सिद्धान्तनिष्ठ एकता कि गद्दारीको यात्रा !

Baral 3 - Copyऋषिराज बराल
“एकता” का नाममा हुने गरेका हल्लाबाट कोही पनि भ्रमित हुनुहुँदैन । जसका ओठमै यी शब्दहरू झुन्डिएका छन्, तिनीहरू नै सबैभन्दा बडी फूटपरस्त छन् ।…प्राय गरेर, सबैभन्दा बढी सङ्कीर्णवादी र सबैभन्दा झगडालू र धोकेबाजहरूले नै एकताका लागि बढी जोड दिनेगर्छन् ।…हाम्रो समग्र जीवनमा एकताको हल्ला गर्नेहरूले जति हामीसित झगडा गरे र हामीलाई पीडा दिए, त्यति अरू कसैले दिएनन् ।…यदि  मार्क्सवादीहरूले हेगमा बाकुनिनवादीहरूका फूटपरस्त गतिविधिहरूप्रति सम्झौतावादी रुझान अँगालेका हुन्थ्यौँ भने अन्तर्राष्ट्रिय मजदुर वर्गको आन्दोलनले गम्भीर परिणाम भोग्नुपर्दथ्यो । “एकता” का कारण  ‘अन्तर्राष्ट्रिय ‘छिन्नभिन्न हुनपुगेको हुन्थ्यो ।
(फ्रेड्रिक एङ्गेल्स : अगस्त बेबेललाई चिठी, १८७०)
बडो सुन्दर र मिठासयुक्त छ एकता पदावली । कम्युनिस्टहरू क्रान्तिकारी विचारको केन्द्रीयतामा क्रान्तिकारी समूह, उत्पीडित समुदाय र आम जनतालाई व्यापक रूपमा गोलबन्द गर्नुपर्ने कुरामा जोड दिन्छन् । परन्तु यो पदावली जति मिठासयुक्त छ, त्यत्तिकै विषाक्त पनि छ । एकता पदावलीको प्रयोग गरेर कम्युनिस्ट आन्दोलनलाई विसर्जनको स्थितिमा पुर्याएका घटनासन्दर्भहरू पनि हाम्रा सामु छन् । एकताको सुन्दर भाषालाई कसरी विषाक्ततामा फेर्न खोजियो, यसका नाममा कम्युनिस्ट ‘अन्तर्राष्ट्रि’ लाई कता लान खोजियो भन्ने कुरालाई एङ्गेल्सले पीडाजन्य भावमा बडो प्रस्टताका साथ उल्लेख गरेका छन् । एकता र फूटका नाममा लेनिनले लडेको लडाइँको गरिमामय इतिहासकथा पनि हाम्रो सामु छ । नेपालको कम्युनिस्ट आन्दोलसित पनि एकता र फूटको लामो शृङ्खला जोडिएको छ । माओवादी आन्दोलनभित्रको मात्र कुरा गर्दा पनि एकता र फूटको बडो घतलाग्दो परिदृश्य हाम्रा सामु देखापर्छ ।
आजभोलि माओवादी पार्टीहरूबीच एकताको निकै चर्को हल्ला सुनिन थालेको छ । खासगरेर एकीकृत माओवादीको सेरोफेरोमा रहेका माध्यमहरूले पार्टी एकताको सन्दर्भलाई बडो जोडतोडका साथ उठाएको पाइन्छ । एकताका सन्दर्भमा तिथिमिति र घडीपलासमेत जुराइएका समाचारहरू प्रकाशमा आएका छन् । क्रान्तिकारीहरूबीच एकता हुने अथवा सही माओवादीहरू एउटै झण्डामुनि आउने कुरामा विमति राख्नुपर्ने कुरा छैन । यो अहिलेको आवश्यकता हो र क्रान्तिप्रति प्रतिबद्धहरू यसका लागि सक्रिय हुनु आवश्यक पनि छ । परन्तु, को हो क्रान्तिकारी र को हो भ्रान्तिकारी प्रश्न यहीँनेर छ । जो सबैभन्दा भ्रान्तिकारी छ, उही नै सबैभन्दा बढी “क्रान्तिकारीहरूबीच एकता” को हल्ला गरिरहेको छ । विशृङ्खलित तथा विसर्जनोन्मुख माओवादी आन्दोलनलाई एकताबद्ध गरेर क्रान्तिकारी धारमा नयाँ गति र दिशा दिनका लागि एकता हो अथवा खास व्यक्ति वा समूहमा आएको सङ्कट टार्न अनि संसदीय रजनीतिभित्रको ठूलो पार्टी बनाउन एकताको परिपञ्च रचिँदैछ भन्ने प्रश्न नै अहिलेको प्रमुख प्रश्न हो ।
विचारमा देखापरेको विचलन सङ्गठनमा देखिनु स्वाभाविक हुन्छ । पार्टीबाट क्रान्तिकारी विचारलाई विस्थापन गरेर मात्र पुग्दैनथ्यो । यसका लागि क्रान्तिकारीहरूलाई पनि विस्थापन गर्नु आवश्यक थियो । प्रचण्ड र वाबुरामको वैचारिक विचलनले यही चलनचल्तीको बाटो पछ्यायो । त्यतिबेर माओवादी पार्टीभित्र केन्द्रीय समितिमा क्रान्तिकारी धारको सशक्त उपस्थिति थियो । यसलाई वैचारिक तथा सङ्ख्यात्मक दुवै दृष्टिले निस्तेज नपारी प्रचण्डको मनसुवा पूरा हुने स्थिति थिएन । जनयुद्धको नाम सुन्दै भागेका र जनयुद्धकालभरि माओवादीहरूलाई सामाजिक फासिवादी भनेर दस्ताबेजीकरण गर्ने नारायणकाजी श्रेष्ठ अर्थात् प्रकाशको दक्षिणपन्थी विसर्जनवादी गुटलाई पार्टी एकताका नाममा यसै उद्देश्यका साथ प्रवेश गराइएको थियो । त्यसपछि विचलन र स्खलनले गुणात्मकता प्राप्त गर्दैगयो । विचारको तहमा प्रचण्ड बाबुरामकै लाइनमा भए पनि वैचारिक विचलनलाई सङ्गठनात्मक विचलनमा रूपपान्तरण गर्नु आवश्यक थियो र यसका लागि केन्द्रमा बहुमतमा रहेको क्रान्तिकारीहरूलाई सङ्ख्यात्मक रूपमा अल्पमतमा पार्नु अर्थात् आन्दोलनलाई कमजोर पार्नु आवश्यक थियो । यसै उद्देश्य पूरा गर्न नारायणकाजी समूहलाई भित्र्याइयो । यो माओवादी क्रान्तिकारी आन्दोलनलाई दीर्घकालीन रूपमै ध्वस्त पार्न “ठूलो पार्टी” बनाउने दक्षिणपन्थी संसद्वादी चिन्तनयुक्त योजनाबद्धताको उपज थियो र यो सबै काम प्रचण्डको अगुवाइमा भएको थियो । माओवादी आन्दोलनप्रति गद्दारी गरेका प्रचण्ड अहिले बडो साखुल्ले बनेर एकताको होहल्ला गरिरहेका छन्, ठूलो पार्टी बनाउने भाषण गरिरहेका छन् । किरणहरू अमुक मितिमा आउँदैछन् र विप्लवहरू पनि आउने तयारीमा छन् भनेर दिउँसै राता पारिरहेका छन् । कार्यकर्तालाई मूर्ख बनाइरहेका छन् ।
नारायणकाजीको प्रवेशले विचलन र स्खलनलाई गुणात्मक रूप दिनु स्वाभाविक थियो । हेर्दा एकता थियो, सारमा यो विभाजनको आरम्भ थियो । यो एकता खरिपाटी भेलाको निर्णय र निष्कर्ष विपरीत थियो । मशालकालदेखि जनयुद्धको निरन्तरतासित जोडिएका कार्यकर्ता तथा नेताहरूलाई साक्षी किनारामा राखेर जसरी एकताका नाममा झारपात पतिङ्गर भित्र्याइयो, यो महागल्ती थियो । अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरूले पनि यो एकता प्रक्रिया बेठीक भएको टिप्पणी गरे । यसलाई लिएर हामीले बैठकहरूमा प्रश्न उठायौँ, किरण कमरेडले “एकताका लागि किन सङ्कीर्ण हुने” भन्नुभयो । विशेष केन्द्रीय ब्युरो भनिएको हाम्रो विशेष राज्य समितिका इन्चार्ज विप्लवले पनि बडो फूर्तिसाथ “सबलाई पचाइन्छ” भन्नुभयो । समयले कसले कसलाई पचायो सबै कुरा प्रस्ट भएको छ ।
ध्यान दिनुपर्ने विषय के छ भने चाहे नारायणकाजीसितको एकता होस्, चाहे नवराज सुवेदी, डिलाराम, लीला थापापिसतको एकता, चाहे पार्टीको छानबिन समितिले गौर हत्या काण्डका प्रमुख पात्रमध्ये एक भनेर किटान गरेका रामकुमार शर्मालाई भित्र्याउने कुरा होस्, यी सबै काम किरण कमरेडको संयोजकत्व बनेको एकता संयोजन समितिमार्फत भएका थिए । फोहोरमैला भित्र्याउने काम मात्र होइन, हत्यारा र अपराधी सबैलाई फूल माला लगाएर गृह प्रवेश गराउने कामको सहयोद्धा किरण कमरेड पनि हुनुहुन्छ । यस्तैयस्तै प्रवृत्तिले सिङ्गो पार्टीलाई विचलनको अकल्पनीय स्थितिमा पुर्यायो। यो यथार्थप्रति किरण र विप्लव दुवैमा गम्भीरताको अभाव देखिन्छ । एकताका नाममा गरिएका यस्ता विसङ्गत कार्यप्रति दुवैका दस्ताबेज मौन छन् । माओवादी आन्दोलनलाई विसर्जनमा पुर्याउने घटनाक्रमको अंशियार उहाँहरू पनि हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को खरिपाटी भेला वैचारिक सम्झौतामा टुङ्गिएको थियो र पालुङटार भेला पनि सम्झौताको भेला नै थियो । दुवै सारसङग्रहवादका उपज थिए । सारसङ्ग्रहवाद झन खतरनाक हुन्छ । यो छद्म अवसरवाद नै हो । आवश्यक पर्दा यो दक्षिणपन्थी उद्देश्य पूरा गर्न खुलेर आउँछ, र भयो पनि यस्तै । खासगरेर जनसेना समायोजनामा यो सारै निर्लज्ज र अपराधपूर्ण किसिमले आयो । यस्ता सन्दर्भहरूका कारण माओवादी पार्टीभित्र वैचारिक सङ्घर्ष चल्नु स्वाभाविक थियो । एउटै पार्टीभित्र लामो समयसम्म विचार समूह चलन सक्ने स्थिति थिएन र मार्क्सवादले यसो गर्ने अनुमति पनि दिँदैनथ्यो । लामो बहस र छलफल पछि किरण कमरेडको नेतृत्वमा नयाँ पार्टी गठन भयो । त्यसपछि थरीथरीका सन्दर्भहरू सतहमा आए । अमुक अमुकले मन्त्री नपाएका कारण पार्टी फुटाए भन्ने खालका टिप्पणीहरू पनि प्रकाशमा आए । जेजस्ता टिप्पणीहरू सतहमा आए पनि प्रचण्डसितको सम्बन्ध विच्छेदको मूल कारण वैचारिक प्रश्न नै थियो । यसको जग क्रान्तिकारी आशावाद थियो ।
किरण कमरेडको नेतृत्वमा नयाँ पार्टी निर्माणपछि पार्टी जसरी अघि बढ्नु पर्थ्यो, जुन गतिका साथ पार्टीलाई लैजानु पर्थ्यो , त्यसो हुन सकेन । सोलोडोलो रूपमा कार्यदिशाको प्रश्न केन्द्रीय प्रश्न बने पनि त्यहाँ विभिन्न किसिमका स्वार्थहरू सक्रिय हुनथाले । समयको आवश्यकतालाई ध्यानमा राख्दै सङ्गठनात्मक तथा कार्ययोजनामा क्रमभङ्गताको आवश्यकता थियो । सही मान्छे सही ठाउँमा कसरी स्थापित गर्ने, नयाँ पुस्ताबाट कसरी नेतृत्व विकास गर्ने, क्षमतावानहरूलाई कसरी उचित जिम्मेवारी दिने भन्दा पनि पार्टी अनुभववादी जडता र घिसेपिटे रुटिनबद्धातामा चल्न थाल्यो । पार्टी जागिरे शैलीमा चल्न थालेपछि पात्रगत अन्तर्विरोधहरू पनि देखापर्न थाले र यसले विचार भिन्नताको रूप धारणा गर्यो । प्रचण्डसित सम्बन्ध विच्छेद गर्नुअघि जेजस्ता समस्याहरू देखिएका थिए, कमरेड किरणले नेतृत्व गरेको पार्टीमा पनि भिन्नै रूपमा तिनै समस्याहरू देखिनथाले । अन्ततः किरण समूह पनि कमरेड विप्लवको नेतृत्वमा विभाजित भयो ।
अहिले माओवादी आन्दोलनसित जोडिएका झिनामसिना थुप्रै समूहहरू छन् । ‘एक मधेस एक प्रदेश’ को नारा लगाउनेहरूदेखि हयुगो चावेजको गीत गाउँनेहरू समेतले आफूलाई खाँटी क्रान्तिकारी भन्दै अरूलाई अर्तिउपदेश दिएको पाइन्छ । तर पार्टी भन्नलायक समूहहरूका रूपमा भने प्रचण्ड, किरण र विप्लवको नेतृत्वमा रहेका पार्टीहरूलाई मात्र लिन सकिन्छ । अहिले एकताको कुरा गर्दा मूलतः यिनै तीनओटा समूहको सन्दर्भ जोड्नु उचित हुन्छ ।
मैले धेरै ठाउँ उल्लेख गरेको छु, पार्टीसित माओवादी नाम जोडिए पनि, वैचारिक पक्ष खासगरेर क्रान्ति र राज्यसत्ता सम्बन्धी गलत धारणाका कारण प्रचण्ड समूह अब कम्युनिस्ट पार्टी रहेन । प्रचण्ड समूहसँग सम्बन्ध विच्छेद गर्दा त्यतिबेर वैचारिक विचलनका १८ ओटा बुँदा अघि सारिएका थिए र अहिले त्यसको सङ्ख्या दुई दर्जनभन्दा बढी पुगेको छ । अब आएर उनले बहुलवाद र संसद्वादलाई अँगालो हालेका छन् । त्यसैले जेजस्ता कमीकमजोरी रहे पनि नेपालको अहिलेको सापेक्षता र सन्दर्भमा माओवादी समूहहरू भन्दा कमरेड किरण र कमरेड विप्लवले नेतृत्व गरेको समूहलाई भन्नुपर्छ । विडम्बनाको विषय के छ भने एकताको चर्को होहल्ला यी दुई समूहबीच नभएर कमरेड किरणले नेतृत्व गरेको समूह र संसद्वादको अभ्यासमा इमानदारी र लगनशीलताका साथ लागेको प्रचण्ड समूहसित भइरहेको छ ।
अहिले एकताको छटपटाहट प्रचण्डमा छ । बाबुराम आफ्नो ‘जिम्मेवारी’ पूरा गरेर अर्थात् ‘प्रभुहरू’ ले दिएको कोर्स पूरा गरेर बाहिरिएका छन् र प्रचण्डलाई ठाडै चुनौती दिइरहेका छन् । यो पीडाले प्रचण्डलाई सारै मर्माहत पारेको छ । वैचारिक स्खलनका साथै प्रचण्डले निरन्तर सङ्गठनात्मक स्खलन पनि भोगिरहेका छन् । किरणहरूलाई ठीक पार्न योजनाबद्ध किसिमले पार्टीमा भित्र्याइएका नारायणकाजी श्रेष्ठको दम्स्याइ र धम्क्याइले प्रचण्डको रक्तचाप अनियन्त्रित किसिमले बढेको छ । सिंहझैँ गर्जने प्रचण्ड अहिले मुसा देख्दा पनि तर्सने भिजेको बिरालो जस्ता भएका छन् । मधेसवादीहरूसित पनि ठीक्क हुनुपर्ने विदेशी एजेन्सीहरूसित पनि ठीक्क हुनुपर्ने, देउबासित पनि ठीक्क हुनुपर्ने र किरणसित पनि ठीक्क हुनु पर्ने गजबको बेचैनी देखिन्छ यतिबेर प्रचण्डमा । उनमा यस्तै बैचनी ‘भैँसीपूजा काल’ मा पनि देखिएको थियो । यस किसिमको अवस्थाबाट आतङ्कित प्रचण्डले एकताको जाल फ्याल्नु अनौठो कुरा होइन ।
अप्ठेरो किरण कमरेडलाई पनि छ । गद्दार हुन पनि मन नलाग्ने र क्रान्तिका लागि जोखिम पनि मोल्न नसक्ने बडो गजबको अकर्मण्यता कमरेड किरणमा देखियो । इच्छाशक्तिको अभाव उहाँको अर्को समस्या रह्यो । अकर्मण्यताको यही ज्वालामा उहाँको इमानदारी, वैचारिक निष्ठा, सौन्दर्यचेत र क्रान्तिकारी इतिहास जल्दैगयो र पार्टीमा खाओवादीहरू, दक्षिणपन्थी अवसरवादीहरू र तन बुद्धनगरमा र मन पेरिस डाँडामा भएकाहरू हाबी हुँदैगए । पार्टीमा एउटा तप्का पेरिस डाँडामा बास बस्न जाने कुरामा विप्लव र उहाँका सहयोगीहरूलाई बाधक देख्थ्यो । त्यसले जसरी हुन्छ कमरेड विप्लवको टोलीको बहिर्गमन चाहन्थ्यो । वास्तवमा किरण कमरेडले चाहेको भए विप्लव टोलीलाई रोक्न सक्नुहुन्थ्यो, तर उहाँबाट यो प्रयास भएन । यो उहाँबाट भएको ऐतिहासिक कमजोरी थियो, जसको असर लामो समयसम्म माओवादी आन्दोलनमा देखिइरहनेछ । पार्टीमा रहेका क्रान्तिकारीहरूको रक्षाको सट्टा उल्टै कारबाहीको निरन्तर शृङुखला चलाइयो । क्रान्तिकारीहरू एकपछि अर्को गरेर बहिर्गमित हुँदैगए । यसले किरण कमरेडलाई झन्डैझन्डै सेनाबिनाको कमाण्डरजस्तो बनायो । यस्तो स्थितिले पार्टीभित्रका खाओवादीहरूलाई उत्साहित बनाउनु स्वाभाविक थियो ।
वैचारिक रूपबाट हेर्दा कमरेड किरण र विप्लवले नेतृत्व गरेको समूहबीच एकता हुनुपर्ने थियो । क्रान्तिको लागि एकता गर्ने हो भने हिजो भएका कमीकमजोरीहरूको समीक्षा गर्दै किरण समूह र विप्लव समूहबीच समझदारी बढाउने प्रयास हुनु आवश्यक थियो । तर जसले नेपालको माओवादी आन्दोलनलाई प्रतिक्रिवादीहरूको पोल्टामा पुर्यायो, जसले महान् सहिदहरूको रगतसित खेलवाड गर्यो , उसैसित “सिद्धान्तनिष्ठ एकता” को पहल गरिएको छ । यो भन्दा ठूलो प्रहसन अरू हुन सक्तैन । वास्तवमा त्यसभित्रको एउटा समूहले पेरिस डाँडातर्फ खुट्टा उचालिसकेको देखिन्छ । किरणलाई छोडेर भए पनि, लतारेर भए पनि एकता हुन्छ, जस्ता कुराहरू अहिले चर्चाका विषय बनेका छन् । यस परिदृश्यमा अबका दिनमा कमरेड किरणको भूमिका कस्तो हुन्छ र उहाँ कहाँनेरी उभिनुहुन्छ भन्ने कुराले बडो महत्व राख्दछ ।
पेरिस डाँडाले यतिबेर घतलाग्दो विज्ञापन प्रकाशित गरेको छ । प्रचण्डले अमुकअमुकलाई मन्त्री, अमुकअमुकलाई खानपानको बन्दोबस्तको सूचनापाटी टाँसेको कुरा पनि बजारमा चर्चा छ । हितोपदेश मित्रलाभ सुनको बाला लिएर पानीमा उभिएको बूढो बाघको एउटा कथा छ, जसमा सुनको बालाको लोभमा एउटा लोभी बाहुनले ज्यान गुमाएको थियो । प्रचण्डले त्यही कथाको सम्झना गराइरहेका छन् । वास्तवमा प्रचण्ड यस्ता मान्छे हुन्, जो बलियो हुँदा बाघका झै झम्टन्छन् र कमजोर हुँदा बिरालाका झै म्याउँम्याउँ गर्छन् । हिजो प्रचण्डसितको फूटको समयमा पनि अझै पर्खौ प्रचण्डको रूपान्तरण भइहाल्छ कि भन्नेहरू थिए । त्यतिबेला शिवराज गौतमले “साथीहरू अझै भ्रममा छन्, यो प्रचण्ड भन्ने मान्छे कहिल्यै रूपान्तरण हुँदैन, ओरालोको पाराकाष्टामा पुगेर टुङ्गिन्छ उनको यात्रा” भन्नुभएको थियो । भयो पनि त्यस्तै । वास्तवमा कमरेड अनिल शर्माले भनेझैँ एकताका लागि कि त प्रचण्डको क्रान्तिकारी रूपान्तरण हुनु आवश्यक छ, कि त किरणको आत्मसमर्पण । असाध्यै बदलाभावमा चल्ने पात्र हुन् प्रचण्ड । प्रचण्डले रूपान्तरण भएँ भन्नु भनेको बाघले मासु खान छोडिदिएँ भन्नुजस्तै हो । प्रस्ट छ, एकतापछि पेरिस डाँडामा किरणको स्थिति भनेको करिबकरिब नजरबन्दको स्थिति हो–एक किसिमको निरीहता ।
अहिले एकताको छटपटाहट प्रचण्डलाई छ र पेरिस डाँडा छोडेवापत पश्चातापमा रुमलिएका बादल लगायतकाहरूलाई पनि छ । “गद्दार गद्दार एक हो औँ” लाई मूर्त रूप दिने हो अथवा गतिलो अभिभावक र दरिलो वैचारिक टिमको अभावमा रुमलिएको विप्लव समूहसित एकताको हात बढाउने हो ? गद्दारहरूको सूचीमा नाम लेखाउने हो अथवा क्रान्तिकारी निष्ठाको उदाहरण बनेर इतिहासमा बाँच्ने हो ? यतिखेर कमरेड किरणका सामु गम्भीर प्रश्नहरू उभिएका छन् । कमरेड किरण नयाँ ऊर्जा र दृढताका साथ अगाडि बढ्न्हुन्छ अथवा पेरिस डाँडामा नजरबन्दमा रमाउनुहुन्छ, यसका लागि पनि समयलाई पर्खिनुपर्ने हुन्छ ।
अब प्रस्टरूपमा माओवादी पार्टीहरू दुई ध्रुवमा विभाजित हुनेछन् । एउटा एमालेले लिएको बाटो र अर्को मालेमाको क्रान्तिकारी बाटो । दक्षिणपन्थी विसर्जनवादीहरू प्रचण्डको नेतृत्वमा एमालेले लिएको बाटोमा ध्रुवीकृत हुनेछन् भने क्रान्तिकारीहरू मालेमाले निर्देशित गरेको बाटोमा केन्द्रीकृत हुनेछन् । गद्दारहरूलाई बलियो बनाउनु भनेको क्रान्तिलाई झन् टाढा पुर्याउनु हो । । भारतमा चलिरहेको माओवादी जनयुद्धप्रति गर्व गर्नुको सट्टा माओवादी कमरेडहरूलाई आतङ्कवादी भन्दै सोनियाँ गान्धीलाई चिठी लेखने प्रचण्डसित एकता गर्नु भनेको भाइचारा पार्टीहरूका आखामा पनि गद्दार बन्नु हो । यो सर्वहारा अन्तर्राष्ट्रियतावादप्रति गद्दारी हो । वास्तवमा “सिद्धान्तको प्रश्नमा मार्क्सवादीहरूले कुनै पनि किसिमको सौदाबाजी गर्दैनन्” भनी मार्क्सले एकताका सन्दर्भमा लासालवादीहरूलाई दिएको जवाफलाई गम्भीरतापूर्वक मनन गर्नु आवश्यक छ । माओवादी आन्दोलनलाई विसर्जन हुनबाट रोक्न यतिबेर मार्क्सको उपयुक्त भनाइको सैद्धान्तिक तथा व्यावहारिक प्रतिबद्धताको खाँचो छ । कमरेड किरणले खरिपाटी भेलामा आफूले प्रस्तुत गर्नुभएको दस्ताबेज एकपल्ट फेरि पल्टाउनु आवश्यक छ ।
अब प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछिको कमरेड किरणको अनुभव र महासचिव भएर पार्टी हाँक्दाको कमरेड विप्लवको अनुभवको पनि संश्लेषण हुनु जरुरी छ । पार्टी हाँक्ने कुरा निकै जटिल छ भन्ने कुरा सबैले बुझेको हुनुपर्छ । यहाँ अहम्, आवेग र कुण्ठाभाव होइन, गम्भीरता र जिम्मेवारीबोधको खाँचो छ । यो भनेको सही अर्थका क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको आवश्यकताप्रतिको गम्भीरताबोध हो । यसले मात्र माओवादी झण्डाको रक्षा गर्न र आन्दोलनलाई गति दिन सक्छ । हाम्रो प्रयास यसतर्फ केन्द्रित हुनुपर्छ । किरण कमरेडले यो बाटो रोज्नुहोस् भन्ने हामी चाहन्छौँ। दक्षिणपन्थी विसर्जनको बाटो रोज्ने हो अथवा माओवादको रातो झण्डाको रक्षाका लागि वर्गसङ्घर्षको भट्टीमा होमिने हो, किरण कमरेड र बुद्धनगरका इमानदार कमरेडहरूका सामु चयन प्रस्ट छ । हेरौँ इतिहास कसरी अघि बढ्छ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.