वैचारिक बहसलाई न्यूनिकरण गर्नेहरूविरुद्ध

(यतिबेर महान् जनयुद्धका प्राप्ति र मूल्यहरूको निषेध गरेर सुखसयल र मोजमज्जाको जिन्दगी चाहने सुधारवादी–संशोधनवादीहरू पार्टीभित्र उठेका गहन र गम्भीर वैचारिक चिन्तन र मुद्दालाई सरलीकृत गरी अत्यन्त सतही र हलुका ढङ्गमा लिएर  क्रान्तिकारीहरूमाथि अनेक फत्तुर लगाउने कुपमण्डूकतावादी पाखण्डपनको प्रदर्शन गरिरहेका छन् । शान्ति र संविधान‘ का नाममा दलाल पुँजीपति वर्ग र साम्राज्यवाद र विस्तारवादका सामु आत्मसमर्पण गर्दै सत्तासुखका लागि रयाल चुहाउनेहरूले हरेक वैचारिक सङ्घर्षलाई  पद, कुर्सी र सत्ताका लागि बार्गेनिङ ठान्नु अस्वाभाविक होइन ।

उनीहरू आफ्नो चिन्तनअनुसार हरेक चिजको विश्लेषण र मूल्याङ्कन गर्नेगर्दछन् । अहिले मओवादभित्र यही भएको छ । यस लेखमा कमरेड वसन्तले क्रान्तिलाई बन्ध्याकरण गर्नेहरूले यर्थाको विभ्रमीकरण मार्फत वैचारिक सङ्घर्षलाई कसरी न्यूनीकरण गरिरहेका छन् र क्रान्तिकारीहरूले यतिबेर के गर्नुपर्छ भन्ने कुरा प्रस्ट पार्नुभएको छ ।)

—————————————————————————————————————————————-

माओवादीभित्रको बहस : विचारसङ्घर्ष कि पदका निम्ति बार्गेनिङ ?

इन्द्रमोहन सिग्देल ‘वसन्त’

हाम्रो पार्टीमा अहिले गम्भीर वैचारिक सङ्घर्ष चलिरहेको छ । यसो भन्नुको अर्थ यो भन्दा पहिले हाम्रो पार्टीमा विचार सङ्घर्ष हुंदैनथ्यो भन्ने होइन । पार्टीमा विचार सङ्घर्ष चलिरहन्छ, तर यतिमात्र हो कि त्यो कहिले तीव्र हुन्छ त कहिले मन्द । फेरि विचार सङ्घर्ष सधैं एउटै मात्र विषयमा पनि केन्द्रित हुँदैन, समय र परिस्थितिअनुसार फरकफरक विषयमा केन्द्रित हुन्छ । यतिबेला हाम्रो पार्टीमा चलेको विचारसङ्घर्ष दुई लाइन अर्थात् मार्क्सवाद वा सुधारवादको रूपमा व्यक्त भएको छ र त्यो वैचारिक, राजनीतिक तथा साङ्गठनिक कार्यदिशाका वरिपरि केन्द्रित भएको छ । यो निकै पेचिलो र गम्भीर पनि छ ।

दुई लाइन सङ्घर्ष पार्टीको जीवन हो । दुई लाइन सङ्घर्षलाई पार्टीको चालक शक्ति पनि भन्ने गरिन्छ । एकताको आधार नै सङ्घर्ष हो । नयाँ आधारमा नयाँ एकताका निमित्त माओले सङ्घर्षपछिको रूपान्तरणमा जोड दिनुभएको छ । एकता संझौताबाट प्राप्त हुन सक्दैन, रूपान्तरणबिना उच्चस्तरको एकता बन्दैन र बिनासङघर्ष रूपान्तरण हुंदैन । यसै भएर दुई लाइन सङ्घर्षलाई पार्टीको चालक शक्ति भनिएको हो ।

शान्तिप्रक्रियामा प्रवेश गरेपछि हाम्रो पार्टीको दुई लाइन सङ्घर्ष बालाजु विस्तारित बैठकबाट व्यवस्थित रूपमा सुरु भएर अहिलेसम्म निरन्तर चलिरहेको छ । त्यो अन्तरसङ्घर्ष सारतः वैचारिक तथा राजनीतिक विषयकै सेरोफेरोमा छ । तर त्यसको केन्द्रिकृत अभिव्यक्ति भने समय र सन्दर्भअनुसार भिन्नभिन्न रूपमा हुने गरेको छ ।  बालाजु विस्तारित बैठकदेखि अहिलेसम्म आउंदा हाम्रो पार्टीभित्रको दुई लाइन सङ्घर्ष निम्नानुसार विभिन्न चरणहरू हुंदै अगाडि बढेको छ ।

पहिलो: बुर्जुवा कार्यशैलीका विरुद्धको सङ्घर्षको चरण: शान्तिप्रक्रिया मार्फत पार्टी सहरमा प्रवेश गरिसकेपछि पार्टीका नेतादेखि कार्यकर्तासम्म सबै शहरमा रमाउने र गाउँलाई बिर्सने कुराका साथै बुर्जुवा कार्यशैलीको समस्या एकाएक बढेर गयो । कार्यशैलीमा देखापरेको यस्तो समस्याले पार्टीको कार्यदिशालाई र अन्ततः क्रान्तिलाई नै विसर्जित गर्ने खतराका विरुद्ध बालाजु विस्तारित बैठकमा भएको सङ्घर्ष निकै महत्वपूर्ण छ । तर, बालाजु विस्तारित बैठकले पारित गरेको दस्ताबेज अध्ययनका लागि पार्टीभित्र पनि कहिल्यै वितरण गरिएन । यस्तो किन भयो, एउटा गम्भीर विषय हो ।

दोस्रो: पार्टीको नयाँ कार्यनीति निर्धारणका निम्ति अन्तरसङ्घर्षको चरण: संविधान सभाको निर्वाचनपछि बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि पार्टीकेन्द्रको चुनवाङ बैठकले ग्रहण गरेको कार्यनीति  पूरा भइसकेको स्थितिमा पार्टीले तुरुन्त अर्को कार्यनीति निर्धारण गर्नुपर्दथ्यो त्यो हुन सकेन । गणतन्त्र नेपाल बनेपछिको करिब एक वर्ष बितिसक्दा पनि पार्टी कार्यनीतिविहीन अवस्थामा रह्यो । पुरानो कार्यनीति पूरा भइसकेको र नयाँ  कार्यनीति नबनेको स्थितिमा संसदीय खेलमा अलमलिने बाहेक अगाडि बढ्नका निम्ति पार्टीसँग कुनै योजना हुने कुरै भएन । यो स्थितिले पार्टीको त्यसपछिको कार्यनीति के हुने भन्ने विषयमा वैचारिक सङ्घर्षलाई अगाडि ल्याउनु अनिवार्य थियो र त्यही भयो । २०६५ मंसीरमा सम्पन्न खरिपाटी भेलामा पार्टीमा तीखो दुई लाइन सङ्घर्ष चल्यो र अन्तमा पार्टीले सघीय लोकतान्त्रिक गणतन्त्रलाई बिहारी शैलीको प्रतिक्रियावादी गणतन्त्रको रूपमा चित्रित गर्दे त्यसका ठाउंमा जनताको सङ्घीय गणतन्त्रको कार्यनीति अगाडि ल्याउने निर्णय गर्यो । पार्टीको त्यो कार्यनीति अहिलेसम्म पनि सही छ र कार्यान्वयनको पर्खाइमा छ ।

तेस्रो: उपर्युक्त कार्यनीतिको कार्यान्वयनका निम्ति योजनानिर्माणको चरण: खरिपाटी भेलाले पार्टीको कार्यनीति निर्माण गर्न त सफल रह्यो,  तर त्यसले कार्यनीतिको कार्यान्वयनका निम्ति योजनाको मूर्त खाका भने प्रस्तुत गर्न फेरि पनि सकेन । खरिपाटी भेला सकिएको करिब ९ महिनासम्म पनि पार्टीले खास कुनै योजना अगाडि ल्याएन । पछिमात्र २०६६ भाद्रमा सम्पन्न केन्द्रीय समितिको ३ महिने बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्यो । ती निर्णयहरूमा जनताको सङ्घीय गणतन्त्रको प्रप्तिका निमित्त जनविद्रोह र जनविद्रोहका निम्ति चार तयारी र चार आधारको निर्माण गर्ने कुरा प्रमूख थिए । ३ महिनासम्मको भीषण विचारसङ्घर्षको प्रक्रियाबाट ग्रहण गरिएका यी निर्णयहरू हाम्रो पार्टीको इतिहासमा निकै महत्वपूर्ण रहेका छन् ।

चौथो: योजना कार्यान्वयनको चरण: यो योजनालाई चैत्र २४, २०६६, बैशाख १८, २०६७ (मे दिवश) र त्यसपछि अनिश्चितकालीन हडतालको प्रक्रिया हुंदै अन्तमा त्यसलाई जनविद्रोहसम्म पुर्याउने र उत्पीडित जनता सत्ताको मालिक नबन्दासम्म सडक खाली नगर्ने भनेर पार्टीद्वारा मे दिवशको दिन टुंडिखेलबाट घोषणा गरियो । यसले आमजनतामा अभूतपूर्व उत्साह ल्यायो । तर विडम्बना त्यो घोषणा गरेको दुई हप्ता नबित्दै उक्त आन्दोलनलाई अकस्मात रोकियो जसले उत्साहलाई आम निराशामा बदल्नेबाहेक अरू केही गरेन । पहिले अन्तिम विद्रोह हो भनेर घोषणा गर्ने र पछि आकस्मिक रूपमा आन्दोलनलाई बीचमा नै रोक्ने, यस्तो किन भयो ? त्यसको वस्तुनिष्ठ समीक्षा पार्टीकेन्द्रमा अहिलेसम्म भएको मलाई जानकारी छैन ।

पाचौं: पालुङ्टार सेरोफेरोको विचार सङ्घर्षको चरण: बालाजु हुँदै खरिपाटीबाट सुरु भएको विचारसङ्घर्ष २०६७ सालको अनिश्चितकालीन हडतालको स्थगनपछि अरू उत्कर्षतिर गयो । २०६७ को कात्तिकमा सम्पन्न पालुङ्टार भेलाको बहस कति उचाइमा थियो भन्ने कुरा हाम्रो पार्टीका नेता—कार्याकर्तादेखि आमजनतासम्म सबैलाई जानकारी छ । तर, त्यो भेलाले पनि जनवादी केन्द्रीयताको आधारमा योजना निर्माण गर्ने र भिन्न मतलाई व्यवस्थित गर्ने खाका अगाडि ल्याउन सकेन । रूपान्तरण, एकता र जनविद्रोहको विकल्प छैन भन्ने संश्लेषण गरेर पाल्ङ्टार भेला सकियो । भेलापछि बसेको केन्द्रीय समितिको बैठकले मात्र योजना निर्माणको कामलाई अगाडि ल्यायो । यस बैठकमा  ५ बुँदेको आधारमा भिन्न मतको व्यवस्थापन र चार आधार तथा चार तयारीको थप व्याख्यासहित जनस्वयंसेवक परिचालन ब्युरोको निर्माण गर्ने जस्ता केही महत्वपूर्ण निर्णयहरू भए । यसले पार्टीपङ्क्ति र जनताको एउटा हिस्सामा उत्साह ल्यायो । तर विडम्बना, पार्टीको मूल नेतृत्वले ती निर्णयलाई कार्यन्वयन गर्न अलिकति पनि जोड दिएको पाइएन ।

छैटौं: सुकुटेमा नेतुत्वको    U Turn पछि अहिलेसम्मको चरण:  खरिपाटीदेखि हाम्रो पार्टीमा चल्दैआएको दुई लाइन सङ्घर्षले सुकुटेसम्म आइपुग्दा एउटा भिन्न मोड लियो । स्पष्ट शब्दमा भन्ने हो भने हाम्रो पार्टीनेतृत्वमा अन्तरनिहित सारमा सुधार र रूपमा क्रान्ति तथा विद्रोहका बीचको अन्तरविरोध सुकुटेसम्म आइपुग्दा हल भयो । चार दिन अगाडिसम्म विद्रोहबाहेक अरू केही नदेखने हाम्रो पार्टीको नेतृत्वले परिस्थितिमा खास परिवर्तनबिना नै सिङ्गगापुरको भ्रमणपछि किन जताततै प्रतिविद्रोह मात्र देखन थाल्यो, यो एउटा अध्ययनको विषय छ ।

माथि उल्लिखित बुँदाहरुले पार्टीभित्र अन्तरशङ्घर्षको विकास कसरी भयो र त्यो कसरी अगाडि बढदै छ भन्ने कुराको सामान्य झलक दिन्छ । बालाजुदेखि सुकुटेभन्दा पहिलाको लामो अन्तरशंघर्ष सृंखलामा पार्टी नेतृत्वले बैठक नै नडाक्ने, डाके पनि सकेसम्म भैपरी आउने सानातिनाबाहेक प्रमुख एजेण्डालाई मिटिङमा प्रवेश नै नगराउने, ल्याइहाले पनि त्यसमा सारसङ्ग्रहवादी निर्णय गराउन जोड गर्ने, क्रान्तिकारी निर्णयहरू  भइहाले भने त्यसको कार्यान्ययनमा जोड नदिने, यो प्रक्रियामा सुधारवादका निमित्त वस्तुगत आधार निर्माण गर्दे जाने र अन्ततः सुधारलाई नै क्रान्तिका रूपमा महिमामण्डन गरेर क्रान्तिको विसर्जन हुने स्थितिको निर्माण गर्ने काम भयो । यहाँ यी सबै कुरा पार्टीनेतृत्वबाट जानीबुझी र योजनाबद्ध ढङ्गले भयो भन्न खोजिएको होइन । यसको कारण यो हाम्रो पार्टीको नेतृत्वमा रहेको विचारको समस्या हो । यो उहाँमा रहेको विचारमा सारसंग्रहवाद  र राजनीतिमा मध्यपन्थको जुन समस्या छ, त्यसको स्वाभाविक परिणाम सुधारवाद हुन्छ भन्ने कुराको दृष्टान्त हो, जुन सुकुटेसम्म आइपुग्दा पुष्टि भइसकेको छ ।

उपर्युक्त वैचारिक तथा राजनीतिक विषयकेन्द्रित विचारसङ्घर्षका अतिरिक्त पार्टीमा सङ्गठनात्मक कार्यदिशाका विषयमा पनि सङ्घर्ष चलिरहेको छ । अभिव्यक्तिमा स्वतन्त्रता कामकार्बाहीमा एकरूपतालाई कसरी व्यवस्थित गर्ने, कार्यविभाजनलाई कसरी चुस्तदुरुस्त बनाउने, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई कसरी संस्थागत गर्ने अर्थात् समग्रमा जनवादी केन्द्रीयतालाई कसरी प्रभावकारी बनाउने जस्ता साङ्गठनिक विषयहरू अहिले पार्टीभित्र छलफल चलेका मुद्दाहरू हुन् । त्यसमा पनि मूख्यतः केन्द्रीयता नोकरसाहीकरणमा व्यक्त भइरहेको वर्तमान सन्दर्भमा माथिदेखि तलसम्मका मूल नेतृत्वलाई सामूहिकताको केन्द्रिकृत अभिव्यक्तिका रूपमा कसरी स्थापित गर्ने भन्ने विषयमा पार्टीभित्र वैचारिक बहस चलिरहेको छ ।

हाम्रो पार्टीमा जुन दुई लाइन सङ्घर्ष चलिरहेको छ, त्यो क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्नका निमित्त पार्टीमा मार्क्सवाद—लेनिनवाद—माओवादलाई पुनर्स्थापित गर्ने, क्रान्तिकारी कार्यदिशाको विकास गर्ने, अनुशासित पार्टी निर्माण गर्ने र रूपान्तरणसहितको एकता हासिल गर्ने उद्देश्यमा आधारित छ र यो भन्दा भिन्न हुन सक्दैन । विचारसङ्घर्षलाई जति स्वस्थ, मर्यादित र व्यवस्थित गर्न सकिन्छ, त्यति नै नेतादेखि आमकार्यकर्तासम्म क्रान्तिकारी रूपान्तरणको संभावना बढेर जान्छ र त्यसले सिद्धान्तनिष्ठ एकताको ढोका खोल्दछ । यो विचारसङ्घर्षलाई जति परसम्म लैजान सकिन्छ त्यति नै हामीले व्यापक जनतालाई क्रान्तिको पक्षमा गोलबन्द गर्न सक्दछौं । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले हामीलाई दिएको शिक्षा पनि यही हो । विचारसङ्घर्षलाई एउटा घेरामा मात्र सिमित गर्ने कुरा मार्क्सवादसम्मत छैन र हुन सक्दैन ।

तर, आश्चर्यको कुरा के भने आफुलाई संस्थापन पक्षको हुँ भनी दाबी गर्ने हाम्रो पार्टीमा केही कमरेडहरू दुई लाइन सङ्घर्षको वैचारिक महत्वलाई गिराउन, त्यसलाई गलत ढङ्गले संप्रेषण गरेर इमान्दार कार्यकर्ताहरुलाई दिग्भ्रमित पार्न र त्यही प्रक्रियामा आफ्नो दक्षिणपन्थी अभीष्टलाई पूरा गर्न यतिबेला निकै क्रियाशील देखिन्छन् । क्रान्तिको रक्षाका निमित्त क्रान्तिकारीहरूले चलाएको वैचारिक सङ्घर्षलाई पदको निमित्त झगडा गरेको देखने ती कमरेडहरूको वैचारिक धरातल कहाँ रहेछ भन्ने कुरा उनीहरूको त्यो भनाइले स्पष्ट गर्दछ । त्यसमाथि आफू मन्त्रीको पदभारबाट मुक्त हुँदा त्यो स्थान आफन्तका निम्ति सुरक्षित हुनुपर्छ भनेर पार्टीमा बार्गेनिङ गर्नेहरूले पदको निमित्त झगडा गरेको नहुने, तर अन्तरिम संविधानमा समानुपातिक प्रतिनिधित्वबारे व्यवस्था गरेअनुसार पार्टीले उम्मेदवारी चयन गर्नुपर्छ भन्नेहरूले चाहिं पदका निम्ति झगडा गरेको कसरी हुन्छ ? यो त लाटाले पनि बुझ्ने कुरा हो ।

यो स्पष्ट छ कि अहिले नेपाली नयाँ  जनवादी क्रान्ति प्रतिक्रान्तिको संघारमा छ । यो प्रतिक्रान्ति सेनासमायोजनको नाममा जनमुक्ति सेनाको आत्मसमर्पण र सहमतिको संविधान निर्माण गर्ने नाममा दलाल तथा नोकरसाह पुंजीपति वर्ग र सामन्तहरूसंग संझौताको दस्ताबेज निर्माणको खतरामा व्यक्त हुँदै छ । यसको अर्थ सेनासमायोजन नगर्ने र संविधान नलेखने  भन्ने होइन । सेनासमायोजन गर्ने र संविधान निर्माण गर्ने त पार्टीको घोषित नीति नै हो । राष्ट्रिय सुरक्षा नीतिको आधारमा सेनासमायोजनको मोडालिटी तयार गर्ने र जनमुक्ति सेनाको समुहगत प्रवेशमार्फत सैन्य हैसियतको जिम्मा दिने विषयमा र सामन्तवाद तथा साम्राज्यवाद विरोधी सार बोकेको जनसंविधान लेखने कुरामा पार्टीभित्र कहीं कसैको विरोध छैन । तर यी कुनै पनि सर्तहरू पूरा नगरी शान्तिका नाममा आत्मसमर्पणको तरिकाले सेनासमायोजन गरिन्छ र संविधान लेखने नाममा संझौताको दस्ताबेज तयार पारिन्छ भने त्यो प्रतिक्रान्ति नै हुन्छ ।

बालाजु बैठकदेखि अहिलेसम्म पार्टीभित्र चलेको दुई लाइन सङ्घर्षको गुदी कुरो सामन्तवाद तथा साम्राज्यवादविरोधी जनताको संविधान सुनिश्चित गर्न र सेनासमायोजन पूरा गर्न नेपालमा प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्ने दलाल पुँजीपतिवर्गका विरुद्ध सङ्घर्षमा जोड दिने कि सेनासमायोजनका नाममा जनमुक्ति सेनाको आत्मसमर्पण गर्न र यथास्थितिवादी एक थान संविधान लेख्नका निम्ति दलालहरूसँग सहमतिमा जोड गर्ने भन्नेमा केन्द्रित रहेको छ । स्पष्ट छ, अघिल्लो कुराले नेपालमा जनताको सङ्घीय गणतन्त्रको स्थापना गरेर नयाँ जनवादी क्रान्तिको ढोका खोल्दछ भने पछिल्लो कुराले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नयाँ  जनवादी क्रान्तिको तत्काल बन्ध्याकरण गर्दछ ।

यसरी, अहिले हाम्रो पार्टीमा चलेको दुई लाइन सङ्घर्ष नेपालमा जनताको सङ्घीय गणतन्त्रको स्थापना गरेर नयाँ जनवादी क्रान्तिको ढोका खोल्ने कि बुर्जुवा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नयाँ  जनवादी क्रान्तिको तत्काल बन्ध्याकरण गर्ने भन्नेमा केन्द्रित रहेको छ । यो सङ्घर्षको महत्व र गरिमा कति छ भन्ने कुराको व्याख्या गरिरहनु पर्छजस्तो लाग्दैन । तर, कतिपय व्यक्तिहरूले क्रान्तिको रक्षाका निमित्त चलाइएको यो विचारको सङ्घर्षलाई पदको निमित्त लडाइं हो भनेर न्यूनिकरण गर्नेगरेका छन् । यसो गर्नु सोझै दक्षिणपन्थी संशोधनवाद हो र प्रतिक्रान्तिको सेवा गर्नु हो । पार्टीभित्र वा बाहिर देखापर्ने यो गलत चिन्तनप्रवृत्तिलाई विचारसङ्घर्ष मार्फत परास्त गरेर मात्र नेपालमा क्रान्तिको रक्षा गर्न, जनताको सङ्घीय गणतन्त्रको स्थापना गर्न र नयां जनवादी क्रान्तिको ढोका खोल्न सकिन्छ । अहिले क्रान्तिकारीहरूको जिम्मेवारी यही हो ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.