माओवादी आन्दोलन र फ्रान्सेली बौद्धिक समुदाय

wolin bookBook review of Wolin’s book : Wind From the East

माओवादी आन्दोलन र फ्रान्सेली बौद्धिक समुदाय : रिचार्ड वलिन

सहित्यकलाका साथै मार्क्सवादी राजनीतिक तथा साहित्यिक आन्दोलनमा चासो र रुचि राख्नेहरूलाई सन् साठीको दशकमा चलेको फ्रान्सेली माओवादी आन्दोलनबारे धेरथोर जानकारी हुनुपर्छ । सिङ्गो युरोपलाई प्रभावित पार्ने त्यो आन्दोलन मूलतः विद्यार्थी र मजदुरहरूको सक्रियता र अगुवाइमा भएको थियो । त्यति मात्र नभएर साहित्यिक तथा बौद्धिक क्षेत्रका हस्तीहरू पनि मजदुर र विद्यार्थीहरूसित काँधमा काँध मिलाएर माओ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको गुनगानसहित सडकमा निस्केका थिए । माओवादी आन्दोलनलाई अघि बढाउन उनीहरूले सन् १९६८मा गाउचे प्रोलोटरिने अर्थात् सर्वहारावादी वामपन्थी नामक सङ्गठन गठन गरेका थिए । सन् १९६८देखि १९७१ सम्मको अवधि फ्रान्सेली माओवादी आन्दोलनको जुझारु र उत्कर्ष अवधि थियो
जाँ पल सात्र, लुई आल्थुसर, सिमोन द बुआ, मिसेल फुको, जुलिया क्रिस्टेभा, फिलिप सोलर, एलेन बेदुजस्ता व्यक्तित्वहरू त्यो आन्दोलनसित जोडिएका थिए । वैचारिकरूपमा मात्र नभएर उनीहरू भौतिक रूपमै सडकमा निस्केका थिए । साहित्यका अधिकाँश पाठक सात्रलाई अस्तित्ववादी चिन्तकका रूपमा चिन्दछन् । लुइ आल्थुसर नव–मार्क्सवादी चिन्तक तथा समालोचकका रूपमा बढी परिचत छन् । मिसेल फुको उत्तरआधुनिकतावादका दार्शनिक तथा वैचारिक प्रस्थापकका रूपमा परिचित छन् र सिमोन द बुआलाई नारीवादी आन्दोलनकी संस्थापक भन्ने गरिएको छ, जुलिया क्रिस्टेभा उत्तरसंरचनाजादी–लिंगवादी चिन्तकका रूपमा र एलेन बेदुको ‘उत्तर–मार्क्सवादी’ चिन्तकका रूपमा चर्चा गर्ने गरिएको छ । परन्तु साठीको दशकमा यी सबै पात्रहरू आआफ्नो जिम्मेवारी लिएर प्रशासनिक धरपकड र दमनको पर्वाह नगरी माओवादी आन्दोलनमा सक्रिय थिए ।
यो यथार्थ हो । सन् ६० को दशकमा ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को प्रभावमा चलेको फ्रान्सेली माओवादी जागरण साँच्चिकै ऐतिहासिक र शिक्षाप्रद थियो । सात्र, फुको लगायतका बुद्धिजीवीहरूले आन्दोलनका पक्षमा सडकमा माओवादी पर्चा छर्दै र सरकारले प्रतिबन्ध लगाएको माओवादी पत्रिका बाँड्दै गरेको दृश्य अहिले हेर्दा अचम्म लाग्दो र अपत्यारिलो जस्तो पनि लाग्छ । तर, त्यतिबेला बौद्धिक समुदाय समर्पणका साथ जुटेको थियो । आल्थसर रूसपरस्त पार्टी फ्रान्सेली कम्युनिस्ट पार्टीका सदस्य थिए । तर पार्टीको नीति विपरीत लुकीछिपी भने पनि उनले माओवादीहरूलाई सहयोग गरेका थिए । माओको ‘अन्तर्विरोधबारे’ को पक्षमा लेखेको उनको लेखको निकै चर्चा गर्ने गरिन्छ । सात्र्र र सिमोन द बुवाको जिम्मा प्रतिबन्धित पत्रिकाको सम्पादन तथा प्रकाशन थियो । दुवै सडकमा निस्केर पत्रिका बाँडिरहेका हुन्थे । ट्युनिसमा रहेका फुको प्राध्यापन पेशा छाडेर फ्रान्स फर्केका थिए । उनको जिम्मा बन्दीहरू र आप्रवासी क्षेत्र थियो । एक हिसाबले उनी जनअदालतका न्यायाधीश थिए । जुलिया क्रिस्टेभा र फिलिप सोलरको जिम्मा साहित्यकला त्यसमा पनि ताल क्वेल पत्रिका थियो । माओवादीहरूको आफ्नै शैलीको जनअदालत थियो र छापामार शैलीको कारबाही गर्ने टोली पनि थियो ।
यी सबै कुरालाई इतिहासका प्राध्यापक रिचार्ड वलिनले आफ्नो पुस्तक विन्ड फ्रम दि इस्ट मा बडो रोचक ढङ्गले उल्लेख गरेका छन् यिनको पुस्तकमा त्यतिबेलाको विश्वको आर्थिक–राजनीति परिस्थिति, चीन–रूस महाविवादको त्यति विस्तृत चर्चा नपाइए पनि चीनले महान् सर्वहारा सांस्कृतिक क्रान्ति किन आरम्भ गर्नु¥यो भन्ने कुरालाई चाहिँ उनले आफ्नै बुझाइ र ठम्याइँका आधारमा ‘हु वेयर दि माओइस्टस्’ शीर्षकमा प्रस्ट पारेका छन् । विन्ड फ्रम दि इस्टमा फ्रान्सकै पनि बृहत् आर्थिक–राजनीतिक विश्लेषण गरिएको पाइँदैन । उनले माओ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्वव्यापी प्रभाव, त्यसको फ्रान्सका युवा तथा बौद्धिक क्षेत्रमा परेको जादुमय आकर्षण र चमत्कारी आन्दोलनको भने खुलेर चर्चा गरेका छन् । खासगरेर युवा, मजदुर र बौद्धिक क्षेत्रको यसप्रतिको आकर्षण र समर्पणलाई उनले इमानदारीपूर्वक उल्लेख गरेका छन् ।
उनी माओवादका पक्षधर होइनन् र त्यस समयको इतिहासको माओवादी विश्लेषणा र संश्लेषण गर्नु पनि उनको उद्देश्य रहेको देखिँदैन । तर उनले इमानदारीपूर्वक त्यस समयको फ्रान्सलाई प्रस्तुत गरेका छन् । उनले जसरी फ्रान्सेली माओवादी आन्दोलनको चर्चा गरेका छन्, यो निकै सह्राहनीय छ । लेखन र प्रस्तुतिको शैलीका दृष्टिले यो पुस्तक रोचक त छ नै, माओवादी आन्दोलन र फ्रान्सेली बौद्धिक जागरणबीचको अन्तरसम्बन्धका दृष्टिले पनि यो पुस्तक लाभदायी छ । उनले सन् साठीको दशकको फ्रान्सेली माओवादी आन्दोलन ऐतिहासिक र ज्ञानबद्र्धक दुवै थियो भन्ने कुरालाई विशेष जोड दिएका छन् । यस अर्थमा बौद्धिक–सांस्कृतिक क्षेत्रले मात्र नभई राजनीतिक क्षेत्रले पनि यस पुस्तकलाई गम्भीरतापूर्वक अध्ययन गर्नु जरूरी छ ।
यो पुस्तक मुलतः दुई खण्डमा विभाजित छ । लेखकीय र परिचयलाई छुट्टै राखिएको छ भने पहिलो भागमा विद्रोहको घडी अन्तर्गत १) सोडाउन एट ब्रुय– इन–आर्टियस, २) फ्रान्स ड्युरिङ दि १९६०, ३) मे १९६८ ः दि ट्रयुम्फत अफ लिबिडिनल पोलिटिक्स, ४) हु ओयर दि माओइस्टस्, र एक्सकर्सस् ः अन दि सेक्टेरियन माओइस्ट्स् अफ एलेन बेदु शीर्षकका लेखोटहरू छन् । त्यसैगरी दोस्रो भाग बुद्धिजीवीहरूका क्षणहरू अन्तर्गत ५) जाँ पल सात्र : पर्फेक्ट माओइस्टस् मोमेन्ट, ६) ताल क्वेल इन कल्चरल–पोलिटिकल हेल, ७) फुको एन्ड माओइस्ट्स् : बायो पोलिटिक्स एन्ड इङ्गेजमेन्ट र ८ ) दि इम्पोसिवल हेरिटेज ः फ्रम कल्चरल रिभोलुसन टु एसोसिएस्नल डेमोक्रेसी शीर्षक रहेका छन् । अध्ययन–अनुसन्धान गर्नेहरूका लागि यसमा प्रयोग गरिएका सन्दर्भग्रन्थहरू पनि निकै उपयोगी हुनसक्छन् ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.