स्वाभिमान र क्रान्तिको सौदाबाजी गर्न जानेका छैनन् । समयले थुप्रै कुरा प्रस्ट पार्दै जाने छ । लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्मित छवि र इतिहास केही मिडिया माफियाहरूको योजनाबद्धताबाट ध्वस्त हुन सक्तैन  । कागजको फूललाइमात्र भिज्नुबाट डर हुन्छ ।

मान्छेमा हुने कमीकमजोरी उनमा पनि हुनसक्छन् । तर उनको क्रान्तिप्रतिको निष्ठा, आदर्श र मूल्यप्रतिको प्रतिबद्धता, सर्वहारामानवतावादप्रतिको समर्पण, त्याग, राष्ट्रिय स्वाभिमानिता र नेपाली जनताको मुक्तिप्रतिको चिन्ता र चिन्तनका साथै सरल जीवनशैली र क्रान्तिकारी आशवावादिताको न्यूनीकरण गरेर बाबुरामको भारतपरस्त दक्षिणपन्थी अवसरवाद र प्रचण्डको विसर्जनवादी उपयोगितावाद र उपभोक्तवादलाई महान् देखनु भनेको यथास्थितिवाद र राष्ट्रिय आत्मसपर्णवादकाको पक्षमा उभिनु हो । वास्तवमा यो घोर नैतिकहीनताको  उदारहण हो ।भर्खरै एउटा अन्तर्वातामा कमरेड किरणले भन्नुभएझैं, यी महानुभावरूले धेरै दिन पर्खिनुपर्ने छैन,  जित किरणकै चिन्तन र कार्यदिशाको हुने छ ।

०००

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.