शक्ति दाइ र मभित्र बनेको बिम्ब

lamsaalऋषिराज बराल
शक्ति दाइ अर्थात् शक्ति लम्साल अब हाम्रा बीच हुनुहुन्न । सबैका लागि पारिजात ‘दिदी’ भएझैँ उहाँ पनि आफूभन्दा जेठाका लागि पनि शक्ति ‘दाइ’ हुनुहुन्थ्यो । तर कठै ! आदर्श र मूल्यहरू स्खलित हुन थालेपछि कति चाँडै मान्छेहरू ओझेलमा पारिँदा रहेछन् ।
पुँजीवादले मानवीय मूल्यहरूलाई बजारको मालमा परिणत गरेर ध्वस्त पार्छ भनेर मार्क्सले धेरै अघि प्रस्ट पारेका थिए । त्यतिबेला पुँजीवादले साम्राज्यवादको खतरनाक रूप लिइसकेको थिएन । र पनि उपभोक्तवादको चरित्रलाई मार्क्सले आकलन गरिसकेका थिए । अहिले जताततै यसको जगजगी छ । चारैतिर विशाल बजारको मेला लागेको छ । राजनीतिदेखि लिएर सारा चिज डिपार्टमेन्टल स्टोरमा परिणत भएझैं लाग्न थालेको छ। गुण र उपयोगिता अर्थहीन बनेका छन् र लोगो र ट्रेडमार्कहरूको बजारभाउ चर्को छ । वस्तु बिक्री हुँदैनन्, ट्रेडमार्कहरू बिक्री हुन्छन् । जोड—घटाउ र नाफा–नोक्सानको हिसाबकिताब हुन्छ र सबै कुराको मूल्य तोकिन्छ— मान्छे को पनि । सार होइन, रूप प्रधान बन्छ । यो अहिलेको यथार्थ हो । चिनियाँ कथाकार जेङ ओसेनको लघुकथा ‘गमला र भाँडो’ यस सन्दर्भमा सर्वथा स्मरणीय छ । एउटा पात्रले सिलेबरको भाँडो पुरानो भयो भनेर रछ्यानमा फ्यालेर झिलिक्क परेको माटोको भाँडो बजारबाट किनेर ल्याउँछ र पछि पकाउने बेलामा निकै पछुताउंछ । तर जब्बर छन् हाम्रा नेताहरू, माटोको भाँडो नै सही झिलिमिलीमै मन रमाउंछ ।

लगभग दुई दशकअघि मैले जनादेश साप्ताहिकमा एउटा लेख लेखको थिएँ—“सेतै फुलेका ‘बूढा’ का बारेमा ‘बूढाहरू के सोच्तै हुनुहुन्छ होला ?” त्यो एउटा विशिष्ट कालखण्ड थियो । अझ भन्न मन लाग्छ— त्यो एउटा विशिष्ट युग नै थियो । ‘बुकी पनि रातै फुल्ने’ युग थियो । जनयुद्ध गतिवान भएको युग थियो ।
फासिवादी सत्ता मदमत्त थियो । सत्य बोल्न वर्जित थियो । अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिएको थियो । सर्वसाधारण निरीह बनेका थिए, न्यायनिसाफका सबै ढोकाहरू बन्द गरिएका थिए । विधिको शासनमाथि अलङ्घ्य पर्खाल उभिएको थियो र काला कोठाहरूमा मान्छेको भविष्य निर्धारित गरिन्थ्यो । तर रोकिएन इतिहासको गति, यो अघि बढ्दै गयो । चलेको हुन्थ्यो प्रतिस्पर्धा बलिदानका लागि । आदर्श निर्माणका लागि होडबाजी चल्थ्यो । तयार थिए जनमनहरू रगतले इतिहास कोर्न । त्यो समय यस्तै समय थियो ।

त्यसैबेला ‘किलो सेरा टु’ नामको हत्याअभियान चलाइएको थियो । तर पनि जनयुद्धको गति तीव्र थियो–जनताको हातमा बन्दुक थियो । धावा बोले तिनले दुस्मनका छातीमै । चारभन्ज्याङभित्रै प्रत्याक्रमणको जोडदार घटना घट्यो । जनयुद्धको इतिहासमा भट्टे डाँडा आक्रमणले चर्चित छ यो घटना । घटना भएको भोलिपल्ट सहर्ष र सगर्व जनादेशमार्फत समाचार आयो—‘भट्टेडाँडामाथि साहसिक आक्रमण’ ।
यस्तो समाचार छाप्नु त्यतिबेला आफैँमा अर्को साहसिक प्रत्याक्रमण थियो । जनादेशले यो ऐतिहासिक कार्य सम्पन्न गर्यो । सत्यतथ्यलाई जस्ताको तस्तै प्रकाशमा ल्याइदियो । बेचैन गराइदियो दुस्मनलाई । दुस्मनको क्याम्पमा हल्लीखल्ली मच्चियो l जनादेश कार्यालयमा त्यस दिन जनपक्षीय पत्रकारहरूको जमघटको आयोजना गरिएका थियो । शक्ति लम्साल जनपक्षीय पत्रकारहरूको संयोजक हुनुहुन्थ्यो । त्यस समयमा म शक्ति दाइले स्थापना गरेको योजना साप्ताहिकको सम्पादकको जिम्मेवारीमा थिएँ । योजना र जनादेशका कार्यालय अलगअलग भए पनि कम्प्युटरको काम भने एकै ठाउँ हुन्थ्यो । भट्टेडाँडा आक्रमणको घटनाले फैलाएको सनसनीलाई जनादेशको समाचारले थप तताएको थियो । दुस्मनले अब केही गर्छ भन्ने भए पनि त्यसरी युद्धस्तरमा पत्रिकाको कार्यालयमै धावा बोल्छ र पत्रकारहरूमाथि आक्रमण गर्छ जस्तो लागेको थिएन, तर गरे ।
बिहिबार निस्कने योजनाका लागि म कम्प्युटरमा निमजीसित थिएँ । साथमा आलेजी पनि हुनुहुन्थ्यो । कम्प्युटरको कोठा अर्को घरमा भएकाले आउँदैनन् होला भनेको त आइहाल्यो प्रहरीको जत्था । अब के गर्ने ? हामी ट्वाइलेटभित्र पस्यौँ । तीनचारओटा ट्वाइलेट थिए । दिनभरिजसो हामीले यसरी बितायौँ । हामी त्यहाँ छौँ भन्ने थाहा पाएका भए के छोड्थे । कम्प्युटसहित जनादेश र योजनाका सारा सामग्रीहरू लगे । पल्लो बिल्डिङमा जमघटमा रहेका शक्ति दाइलगायतका साथीहरूलाई पनि लगेछन् । उहाँहरूलाई हनुमान ढोका डिएसपी कार्यालयको सबैभन्दा अँध्यारो र फोहोरी कोठामा राखेछन् । त्यतिबेर सबै, खासगरेर पत्रकार र लेखकहरूको ध्यानाकर्षण गर्न मैले जनादेशमा लखेको थिएँ — “सेतै फुलेका ‘बूढा’ का बारेमा के भन्छन् ‘बूढाहरू’ ?”

यो २०५५ साल माघ १२ गतेको कुरा थियो ।

‘बूढाहरू’ भन्नुसित मेरासामु केही अनुहारहरू थिए । शक्ति लम्सालजस्ता सेतै फुलेका र यस्तो उमेरका व्यक्तित्व यसरी थुनिँदा उहाँका समवयहरू केवलपुरे किसान, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा र रमेश विकलहरू के सोच्दा हुन् र के भन्दा हुन् भन्ने मेरो जिज्ञासा र प्रश्न थियो । वास्तवमा उहाँहरूलाई यस विषयमा केही बोल्न लगाउने मेरो चाहना थियो । आफूलाई प्रगतिशील भन्नेहरूले यस्तो बेला बोल्नुपर्छ— यो मेरो आग्रह पनि थियो । त्यहाँ लेखेको कुराको लामो उद्धरण यहाँ सम्भव छैन । तर शक्ति दाइलाई लक्ष्यित गर्दै लेखेँ मैले— “यस्ता बूढा, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहेका छन्, अहिले कालो खोरमा छन्, तपाईं बूढाहरू चाहिँ कुन कुनामा पसेर हनुमानचालिसा पढ्दै हुनुहुन्छ ?”
पछि एउटा साहित्यिक जमघटमा केवलपुरे किसानले बडो भावुक भएर भन्नुभयो : “मलाई त असाध्यै आत्मग्लानि भयो बरालजी ! अरूले भने केही प्रतिक्रिया जनाएको सुन्न/पढ्न पाइएन । थाहा थियो मलाई, अरूको भागमा सत्ताको केही मीठो–चखिलो परेको थियो । तिनले एकाध रसभरिका डल्ला भेटेका थिए । ती त्यसैमा रमाएका थिए । तिनका लागि माओवादीहरू आतङ्ककारीहरू थिए र जनयुद्धप्रति सकारात्मक भाव राख्ने लेखक–पत्रकारहरू आतङककारीका मतियार थिए ।
यो त्यस युगको कुरा थियो । त्यो महान् समय थियो, जहाँ हामी महान् आदर्शद्वारा डोर्याइएका थियौँ । तर कठै ! अहिले समय फेरिएको छ । अहिले युग फेरिएको छ । यतिबेर जनहत्याराहरू र हाम्रो टाउकाको मूल्य तोक्नेहरू ‘सच्चा लोकतन्त्रवादी’ बनेका छन् । साम्राज्यवाद र विस्तारवादका दलालहरू घोर राष्ट्रवादी भएका छन् । बाहिर त बाहिर भइहाल्यो, भित्रको स्थिति अर्थात् पार्टीको स्थिति पनि विडम्बनापूर्ण छ । केहीहरू प्रतिक्रियावादी सत्ताको रक्षक बनेको स्थिति छ । केहीहरू अकर्म्न्यतामा फसेका छन् । भगौडा, आत्मसमर्पणवादीहरू र भ्रष्टाचारीहरू असल, खाँटी र इमानदार कायकर्ता भएका छन् र गद्दारहरू क्रान्तिकारी । किनारा लागेका छन् क्रान्तिकारीहरू । फेरिएका छन् सबै परिभाषाहरू । सबै बिम्बहरू । भन्ने गरिएको छ : अब युग फेरियो, समय फेरियो । अब हामी सबै नयाँ । नयाँ युगका नयाँ मान्छे । कति सारो पीडा ! मूल्य स्खलनको पीडा नै अर्कै हुँदो रहेछ ।
‘सेतै फुलेका बूढा’ । म बिम्बमै उहाँलाई हेरिरहेको छु, एकोहोरिएर । काठमाडौँको चण्डोलदेखि विशालनगर, टङ्गाल, रत्नपार्क, बागबजार, इटुम्बहाल, ओमबहाल, डिल्लीबजारको ओरालो, वागबजार र पत्रिका पसलसम्म फ्याङच्याङ फ्याङच्याङ गर्दै अथक यात्रीझैँ हिँडिरहेको देखिने र भेटिने एउटा बिम्ब उभिन्छ मेरा सामु । हरेक राजनीतिक र साहित्यिक कार्यक्रमहरूमा देखिने नाम हो शक्ति लम्साल । जुलुस र आमसभाहरूमा, कतै अतिथि, कतै सभापतिमा भेटिने नाम हो शक्ति लम्साल । जुलुसको अग्र भागमा पुलिसको पेलापेलमा जोसिला मुट्ठी उचाल्दै र नारा लाउँदै हिँडेको बिम्ब पनि उभिन्छ मेरो आँखामा । बालक होस् अथवा वृद्ध, सबैको दाइ हुनुहुन्थ्यो शक्ति दाइ । जहाँ धर्ना र जुलुस, जहाँ सङ्घर्षका कार्यक्रम, त्यहाँ शक्ति दाइ । उन्नाईस दिने आन्दोलनमा सांस्कृतिक कर्मीहरूको अगवाइ गर्दै अघि बढ्दा प्रहरीसित घम्साघम्सी परेको फोटो प्रकाशित पत्रिका मैले युद्धकालमै रुकुमको चुनवाङमा पढेको थिएँ । त्यो बिम्ब पनि अहिले मसित छ ।
शक्ति दाइसित कहिले भेट भयो, अहिले त्यतातिर नजाऔँ । चार दशक हुनलाग्यो होला हाम्रो भेट भएको । योजना साप्ताहिकले हाम्रो सम्बन्धलाई गाढा बनायो । राजनीति र पत्रकारिता दुवै दृष्टिले उहाँ हाम्रो अग्रज र सांस्कृतिक नेतृत्वका दृष्टिले नेता । सांस्कृतिक मोर्चामा लामो समय हामी एउटै संस्थामा रह्यौँ । प्रगतिशील साहित्यको प्रतिनिधि पत्रिका कलमको पनि केही अङ्कको उहाँले सम्पादन गर्नुभयो र २०५२ पछिका केही वर्ष ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को संयोजक पनि बन्नुभयो । राज्यआतङ्कले उत्पन्न गरेका दुःख, पीडा, हर्ष र उत्साहका थुप्रै क्षण सँगै बितायौँ हामीले । थुपै कथाकुथुङ्ग्रीहरू छन्, छुट्टै लेख्नुपर्छ । समयलाई थेग्रिन दिनुपर्ने रहेछ, थुप्रै कुरा देख्न पाइने रहेछ ।
यी त सबै विगत थिए, जतिबेर हाम्रा लागि क्रान्तिकारी आदर्श र आत्मोत्सर्गको भाव सबैभन्दा प्यारो थियो । अहिले त समय फेरिएको छ । कमरेडहरू भन्छन्— यो त एक्काइसौँ शताब्दी, अर्थात्, आदर्शहरू कुल्चिने र बिम्बहरू भत्काइने युग, कति घतलाग्दो व्यङ्ग्य !
शक्ति लम्साल, अब यो बिम्ब विशालनगर, डिल्लीबजार र नारा र जुलसमा भेटिँदैन । मुट्ठी उचाल्दै जिन्दावाद र मुर्दावाद भन्दै जुलुसको अग्र भागमा लामबद्ध भएको पनि देख्न पाइँने छैन । पत्रिका पसल, पत्रकार र लेखकहरूको जमघट अनि समसामयिक राजनीतिका तात्ताता कुराकानीका बीचमा पनि उहाँलाई देख्न पाइँने छैन । लामो समभयसम्म नशाको रोगले थल्लिनुभएको उहाँ अब हाम्रो सामु हुनुहुन्न । राजनीतिको क्षेत्रमा निष्ठाको धरोहर, जनपक्षीय पत्रकारिताको सग्लो इतिहास र सांस्कृतिक आन्दोलनको निरन्तरताको बिम्बको नाम हो शक्ति लम्साल । तर हामीलाई उहाँको सञ्चो–बिसन्चको जानकारी राख्ने समय भएन, भनौँ मन पनि रहेन । कस्तो विडम्बना ! कति स्वार्थी भयौँ हामी ! कति उपभोक्तावादी भयौँ हामी बलेको आगो मात्र ताप्ने !
उहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । बिरामीले थल्लिएको बेला उहाँलाई हेर्न, उहाँको बारे जानकारी राख्न नआएको बेला “हिजो शक्ति लम्साल नभई हुँदैनथ्यो, यसो गर्यो शक्ति लम्साल, उसो गर्यो शक्ति लम्साल, अहिले यस्तो अवस्थामा कसैलाई मतलब छैन । भोलि तलमाथि परेपछि हाम्रो कामरेड भन्दै झण्डा ओढाउन आइपुग्लान्” भनेर भाउजूले विरक्तिँदै भन्नुभयो भन्ने सुनेको थिएँ । उहाँ बित्नु भएपछि स्वामित्वका लागि बुद्धनगर र पेरिस डाँडाबीच अंशबन्डा भएको कुरा पनि निकै रमाइलो लाग्यो । मोटो मशाल कालमा पत्रकारितामार्फत र जनयुद्धको समयमा वैधानिक मोर्चामार्फत क्रान्तिलाई उहाँले पुर्याउनु भएको योगदान बिर्सिनसक्नु छ । उहाँको पुस्तक मार्क्सवाद, समाज र साहित्यको आन्तरिक सम्पादक हुन सकेकोमा खुसी पनि लागेको छ ।
बिरामी हुँदा एकपल्ट पुगेको थिएँ । सुन्निएको अनुहार । रगत छैन । आँखा मात्र छन् । मान्छे चिन्न नसक्ने हुनु भएछ l अनुहार र आँखामा थुप्रै जिज्ञासा र प्रश्नहरू छन्— “बरालजी ! हामी कहाँ जाँदै छौँ ? कता जाँदै छ हाम्रो आन्दोलन ?” । राजनीति र सांस्कृतिक आन्दोलनबारे थुप्रै कुरा सोध्न मन लागेको थियो होला । वर्तमान बुझ्न मन लागेको होला र भविष्यप्रति पनि चिन्ता होला । वास्तवमा त्यसरी पल्टिरहेको बिम्बभित्र म मुलुकको वर्तमान र भविष्यको बिम्ब पनि हेरिहेको थिएँ । समय पनि कस्तोकस्तो गतिहीन र निर्जीव भएजस्तो लाग्छ । कथित सेलिब्रेटीहरूका कपालको रौँ हावाले हल्लाउँदा भँगेरा टाउके अक्षरमा समाचार बनाउने ‘व्यवसायिक’ माध्यमहरूको त कुरै छाडौँ, आफूलाई क्रान्तिकारी माध्यम बताउँनेहरूका लागि पनि शक्ति दाइ अस्पतालमा निर्जीवझैँ पल्टिँदा पनि समाचारको विषय हुन सकेन । कति सारो बेवास्ता ।
पछिल्लो चरणमा उहाँले भोगेको आत्मपीडा, श्रद्धाञ्जली सभाको नाटकीय र कृत्रिम स्वरूप, मन नलागी नलागी गरेजस्तो आयोजना, आर्यघाटमा कामरेडहरूको पातलो उपस्थिति— बुझ्नका लागि पर्याप्त छन् यी परिघटनाहरू । कति स्वार्थी, कति मतलबी हामी ! पत्रकार सङ्घले बोलेको सुनिएन, क्रान्तिकारी भन्ने पत्रकारहरूले बोलेको पनि सुनिएन–एउटा वक्तव्य पनि आएन । जनयुद्धकालको संयोजकका बारेमा ‘अखिल नेपाल जनसांस्कृतिक सङ्’ ले पनि बोलेको सुनिएन । एक समयका प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष, त्यसले पनि बोलेको सुनिएन । यतिबेर पारिजात दिदीको शव यात्राका सन्दर्भमा खगेन्द्रजीले भनेको सम्झना भइरहेको छ मलाई । गम्छु, के आदर्श बिम्बहरू सबै फेरिएका हुन् ? ध्वस्त भए मार्क्सवादी मूल्यहरू ? आफ्नै कपाल छाम्छु, ओहो ! कपाल त मेरो पनि फुल्न थालेछ । मेरो मात्र होइन, कपाल त किरण र प्रचण्डहरूको पनि सेतै भएछ ।
भन्न सक्तिन भोलिको समय कस्तो हुन्छ । अहिलेलाई भन्छु : शक्ति दाइ ! बेइमान समयका लागि हामीलाई माफ गरिदिनु होला । उपभोक्तावादमा रल्लिएका हामीहरूलाई क्षमा गरिदिन होला ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.