स्टालिन र क्रान्तिकारी निरन्तरता : माओ त्से-तुङ

mao stalinसोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन । अहिले रूसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन् । हङ्गेरीका गोमुल्का र अरू केही मानिसहरूले सोभियत सङ्घको छातीमा रोप्न र तथाकथित स्टालिनवादको विरोध गर्नका लागि त्यो तरबार टिपेका छन् । थुप्रै युरोपेली देशहरूका कम्युनिस्ट पार्टीहरू पनि सोभियत सङ्घको आलोचना गरिरहेका छन् र उनीहरूको नेताचाहिं तोग्लियाटी हो । साम्राज्यवादीहरू पनि जनतालाई छप्काउनका लागि यो तरबार प्रयोग गरिरहेका छन् । उदाहरणका लागि केही समययता डलसले यो तरबार नचाइरहेको छ । त्यो तरबार भाडामा दिएको होइन, त्यो त मिल्काइएको हो । हामी चिनियाँहरूले यसलाई मिल्काएका छैनौं । पहिलो कुरा हामी स्टालिनको प्रतिरक्षा गर्छौं र दोस्रो कुरा यसका साथसाथै हामी उहाँका गल्तीहरूको आलोचना गर्छौं । हामीले ‘सर्वहारा वर्गको अधिनायकतन्त्रको ऐतिहासिक अनुभवबारे’ भन्ने लेख लेखेका छौं । स्टालिनलाई बदनाम गर्न र सिध्याउन खोज्ने केही मानिसहरूभन्दा भिन्न रूपबाट हामीचाहिं वस्तुगत यथार्थअनुरूप काम गरिरहेका छौं ।
जहाँसम्म लेनिनरूपी तरबारको कुरा छ, के सोभियत नेताहरूले यसलाई पनि केही मात्रामा त्यागिसकेका छैनन् र ? मेरो विचारमा त यसलाई निकै ठूलो मात्रामा त्यागिसकिएको छ । सोभियत सङ्घको बीसौ“ महाधिवेशनसमक्ष खु्रस्चेवले प्रस्तुत गरेको प्रतिवेदनमा संसदीय बाटोबाट राज्यसत्ता कब्जा गर्न सकिन्छ भनिएको छ । यस भनाइको अर्थ के हो भने अब सबै देशहरूले अक्टोबर क्रान्तिबाट सिक्नु जरुरी छैन । यो मूल ढोका खोलिसकेपछि त लेनिनलाई स्वभावैले मिल्काएसरह भइहाल्यो नि !
लेनिनवादको सिद्धान्तले मार्क्सवादलाई विकसित तुल्याएको छ । यसले कुनकुन विषयमा यो कार्य गरेको छ त ? पहिलो कुरा, यसले विश्वदृष्टिकोणको सवालमा अर्थात् भौतिकवाद र द्वन्द्ववादको सवालमा यो कार्य गरेको छ र दोस्रो कुरा, यसले क्रान्तिकारी सिद्धान्त र कार्यनीतिहरूको सवालमा, खास तरेर वर्गसङ्घर्ष, सर्वहारावर्गको अधिनायकतन्त्र तथा सर्वहारावर्गको राजनीतिक पार्टीको सवालमा यो कार्य गरेको छ । अनि त्यसपछि समाजवादी निर्माणका सम्बन्धमा पनि लेनिनका शिक्षाहरू रहेका छन् । १९१७ को अक्टोबर क्रान्तिबाट सुरु भई क्रान्तिको बीचबाट निर्माणकार्य चलिरह्यो र यसप्रकार लेनिनले निर्माणका क्षेत्रमा सात वर्षसम्म अनुभव संगाल्न पाउनुभयो, जुन अवसर मार्क्सले पाउनुभएको थिएन । हामीले सिक्तै आएका कुराहरू मार्क्सवाद–लेनिनवादका यिनै आधारभूत सिद्धान्तहरू नै हुन् ।
जनवादी क्रान्ति र समाजवादी क्रान्ति गरी हाम्रा दुवै क्रान्तिमा वर्गसङ्घर्ष चलाउने क्रममा जनसमूहहरूलाई परिचालित गर्दै आएका छौं, जुन प्रक्रियामा हामीले जनतालाई प्रशिक्षित गर्दैआएका छौं । हामीले वर्गसङ्घर्ष चलाउन सिकेको अक्टोबर क्रान्तिबाट नै हो । अक्टोबर क्रान्तिमा सहर र गाउँहरू दुवै ठाउंमा जनसमूहहरूलाई वर्गसङ्घर्ष चलाउने काममा पूर्णरूपमा परिचालन गरिएको थियो । सोभियत सङ्घले अचेल दक्ष मानिसहरूका रूपमा विभिन्न देशमा पठाउने गरेका मानिसहरू अक्टोबर क्रान्तिकालमा केटाकेटी वा किशोरकिशोरी नै थिए । त्यसैले उनीहरूमध्ये धेरैले यस प्रक्रियालाई बिर्सिसकेका छन् । कतिपय देशहरूका कमरेडहरू चीनको जनदिशा ठीक छैन भन्ने गर्दछन् र उनीहरू हैकमवादी तरिकाको नक्कल गर्न पाउ“दा औधी रमाउंछन् । उनीहरू यसो गर्न चाहन्छन् भने उनीहरूलाई रोक्ने कुरै छैन l जेसुकै भए पनि हामी एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेप र परस्पर अनाक्रमणसहितको शान्तिपूर्ण–सहअस्तित्वका पा“च सिद्धान्तहरूलाई दृढताका साथ पालना गर्दछौं । हाम्रो आफ्नै देश अर्थात् जनगणतन्त्रमाथि बाहेक अरू कुनै देशमाथि आफ्नो नेतृत्व लागू गर्ने हाम्रो मनसाय छैन ।
पूर्वीयुरोपका कतिपय देशहरूको आधारभूत समस्या के हो भने उनीहरूले वर्गसङ्घर्षको राम्ररी सञ्चालन गरेका छैनन् र थुप्रै प्रतिक्रान्तिकारीहरूलाई फुक्काफाल छाडिदिएका छन्, न त उनीहरूले आफ्नो देशको सर्वहारा वर्गलाई वर्गसङ्घर्षका क्रममा प्रशिक्षित तुल्याई उनीहरूलाई जनता र जनताका सत्रुका बीचमा सही र गलत कुराका बीचमा तथा भौतिकवाद र आदर्शवादका बीचमा प्रस्ट विभेदको रेखा कोर्न उनीहरूलाई सघाउ पु¥याएका छन् । त्यसैले उनीहरूले जस्तो बीउ छरेका थिए अहिले त्यस्तै बाली थन्क्याउनुपरेको छ, अर्थात् उनीहरूले आफ्नै कामको नतिजास्वरूप आफ्नै टाउकातिर गोली सोझ्याएका छन् ।
तपाईंहरूस“ग कति पुँजीजी छ ? लेनिन र स्टालिन मात्र । अब तपाईंहरूले स्टालिनलाई फ्यालिहाल्नुभयो र लेनिनका खुट्टालाई छाडिदिएर वा सायद उहा“को टाउकोलाई नै छाडिदिएर वा उहाँको हात काटिदिएर लेनिनको पनि अधिकांश भागलाई साच्चै नै त्यागिदिनुभयो । हामी भने मार्क्सवाद–लेनिनवादको अध्ययन गर्ने काममा र अक्टोबर क्रान्तिबाट सिक्ने काममा दृढताका साथ लागिपरेका छौं । जनसमूहहरूमाथि भरपर्नु, जनदिशालाई अनुशरण गर्नु— हामीले उहाँहरूबाट सिकेका कुरा यिनै हुन् । वर्गसङ्घर्ष सञ्चालन गर्ने काममा जनसमूहहरूमाथि भर नपर्नु र जनताका सत्रुका बीचमा प्रस्ट विभेदरेखा नखिच्नु बडो खतरनाक कुरा हुनसक्छ ।
००० १. यो अंश ‘चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवेशनमा दिइएको प्रवचन’ बाट लिइएको हो ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.