म आलोकलाई सलाम भन्छु

ऋषिराज बराल

 भूमिगत जीवनको डायरी हेर्दै  थिएँ : आलोकको प्रसङ्ग आयो । र आयो विगत र वर्तमान ।

रोल्पा, असोज ११

आज बिहान ८.१० बजे  उवाको मलागिरिबाट हिँडियो । राती ढिंडो काँचोकाँचो लागेको थियो, पेट ठीक भएन । दुईचार छाक त ठीकै हो, सधैँ त बानी नपरेर होला, शरीरले माग्दैन । यताका साथीहरू चाँहि चामलको भात खाए पनि चित्त बुझेन भनेर फेरि ढिंडो ओडालेर खान्छन् । यो पनि बानी न हो । आलुचाहिँ मलाई खूबै मनपर्छ । आलुको खाजा खाएर हिड्ने भनियो, तर पेट गडबडले गर्दा त्यो पनि खान मन लागेन । खाली पेट नै त्यहा“बाट हिडेर ११ बजे फुन्टिवाङ आइपुगियो र पोस्टको खोजीमा लागियो ।

उवाबाट यता फुन्टिवाङतिर आउँदा बाटोमा साथीहरूले रोचक समाचार सुनाउनुभयो । भन्नुभयो—“ कमरेड ! ऊ त्यो गुराँसे डाँडो हो । आलोकको हत्या त्यहीँ भएको हो ।”

मैले बडो भावुक भएर त्यतातिर हेरेँ । थाहै नपाई भित्रैबाट लामो सास निस्कियो ।

०००

 आलोक, उसका आफ्नै क्रियाकलाप र पार्टीभित्रको जोडघटाउले गर्दा ऊ पनि इतिहासको एउटा मिथक बन्यो । इतिहासको एउटा विशिष्ट घडीमा उदय भएर र निश्चित घडीमा अवसान भएको थियो आलोक । भनौँ समयले हिसाबकिताबमा  राखेको एउटा पात्र थियो ऊ । एउटै प्रवृत्तिका आलोक र रविन्द्रबीच केही मतभेद थियो । दुवै आफूलाई क्रान्तिकारी तप्काका भन्थे र  आफूलाई प्रचण्डको सबैभन्दा नजिकको मान्छे भन्थे । खासगरेर भट्टे डाँडा आक्रमणपछि यस विषयमा रविन्द्र र आलोकबीच मतभेद तीव्र बनेको थियो । त्यतिबेर दिनेशजीले उपत्यकाको राजनीतिको जिम्मा लिनुभएको थियो ।

 रविन्द्रका दृष्टिमा दिनेश शर्मा आलोकको नजिकको मान्छे हुनुहुन्थ्यो । काठमाण्डौंको  राजनीतिबीच त्यसमा पनि बौद्धिक समुदायबीच दिनेश शर्मा लोकप्रिय हुनुहुन्थ्यो । हामी सबै उहाँको नेतृत्वमा क्रियाशील थियौँ । त्यसैले रविन्द्रलाई यो सब पचेको थिएन । दिनेश कमरेडलाई पाखा लगाउन चाहन्थ्यो रविन्द्र । दिनेशजीको गिरफ्तारीमा त्यतिबेर रवि कार्की,  मुमाराम र मुक्तिहरूमाथि प्रश्न उठाइएको थियो । यसको छानबिन गर्नुपर्ने कुराको तीव्र आवाज उठे पनि त्यसबेलाको विशिष्ट परिस्थितिमा यसप्रति खासै चासो देखाइएन । अहिलेसम्म पनि दिनेश कमरेडको गिरफ्तारी प्रश्न बनेको छ,  रहस्यमै छ । प्रश्नको घेरामा रहेका व्यक्तिहरूले एकएकवटा फेर समातेकाले पनि त्यतिबेला यसलाई गम्भीरताका साथ नलिएको हुनसक्छ । दिनेश शर्माको गिरफ्तारी पछि रविन्द्रलाई पुनः उपत्यकाको जिम्मेवारी दिनुबाट पनि शङ्काका आधारहरू थपिएका थिए ।

आलोकमा समस्या छँदैथियो, साथै ‘क्रान्तिकारी’ रविन्द्र र दक्षिणपन्थी प्रवृत्तिका मुमारामहरू लगायतका कतिपय व्यक्तिहरू जीउज्यान छोडेर आलोकका विरुद्धमा थिए । यो जमात आलोकको मात्र नभएर दिनेश शर्मालगायत काठमाण्डौमा बौद्धिक क्षेत्रका सक्रिय कमरेडहरूका विरुद्धमा पनि थियो । आलोकमाथि कार्बाही भएपछि त्यससित जोडेर ती बुद्धिजीवी र पत्रकारहरूमाथि पनि कार्बाहीको शृङ्खला चलाउन आरम्भ गरियो । कमरेड महेश्वर दाहाललगायत हामीलाई पनि आलोकको मान्छेको अभियोग लगाइएको थियो । त्यसपछि कमरेड महेश्वर दाहाललाई दिल्ली धपाइयो र …।  सबैसबै प्रायोजित वातावरण मिलाइएको थियो ।

पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनताका आलोकले गुटबन्दी गरेको र पार्टीबाट विद्रोह गर्न खोजेको भनेर उनीमाथि कार्बाही गरेपछि  दिनेश शर्मा र उपत्यकामा उनका पक्षधर भनेर चिनिएकाहरूमाथि प्रहारको योजना बनाइयो । आलोकले तयार पारेको फरक मतको दस्ताबेज ऋषिराज बरालले तयार पारेको हो भनेर काठमाडौका दिनेश शमार्का नजिकका भनेर रविन्द्र श्रेष्ठले लेबल लगाएका हामी केहीमाथि प्रायोजित प्रहारको वातावरण मिलाइयो । यो सबै दुवैथरी अति, रविन्द्र र दिल्ली गुटका काठमाडौँ प्रतिनिधिहरूको संयुक्त योजनाबद्धताको उपज थियो । दिनेश र आलोकलाई पाखा लगाएर रविन्द्र उपत्यकामा हालीमुहाली गर्न चाहन्थ्यो भने दक्षिणी हावा लागेका केही व्यक्तिहरू माओवादी पार्टीको बौद्धिक क्षेत्रमा एकछत्र राज गर्न चाहन्थे । त्यसपछि रविन्द्र र मुमारामको अपवित्र गठबन्धन बन्यो । एक समय सारै दुखःका साथ हामीले जनादेशलाई  बचाएका थियौँ । जनादेश, जनआह्वानमय बन्यो । त्यतिबेर जनादेशमा समेत मेरा लेख भरिसक्के नछाप्ने, छापे पनि सेन्सर गरिन्थ्यो । गौरव दाईको लेख जनादेशले नछापेर हामीले महिमामा छापेका थियौँ । जेलबाट छुटेपछि सेनजी समेत रविन्द्रको प्रभावमा पर्नुभयो । अनि आलोकसित जोडेर ममाथि कार्बाहीको तानाबाना बुन्न थालियो । यसमा मूलतः रविन्द्र, मुमाराम र रविको भूमिका विशेष रूपमा थियो ।

 पछि थाहा भयो मेरो र आलोकबीच केकस्तो सबन्ध थियो भन्ने पत्ता लगाउन कृष्णध्वजको एकल समिति बनाइएको रहेछ । कुष्णध्वजले एक्लै भेटेर धेरैपल्ट आलोकसितको सम्बन्ध र पार्टी फुटाउन आलोकले तयार पारेको दस्ताबेजको विषयमा सोधखोज र केरकार गरे मसित । उनी मेरो र शेरमान कुवँर, (कमरेड विशाल) बीचको सम्बन्धका बारेमा पनि जान्न चाहन्थे । आलोकले तयार पारेको दस्ताबेज मैले तयार पारेको भन्ने परेको रहेछ रविन्द्र–बाबुरामहरूलाई । कृष्णध्वज त्यतिबेला बौद्धिक क्षेत्र हेर्दथे । मेरो पार्टी कमिटीको इञ्चार्ज पनि उनै थिए ।

त्यतिबेला काठमाडौँमा हामी केहीलाई वैधानिक रूपबाट काम गर्ने जिम्मा थियो । रोल्पाबाट काठमाडौँ आएपछि रविन्द्रले हामीसित सम्बन्ध सुमधुर बनाउन  खोजे । त्यसपछि रविन्द्रको इन्चार्जसिपमा  कृष्णध्वज, रेखा, रमेश शर्मा, म, दिलिप महर्जन सहितको ‘विशेष क्षेत्रीय कमिटी’  भनेर पार्टी कमिटी बनाइयो । दिनेशजीबारेको सन्दर्भका कारण पहिलो बैठक नै नमीठो भयो । केही दिनपछि नै रविन्द्रले त्यस कमिटीलाई भङ्ग गरे । यसको पनि कथा छ । तर सो बैठकबाट म र कृष्णध्वज ट्याक्सीमा फर्किँदा मुमारामबारे उनले गरेको टिप्पणीचाँहि ‘सङ्कटकाल’ मा सत्य प्रमाणित भयो ।  मुमारामले धेरै साथीरूलाई पक्डाउँदै हिँडेको, शाही सेना लिएर बादल कमरेडको कोठामा पुगेको र दिल्ली समेत पुगेको कुरा पछि पार्टीले बाहिर ल्यायो ।

साँच्चै हो, बाबुराम गुट मलाई वैचारिक, नैतिक र भौतिक रूपबाट नै विचलित तुल्याउन चाहन्थ्यो र आलोक र दिनेशसित जोडेर रविन्द्र पनि मलाई सिध्याउन चाहन्थ्यो । तिनले जति गरे पनि मेरा विरुद्ध केही फेला पार्न सकेनन् । पछि बादल कमरेडसित यस विषयमा सबै विवरण  राखेँ। उहाँले खासै चासो दिनु भएन । उल्टै मुमारामको प्रशंसा गर्नुभयो । पछि रविन्द्रले उपत्यकामा उहाँलाई नै निषेध गरेर समस्या पार्न थालेपछि मात्र उहाँ यथार्थमा आउनु भएको थियो र आफू भ्रममा परेको कुरा म र रमेशजीसित गर्नुभएको थियो ।

त्यतिबेर माइला (लामा) घाइते अवस्थामा थियो । सबैतिरबाट तिरस्कृतजस्तो, एक्लोएक्लो जस्तो । उसले मसित सम्पर्क बनायो र भूमिगत किसिमले मेरो र माइलाको भेटघाट हुनथाल्यो । यसै समयमा रमेशजी र मसित बादल  कमरेडले भेट्ने भनेर खबर गर्नुभयो । उहाँले हामीलाई ज्ञवालीजीकोमा भेट्नुभयो । यो २०५७ सालको कुरा थियो ।

 भेटमा  माइलामाथि पार्टीले ध्यान दिनुपर्ने कुरा बादल कमरेडसित उठाएँ । उहाँ एकदमै गम्भीर हुनुभयो । “अब आइन्दा माइलासित नभेट्नु होला” भन्नुभयो । बादल कमरेडले किन त्यसो भन्नुभयो अहिलेसम्म मैले राम्ररी बुझ्न पाएको छैन । मेरो कारणले हो वा माइलाको कारणले नभेट्नु भन्नुभएको हो मैले त्यो अहिलेसम्म पनि बुझ्न सकेको छैन  । दोहोर्याएर प्रश्न गरिन ।  त्यसपछि माइलाले विष्णुमती पुलमा बोलाउँदा म गइन । मैले भेटेँ भने उसलाई अप्ठेरो पर्छ कि भनेर । माइला रिसायो । यो कुरा मैले आजसम्म उसलाई सुनाएको छैन । तर मुमारामको प्रशंसा र माइला लामासित नभेट्नु भनेर वादल कमरेडले त्यतिबेर भनेको कुराले मलाई धेरै दिनसम्म कोतरिरह्यो । मान्छेलाई चिन्ने विज्ञान र कलामा उहाँमा पनि केही समस्या रहेछन् भन्ने मेरो धारणा बन्यो । रविन्द्र, रवि र मुमारामका रामकहानीहरू  सङ्कटकालमा छिट्टै सतहमा आए ।

आलोक  इतिहासमा एउटा नकारात्मक उदाहरणका रूपमा प्रतिबिम्बित भयो । थुप्रैथुप्रै कुराहरू उसले छोडेर गयो । तर एउटा कुरा प्रस्टै छ । अहिले पनि थुप्रैथुप्रै आलोकहरू हामीसित छन् । आलोक त के उसका महाँगुरुहरू–महाआलोकहरू हाम्रा सामु जताततै छन् । अहिले त अपराधी र हत्याराहरू पार्टिका टाउकामा छन् ।

एकपल्ट पार्टीमा तहल्का मच्चाउने आलोक कति नराम्रो गरी मर्यो/मारियो ? !

कति अचम्मको छ हाम्रो आन्दोलनको इतिहास । आलोकसित मलाई किन जोडियो, मलाई थाहा छैन । बाबुराम र उसको गुट त मलाई सिध्याउन चाहन्थ्यो, रविन्द्रले किन त्यसो गर्यो, बुझी नसक्नु छ । मैले जीवनमा दुईपल्ट मात्र आलोकसित भेटें ।  त्यो पनि सारै छोटो भेट भएको थियो ।  पगतिशील लेखक सङ्घको सम्मेलनको बेला थियो । हामी अरू साथीसँगै थियौँ । अचानक भेट भयो । उसले प्रलेसमा कुनै पनि हालतमा निनुलाई नेता बनाउनु हुँदैन है भन्यो  । यो एकताकेन्द्रमा छंदाको कुरा हो । दोहोरो कुरा पनि भएन । पछिल्लोपल्ट २०५२ साल मङसिरमा खुलामञ्चमा  देखेको मात्र हुँ ।

आलोकसित जोडेर मलाई कृष्णध्वजीले केरकार गरेको घटना भने एकदमै ताजा छ । उनी आलोकसित र सेरमान कुँवरसितको मेरो सम्बन्धको स्तरलाई बुझ्न चाहन्थे भन्ने कुरा मैले राम्रोसित बुझेको थिएँ  । सेरमानप्रति ममा असाध्यै हार्दिकता थियो । ऊ  मेरो गाउँले थियो । म उसलाई मायाँ र श्रद्धा गर्थेँ र गर्छु । तर आलोकप्रकरणमा मेरो कुनै सम्बन्ध थिएन । त्यतिबेर पार्टीमा मेरो त्यत्रो पहुँच पनि थिएन । आलोकसित जोडेर मलाई सिध्याउनमा रवीन्द्र, मुमाराम, रवि निमित्त मात्र हुन्, मूल त बाबुराम नै हुन् भन्ने मलाई लागेको थियो । सन्दर्भ मलाई थाहा थिएन, तर बाबुरामसित माफी माग्नुपर्यो , उसको प्रशंसा गरेर लेखिदिनु पर्यो भनेर मलाई प्रचण्डले उहाँको त्यतिबेरका स्टाफ कमरेड  सूर्य सुवेदी अर्थात् सीसीएम कमरेड ‘पथिक’ मार्फत धेरैपल्ट खबर र मान्छे पठाउनु भयो ।  पथिकजी आफैँले पनि जोड गर्नुभयो ।  पछि सिलिगुडीमा सांस्कृतिक मोर्चाका सन्दर्भमा भेट हुँदा प्रचण्ड आर्फैँले बाबुरामको प्रशंसा गरेर लेखन  जोड गर्नुभयो । म किन बाबुरामसित आत्मालोचित हुने र बिना सन्दर्भ उसको प्रशंसामा लेखने ? म पनि मेरो क्षेत्रमा केही हुँ । मेरो स्वाभिमानले यसो गर्न मानेन र गरिन ।  म ठीक थिएँ र छु भन्ने लाग्यो । (यसबारे लामो अन्तै चर्चा गरौँला) ।

 मलाई सिध्याएर  बौद्धिक क्षेत्रमा एकतर्फी ढलीमली गर्ने दिल्लीगुटे र तिनका नन्दीभृङ्गीहरू अहिलेसम्म पनि मेरो पछि परिरहेका छन् । खासगरेर पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपछि रमेश शर्मा र बराल यी गौरवका मान्छे हुन्, यी उपत्यकामा दिनेश शर्माका मान्छे हुन्—यसो भनेर व्यवहार गरिन्थ्यो । त्यतिबेला  को को हाम्रा पछाडि थिए, प्रस्ट हुने नै छ र भइसकेको पनि छ । थप कुरा समयले प्रस्ट पार्ने नै छ । अहिले नखुले पनि पछि कुनै दिन कृष्णध्वजजीले सबै यथार्थ बताउनु हुनेछ । र मा पनि केही लेखने छु।  पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनको सेरोफेरो र पछि पनि कहिले आलोकसित जोडेर, कहिले दिनेशजीसित जोडेर र कहिले गौरवको मान्छे भनेर लखेट्ने काम हामी केहीमाथि खुबै भयो ।

दिन उही असोज ११ स्थान : फुन्टिवाङ

अहिले दिनको १ बजेको छ । साथीहरू भातको मेलोमेसो गर्दैहुनुहुन्छ  । तीन बजे खाना खाइयो  । श्रवण र आधारहरू हामीभन्दा पहिले हिँडेका थिए, यतै रहेछन् । फुन्टिवाङ अर्थात् अहिले हामी बसेको ठाउँ , भूगोल राम्रो रहेछ । यता जाडो निकै रहेछ । यो ठाउँ अपेक्षाकृत बढी जाडो ठाउँ मानिँदो रहेछ ।

०००

अब आलोक छैन । एउटा मिथक बनेर गयो ऊ । तर  यतिबेर महाअपराधीहरू हाम्रा नेता-कमरेडहरू  भएका छन् । आलोकका कमीकमजोरी थिए, तर ऊ एउटा होनहार र जुझारु युवा नेता थियो । उसको मृत्यु अझै रहस्यमा छ । साँच्चै ऊ शाही सेनाद्वारा नै मारियो या अरू केही ? उसको मृत्युसित थुप्रै दन्त्य कथाहरू जोडिएका छन् । केही प्रश्नहरू जोडिएका छन् । यसको उत्तर पनि समयसित  नै छ । देला कुनै दिन समयले खुलस्त उत्तर । तर म जोडदार रूपमा भन्छु: आलोक सहिद भयो । पार्टीले घोषणा गरोस् नगरोस् । म उसलाई सलाम भन्छु । हामीलाई सामाजिक फासिवादी भन्नेहरूलाई नेता भन्नुपर्छ भने, गौर हत्याका अपराधीलाई कामरेड भन्नुपर्छ भने म बेथान र भट्टेडाँडाको नायकलाई क्रान्तिकारी योद्धा भन्छु । अहिले चोर, फटाहा र अपराधीहरूलाई समेत सहिद बनाउन थालिएको अवस्थामा आलोकलाई सहिद भन्दा मलाई गर्व नै हुन्छ । गर्वका साथ भन्छुः सलाम ! कमरेड आलोक । तयार छु म सहन ‘महाआलोक’ को विभूषण पनि !

उसित भएको क्षमताको राम्रो र सकारात्मक प्रयोग गरिएको भए उसले एउटा राम्रो नेताको रूपमा विकास गर्थ्योहोला ।  लट्ठी बनाइयो ।  लट्ठी बनुन्जेल सही भयो त्यसपछि ??? । वास्तवमा आलोक प्रचण्ड प्रवृत्तिको सिकार भयो । म अझै प्रस्ट छैन । आलोक शाही सेनाद्वारा मारियो कि अरू ने केही हो ? विप्लव कमरेड नलुकाई सबै भन्नुस, तपाइँ त त्यतिबेलाको त्यहाँको इञ्चार्ज । साँच्चै आलोक कसरी मर्यो, कसरी मारियो ? मलाई अर्को प्रश्नले अझै पनि कोतरिरहेको छ : साँच्चै बादल कमरेडले किन माइलासित नभेट्नु भन्नुभएको होला ? ( प्रकाशोन्मुख डायरीबाट)

०००

You can leave a response, or trackback from your own site.

2 Responses to “म आलोकलाई सलाम भन्छु”

  1. class straggle ma marginelized gariyako histry boker aayako cha ? yo diary
    salam baral sir .

  2. Jagat says:

    Salam Chha Sahid Alok lai!!!!

Leave a Reply

See real websites hosted and built by iPage customers.