माओ, माओवाद र नेपालका माओवादीहरू

new photoऋषिराज बराल
साम्राज्यवाद, आधुनिक संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइं लडाइं लडेर मार्क्सवाद–लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई नयाँ दिशा र गति दिने महान् नेता कमरेड माओ त्से-तुङको मुत्यु भएको ३९ वर्ष भइसकेको छ । साम्राज्यवादी र संशोधनवादीहरू मार्क्सवाद–लेनिनवाद–माओवादको भ्रष्टीकरण र महान् नेताहरूको बिम्ब विद्रूपीकरणका नयाँ नयाँ योजनाबद्धतामा सक्रिय देखिएका छन्, तर यी सबै विभ्रम र षड्यन्त्रलाई चिर्दै विश्वभरिका क्रान्तिकारीहरू मालेमाको झण्डा रक्षार्थ सङ्घर्षरत छन् ।
कमरेड स्टालिनको मृत्यृपछि रूसमा गद्दार खु्रस्चेवको नेतृत्वमा राज्य र क्रान्तिसम्बन्धी मार्क्सवादी- लेनिनवादी मूल्यलाई ध्वस्त पार्दै स्टालिनका विरुद्ध सत्रुतापूर्ण अभियान चलाइयो । त्यस बेला माओ मार्क्सवाद –लेनिनवादका पक्षमा दृढताका साथ उभिनुभयो र महान् बहसचिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत संशोधनवाद र साम्राज्यवादका विरुद्ध धावा बोल्नुभयो । यस अभियानले पूर्णता नपाउंदै माओको मुत्यु भयो । माओको मुत्युपछि चिनियाँ संशोधनवादीहरूले राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा ‘सुधार’ का नाममा समाजवादी आन्दोलनले प्राप्त गरेका सम्पूर्ण प्राप्तिहरूमाथि धावा बोले । क्रान्तिका पक्षमा माओको नेतृत्वमा लडिएको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको झण्डालाई फ्यालियो र क्रान्तिकारी योद्धाहरूलाई जेलमा हालियो । यथार्थतः माओ र उहाँले स्थापित गरेका मूल्य र योगदानका विरुद्ध युद्ध नै चलाइयो । यसले संसारभरिका क्रान्तिकारीहरूलाई गम्भीर बनाउनु स्वाभाविक थियो ।
तेङ मण्डलीको यस किसिमको कार्यलाई संसारभरिका क्रान्तिकारीहरूले ‘चीनमा प्रतिक्रान्ति’ भनेर घोषणा गरे । क्रान्तिकारीहरूले माओले दर्शन, विचार र राजनीतिका क्षेत्रमा पु¥याएको महान् योगदान र मूल्यको उच्च मूल्याङ्कन गर्दै माओ विचारधाराले मात्र पुग्दैन, यसलाई वाद नै भन्नुपर्छ भनेर घोषणा गरे । उनीहरूले माओवादलाई मार्क्सवाद–लेनिनवादको निरन्तरतामा विकसित सिद्धान्तका रूपमा व्याख्या गरेर आजको युगको मार्क्सवादको संज्ञा दिए । यसका साथै उनीहरूले माओका योगदानहरूको विश्लेषण र संश्लेषण गर्दै माओवाद मान्नेहरू नै सही अर्थमा क्रान्तिकारी हुन् भनेर निष्कर्ष निकाले । मार्क्सवाद–लेनिनवाद र माओवादलाई मान्ने क्रान्तिकारीहरू एकजुट हुने क्रममा रिम र कम्पोसाको निर्माण भयो ।
रिम अर्थात् क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय आन्दोलनले माओवादको सार्वभौम महत्त्व र आवश्यकतालाई प्रस्ट पार्दै यसको विश्वव्यापी प्रचार गर्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) ले माओवादी मूल्यप्रति प्रतिबद्ध हुँदै मालेमावादको झण्डालाई दृढताका साथ अघि बढायो । क्रान्तिका लागि क्रान्तिकारी पार्टी निर्माणको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भयो । त्यसले आफ्नो दस्ताबेजमा यसरी घोषणा गर्यो : वर्गसङ्घर्ष र अन्तर्सङ्घर्षको प्रक्रियामा विकसित र परिमार्जित हुँदैआएको पार्टीको क्रान्तिकारी राजनीतिक कार्यदिशा तथा पार्टी नामका पछाडि कोष्ठमा रहेको ‘एकताकेन्द्र’ पदावलीका बीचमा अर्थात् सार र रूपका बीचमा रहेको अन्तर्विरोध हल गर्न संशोधनवाद विरोधी सङ्घर्षको महत्त्व आवश्यक देखेर नया“ स्थितिमा पार्टी कार्यदिशा कार्यान्वयनका निमित्त गरिएको नयाँ प्रयाससमेत माथि (लाई ?) ध्यान दिई आगामी महाधिवेशनप्रति उत्तरदायी रहने गरी पार्टी नामका पछाडि कोष्ठकमा ‘माओवादी’ राख्ने निर्णय गरिएको छ । (नेपालमा जनयुद्ध, भाग १, पृ. १३)
यही मूल्यमान्यता र आदर्शका साथ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को झण्डा बोकेर नेपाली जनता २०५२ साल फागुन १ गते महान् जनयुद्धमा होमिए । थुपै्र बाह्य र आन्तरिक द्वन्द्व र अन्तर्विरोधका बीचबाट महान् जनयुद्धले गति लिंदैगयो । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा गरिएका केही निर्णय र पारित प्रस्तावहरूबारे खासगरेर राज्य र क्रान्तिका सम्बन्धमा भाइचारा पार्टीहरूले केही प्रश्नहरू उठाएका थिए । परन्तु त्यसलाई गम्भीरताका साथ लिइएन । चुनवाङ बैठकसम्म आइपुग्दा समय फेरिएको नाममा दीर्घकालीन जनयुद्धको परित्याग सारमा राज्य र क्रान्तिसम्बन्धी मालेमावादी धारणाको परित्यागका कुराहरू मिहीन, छद्म र ‘काइते’ किसिमले प्रकाशमा आए । चुनवाङ बैठकका बारेमा जे–जस्तो बहस–छलफल हुनु आवश्यक थियो, त्यसो भएन । प्रस्टरूपमा भन्दा यसलाई बहस छलफलको विषय बनाइन । । सारतः त्यो बैठक जनयुद्धको आन्तरिक विसर्जनको तयारी थियो । आम पार्टीपङ्क्तिलाई भ्रम र अन्योलमा राखेर शब्दजालमार्फत जनयुद्ध समाप्ती र संसदीय राज्यव्यवस्थामा प्रवेशको नाटकीय तयारी थियो चुनवाङ बैठक । पछिल्ला घटनाक्रमले यसलाई पुष्टि गरिसकेका छन् ।
‘शान्तिप्रक्रिया’ मा आएपछि सबै कुरा एकएक गरेर खुल्दैगए । राजतन्त्र हटे पनि मूल वर्गअन्तर्विरोध यथावत् थियो । राजसंस्था हटेको थियो तर सामन्तवाद हटेको थिएन । साँच्चै भन्ने हो भने हामी चीनको सन् १९११ को स्थितिमा समेत थिएनौं । जुन उद्देश्य, मूल्य र प्रतिबद्धताका साथ महान् जनयुद्ध आरम्भ गरिएको थियो, त्यसको सारभूत पक्षमा केही पनि नयाँ कुरा भएको थिएन । आधारभूत लडाइं बाँकी नै थियो । यसै बेला नेतृत्व तहमा रहेकाहरू खासगरेर बाबुराम भट्टराई र उनका समर्थकहरू चरणको कुरा गरेर बुर्जुवा लोकतन्त्र अर्थात् चलनचल्तीमो भाषामा भन्ने गरिएको बिहारी गणतन्त्रमै रमाउने कुराको पुर्पक्ष गर्नथाले । राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति भन्दै बा“की क्रान्ति छोरानातिको भागमा भनेर महान् जनयुद्धका मूल्य, आदर्श र यसका प्राप्तिप्रति नै प्रहार गर्नथाले । विश्वको स्थिति फेरिएको नाममा स्टालिनको सान्दर्भिकता गुमेको र ट्राट्स्कीको युग आएको क्रान्तिविरोधी रागहरू सुनिन थाले । र बाबुरामको मादलको यसै तालमा प्रचण्ड पनि नाच्नथाले । महान् जनयुद्धलाई क्यान्टोनमेन्टमा थन्क्याई यथास्थितिमै लडा जितेको घोषणा गरेर दिउँसै रात पार्ने काम प्रचण्ड–बाबुरामहरू बाट भयो ।
नेतृत्व तहमा रहेका जिम्मेवार कमरेडहरूमा क्रान्ति सम्पन्न भएको कुराहरू व्यक्त गर्ने एक किसिमको प्रतिस्पर्धा नै देखियो । नयाँ जनवादी क्रान्तिका साथै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले स्थापित गरेका मूल्यमान्यता र निरन्तर क्रान्तिको सैद्धान्तिक प्रस्थापनामाथि नेतृत्व तहबाटै खुलेआम प्रहारहरू हुनथाले । हुँदाहुँदै महान् जनयुद्धसित गाँसिएको माओवादलाई पुच्छरको संज्ञा दिएर यसलाई हटाउने कुरा सावर्जनिक घोषणाको विषय बन्यो । माओवादलाई पुच्छर भन्नुको अर्थ आजको मार्क्सवादको परित्याग थियो । एक अर्थमा महान् जनयुद्धकै निषेध थियो । पुच्छर हटाउने यो घोषण सा“च्चिकै गम्भीर र पीडादायी सन्दर्भ थियो । यो आफैमा एउटा गजबको व्यङ्ग्य र विडम्बनाको विषय थियो ।
सत्य के हो भने जब कुनै पार्टी र नेतामा विचलनको स्थिति आउन थाल्छ अनि उसलाई क्रान्ति, मुक्ति, आमूल परिवर्तन, सङ्घर्ष, विद्रोह सबै अर्थहीन लाग्न थाल्छन् । अनि सबैभन्दा पहिले उसले आफ्नो चिन्तनको बाटोमा माओवाद बाधक देख्न थाल्छ । त्यसपछि समय फेरिएको र स्थिति फेरिएको मनचिन्ते व्याख्यामार्फत गलत चिन्तनलाई सैद्धान्तीकरण गर्ने योजनाबद्धताको आरम्भ हुन्छ र आफ्नो सोचाइ र बुझाइअनुरूप कार्यदिशाको व्याख्या गर्नथाल्छ । अनि सङ्कीर्णताबाट मुक्त हुने र व्यापकता अ“गाल्ने नाममा क्रान्तिकारीहरूलाई लात मार्दै पार्टीलाई ‘पेतोफी क्लब’ मा फेर्ने महाअभियान चालू हुन्छ । माओवादको ‘पुच्छर’ हटाएपछि बा“की रहन्छ माओवाद–लेनिनवाद । त्यहाँ पनि मार्क्सवाद–लेनिनवाद सारमा होइन, रूपमा मात्र बाँकी रहन्छ । माओवादलाई हटाएपछि संशोधनवादका सबै ढोकाहरू खुल्न थाल्छन् र बर्नस्टिन, काउत्स्की, तोग्लियाटी र देङहरू सबै ह्वारह्वार्ती पस्न सक्छन् । साम्राज्यवाद र विस्तारवादका लागि पनि यो प्रवेश सहज हुन्छ ।
प्रचण्ड बाबुरामले नेपाली क्रान्तिप्रति गद्दारी गरेपछि पार्टीमा विभाजन हुनु स्वाभाविक थियो । प्रचण्डको नेतृत्वमा रहेको माओवादीबाट क्रान्तिकारीहरू अलग्गिनु सही कदम थियो । कमरेड किरणको नेतृत्वमा नयाँ पार्टीको निर्माण भए पनि यसले जुन गति र दिशा लिनु आवश्यक थियो, त्यसो हुन सकेन । कताकता के के नमिलेको जस्तो भयो । नेतृत्व तहकै कमरेडहरूमा क्रान्तिलाई अघि बढाउने सन्दर्भमा क्रियाशीलता, जुझारुपन र इच्छाशक्तिको सर्वथा अभाव देखियो । कतिपय कमरेडहरूमा फुटेर आएकोमा पश्चातापजस्तो पनि देखियो । क्रान्तिकारी कार्यदिशा तय गरेर अघि बढ्ने कुरामा जुन किसिमको तदारुकता देखिनुपर्ने थियो, त्यसो हुन सकेन । पार्टी गोलचक्कबरमा रमाउन थाल्यो । पार्टीमा अनुभववाद र उमेरवादका द्वन्द्वहरू र गुटबन्दीहरू खुलेर देखापर्न थाले । राष्ट्रिय सहमतिका नाममा सरकारमा जाने, प्रचण्डसित एकता गर्ने जस्ता कुराहरू पार्टीएजेन्डा बन्नथाले । एकातिर कार्यदिशामा रहेको अन्योल, अर्कोतिर राष्ट्रिय सहमति र प्रचण्डसित एकताको उखरमाउलोका कारण पार्टीमा वैचारिक अन्यौल र सङ्गठनात्मक अस्तव्यस्तता चरमरूपमा देखिनथाल्यो । अन्ततः कमरेड विप्लवको नेतृत्वमा एउटा समूह त्यसबाट अलग्गियो । प्रचण्डसित फुट्ता जुन लामो वैचारिक बहस, छलफल र सङ्घर्ष चलेको थियो, विप्लव समूह फुट्ता भने त्यसो हुन सकेन । पार्टी जुन किसिमले चलिरहेको थियो, त्यसमा क्रमभङ्गता आवश्यक भए पनि विप्लव समूह लामो वैचारिक बहस व्यापक छलफल तथा योजनाबद्ध तयारीबिना नै अलग्गियो ।
यसरी हेर्दा अहिले माओवादी नामका थरीथरीका गुटउपगुटहरू भए पनि प्रचण्ड, किरण, विप्लवले नेतृत्व गरेका समूहहरूले मात्र पार्टीगत आकार लिएका छन् । प्रचण्ड समूहले पार्टीसित माओवादी पदावली जोडे पनि यो मालेमाको आधारभूत मान्यताबाट धेरै पर पुगिसकेको छ र अब यसलाई माओवादी पार्टी मान्नुको कुनै आधार र औचित्य देखिँदैन । यसले माओवादको बदनाम मात्र गरेको छ । यसले बहुलवादलाई स्वीकारेको छ र यो यो संसदीय राजनीतिको तावेदार भइसकेको छ । ल्यारकाल लामालाई पार्टीमा भित्र्याउने र ‘भूकम्भ्प पीडितहरू चीन पठाउने’ जस्ता प्रकरणले सो समूह अब भ्रष्ट र अनैतिकहरूको झुन्डमा परिणत भएको छ । नेपालको राष्ट्रियता कमजोर पार्न र माओवादी आन्दोलन सिध्याउन योजनाबद्ध ढङ्गले प्रवेश गरे/गराइएको बाबुराम भट्टराई पनि सो समूहबाट अलग भएर नयाँ काङ्ग्रेस पार्टीको निर्माणका कुदेका छन् । उनका पछिल्ला गतिविधिका कारण उनी सबैका सामु छर्लङ्ग भएका छन् । व्याख्याविश्लेषण गर्नु नपर्ने गरी उनको चरित्र सार्वजनिक भएको छ ।
कमरेड किरणबाट धेरे आशा गरिएको थियो । उहाँ सबैको श्रद्धा, आदर र विश्वासको पात्र हुनुहुन्थो । तर त्यो विश्वासलाई व्यवहारमा प्रस्तुत गर्ने अवसर र इतिहासको चुनौती सामना गर्ने ऐतिहासिक क्षणलाई उहाँले प्रयोग गर्न सक्नुभएन । समय र परिस्थिति सकारात्मक हुँदाहुँदै पनि एउटा सक्षम र गतिशील नेताका रूपमा उहाँले आफूलाई प्रस्तुत गर्न सक्नु भएन । पार्टीमा उहाँप्रति समर्पित ठूलो जनमत थियो, गुमाउनु भयो । पार्टीं अध्यक्ष भए पनि उहाँ महासचिवको कार्यकर्ता जस्तो देखिनुभयो । उहाँका समर्थक र शुभचिन्तकहरूले पनि छोड्दै गए र उहाँ पार्टीभित्रका खाओवादीहरू तथा अल्छ, सुतुवा र गनगनेहरूको एउटा सानो घेराबन्दीमा सीमित हुनुभयो,उनीहरूको मात्र नेता हुनुभयो । उहाँले चाहेको भए पार्टी गोलचक्करबाट मुक्त भएर अघि बढ्नसक्थ्यो र विप्लव कमरेडलाई टोलीसहित बाहिर जानबाट रोक्न सकिन्थ्यो । प्रमुख नेता भएकाले यसमा मूल कमजोरी उहाँकै रह्यो ।
जनयुद्धका मूल्यप्रति पार्टीमा बेवास्ता बढ्दै जानु, पार्टी विस्तारै क्रान्तिकारी स्पिरिटबाट टाढिँदै जानु जनयुद्धको जगलाई छाडेर ‘मूलतः जनविद्रोह’ भनेर नेपालमा कहिल्यै सफल नहुने ‘विद्रोह’ को कार्यदिशामा सीमित हुनु, साङ्गठनिक अस्तव्यस्तता बढ्नु र यसलाई व्यवस्थित गर्न उदासीन बन्नु, वर्गीय प्रश्नभन्दा ‘पहिचानवाद’ मा जोड दिनु, क्षमता र योग्यताअनुसार तलका नेता तथा कार्यकर्तालाई जिम्मेवारी नदिनु, नेतृत्व विकासप्रति उदासीन हुनु, तल जुधारु कायकर्ता र माथि सुतुवा कार्यकर्ताले भरिनु, क्रान्तिकारी आशावादभन्दा ‘अब सकिँदैन’ भन्दै प्रचण्डसित भोजभतेरमा रल्लिनु र लहसिनुजस्ता गतिविधिले पार्टी अकर्म्न्यतामा फस्यो सारतः विसर्जनको दिशातर्फ प्रवृत्त हुनथाल्यो । अयोग्हरूलाई योग्यले नेता मान्नुपर्ने विडम्बना र सक्षम र योग्यहरू तिनका नीरिह कारिन्दा बन्नुपर्ने अवस्थाले पनि अन्ततः पार्टी फुट्यो । यही तालमा लामो अवधिसम्म पार्टी एक ढिक्का भएर जान सकिने अवस्था थिएन, तर विप्लव समूहको विभाजनअघि जे-जति वैचारिक तथा कार्यदिशाका विषयमा छलफल गरिनुपथ्र्यो, आन्तरिक बहसछलफललाई जति घनीभूत बनाउनु पथ्र्यो त्यो चाहिँ भएको देखिएन, पाइएन । पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्दा पनित यो समूह बाहिरिए पार्टीमा एकलौटी निर्णय गर्न पाइन्थ्यो, प्रचण्डसितको एकता सहज हुन्थ्यो भन्नेहरूका सामु कमरेड किरणको आत्मसमर्पणले गर्दा पनि विप्लव समूह बाहिरिने स्थिति बन्यो । र पनि बाहिरिनुअघि वैचारिक लगायत अन्य विषयमा जेजति घनीभूत बहसछलफल जनमत निर्माणको वातावरण बनाउनुपथ्र्यो त्यसो हुननसेकाका कारण आम कार्यकर्ता तथा शुभचिन्तकहरू नै अलमलमा परेको देखियो । विभाजन अप्रत्यासित तथा प्रायोजितजस्तो देखापर्यो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नयाँ पार्टी बनेको पनि एक वर्ष भइसकेको छ । मध्यम वर्गलाई नेपाली क्रान्तिको प्रमुख आधार मान्ने यो समूहले राष्ट्रियता र जनजीवीकाका प्रश्नहरूलाई लिएर गरेको सडक आन्दोलन सह्रानीय भए पनि नेपाली क्रान्तिका लागि यसले अघि सारेको कार्यदिशा अमूर्त र भ्रमपूर्ण यसले निकै अन्योल उत्पन्न गरेको छ । ‘एकीकृत क्रान्ति’ नेपाली क्रान्तिको स्वरूप हो कि कार्यदिशा? भन्ने कुरामा प्रस्ट नभएको विप्लव समूहको कार्यदिशालाई पछिका दिनमा यस समूहले गर्ने व्यवहारबाट नै बढी प्रस्ट होला भन्न सकिन्छ । यसले गरेको नेपाली समाजको विश्लेषण पनि वैज्ञानिक र मार्क्सवादसम्मत छैन ।
मालेमाका आधारभूत मूल्य मान्यता र क्रान्तिसम्बन्धी मूल्यका आधारमा हेर्दा किरण र विप्लव समूह दुवैले आधारभूत पक्षलाई गहन र गम्भीरताका साथ आत्मसात गर्न सकेको देखिँदैन । किरण समूहको परिथापासितको एकताले सङ्ख्यात्मक र गुणात्मक कुने योगदान दिन सकेको छैन । यसले सो समूहलाई द्रुत गतिमा दक्षिणपन्थी विसर्जनवादतिर लान मात्र सहयोग पुर्याउने छ । वास्तवमा किरण समूहका सामु प्रचण्डसित एकता अथवा विसर्जनसिबाय अरू विकल्प देखिँदैन । कार्यदिशालाई प्रस्ट पार्दै र कतिपय कमजोरी सच्याउँदै अघि बढ्न सकेमा विप्लव समूहबाट केही आशा गर्न सकिने ठाउँ रहे पनि यताका दिनमा सो समूहमा आर्थिक उत्प्रेरणा र गुटबन्दीले प्रोत्साहन पाएको समाचार र टिप्पणी जसरी बाहिर आउका छन्, यसले थुप्रै प्रश्न उठाएको छ ।
समग्रमा हेर्दा नेपालको माओवादी आन्दोलन निकै जटिल र दोसाँधको मोडमा छ भन्नुपर्ने हुन्छ । यो दुस्मनका कारणले नभएर माओवादी पार्टीमा देखापरेको र वैचारिक विचलनका कारणले हो । यस अर्थमा नेपालमा माओवादी झण्डा कसरी गर्ने भन्ने प्रश्न टडकारो छ । प्रचण्डको गद्दारीपछि हामीले कमरेड किरणबाट जेजस्तो आशा गरिएको थियो, उहाँलाई जसरी बुझिएको थियो, त्यसो होइन रहेछ । कहिले प्रचण्ड र कहिले उपेन्द्र यादवको पुच्छर बन्ने प्रवृत्तिले कमरेड किरण र सो समूहको क्षमता र हैसियतलाई राम्रोसित प्रस्ट्याएको छ ।
सत्य के हो भने माओवाद पदावली मात्र होइन, सारतत्व पनि हो । जनयुद्ध ‘जनताको युद्ध = जनयुद्ध होइन । माओवादी विचार, राजनीति र फौजी कार्यदिशा सारमा माओवादी जनयुद्धको आफ्नै मूल्य मान्यता छन् l माओवादलाई शब्दमा लिने, तर सारतत्व छोडिदिने प्रवृत्तिले यसको विकास होइन विनास मात्र गराउँछ । अबको संशोधनवाद सोझै माओवादको झण्डाका साथ आउँछ र आएको छ । नेपाली क्रान्ति नेपाली नेपाली जनयुद्धको बाटो भएर नगुज्री धरै छैन । यो भनेको नेपालको सन्दर्भमा माओले अधि सारेको नयाँ जनवादी क्रान्ति नै हो । यो आफैँमा क्रान्तिका तीन जादुगरी हतियारसहितको संयुक्त र एकीकृत क्रान्ति हो । नयाँ जनवादी क्रान्तिलाई सही अर्थमा आत्मसात गरेको हो भने, सही अर्थमा माओवादलाई ग्रहण गरेको हो भने फेरि अर्को पादावलीको पुच्छर झन्ड्याइरहनु आवश्यक छैन ।
कार्यदिशा सही हुनु र गलत हुनुले सबै कुरा निर्धारित गर्छ भन्ने कुरालाई हामीले शब्दमा कण्ठ गर्यो,तर यही कुरा व्यवहारमा लान नसक्नु र आआफ्नै सुविधा र स्वार्थमा नेपाली समाजको विश्लेषण गर्दै माओवाद र यसको कार्यदिशाको व्याख्या गर्नु अहिलेको प्रमुख समस्या हो । माओवादको आकर्षणमा मोहित हुने यसलाई व्यवहारमा आत्मसात नगर्ने, क्रान्तिका कुरा गर्ने, तर यसका आधारभूत पक्षप्रति इमानदारीका साथ तयारी नगर्ने, शब्दखेलमा रमाउने सडकदेखि सठकसम्मको गोलचक्करीय प्रवृति अहिलेको समस्या हो र यो आफूलाई क्रान्तिकारी भन्नेहरूको पनि समस्या हो । व्यक्तिगत रूपमा कमरेड किरणप्रति आदर गर्न सकिए पनि अब तयो समूहको नियति भनेको वैचारिक र साङ्गठनिक विसर्जन नै हो । यस्तो बेला सबैको ध्यान विप्लव समूहतर्फ जानु स्वाभाविक छ । कायृदिशाको स्पष्टतासहित यसले सही गति र दिशा लेओस् भन्ने कुराको कामना गर्नुलाई अन्यथा ठानिनु हुन्न ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.