विप्लव समूहले उत्तर-मालेमाको बाटो पक्डेको छ

indra-Mohan-sigdeइन्द्रमोहन सिग्देल

सचिवालय समिती सदस्य , नेकपा (क्रान्तिकारी माओवादी)

नेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्तरूपमा प्रस्तुत भएको पाइदैन भने अर्कोतिर सङ्घर्षका कतिपय गतिविधि भने सञ्चालित हुँदैआएको देखिन्छ । यस स्थितिमा यस समूहबारे केही उल्लेख गर्न जरुरी छ ।

प्रतिक्रियावादी सत्ताका भ्रष्ट शासकहरु र तिनका जनविरोधी हर्कतका बिरुद्ध संचालन गरिने संघर्षका कार्यक्रमहरु जनताका बीचमा स्वभावतः प्रिय हुन्छन् । यसमा दुईमत हुन सक्दैन । तर, कुनै पनि संघर्ष त्यसको रुपको मात्र आधारमा सही वा गलत हुन्छ भन्ने हुँदैन । क्रान्तिकारी देखिने संघर्ष सुधारवादी र सुधारवादी देखिने संघर्ष क्रान्तिकारी पनि हुन सक्छन् । त्यतिमात्र होइन, क्रान्तिकारी देखिने संघर्षको सार प्रतिक्रियावादी पनि हुनसक्छ । उदाहरणका लागि मुस्लिम  अतिवादी  is ले मुस्लिम  बाहुल्य क्षेत्रमा संचालन गरेका सशस्त्र संघर्षका कार्वाहीहरु निकै त्याग र बलिदानीपूर्ण छन्,  साम्राज्यवादका विरुद्ध परिलक्षितजस्ता पनि देखिन्छन् तर तिनको सार भने नितान्त प्रतिक्रियावादी छ । कुनै पनि संघर्ष क्रान्तिकारी, सुधारवादी वा प्रतिगमनकारी के हो भन्ने कुरा त्यसको रुपको आधारमा होइन , त्यसको उद्देश्यका आधारमा निर्धारित हुन्छ । त्यसै भएर, “आन्दोलन सबथोक हो उद्देश्य केही होइन” भन्ने बर्नस्टिनको भनाइलाई कमरेड लेनिनले संशोधनवादी भनेर आलोचना गरेका थिए । यसलाई गंभीर भएर मनन गर्नु जरुरी छ ।

नेकपा माओवादीले संचालन गरेका उपरोक्त प्रकारका संघर्षका कार्यक्रमहरू जनताको सत्ता प्राप्तिको संघर्षसंग जोडिएका छन् या सामान्य सुधारसंग मात्र भन्ने कुरा पार्टीको समग्र रणनीतिक उद्देश्य र राजनीतिक कार्यदिशासँग सम्बन्धित हुन्छ । नेकपा माओवादीले यी सँघर्षका कार्यक्रमहरु आनो पार्टीको राजनीतिक कार्यदिशा अनुरुप अगाडि बढाएको छ । त्यो कार्यदिशा सही भए त्यस मातहतको संघर्षको शृंखलाले सही गन्तव्यसम्म पु¥याउन मद्दत गर्छ नत्र संघर्ष जतिसुकै कर्णप्रिय र जनप्रिय देखिए पनि त्यसको अन्तिम प्रतिफल क्रान्तिकारी हुन्छ नै भन्ने छैन । त्यसकारण संघर्ष कति सार्थक छ भन्ने कुरा राजनीतिक कार्यदिशाको कसीमा घोटेर मात्र थाह पाउन सकिन्छ ।

नेकपा माओवादीले एकीकृत जनक्रान्तिलाई आनो कार्यदिशा बताएको छ । बदलिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाली क्रान्तिका समस्यालाई समाधान गर्ने भनेर यो कार्यदिशा विकास गरिएको दावी गरे पनि यो वस्तुतः रुपमा क्रान्तिकारी,  तर सारमा दक्षिणपंथी कार्यदिशा हो । यो आफ्नो  रणनीतिक उद्देश्यमा स्पष्ट नभएको मात्र होइन,  यो पार्टी मार्क्सवाद–लेनिनवाद–माओवादका आधारभूत मान्यताबाट समेत विचलित भएको छ । यसका मूलभूत समस्याहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

एक, मार्क्सवाद–लेनिनवाद–माओवाद सर्बहारा वर्गको विश्व दृष्टिकोण हो । यसका तीनवटा संघटक अँगहरू रहेका छन् । ती हुन्ः दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । द्वन्द्वात्मक भौतिकवाद मालेमावादको दार्शनिक पद्धति हो । यो एउटा विज्ञान हो । तर, नेकपा माओवादीले यसको वैज्ञानिकतामा नै प्रश्न उठाएर विचारको विकासको नाममा मालेमाको दार्शनिक जगमाथि नै आक्रमणको निशाना साधेको छ । आनो पार्टी प्रकाशन ‘जनक्रान्ति’को एकीकृत जनक्रान्तिः कार्यदिशा संश्लेषणबारे भन्ने शीर्षक दिईएको लेखमा कमरेड विप्लवले भनेका छन्, “आजको विश्वको समाधान १७७ वर्ष पहिलेका मार्क्सको सँश्लेषण, १०० वर्ष पहिलेका लेनिनको सँश्लेषण र ६५ वर्ष पहिलेका माओको सँश्लेषणबाट मात्र खोज्न थालियो भने वाष्पईञ्जिनमा हवाइजहाज फिट गर्न खोजेको जस्तो हुन्छ ।” यसले समग्र मालेमा नै पुरानो भएको विषय उठाएर त्यसको द्वन्द्वात्मक भौतिकवादी पद्धतिमाथि समेत आक्रमण गरेको छ । यो भनाइले मालेमाको विकासको बाटो होइन बरु निषेधको बाटो अर्थात् उत्तर–मालेमावादतर्फको बाटो पक्डेको छ ।

दुई, आजको साम्राज्यवाद र सर्बहारा क्रान्तिको युगमा, साम्राज्यवाद र सामन्तवादको दोहोरो उत्पीडनमा परेका तेस्रो विश्वका देश तथा जनतालाई उक्त उत्पीडनबाट कसरी मुक्त गर्ने र सर्बहारा वर्गको नेतृत्व र जनवादी अधिनायकत्व अन्तर्गत ती जनवादी मुलुकमा राष्ट्रिय पूँजीको विकास कसरी गर्ने भन्नेबारे नेकपा माओवादीका दस्ताबेजहरु मौन छन् । यतिमात्र होइन , नेपालमा गरिने क्रान्तिको चरणबारे कमरेड विप्लवले प्रयोग गरेको भाषा गोलमटोल प्रकारको छ । सोही लेखमा उनले लेखेका छन्, “हामीले सँश्लेषण गरेको एकीकृत जनक्रान्तिको कार्यदिशाले यही नेपाली राजनीतिक विशेषतालाई पक्डेर नेपालको दलाल पूँजीवादी राज्यसत्तालाई बदल्ने र नेपालमा जनताको राज्यसत्ता स्थापना गर्ने उद्देश्यसँग संबन्धित छ ।” ख्याल गर्नुपर्ने कुरा यो छ कि उनले दलाल पूजीवादी राज्यसत्तालाई ध्वंश गर्ने र त्यसका ठाउँमा नयाँ जनवादी सत्ता निर्माणगर्ने कुरा कहीं कतै उल्लेख गरेका छैनन् । उनले पुरानोलाई बदल्ने र नयाँको स्थापना गर्ने मात्र भनेका छन् । र अर्को कुरा, त्यस पछि स्थापना गर्ने भनिएको सत्ता नयाँ जनवादी हुने कि समाजवादी हुने यसमा पनि उनी मौन नै रहेका छन् । यसबाट उनी नयाँ जनवाद कि समाजवाद यसैको सेरोफेरोमा रुमल्लिएको देखिन्छ । यसबाट नेकपा माओवादीले पनि अन्ततः नेकपा (माओवादी केन्द्र)ले जस्तै समाजवादलाई आनो रणनीतिक गन्तव्य बनाउने र संसदीय यथास्थितिमा नै रमाउने त होइन, एउटा गंभीर प्रश्न तेर्सिएको छ ।

तीन, उनले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि सामरिक कार्यदिशा पनि अगाडि सारेका छन् । तर उनको विचारमा त्यो कार्यदिशा दीर्घकालीन  जनयुद्ध पनि हुनसक्दैन र अल्पकालीन  जनविद्रोह पनि होइन । उक्त लेखमा कमरेड विप्लव लेख्छन्, “हतारमा सत्ताकब्जाको कार्यदिशा बनाउँदा दुस्साहसवादमा फस्ने वा संसदीय व्यवस्थाको पुच्छरमा परिणत हुने अवस्था आउँछ । त्यसै गरी दीर्घकालीन  जनयुद्धमा जाने कार्यदिशा बनाइयो भने अलगावमा पर्ने वा घुमन्ते बिद्रोहीमा पुग्ने समस्या आउँछ ।” यहाँनेर नेकपा माओवादीले यस्तो अचुक हतियार फेला पारेको दावी गरेको छ, जसलाई प्रयोग गर्दा ऊ दुस्साहसवादी बन्नु पनि पर्देन, संसदीय व्यवस्थाको पुच्छर बन्नु पनि पर्दैन, अलगावमा पर्नु पनि पर्दैन, घुमन्ते विद्रोही बन्ने डर पनि हुदैन, बरु सडाबहार क्रान्तिकारी भैरहन पाइन्छ । उक्त पार्टीका अनुसार यी सबै समस्याबाट बच्न सकिने कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा हो । तर विडम्वना, नेकपा माओवादीले अहिलेसम्म त्यस्तो कार्यदिशाको स्पष्ट र मूर्त व्याख्या कहीं कतै गरेको थाह पाइएको छैन । अपेक्षा गरौं, यो क्रान्तिकारी लफाजी मात्र नबनोस् ।

चार, नेकपा माओवादीले सत्ता साझेदारीको प्रश्नलाई अहिले पनि जोडदिएर उठाउँदै आएको छ । यसै सन्दर्भमा आषाढ १३, २०७३मा प्रकाशित अनलाईन पत्रिका ‘जनपाटी’ को अन्तरवार्तामा कमरेड विप्लवलाई “तपाईंले सेना, अदालत लगायत त्यसपछिका राज्यका अरू अंगमा साझेदारी भन्न खोज्नु भएको हो र ?” भन्ने प्रश्नको जवाफमा उनले भनेका छन्, “हो । हामीले ….. राजनीतिक, आर्थिक, सेना, पुलिससहित सु\रक्षा र अदालत सहितको कानुनी क्षेत्रमा हामीले सत्ता साझेदारीको विषय उठाएका हौं ।” सत्ता साझेदारीको विषयलाई दुई भिन्न अवस्थाका आधारमा विश्लेषण गर्नुपर्दछ । जनसत्ता र प्रतिक्रियावादी सत्ता रणनितिक सन्तुलनमा रहेको विशिष्ट स्थितिमा पहलकदमी आनो हातमा पार्नका निमित्त क्रान्तिकारी नेतृत्वले तात्कालीन  कार्यनीतिका रूपमा सत्ता साझेदारीको प्रश्नलाई अगाडि सार्नु गलत हुंदैन । चीनमा चुकिंग  वार्ताका बेला माओले यो कार्यनीति अगाडि सारेका थिए । त्यो गलत थिएन, सही नै थियो । भोलि पनि त्यस्तो परिस्थिति फेरि आउनसक्छ । तर अहिले जनसेना, जनसत्ता लगायत जनयुद्धका सम्पूर्ण उपलव्धी गुमेको र नयाँ सत्ताका भ्रूणहरु सम्म पनि नबनेको बेला उठाइने यो नारा कार्यनीतिक रहंदैन, नितान्त रणनीतिक बन्नजान्छ । त्यसकारण यो सिद्धान्ततः गलत छ ।

पाँच, कमरेड विप्लवले नेपालमा अहिले द्वैध सत्ता रहेको दाबी गरेका छन् । “त्यसो हो भने हामी अहिले दुई सत्ताको बीचमा छौं ?” भनी ‘जनपाटी’ ले सोही अन्तरवार्ताको क्रममा सोधेको प्रश्नको जवाफमा विप्लव भन्छन्, “निश्चय नै । अहिले नेपालमा द्वैध सत्ता छ । एकातिर जनताको सत्ता छ भने अर्कातिर परम्परागत सत्ता छ ।” प्रतिक्रियावादी सत्ताका विरुद्धको जनमत नै जनसत्ता होइन र हुनसक्दैन । सत्ता भनेको लेनिनको भाषामा एउटा वर्गले अर्को वर्गलाई दमनगर्ने राज्यसंयन्त्र हो । विप्लवले यति कुरा पनि नबुझेर होला त यस्तो भनेको ? अवश्य होइन । जताबाट नापे पनि, नेपालमा द्वैध सत्ता विद्यमान छ भन्ने उनको घोषणा प्रतिक्रियावादी सत्तामा साझेदारी गर्न कै लागि अगाडि सारेका हुन् भन्ने बाहेक यसबाट अर्को अर्थ निस्कदैन । नेपालको अहिलेको शक्ति सन्तुलनको स्थितिमा उनले भनेको सत्ता साझेदारी प्रतिक्रियावादी सत्तामा सहबरण गर्नेभन्दा अरू केही हुने देखिदैन ।

माथि बुँदागतरूपमा केही आधारभूत सिद्धान्तका कुरा गरियो । यी बाहेक थुप्रै यस्ता विषयहरु छन्, जसमा नेकपा माओवादीले परिस्थितिमा आएको फेरबदलका नाममा विश्वकम्युनिस्ट आन्दोलनले ग्रहण गरेका थुप्रै मान्यताहरुका ठाउँमा भिन्न व्याख्या गरेर त्यसलाई मालेमावादमा गरेको विकास भनेको छ । यो छोटो लेखमा कम्युनिष्ट आन्दोलनको आम मान्यताबाट नेकपा माओवादीले कहाँकहाँ क्रमभंग गर्यो त्यसको फेहरिस्त तयार पार्न अहिले संभव छैन । मालेमावादको विकासको नाममा नेकपा माओवादी कता उन्मुख हुँदैछ भन्ने कुराको छनक पाउन माथिका केही बुँदाहरु पर्याप्त छन् । यहाँ विश्वपरिस्थितिमा फेरबदल आएको छैन र मालेमावादलाई जडसूत्रका रूपमा समातीराख्नु पर्छ कसैले भनेको छैन । मालेमावाद जडसूत्र होइन, विज्ञान हो त्यसको विकास गर्न जरुरी छ । प्रश्न मालेमावादको जगमा टेकेर त्यसको प्रयोगमार्फत विकास गर्ने कि सिर्जनात्मक प्रयोग र विकासका नाममा त्यसको आधारभूत सिद्धान्तबाट चिप्लिएर प्रतिक्रियावादी सत्तामा सहवरण गर्न सुधारवादी बाटो पक्डने ? बहसको विषय यहाँनेर हो । मार्क्स , लेनिन तथा माओले लिएको बाटो पहिलो र ख्रुस्चेवदेखि सुरु भएर प्रचण्ड हुँदै बादलसम्मले लिएको बाटो पछिल्लो हो । यी दुई बाटामध्ये कुन बाटाले कसलाई कहाँ पुर्यायो,  यो जग जाहेर छ ।

तत्कालीन  नेकपा–माओवादीबाट कमरेड विप्लव लगायतको एउटा टिम अलग भैसकेपछि पार्टीले आयोजन गरेको पाँचौं प्लेनमले विप्लवमा देखिएका गलत प्रवृत्तिहरुको संश्लेषण गरेको थियो । त्यसबारे प्लेनममा पारित दस्ताबेज भन्छ, “यसरी हेर्दा, यी गतिविधि सांगठनिक रुपमा अराजकतावादी व्यक्तिवाद, दार्शनिक रूपमा निषेधात्मक द्वन्द्ववाद तथा अनुभववाद र राजनीतिक रूपमा पश्चगामी सत्तासाझेदारीको रणनीतिमा आधारित छन् । कमरेड विप्लवको भिन्नमतको प्रस्तावमा जनयुद्ध, जनविद्रोह वा जनयुद्धको जगमा जनविद्रोह सबैको निषेध गरी एकीकृत क्रान्तिको सिद्धान्तको जुन सामरिक कार्यदिशा प्रस्तुत गरिएको छ,  त्यो अत्यन्तै अस्पष्ट, भ्रामक, अन्तरवस्तुशून्य तथा रहस्यमूलक रहेको छ । साथै, वहांको प्रस्तावमा राष्ट्रिय स्वाधीनताप्रति संबेदनशीलताको कमी र भारतीय विस्तारवादपरस्तताका कयौं लक्षणहरू पनि देखापर्दछन् । अन्ततः वहांका यी गतिविधि र भिन्न मतको प्रस्तावलाई समग्रतामा हेर्दा, तिनमा अभिव्यक्त मूल प्रवृत्ति रूपमा वामजस्तो देखिए पनि सारमा दक्षिणपंथी अवसरवादतिर उन्मुख रहेको पाइन्छ ।”

नेकपा माओवादीका आजसम्मका गतिविधीबाट कमरेड विप्लवबारे उक्त प्लेनमले जे संश्लेषण गरेको थियो, त्यो सही थियो भन्ने कुरा राम्रोगरी पुष्टि भएको छ । नेकपा माओवादीले हालसम्म सञ्चालन गरेका संघर्षका कार्यक्रमहरु प्रतिक्रियावादी सत्ताको ध्वँश र नयाँ जनवादी क्रान्तितिर उन्मूख छैनन् । ती सत्ता साझेदारीको नाममा प्रतिक्रियावादी सत्तामा गरिने सहवरणका लागि दवावको राजनीति गर्न र अर्थोपार्जनका आधार निर्माण गर्न  उद्धत भएको देखिन्छ । यो क्रान्तितर्फको यात्रा होइन, बरु त्यसको विरुद्धको हो । यतिबेला, नेपाल र सिंगो संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरूले नेकपा माओवादीले यी कमजोरीहरूलाई छिटै सच्याएर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको पक्षमा आफूलाई पुनः दरोसंग उभ्याओस् भन्ने अपेक्षा गरेका छन् ।

०००

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.