माओ र घोडाबाट फूल हेर्ने कुरा

mao-zedong-00( विश्वका मुक्तिकामी जनता हरेक वर्ष २६ डिसेम्बरका दिन विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्से–तुङको स्मृति दिवस क्रान्तिकारी उत्साह र प्रतिबद्धताका साथ मनाउने गर्छन् । नेपालको माओवादी आन्दोलन विशृङ्खलित र अन्यौलग्रस्त रहेको अवस्थामा माओको स्मृति दिवसले धेरै अर्थ राख्दछ । यतिखेर दश बर्से महान् जनयुद्धसित सम्बद्ध बाँकी काम पूरा गर्ने प्रण गर्नुमा नै माओलाई सम्झनुको सार्थकता निहित छ । यसै पक्षलाई ध्यानमा राखेर हामीले माओको ‘हाम्रो पार्टीको इतिहाससम्बन्धी केही अनुभवहरू’ लाई यहाँ प्रस्तुत गरेका छौँ । ल्याटिन अमेरिकी कमरेडहरूसितको कुराकानीका आधारित यो रचनाले माओले चिनियाँ क्रान्तिका सन्दर्भमा लड्नुपरेको दुई लाइन सङ्घर्षका साथै कार्यदिशाका सन्दर्भमा पनि महत्वपूर्ण प्रकाश पार्दछ ।
———————————————————————————————————————-
हाम्रो पार्टीको इतिहाससम्बन्धी केही अनुभवहरू
अमेरिकी साम्राज्यवाद तपाईँहरूको बैरी हो, साथै हाम्रो पनि बैरी हो र विश्वका जनताको पनि बैरी हो । अमेरिकी साम्राज्यवादलाई तपाईँहरूका मामिलाहरूमा हस्तक्षेप गर्नभन्दा हाम्रा मामिलाहरूमा हस्तक्षेप गर्न गाह्रो छ । एउटा कुरा के छ भने संयुक्त राज्य अमेरिका हामीदेखि धेरै टाढा छ । तर, अमेरिकी साम्राज्यवाद एकदमै टाढासम्म, हाम्रो ताइवानसम्म, जापान, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स आदि देशहरूसम्म पुगेको छ । संयुक्त राज्य अमेरिकाले ब्रिटेन, फ्रान्स, इटाली, आइसल्यान्ड र पश्चिम जर्मनीमा आफ्ना पल्टनहरू तैनाथ गरेको छ र उत्तर अफ्रिका, मध्य तथा निकट पूर्वमा सैनिक अखाडाहरू खडा गरेको छ । यसले पृथ्वीको प्रत्येक कुनासम्म आफ्ना पञ्जा फैलाएको छ । यो भूमण्डलव्यापी साम्राज्यवाद हो । यो नकारात्मक उदाहरणहरूको दृष्टिबाट सबै देशका जनताको गुरु हो । अमेरिकी साम्राज्यवादका सूँढहरू जहाँतहाँ पुग्छन्, विश्वका जनताले एकताबद्ध भई तिनलाई ठुन्क्याउन एक अर्कालाई मद्दत गर्नुपर्दछ । यसका सूँढहरूलाई ठुन्क्याइएपिच्छे हामीलाई अलि बढी सुविस्ताको अनुभव हुनेछ ।

 

विगतमा चीन पनि साम्राज्यवाद र सामन्तवादको उत्पीडनमा परेको देश थियो, त्यसकारण हाम्रा र तपार्इँहरूका परिस्थितिहरू एकदमै मिल्दाजुल्दा छन् । विशाल ग्रामीण जनसङ्ख्या र सामन्ती शक्तिहरूको अस्तित्व भनेको देशको निम्ति बोझ हुन्, तर सर्वहारा वर्गले नेतृत्व गरेको क्रान्तिको निमित्त भने तिनीहरू सम्पत्ति हुन् । किनभने तिनले हामीलाई किसान समुदायका रूपमा व्यापक सहयोगी जुटाइदिन्छन् । अक्टोबर क्रान्तिअघि रूसमा सामन्तवाद बलियो थियो, र किसान जनसमूहहरूको सहयोगबाट नै बोल्सेविक पार्टी क्रान्तिमा विजयी भयो । चीनको हकमा यो कुरा झन् साँचो हुनआयो । हाम्रो देश ५० करोड मानिसहरूले ग्रामीण क्षेत्रमा बसोबास गरेको कृषिप्रधान देश हो । विगतमा हामीले लडाइँमा मुख्यतः किसानहरूको भरोसा गर्यौं । अहिले पनि किसानहरू सङ्गठित भएका हुनाले र कृषि सहकारीमा रूपान्तरित भएको हुनाले नै हाम्रा सहरिया पुँजीपति वर्गले छिट्टै समाजवादी रूपान्तरणसामु शिर भुकाएका हुन् । त्यसकारण किसानहरूमाझ पार्टीको कामको ज्यादै ठूलो महत्व छ ।
मलाई के लाग्छ भने सामन्तवाद बलियो भएका देशहरूमा सर्वहारा वर्गको राजनीतिक पार्टीले ग्रामीण क्षेत्रमा गई किसानहरूको सहयोगको खोजी गर्नुपर्दछ । जब बुद्धिजीवीहरू किसानहरूको सहयोगको खोजी गर्न ग्रामीण क्षेत्रमा जान्छन्, त्यो बेला उनीहरूमा सही प्रवृत्ति नभएमा उनीहरूले किसानहरूको विश्वास प्राप्त गर्न सक्दैनन् । सहरिया बुद्धिजीवीहरूलाई ग्रामीण मामिलाहरू र किसान मनोविज्ञानबारे ज्यादै कम थाहा हुन्छ, त्यसकारण उनीहरूले किसानहरूका समस्या कहिल्यै पनि सही ढङ्गले हल गर्न सक्दैनन् । हाम्रो अनुभव अनुसार, निकै लामो समयावधिपछि र हामीले साँच्चि नै किसानहरूसँग एक भएर हामी उनीहरूको हितको निम्ति लडिरहेका छौँ भन्ने कुरामा उनीहरूलाई विश्वास दिलाएर मात्र विजय प्राप्त गर्नसक्छौँ । किसानहरूले हामीलाई तत्कालै विश्वास गरिहाल्छन् भन्ने कुरा नचिताउनोस् । हामीले उनीहरूलाई यसो केही न केही मद्दत दिनासाथ उनीहरूले हामीमाथि विश्वास गरिहाल्छन् भन्ने कुरा पनि नचिताउनोस् ।
किसानहरू सर्वहारा वर्गका मुख्य सहयोगी हुन् । सुरुमा हाम्रो पार्टीले पनि किसानहरू बीचको कामको महत्वलाई स्वीकार नगरी सहरिया कामलाई पहिलो र ग्रामीण कामलाई दोस्रो स्थानमा राख्यो । मलाई के लाग्छ भने भारत, इन्डोनेसिया जस्ता केही एसियाली देशहरूका पार्टीले ग्रामीण काम उति राम्ररी गरेका छैनन् ।
पहिले हाम्रो पार्टी किसानहरूमाझको काममा सफल भएन । बुद्धिजीवीहरूमा एक खास प्रकारको चालढाल, बौद्धिक चालढाल थियो । त्यसकारण उनीहरू ग्रामीण क्षेत्रमा जान तत्पर भएनन्, जुन क्षेत्रलाई उनीहरू हेलाको दृष्टिले हेर्दथे । किसानहरू चाहिँ बुद्धिजीवीहरूलाई आशङ्काको दृष्टिले हेर्दथे । त्यसबाहेक, हाम्रो पार्टीले ग्रामीण क्षेत्रलाई बुझ्ने उपाय अझै फेला पारिसकेको थिएन । पछि जब हामी फेरि ग्रामीण क्षेत्रमा गयौँ, हामीले उपाय पत्ता लगायौं, ग्रामीण क्षेत्रका विभिन्न वर्गहरूको विश्लेषण गर्यौं र किसानहरूका क्रान्तिकारी मागहरूबारे जानकारी प्राप्त गर्यौं ।
प्रथम अवधिमा ग्रामीण क्षेत्रबारे हामीमा स्पष्ट विचारहरू थिएनन् । छन तु–स्युको दक्षिपन्थी अवसरवाद अन्तर्गत हाम्रा प्रमुख सहयोगीको रूपमा रहेका किसानहरूलाई त्यागियो । हाम्रा निकैजसो कमरेडहरूले ग्रामीण क्षेत्रलाई एक ठोस चिजका रूपमा भन्दा पनि सपाट रूपमा हेरे, भनाइको अर्थ के हो भने ग्रामीण क्षेत्रलाई वर्गीय दृष्टिबाट हेर्ने तरिका उनीहरूलाई थाहा थिएन । मार्क्सवादको केही अंश ग्रहण गरेपछि मात्र ग्रामीण क्षेत्रलाई हेर्ने विषयमा उनीहरूले वर्गीय दृष्टि अँगाल्न थाले । अब भने ग्रामीण क्षेत्र सपाट नभई धनी, गरिब र एकदमै गरिबमा, कृषि मजदुरहरू , गरिब किसानहरू, मध्यम किसानहरू, धनी किसान र जमिनदारहरूमा गरी तहतहमा विभाजित भएको देखिनआयो । यस अवधिमा मैले ग्रामीण क्षेत्रबारे अध्ययन गरेँ र किसान आन्दोलनका संस्थानहरू खोलेँ, जुन संस्थाहरू निकै समयसम्म चालु रहे । मलाई मार्क्सवादको केही ज्ञान थियो तापनि ग्रामीण क्षेत्रसम्बन्धी मेरो सुझबुझ चाहिँ गहिरो थिएन ।
दोस्रो अवधिमा हामीले हाम्रो असल गुरु च्याङ काइ–सेकलाई स्याबासी दिनुपर्ने भयो । उसले हामीलाई ग्रामीण क्षेत्रतिर लखेट्यो । यो एउटा लामो अवधि, दश वर्षको गृहयुद्धको अवधि थियो, जुन अवधिमा हामीले उसको विरुद्ध लड्यौँ, र यसप्रकार हामीले ग्रामीण क्षेत्रको अध्ययन गर्नुपर्ने भयो । सुरुका केही वर्षमा ग्रामीण क्षेत्रसम्बन्धी हाम्रो सुझबुझ उति गहिरो थिएन, तर पछि गएर यो अझ राम्रो र गहिरो हुँदैगयो । यस अवधिमा आलोपालो गरी छन तु–स्यु, लि लि–सान र वाङ मिङले प्रतिनिधित्व गरेका “वाम” अवसरवादी दिशाहरूले हाम्रो पार्टीलाई ठूलो क्षति पुर्याए, अनि खासगरेर वाङ मिङको “वाम” अवसरवादी दिशाले चाहिँ हाम्रो पार्टीका धेरैजसो ग्रामीण आधारइलाकाहरूलाई ध्वस्त पारिदियो ।
त्यसपछि तेस्रो अवधि अर्थात् जापान विरोधी प्रतिरोध युद्धको अवधि आयो । जापानी साम्राज्यवादीहरूले चीनमाथि धावा बोलेपछि हामीले क्वोमिन्ताङसँगको लडाइँलाई रोकेर त्यसको सट्टा जापानी साम्राज्यवादसँग लड्यौँ । त्यसबखत हाम्रा कामरेडहरूले खुला रूपबाट क्वोमिन्ताङ क्षेत्रका सहरहरूको भित्री भागसम्म जानसक्ने अवस्था आयो । पहिले “वाम” अवसरवादी कार्यदिशालाई बलजफ्ती ठेल्ने वाङ मिङले अब आएर दक्षिपन्थी अवसरवादी कार्यदिशालाई बलजफ्ती ठेल्ने गल्ती ग¥यो । उसले पहिले कम्युनिस्ट अन्तर्राष्ट्रियको उग्र वाम नीति लागु गर्यौं अनि यसपटक चाहिँ उसले उग्र दक्षिणपन्थी नीति लागु गर्यौं । ऊ पनि नकारात्मक उदाहरणको दृष्टिले हाम्रा गुरुहरूमध्येको एकजना थियो र उसले हाम्रो पार्टीलाई शिक्षित तुल्यायो । लि लि–सानको रूपमा नकारात्मक उदाहरणका दृष्टिले हामीले अर्को गुरु पायौँ । त्यस बखतको प्रमुख गल्ती विदेशी अनुभवलाई यान्त्रिक रूपबाट प्रत्यारोपण गर्ने जडसुत्रवाद नै थियो । हाम्रो पार्टीले उनीहरूका गलत कार्यदिशाहरूलाई विसर्जन गरिदियो र मार्क्सवाद–लेनिनवादको विश्वव्यापी सत्यलाई चीनको ठोस अवस्थाहरूसँग एकीकृत गराउने तरिका साँच्चि नै पत्ता लगायो । यसको नतिजास्वरूप चौथो अवधिमा च्याङ काइ–सेकले हाम्रा विरुद्ध आक्रमण गर्दाखेरि उसको सत्ता पल्टाउन र जनगणतन्त्र चीनको स्थापना गर्न सम्भव भयो ।
चिनियाँ क्रान्तिको अनुभव अर्थात् ग्रामीण आधारइलाकाहरू खडा गर्ने, ग्रामीण क्षेत्रबाट सहरहरूलाई घेर्ने र आखिरमा सहरहरूमाथि कब्जा जमाउने कुरा तपाईँहरूमध्ये धेरैजसोका देशहरूमा लागु नहुन सक्छ, यद्यपि यसले तपाईँहरूलाई सन्दर्भका रूपमा भने काम दिनसक्छ । चिनियाँ अनुभवको यान्त्रिक रूपबाट प्रत्यारोपण नगर्न म तपाईँहरूलाई सल्लाह दिनचाहन्छु । कुनै पनि विदेशी मुलुकको अनुभवले सन्दर्भको रूपमा मात्र काम दिनसक्छ, त्यसलाई जडसूत्रका रूपमा ग्रहण हुँदैन । मार्क्सवाद–लेनिनवादको विश्वव्यापी सत्य र तपाईँहरूका आफ्नै देशहरूका ठोस अवस्थाहरू – यी दुई कुरालाई एकीकृत गराउनै पर्छ ।
किसानहरूको मन जितेर उनीहरूमाथि भरोसा गर्ने हो भने तपाईँहरूले ग्रामीण क्षेत्रहरूमा जाँचबुझ कार्यहरू सञ्चालन गर्नैपर्छ । यसो गर्ने पद्धति चाहिँ एउटा वा दुईओटा गाउँको जाँचबुझ गर्नु र ग्रामीण क्षेत्रका वर्ग शक्तिहरूको, त्यहाँको आर्थिक स्थिति, रहनसहनको अवस्था आदि कुराहरूबारे स्पष्ट विचार प्राप्त गर्नु नै हो । पार्टीको महासचिव जस्ता प्रमुख नेताहरू स्वयंले नै यो काम गर्नुपर्छ र एकाध गाउँबारे जानकारी प्राप्त गर्नुपर्छ, उनीहरूले समय निकाल्ने प्रयास गर्नुपर्छ, किन भने यो प्रयत्न गर्नलायकको काम हो । भँगेराहरू असङ्ख्य हुन्छन् तापनि प्रत्येक भँगेरालाई चिरफार गर्नु जरुरी छैन, एकदुईओटालाई चिरफार गर्नु नै पर्याप्त हुन्छ । पार्टीको महासचिवले एक वा दुईओटा गाउँको जाँचबुझ गरेर त्यहाँको स्थितिबारे गहन जानकारी प्राप्त गरेपछि उनले आफ्ना कमरेडहरूलाई गाउँहरूसित परिचित हुन र त्यहाँका ठोस अवस्थाहरूबारे स्पष्ट विचार प्राप्त गर्नमा सघाउ पुर्याउन सक्नेछन् । मलाई के लाग्छ भने धेरै देशहरूका महासचिवहरूले एक दुईओटा “भँगेराहरू” लाई चिरफार गर्नुपर्ने कुरालाई महत्व दिँदैनन्, ग्रामीण क्षेत्रबारे उनीहरूलाई केही न केही कुरा त थाहा हुन्छ, यो कुरा साँचो हो, तर उनीहरूको ज्ञान उति गहिरो चाहिँ हुँदैन, त्यसकारण उनीहरूले जारी गर्ने निर्देशनहरूले ग्रामीण अवस्थाहरूसँग राम्रो मेल खाँदैनन् । त्यसैगरी, पार्टीका केन्द्रीय, प्रान्तीय र काउन्टी तहका नेतृत्वदायी अङ्गहरूका जिम्मेवार कामरेडहरूले आफैँ एक दुई गाउँको जाँचबुझ गर्नुपर्छ वा एक दुईओटा भँगेराहरूलाई चिरफार गर्नुपर्छ । यसो गर्नुलाई “शरीरको शल्यक्रिया” भनिन्छ ।
जाँचबुझ गर्ने दुईओटा तरिका छन् : एउटा तरिका घोडामाथिबाट फूलहरू लाई हेर्नु हो र अर्को तरिका चाहिँ घोडाबाट ओर्लेर फूलहरूलाई हेर्नु हो । घोडामाथिबाटै फूहरूलाई हेर्नुभयो भने तपाईँले तिनीहरूको सतही ज्ञान मात्र प्राप्त गर्न सक्नुहुन्छ, किनभने फूल त गनीनसक्नु हुन्छन् । ल्याटिन अमेरिकाबाट एसियामा आउँदा तपाईँहरू घोडामाथिबाट फूलहरू हेर्दै आउनुभएको छ । तपाईँहरूका आफ्नै देशहरूमा कति धेरै फूलहरू छन् भने तिनीहरूलाई यसो एकाध पटक पुलुक्क हेरेर छाडिदिनु पर्याप्त हुँदैन, त्यसकारण दोस्रो तरिका अँगाल्नुपर्दछ, अर्थात् घोडाबाट ओर्लेर फूलहरूलाई हेर्नु , मिहिन रूपले निरीक्षण गर्नु र एउटा “फूल” को विश्लेषण गर्नु वा एउटा “भँगेरा” लाई चिरफार गर्नुपर्दछ ।
साम्राज्यवादी उत्पीडनमा परेका देशहरूमा दुई प्रकारका पुँजीपति वर्ग हुन्छन्– राष्ट्रिय पुँजीपति वर्ग र दलाल पुँजीपति वर्ग । के तपाईँहरूका देशहरूमा यी दुई प्रकारका पुँजीपति वर्ग छन् ? सम्भवतः छन् ।
दलाल पुँजीपति वर्ग सधैँ नै साम्राज्यवादको पाल्तु कुकुर हो र त्यसैले त्यो क्रान्तिको निसाना हुनेगर्छ । दलाल पुँजीपति वर्गका विभिन्न समूहहरू संयुक्त राज्य अमेरिका, ब्रिटेन र फ्रान्स जस्ता विभिन्न साम्राज्यवादी देशहरूका एकाधिकारवादी पुँजीपति समूहहरूमा पर्दछन् । विभिन्न दलाल समूह विरुद्ध सङ्घर्ष गर्दा साम्राज्यवादी देशहरू बीचका अन्तर्विरोधहरूको उपयोग गर्नु, पहिले उनीहरूमध्ये कुनै एकसँग तालमेल गरी तात्कालिक प्रमुख सत्रुमाथि प्रहार गर्नु जरुरी हुन्छ । उदाहरणका लागि, विगतमा चिनियाँ दलाल पुँजीपति वर्गभित्र ब्रिटेनपरस्त, अमेरिकापरस्त र जापानपरस्त समूहहरू रहेका थिए । जापान विरोधी प्रतिरोध युद्धकालमा हामीले एकातिर अमेरिका र ब्रिटेन अनि अर्कातिर जापानका बीचका अन्तर्विरोधहरूलाई उपयोग गर्दै पहिले जापानी अतिक्रमणकारीहरू र तिनीहरूको प्रतिरक्षा गर्ने दलाल समूहलाई ढाल्यौँ । त्यसपछि हामी अमेरिकी र ब्रिटिस अतिक्रमणकारी शक्तिहरूमाथि मुक्का प्रहार गर्न र अमेरिकापरस्त र ब्रिटेनपरस्त दलाल समूहहरूलाई पछार्नतिर लाग्यौँ । जमिन्दार वर्गभित्र पनि विभिन्न डफ्फाहरू हुन्छन् । अति प्रतिक्रियावादी जमिन्दारहरूको सङ्ख्या थोरै हुन्छ, त्यसकारण उनीहरूमाथि प्रहार गर्दाखेरि हामीले देशभक्तको भावना भएका र साम्राज्यवादको विरोध गर्ने कुराको पक्षमा खडा हुने खालका जमिन्दारहरूलाई उही ड्याङका मूला ठान्नुहुँदैन । अझ त्यसमाथि, ठूला र साना जमिन्दारहरूबीचमा विभेदको रेखा कोर्नैपर्छ । एकै पटकमा एकदम धेरै सत्रुहरूमाथि प्रहार नगर्नोस्, केही माथि मात्र प्रहार गर्नोस्, र ठूला जमिन्दाहरूमध्येमा पनि पहिले मुठ्ठीभरका सबैभन्दा प्रतिक्रियावादीहरूमाथि मुक्का वर्षाउनोस् । हरेकमाथि प्रहार गर्ने कुरा बडो क्रान्तिकारी जस्तो त लाग्नसक्छ, तर वास्तवमा यसले ठूलो हानी गराउँछ ।
राष्ट्रिय पुँजीपति वर्ग हाम्रो प्रतिपक्षी हो । “प्रतिपक्षीहरूको सधैँ नै भेट हुनैपर्छ” भन्ने एउटा लोकप्रिय भनाइ चीनमा प्रचलित छ । चिनियाँ क्रान्तिको एउटा अनुभव के छ भने राष्ट्रिय पुँजीपति वर्गसँग व्यवहार गर्दा सतर्कता अँगाल्नु जरुरी छ । यस वर्गले मजदुर वर्गको विरोध गर्छ भने साम्राज्यवादको पनि विरोध गर्छ । हाम्रो प्रमुख अभिभारा साम्राज्यवाद र सामन्तवाद विरुद्ध लड्नु हो र यी दुईओटा सत्रुको तख्ता नपल्टाउन्जेलसम्म जनताको मुक्तिको कुरा परै रहन्छ भन्ने कुरालाई दृष्टिगत गरी हामीले राष्ट्रिय पुँजीपति वर्गलाई हरतरहले साम्राज्यवाद विरुद्धको लडाइँमा आफूतिर तान्नैपर्छ । सामन्तवाद विरुद्धको लडाइँमा राष्ट्रिय पुँजीपति वर्गको रुचि हुँदैन किनभने जमिन्दार वर्गसँग यसका घनिष्ट सम्बन्धहरू रहेका हुन्छन् । अझ त्यसमाथि यसले मजदुरहरूमाथि उत्पीडन र शोषण गर्नेगर्छ । त्यसकारण हामीले यससँग लड्नुपर्छ । तर साम्राज्यवाद विरोधी लडाइँमा सामेल गराउन यसलाई हामीतर्फ तान्नको लागि यससँगको सङ्घर्षलाई कतिखेर रोक्ने भन्ने कुरा हामीले थाहा पाउनैपर्छ, अर्थात् न्यायसङ्गत आधारमा हामीलाई फाइदा हुने गरी र संयमका साथ सङ्घर्ष चलाउनुपर्छ । अर्को शब्दमा, सङ्घर्ष चलाउने न्यायसङ्गत आधार हामीसँग हुनुपर्छ, हामी विजयका बारेमा सुनिश्चित हुनुपर्छ, र विजयको उचित मात्रा प्राप्त भएको बेलामा हामीले संयम अँगाल्नुपर्छ । यसैकारण, मजदुरहरू र पुँजीपतिहरू दुवै पक्षका अवस्थाहरूको जाँचबुझ गर्नु जरुरी छ । हामीलाई मजदुरहरूका बारेमा मात्र थाहा छ र पुँजीपतिहरूका बारेमा थाहा छैन भने हामी पुँजीपतिहरूसँग वार्ता गर्न समर्थ हुनेछैनौँ । यस सन्दर्भमा, प्रतिनिधिमूलक मामिलाहरूको जाँचबुझ गर्नु, वा एक दुईओटा “भँगेरा” लाई चिरफार गर्नु जरुरी छ, घोडाबाट फूल हेर्ने र घोडाबाट ओर्लेर फूल हेर्ने यी दुवै पद्धतिहरूलाई उसैगरी प्रयोग गर्नुपर्दछ ।
साम्राज्यवाद र सामन्तवाद विरोधी सङ्घर्षको ऐतिहासिक कालभरि नै हामीले राष्ट्रिय पुँजीपति वर्गलाई आफूतिर तान्ने र उसँग एकता गर्ने काम गर्नैपर्छ, जसले गर्दा यसले साम्राज्यवाद विरुद्ध जनताको पक्ष लिन सकोस् । साम्राज्यवाद र सामन्तवादको विरोध गर्ने काम मूलतः सम्पन्न भइसकेपछि पनि राष्ट्रिय पुँजीपति वर्गसँगको हाम्रो आपसी सहयोगलाई अझै केही कालसम्म कायम राख्नैपर्छ । साम्राज्यवादी अतिक्रमणको मुकाबिला गर्न, उत्पादनलाई विस्तार गर्न र बजारलाई स्थिर तुल्याउनमा र साथै पुँजीपति बुद्धिजीवीहरूलाई आपूmतिर आकर्षित गरी उनीहरूको पुनः संस्कार गर्नमा पनि यो कार्य फाइदाजनक हुनेछ ।
तपाईँहरूले अझै राज्यसत्तामाथि विजय प्राप्त गर्नुभएको छैन, तर त्यसलाई कब्जा गर्ने तयारी भने गर्दै हुनुहुन्छ । राष्ट्रिय पुँजीवादी वर्गप्रति “एकता र सङ्घर्ष दुबै प्रकारको” नीति अँगालिनुपर्छ । साम्राज्यवाद विरोधी सङ्घर्षमा उनीहरूसँग एकताबद्ध हुनोस् र उनीहरूका साम्राज्यवाद विरोधी सबै वचन र कर्महरूलाई समर्थन गर्नोस् । साथसाथै उनीहरूका प्रतिक्रियावादी, मजदूर वर्गविरोधी, कम्युनिस्टविरोधी वचन र कर्महरूका विरुद्ध उपयुक्त प्रकारले सङ्घर्ष चलाउनोस् । एकतर्फी हुनु गतल हो, एकताबिनाको सङ्घर्ष भनेको “वाम” भड्काउको गल्ती हो र सङ्घर्षबिनाको एकता भनेको दक्षिण भड्काउको गल्ती हो । हाम्रो पार्टीमा दुवै प्रकारका गल्तीहरू भए र हामीले तिनबाट तीता पाठहरू सिक्यौँ । पछि हामीले यी दुई प्रकारका अनुभवको सार खिच्यौँ र त्यसबेलादेखि हामीले “एकता र सङ्घर्ष दुवै कुरा गर्ने” अर्थात् आवश्यक परेको बेलामा सङ्घर्ष गर्ने र आवश्यक परेको बेलामा एकता गर्ने नीति अँगालिआएका छौँ । सङ्घर्षको उद्देश्य चाहिँ राष्ट्रिय पुँजीपति वर्गसँग एकताबद्ध भई साम्राज्यवाद विरोधी सङ्घर्षमा विजय प्राप्त गर्नु हो । साम्राज्यवाद र सामन्तवादको उत्पीडनमा परेका देशहरूका सर्वहारा वर्गका राजनीतिक पार्टीहरूले राष्ट्रिय ध्वजा उठाउनुपर्छ र उनीहरूसँग राष्ट्रिय एकताको कार्यक्रम हुनु अनिवार्य छ, जसबाट साम्राज्यवादका पाल्तु कुकुरहरूबाहेक एकताबद्ध तुल्याउन सकिनेजति सबै शक्तिहरूलाई एकताबद्ध गर्न सकियोस् । कम्युनिस्ट पार्टी कति देशभक्तिपूर्ण छ, कति शान्तिप्रेमी छ र राष्ट्रिय एकताका लागि कति इच्छुक छ भन्ने कुरा सिङ्गो राष्ट्रले देखोस् । यसबाट साम्राज्यवाद र उसका पाल्तु कुकुरहरूलाई, अनि ढाडे जमिन्दार वर्ग तथा ढाडे पुँजीपति वर्गलाई पनि एक्ल्याउनमा सघाउ पुग्नेछ ।
कम्युनिस्टहरूले गल्ती होला कि भनेर डराउनु हुँदैन । गल्तीहरूको दोहोरो चरित्र हुन्छ । एकातिर गल्तीहरूले पार्टी र जनतालाई हानी पुर्याउछन्, अर्कोतिर तिनीहरूले असल गुरुको रूपमा पार्टी र जनता दुवै थरीलाई राम्रो शिक्षा दिन्छन्, र यसबाट क्रान्तिलाई फाइदा हुनआउँछ । विफलता भनेको सफलताको जननी हो । विफलतामा असल कुरा केही पनि न हुनेहो भने यो कसरी सफलताको जननी हुनसक्ला र ? अचाक्ली धेरै गल्ती गरेपछि उल्टो दिशातिर मोडिनु अवश्यम्भावी छ । मार्क्सवाद भनेको यही हो । “चरम अतिमा पुगेपछि वस्तुहरू तिनका विपरीतमा परिणत हुन्छन्”, गल्तीहरूको चाङ लागेपछि उज्यालो उति टाढा हुँदैन ।
२५ सेप्टेम्बर १९५६

You can leave a response, or trackback from your own site.

3 Responses to “माओ र घोडाबाट फूल हेर्ने कुरा”

  1. ajay sapkota says:

    माओ जयन्तीको अवसरमा सर्व प्रथम म कामरेड ऋषिराज बराल र thenextfront परिवार र सबै क्रान्तिकारी पाठकहरुलाई न्यानो सलाम गर्दछु |
    बराल कामरेडले यति धेरै दुःख मिहेनत गरेर सधै क्रान्तिकारी विचारको रक्षा गर्दै अघि बढ़ीरहनु भएको छ |उहाँलाई विशेष धन्यवाद |क्रान्तिकारी विचारको रक्षाको निम्ति कसैको धम्की देखि विचलित नहुनुहोला |हामी तपाईको साथमा छौ |
    thenextfront साईट कम्पुटर ल्यापटप हरुमा त सजिलै खुल्छ तर मोबाइलमा भने यो साईट खुल्दैन |यो प्राविधिक समस्याका कारण धेरै पाठकहरुलाई समस्या परेको छ |आशा छ यो प्राविधिक समस्या छिट्टै हल हुनेछ |
    बराल कमरेडका अझै सशक्त लेख रचनाहरु पढ्न पाईयोस |उहाँ को कलम कायरहरुको धम्कि ले कहिल्लै पनि नडगमगाओस मेरो शुभकामना छ र सधै सधै साथ पनि |

  2. Rebati upadhaya says:

    बराल कमरेडको एक्लो प्रयासलाई हामी सबैले हाम्रो बनाएन हुने हो l पार्टीलाई मतलब छैन, उहाँले मात्रै गरेर के हुन्छ !

  3. कृष्ण थापा says:

    क्रांन्ति कारिता बचाइ राख् ने तपाँईको लेख सरहानिय छ । तपाँको योगदानलाई सलाम्।।।।

Leave a Reply

See real websites hosted and built by iPage customers.