याङ्त्से, डुब्न लागेको सूर्य र विखण्डित बिम्ब

china visitऋषिराज बराल
यात्रा आरम्भ गर्दा बडो उत्साह थियो । र फर्कँदा एक किसिमको निरासा ।

एउटा विम्ब मभित्र ताजै छ । ‘सचित्र चीन’ मा छापिएको एउटा रङ्गिन फोटो देखाएर देउकोटा गुरु ( ऋषि देवकोटा ‘आजाद’) ले भन्नुभएको थियो : “ए भाइ ! यता हेर् त, यिनै हुन् माओ त्से-तुङ, संसारका गरिबहरूका नेता । ”

यो धेरै अघिको कुरा थियो जतिबेर म अँगार दलेको काठको कालो पाटीमा कमेरे माटोको खरीले कपुरी क खरायो ख घोक्तै थिएँ । पछि समयसितै हिँड्दै जाँदा माओ, नयाँ जनवादी क्रान्ति अनि चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अर्थ र महत्व बुझेँ । ममा माओ र चिनियाँ नयाँ जनवादी क्रान्तिप्रति कहिले नमेटिने आदर्श बिम्ब स्थापित भयो । सन् १९७६ पछि अर्थात् माओको मृत्युपछि यो बिम्बलाई त्यहाँका सुधारवादीहरूले भताभुङ्ग पार्न खोजे पनि मभित्र नमेटिने गरी बनेको यो बिम्ब झन् टड्कारो बनेर उजेलियो ।
यस्तै मानसिकताका बीच मेरो चीनयात्रा तय भएको थियो । १५ दिने “व्यवस्थापकीय अध्ययन” का सन्दर्भमा नेपाल सरकारको सञ्चार मन्त्रालयले सञ्चार माध्यमहरूका पदाधिकारीहरूको चयन गरेको सूचीमा नेपाल टेलिभिजनबाट म र दीपक धिताल अनि रेडियो नेपालका प्रमुख रामशरण कार्कीको नाम परेको थियो । म त्यतिबेर माओवादी कोटाबाट नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रवन्धक थिएँ ।
यो २०६५ साल वैसाख महिनाको कुरा थियो ।

 
००००
बिहानै हामी ल्हासातर्फ उड्यौँ । काठमाडौँदेखि ल्हासासम्मको यात्रा असाध्यै रमाइलो लाग्यो । मानसरोवर, तिब्बती पठार असाध्यै सुन्दर देखिए । सधैँ हामीलाई चुनौती दिने हिमशिखरहरू हामीभन्दा तल थिए । सगरमाथाको टाउकै माथिबाट उड्दा मन एक किसिमले रोमाञ्चित भएको थियो । ल्हासामा १ घण्टा रोकिएर हामी चुन्दुङ लाग्यौँ । चिनियाँ नयाँ जनवादी क्रान्तिका सन्दर्भमा चुन्दुङ एउटा ऐतिहासिक स्थानका रूपमा स्थापित छ । चिनियाँ समयअनुसार रातीको ९. ३० बजे पेकिङ अर्थात् बेजिङ पुग्यौँ ।
हामीलाई बेजिङबाट अलि टाढाको होटल वाङफेङ इन्टरनेसनलमा बस्ने व्यवस्था गरिएको रहेछ । वरिपरि ठूलाठूला डिपार्टमेन्टल स्टोरहरू रहेछन् । तर ती सारै महँगा थिए । ती हाम्रा लागि हुन् जस्तो लागेन । लाग्यो यी चिजहरू आम चिनियाँका लागि पनि होइनन् । वरिपरि थुप्रै ससाना रेस्टुँरा र होटलहरू थिए । यहाँ बेलुका पाँचदेखि छ बजेसम्म मूलतः होटल र रेस्टुँरा प्रवेशको समय रहेछ । खासगरेर बेलुका ६ देखि ७ सम्म खाना खाइसक्ता रहेछन् । मध्यम र साना खालका होटल र रेस्टुँरामा हाम्रो मुग्लिङतिर भनौँ राजमार्गका छेउका कतिपय होटलवालाले ग्राहक बोलाएझैँ बोलाउँदा रहेछन् । होटलको गेटमा ग्राहकलाई आकर्षित गर्न लाम लागेर केटीहरू उभिएका हुँदा रहेछन् । उनीहरूको काम बाटामा हिँडेका ग्राहकलाई आकर्षित गरेर होटलसम्म पुर्यायाउनु रहेछ । उनीहरू होटलमा आउनेलाई “स्वागत” गर्न उभिँदा रहेछन् । “समाजवादी” चीनमा हरेक होटलको गेटमा केटीहरू सिँगारिएर “आउनोस दाइ “ भन्नुलाई कस्तोकस्तो लाग्यो । बेजिङको मुटुमा ग्राहकलाई आकर्षित गर्न हरेक होटलको गेटमा लाम लागेर उभिएका केटीहरूको लामबन्दीलाई मैले सहज रूपले लिन सकिन । पचाउन सकिन मैले यो दृश्य ।
हामी बसेको होटल तुलनात्मक रूपमा स्तरीय भएकाले होला त्यस्तो लाम लगाइएको थिएन । तर साँझ परेपछि त्यहाँ केटीहरूको ओइरो लाग्थ्यो । पछि थाहा भयो, त्यहाँ बेलुका ७ देखि अबेरसम्म डान्स बार चल्दो रहेछ । रोजीछाडी सब चल्दो रहेछ । अफ्रिकी साथीहरूले खुसुखसु गरेपछि सबै कुरा थाहा भयो । उनीहरू त्यो विशेष हलमा निकै रमाएको अनुभव गरेँ मैले ।
चीनप्रति नरमभाव राख्ने र खासगरेर एसिया र अफ्रिकी मुलुकसित सम्बद्ध सञ्चारमाध्यमका प्रतिनिधिहरूको जमघट थियो यो । सञ्चारसित सम्बद्ध प्रमुख व्यक्ति भनिएको थियो, तर कतिपय मुलुकबाट सामान्य कर्मचारी पनि त्यहाँ उपस्थित भएको देखियो । महिला प्रतिनिधिको लुगा लगाइको छाडापन देखेर यी यसैगरी आफ्ना मुलुकका सञ्चार माध्यमहरूमा देखिँदा हुन कि के गर्दा हुन् भन्ने पनि लाग्यो, को नि केलाई भन्दा केलाई लाज भनेजस्तो । भारत थिएन । नेपाल पाकिस्तान, फिजी, मरिसस, हर्न अफ अफ्रिका, मन्टोनेग्रो, श्रीलङ्का, इजिप्ट, मूलतः अफ्रिकी मुलुकका प्रतिनिधिहरू थिए ।
समय पाइयो कि हामी घुमघाममा जोड दिन्थ्यौँ । गाडीमा हिँड्दा सबै कुरा अनुभव हुँदैन भन्ने लाग्थ्यो । यथार्थ अनुभवका लागि हामी आफूआफू मात्रै, त्यो पनि साना सडकको सेरोफेरोमा हिँड्थ्यौँ । घुम्दा हामीलाई हामी एउटा कम्युनिस्ट मुलुकमा छौँ भन्ने पटक्कै लागेन । माओको समयको चीन पढेर अहिलेको चीन बुझ्दा यो अर्कै मुलुक हो जस्तो पो लाग्ने ! गाउँको कुरा नगरौँ, सहरमै पनि गगनचुम्बी महलहरूका बीचमा साना टहराहरू पनि थिए, झोपडपट्टीहरू पनि थिए ।
घुम्नुपर्ने ठाउँका नाम लिँदा बराबर “फर्बिडन सिटी” को नाम लिइएको थियो । यो ठाउँको नामले हामीलाई बढी आकर्षित गरेको थियो–कस्तो हो यो “फर्बिडन सिटी” भनेर । मूलतः हामी तीन जना सँगै हुन्थ्यौँ । त्यसमा पनि धितालजी र म सँगै हुन्थ्यौँ । मलाई थाहा थिएन “फर्बिडन सिटी” ऐतिहासिक ठाउँ तियनमेन स्वायरको पछाडि छ भनेर । एकजना चिनियाँका साथ हामी त्यता लाग्यौँ । हामी पहिले सोझै तियनमेन पुग्यौँ । मैले हाम्रो पुरानो सिटी वसन्तपुर सम्झिएँ । फर्बिडन सिटी भनेको चिनियाँ राजा र बादशाहले शासन गरेको ठाउँ रहेछ, दरबारहरू रहेछन् ठूलो भूभाग ओगटेको रहेछ । मलाई भने तियनमेन स्वायरले नै बढी आकर्षित गर्यो । त्यहाँ समय बास बसेको थियो ।
तियनमेन स्वायर पुग्दा म केही रोमाञ्चत पनि भएँ । जनगणतन्त्रको घोषणादेखि माओको मृत्यपछि सैन्य ‘कु’ र पछि आम जनहत्या भएको त्यो ठाउँ विभिन्न किसिमले ऐतिहासिक थियो । फर्बिडन सिटीको भित्तामा माओको फोटो थियो । पहिले त्यहाँ माओको विशाल फोटो थियो । तेङ सत्तामा आएपछि ठूलो फोटो हटाएर सानी राखिएको रहेछ । यता माओको शव राखिएको ठाउँ, जनयुद्धको झलक जनाउने आकृतिहरू थिए । दि ग्रेट पिपुल्स हल पनि यहीँ रहेछ । हामीलाई माओको कुरा कम भनिन्थ्यो । उनलाई इतिहास भनिन्थ्यो र तेङलाई वर्तमान । माओको भन्दा तेङको गुणगान बढी गरिन्थ्यो । वरिपरि सानासाना स्टलहरू थिए—पुस्तक, सिडी र क्यासेटहरू बिक्रीमा राखिएका थिए । सांस्कृतिक क्रान्तिताकाका फिल्म क्यासेटहरू पनि थिए, तर एकदमै महँगा, डलर पर्यटकका लागि मात्रै हुने । मैले तिनलाई हाम्रो वसन्तपुरमा बिक्रीका लागि राखिएका क्युरियो पसल ठानेँ । त्यहाँ तिनको महत्व पैसामा सीमित गरिएको थियो । माओ पनि क्युरियोमा रूपान्तरित भएका थिए ।
व्यवस्थापकीय अध्ययन भनिएको यो कार्यक्रम मलाई त्यति सान्दर्भिक लागेन । । मैले यस कार्यक्रमलाई वर्तमान चिनियाँ नीति जानकारी गराउने र व्यापारिक आकर्षण बढाउने मूलतः नयाँ अफ्रिकी मुलुकसितको सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा लिएँ । उनीहरू माओको बारेमा बढी चासो राखेको र जान्न चाहेको त्यतिसाह्रो मन पराउँदैनथे । मैले एनान लगायत माओको जन्मस्थान जाने कार्यक्रम बनाउन अनुरोध गर्दा व्यवस्थापननसित सम्बद्ध कार्यक्रम भएकाले त्यता जान नमिल्ने भने ।
बजारमा किनमेलका लागि सबैभन्दा उत्तम ठाउँ सिल्क स्ट्रिट बजार भनिएको थियो र केही दलाली गर्नुपर्छ भनिएको थियो । ठीकै होला भनियो । ओहो ! दलालीको त कुरै नगरौँ । नेपालमा भन्ने गरिएको हङकङ बजारभन्दा पनि खतरा रहेछ । हामी त लुटिएछौँ । कार्कीजी यस मामिलामा अलि अनुभवी भनेको त हामी त काठमाडौँभन्दा पनि महँगोमा परेछौँ । नयाँ मोडलको मोबाइल किनेको त डुब्लिकेट पो परेछ । काठमाडौँमा भन्न पनि लाजमर्दो भयो । “मरेको को नि केले जिउँदो …लाई ठग्छ भन्थे, हामी टाठाबाठा भनौदालाई सिल्क स्ट्रिटका चिनियाँले मज्जले ठगेछन् । बनियाँगिरीमा चिनियाँहरूलाई जित्न गाह्रो छ भन्ने मलाई लाग्यो । कति सजिलै तिनले हामीलाई मुर्ख बनाएछन् ।
व्यवस्थापनसम्बन्धी अध्ययन भनिएको त्यस कार्यक्रममा मार्क्सवादी मूल्य र समाजवादी अर्थतन्त्रसम्बन्धी कुरा हुँदैनथे । समाजवादी मान्यताभन्दा उत्पादन शक्तिको सिद्धान्त र बजारशास्त्रमा जोड दिइन्थ्यो । यसै क्रममा एउटा रोचक सन्दर्भ जोडियो । तेङ र आर्थिक सुधारको कुरा गरिहँदा पाकिस्तान टोलीका नेताले एउटा गजबको प्रश्न सोधे । “अहिले देखिएको सांस्कृतिक विसङ्गति खासगरेर युवा जगतमा देखिएको छाडापन र विकृति पनि यही सुधारको उपज मान्न सकिन्न र ?” यसको उत्तरमा ती प्रशिक्षकले भने : “ यो सबै कन्फुसियसको शिक्षाको अभावले हो । हामी अहिले यसतर्फ जोड दिइरहेका छौँ ।” यस भनाइले म अवाक् भएँ । प्रश्न गरेँ : “उसोभए चीनमा अब मार्क्सवादी दर्शन र माओ विचारधारा अपुग भएको हो ?” उनी अकमकिए । सायद यस्तो प्रश्नको अपेक्षा उनले गरेका थिएनन् । उनले मुन्टो यताउता गरेर टारे । नाङ्गो बन, ठग, जे गरेर हुन्छ पैसा कमाऊ, विदेशी पुँजी स्वदेश भित्र्याउ भन्ने उपभोक्तावादी आर्थिक चिन्तनले तीनछक बनेको म कन्फुसियसको शिक्षाको कुराले झन् अवाक् भएँ ।
चिङकाङसान, एनान र माओको जन्मस्थान जाने कार्यक्रम नबने पनि ग्रेटवाल जाने र नानकिङ (पहिले नानकिङ) जाने कार्यक्रम बनाइएको रहेछ । ग्रेटवाल साँच्चिकै ग्रेट रहेछ । मन्चुकालको यो पर्खाल मङ्गोलियनहरूसित लड्दा बनाइएको रहेछ । मैले यसलाई मानव श्रमको अद्भूत सिर्जना माने । श्रम र सौन्दर्यको अद्भूत सम्बन्धको उपज थियो यो । म चाहिं त्यसको फेदीमा रहेको माओसम्बन्धी सानो सङ्ग्रहालयमा अलमलिएँ । माओका स्ट्याच्युहरू थिए त्यहाँ । नजिक उभिएर निकैबेर घोरिएँ । यसको पछाडि पनि माओलाई सम्मान गर्ने भन्दा पर्यटक रिझाउने अथवा व्यवसाय चलाउने मनसाय छ भन्ने मानसिकताबाट भने म मुक्त हुन सकिन । वास्तवमा चीनमा माओलाई लोगोमा सीमित पारिएको रहेछ । चीनमा हरेक कुरा बजारशास्त्रबाट निर्देशित रहेको मेरो अनुभव रह्यो । यही कुरा नानकिङ र सनयात सेन सङ्ग्रहालयका सन्दर्भमा पनि लागू हुन्छ ।
नानकिङ एउटा ऐतिहासिक स्थल हो । यो माओको नेतृत्वमा रहेको जनमुक्ति सेनाले च्याङको सत्ता पूर्ण रूपमा कब्जा गरेको ठाउँ हो । जनमुक्ति सेना प्रवेश गरेको, अन्तिम लडाइँ भएको, आमजनता सहरबाट सहयोगमा उठेको सबै कुरा बताइन गाइडले । इतिहास झल्काउने दृश्यहरू कुँदिएका थिए त्यहाँ । चित्रहरू थिए । मैले नेपालमा चलेको दसबर्से जनयुद्ध र यसको दुखद समाप्ती सम्झिएँ । नजिकै रहेछ सनयात सेन सङ्ग्रहालय । ३९१ खुट्किला चढेर माथि पुग्यौँ । यहाँबाट पश्मितिर याङ्त्से नदी बगेको रहेछ । यसले ममा उदात्त भावावेग उत्पन्न गरायो । याङ्से लामो नदी मात्र होइन, चिनियाँ राजनीतिसित पनि जोडिएको छ । यो गति, निरन्तरता, शुद्धीकरण र प्रवाहका साथै दुई लाइन सङ्घर्षसित पनि जोडिएको छ । माओले पार्टिभित्रको दुई लाइन सङ्घर्षमा धेरै ठाउँ भनेको पाइन्छ : “जमेको पोखरी होइन, छङ्छङी बगेको याङ्त्से हुनुपर्छ ।”
मैले परपरसम्म हेरेँ । घाम डुब्न थालेको थियो याङ्त्सेलाई छोएर । चिनियाँ इतिहास सम्झँदै यो दृश्यलाई मैले हेरिरहेँ भावुक भएर । फोटो खिँचे र शीर्षक दिएँ— “याङ्त्से, डुब्न लागेको सूर्य र विखण्डित बिम्ब” ।
त्यसपछि हामीलाई सुजाउको सिल्क कारखानामा लगियो । यो औद्योगिक साथै ऐतिहासिक ठाउँ रहेछ । ठूलो थियो कारखाना । मैले केही पनि किनिन । धितालजी र कार्कीजीले किन्नुभयो । मलाई लाग्यो नानकिङ र सुजाउ घुमाउने कुरा मात्र थियो, मूल कुरा त सिल्कको व्यापार थियो । किनमेल पनि निकै भयो । म बाहेक सनयात सेन, माओ, नयाँ जनवादी क्रान्ति र च्याङसितको अन्तिम लडाइँप्रति विशेष चासो र रुचि राख्ने अरू मान्छे थिएनन् । उनीहरू चिनियाँ रमाइलो तथा किनमेलतिर बढी आकर्षित थिए ।
एकपल्ट चीन हेर्नुपर्छ भन्ने मेरो चाहना पूरा भए पनि विखण्डित बिम्बको पीडा लिएर म फर्किएँ । बहुराष्ट्रिय कम्पनीहरूको निर्वाध प्रवेशले आमजनताको विस्थापन, गाउँ र सहरबीचको बढ्दो अन्तरल र डरलाग्दो वर्गविभेद, जनआक्रोश, जननिरासा र उपभोक्तावादले उत्पन्न गरेको व्यक्तिवाद र सांस्कृतिक विकृतिको डरलाग्दो बिम्ब थियो त्यहाँ । नेपालप्रतिको चिनियाँ चासो नेपालका जनताको उत्पीडन र सङ्घर्षसित होइन, तिब्बत मामिलामा मात्र सीमित छ भन्ने ठहरमा म पुगेँ । त्यहाँको नयाँ पुस्ता नेपालको बारेमा त के आफ्नै मुलुकको इतिहास र वर्तमानप्रति पनि बेखबर रहेछ । उपभोक्तावादी चिन्तनबाहेक उसको दिमाग केही रहेनछ ।

 
१६ दिनपछि । हामी हिंड्ने तरखरमा लाग्यौं ।
साथीहरू किनमेलको हिसाबकिताब गर्दै झोला मिलाउँदै हुनुहुन्थ्यो । म भने माओको बहुचर्चित भनाइ सम्झिरहेको थिएँ : “रगतले लेखिएको छ हाम्रो अनुभव र इतिहास” ।
याङ्त्सेमा डुब्न लागेको सूर्यको पहेँलिएको बिम्बले छाती ओगटेको बेला सगरमाथाको टाउकोमा परेको बिहानीको घामलाई स्पर्श गर्दा अर्कैअर्कै अनुभूति भयो मलाई ।
फागुन १, २०७१
०००

You can leave a response, or trackback from your own site.

One Response to “याङ्त्से, डुब्न लागेको सूर्य र विखण्डित बिम्ब”

  1. ajay sapkota says:

    भन्न त पदार्थले चेतनाको निर्माण गर्छ भनेर पढियो तर मेरो विचारमा चेतना अनुसार पनि पदार्थलाई(गाउँ/समाज/देश ) बुझ्ने र विश्लेषण /संश्लेषण गर्नेमा भने फरक पर्दो रहेछ |
    चिन घुमेर आउने बडे बडे कमरेडहरुले सायद माथि देखिएका बिम्बहरु देख्न सकेनछन् त्यसैले उनीहरुलाई वर्तमान चिन नै प्यारो लागेछ |तर्क सुन्छु अमेरिकालाई चिनले आर्थिक रुपमा जितेको छ ,उनीहरु खुसि छन् |माओले भनेको चिन र माओवादीहरुले खोजेको ,सोचेको चिन कस्तो र कति फरक रहेछ ?
    दुख लाग्छ …..सायद यस्तै यस्तै सोच र चिन्तन बोकेका मान्छेहरुलाई नै मार्क्सले गवाँरहरु भन्नु भएको थियो होला |

Leave a Reply

See real websites hosted and built by iPage customers.