माओवादी : नयाँ नेतृत्त्व स्थापनाको प्रश्न

इन्द्रमोहन सिग्देल ‘वसन्त’

(एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड वसन्तका दुइटा रचनाहरू: ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्ति’ र ‘नयाँ ढङ्गको पार्टी निर्माणको प्रश्न’  नेपाली र अङ्गेजी दुवै भाषामा विश्वव्यापी स्तरमा पाठकसम्म पुगेका छन् र तिनका बारेमा दुवै थरी पाठकबाट तीव्र प्रतिक्रियाहरू पनि आएका छन् । ‘प्रचण्डको चिन्तनको चिरफार गरी उनमा वैचारिक विचलनमात्र  होइन, उनी वैचारिक रूपबाटै पतन भएको भन्ने अनि रूपान्तरण पनि भन्ने जस्ता विरोधाभासपूर्ण भनाइ आए’ भन्ने कतिपयको भनाइ छ । ‘यो खु्स्चेबलाई लेनिन बनाउने अवैज्ञानिक र मार्क्सवादविरोधी तर्क हो’ भन्ने पनि कतिपयको प्रतिक्रिया आएको छ ।कतिपयले ‘कुरामा क्रान्तिकारी हुने र व्यवहारमा प्रचण्डकै सेरोफेरोमा रमाउने अथवा प्रचण्डको नेतृत्वबाट टाढा जान नचाहने, आफूमा अविश्वास भएकाहरूको नयाँ ढङ्गको सारसङ्ग्रहवादी लफ्फाजी मात्र हो’ भन्दै सम्बन्ध विच्छेदमा जोड दिएका छन् । क्रान्तिकारी नेताहरूका कुरा र व्यवहारलाई लिएर क्रान्तिकारी पङ्क्तिभित्रै  पनि ‘जुझारू सुधारवादको खतरा’, ‘कुरौटे क्रान्तिकारीहरू, ‘बार्गेनिङको राजनीति’ ‘नयाँ किसिमको सारसंग्रहवाद’ जस्ता टिकाटिप्पणीहरु उठिरहेको अवस्थामा हामी पाठकहरूबाट पनि बहस र छलफलको आशा गर्दछौं  । यसबारे हाम्रो प्रतिक्रिया हामी छिटै प्रकाशमा ल्याउनेछौं । अहिले चाहिं वसन्त कमरेड लिखित ‘नयाँ ढङ्गको पार्टी निर्माणको प्रश्न’ शीर्षकको नेपाल सन्दर्भसित सम्बद्ध अंशलाई  यहाँ प्रस्तुत गरेका छौं ।

पार्टीनिर्माणबारे हाम्रो आफ्नै अनुभव

पार्टी स्थापनादेखि अहिलेसम्मको करिब ६० वर्षको पार्टीनिर्माणबारे नेपाली कम्युनिस्ट आन्दोलनको अनुभवलाई सविस्तार व्याख्या गर्न यो छोटो लेखमा संभव छैन । पार्टीनिर्माण, वैचारिक तथा राजनीतिक सङ्घर्षका र नेपालमा नयाँ जनवादी क्रान्तिको विकासका दृष्टिले २०४८ मा सम्पन्न एकता महाधिवेशनदेखि २०५१ मा ने.क.पा. (माओवादी) बन्ने प्रक्रियाको करिब तीन वर्षको हाम्रो पार्टीको अनुभव निकै महत्वपूर्ण रहेको छ । त्यसमा पनि पार्टीभित्रको वैचारिक सङ्घर्षको स्थिति र सारसङ्ग्रहवादबाट मुक्त गरी पार्टीलाई कसरी क्रान्तिकारी बनाउने भन्नेबारे २०५० तिर पार्टीले तलसम्म एउटा परिपत्र पठाएको थियो । उक्त परिपत्रमा उठाइएका कुराहरूले पार्टीको क्रान्तिकारी रूपान्तरणका लागि अर्थात नयाँ ढङ्गको पार्टीनिर्माणका लागि त्यतिबेला निर्णायक भूमिका खेलेको थियो । ती कुराहरूको महत्व आज पनि कम भएको छैन । बरु आज पनि पार्टीमा त्यही स्तरको तीखो वैचारिक सङ्घर्ष आवश्यक भइसकेको छ ।

उक्त परिपत्रले त्यतिबेला पार्टीको आन्तरिक विरोधाभासपूर्ण अवस्थालाई बहुत मार्मिक ढङ्गले उजागर गरेको थियो । एकता महाधिवेशनद्वारा पारित दीर्घकालीन जनयुद्धको थालनी गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र बहस चर्किएको स्थितिमा पार्टीको आन्तरिक वैचारिक समस्यालाई चिरफार गर्न र पार्टीको क्रान्तिकारी रूपान्तरण गर्न सो परिपत्र एउटा महत्वपूर्ण वैचारिक औजार साबित भएको थियो । “सहरमा दशौं हजारको जुलुस पनि निकाल्नैपर्ने, गाउँमा छापामार युद्ध पनि गर्नैपर्ने”, “संसदीय चुनाव पनि जितनैपर्ने,  जनयुद्ध पनि लडनैपर्ने”, “भूमीगत जान पनि नसकिने, खुला बस्न पनि नहुने”, “खसी पनि काट्नैपर्ने, रगत पनि चुहिन नहुने” आदिआदि जस्ता विरोधाभासपूर्ण स्थितिको अन्त नभई पार्टीमा क्रान्तिकारी रूपान्तरण हुन सक्दैन र जनयुद्ध दिवास्वप्न मात्र हुन्छ भन्ने कुरालाई उक्त परिपत्रले जोड दिएर उठाएको थियो । (नोट : परिपत्र प्राप्त नभएको हुनाले उद्धरणचिन्हभित्रका वाक्यांशहरू उक्त परिपत्रसंग जस्ताको तस्तै नमिल्न सक्छन्, तर सार भिन्न छैन) । त्यतिबेला कमरेड प्रचण्डको नेतृत्वमा पार्टीले मूख्य र सहायक कामहरूमा स्पष्ट रेखाङ्कन गर्दै मूख्य कामलाई जोड दिन र सहायक कामलाई ध्यान दिन, संश्लेषणमा जोड दिन र विश्लेषणमा ध्यान दिन पूरै पार्टी पङ्क्तिलाई निर्देश गरेको थियो । यसरी नयाँ प्रकारको पार्टी निर्माणका सन्दर्भमा गरिएको यो परिपत्र पछि पार्टीमा अन्तरसङ्घर्ष र वर्गसङ्घर्षको अन्तरसम्बन्धलाई बुझ्ने र पार्टीलाई सही विचारका आधारमा एकताबद्ध बनाई जनयुद्धको थालनी र विकास गर्ने कुरामा थप वैचारिक स्पष्टता हासिल भएको थियो ।

अहिलेको पार्टी र जनविद्रोह

हाम्रो पार्टीको आन्तरिक जीवन यतिबेला नितान्त गम्भीर र विरोधाभासपूर्ण पनि छ । विचार र राजनीतिमा यति धेरै अस्पष्टताको स्थिति यो भन्दा पहिला पार्टीमा सायद कमै थियो । माओवाद भने पनि हुने विचार भने पनि केही नहुने, जनताको गणतन्त्र भने पनि हुने लोकतान्त्रिक गणतन्त्र भने पनि फरक नपर्ने,  भारतीय विस्तारवाद र त्यसका नेपाली दलालहरुसंग नेपाली जनताको अन्तर्विरोध प्रधान हो पनि भन्नैपर्ने भारतीय सहयोगमा तिनै दलालहरूसंग संयुक्त सरकार पनि बन्नैपर्ने, जनविद्रोह पनि भनी  राखनुपर्ने जनमुक्ति सेनाको विघटन र हतियार हस्तान्तरण पनि गर्नैपर्र्ने, पार्टीको शुद्धीकरण गर्नुपर्छ पनि भन्नैपर्ने भ्रष्टाचार र तस्करी गर्न पनि छाड्नै नसकिने, पार्टीको क्रान्तिकारी चरित्रको रक्षा गर्नुपर्छ पनि भन्नैपर्ने हिजोका अपराधीहरूलाई पार्टीमा नभित्र्याई पनि नहुने,  कमिटीप्रणाली चुस्तदुरुस्त बनाउनुपर्छ पनि भन्नैपर्ने एउटा जिल्ला समितिमा ६०० जनासम्म सदस्यहरू पनि हुनैपर्ने आदि कुराले हाम्रो पार्टीको अहिलेको अवस्थालाई स्पष्ट गर्दछ । पार्टीको अवस्था यही रहिरहने हो भने यसले अहिले हामीले भन्दैआएको माओवादी पार्टी, जनविद्रोह, जनताको सङ्घीय गणतन्त्र, नयाँ जनवादी क्रान्ति, समाजवाद तथा साम्यवाद जस्ता शव्दहरू एक दिन जनताका सामु उच्चारण गर्नसम्म पनि लाज लाग्ने अवस्था नल्याउला भन्न सकिन्न ।

यहाँनेर एउटा प्रश्न उठ्छ । के हाम्रो नेतृत्वलाई पार्टीको अवस्था कमजोर भएपछि क्रान्ति हुन सक्दैन भन्ने कुरा थाह थिएन, छैन ? त्यस्तो लाग्दैन । बरु यो त २१ औं शताब्दीको सुधारवादको विशेषता हो भन्ने देखिन्छ । २०औं शताब्दीका सुधारवादीहरूले विचारको क्रान्तिकारी आत्मामाथि आक्रमण गरेर आफ्नो दक्षिणपन्थी विचलनलाई उजागर गर्दथे । ख्रुस्चेबले शान्तिपूर्ण सङ्क्रमण भन्यो, सम्पूर्ण जनताको राज्य भन्यो, लिउ साआोचि र तेङ सियाओ पेङहरूले वर्गसङ्घर्षको विरोध गरे, पुँजीवादी उत्पादनसम्बन्धको विकास गर्नुपर्ने कुराको वकालत गरे । मदन भण्डारी बहुदलीय जनवादको सुधारवादी खोल ओडेर आए । हाम्रो नेतृत्वले अहिलेसम्म शान्तिपूर्ण सङ्क्रमण भनेको छैन, खुलेर वर्गसङ्घर्षको विरोध पनि गरेको छैन । क्रान्तिको विकास गर्नुपर्छ भन्ने नाममा, मौलिक र सिर्जनशील हुनुपर्छ भन्ने नाममा मार्क्सवादका आधारभूत कुरालाई क्रमशः छाडदैगएको छ । राष्ट्रिय सहमतिको बहानामा नेतृत्वले वर्गसमन्वयतिर र राष्ट्रिय आत्मसमर्पणवादतिर सिङ्गो पार्टीलाई धकेल्दैछ । यो पार्टीको मूल नेतृत्वमा देखापरेको दक्षिणपन्थी विचलनकै परिणाम हो । मार्क्सवादको विकासजस्तै संशोधनवादको पनि विकास हुन अनिवार्य हुन्छ किनभने पुरानै तरिकाले संशोधनवादले पनि आफ्नो रक्षा गर्न सक्दैन । कुरा क्रान्तिको तर व्यवहार अकर्मण्यता र सुधारको स्थिति जुन अहिले पार्टीको मूल नेतृत्वमा देखिएको छ, यो स्थितिको अन्त नहुँदासम्म नयाँ ढङ्गको पार्टी बन्ने, पार्टीले क्रान्तिको नेतृत्व गर्ने भन्ने कुरा कल्पनाबाहेक अरू केही हुन सक्दैन ।

त अब के ?

माओले भन्नुभएको थियो क्रान्तिको निमित्त क्रान्तिकारी पार्टीको निर्माण पहिलो सर्त हो । त्यसकारण क्रान्तिका निम्ति अहिलेको हाम्रो आवश्यकता पार्टीको क्रान्तिकारी रूपान्तरण हो र त्यसको पहिलो सर्त नेतृत्वको रूपान्तरण नै हो । अहिले पार्टीभित्र चलिरहेको विचार सङ्घर्षको उद्देश्य पनि सामान्यतः सिङ्गो पार्टीको र विशेषतः पार्टीको मूल नेतृत्वको क्रान्तिकारी रूपान्तरण हो, नेतृत्वको विस्थापन होइन । आमक्रान्तिकारी कार्यकर्ता र स्वाभिमानी नेपाली जनता नेतृत्वमा रूपान्तरण चाहन्छन्, पार्टी क्रान्तिकारी बनोस् भन्ने चाहन्छन्, पार्टी एकता मजबुत होस् भन्ने चाहन्छन् र पालुङ्टारको सन्देश पनि यही हो । तर रूपान्तरण भएर क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्न अगाडि आउने कि क्रान्तिको नाममा सुधारवादलाई मलजल गरेर २१औ शताब्दीमा दक्षिणपन्थी अवसरवादको नाइके हुने यसको जवाफ स्वयम पार्टीको मूल नेतृत्वले दिने कुरा हो, अरुको अनुरोध वा आग्रहमा हुने कुरा होइन ।

देशको वस्तुगत अवस्था क्रान्तिका निमित्त अत्यन्त अनुकुल बन्दैगइरहेको छ । पार्टीको क्रान्तिकारी रूपान्तरणबिना यो अनुकूलता स्वतः क्रान्तिमा बदलिंदैन । क्रान्तिकारीहरूका काँधमा अहिले गहन जिम्मेवारी आएको छ । मूल नेतृत्वलगायत सिङ्गो पार्टीलाई रूपान्तरण गर्नका निमित्त सहयोग गर्ने, पार्टीको एकतालाई मजबुत बनाउने र क्रान्तिलाई अगाडि बढाउने जिम्मेदारी पार्टीभित्रका सच्चा क्रान्तिकारीहरूकै हो, सुधारवादीहरूले यस्तो गर्दैनन् । त्यसमा क्रान्तिकारीहरूले हर प्रकारको त्याग देखाउनैपर्छ । तर मूल नेतृत्वमा रूपान्तरण नभए के गर्ने ? यस प्रश्नको जवाफ पनि अब स्पष्ट भइसकेको छ । के कुरा सत्य हो भने परिस्थिति जतिसुकै चुनौतीपूर्ण भए पनि एउटा सच्चा क्रान्तिकारी कुनै पनि प्रकारको चुनौतीबाट पर भाग्दैन, र हर प्रकारका चुनौतिहरूको सामना गर्न आफूलाई तयार पार्ने कुरा नै उसको परिचय हुन्छ । केबल तयार हुने मात्र होइन, मूख्यतः २०५२ सालदेखि यताको क्रान्तिकारी वर्गसङ्घर्षको अनुभवसहित खरिपाटीदेखि पालुङ्टार हुंदै पछिल्लो केन्द्रीय समितिमा प्रस्तुत दस्ताबेजसम्म आइपुग्दा संचालित विचारसङ्घर्षले केवल नीतिलाई मात्र होइन,  नेतृत्वलाई पनि स्थापित गर्दैआएको छ । यो प्रक्रियामा सहभागी भएका हाम्रो पार्टीका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूको विशाल पङ्क्ति नयाँ  ढङ्गको क्रान्तिकारी पार्टीको निर्माण गर्न र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्षम छन् र त्यो जिम्मेवारी लिन तयार हुनेछन् । अन्ततः क्रान्ति र क्रान्तिकारीहरूको जित अपरिहार्य छ ।

000

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.