माओवादी आन्दोलन र सङ्गठनात्मक समस्या

Baral NPडा. ऋषिराज बराल
सङ्गठनको प्रश्न भनेको सामान्य ढाँचा अथवा स्वरूप मात्र होइन, यो भनेको कुन उद्देश्य पूर्तिका लागि कस्तो किसिमको सङ्गठन बनाउने भन्ने प्रश्न हो । उद्देश्यसित सङ्गठनको ढाँचा र कार्यशैली जोडिएको हुन्छ । योसित विचार, नेतृत्व, कार्यदिशा, नीति योजनाहरू घनिष्ठ रूपमा गाँसिएक हुन्छन् । जति राम्रो कार्यदिशा भए पनि त्यसलाई सही ढङ्गले लैजाने कार्यकर्ताहरू तथा सङ्गठन भएन भने अथवा सही किसिमले सङ्गठन परिचालन गर्ने नेतृत्वपङ्क्ति भएन भने त्यो अर्थहीन साबित हुन्छ ।

 
कम्युनिस्ट आन्दोलनमा सङ्गठन निर्माण र परिचालनको कुरा गर्दा लेनिनवादी सङ्गठनात्मक पद्धतिको कुरा निकै गर्नेगरिन्छ । स्टालिनले “ठीक मान्छे ठीक ठाउँमा” को नारा नै अघि सार्नुभएको थियो । कम्युनिस्ट आन्दोलनमा सङ्गठन परिचालनमा जनवादी केन्द्रीयतालाई आधार बनाइन्छ । जनवादी केन्द्रीयताले विधि र पद्धतिलाई जोड दिन्छ । प्रमुख कुरा त कस्तो सङ्गठन बनाउने र कस्ता पात्रहरूलाई महत्व दिने भन्ने हो । सङ्गठनका लागि सङ्गठन नभएर क्रान्तिका लागि सङ्गठन भन्ने कुराले विशेष महत्व राख्ने हुनाले त्यहाँ नेतृत्व तहमा पात्रहरूको चयनको अहम् महत्व हुन्छ । यो सोझै विचारसित जोडिएको प्रश्न हो । सैद्धान्तिक तहमा यसप्रति सबै नेताहरू प्रस्ट भएको जस्तो लागे पनि व्यवहारको तहमा भने यसमा निकै भद्रगोल र अस्तव्यस्तता देखिन्छ । वास्तवमा माओवादी आन्दोलनमा खासगररे कार्यदिशाको प्रश्नलाई भद्रगोल र लथालिङ्गको स्थितिमा पुर्याउने र अन्ततः विसर्जनवादी शून्यवादमा पुर्याउने प्रमुख कारकतत्वहरूमा सङ्गठन निर्माण तथा परिचालन सम्बन्धी गलत बुझाइ र सोचाइ पनि हो । यो रोगकै रूपमा नेपालको माओवादी आन्दोलनमा विस्तारित भएको छ । यो नेपालको माओवादी आन्दोलनको पछिल्लो चरणले देखाएको यथार्थ हो ।

 
जब पार्टीमा काम गर्नु भनेको जागिर खानुजस्तो हो भन्ने ठानिन्छ, जब काम गरे पनि नगरे पनि योग्यता र क्षमताको अर्थ छैन भन्ने कुरा देखिन्छ र बुझिन्छ र स्वतः प्रमोसनको चिन्तनपद्धति रीतिथितिकै रूपमा पार्टीमा स्थापित हुन्छ, जब कामभन्दा अनुभव र, योग्यता र क्षमताभन्दा ‘सम्बन्ध’ हाबी हुन्छ, अनि सङ्गठनमा भद्रगोलले राज गर्छ । जागिरे मानसिकताको अनुभववादीहरू माथिल्लो तहमा पुग्छन् र क्षमता र योग्यता पछि पर्छ । अनि एउटा कार्यकर्ताले सारा युवा अवस्था, ऊर्जाशील कालखण्ड अयोग्य र स्वतः प्रमोसनवाला अल्छे र निकम्बा नेतृत्वको सेवामा बिताउँनु पर्ने अवस्था आउँछ । नेपालको माओवादी आन्दोलनको सङ्गठनात्मक क्षेत्रमा यो सबैभन्दा जटिल र गम्भीर समस्या हो ।

 
रोचक कुरा के छ भने युद्धकालमा एउटा गजबको सन्दर्भले विशेष चर्चा पाएको थियो । कोबाट र कसरी यो सन्दर्भ आयो भन्ने कुराले खासै अर्थ राख्दैन । जननयुद्धकालमै “पिबिएमकी श्रमिती सिसिएम र सिसिएमकी श्रीमती आरबिएम नहुँदा व्यवहार मिलाउन गारो पर्नेरहेछ” भन्ने टिप्पणी जोडदार रूपमा उठेको थियो र यसले व्यवहारमा मान्यता पनि पायो । पछिपछि गएर यो माओवादी पार्टीको सङ्गठनात्मक दर्शन र पद्धतिकै रूपमा स्थापित भयो । ‘स्वतः प्रमोसन’ र ‘श्रीमती कमरेडहरूको प्रमोसन’ प्रकरणको सबैभन्दा पछिल्लो र प्रस्ट रूप बैद्य समूहले प्रकाशित गरेको ‘सेवा आयोग’ को पछिल्लो परिणाममा देख्न सकिन्छ । क्रान्तिकारी पार्टीको स्थायी समितिमा केकस्ता नेताहरू हुनुपर्ने र स्वतः प्रमोसनले केकस्ता ‘नेताहरू’ पुग्दा रहेछन् भन्ने कुराको सुन्दर उदाहरण वैद्य समूहको पछिल्लो ‘सेवा आयोग’ को परिणामले प्रस्तुत गरेको छ । माओले यस्तालाई भुत्ते कर्दहरूको जमघटको संज्ञा दिनुभएको छ ।

 
यही कुरा नेतृत्व निर्माणमा पनि देखिएको छ । आफूलाई माओवादी भन्ने तर नयाँ नेतृत्व तथा उत्तराधिकारी निर्माणसम्बन्धी माओले अघिसारेका मान्यताहरू त्यसमा पनि ‘एकमा–तीन’ लाई महत्व नदिने प्रवृत्ति माओवादी आन्दोलनको गम्भीर समस्या हो । विभिन्न क्षेत्रसित सम्बद्ध क्षमता र प्रतिभाहरूको खोजी, पहिचान तथा प्रशिक्षण जस्ता कुराहरूमा नेतृत्व तहमा पुगेका नेताहरूमा अलिकति पनि रुचि र चासो देखिँदैन । माओवादी आन्दोलनमा अध्ययन–चिन्तन गर्ने/गराउने तथा नेतृत्वको निर्माण गर्ने कुरा एकादेशको कथाजस्तो भएको छ । एकपल्ट टाउकोमा पुगेपछि जतिसुकै अयोग्य र नालायक भए पनि उसले तल झरेर काम गरेको इतिहास माओवादी आन्दोलनमा पाइँदैन र तल झरेर काम गर्नुपर्छ भन्ने संस्कृति पनि विकसित भएको पाइँदैन । अनि नेतृत्व तहमा अकर्मण्यतावादी र अनुभववादी फोहोरमैलाको डङ्गुर थुप्रिनु स्वाभाविक हुन्छ ।

 
हामी नेता हुनुमा गर्व गछौँ । आफ्नु आवश्यकता अनुसार माओले यसो भने र उसो भने भनेर खूबै अध्ययनशील भएको देखाउन पनि चाहन्छौँ । सत्य कुरा के हो भने चाहे युवा पुस्ता होस्, चाहे पाका र बृद्धहरूको जमात, अध्ययनचिन्तनमा हाम्रो रुचि घट्दैगएको छ, छँदै छैन भने पनि हुन्छ । समयसँगै र अध्ययन पनि अद्यावधिक हुनुपर्छ भन्ने बोध हामीबाट हराउँदैगएको छ । हाम्रा कतिपय नेताहरूको सम्पति भनेको अनुभववादी व्यवहारवाद मात्र हो, समयको क्रममा तिनले अरू कुरा गुमाइसकेका छन् । नेताहरू अध्यनचिन्तनमा अल्छे भएपछि र सिर्जनशीलतामा बाँझो भएपछि यसको असर तलका पार्टी कमिटीहरूमा पर्छ नै । पार्टीको नेतृत्व तहमा पुग्नेहरूले, आफू नेता हुनुको दाबी गर्नेहरूले अरू केही नगरे पनि कम्तीमा पनि माओको “ नेतृत्वका तरिकाहरूसित सम्बन्धित केही प्रश्नहरू” अध्ययन गरे मात्र पनि ठूलै कुरा हुन्थ्यो । तर माओवादी आन्दोलनको नेतृत्व तहमा पुगेकाहरू सदैब कुर्सी मोह र एउटा नजानिँदो आशङ्काबाट ग्रस्त देखिन्छन् । त्यसले उनीहरूलाई गुटबन्दीमा फसाउँछ र क्रान्ति होइन, आफ्नै अस्तित्वका लागि चिन्तित तुल्याउँछ । यतिबेर नेपालका माओवादी पार्टीहरूका अधिकांश नेता यसै रोगबाट आक्रान्त देखिन्छन् । प्रचण्ड समूह नव- प्रतिक्रियावादमा पतन भएकाले उसलाई माओवादी कित्तामा राख्नुको अर्थ छैन । संगठनात्मक केही समस्या विप्लव समूहसित पनि छन् तापनि यस मामिलामा बैद्य समूह सबैभन्दा अगाडि देखिन्छ ।

 
माओवादी सङ्गठन समाजमा रहेका सर्वोत्कृष्ट पात्रहरूको सङ्गठन मानिन्छ । यो योग्य कायकर्ता र नेताहरूको सङ्गठन मानिन्छ । प्रस्टताका साथ भन्नुपर्ने हुन्छ, अनुभव र अध्ययनमा केही समस्या रहे पनि नेपालको माओवादी आन्दोलनमा नेताभन्दा कार्यकर्ता सक्षम छन् र ती हरेक मोर्चामा योग्य साबित भएका छन् । माथिको कमिटीका भन्दा तलका कमिटीका कार्यकर्ताहरू क्रान्तिप्रति प्रतिबद्ध र इमानदार साबित भएका छन् । यसका सम्बन्धमा माओको भनाइ निकै सान्दर्भिक छ : “एउटा महान् सङ्घर्षको सुरु, मध्य र अन्तिम चरणमा धेरैजसो स्थितिमा नेतृत्वदायी टोली सुरुदेखि अन्त्यसम्म एकदमै अपरिवर्तित हुन्छ भन्ने हुँदैन र हुन पनि सक्दैन । सङ्घर्षका क्रममा अघि बढ्ने सक्रिय पात्रहरूलाई, नेतृत्वदायी टोलीमा पहिलेदेखि रहिआएका तुलनात्मकरूपले तीभन्दा कम स्तरका सदस्यहरूको ठाउँमा वा भ्रष्ट भएका सदस्यहरूका ठाउँमा निरन्तर पदोन्नति गर्नैपर्छ ।” विडम्बनाको कुरा के छ भने नेपालका माओवादी पार्टीका नेताहरू यतिबेर फासिवादी सरकारका भ्रष्ट नोकरसाहहरू जस्ता भएका छन् ।

 
वास्तवमा नेपालको माओवादी आन्दोलनको सङ्गठनात्मक पद्धति भनेको अयोग्य जति टाउकामा बस्ने र योग्यहरू तिनका कारिन्दा बन्ने सिद्धान्तमा आधारित भएजस्तो लाग्छ । अयोग्यहरूले योग्यमाथि हुकुम चलाउने, शासन गर्ने ‘जनवादी केन्दीयता’ को कारण पनि बैद्य समूहबाट विप्लव समूहले विद्रोह गर्नुपर्ने अवस्था आइपरेको हो भन्न सकिन्छ । यही कुरा यस टिप्पणीकारले बैद्य समूह विरुद्ध गरेको विद्रोहका सन्दर्भमा पनि लागु हुन्छ । न विचारले ऊर्जा दिन्छ न त नेतृत्वले नै दिशाबोध गराउन सक्छ । यस्तो बेला विद्रोह स्वाभाविक र अनिवार्य बन्छ । योग्यता र क्षमताका आधारमा भन्दा पार्टीभित्र विकसित कोटरीबाद र जोडघटाउका कारण टुप्पी समातेर उठाइएका टाउकाहरूले जब पार्टीको माथिल्लो तह भरिन्छ र योग्यहरू तल बसेर सबै टुलुटुलु हेर्नुपर्ने स्थिति आउँछ, पार्टीमा वैचारिक स्खलन र साङ्गठनिक अस्तव्यस्तताको आरम्भ पनि त्यहीँबाट हुन्छ र विद्रोहले बाटो खोज्छ । पार्टी, पार्टी नभएर त्यो अक्षम, कामचोरहरू, द्रव्यपिचास, सुतुवा र थाकेकाहरूको आश्रम (वृद्धाश्रम) मा परिणत हुन्छ । नेपालको माओवादी आन्दोलनमा प्रमोसनवादको सुन्दर उदाहरण यतिखेर बैद्य समूह बनेको छ ।

 
सङ्गठन परिचालन र नेतृत्व निर्माणका सन्दर्भमा हामी माओको नाम निकै लिन्छौँ । तर व्यवहार चाहिँ ठीक विपरीत गरिरहेका हुन्छौँ । वास्तवमा, नेपालको माओवादी आन्दोलन र सङ्गठनात्मक पक्षको रूपरेखा हेर्दा यो माओवादी मान्यताको ठीक विपरीत देखिन्छ । यहाँ लामो व्याख्या नगरी माओको भनाइ प्रस्तुत गर्नु बढी सान्दर्भिक हुन्छ :

“केही कमरेडहरू ‘सम्पतिअनुसार पुस्ताको वर्गीकरण’ गर्नुपर्छ भन्ने सोच्छन् । उनीहरूले, अनुभवलाई मात्र ‘सम्पति’ ठान्छन् । क्रान्तिकारी अनुभव निकै मूल्यवान वस्तु हो भन्ने हामी मान्छौँ । एउटा कार्यकर्तासँग अनुभवको यथेष्ट सम्पत्ति छ भने, सामन्यतः कार्यदिशाको प्रश्नमा उसको उच्च चेतना हुन्छ र काममा अझ धेरै अनुभव पनि । त्यसकारण, हाम्रो पार्टीले पुराना कार्यकर्ताहरूलाई मूल्यवान सम्पत्तिका रूपमा हेर्छ । परन्तु, हामीले एकातिर अनुभवको सम्पत्ति र अर्कोतिर प्रतिभा र योग्यतालाई तुलना गर्ने हो भने अघिल्लो चाहिँ दोश्रो उत्तममा पर्दछ । हामीले अनुभवलाई अति धेरै महत्व दिनु हुँदैन, यो क्षमता र योग्यताभन्दा माथि होइन । यदि हामीले पुस्तालाई तिनीहरूको ‘सम्पत्ति’ का आधारमा ‘वर्गीकरण’ गर्ने गर्छौं भने हामीले कार्यकर्ताको ‘क्षमता’ र ‘योग्यता’ तिर होइन, बरु कार्यकर्ताको ‘सम्पत्ति’ र उनीहरू कुन ‘पुस्ता’ का हुन् भनेर मात्र हेरिने छ र यसरी मजदुर र गरिब तथा निम्नमध्यम किसानको बीचबाट उत्कृष्ट पात्रहरूलाई चुन्न र तिनीहरूलाई नेतृत्वदायी पदमा राख्न असम्भव हुनेछ, धेरै प्रतिभाहरू निकम्मा हुनेछन् र पार्टीको उद्देश्यले धोका खाने छ । हामीले पुस्ताको ‘सम्पत्ति’ का आधारमा ‘वर्गीकरण’ गर्ने गलत दृष्टिकोणलाई पूरै त्याग्नुपर्छ र साहसपूर्वक नयाँलाई प्रोत्साहित गर्नुपर्छ ।”

 
सङ्गठन निर्माण र परिचालन, क्षमता र योग्यताको मूल्याङ्कन र उत्तराधिकारी निर्माणका सम्बन्धमा अध्ययन गर्दा नेपालको माओवादी आन्दोलन माथिका भनाइको ठीक उल्टो दिशामा गएको बोध गर्न सकिन्छ । सरसरती हेर्दा यो प्रवृत्तिगत कुरा लागे पनि सारतः यो वैचारिक समस्या नै हो । यथार्थतः यो अनुभववादी गोलचक्करवादको परिणाम हो । यसले जन्माउने भनेको विसर्जन नै हो ।
(बहसमा माओवादी आन्दोलन पुस्तकको एउटा अंश)

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.