म अहिले पनि युद्धमोर्चामै छु : ऋषिराज बराल

Baral NP(नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्यिक प्रकाशन ‘समकालीन साहित्य’ले ऋषिराज बरालसित लिएको साहित्यिक अन्तर्वार्ता पाठकहरूका लागि रुचिकर हुने ठानी यहाँ प्रस्तुत गरेका छौं । )

१. तपाईंको साहित्यिक जीवनको आरम्भ कसरी भयो ?
मान्छेमा देखिने खास प्रवृत्तिहरूको प्रदर्शन बाल्यकालदेखि नै हुने रहेछ । मेरो घरपरिवारको परिवेश, त्यसमा पनि मैले आफूभित्र सामाजिक सचेतनाको बोध गर्न थालेपछि मेरो वरिपरिको वातावरणबारे मैले जे बोध गरेँ र बुझेँ, त्यसले मेरो भावनात्मक पक्ष बढी क्रियाशील हुने र बनाउने वातावरण सिर्जना गर्यो । मभन्दा माथिका तीन जनाको लगातार मुत्यु र आमाबाट सुनेको ‘मृत्यु पर्व’ का कथाहरू, २०११ सालको बाढी–पहिरोले समग्र जग्गाजमिन बगाएर सुकुम्बासी बनाएको स्थितिबीच मलाई खुवाउने सामलसमेत नहुँदाको पीडाको कथाले मेरो भावनात्मक पक्षलाई बढी प्रभावित पार्यो । मोही माग्न आफन्तकहाँ जाँदा मोहीको ढुङ्ग्रो खोसेर फ्यालिदिएको घटनाको बिम्ब अझै पनि मेरो मानसपटलमा जस्ताको तस्तै छ । बाल्यकालका यस्ता सन्दर्भहरू नै मेरो भावनात्मक पक्षलाई सक्रिय तुल्याउने आधारहरू थिए ।
अर्को बिम्ब पनि छ मसित । मेरो घरमा एउटा पातलो पुस्तक थियो । त्यसको बाहिरी पन्ना (कभर) थिएन । तल चन्द्रमाको आकारको एउटा फोटो (लोगो) थियो । मान्छेको आकारजस्तो लाग्ने त्यो लोगोका आखा मेरा आँखामा यसरी बस्यो, त्यसको बिम्ब अहिले पनि ताजै छ । आमालाई त्यो किताब कण्ठजस्तै थियो । आमाले मेरो मावल दुम्जाबाट ल्याउनु भएको रहेछ । पछि मात्र मलाई थाहा भयो, त्यो पुस्तक नेभाप्रसबाट प्रकाशित मुनामदन पो रहेछ । त्यसैगरी मभित्रको भावनात्मक पक्षलाई थप ऊर्जाशील बनाउने प्रेरणा पात्र स्कुलेजीवनका गुरु मकवानीवाला महाकाव्यका स्रष्टा उमानाथ शास्त्री ‘सिन्धुलीय’ हुनुहुन्थो । आठ क्लासमा पढ्दा उहाँले हामीलाई लक्ष्मीप्रसाद देवकोटाका बारेमा निबन्ध लेख्न लगाउनुभयो । मैले सबैभन्दा बढी १६ अङ्क पाएको थिएँ । उहाँले लेख्नका लागि दिएको प्रोत्साहन साहित्य लेखनतर्फ प्रवृत्त हुनका लागि थप पाइलो थियो । ममा देवकोटाप्रति बढी आकर्षण थियो र मेरो पहिलो प्रकाशित समालोचना पनि ‘देवकोटामा राष्ट्रिय भावना’ (२०३२) थियो । त्यसैगरी नौ क्लासमा पढ्दा स्कुलमा भएको साहित्यिक प्रतियोगितामा कथा लेखनतर्फ म प्रथम भएको थिएँ । यसरी हेर्दा मेरो बाल्यकालको भोगाइ, स्कुलेजीवन र मभित्र रहेको भावनात्मक पक्ष नै मेरो साहित्यिक लेखनको सिर्जनस्रोत बन्यो ।
२.तपाईंको लेखनको मूल उद्देश्य के हो ? किन र कसका लागि लेख्नुहुन्छ ?
यस प्रश्नको उत्तर सपाट किसिमले नदिएर अभिव्यक्तिको कला र सिर्जनप्रक्रियासित जोडेर दिनु बढी वैज्ञानिक हुन्छ । लेख्ने भनेको आफ्नो अनुभूतिलाई अभिव्यक्त गर्ने काम र कला हो । मान्छेले योजनाबद्ध साथै स्वस्फूर्त रूपमा पनि आफ्ना विचार, भावना, बुझाइ र भनाइलाई अभिव्यक्त गरिरहेको हुन्छ । साहित्यिक कला अभिव्यक्तिको सचेतन कला हो, तर यो अलि फरक किसिमको कला हो । यसका आफ्नै अनुसाशन, नियमसङ्गति र पद्धति हुन्छन् । त्यसैले साहित्यलाई कलात्मक कार्य भनिएको हो । सुरुसुरुमा आफ्ना मनका कुरा अभिव्यक्त गर्न मन गर्नेले आफूले देखेको भोगेको, अनुभूत गरेको र आफूलाई लागेको कुरा, पीडा वेदना र खुसी सामान्य रूपमा अभिव्यक्त गर्छ । सामाजिक जीवनसित जुद्धैजाँदा उसको वरिपरिको समाजसितको सम्बन्ध र सन्दर्भलाई व्यवहारका माध्यमबाट बुझ्दै जाँदा उसमा आफू वरिपरिको समाज र जीवनप्रतिको धारणा निर्माण हुँदैजान्छ । यो धारणा अन्ततः समाज, समाजिक अन्तर्विरोध, सुन्दर र कुरूप, जीवन्त र मृत अनि हीन र उदात्त आदिलाई हेर्ने र बुझ्ने विश्वदृष्टिकोणका रूपमा निर्मित र विकसित हुन्छ । स्वस्फूर्त बुझाइ र ठम्याइँ सचेतन बुझाइमा फेरिन्छ । लेखन कार्यमा यहीँबाट उसमा के लेख्ने, किन लेख्ने र कसका लागि लेख्ने भन्ने वैचारिक पक्षधरताको विकास हुन्छ । विश्वदृष्टिकोणले पक्षधरतालाई निर्धारित गर्छ । लेखनमा यो पक्षधरता अभिव्यक्तिका विविध रूपहरूमार्फत प्रतिबिम्बित हुन्छ । यो क्रम वैचारिक प्रतिबद्धताबाट सङ्गठनात्मक प्रतिबद्धतामा विकसित र रूपान्तरित हुन्छ । स्वीकार गर्नु नगर्नु भिन्नै कुरा हो, तर सबै थरी लेखकहरूमा यो कुरा लागु हुन्छ । सुन्दर र कुरूप, हीन र उदात्तप्रतिको उसको बुझाइ र ठम्याइँमा नै उसको पक्षधरता किटान हुन्छ । म “विचार जब मान्छेको मनमष्तिस्कमा पुग्छ, त्यो भौतिक शक्तिमा फेरिन्छ” भन्ने कुरामा विश्वास गर्छु र सत्य पनि यही हो । साथै मेरो लेखनको उद्देश्य मार्क्सले भनेझैँ “विद्वानहरूले यस विश्वको विविध किसिमले व्याख्या मात्र गरेका छन्, मूल कुरा यसलाई फेर्नु हो” सित सम्बद्ध छ ।
३. समग्र साहित्यभित्र प्रगतिशील साहित्यले कुनकुन अर्थमा भिन्नता राख्छ ?
सिङ्गो प्रश्नको उत्तर, त्यसमा पनि ‘प्रगतिशील’ भन्ने जुन पदावलीको प्रयोग गरिएको छ, यसले केही प्रस्टताको माग गर्दछ । सामान्यतः प्रगतिशील पदावलीले सापेक्षता र तुलनात्मकतामा अर्थको खोजी र व्याख्याको माग गर्दछ । खासगरेर सामाजिक व्यवहार र राजनीतिक क्षेत्रमा “यो पक्षभन्दा यो पक्ष प्रगतिशील” भनेर चर्चापरिचर्चा गर्ने गरिन्छ । पुँजीवादले साम्राज्यवादी चरित्र ग्रहण नगरुन्जेलसम्म मार्क्सले पनि सामन्तवादभन्दा पुँजीवाद प्रगतिशील शक्ति हो भन्नुभएको थियो । परन्तु अब आएर पुँजीवाद प्रगतिशील शक्ति रहेन र यसले वैचारिक तथा राजनीतिक क्षेत्रमा यस किसिमको चरित्रको निर्बाह पनि गर्न सक्तैन । अबको पुँजीवादले साम्राज्यवादको प्रतिनिधित्व गर्छ र यसले सामन्तवादसित पनि हातेमालो गर्छ । आन्तरिक कतिपय स्वार्थमा भिन्नता भए पनि वर्गीय प्रश्नमा एकता नै उनीहरूबीचको प्रधान पक्ष हो । मार्क्सवादीहरू तुलनावाद र सापेक्षतावादबाट बच्नुपर्ने हुन्छ । यसै अर्थमा ‘प्रगतिशील’ पदावलीको प्रयोगप्रति पनि प्रस्ट हुनु आवश्यक छ ।
अर्को कुरा नेपालको सन्दर्भ अझ दक्षिण एसियाकै सन्दर्भमा पनि वामपन्थीहरू भन्दा कम्युनिस्टहरू भन्ने बुझिएझैँ प्रगतिशील साहित्य अथवा प्रगतिशील लेखक भन्दा मार्क्सवादी लेखक भनेर व्यवहारमा बुझ्ने गरिएको पनि पाइन्छ । अझ भारतीय प्रभावका साथै पञ्चायती व्यवस्थाको कालखण्डको विशिष्टतामा हामीले ‘प्रगतिवाद’ पदावलीको सर्वाधिक प्रयोग गर्यौं । यसको हामीले जसरी व्याख्या– विश्लेषण गर्यौं, हामीले मार्क्सवादी साहित्य चिन्तनकै रूपमा विश्लेषण गर्यौं । मेरो विचारमा ‘प्रगतिवाद’ पदावली पनि विवादास्पद छ । यसको अङ्ग्रेजीमा ‘प्रोगेसिज्म’ हुन्छ र मार्क्सवाद ‘प्रोग्रेसिज्म’ होइन र ‘प्रोग्रेसिज्म’ ले मार्क्सवादी मूल्य र मान्यताको गहन र बृहत् आयामलाई समेट्न पनि सक्तैन । पश्चिमाहरू सोझै मार्क्सवादी लेखन, समाजवादी यथार्थवाद भन्छन् र यथार्थ पनि यही नै हो । हामीले विवादास्पद पदावली प्रयोग गर्नु उचित हुँदैन । हाम्रो लेखन प्रोग्रेसिज्ममा होइन, मार्क्सिज्ममा आधारित छ र हुनुपर्छ । हिजो जे-जस्तो पदावली प्रयोग गरिए पनि अब हामीले सोझै मार्क्सवादी लेखन भनेर सम्बोधन गर्नु सही हुन्छ । प्रश्नावलीमा प्रयोग परिएको ‘प्रगतिशील’ पदावलीलाई मार्क्सवादी साहित्यको अर्थमा लिएर उत्तर दिने प्रयास गरेको कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु ।
साहित्यको मूल्य र दायित्वलाई आत्मसात गर्ने र साहित्य र समाजको सम्बन्धलाई बुझ्ने कुराका साथै यथार्थ र भ्रम, सुन्दर र कुरूप, जीवन्त र मृतलाई बुझ्ने कुरामा देखिने भिन्नता प्रतिबिम्बन सम्बन्धी धारणा र साहित्यकलाको समाज रूपान्तरणकारी भूमिकाको बुझाइ सम्बन्धी मान्यतामा आधारित छ । यस बुझाइमा साहित्यकला किन, कसका लागि र कसरी तीनओटै कुरा जोडिएका छन् । यो भिन्नता विश्वदृष्टिकोणमा छ र यसले यथार्थको पहिचान र अन्वेषणका साथै कलात्मक प्रतिबिम्बनसित सम्बद्ध पक्षलाई प्रभावित र प्रतिबिम्बित गरिहेको हुन्छ । नेपालको सन्दर्भमा २००७ सालअघिका देवकोटा र रिमालका रचनाहरूको अध्ययन गर्दा पनि हामी ‘समग्र साहित्य’ भित्र ‘प्रगतिशील’ साहित्यको भिन्नता अनुभूत गर्न सक्छौं । २००७ सालपछि कलाकलाका लागि पुर्पक्ष गर्ने पाश्चात्य बिम्बवादका पक्ष्यधर मोहन कोइरालाको कविता ‘फर्सीको जरा’ र आलोचनात्मक यथार्थवादका सशक्त पक्षधर भूपी सेरचनको कविता ‘होचिमिन्हलाई चिठी’ लाई अगाडि राख्दा पनि “समग्र साहित्यभित्र प्रगतिशील साहित्यको भिन्नता” प्रस्ट हुन्छ । प्रयोगका लागि प्रयोगमा आधारित आयामेली कविताहरू र पारिजात र विमल निभाका कविताहरू अगाडि राखेर अध्ययन गर्दा र विसङ्गतिवाद र शून्यवादको पुर्पक्ष गर्ने बकवासहरू र पारिजात, कृष्ण सेन ‘इच्छुक’ र पूर्ण विरामका कविताहरू अगाडि राखेर हेर्दा “समग्र साहित्यभित्र प्रगतिशील साहित्यको भिन्नता” प्रस्ट हुन्छ । मान्छेले बाँच्नका लागि गरेका सङ्घर्ष, जीवनबोध र श्रमचेतनासित सम्बद्ध क्रान्तिकारी आशावादले भरिएको लेखन र निरासा कुण्ठा, शून्यताबोध, भोगवाद र उपभोक्तवादमा आधारित लेखनबीच जे भिन्नता हुन्छ, त्यही भिन्नता “समग्र साहित्यभित्र प्रगतिशील साहित्यको ” हुन्छ ।
४.राजनीति र साहित्यबीचको सम्बन्धलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा यो अलि पुरानो र असान्दर्भिक भइसकेको प्रश्न हो । नेपालको सन्दर्भमा मात्र कुरा गर्दा पनि जो जो साहित्य र राजनीतिको सम्बन्ध हुँदैन र छैन भन्थे, पछिका दिनमा तिनले खासखास विचार र राजनीतिको झण्डा खुलेरै बोके र अहिले पनि बोकिरहेका छन् । नेपाली साहित्यमा कविता लेखनमा २०१३/१४ सालपछि विम्बवादी–प्रतिकबादी युरो–अमेरिकी लेखनको हावा लाग्यो । मोहन कोइरालाहरू राजनीति र साहित्यको सम्बन्ध नहुने कुराको वकालत गर्दै अघि सरे । पञ्चायती राजनीतिक व्यवस्थाको आरम्भपछि नेपाली साहित्यिक लेखन एकातिर पञ्चगामी आत्मसमर्पणवाद र निरासावादी कुण्ठावाद अनि अर्कोतिर क्रान्तिकारी आशावादमा विभाजित भयो । युद्धप्रसाद मिश्र, रामचन्द्र भट्टराई, विमल निभा र विक्रम सुब्बाहरू एउटा कित्तामा थिए र अर्को कित्तामा आयामेली नाराका साथ ईश्वरवल्लभ र बैरागी काइँलाहरू थिए । आयामेलीहरू प्रयोगवादका नाममा यथास्थितिको पक्षपोषण गरिरहेका थिए, तर कृष्ण पोख्रेल र विमल निभाहरू ‘झोडाको गीत’ र ‘आगोनेर उभिएको मानिस’ का साथ उभिएका थिए । त्यसैगरी धुव्रचन्द्र गौतम उपन्यासहरू बालुवामाथि र डापीमार्फत अस्तित्ववादी निरासा र कुण्ठामा जीवन घोलिरहेका थिए भने खगेन्द्र सङ्ग्रौला चेतनाको पहिलो डाकमार्फत नयाँ चेतनाको उद्बोधन गरिरहेका थिए । परन्तु समयपरिस्थितिसँगै मोहन कोइरालाहरू साहित्य र राजनीति अलग नहुने कुराको घोषणा गर्न बाध्य भए र वैरागी काइँलाहरू जनआन्दोलनमा खास पार्टीको परिचय बोकेर सडकमा निस्किए । साहित्यको राजनीतिसित सम्बन्ध हुँदैन भनेर भन्नेहरूले ‘रुख छाप’ को पक्षका कविता र गीत लेखेर प्रचार समितिको नेतृत्व गरेको यथार्थ पनि हाम्रा सामु छन् । त्यसैले राजनीति र साहित्यबीचको सम्बन्ध हुन्छ कि हुँदैन भनेर परिभाषित गर्ने कुरा अब असान्दर्भिक भइसक्यो । सबै एउटाएउटा पार्टीको ओतमा आफ्नो अस्तित्व खोजिरहेका छन् । लेखनमा आउने यो राजनीति कुन वर्गको सेवामा छ भन्ने कुराले चाहिँ अहम् महत्व राख्दछ । साथै कुरा के पनि हो भने राजनीति लेखनमा कसरी आएको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । हामी मार्क्सवादीहरू यथार्थको कलात्मक प्रतिबिम्बनमा जोड दिन्छौँ । कलात्मक प्रतिबिम्बन गहन अर्थ र सन्दर्भ बोकेको पदावली हो । यससित ऐतिहासिक, ज्ञानमिमांसीय र सौन्दर्यात्मक पक्ष जोडिएको छ भन्ने कुरामा चाहिँ हामी प्रस्ट हुनु आवश्यक छ ।
५.मार्क्सवादी सौन्दर्यशास्त्र र समालोचना पार्टीपरस्त र विचारभन्दा गुटसञ्चालित भएको धेरैतिरबाट गुनासो आइरहेछ । यसलाई सच्याउने आवश्यकता ठान्नुहुन्छ कि हुन्न ?
यो प्रश्न समय सान्दर्भिक छ र यसलाई अलि विस्तृत रूपमा व्याख्या गर्नु आवश्यक छ । साथै सबैभन्दा पहिले यस प्रश्नको आसयका बारेमा प्रस्ट हुनु आवश्यक छ । “मार्क्सवादी सौन्दर्यशास्त्र र समालोचना’ भन्नुभन्दा “मार्क्सवादीवादी सौन्दर्यशास्त्रका आधारमा गरिने समालोचनाहरू” भन्दा विषय अलि प्रस्ट हुन्छ भन्ने मलाई लाग्छ । त्यसैगरी “पार्टीपरस्त र विचारभन्दा गुटसञ्चालित भएको” भन्ने भनाइले वैचारिक व्याख्याको माग गर्छ ।
यो सन्दर्भ नेपालका ‘कम्युनिस्ट’ पार्टीहरू, तिनले बोकेका क्रान्तिसम्बधी वैचारिक तथा राजनीतिक मूल्यमान्यता र त्यसै राजनीतिलाई विभिन्न किसिमले सहयोग पुर्याइरहेका लेखककलाकारहरूसित सम्बद्ध प्रश्न हो । नेपालमा कम्युनिस्ट पार्टी नाम राखेर राजनीति गरिरहेका कतिपयले यसका नाममा धन्धा चलाइरहेका छन् भन्ने मेरो ठहर छ । तिनको ओतमुनि रहेर प्रगतिशील साहित्यिक आन्दोलनका नाममा उपभोक्तावादी चिन्तनको अभ्यास गर्दै तिनीहरू “उन्नत भविष्यको निर्माणमा” अहोरात्र खटिरहेका छन् भन्ने पनि हामीलाई थाहा छ । मार्क्सवादी साहित्यिक आन्दोलनभित्र को सही अर्थमा लेखन र व्यवहारकै तहमा बलिदानको यात्रामा छ र को मार्क्सवादको बर्को ओढेर यसको विभ्रमीकरण र विकृतीकरणको योजनामा तल्लीन छ भन्ने कुरा पनि दिनको घामजत्तिकै प्रस्ट छ । कसलाई माया गर्ने, कसलाई प्रोत्साहित गर्ने, कसलाई अगाडि बढाउने, कसलाई राम्रो भन्ने र कसलाई नभन्ने कुरा मार्क्सवादी सौन्दर्यशास्त्रको आधारभूत मूल्यमान्यतासित सम्बद्ध प्रश्न हो । यस सन्दर्भमा पहिलो कुरा स्रष्टाको लेखन नै केन्द्रीय पक्ष हो । यसमा उसमा निहित विश्वदृष्टिकोणको अहम् भूमिका हुन्छ । साथसाथै वर्गपक्षधरता र संगठनात्मक प्रतिबद्धता पनि त्यत्तिकै महत्वपूर्ण छन् । पार्टीहरू भनेका समाजमा रहेका विभिन्न वर्गहरूको विचार र व्यवहारलाई प्रतिनिधित्व गर्ने सङ्गठित शक्ति भएकाले लेखककलाकारहरू आआफ्नो वर्गस्वार्थ र पक्षधरताअनुरूप विभिन्न पार्टीमा विभाजित हुनु स्वाभाविकै हो । राम्रो विचार र राजनीत अँगाल्नेले सबैभन्दा उच्च विचारको राजनीतिक घर खोज्ने कुरा स्वाभाविक हुन्छ । यसो हुनु पार्टीपरस्तताको द्योतक होइन, बरु क्रान्तिका लागि लेखकको क्रान्तिकारी प्रतिबद्धता हो ।
पहिलो कुरा : आजको सन्दर्भमा मार्क्सवादको कुरा गर्दा माओवाद अगाडि आउनु स्वाभाविक छ । माओवाद मार्क्सवादको विकसित र समृद्ध पक्ष हो । यो नै मार्क्सवादका नाममा देखापरेका थरीथरीका मार्क्सवादबाट क्रान्तिकारी मार्क्सवादलाई छ्ट्याउने आधार हो । विडम्बनाको विषय के छ भने माओवादी आन्दोलनभित्र पनि बहुलवादको अभ्यास हुनथालेको छ र यहाँ थुप्रै ‘माओवादहरू’ देखापरेका छन् । माओवाद पनि व्यापार गर्नेनयाँ धन्धामा परिणत हुनलागेजस्तो भएको छ । हिजो संशोधनवाद र क्रान्तिकारी मार्क्सवादलाई छुट्याउने आधार माओवाद थियो, अब स्थिति अर्के भएको छ । अब माओवादी भन्दैमा क्रान्तिकारी किटान गर्न गाह्रो परेको छ । परम्परागत संशोधनवाद त सबैका सामु खुला छ, तर आजको संशोधनवाद माओवादकै झण्डा बोकेर निस्केको छ । यस अर्थमा सही र गलतबीच कित्ताकाट हुनु स्वाभाविक छ । यसो भएपछि लेखक, समालोचक र पाठकसमेत विभाजित हुने कुरालाई अस्वाभाविक मान्नु हुँदैन ।
दोस्रो कुरा : आजको सन्दर्भमा मालेमाद्वारा निर्देशित पार्टी नै क्रान्तिकारी पार्टी हो र नयाँ जनवादी क्रान्ति नै नेपाली क्रान्तिको मूल दिशा हो । यो यथार्थलाई मान्ने मार्क्सवादी सौन्दर्यशास्त्री तथा समालोचकहरूले यसै मूल्यप्रति समर्पित स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्नुलाई पार्टीपरस्त भन्नु उचित हुँदैन, बरु मार्क्सवादी मूल्यप्रति प्रतिबद्ध भएर गरिएको क्रान्तिकारी चिन्तन भन्नु उपयुक्त हुन्छ । यसका साथै थुप्रै यस्ता लेखकहरू हुन्छन्, जो खासखास समूहसित आबद्ध नभए पनि जनताको मुक्तिको पक्षमा हुन्छन्, सुन्दर समाज निर्माणको पक्षमा हुन्छन्, उनीहरूको लेखनको प्रभावकारिताका आधारमा त्यस्तालाई पनि मार्क्सवादी क्रान्तिकारीहरूले महत्व दिनुपर्छ, समेट्नुपर्छ । प्रशिक्षित गर्दै अघि बढाउनुपर्छ ।
तेस्रो कुरा : विचार निरपेक्ष हुँदैन, यो व्यवहारबाट असम्पृक्त पनि हुँदेन । तपाईँको उठबस, जीवनव्यवहार पार्टी प्रतिबद्धता जस्ता कुराहरू एकातिर अनि कविताचाहिँ आगो ओकल्नेजस्ता छन् भने त्यहाँ प्रश्न उठ्नु स्वाभाविक हुन्छ । मार्क्सवादले तपाईँको लेखन, प्रतिबद्धता र जीवनव्यवहारबीच मेलको खोजी गर्छ । कुरा मार्क्सवादको गर्ने, व्यवहारमा चाहिँ यथास्थितिवादको पक्षपोषण गर्ने लेखकहरूलाई मार्क्सवादी सौन्दर्यशास्त्रले प्रोत्साहित गर्दैन । यस्तालाई प्रोत्साहित गर्नु भनेको सही र इमानदार लेखकहरू, वर्गसङ्घर्षमा होमिएका प्रतिबद्ध लेखकहरूमाथि अन्याय हुन्छ । यस अर्थमा अरूको भन्दा इच्छुक, पूर्ण विराम र चुनु गरुङहरूले महत्व पाउनु स्वाभाविक हुन्छ । यसो गर्नु भनेको मार्क्सवादी सौन्दर्यशास्त्रको सही प्रयोग हो । जनयुद्धमा होमिएकाले मात्र होइन, रूप र सार दुवै दृष्टिले यिनका कविता उच्च छन् भन्ने कुरामा पनि हामी प्रस्ट हुनुपर्छ । यसो गर्नुलाई पार्टीपरस्त अथवा गुटपरस्त भन्ने हो भने यो मार्क्सवादी बुझाइभन्दा टाढा हुन्छ । साथसाथै अर्को महत्वपूर्ण कुरा के हो भने जतिसुकै युद्धमा होमिए पनि रचनामा त्यो दम छैन भने एक दर्जन कवितासङ्ग्रह निकाले पनि, नेताहरूले टाउकामा पुर्याए पनि त्यसको कुनै अर्थ छैन/हुँदैन । त्यसैले प्रतिबद्धता र रचनाको उत्कृष्टताका आधारमा रचनाको मूल्याङ्कन गर्दा तलमाथि पर्नुलाई ‘परस्त’ को संज्ञा दिनु वैज्ञानिक हुँदैन । सोन्दर्यशास्त्रीय प्रश्न ठ्याक्कै राजनीतिक लाइन, नीतिनिर्णय तथा दैनिक कार्यनीति जस्तो होइन तापनि क्रान्तिप्रति नै फरक विचार राख्नेहरूप्रति समान व्यवहारको माग गर्ने कुरा वैचारिक र व्याहारिक दुवै दृष्टिले वसतुसङ्गत हुनसक्तैन ।
चौथो कुरा : मार्क्सवादका नाममा थरीथरीका साइनबोर्ड झुन्ड्याएका पार्टीहरूबाहेक गुटपरस्तताको सन्दर्भ खास पार्टीभित्र पनि खास गुटको कुरा हो भने यो अलि फरक कुरा हो । यो कुरा सत्य हो, प्रत्येक पार्टीभित्र दुई लाइन सङ्घर्ष हुन्छ र नेताहरूका आसेपासे हुन्छन् । सानासाना राजामहाराजा त्यहाँ पनि हुन्छन् । आ-आफ्ना छोटामोटा स्वार्थका कारण समालोचक कवि, कलाकार, सम्पादक सबै एकएकओटा गुटमा विभाजित हुन्छन् । मूल कुरा क्रान्तिकारी विचार राख्ने, इमानदार र सशक्त स्रष्टालाई उत्साहित र प्रोत्साहित गर्नुपर्छ । तर मार्क्सवादका नाममा उम्रेका विषलु झारपातप्रति भने निर्मम बन्नैपर्ने हुन्छ ।
पाचौँ कुरा : कम्युनिस्ट नाम गरेका पार्टीसम्बद्ध लेखकीय संस्थाहरूसित सम्बद्ध हुने, तर उठबस, खानपिन सरसङ्गत बुर्जुवाहरूसित बढी गर्ने । व्यावहारिक र समयसुहाउँदो मार्क्सवादी लेखक हुन गलत विचार राख्नेहरूसित लसपस गर्ने, विरोधी कित्ताको पनि प्यारो हुन खोज्ने र प्रचारमा आउन जस्तोसुकै कार्य गर्न पनि नहिचकिचाउने, यता पनि ठीक र उताबाट पनि फाइदा लिन खोज्ने प्रवृत्ति घातक प्रवृत्ति हो । यो अवसरवादी र रहस्यमय प्रवृत्ति पनि हो । यस्तो प्रवृत्तिलाई लु स्युनले विषालु झारपात भन्नुभएको थियो । कतिपय इमानदार र राम्रा स्रष्टाहरू पूर्वाग्रहका कारण ओझेलमा परेका छन्/हुन सक्छन्, त्यता ध्यान दिनु आवश्यक छ, गुनासा सुन्नु आवश्यक छ । तर दोहारो चरित्र बोकेकाहरू भने विषालु झारपात नै हुन् र यस्तो प्रवृत्तिलाई त उखेलेर फ्याल्नै नै हो । यस्ताहरूबाट आउने गुनासाको अर्थ छैन । सही अर्थका मार्क्सवादी लेखकहरूबाट आउने गुनासाप्रति गम्भीर हुनु आवश्यक छ ।
सत्य के हो भने मार्क्सवादका नाममा उपभोक्तावादको अभ्यास गर्नेहरूबाट यस्ता गनगन बढी सुनिने गरिन्छ । साथै सत्य के पनि हो भने अहिले बजारमा जताततै मार्क्सवादका नाममा ‘नव–मार्क्सवाद’ र ‘उत्तर–मार्क्सवाद’ को अभ्यास गर्ने जालीहरू र खोटामोहरहरूको जगजगी र चकचकी छ । त्यसैले ‘परस्तता’ को कुरालाई निरपेक्षतामा होइन, सापेक्षतामा हेर्नुपर्छ ।
६. तपाईँ मूलतः समालोचक र आख्यानकारका रूपमा स्थापित हुनुहुन्छ । यी दुई विधाहरूको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?
नेपाली साहित्यको समग्रतामा सोध्नु भएको हो अथवा मार्क्सवादी कित्तामा मात्र भन्ने कुरा प्रस्ट छैन तापनि मैले यसलाई समग्रतामै लिएको छु । पछिल्लो समयमा गम्भीर लेखन पछि परेको र होहल्ला लेखनको बढी चर्चा हुनथालेको महसुस मैले गरेको छु । साहित्यिक रचनाहरूझैँ अहिले गम्भीर समालोचना पनि सङ्कटमा पर्न थालेजस्तो लाग्छ । समालोचना बजारु पुस्तकहरूको परिचय लेखनमा सीमित भएको र स्थापित समालोचकहरूमा समालोचनाप्रति रुचि कम हुनथालेको जस्तो देखिनथालेको छ । राम्रा साहित्यिक पत्रिकाको अभावमा बजार ओगटेका केही दैनिक पत्रिकाले समालोनालाई ‘पुस्तक चर्चा’ र ‘जमघट चर्चा’ को बजारशास्त्रमा परिणत गरेकाले गम्भीर समालोचना र समालोचक दुवैले चुनौतीको सामना गर्नुपरेको स्थिति छ । नयाँ पुस्ताको आगमनका दृष्टिले हेर्ने हो भने मार्क्सवादी कित्ता र इतर कित्ता दुवैमा समस्या देखिएका छन् । एकातिर नयाँ प्रतिभाको खोजी र विकासमा त्यति ध्यान पुर्याउन नसकेको अवस्था छ भने अर्कोतिर युवा प्रतिभाहरू समाज र साहित्य दुवैको गम्भीर अध्ययनमा आधारित भएर लेख्नेतिर भन्दा जे गर्दा पैसा आउँछ, ‘चर्चा’ मा आइन्छ, त्यसमा समय र श्रमको लगानी गरिरहेका छन् । गम्भीर समालोचना लेखन कार्यभन्दा गाइड लेखन फस्टाउनुको कारण पनि यही हो । तुलनात्मक दृष्टिले इतर कित्ताभन्दा मार्क्सवादी कित्ता समालोचनाका क्षेत्रमा बढी प्रभावकारी छ भन्छु तापनि चित्त बुझ्दो स्थिति यहाँ पनि छैन । आफूलाई मार्क्सवादी भनेर देखाउन खोज्ने डाक्टर, प्रोफेसर त थुप्रै छन्, तर तिनको लेखन जागिरको प्रमोसनका लागि नम्बर बढाउने हुटहुटीमा रुमलिएको छ । तिनमा पाहापन पाइन्छ । ती ‘वैधानिक मार्क्सवाद’ को सीमाभित्र रहेर ‘प्राज्ञिक मार्क्सवाद’ को अभ्यास मात्र गरिरहेका हुन्छन्/छन् । तिनका समालोचनामा ओज र आक्रामकताको अभाव हुन्छ । र पनि समालोचनाको क्षेत्रमा मार्क्सवादी कित्ता इतर कित्ताभन्दा निकै बलियो र अगाडि छ ।
जहाँसम्म आख्यानको कुरा छ, आख्यान अहिले नेपाली साहित्यमा सबैभन्दा लोकप्रिय विधा बनेको छ । यसमा पनि एउटा कित्ता राम्रो लेख्नेभन्दा प्रायोजित प्रचारको साहारामार्फत होहल्ला गर्ने बजारशास्त्रद्वारा निर्देशित भएको बोध गर्न सकिन्छ । यसले राम्रा रचनाहरू ओझेलमा परेका र खोटा मोहरहरूले बजार नियन्त्रण गर्न लागेको स्थिति छ । मिडियाको होहल्लामा रमाएको इतर कित्ताको आख्यान लेखनले ह्रासोन्मुख प्रवृत्तिको द्योतन गर्दछ । नयाँ पुस्ता प्रभावकारीताका साथ देखा नपर्नु र अग्रज पुस्ता पनि राजनीतिका दैनिक गगिविधिमा बढी सक्रिय देखिनुले आख्यान लेखनमा मार्क्सवादी कित्ताको स्थिति पनि त्यति चित्त बुझ्दो छैन । राम्रो कृतिले समालोचकलाई चुनौती दिन्छ । समालोचकले राम्रो कृति लेख्नका लागि स्रष्टालाई पनि चुनौती दिन्छ । कृतिले समालोचकहरूलाई आकर्षित गर्न नसक्नु र समालोचकहरूले पनि कतिपय कृतिको सामाना गर्न नसक्नु अहिलेको स्थिति हो । यो अवस्थाले साप्ताहिक र दैनिक पत्रिकाका टिप्पणीकार र गाइड लेखकहरू ‘चर्चित समीक्षक’ बन्ने र ‘तातो चर्चा’ का लागि समालोचकहरू वेबसाइटतिर बसाइँ सरेर हराउने खतरा हुन्छ । वेबसाइटमा साहित्यिक समाचार, पुस्तक समीक्ष्या र टिप्पणीहरूको चटकेपन देख्दा अचम्म मान्नुपर्ने हुन्छ । यसप्रति गम्भीर लेखन– चिन्तनका प्रक्षधरहरू गम्भीर बन्नैपर्ने हुन्छ ।
७. केही समय अघिदेखि नेपाली साहित्यमा उत्तरआधुनिकताबादको बहस चलिरहेको छ । एउटा कोणबाट यसलाई हेर्ने फरक दृष्टिकोणका साथ तपाईँ पनि नेतृत्व तहबाटै बहसमा सहभागी हुनुहुन्छ । अहिले नेपाली साहित्यमा उत्तरआधुनिकतावादको प्रभाव कस्तो रहेको पाउनुहुन्छ ?
केही समय होइन, यसलाई केही वर्षदेखि भन्नु सही होला । इन्द्रबहादुर राईको ‘लीला लेखन’ को सन्दर्भलाई छाडि दिने हो भने नेपाली साहित्यमा उत्तरआधुनिकतावादको प्रवेश र त्यसविरुद्धको वैचारिक सङ्घर्षको इतिहास २ दशकभन्दा पनि बढीको हुन्छ । समाजको विकासक्रमसँगसँगै विश्व साहित्यमा नयाँ वाद र समालोचनात्मक पद्धतिहरू देखापर्नु स्वाभाविक थियो । मार्क्सवादको विकाससँगसँगै यसका विरुद्ध थरीथरीका साहित्यिक सिद्धान्तहरू पनि देखापर्दै गए । वैज्ञानिक मान्यतामा आधारित भएकाले मार्क्सवादका विरुद्ध ल्याइएका समालोचनात्मक चिन्तनपद्धतिहरूले लामो अवधिसम्म प्रतिरोध गर्न सक्ने अवस्था रहेन । मार्क्सवाद निरन्तर विकसित र समृद्ध हुँदै अघि बढ्यो । तर अन्य विरोधी प्रवृत्तिका उत्तरआधुनिकतावाद तुलनात्मक रूपमा लामो अवधिसम्म टिक्यो । यसका पछाडि थुप्रै कारणहरू छन्, यसको विशेषताले भन्दा पनि विश्व कम्युनिस्ट आन्दोलनमा आएको गतिमन्दता र केही मात्रामा धक्काले पनि यसमा काम गरेको थियो ।
नेपालमा पनि मार्क्सवाद विरोधी अन्य साहित्य सिद्धान्त तथा समालोचनात्मक पद्धतिका तुलनामा उत्तरआधुनिकतावादले बढी समय ओगट्यो । विश्व साहित्यमा सन् ७० को अन्त्यतिर मूलतः ८० को दशकमा देखापरेको उत्तरआधुनकतावादी होहल्ला नेपालमा एक दशकपछि देखापर्यो । यसले तुरन्तै वैचारिक सङ्घर्षको सामना गर्नु नेपालको विशिष्ट पक्ष रह्यो ।
युरो–अमेरिकामा अब यो सन्दर्भविहीन बनिसक्यो । यसको चर्चा अब इतिहासको सन्दर्भमा हुनथालेको छ । फ्रान्सबाट उठान भएर अमेरिकाका राज्यास्रित बनेको ‘उत्तरवादी’ धारणा र उत्तरआधुनिकवादी चिन्तनका कतिपय पात्रहरू यसको सान्दर्भिकता समाप्त भयो भनेर ‘नवव्यवहारवाद’ लगायत आफूलाई व्यक्त गर्न नयाँनयाँ रूपको खोजीमा भौँतारिन थालेको पाइन्छ । जसले यसको पक्षमा बढीभन्दा बढी समय खर्चेका थिए, तिनीहरू नै उत्तरआधुनिकतावादको मिति सकिएको तर्क गर्न थालेका छन् । यस्तो अर्थनवर्थको सिद्धान्तमा आफूले लामो समय बिताएकोमा उनीहरू पश्चातापको स्थितिमा पुगेका छन् । उदाहरणका रूपमा प्राध्यापक इहाब हसनलाई लिन सकिन्छ । पाश्चात्य समालोचना, त्यसमा पनि उत्तरआधुनिकतावादका बारेमा राम्रो ज्ञान राख्नेहरूलाई थाहा भएकै कुरा हो उत्तरआधुनिकतावादका मूल प्रस्तावक जाँ फ्याङ्क ल्योतार्डको चर्चित भनाइ “महाख्यानको अन्त्य” ल्योतार्डको पहिलो दस्ताबेजमा होइन, उनले इहाब हसनलाई दिएको अन्तर्वार्तामा उल्लेख छ । ल्योतार्डको ‘ सरकारलाई बुझाएको ‘प्रतिवेदन’ उत्तरआधुनिकतावाद सम्बन्धी प्रस्तावना हो भने इहाब हसनसितको अन्तर्वार्ता यसको व्याख्या हो । कायरोमा जन्मेर अमेरिकाका समृद्धि प्राप्त गर्ने प्राध्यापक इहाब हसन उत्तरआधुनिकतावादका सबैभन्दा पहिला पक्षधर र प्रमुख प्रचारक हुन् । उनै इहाब हसनले सन् २००३ सम्म आइपुग्दा ‘बियोन्ड क्यापिटलिज्म : टुआर्डस् ऐन एस्थेटिक ट्रस्ट’ लेखमार्फत यसप्रति वाक्क भएर “आफूले त यसलाई मुस्किलले बुझेको अरूले कसरी बुझेहोलान्” भनेर लेखे । सन् २००९ सम्म आइपुग्दा यसप्रतिको उनको मोह वितृष्णामा फेरिएको पाइन्छ । अमेरिकी एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले व्यक्त गरेको भनाइ लामै भए पनि प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ :
म उत्तरआधुनिकताबाट दिक्क भइसकेको छु । मैले यसमा लामो समयसम्म काम गरेँ र एउटै काम दोहोर्याइ मात्र रहेँ र धेरैजसो लेखकहरू यही गरिरहेका छन् । युवा अवस्थामा यसका बारेमा अध्ययन गर्ने कुरा उत्साहप्रद नै थियो, होइन र ? तपाईँले उत्तरआधुनिकतावाद, उत्तर–आधुनिक सिद्धान्त र उत्तरआधुनिक कृतिहरूसित बिस वर्ष बिताउनु भएको छ भने पक्कै पनि तपाईँ केही नयाँ गर्न चाहनुहुन्छ ।
दोस्रो कुरा, उत्तरआधुनिकतावाद मान्छेहरूका लागि एकदमै सजिलो, यो केटाकटीको खेलजस्तो रमाइलो भएको छ । अझ मलाई भन्न मन लाग्छ, यो एउटा ख्यालठट्टाजस्तो भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने म सत्यप्रतिको धारणालाई पूर्णरूपमा परित्याग गर्ने स्थितिमा थिइन । मलाई लाग्छ सत्य एकदमै संश्लिष्ट छ, मलाई लाग्छ, सत्यबारे प्रस्ट विचार राख्नु, झूठ र सत्यका बीचको भेद छुट्याउन सक्नु एकदमै महत्वपूर्ण काम हो । सत्य र निष्ठाप्रति सही धारणा बनाउनु आवश्यक छ भन्ने मलाई लागेको छ । अमेरिकी दार्शनिक विलियम जेम्स मेरा लागि निकै महत्वपूर्ण भए, किनभने उनी व्यवहारवादका प्रवर्तक थिए । उनी कान्ट र हेगेलजस्ता थिएनन्, उनले सत्यका बारेमा विशेष त्यस्तो केही भनेनन्, तर उनलाई लाग्यो मान्छेले एकअर्कालाई विश्वास गर्नु, एकआपसमा सत्यको निर्माण गर्नु महत्वपूर्ण छ । त्यसैले म उत्तरआधुनिकतावादपछि यही दिशामा जान चाहन्छु ।
३० वर्षसम्म यसलाई काँधमा बोकेर हिँड्नु र पछि यो त कुहेको लास पो रहेछ भनेर फ्याल्नु एउटा गजबकै सन्दर्भ हो । हसनको भनाइ उत्तरआधुनिकतावाद भ्रम र होहल्लासिबाय केही थिएन र होइन भन्ने कुराको दरिलो प्रमाण हो । अब आएर उत्तरआधुनिकतावाद उत्तर बनेको भन्दै अमिल किर्बेहरूले ‘उत्तर–उत्तरआधुनिकतावाद’ (post-postmodernism) को नयाँ धारणा अघि सारेको कुरा पनि यहाँ स्मरणीय छ ।
विश्व साहित्यमा सन् ८० को दशकमा देखापरेको उत्तरआधुनकतावादी होहल्ला नेपालमा एक दशकपछि देखापर्यो । केही व्यक्तिहरू महादेवले सती देवीको लास बोकेर भौतारिझँ उत्तरआधुनिकतावादलाई बोकेर यता र उता भौँतारिए पनि । परन्तु एकातिर नेपाली समाजको विशिष्ठ स्थिति, खासगरेर वर्गसङ्घर्षको तीव्रता यसका लागि मलजल प्राप्त गर्ने अवस्थाको रहेन भने यसले मार्क्सवादी समालोचकहरूको वैचारिक प्रतिष्पर्धा र प्रतिरोधको सामना पनि गर्न सकेन । एक हिसाबले नेपाली समाजमा यो नेपालको बौद्धिक–सांस्कृतिक बहसको विषयका दृष्टिले असान्दर्भिक बनिसकेको छ । जानकारी लिने सम्बन्धमा पाठ्यक्रममा राखिए पनि यसको समाजविरोधी, यथार्थ र श्रमचेतना विरोधी तथा विखण्डन, विभाजन र शून्यवादी चिन्तनका कारण नेपाली समाज र साहित्यका लागि उत्तरआधुनिकतावाद आम रुचिको विषय रहेन । यो होहल्लामै आयो र गयो ।
अवश्य पनि हो, आजभन्दा बिस वर्ष पहिले २०५२ सालमै मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तक लेखेर मैले यस विरुद्धको वैचारिक अभियान चलाएको थिएँ । विस्तारै अरू साथीहरू पनि यस अभियानमा सामेल हुनुभयो । त्यतिबेर सन्दर्भ सामग्रीको पनि अभाव थियो । पछि मैले उपन्यासको सौन्दर्यशास्त्र (२०५६) उत्तरआधुनिकतावाद र समकालीन यथार्थ  (२०६३) र सूचनाभूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३) मा नेपाली सन्दर्भ पनि जोडेर यसको दार्शनिक, वैचारिक र सौन्दर्यशास्त्रीय चिरफार गरेको थिएँ । मैले प्रस्टताका साथ उत्तरआधुनिकतावादले शून्यवादको पक्षपोषण गर्छ र नेपाली समाजका लागि यसको कुनै सान्दर्भिकता छैन भनेर निष्कर्ष निकालेको थिएँ । समयक्रममा यो प्रमाणित भएको छ । अब यसको प्रभाव विश्वविद्यालयका मास्टरहरूको क्लासनोटमा मात्र सीमित छ । बरु अहिले मार्क्सवादका नाममा ‘उत्तर–मार्क्सवाद’ को राजनीतिक तथा व्यावहारिक अभ्यास जसरी हुनथालेको छ , यो खतरनाक प्रवृत्तिको छ । उत्तरआधुनिकतावाद मार्क्सवादको विरोधमा सोझै मुठभेडमा आएको थियो, ‘उत्तर–मार्क्सवाद’ वर्गीय प्रश्नलाई निषेध गर्दै ‘लालझण्डाको विरुद्ध लाल झण्डा’ को अवधारणाका साथ आएकाले सही अर्थका मार्क्सवादीहरू यसप्रति गम्भीर बन्नु आवश्यक छ ।
८. साहित्यमा स्तर भनेको के हो ? के के हुँदा साहित्य स्तरीय हुन्छ ?
स्तर भनेको सौन्दर्यमूल्यसित जोडिएको प्रश्न हो । यो देशकालसापेक्ष हुन्छ । यो समकालीनताबोधसित जोडिएको हुन्छ । लेखकीय सौन्दर्यचेतना र पाठकीय सौन्दयबोधात्मक क्षमताद्वारा नै स्तरीयताको निर्धारण हुन्छ । यथार्थको व्यापक आयाम र यसले निर्माण गर्ने कालजयीपनसित स्तरीयता गाँसिएको हुन्छ । एक कालखण्डको स्तरीयताको मापदण्डले अर्को कालखण्डमा काम नदिन पनि सक्छ । यथार्थतः कृतिको प्रभावको मात्रा र सौन्दर्यमूल्यको आयामको परिणाममा नै स्तरीयताको मापन हुन्छ ।
९.साहित्यमा विचार र कलाको संयोजनका सन्दर्भमा मार्क्सवादी साहित्यले विचारलाई प्रमुख मान्ने गरेको हो ? होइन भने कसरी ?
यो पनि हिजोका दिनदेखि नै उठाउने गरिएको र मार्क्सवादीहरूले प्रस्ट पार्दै आएको सन्दर्भ हो । खास कुरा के हो भने मार्क्सवादी लेखकहरूले रचनामा उठाएको वैचारिक पक्षको वैचारिक प्रतिरोध गर्न नसकेका कारण विरोधीहरूबाट यस किसिमको आरोप लाग्दैआएको कुरामा हामी प्रस्ट हुनु आवश्यक छ । यसको प्रतिवाद र प्रतिरोध गर्न उनीहरूसित वैज्ञानिक विचार पनि छैन र जनमत पनि छैन । मार्क्सवादी लेखनप्रतिको उनीहरूको असहिँष्णुता यसैको परिणाम हो । कतिपय सन्दर्भमा वैचारिक पक्षमाथि बढी जोड दिँदा र रचाकौशलतामा पर्याप्त ध्यान नपुर्याउंदा रचनाको सम्प्रेषणीयता प्रभावकारी हुन नसकेको हुनसक्छ । यसलाई सार्वभौम रूपमा लिन मिल्दैन । मार्क्सवादी लेखन विचार र कलाको क्षेत्रमा कति प्रभावशाली र प्रभावकारी छ भन्ने कुरा विश्व साहित्य र नेपाली साहित्यका कविता र आख्यानले प्रस्ट पारिसकेका छन् । त्यसैले यो बासी भइसकेको सन्दर्भ हो ।
त्यसैगरी हामी पनि यसमा केही भ्रममा रहेका छौँ । के कुरा सही हो भने हरेक रचनाको प्रमुख पक्ष त्यसमा निहित वैचारिक पक्ष नै हुन्छ, जसलाई हामी सारतत्व भनेर बढी चर्चा गर्ने गछौँ । सारतत्वबिनाको रूप हुँदैन । सारतत्वको सम्बन्ध त्यसले छोड्ने वैचारिक प्रभावसित हुन्छ । यो हाम्रा लागि पनि र विरोधीहरूका लागि पनि सही हो । प्रश्न, विचार रचनामा कसरी आउँछ भन्ने मात्र हो । मार्क्सवादका विरोधीहरू पनि आफ्नो चिन्तनलाई कसरी प्रभावशाली रूपमा प्रस्तुत गर्ने भन्नेमा हुन्छन, यसका लागि उनीहरू संरचनागत तडकभडक पनि गर्छन् । उनीहरूको गलत विचार जति प्रभावकारी कौशलताका साथ प्रस्तुत हुन्छ, त्यति हाम्रा लागि हानिकारक हुन्छ । यस अर्थमा विचारलाई महत्व दिने कुरा मार्क्सवादीहरूले मात्र गर्छन् भने कुरा सही होइन । धेरै उदाहरण नखोजेर जर्ज अर्वेलको लेखनलाई लिँदा मात्र पनि यो कुरा प्रस्ट हुन्छ । सिकारु लेखकको कुरा मात्र नभएर शिल्पकौशलतामा पर्याप्त ध्यान नपुर्याउंदा अनुभवी लेखकको लेखनमा पनि सम्प्रेषण पक्ष कमजोर भएको हुनसक्छ । तर सैद्धान्तिक तहमै मार्क्सवादीहरूले लेखनमा विचारलाई निरपेक्ष रूपमा महत्व दिन्छन् भन्ने कुरा गलत हो । हामीले हाम्रा रचनालाई जति प्रभावकारी बनाउँछौँ, उति विरोधीहरूलागि यो नारावादी लाग्छ । किनभने यसले उनीहरूलाई झन् बढी पोल्छ । कविताको क्षेत्रमा बिम्ब नै बनेका पारिजातको ‘मृत्यु’, कृष्ण सेन ‘इच्छुक’ को ‘बन्दी र चन्द्रागिरी’ अनि पूर्ण विरामको कालजयी कविता ‘नेपालको गुम्फित स्वर” मार्क्सवादका विरोधीहरूका लागि घोर नारावादी लाग्नसक्छ । तर ‘नेपालको गुम्फित स्वर” जस्तो प्रभावकारी कविता कमै मात्र लेखिन्छ ।
१० रूप र सारका सन्दर्भमा के भन्नुहुन्छ ? सार पक्ष नै बलियो हुँदा रचना राम्रो हुने हो ?
यसबारे केही कुरा माथि नै आइसकेका छन् । यो कुरा सत्य हो सार पक्ष नै हरेक रचनाको प्रधान पक्ष हो, तर यो निरपेक्षतामा हुनुहुँदैन । उच्च विचार जति प्रभावकारी शिल्पकौशलताले भरिएको हुन्छ, रचनाको सम्प्रेक्षण पक्ष पनि त्यति नै सुन्दर हुन्छ । सारजस्तै रूप पनि समग्रतामै अभिव्यक्त हुन्छ । मार्क्सवादीहरूले विचारलाई महत्व दिन्छन्, सार र रूपमा मेल खोज्छन् भनेको सार र रूपको ५०/५० को मेल भनेको होइन, न त यो ६०/४० को संयोजन नै भनेको हो । यी दुई अलग पनि हुन् र अन्तरसम्बन्धित पनि । रचना त समग्रतामा मूर्तिकृत हुन्छ । रूपको जस्तै विचारको पनि संरचना हुन्छ । रूप निर्माणमा शिल्पकौशलता, शैली विविधता र प्रयोगशीलताको मिस्रण गर्न सकिन्छ र विचार संरचनालाई प्रभावकारी बनाउन यसो गर्नु आवश्यक पनि हुन्छ । जुनसुकै विचारको किन नहोस्, हरेक रचनाले के र कसरी भन्नेमा आफूलाई विभाजित गर्छ । कृतिको प्रभावकारितामा लेखकको विश्वदृष्टिकोण, विषयवस्तुको अन्वेषण, सामग्रीप्रति उसको सम्बन्धको गहिराइ र शिल्पकौशलताको अहम् भूमिका रहन्छ ।
११. आख्यान साहित्यमा तपाईं आफूलाई अरूभन्दा कहाँ र कसरी फरक पाउनुहुन्छ ?
म आख्यान साहित्यमा आफूलाई अरूभन्दा कहाँ र कसरी फरक छु भनेर आफैंले भन्नुभन्दा पाठक र समालोचकहरूले भन्नु राम्रो हुन्छ । कथा संग्रह गाउँको कथा भन्छु है त को सन्दर्भमा एकपल्ट पारिजात दिदीले भन्नुभएको : “तपाईँका कथा पढ्दैजाँदा पहिले द्रवित भइन्छ, अनि विद्रोह जाग्छ” भन्ने भनाइ स्मरणीय छ र मेरा पछिल्ला कथाहरूलाई डा. दयाराम श्रेष्ठले भन्नुभएको “ऋषिराज बराल द्वन्द्वका लोकगायक हुन्” भन्ने भनाइ पनि ध्यान दिनलायक छ । सत्य हो, म अरूभन्दा अलि फरक देखिन चाहन्छु । म आफ्नो परिचय आफैँ निर्माण गर्न चाहन्छु । म विषयपवस्तुको अन्वेषणमा ध्यान दिन्छु र अनुभूत यथार्थमा जोड दिन्छु । मार्क्सवादीहरूले प्रयोगका लागि प्रयोग गर्नु हुँदैन र प्रयोगवादमा फस्नु हुँदैन, तर नवीन शिल्प प्रविधि र प्रयोगशीलता अँगाल्नुपर्छ । नेपाली उत्पीडित जनताले आफ्नो मुक्तिका लागि लडेको लडाइँसित सम्बद्ध यथार्थका नवीनवीन पाटा र पक्षलाई कसरी बढी प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने मेरो ध्याउन्ना हुन्छ । यसका लागि शैली विविधता र शिल्पकौशलताको पनि आवश्यकता पर्छ भन्नेतर्फ पनि म सोच्तछु । सायद, यही नै अरूभन्दा मलाई फरक तुल्याउने पक्ष होला भन्ने लाग्छ ।
१२.आफ्नो साहित्यिक यात्रालाई आफैंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
क्रान्तिकारी विचार राखेर वैचारिक सङ्घर्षमा लाग्ने आम लेखकभन्दा फरक छैन मेरो साहित्यिक यात्रा । विरोधीहरूसित मात्र नभएर आफ्नै कित्तासित पनि समयसमयमा लडाइँ लड्नु परेकाले यो यात्राले मलाई अनुभवका दृष्टिले समृद्ध बनाएको छ र वैचारिक पक्षमा दृढ । एउटा कुरा म प्रस्टताका साथ भन्छु : मेरो आदर्श लेखक गोर्की भन्दा अस्त्रोवस्की हुन् । मैले उनीबाट धेरै ऊर्जा र उत्प्रेरणा पाएको छु । विरोधीहरूसित भन्दा ‘आफन्तहरू’ सित लड्ने कुरा निकै पेचिलो, जटिल र कतिपय सन्दर्भमा पीडादायी पनि हुँदो रहेछ । यसले मलाई इस्पातिलो बनाएको छ । यसले मलाई आत्मसङ्घर्षका लागि ऊर्जा पनि दिएको छ । जस्तोसुकै आँधीहुरी चले पनि सतिसाल मात्र ठिङ्ग उभिन सक्छ । यथार्थ यही नै हो ।
१३.हिजोको द्वन्द्वयुक्त समयलाई अहिलेको परिस्थितिबाट कसरी स्मरण गर्नुहुन्छ ?
हिजोको द्वन्द्व भनेर तपाईँले दसबर्से जनयुद्धलाई भन्नुभएको होला भन्ने लाग्छ । त्यो द्वन्द्व मात्र थिएन । त्यो महान् जनयुद्ध थियो । आफ्नो मुक्तिका लागि नेपाली जनताले लडेको महान् लडाइँ थियो त्यो । त्यसलाई सीमितीकरण र न्यूनीकरण गर्नुहुँदैन । समाजमा वर्गविभेद र आर्थिक–राजनीतिक अन्तर्विरोध रहुन्जेल तपाईँले भन्नुभएको द्वन्द्व रहिरहन्छ । द्वन्द्व मान्छेभित्र पनि हुन्छ, समाजभित्र पनि । त्यो कहिले कुन रूपमा देखिन्छ र कहिले कुन रूपमा । दसबर्से जनयुद्ध सामान्य द्वन्द्व मात्र थिएन, त्यो त्याग, वलिदान र सौर्यको एउटा महागाथा थियो । त्यसको मूल्य त सबै कुरा छाडेर त्यसमा होमिनेलाई मात्र थाहा हुन्छ । त्यस महाअभियानको सिपाही हुनपाउँदा आफूलाई गर्विलो महसुस गर्छु । यो अहिले पनि भिन्न स्वरूप र चरित्रका साथ निरन्तरतामा छ र म यसको सिपाहीका रूपमा निरन्तर क्रियाशील छु र भइरहनने छु भन्ने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । साथै अहिले ती प्राप्तिहरूको जसरी विसर्जन गरियो र त्यसका कतिपय नायकहरूमा जेजस्तो विचलन देखियो, यसले मलाईे पीडा पनि दिन्छ । तर म मार्क्सवादी हुँ, अँध्यारोभित्र पनि उज्यालो देख्ने । त्यसैले म क्रान्तिकारी आशावादका साथ युद्धमोर्चामै छु ।
१४. तपाईं आफ्नो लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
यसको उत्तर प्रश्न नं.२ मा आइसकेको छ । मैले कविता, कथा, समालोचना लेखेँ र अहिले निबन्ध पनि लेखिरहेको छु । तर म आख्यानकार र समालोचकका रूपमा नै बढी परिचित छु । समालोचक भन्दा आफूलाई आख्यानकार भनेर सम्बोधन गरेको मन पर्छ । पछिल्लो समयमा माओवादी राजनीतिभित्रको जोडघटाउमा बढी समय खर्चिएकाले आख्यान लेखनका लागि मैले जति समय दिनुपर्दथ्यो, खासगरेर उपन्यास लेखनका लागि जति क्रियाशीलता देखाउनुपर्दथ्यो, त्यो हुनसकेको छैन । जे लेखेको छु, त्यसप्रति सन्तुष्ट छु, तर जति लेख्नुपर्ने थियो, जे लेख्नुपर्ने थियो, त्यसो गर्न नसकेकोमा चाहिँ सन्तुष्ट छैन ।
१५.आफू कुन क्षेत्रमा कमजोर भएको जस्तो लाग्छ ?
आम मान्छेमा देखिने मानवीय कमजोरी मभित्र पनि छन्/ होलान् । तर आफ्नै विशेषताका साथ परिचित हुन मन गर्ने, परैबाट चिनिन चाहने एउटा भिन्नै मान्छे पनि छ मभित्र । यो बाहिरबाट देखिने ‘म’ भन्दा बलियो छ । मार्क्सवादी स्रष्टा र विचारको लडाइँको एउटा सिपाहीका नाताले ममा मूलतः तीनओटा कमजोरी छन् : १. गलत विचारसित सम्झौता नगर्नु, २. सदैव आदर्शमा सोच्नु र ३. गलत (फरक पनि ) विचार राख्नेहरूप्रति असहिँष्णु बन्नु । निचोडमा भन्दा आक्रामकता नै मेरो ‘कमजोर’ पक्ष हो ।
१६. साहित्यमा अझ गर्न बाँकी योजनाहरू कति छन् ?
छन्, थुप्रै छन् । योजनाहरू सकिएपछि त जीवन पनि सकिन्छ । त्यसपछि त सिर्जनशीलता पनि सकिन्छ । यसै होइन र ?
१७. साहित्यमा नवीनताको प्रयोग आवश्यक छ कि छैन ?
छ । तर यो प्रयोग केका लागि भन्ने कुरामा चाहिँ प्रस्ट हुनुपर्छ । समय र देशकाल परिस्थितिअनुसार सौन्दर्य आवश्यकता र चाहना र सौन्दर्य रूचिमा पनि फेरबदल हुन्छ र समयले नवीनताको माग गर्छ । विरोधीहरू पुराना र बासी माललाई जलप लगाएर नयाँ हुनुको भ्रम दिन्छन् । चालु ट्रेडमार्क र लोगोको प्रयोग गरेर बजारको बिकाउ माल बनाएर उनीहरू पाठकहरूलाई ठग्ने गर्दछन् । यथार्थतः उनीहरू चटक देखाइरहेका हुन्छन् । हामीले सही अर्थमै नयाँको अन्वेषण गर्नुपर्छ र नवीनताको प्रयोग गर्नुपर्छ । र पनि यो प्रयोग अन्तर्वस्तुको प्रभावकारीताका लागि हुनुपर्छ । यो प्रयोग सम्प्रेषण पक्षको वाधक बन्नु हुँदैन । खास कुरा के हो भने मार्क्सवादजस्तो प्रगतिको सम्बाहक र सिर्जनशीलता र अन्वेषणका पक्षधरहरूले स्टेरियो टाइपको लेखनमा अडिने कुरै हुँदैन । हामी विचारमा मात्र होइन, शिल्पकौशलतामा पनि अब्बल दर्जाका छौँ भनेर देखाउनुपर्ने हुन्छ । जहाँसम्म मेरो कुरा छ म विचारको केन्द्रीयतामा नवीव प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ भन्छु । उदाहरण रूपमा म मेरो कथा ‘बर्की नम्बर १३९९९’ लाई लिन चाहन्छु ।
१८. तपाईंको विचारमा कथा के हो ?
कथाका सन्दर्भमा म लक्ष्मीप्रसाद देवकोटाको भनाइसित सहमत छु । कथा जीवनको खास घटनाविशेषसित सम्बद्ध यथार्थको कलात्मक प्रतिबिम्बन हो ।
१९. तपाईं कथा र उपन्यास दुवै क्षेत्रमा सिद्धहस्त साहित्यकार हुनुहुन्छ । तपाईंको प्राथमिकता कथा कि उपन्यास हो ?
दुवै हुन् । मानव जीवन र सङ्घर्षको अभिव्यक्तिका दृष्टिले उपन्यास निकै प्रभावकारी विधा भएकाले मेरो लेखनमा यो प्राथमिकतामा नपर्ने कुरा भएन । तर अहिलेसम्मको स्थिति हेर्दा मेरो प्राथमिकतामा कथा परेकोजस्तो देखिन्छ ।
२०.तपाईंलाई सबैभन्दा मन पर्ने आफ्नो कृति कुन हो ?
यो बडो अप्ठयारो प्रश्न हो । यो प्रश्नलाई सरल बनाउन तपार्इंको प्रश्नलाई यसरी परिमार्जित गर्नु आवश्यक ठान्छु : “तपाईंलाई सबैभन्दा मन पर्ने आफ्नो पछिल्लो रचना कुन हो ?
मलाई मेरो पछिल्लो कथासङ्ग्रह बर्की नम्बर १३९९९ मा सङ्ग्रहित कथा ‘अलबम’ यता लेखेका रचनाहरूमध्ये सबैभन्दा मन पर्ने रचना हो ।
२१. अन्त्यमा ?
अहिले चारैतिर खोटा मोहरहरू र चटकेहरूको विगविगी छ । मार्क्सले डेढसय बर्षअघि भन्नुभएझैँ लेखन र लेखक सबै बजारका माल बन्नथालेका छन् । उपभोक्तावाद हाबी छ । कृतिको गुणबत्ता बजारशास्त्रबाट निर्धारित हुनथालेको छ र गम्भीर लेखनले थरीथरीका चुनौतीको सामना गर्नुपरेको छ । यस किसिमको स्थितिमा आन्तरिक तथा बाह्य सबै किसिमका विकृति र विचलनका विरुद्ध लड्न सामूहिकता र योजनाबद्धताको आवश्यकता छ र यो काम क्रान्तिकारी मार्क्सवादको जगमा उभिएर मात्र सम्पन्न गर्न सकिन्छ । यसप्रति गम्भीर हुन म राष्ट्रिय स्वाधीनता र उत्पीडित वर्गको पक्षमा कलम चलाइरहेका स्रष्टा तथा समालोचकहरूलाई अनुरोध गर्दछु ।
(समकालीन साहित्य पूर्णाङ्क ७३, २०७२ )
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.