मान्य छैन ‘विप्लववाद’

Baral NPऋषिराज बराल
अहिले नेपाल कम्युनिस्ट पार्टी–माओवादीसित गाँसिएर थरीथरीका समाचारहरू प्रकाशमा आएका छन् । खासगरेर काठमाडौँ उपत्यकामा लेखिएका ‘नयाँ जनवादी क्रान्ति : जिन्दाबाद’ का नाराहरूलाई लिएर थरीथरीका अडकलबाजीहरू गरिएका छन् । मालेमा मान्नेहरूका लागि नयाँ जनवादी क्रान्ति आधारभूत पक्ष हो । यो नेपाली क्रान्तिका लागि न्यूनतम कार्यक्रमका रूपमा निर्धारित गरिएको लक्ष्य हो । यसलाई लिएर होहल्ला गर्नु तथा अनेक वितण्डा मच्चाउनुको अर्थ छैन । एक थरी नेताहरूले नयाँ जनवादी क्रान्ति बिर्सेर ‘गोलमेच सम्मेलन’ र ‘राष्ट्रिय सहमति’ का नारा फलाक्न र राग अलाप्न नछाडेकाले अब त्यो समय र सन्दर्भ सकिएकाले नयाँ किसिमले जानुपर्छ भन्ने कुराको ध्यानाकर्षण गर्नका लागि पनि यस किसिमको नारालार्ई व्यापक बनाउनु आवश्यक भएको हो ।मार्क्सवाद–लेनिनवाद–माओवाद मान्नेहरूका लागि यो साझा नारा हो । यो पुष्पलालको समयदेखि लाग्दैआएको नारा हो । यसलाई नेकपा–माओवादीभित्र चलेको दुई लाइन सङ्घर्षसित जोडेर उत्तेजना फैलाउनुको कुनै अर्थ छैन । ‘नयाँ जनवादी क्रान्ति’ कै कुरा गर्ने हो भने यो विप्लव कमरेडको दस्ताबेजमा कम महत्व पाएको नारा र सन्दर्भ हो । किनभने विप्लव कमरेडको क्रान्तिको दिशा ‘नयाँ जनवादी क्रान्ति’ नभएर ‘एकीकृत क्रान्ति’ हो । ‘नयाँ जनवादी क्रान्ति’ को दिशासित खास देशको विशिष्टतामा माओवादी जनयुद्धको कार्यदिशा जोडिएको हुन्छ । कमरेड विप्लवले जनयुद्ध होइन, ‘एकीकृत क्रान्तिको सिद्धान्त’ लाई कार्यदिशा बनाएर नेपाली क्रान्ति सम्पन्न गर्ने कुरा गर्नुभएको छ । यस अर्थमा यो नारालाई विप्लवसित जोडेर उत्तेजित हुनुपर्ने आवश्यकता देखिँदैन ।

 
नेपाल कम्युनिस्ट पार्टी–माओवादीको राष्ट्रिय सम्मेलन गर्ने सन्दर्भमा दुईओटा दस्ताबेज कार्यकर्तामाझ आए र ती हराए पनि । सन्दर्भ सामग्रीका रूपमा ती दस्ताबेजहरूको महत्व रहे पनि अब यी दुवै दस्ताबेजको सान्दर्भिकता समाप्त भइसकेको छ । अहिले पार्टी एउटै भए पनि व्यवहार अलग भइसकेको छ–अंशबन्डा भएझैँ । मेरो अनुभव र अध्ययनमा यो सबै भताभुङ्ग पार्ने काम अध्यक्ष र महासचिबबाटै भएको हो, त्यसमा पनि महासचिबबाट भएको हो । अब यहाँ जनवादी केन्द्रीयता र अनुशासनको कुनै अर्थ छैन । तर पनि पार्टीले क्रान्तिकारी कार्यदिशा तय गरोस् र यसको नेतृत्व किरण र विप्लवले समालून् भन्ने एउटा तप्का नेकपा–माओवादीभित्र छ भन्ने कुरालाई हामीले बिर्सनुहुन्न ।

 
यो चाहनले मात्र हुने कुरा होइन । नेकपा–माओवादीभित्र सरसरती हेर्दा दुईटा गुट छन्, तर त्यहाँ पनि थुप्रै थुम्काथुम्कीहरू छन् । त्यहाँ महासचिववरिपरि रमाएको एउटा खाओवादी गुट छ र अर्को कमरेड किरणको वरिपरि रहेको काम केही नगर्ने तर, सधैँ गनगन मात्र गरिरहने गुट छ । किरण कमरेड यही खाओवादी र गनगने गुटको घेराबन्दीमा हुनुहुन्छ । बादलजस्तो अवसरवादीलाई च्यापेका कारण किरणलाई असाध्यै मान्ने र आदर गर्ने पुराना कमरेडहरूलगायत नयाँ पुस्ता र बौद्धिक–सांस्कृतिक क्षेत्रको विश्वास र श्रद्धा उहाँले गुमाउनु भएको छ । विगतका दिनदेखि नै पार्टीमा आदर र श्रद्धाका पात्र बन्नुभएको किरण कमरेडको अवस्था असाध्यै निरीह देख्छु म । यता विप्लव समूहमा अब किरण–बादलबाट क्रान्ति सम्पन्न हुनसक्तैन, नयाँ किसिमले जानुपर्छ भन्ने कुरामा एकमत भए पनि किरण र विप्लवसँगै जान सके अच्छा हुन्थ्यो भन्ने आशा पालेका कमरेडहरू पनि छन् । तर पनि किरण कमरेडको दोहोरो भूमिका, अकर्मण्यता, निर्णय गर्नसक्ने र नेतृत्व दिनसक्ने क्षमताको अभाव र परजीवी प्रवृत्तिका कारण उहाँप्रति विश्वास हराउँदै गएको स्थिति छ । विप्लव समूहमा अब नयाँ किसिमले जो जो जान सहमत हुन्छन्, जानुपर्छ, नत्र विसर्जन होइन्छ र सखाप होइन्छ भनेर क्रान्तिप्रति चिन्ता गर्नेहरूको सङ्ख्या धेरै छ । यसरी हेर्दा वैचारिक तथा सङ्ख्यात्मक दुवै दृष्टिले ऊर्जावान गुणत्मक शक्ति विप्लवसित नै छ । यो अहिलेको यथार्थ हो । कतिपय सन्दर्भमा अस्पष्टता रहे पनि अब केही हुन्छ भने विप्लवबाटै हुन्छ भन्ने विश्वास कार्यकर्तामा छ । क्रान्तिप्रति आस्था र विश्वास जगाई क्रान्तिकारी आशावादको सञ्चार गराउन सक्नु र त्यागका साथै जुनसुकै चुनौतीका लागि पनि तमतयार हुनु कमरेड विप्लवको विशेषता हो । यसै अर्थमा कमरेड किरणपछि पात्रगत चयनका दृष्टिले सबैको ध्यान विप्लवतिर गएको हो ।

 
यति हुँदाहुँदै पनि प्रधान पक्ष कार्यदिशाको किटान र कार्यान्वयन हो । किरण कमरेडको दस्ताबेज ‘जनयुद्धको जगमा जनविद्रोह’ बाट ओरालो लागेर “मूलतः जनविद्रोह” मा टुङ्गिएको छ । यो भनेको सातौँ राष्ट्रिय महाधिवेशनमा तय गरिएको कार्यदिशाभन्दा निकै पर पुगेको स्थिति हो । किरण कमरेडको “मूलतः जनविद्रोह” को कार्यदिशा विद्रोहको कुरा गर्ने, तर कहिल्यै विद्रोह नहुने र नगर्ने मान्यतामा आधारित छ । यसको स्पिरिट र झुकाव भनेको प्रचण्डसित एकता गरेर चुनावमा जाने नै हो । आफूले गद्दार घोषणा गरिसकेको र ‘नयाँ जनवादी क्रान्ति’ त्यागिसकेको प्रचण्ड–बाबुराम गुटसित किरण कमरेडहरूले एकताएकता भनेर रोइकराइ गर्नु भनेको आन्दोलनबाट पलायन हुनु हो । यो दस्ताबेजपछि किरण कमरेडको उँचाइ बाउन्ने बनेको छ र आम कार्यकर्तामा उहाँप्रतिको आस्था र विश्वास स्वात्तै घटेको छ । अलिकति पनि इच्छाशक्ति नभएको र कार्यकर्तामा क्रान्तिकारी आशावाद जगाउन नसक्ने निरीह पात्रका रूपमा उहाँको विम्ब निर्मित भएको छ । किरण कमरेडको व्यवहारमा मध्यपन्थी अवसरवादको गन्ध आउँछ र दस्ताबेजले दक्षिणपन्थी विसर्जनवादको पक्षपोषण गर्छ । तितो भए पनि सत्य यही हो । किरण कमरेडकै स्थिति त्यस्तो भएपछि अरू खाओवादीहरूको चर्चा गर्नुको कुनै अर्थ छैन । यस अर्थमा मैले किरण कमरेडको दस्ताबेजलाई सोझै खारेज गरिदिएको छु ।

 
दस्ताबेजको मात्रै कुरा गर्दा विप्लव कमरेडको दस्ताबेज पनि विरोधाभासपूर्ण छ । सरसरती हेर्दा यो दस्ताबेज क्रान्तिकारी स्पिरिटमा आधारित जस्तो लाग्छ । यसमा सेना र सत्ताको कुरा पनि उठाइएको छ । तर सूक्ष्म र मिहिन पाराले हेर्दा यो अमुर्त र सारसङ्ग्रहवादी छ । यसले ‘नयाँ जनवादी क्रान्ति’ होइन, ‘एकीकृत क्रान्ति’ को कुरा गरेको छ । कार्यदिशाका रूपमा होइन, पेटबोलीमा जनयुद्धको कुरा आएको छ र त्यो पनि माओले परिभाषित गरेजस्तो नभएर “जनताको युद्ध जनयुद्ध” को अर्थ र सन्दर्भमा आएको छ । सेना निर्माण र सत्ताको कुरा आए पनि ‘दीर्घकालीन जनयुद्ध’, आधारइलाका, छापामार युद्ध र यससित सम्बद्ध विविध पक्षको चर्चा दस्ताबेजमा छैन । समग्र अध्ययनपछि विप्लव कमरेडले औँल्याएको कार्यदिशाले नयाँ जनवादी क्रान्ति र माओले देखाएको जनयुद्धको बाटोलाई पछ्याएको छैन भनेर निष्कर्ष निकाल्न सकिन्छ । यो माओको नयाँ जनवादी क्रान्ति भन्दा फरक हो भनेर देखाउन यसलाई उहाँले ‘एकीकृत क्रान्तिको सिद्धान्त’ भन्नुभएको पनि छ । ‘घुमन्तु विद्रोही’ चरित्रको र चेको फोकोवादी सैन्य नीतिको परिकल्पना उहाँले गरेको देखिन्छ । विप्लव कमरेडको कार्यदिशालाई मैले यसरी बुझेको छु : “नियमित सेनाको आधारमा मध्यम वर्ग (खासगरेर सहरी मध्यमवर्ग) लाई समेटेर गरिने सहरी विद्रोह” । यही नै विप्लव कमरेडको ‘एकीकृत क्रान्तिको सिद्धान्त’ हो । किरण कमरेडले सेना निर्माणबिनाको विद्रोहको कुरा गर्नुभएको छ भने विप्लव कमरेडले सेनासहितको । नेपाली क्रान्तिको कार्यदिशा तय गर्दा विप्लव कमरेडले चेग्वेवाराबाट मात्र नभएर, ‘नयाँ जनवादी क्रान्ति’ को चिन्तनलाई छाडेर ‘नेस्नल डेमोक्रेटिक रिभोलुसन’ को बाटो समातेका टर्कीका चेवादी “युवा बौद्धिक नेता” का रूपमा चर्चित महिर चायनले अघि सारेको र त्यहाँ असफल भएको ‘कम्बाइन्ड रिभोलुस्नरी वारफेयर’ को सैन्य नीतिलाई पनि आधार बनाएको देखिन्छ, जसलाई टर्कीका माओवादी नेता कापाक्या लगाएत विश्वका माओवादीहरूले “ फोकोवादी निम्पुँजीवादी प्रवृत्ति” भनेर किटान गरेका छन् । भोलि परिमार्जित भएर दस्ताबेज कसरी आउला अथवा आएका प्रतिक्रयाहरूलाई विप्लव कमरेडले कसरी संश्लेषण गर्नुहुन्छ, त्यो पछि नै थाहा होला । यो दस्ताबेजका आधारमा चाहिँ विप्लव कमरेडले माओले देखाएको जनयुद्धको बाटो र ‘नयाँ जनवादी क्रान्ति’ लाई छोडेको बोध हुन्छ ।

 
विप्लव कमरेडको सैन्य नीतिले ‘घुमन्तु विद्रोही’ को सम्झना गराउँछ । साथै यसमा माओले भनेर्झै ‘विप्लववाद’( putschism) तिर विचलित हुने खतरा र दक्षिणपन्थी विसर्जनवादमा पतन हुने सम्भावना पनि त्यत्तिकै प्रबल छ । सरसरती अध्ययन गर्दा विप्लवको दस्ताबेजका ७ ओटा कुराप्रति मेरो ध्यानाकर्षण भएको छ : १. नेपाली समाजको विश्लेषण, २. अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी बुझाइमा रहेको त्रुटी, ३. इतिहासको मूल्याङकनमा अस्पस्टता, ४. प्रधान र गौणबीचका अन्तरमा रहेको अन्योल, ५. मध्यम वर्गप्रति जोड, ६. भारतीय विस्तारवादप्रति नरमपन र ७. एकीकृत क्रान्तिको सिद्धान्तको अस्पष्टता ।

 
नेकपा–माओवादीले विशेष अधिवेशनको मिति तोकेको छैन । त्यसो त महाधिवेशन हुने सम्भावना शून्य छ । त्यसैले क्रान्तिका लागि नयाँ निर्णयमा पुग्नुको विकल्प छैन । किरण कमरेडको दस्ताबेजलाई मैले खारेज गरिसकेको छु । विप्लव कमरेडको प्रस्तुत गर्नुभएको कार्यदिशाले ‘विप्लववाद’ मा फसाउने खतरा रहे पनि सो दस्ताबेजमा सच्याउन सकिने आधार र भर्न सकिने केही खाली ठाउँहरू छन् भन्ने मैले महसुस गरेको छु । यसो नभएमा चाहिँ नेपाली नयाँ जनवादी क्रान्तिका लागि अर्को दस्ताबेज इतिहासको अनिवार्य परिणाम हो भन्ने निष्कर्षमा पुग्नु उचित हुन्छ ।
०००

You can leave a response, or trackback from your own site.

4 Responses to “मान्य छैन ‘विप्लववाद’”

  1. gokul karki says:

    समस्या त सबैले देखाएकै कुरा हो,,,,,समाधान आजको आवश्यकता ,,,,, क्रान्तिप्रति निष्ठा बोक्नेहरुले पार्टीभित्रबाट मात्र हैन बाहिर रहेका हरुलाई पनि समेट्न सक्ने बाताबरण सुझाउन अपरिहार्य छ / दश बर्षे कठिन जनयुद्दको नेतृत्व गर्ने नेताहरुलाई धेरै आरोप थोपर्नु पनि उचित हैन / शान्तिको पक्षमा झुकेको देखाउनु पनि समयको एउटा आवश्यकता थियो / अब बिश्व समाजलाई जवाफ दिन सकिने गरेर एमाओबादीले लचकता देखाईसकेको छ / जुन लचकताले भविष्यमा क्रान्तिकै लागि काम गर्नेछ / त्यो लचकताले क्रान्तिकारिहरुप्रति बिश्वजनमत आर्जन गर्न सघाउ पुर्याउनेछ / जुन मत हतियार भन्दा बलशाली हुन्छ /

    जब संसदबादीहरुले पेले, प्रचण्ड लगायतका नेताहरु पनि बर्तमानमा उद्द्वेलित अवस्थामा रहेका छन् / सम्भवत: उहांहरु पनि नयाँबाटोकै रेखातिर मोडिन सक्नेछन् / यो अवस्थामा शक्तिलाई एकिकृत गराउन तर्फ लाग्ने कि नयाँ पार्टी खोलेर नयाँ पार्टीको अध्यक्ष बन्ने मोहपासोमा फस्ने, विप्लब कमरेडले मनन गर्नुपर्नेछ / पार्टी एकिकृत भएर शक्तिशाली बन्ने सम्भावनाको घडीमै उल्टै आफ्नै पार्टीभित्र थप बिग्रह रच्नु भनेको शंकास्पद गतिबिधि हो भन्ने मेरो ठहर छ / कमसेकम यो टुट फुटको कुरा माग-८ भन्दा अगाडी सुन्न नपरेको भए कति जाति हुने थियो ,,,,, त्यसपछिका दिनमा अग्रगामी शक्ति स्वत केन्द्रिकृत भै हाल्थे / को क्रान्तिकारी-को अवसरबादी हामीले प्रष्टै संग चिन्न सकिहाल्थ्यौ / यो भानि शंका गरेर टाउको दुखाउन आवश्यकता नै छैन / ब्यबहारबाट देखिंदै जाने कुराको लागि,,,,,

  2. Divash Sharma says:

    म यहाँ माक्र्सवादका सिद्धान्तहरु र तिनीहरुका भाष्यहरुमा प्रवेश गर्दिन किनभने यो सानो टिप्पणीमा त्यो काम सर्वथा असम्भव छ । त्यसैले, संछेपमा केही कुरा राख्ने अनुमति माग्छु ।

    १. अकर्ममन्यता, निष्कृयता र द्विविधाहरुको अनन्त श्रृंखलालाई तोड्ने काम आरम्भ गर्नु पर्नेनै थियो । अहिले विप्लव लगायत जो यो काममा लाग्नु भएको छ, त्यो अनुचित होइन ।

    २. नेपाली समाजको आधारभूत चरित्र अव निरन्तर एवं तिव्र संक्रमणवाट फेरिदै छ र यो यसैले, विवादित छ । आज यो अर्ध–सामान्ती भन्दा अर्ध–पुँजीवादी बढी लाग्छ । सामन्तवाद उपस्थित रहेका तर पुँजीवादी सामाजिक प्रवन्धहरु निर्णयक हुदै गएको समाजमा हामी छौ ।

    ३. समाजको बदलिदो चरित्र अनुरुपनै वाजको क्रान्ति दीर्घकालीन जनयुद्ध र शहरी विद्रोहका अनन्त परिघटनाहरुको संयोजनवाट सम्पन्न हुनेछ । कुन प्रकृतिको कति भूमिका रहने छ भन्ने कुरा अहिले किटान गर्न न सम्भव छ, न आवश्यक नै ।

    ४. जनता आप्mना समस्याहरुको विचमा छन् । उनीहरुलाई ती समस्याहरुको तत्काल सामान्य समाधान र दीर्घ कालमा प्राप्त हुने रुपान्तरणकारी समाधान दुवै आवश्यक छ । यसैले, जन आन्दोलन र जन संघर्षहरु तथा सशस्त्र वर्ग संघर्षको उच्चतम अभिव्यक्तिको रुपमा जनयुद्धको संयोजनको पनि आवश्यकता छ ।

    ५. अभ्यास सवै कुराको कसि हो र अहिले विप्लवहरु त्यो अभ्यासमा लाग्नु भयो भने वराल सरले औल्याउनु भइका थप्नु पर्ने, फेर्नु पर्ने र हटाउनु पर्ने कुराहरु थपिएलान, फेरिएलान र हटाइएलान भन्ने आशा राख्न सकिन्छ । अभ्यासवाट बाहिर वसेर यो हुन सक्ने छैन । त्यसैले, मलाई भने के लागेको छ भने, हामी यो काममा आप्mनो स्थान, समय, औकात, गक्ष र क्षेत्रमा रहेरै भए पनि सघाउँ ।

  3. Dear comrades,
    We would very much appreciate an article in English about the current line-struggle in the CPN-Maoist. What exactly are the similarities and differences between the two lines? From the bourgeois press reports and the statements from top leaders in said report it is very difficult to understand the difference in line. Also, I was wondering which side Com. Basanta is in this current line-struggle?

    • admin says:

      Thanks, we have not made any comment on this subject. But very soon we will post some comments on this subject. Coming Saturday, party has called for the extended CC meeting . After that the scenario will be clear.

Leave a Reply

See real websites hosted and built by iPage customers.