विप्लवको ‘नयाँ क्रान्ति’ र सशस्त्र संसोधनवाद

new baralऋषिराज बराल
गएका हप्ताहरूमा मैले लेखेका लेखादिहरू खासगरेर ‘मान्य छैन विप्लववाद’ र ‘एकीकृत क्रान्तिको सिद्धान्तको चिरफार’ मा प्रयोग भएका दुइटा पदावलीहरू फोकोवाद र विप्लववाद निकै क्रिया-प्रतिक्रियाका विषय बने । मैले चर्चा गरेको विप्लववाद माओले सन् १९२९ मा लेखेको एउटा लेखमा आधारित थियो, जुन माओले सैन्य क्षेत्रमा देखापर्ने विकृति र विसङ्गतिपूर्ण प्रवृत्ति विप्लववाद (putschism) सित सम्बद्ध थियो । कतिपयले अर्थको अनर्थ गरेको पनि पाइयो । त्यसैगरी मैले ती लेखादिमा फोकोवादको पनि चर्चा गरेको थिएँ । वाम राजनीतिमा लागेको पुरानो पुस्ताका सदस्यहरूमध्ये कतिपयलाई चे, डेब्रे र फोकोको बारेमा सामान्य ज्ञान भए पनि अध्ययनचिन्तन भनेपछि हाइकाढ्ने आजको पुस्ताका लागि फोकोवाद (focoism) अचम्म्को विषय हुनु स्वाभाविक छ । त्यति मात्र नभएर नेकपा-माओवादीका कतिपय केन्द्रीय सदस्यसमेतले मलाई फोको भनेको मान्छेको नाम हो कि कुनै चिजको फोको हो कि के हो यो फोकोवाद ? भनेर सोधेको अनुभव पनि मेरालागि रोचक रह्यो ।

 
हामी माओवादका बारेमा त गहिराइसम्म जान सकेका छैनौँ भने फोकोवादका बारेमा सबैलाई जानकारी भएन भनेर टिप्पणी गर्नु आवश्यक छैन । त्यसमा पनि बन्दुक उठाउने, डाङ्डाङ डुङ्डुङ गर्ने कुरामा रमाउने, तर अध्यन–चिन्तनप्रति अलिकति पनि रुचि नराख्ने आजका ‘क्रान्तिकारी युवाहरू’ ले यसमा रुचि नराख्नु अचम्मको विषय होइन । सत्तासित जोडिएको हरेक बन्दुक निश्चित दर्शन, विचारधारा र राजनीतिसित जोडिएको हुन्छ भन्ने कुराप्रति पनि उनीहरूको चासो हुँदैन । यस्तो बेला उसले विश्वकम्युनिस्ट आन्दोलनको इतिहास र यससितसित सम्बद्ध विविध परिघटनाका सम्बन्धमा जानकारी राखेन भन्नुको पनि कुनै अर्थ छैन । यस समस्याको खोजी तलबाट मात्र नभएर माथिबाट पनि गर्नुपर्दछ । वास्तवमा नेपालको माओवादी आन्दोलन अनुभववादबाट बढी पीडित भएको बेला कसैले फोकोवादका बारेमा जानकारी राखेन भन्नुको त्यति अर्थ छैन । यो प्रशिक्षित हुने मात्र नभएर प्रशिक्षित गर्ने÷गराउने कुरा पनि हो । यसले माओवादी सङ्गठनको वर्तमान स्वरूप र चरित्रलाई भने राम्रोसित प्रतिबिम्बित गर्दछ ।

 
फोकोवादबारे लामै लेख्नुपर्ने हुन्छ । एक हिसाबले यो टिप्पणी लामो लेखको सारसङ्क्षेप जस्तै हो । फोकोवाद स्पेनी शब्द फोकस (focus) सित सम्बद्ध छ । यसको अर्थ एकै ठाउँ झुरुम्म हुनु, गोलबद्ध हुनु हो । राजनीतिक तथा सैन्य क्षेत्रमा यसले विशेष अर्थ राख्छ । फोकोले खास उद्देश्यसित सम्बद्ध केही व्यक्तिहरूको सङ्गठित जत्था अथवा डफ्फा भन्ने बुझाउँछ । फोकोवाद अर्नेस्ट चेग्वेवारासित सम्बद्ध क्रान्तिसम्बन्धी सिद्धान्त हो, जसलाई चे र स्पेनी बुद्धिजीवी रेजिस डेब्रेले स्वरूप दिएका थिए । यो सिद्धान्तअनुसार : कुनै पनि मुलुकमा विद्रोह अथवा जनयुद्ध आरम्भ गर्नका लागि वस्तुस्थिति परिपक्व बन्नुपर्दैन । केही समर्पित क्रान्तिकारीहरूको एउटा जत्था, सानै स्तर (स्केल) को भए पनि यसको आरम्भ गर्न सक्छ, यसले कुनै पनि बेला घुमन्तु प्रक्रियाद्वारा जतिबेला पनि, जहाँ पनि प्रहार गर्न सक्छ, जसले एउटा केन्द्र (फोको) को रूपमा काम गरेर अन्य छापामार दस्ताको विकास र युद्ध सञ्चालन गर्छ र चारैतिर असतव्यस्तता उत्पन्न गरेर खास अवस्थामा पुगेपछि सत्ता कब्जा गर्न सक्षम हुन्छ । एउटा सङ्गठित जत्थाले आफ्ना जुधारु गतिविधि र व्यवहारद्वारा क्रान्तिको एउटा विशिष्ट र आवश्यक परिस्थितिको ‘सिर्जना’ गर्नसक्छ भन्ने कुरामा जोड दिनु नै फोकोवादी सिद्धान्त हो ।

 
स्थापित माओवादी जनयुद्धको सिद्धान्तभन्दा फोकोवाद फरक छ । यो केही हिरोहरूको सङ्गठित जत्थाले क्रान्तिसम्पन्न गर्नसक्छ भन्ने मान्यतामा आधारित छ । यसले बलिदानमा जोड दिन्छ र यसबाट नै नयाँ ऊर्जा प्राप्त गरेर अघि बढ्न सकिन्छ भन्छ । यो मूलतः ‘हान र भाग’ मा आधारित हुन्छ । यसले बढी आफूलाई सहर वरिपरिको ग्रामिण क्षेत्रमा केन्द्रित गर्छ । यसले क्रान्तिका लागि आमजनतासित जोडिनुपर्ने अथवा आन्दोलनमा आम जनता सहभागी हुनु आवश्यक ठान्दैन । यसले संयुक्त मोर्चाको कुरा पनि गर्दैन । यसले समर्पित व्यक्तिहरूको एउटा सङ्ठित जत्था (फोको) को निर्मांण गरेपछि आम जनतासित मिसिनु, उनीहरूका दुखकष्टमा सहभागी हुनु, उनीहरूको उत्पीडन विरोधी आन्दोलनमा सहभागी हुनु अथवा उनीहरूलाई आन्दोलनलाई सहभागी गराउनु आवश्यक छैन र पर्दैन भन्छ । बरू यसको जोड सहरिया मध्यम तप्का र ‘नागरिक समाज’ प्रति हुन्छ । यसले कार्यभन्दा बढी ‘वार प्रोपोगन्डा’ मा जोड दिन्छ । यसले प्रतिआतङ्कमा जोड दिन्छ । यसै अर्थमा फोकोवाद आमजनताले होइन, छानिएका केही खासहरू (elitist) ले क्रान्ति गर्छन् भन्ने सिद्धान्तमा आधारित छ ।

 
यथार्थतः फोको सिद्धान्त चे र डेब्रेका अनुभवहरूको आदर्शवादी सामान्यीकरणमा आाधारित छ । चेले ल्याटिन अमेरिकी समाज सहर र गाउँबीच कम भेद भएको समाज भएकाले त्यहाँ हुने क्रान्ति रूसी र चिनियाँ दुवै मोडलबाट भिन्न हुन्छ र आफूहरू लेनिन र माओको पछि नलाग्ने कुराको घोषणा गरे । फोकोवादले लेनिन र माओ दुवैको विरोध गर्नुको कारण “आफूले ‘रिभोलुसन विदिन रिभोलुसन’ तयार पार्दा चेले यसो गर्न जोड दिएकाले हो” भनेर डेब्रेले उल्लेख गरेका छन् । आफ्ना शृङ्खलाबद्ध लेखहरूमा चेले क्युबाली अनुभवलाई ल्याटिन अमेरिकाभरि जस्ताकोतस्तै लागु गरिनुपर्ने जिकिर पनि गरे । उनले दृढसङ्कल्पित सशस्त्र लडाकुहरू ( ‘‘फोकोहरू’’ ) का ससाना समूहहरू पहाडहरूमा लुक्दै सशस्त्र कारबाहीहरू प्रयोग गरेर विशिष्ट अवस्थामा सत्ताधारीहरूलाई ध्वस्त गर्न सक्छन् भन्ने तर्क गरे । वास्तवमा फोकोवादले सापेक्षित सजिलो र छिटै विजयको आशा देखाउने आकर्षण र एककिसिमको रोमान्टिक भाव र उन्मादको आवेगको उठान गर्छ । मान्छेहरूलाई के प्रशिक्षण दिइन्थ्यो भने : “परिस्थिति भनेको खास केही होइन, क्रान्ति भनेको मूलतः इच्छाशक्ति र साहसको काम हो, जसले गर्दा उनीहरू नयाँ अग्रदस्ता पार्टी गठन नगरिकनै वा ग्रामिण क्षेत्रमा कृषि क्रान्ति नगरिकनै जनअसन्तुष्टिको प्रतिनिधित्व गर्न र बन्न सक्छन् र यसैका आधारमा क्रान्ति सम्पन्न गर्नसक्छन् ।” १९६०को दशकको आरम्भमा पेरु, अर्जेन्टिना, भेनेजुयला र कतिपय अफ्रिकी देशहरूमा चे आफैँ उपस्थित भएर गरेका फोकोहरूका सशस्त्र प्रयासहरू सफल हुनसकेनन् । आज फोकोवादको कुरा गर्दा चे, डेब्रे, क्यास्ट्रो र महिर चायन बढी चिनिन्छन् ।

 
माओवादले अगाडि सारेको सत्ता प्राप्त गर्ने बाटो चे ग्वेभाराले सुत्रीकरण गरेको भन्दा एकदमै फरक छ । माओवादीहरू चीनको मात्र कुरा नभएर अर्धसामन्ती तथा अर्धऔपनिवेशिक, गाउँ नै गाउँले भरिएको मुलुकहरूमा छोटो अवधिमा जनताको सत्ता प्राप्त गर्न सकिँदैन र प्राप्त गरे पनि टिक्न सक्तैन भन्दै यसका लागि सर्वहारावर्गको नेतृत्वमा आमजनतालाई सहभागी गराएर दीर्घकालीन जनयुद्धको प्रक्रिया अँगाल्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् । माओवादीहरू केन्द्रीय जनसत्ताका लागि सशस्त्र सङ्घर्षका सन्दर्भमा तेस्रो विश्वका मुलुकका उत्पीडित जनसमुदायमा भरपर्दै, गाउँबाट सहर घेर्दै र क्रान्तिकारी आधार इलाकासहित नयाँ सत्ता निर्माण गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिन्छन् । यो पद्धति चिनियाँ क्रान्तिको अमूल्य अनुभवहरूमा आधारित छ र माओले संसारभरिका क्रान्तिकारीहरूलाई आफ्नै मुलुकको विशिष्ट परिस्थितिअनुसार यस रणनीतिक शिक्षालाई रचनात्मक तरिकाले लागु गर्न आह्वान गरे । चेले सशस्त्र सङ्घर्षको आवश्यकताको बोध गरे पनि लेनिन र माओ दुवैको बाटोभन्दा भिन्न बाटो समाते । उनले पछि रूस र चीनबीच चलेको महाविवादमा रूसी सामाजिक साम्राज्यवादलाई साथ दिए ।

 
सन् ६० को दशकमा चलेको रूसी र चिनियाँ महाविवाद दुई देशबीच चलेको वैचारिक विवाद मात्र थिएन, यो विश्वक्रान्तिसम्बन्धी बहस र मार्क्सवाद-लेनिनवादका पक्षमा लाग्ने कि आधुनिक सशोनवादका पक्षमा लाग्ने भन्ने विवादमा आधारित थियो । यसैका बीचबाट विश्वक्रान्तिका लागि मार्क्सवाद–लेनिनवादको निरन्तरतामा माओवादको संश्लेषण गरिएको थियो । यसैक्रममा क्रान्तिकारी वर्गसङ्घर्षको नेतृत्व गर्न, नयाँ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू गठन गर्ने, क्रान्तिमा सशस्त्र सङ्घर्षको भूमिका र क्रान्तिकारी युद्धका लागि जनतालाई कसरी सङ्गठित र परिचाललित गर्ने, क्रान्तिका तीन जादुगरी हतियार पार्टी, सेना र संयुक्त मोर्चाबीच कसरी सन्तुलन मिलाउने तथा संसारका अर्धऔपनिवेशिक, अर्धसामन्ती देशहरूका उत्पीडित मजदुर तथा किसानहरूलगायत विश्वका विविध वर्गशक्तिहरूलाई कसरी मूल्याङ्कन गर्ने र सत्ता कब्जापछि क्रान्तिलाई कसरी निरन्तरता दिने भन्ने कुरालाई समेत ध्यानमा राखी कम्युनिस्ट विचारधाराको विकास र निरन्तरतामा आधारित भएर मार्क्सवाद–लेनिनवाद–माओवादलाई वर्तमान विश्वक्रान्तिको मार्ग निर्देशक सिद्धान्तका रूपमा स्थापित भयो ।

 
फोकोवादले माओवादले अघिसारेका जनसम्बन्धदेखि जनयुद्धसित सम्बद्ध सबै कुरालाई परित्याग गर्छ । यसले मालेमाका साथै नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई अनावश्यक मान्छ र सबै कुरा एउटा प्रतिबद्ध र सङ्गठित फोकोबाट सम्भव हुन्छ भन्छ । यसले समाजका उत्पीडित वर्ग र समुदायको आनदोलनभन्दा मध्यम वर्ग र नागरिक समाजमा जोड दिन्छ । यसले हतियारको कुरा गर्छ र निरन्तर क्रान्तिको कुरा पनि गर्छ । तर यसले गरेको निरन्तर क्रान्तिको कुरा माओले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति का समयमा उठाएको जस्तो होइन । त्यहाँ सर्वहारावर्गको अधिनायकत्वको कुरा थियो । फोकोवादको ‘निरन्तर क्रान्ति’ एउटा शक्तिसित लडेर सत्ता साझेदारी गर्ने र फेरि अर्को शक्तिसित जुझ्ने र सत्ता साझेदारी गर्दै अघि बढ्दै अन्ततः एकल समाजवादमा पुग्ने मान्यतामा आधारित छ । यो शान्तिपूर्ण किसिमले गरिने भँडुवा विकासवादजस्तै, सशस्त्र भँडुवा विकासवादी चिन्तन हो । सारमा भन्नुपर्दा फोकोवादी निरन्तर क्रान्ति सशस्त्र वलद्वारा सत्ता साझेदारीका लागि निरन्तर रूपमा गरिने वार्गेनिङ हो । यसलाई कम्बाइन्ड रिभोलुसन भन्नुको अर्थ पनि यही नै हो । यसरी फोकोवाद ‘वाम’ विचलनको नयाँ उदाहरणमा परिणत भयो । माओवादीहरूले यसलाई सशस्त्र संशोधनवाद (armed revisionism) को संज्ञा दिएका छन् । सन् १९८४ मा स्थापित माओवादीहरूको अन्तराष्ट्रिय सङ्गठन (रिम) ले फोकोवादको निष्कर्ष यसरी निकालेको छ :
संशोधनवादी विचलनहरू विगतदेखि नै दुवै थरी ‘वाम’ र खुला दक्षिणपन्थका रूपमा सतहमा आएका छन् । खासगरेर आधुनिक संशोसनवादले विगतमा “ समाजवादमा शान्तिपूर्ण सङ्क्रमण” को नाराको ढोल पिट्यो र यसलाई राष्ट्रिय मुक्ति सङ्घर्षमा लागु गर्न खोज्यो । साथसाथै यो खुला पुँजीवादी दक्षिणपन्थी संशोधनवाद अर्को किसिमको ‘वाम’ सशस्त्र संशोधनवाद का रूपमा विकसित भयो, जसलाई क्युबाली क्रान्तिका नेता र अरूहरूले प्रवर्धन गरे । यस सिद्धान्तले हतियारलाई आम जनताबाट पृथक राख्छ र ‘समाजवादी’ आन्दोलनका लागि संयुक्त क्रान्तिकारी चरण ( combined revolutionary stages) को प्रचार गर्छ

 
१९२७ को चिनियाँ क्रान्तिको असफलतालाई ध्यानमा राखेर माओले विविध प्रवृत्तिहरूको किटान गर्दै दक्षिणपन्थी विसर्जनवाद र ‘वामपन्थी’ विचलनका विरुद्ध सङ्घर्ष गनुपर्ने विषयमा जोड दिएका थिए । त्यस्तै सैन्य क्षेत्रमा पनि घुमन्तु विद्रोही र विप्लववादका विरुद्ध सचेत गराएका थिए । “विप्लववाद लम्पट–सर्वहारा विचारधारा र निम्नपुँजीवादी विचारधाराको मेल हो ।” भन्ने माओको भनाइ आजको सन्दर्भमा हाम्रा लागि पनि त्यत्तिकै सान्दर्भिक छ ।
फोकोवाद हिजोकै रूपमा देखापर्दैन । यो देशकाल परिस्थितिअनुसार विभिन्न समय र विभिन्न देशमा फरकफरक चरित्रमा देखापर्छ र यसो हुनु स्वाभाविक पनि छ । जेजस्तो रूपमा देखिए पनि यो दर्शन, विचारधारा र राजनीति सबै कोँणबाट मार्क्सवाद–लेनिनवाद–माओवाद विपरीत छ । नेपाली समाज जुन किसिमको अकर्मण्यताबाट गुजिरहेको छ, यसले फोकोवादी प्रवृत्तिको विकास गराउनु स्वाभाविक छ । वर्गीय आन्दोलन कमजोर भएपछि जातिवादी आन्दोलनले टाउको उठाएझैँ नयाँ जनवादी क्रान्तिलाई अघि बढाउने सन्दर्भमा देखिएको व्यावहारिक उदासीनता नै फोकोवादी प्रवृत्तिहरूको उठानको कारकतत्व हो भन्ने कुरामा चाहिँ हामी सबै प्रस्ट हुनु जरुरी छ । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली क्रान्तिको कार्यदिशाका नाममा अघिसार्नु भएको ‘एकीकृत क्रान्तिको सिद्धान्त’ अरू केही नभएर यही फोकोवादको भद्दा नक्कल मात्र हो । यो फोकोवादको नयाँ संस्करण मात्र हो । यस अर्थमा नयाँ जनवादी क्रान्तिभन्दा अलग विप्लवले अघि सारेको ‘एकीकृत क्रान्तिको सिद्धान्त’ को सारत्वत्त ‘सशस्त्र संशोधनवाद’ नै हो l
०००

You can leave a response, or trackback from your own site.

One Response to “विप्लवको ‘नयाँ क्रान्ति’ र सशस्त्र संसोधनवाद”

  1. Rebati upadhaya says:

    Good article. In fact, Biplav is betraying the Nepalese revolution in the name of ‘New Revolution’, He is exercising pessimistic road to revolution. He is exercising Focoism, not Maoism.

Leave a Reply

See real websites hosted and built by iPage customers.