माओ र ‘यनान प्रवचन’ को सान्दर्भिकता

mao-zedong-00ऋषिराज बराल
विश्व यतिबेर विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्से- तुङको सम्झना गरिरहेको छ । साम्राज्यवाद र तिनका मतियारहरूले विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर अझै पनि होहल्ला मच्चाइरहेका छन । परन्तु सत्य के हो भने आज साम्राज्यवाद हिजोभन्दा झन्झन् सङ्कटको अवस्थामा छ र यो अन्तरसाम्राज्यवादी अन्तर्विरोधबाट ग्रस्त छ । साथै आज विश्वका थुप्रै मुलुकहरूमा माओवादी आन्दोलन नयाँ किसिमले सङ्गठित भइरहेको छ र माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्यमान्यताको महत्व र सान्दर्भिकता झन्झन् बढ्दै गएको छ । नेपाली समाज र पछिल्ला घटनाक्रमहरूको अध्ययन गर्दा नेपालमा माओले स्थापित गरेका वैचारिक तथा राजनीतिक मूल्य र निर्देशित गरेको बाटोको अर्थ र सन्दर्भ झन् बढेर गएको प्रस्ट हुन्छ ।

 
विश्व कम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स–एङ्गेल्स, लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ । राजनीतिक क्षेत्रमा मात्र नभएर सांस्कृतिक तथा सौन्दर्यशास्त्रीय क्षेत्रमा पनि उहाँहरूको योगदान त्यत्तिकै उच्च र स्मरणीय छ । आज हामी जसलाई मार्क्सवादी र्सान्दर्यशास्त्र भन्छौँ, यो मार्क्सदेखि माओसम्मका दार्शनिक तथा वैचारिक चिन्तकहरूले विकास गरेको सौन्दर्यसम्बन्धी धारणाको मोठ रूप हो । मार्क्सवादी सौन्दर्यशास्त्रलाई समृद्ध पार्ने कार्यमा माओको विशिष्ट योगदान छ र यसमा माओको ‘यनान प्रवचन’ को विशिष्ट महत्व रहेको छ । वर्गयुद्ध लडिरहेको समाजका लागि माओले विकसित गरेका सौन्दर्यशास्त्रीय मूल्यहरू सार्वभौम र चीरकालिक महत्वका छन् । सौन्दर्य चिन्तनको क्षेत्रमा माओले स्थापित गरेका सौन्दर्य मूल्यहरूलाई अवमूल्यन गर्नु भनेको सारतः मार्क्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा भएको विकास र समृद्धिकै अवमूल्यन हो ।
विविध लेख, टिप्पणी तथा सिर्जनकार्यद्वारा माओले आफ्ना सौन्दर्यसम्बन्धी धारणा व्यक्त गरेका छन्, र पनि सौन्दर्यशास्त्रीय मूल्यका दृष्टिले यनान गोष्ठीमा माओले दिएको साहित्य–कलासम्बन्धी प्रवचन ‘ यनान प्रवचन’ को सर्वोपरि महत्व रहेको छ । कालक्रमिक रूपमा देखापरेका वर्गसङ्घर्षका नवनव रूप र आन्दोलनको विशिष्ट चरित्रसित जोडेर सौन्दर्यसम्बन्धी व्याख्या, विश्लेषणा र संश्लेषण गर्ने क्रममा माओले मार्क्सवादी सौन्दर्यचिन्तनमा गुणात्मकता थपेर मार्क्सवादी र्सान्दर्यशास्त्रलाई नयाँ दिशा प्रदान गरेका छन् । आजभन्दा करिब ७५ वर्ष अघिको सो प्रवचनको महत्व हिजोभन्दा झन् बढेर गएको छ र सो प्रवचन सधैँ ताजा र सान्दर्भिक भएको तथ्य यसले गरेको दिशाबोधबाट प्रस्ट हुन्छ ।
मार्क्सवादी सौन्दर्यशास्त्रलाई विभ्रमीकरण गर्ने, साहित्य तथा कलाको समाजरूपान्तरणकारी भूमिकालाई न्यूनीकरण गर्नेहरू तथा वामपन्थका नाममा यथास्थितिवादको अभ्यास गरिरहेकाहरूले ‘यनान प्रवचन’ को महत्व तथा माओका योगदानहरूलाई निषेध र अवमूल्यन गर्नु नयाँ र अनौठो विषय होइन, परन्तु आफूलाई मालेमाका पक्षधर नयाँ जनवादी क्रान्ति र सांस्कृतिक आन्दोलन र अभियानप्रति समर्पित भन्नेहरूले समेत ‘यनान प्रवचन’ को सार्वकालिक र सार्वभौम महत्वप्रति प्रश्न उठाउनुचाहिँ साँच्चिकै विडम्बनाको विषय हो ।
यथार्थतः ‘यनान प्रवचन’ लाई हेर्ने दृष्टिकोणले वामपन्थी भन्नेहरूको मात्र होइन, आफूलाई क्रान्तिकारी र माओवादी भन्नेहरूको समेत पोल खोलिदिएको छ । यसले को सही अर्थको क्रान्तिकारी र को अवसरवादी र छद्म संशोधनवादी हो भन्ने कुरासमेत प्रस्ट पारेको छ । पार्टीमा प्रवेश गर्न सफल भएका पुँजीवादी तथा संशोधनवादी प्रवृत्ति बोकेकाहरू विरुद्ध चलाइएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा समेत ‘यनान प्रवचन’ लाई केन्द्रीय महत्व दिनुले पनि यसको वैचारिक तथा सौन्दर्यशास्त्रीय महत्वको आयामलाई मापन गर्न सकिन्छ । राजनीतिक दृष्टिले तीव्र अन्तर्विरोधको स्थितिमा रहेको नेपाली समाजको वर्तमान स्थिति र आफूलाई माओवादी भन्नेहरूमा समेत वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलन तीव्र रूपमा देखापरेको अवस्थामा ‘यनान प्रवचन’ को महत्व झन् बढेर गएको छ । नेपाली क्रान्तिको स्वरूप नयाँ जनवादी र नेपाली विशिष्टताको जनयुद्ध नै नेपाली क्रान्तिको कार्यदिशा भएझैँ नयाँ जनवादी सांस्कृतिक आन्दोलन नै नेपाली नयाँ जनवादी सांस्कृतिक आन्दोलनको दिशा हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।
प्रमुख र सदैव ध्यान दिनुपर्ने कुरा के हो भने ‘नयाँ जनवादको संस्कृति’ ‘यनान प्रवचन’ र पछि ‘सयौँ फूल फुल्न देउ…’ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’का सम्बन्धमा माओले जेजस्तो धारणा अघि सारेका छन्, यो सांस्कृतिक तथा साहित्यिक सन्दर्भमा मात्र सीमित छैन, यसको अहम् राजनीतिक महत्व छ । यसमा विश्व सर्वहारावादी क्रान्तिकारी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर चिन्ता र चिन्तन निहित छ । साहित्य तथा कलाको सन्दर्भमा मात्र भन्दा पनि ‘यनान प्रवचन’ को विशेष महत्व छ । अझ माओवादको नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै क्रान्तिलाई वदनाम गर्न/गराउन एकथरीहरू लागेको अवस्थामा यसको सार्वभौम महत्व रहेको छ । ‘यनान प्रवचन’ ले थुप्रै पक्षमा प्रकाश पारेको छ, खासगरेर प्रतिबद्धता, सांस्कृतिक सेना, आधार अधिरचनाबीचको द्वन्द्वाचत्मक महत्व, सार र रूप, उपयोगिता र मूल्य, संयुक्त मोर्चा, इतिहासको मूल्याङ्कन जस्ता गम्भीर र सारगर्भित विचारहरू यसमा पस्तुत छन् । यसलाई खास राजनीतिक सन्दर्भमा मात्र त्यसमा पनि चिनियाँ सन्दर्भमा मात्र मात्र सीमित गर्न खोज्नु भनेको सारतः मार्क्सवादी सौन्दर्यशास्त्रीय मूल्यकै अवमूल्यन गर्नु हो । त्यसैगरी कतिपय लाल बुझक्कडहरूले माओले अघि सारेका सांस्कृतिक सेनासम्बन्धी धारणाको गलत व्याख्या गरेर यसको भ्रष्टीकरण र विकृतीकरण गरेका छन् । यी दुवै मार्क्सवादी सौन्दर्यचिन्तन सम्बन्धी गलत बुझाइका परिणाम हुन् । एउटा प्रवृत्तिले संशोधनवाद र अर्को प्रवृत्तिले ‘क्रान्तिकारी रूपवाद’ को प्रतिनिधित्व गर्दछ । सारतः यी दुवै वैचारिक विचलनका परिणाम हुन् ।
क्रान्तिकारीहरूका लागि ‘यनान प्रवचन’ सौन्दर्यशास्त्रीय दृष्टिले अत्यन्तै महत्वपूर्ण दस्ताबज हो र यसलाई रूपमा होइन सारमा लिनु आवश्यक छ । यसलाई कोरा भावनामा होइन, क्रान्तिकारी राजनीतिक उदेश्यका लागि व्यवहारमा प्रस्तुत गर्नु आवश्यक छ । अनि मात्र माओका योगदानहरूको सही मूल्याङ्कन गरेको ठहर्छ । यथार्थतः समस्या विचार र राजनीतिमा छ । क्रान्तिको कुरा गर्नेहरूले नै “अब आएर माओले निर्देशित गरेका नयाँ जनवादी क्रान्तिसम्बन्धी वैचारिक, राजनीतिक र फौजी मूल्य–मान्यताहरू असान्दर्भिक बनको ” भनेर सोझै खारेज गर्न थालेपछि यसको प्रतिबिम्बन सांस्कृतिक आन्दोलनमा पर्छ नै । त्यसैले अहिलेको प्रश्न भनेको माओले भनेझैँ राजनीतिलाई दरोसित समात्ने कि नसमात्ने भन्ने हो । नयाँ जनवादी क्रान्तिलाई आत्मसात गर्ने कि नगर्ने भन्ने हो । नयाँ जनवादी क्रान्ति आजको नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो र ‘क्रान्तिका तीन जादुगरी हतियार’ को कुशलतापूर्व प्रयोगका साथ अघि बढेर मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । जेजे पदावली प्रयोग गरे पनि अन्ततः नेपाली नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धमा प्रवेश नगरी धरै छैन । नेपाली क्रान्तिको रक्षा र गतिका लागि अर्को बाटो छैन । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ ।
मुलुकले यतिखेर राष्ट्रियता जनतन्त्र दुवैले गम्भीर समस्या र सङ्कट भोग्दै गरेको यथार्थ हाम्रा सामु छ । माओवादी आन्दोलनलाई अघि बढाउने हो भने सही अर्थका क्रान्तिकारीहरू, मालेमाका पक्षधरहरूबीच क्रान्तिकारी एकता र संयुक्त मोर्चा आवश्यक छ र यसका लागि सर्वप्रथम वैचारिक-राजनीतिक प्रस्टता हुनुपर्छ । मित्र को हो र सत्रु को हो ? भन्ने कुरामा प्रस्ट हुनुपर्छ, कसको भण्डाफोर गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यही कुरा सांस्कृतिक क्षेत्रमा पनि लागू हुन्छ । अहिले जसरी वर्गीय प्रश्नहरू ओझेलमा परेका/पारिएका छन् र वर्गविरोधी पहिचानवादी प्रवृत्तिलाई योजनाबद्ध ढङ्गले अघि बढाउन थालिएको छ, यो वर्गीय मुक्ति आन्दोलनका लागि निकै खतरनाक छ र यसप्रति हामी सबै चनाखो र गम्भीर हुनु आवश्यक छ । यसका लागि लडाइँ घरैबाट आरम्भ गर्नु आवश्यक छ ।
राजनीतिक मोर्चाको मात्र नभएर सांस्कृतिक क्षेत्रले पनि क्रान्तिकारीहरूबीच कसरी एकता र मोर्चाबद्धता निर्माण गर्ने भने कुरामा गम्भीर हुनु आवश्यक छ । यसमा सबैले आआफ्ना कमीकमजोरी, सीमा समस्या आत्मसात गर्दै आत्मसमीक्षा गर्नु आवश्यक छ । इतिहासको गम्भीर समीक्षा नगरी क्रान्तिकारी मूल्यका साथ एकताबद्ध र मोर्चाबद्ध भएर अघि बढ्न सक्ने आधार निर्माण हुन सक्तैन । क्रान्तिकारी मोर्चाबद्धता र योजनाबद्धताका लागि यो आवश्यक छ । क्रान्तिकारीहरूबीच व्यापक एकता र मोर्चाबद्धता अहिलेको आवश्यकता हो । यो काम प्रतिक्रियावादी सत्ताको प्रतिनिधित्व गरेर सरकार चलाइरहेकाहरूको तावेदारी गर्ने सत्ता तावेदारहरू कथित प्रगतिशील लेखकहरूसित एकता अथवा साझा मोर्चा बनाएर होइन, सही अर्थका प्रगतिशीलहरूसित एकता तथा मोर्चा बनाएर मात्र सम्पन्न गर्न सकिन्छ । लु स्यनले “प्रतिक्रियावादीहरू एक भइसके हामी किन अलमलिएका” भनेझैँ, यतिबेर क्रान्तिकारी बुझाइ र योजनाबद्धताको खाँचो छ ।
सांस्कृतिक आन्दोलन र संयुक्त मोर्चाका सन्दर्भमा माओले भनेका कुराहरू “भुत्ते चक्कूले रगत आउँदैन भद्दा सेनाले लडाइँ जित्न सक्तैन” भन्ने यथार्थ हाम्रो सांस्कृतिक आन्दोलनका सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक छ र सही अर्थमा नेपाली क्रान्तिका लागि सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने हो भने हामीले यस यथार्थलाई गम्भीरतापूर्वक ग्रहण गर्नु आवश्यक हुन्छ । सतही हेराइ तथा दिशाहीन कुदाइ होइन, अलि गहिरामा जानु आावश्यक छ । कुखुराको उडान होइन, चीलको उडान आवश्यक छ । माओको ‘दुई चराको सम्बाद’ लाई आत्मसात गर्नु आवश्यक छ । प्रस्ट होऔँ: माओले ‘चिङकाङ्सान पुन आरोहण’ मा भनेझै यदि पहाड चढ्न आँट गरिन्छ भने संसारमा कठिन भन्ने कुरा केही छैन । समयले पुरानो र मृत पक्षबाट सम्बन्ध विच्छेद र नयाँ र जीवन्त पक्षसित सम्बन्ध विस्तारको माग गरेको छ भन्ने कुरालाई आत्मसात गर्नु अहिलेको आवश्यकता हो । यही नै ‘यनान प्रवचन’ को सारतत्व हो ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.