माओवादी आन्दोलन र नयाँ विकल्प

Baral NPअब केन्द्रीय न्युक्लिअसको निर्माण
ऋषिराज बराल
अहिले कम्युनिस्ट आन्दोलन भन्दा मूलतः माओवादी आन्दोलन भनेर बुझिन्छ र बुझ्नु पर्दछ । विश्वबाट कम्युनिस्ट आन्दोलन समाप्त भयो भनेर जति होहल्ला गरे पनि २१ औँ शताब्दीको आरम्भसँगै विश्व एकपटक फेरि मार्क्सवादको आवश्यकता र औचित्यप्रति आस्थावान र विश्वस्त बन्दै अघि बढेको छ र यसको अगुवाइ माओवादी आन्दोलनले गरेको छ । अरब र अफ्रिकी मुलुकहरूमा माओवादको बढ्दो प्रभाव र ल्याटिन अमेरिकी मुलुकहरूमा देखिएको नयाँ किसिमको गठन–पुनर्गठन यसैको द्योतक हो । भारतीय प्रतिक्रियावादले तीनै थरी सेना प्रयोग गरेर भारतमा चलिरहेको जनयुद्धलाई समाप्त पार्न खोजे पनि भारतीय माओवादी आन्दोलन तीव्र गतिका साथ अघि बढेको यथार्थ हाम्रा सामु छ ।
मार्क्सवादको आरम्भ र विकासको क्रमसँगै यसले प्रतिक्रियावादका साथसाथै संशोधनवादका विरुद्ध पनि सङ्घर्ष गर्दै अघि बढ्नु प¥यो । देशकालअनुसार यसको विकृतीकरण तथा भ्रष्टीकरण गर्ने काम हुँदैआएको छ र अहिले पनि भइरहेको छ । अहिले माओवादी आन्दोलनमा दक्षिणपन्थी प्रवृत्ति नै सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा रहेको छ । यस अर्थमा क्रान्तिकारीहरूले आफ्नो वैचारिक सङ्घर्ष र प्रहारको केन्द्र दक्षिणपन्थी प्रवृत्तिलाई बनाउनु स्वाभाविक छ । माओवादी आन्दोलनलाई ध्वस्त पार्ने काममा माओवादी आन्दोलनभित्र घुसेका दक्षिणपन्थीहरूको भूमिका अझ बढी डरलाग्दो र विध्वशांत्मक रहेको यथार्थ हाम्रो सामु छ । यस यथार्थलाई प्रचण्ड र बाबुराम भट्टराईले सबैले बुझ्ने गरी प्रस्ट पारेका छन् ।
हिजोका दिनमा माओवाद संशोधनवादसितको सम्बन्ध विच्छेदको परिचायक थियो । यो क्रान्तिकारी विचार र सङ्गठनको परिचयको आधार बनेको थियो । परन्तु अहिले एक थरी संशोधनवादीहरूले माओवादलाई संशोधनवादको आहालमा डुबाएका छन् । संसदीय राजनीतिप्रति तिनले प्रतिबद्धता जनाएका छन् र साम्राज्यवाद र विस्तारवादका सामु आत्मसमर्पण गरेर “लाल झण्डाको विरुद्ध लाल झण्डा” को साम्राज्यवादी हतियार बनेका छन् । यस्तो स्थितिमा माओवादी आन्दोलनले वैचारिक र व्यावहारिक दुवै क्षेत्रमा निकै जटिल र गम्भीर समस्या झेल्नु अस्वाभाविक होइन । माक्र्सवाद यस्तै विकृति र विसङ्गतिका विरुद्ध जुद्धै विकसित र समृद्ध बनेको हो र आगामी दिनमा पनि प्रतिक्रियावादीहरू तथा थरीथरीका संशोधनवादीहरू विरुद्ध लड्दै अघि बढ्नेछ भन्ने कुरामा चाहिँ हामी प्रस्ट हुनु जरुरी छ ।
प्रचण्ड समूहको संसद्वादमा पतनको सन्दर्भले मात्र होइन, बभ अभाकियनको “न्यु सिन्थेसिस” ले पनि विश्व कम्युनिस्ट आन्दोलमा यतिखेर ठूलो भ्रम उत्पन्न गरेको छ । त्यसमा पनि प्रचण्ड समूह सबैभन्दा खतरनाक प्रवृत्तिका साथ देखापरेको छ । सारतः यो नवप्रतिक्रियावादमा परिणत भएको छ । यताका दिनमा माओवादी हुनुको आवरणमा लुकेको बाबुरामको अनुहार थप प्रसटताका साथ खुलेको छ । उनी नेपालको माओवादी आन्दोलन ध्वस्त पार्न साम्राज्यवाद मूलतः भारतीय विस्तारवादद्वारा योजनाबद्ध ढङ्गले प्रवेश गराइएका पात्र रहेछन् भन्ने कुरा सबेका सामु छर्लङ्ग भएको छ । यस अर्थमा नेपालको माओवादी आन्दोलनले देशीविदेशी प्रतिक्रियावादीहरूका विरुद्ध मात्र नभएर माओवादका नाममा माओवादकै विरुद्ध लागेका नवप्रतिक्रियावादी प्रवृत्तिहरूका विरुद्ध पनि वैचारिक र व्यावहारिक सङ्घर्ष अगाडि बढाउनु आवश्यक छ । यसरी मात्र आजको माओवादी आन्दोलनले सही दिशा र गति लिनसक्छ । परन्तु, यस कार्यमा वैचारिक सङ्घर्षको पक्ष जति सशक्त र प्रभावकारी हुनुपथ्र्यो, त्यसो हुनसकेको देखिँदैन । वैचारिक बहस–छलफलप्रति माओवादी आन्दोलनको नेतृत्व तहमा रहेकाहरूमै अरुचि देखिनु गम्भीर चिन्ताको विषय हो । यो समस्या किरण समूह र विप्लव समूह दुवैको समस्या हो । कार्यदिशाका सम्बन्धमा पनि दुबै समूह अन्योलमा छन् l
माओवादी आन्दोलनसित जोडिएको अहिलेको एउटा महत्वपूर्ण प्रश्न भनेको कार्यदिशाको प्रश्न हो । कार्यदिशाका सम्बन्धमा कम्युनिस्ट आन्दोलनसित रहेका मोडेलहरूमध्ये दुइटा मोडेलहरू बढी महत्वपूर्ण छन् । आजको युगको विशिष्टतामा माओवादी कार्यदिशाको विकास गर्नुपर्छ भन्ने कुरामा विवाद छैन । परन्तु, विकास भनेको विकृतीकरण, भ्रष्टीकरण तथा निषेधीकरण होइन । माओवादी कार्यदिशाको देशकाल र समयअनुसार प्रयोग गर्ने, विकास गर्ने र नयाँ र समृद्ध पार्ने नाममा माओवादको विकृतीकरण र भ्रष्टीकरण हुँदैआएको छ । नेपालको माओवादी आन्दोलनमा यसको खतरा सबैभन्दा बढी छ । माओवादलाई विकृत पार्ने संशोधनवादीहरूका षड्यन्त्रका विरुद्ध दृढताका साथ उभिनुको सट्टा, नयाँ र विशिष्टताका नाममा माओवादी मूल्यलाई निषेध गर्न थालिएको यथार्थ व्यवहारमा देखिन थालेको छ । यो पनि आजको माओवादी आन्दोलनका लागि निकै ठूलो चुनौती हो । गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने यथार्थ के हो भने वर्गसङ्घर्ष र राज्यसत्ताका सन्दर्भमा मालेमाका आधारभूत मूल्य र मान्यता आज पनि त्यत्तिकै सही छन्, यी सार्वभौम र सार्वकालिक छन्, तिनको प्रयोग खास देशको विशिष्टतामा गर्ने हो । परन्तु प्रश्न यहीँनेर छ । यसैमा टेकेर माक्र्सवादको भ्रष्टीकरण गर्ने काम विगतदेखि नै हुँदैआएको छ । खास देशको विशिष्ट अवस्थाको मनोगतवादी व्याख्या गर्दै यथार्थको भ्रष्टीकरण गर्ने कुरालाई मालेमाले छुट दिँदैन भन्ने कुरामा हामी सचेत र गम्भीर हुनु आवश्यक छ ।
नेपाली माओवादी आन्दोलनको कार्यदिशा कस्तो हुनुपर्छ भन्ने कुरा मुक्तिकामी आम नेपालीको चासो र आवश्यकताको विषय हो । नेपाली क्रान्तिको स्वरूप, यसको चरित्र र कार्यदिशाका सम्बन्धमा बहसछलफल हुने कुरामा विवाद छैन । समय हिजोभन्दा फरक छ भन्ने कुरामा विमति छैन र क्रान्तिकारीहरूले फेरिएको परिस्थितिअनुसार मालेमाको विकासमाजोड दिने र क्रान्तिकारी कार्यदिशा तय गरेर व्यवहारमा जाने कुरामा पनि विवाद छैन । परन्तु, विवाद र बहसको सीमा माक्र्सवाद–लेनिनवाद र माओवादका आधारभूत मूल्य र आदर्शभन्दाबाहिर हुनसक्तैन भन्ने कुरामा चाहिँ सबै प्रस्ट हुनु जरुरी छ ।
नेपाली नयाँ जनवादी क्रान्ति नेपाली विशिष्टताअनुसार क्रान्तिका “तीन जादुगरी हतियार” को कुशलताका साथ प्रयोग गर्दै वर्गसङ्घर्षको बाङ्गोटिङ्गो बाटो भएर अघि बढ्नेछ । यस क्रममा यसले सारतः नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्नेछ भन्ने कुरा प्रस्ट छ । गोलमटोल भाषा प्रयोग गरेर यसबाट भाग्नु भनेको सारतः नयाँ जनवादी क्रान्ति सम्बन्धी माओवादी कार्यदिशाको परित्याग हो । माओवादी मूल्यलाई शब्दमा मात्र स्वीकार गर्ने हो अथवा व्यवहारमै प्रतिबद्धता जनाउने हो भन्ने कुरा आजको प्रमुख प्रश्न हो । माओवादको नाम लिने, परन्तु माओवादका आधारभूत मूल्यको निषेध गर्ने समस्या आजको प्रमुख समस्या हो । यही प्रश्न नै यतिखेर चुनौती बनेर उभिएको छ ।
विसर्जनवाद ढोल पिटेर आउँदैन । यो समयअनुसार विभिन्न स्वरूप र चरित्रमा प्रकट हुन्छ । विसर्जनवादको स्वरूप पुच्छरवादी–चुनाववादी प्रवृत्ति र सशस्त्र संशोधनवादी प्रवृत्ति दुवैस्वरूपमा प्रकट भएको इतिहास हाम्रा सामु छ । यी सबै काम देशकाल परिस्थितिका नाममा हुनेगरेका छन् । यस अर्थमा आजको वैचारिक सङ्घर्षको बाटो निकै जटिल छ तापनि नेपाली माओवादी आन्दोलन सबै किसिमका विकृति र विचलनका विरुद्ध वैचारिक तथा व्यावहारिक सङ्घर्ष गर्दै अघि बढ्ने कुरामा चाहिँ हामी प्रस्ट र विश्वस्त हुनैपर्छ । क्रान्तिकारी आशावाद र दृढ इच्छाशक्ति आजको आवश्यकता हो र नेतृत्व तहबाट आशा गरिएको पक्ष पनि यही नै हो ।
माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्सङ्गठित तथा एकताबद्धका साथ अघि बढाउने हो भने आधारभूतरूपमा चारओटा कुुरामा प्रस्टता हुनु आवश्यक छ—पहिलो ः माक्र्सवाद–लेनिनवाद–माओवाद नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त हो, दोस्रो ः नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो, तेस्रो ः “क्रान्तिका तीन जादुगरी हतियार” नेपाली क्रान्तिका महत्वपूर्ण माध्यम हुन् र चौथो ः नेपाली क्रान्ति नेपाली विशिष्टताको जनयुद्धको कार्यदिशामार्फत अघि बढ्छ । प्रस्ट हुनुपर्ने कुरा के हो भने जे जे पदावली प्रयोग गरे पनि नेपाली जनक्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो अवलम्बन नगरी धरै छैन । वर्गसङ्घर्षका विभिन्न चरण हुँदै विकसित हुने नेपाली सशस्त्र वर्गसङ्घर्षको गति, रक्षा र विकासको बाटो भनेको जनयुद्धको बाटो मात्रै हो नेपाली विशिष्टताको जनयुद्ध भनेको नेपाली समाजको विशिष्टता अनुसार माओवादका राजनीतिक तथा फौजी आधारभूत मान्यताहरूको व्यावहारिक प्रयोग हो । दसबर्से महान् जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने भनेको नेपाली समाजको आजको विशिष्टतामा जनयुद्धको दिशामा अघि बढ्ने नै हो ।
यतिखेर एकताका नाममा प्रचण्डको दक्षिणपन्थी सशोधनवादी समूह र किरणले नेतृत्व गरेको विसर्जनवादी समूहबीच जुन किसिमको गठबन्धन देखिँदैछ, यसले माओवादी आन्दोलनलाई थप जटिल बनाउने कुरामा विवाद छैन । यस गठबन्धनले माओवादी एकताका नाममा दक्षिाणपन्थी संशोधनवादलाई नै मलजल प्रदान गर्नेछ । किरण समूहको त्यहाँ विलय मात्र हुनेछ । यो विलय सही अर्थका माओवादी क्रान्तिकारीहरूका सामु नयाँ चुनौतीका रूपमा देखापर्नेछ भन्ने कुरामा विवाद छैन । क्रान्तिकारीहरूले संशोधनवादी मोर्चा र प्रतिक्रियावादी मोर्चा दुवैमा लडाइँ तीव्र बनाउनुपर्ने हुन्छ । यस अर्थमा नेपालको आजको माओवादी आन्दोलन हिजोको भन्दा निकै जटिल छ भन्ने कुरा प्रस्ट छ । गद्धारीपूर्ण किसिमले विसर्जन गरिएको दसबर्से महान् जनयुद्धका कार्यभार पूरा गर्न हामी प्रतिबद्ध छौँ भने माथि उल्लेखित ४ ओटा आधारभूत बुँदाका आधारमा क्रान्तिकारीहरू गोलबद्ध हुनुको विकल्प छैन । यसका लागि विभिन्न माओवादी समूहमाच अबद्ध भएका क्रान्तिकारीहरूको नयाँ केन्द्र अर्थात् केन्द्रीय न्युक्लियस निर्मांण आजको आवश्यकता हो । समयले यसका लागि हामीलाई आह््वान गरेको छ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.