“महाविवाद” बाट पढ्नैपर्ने अंश

image of maoमजदुर वर्गको पार्टीले आफ्नो विचारधारा, क्रान्तिसम्बन्धी आफ्ना नीतिहरू र आफ्ना समस्त कामकारबाहीहरू, साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले शान्तिपूर्ण रूपान्तर स्वीकार गर्नेछन् भन्ने अनुमानबाट निश्चित गर्नुहुँदैन ।
सर्वहारा वर्गको पार्टीले आफूलाई दुवै सम्भावनाहरूका लागि निश्चितरूपमा तयार राख्नुपर्छ । क्रान्तिको शान्तिपूर्ण तयारीका साथसाथै गैरशान्तिपूर्ण विकासको लागि समेत तयार रहनुपर्दछ । क्रान्तिकारी परिस्थिति परिपक्व अवस्थामा आउनासाथ विजय प्राप्त गर्नका लागि तयार रहनुपर्छ अथवा जतिबेला साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूले आकस्मिक आक्रमण र सशस्त्र हमला गर्नेछन्, त्यतिबेला शक्तिशाली प्रतिकार गर्नका लागि तयार रहनुपर्दछ । उसले क्रान्तिकारी शक्ति सञ्चय गर्ने कठिन काममा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।
यदि त्यसप्रकारको तयारी गर्नका लागि सर्वहारा वर्गको पार्टी असफल हुन्छ भने त्यसले मजदुर वर्गको क्रान्तिकारी इच्छालाई पङ्गु बनाइदिनेछ, सैद्धान्तिक दृष्टिले उसलाई निरस्त्र बनाइदिनेछ तथा राजनीतिक र साङ्गठनिक दुवै दृष्टिकोणबाट पूरै अकर्मण्य भएर निष्क्रिय अवस्थामा फस्नेछ र मजदुर वर्गको क्रान्तिलाई धराशायी बनाइदिनेछ ।
मानवजातिको इतिहासका बेग्लाबेग्लै अवस्थाहरूमा सबै सामाजिक क्रान्तिहरू ऐतिहासिक दृष्टिबाट अपरिहार्य छन् तथा मानिसको इच्छाभन्दा स्वतन्त्र व्यावहारिक नियमअनुसार चल्छन् । त्यसबाहेक इतिहासले के बताउँछ भने त्यस्तो कुनै पनि क्रान्ति भएको छैन, जसमा बाङ्गाटिङ्गा बाटाहरू नहोऊन् र ती बलिदानबिना प्राप्त गर्न सकिएका होऊन् ।
सर्वहारा वर्गको पार्टीको काम के हो भने उसले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई आधार बनाएर ठोस ऐतिहासिक परिस्थितिको ठोस विश्लेषण गर्नु, सही रणनीति र कार्यनीति प्रस्तुत गर्नु तथा लुकेका चट्टानहरूसित तर्केर चल्नु, अनावश्यक बलिदानबाट बच्नु तथा पाइलापाइलामा लक्ष्यसम्म पुग्नका लागि जनतालाई पथप्रदर्शन गर्नुपर्दछ । के बलिदानबाट बच्नु एकदमै सम्भव छ ? यस्तो दासयुगको क्रान्ति, अर्धदास क्रान्ति, पुँजीवादी क्रान्ति वा राष्ट्रियताको क्रान्तिमा भएन, न त सर्वहारा क्रान्तिमा नै भएको छ । क्रान्तिको मार्गदर्शक नीति सही भएको खण्डमा पनि क्रान्तिका क्रममा त्यसबाट पछि हट्नुपर्ने तथा बलिदान हुने सन्दर्भमा ग्यारन्टी गर्नसकिने स्थिति हुँदैन । यति हुँदाहुँदै पनि सही नीतिमा दृढ रहने काम हुन्छ भने अन्ततः क्रान्ति सफल भएरै छाड्छ । बलिदानबाट बच्ने नाममा क्रान्तिलाई तिलाञ्जलि दिनु भनेको वास्तवमा जनता सधैँ दासत्वमा रहिरहून् तथा अनगिन्ती कष्ट सहँदै र बलिदान गर्दैरहून् भन्ने माग गर्नु हो ।
मार्क्सवाद–लेनिनवादको प्रारम्भिक ज्ञानले हामीलाई के बताउँछ भने पुरानो समाजको पुरानो यातनाको अपेक्षा क्रान्तिबाट पैदाहुने कष्ट ज्यादै कम हुन्छ । “घटनाक्रम ज्यादै शान्तिपूर्ण हुँदाखेरि पनि मौजुदा पुँजीवादी व्यवस्थाले सधैँ र अविचलरूपबाट मजदुर वर्गको अनगिन्ती बलिदान गराउँछ” भनेर लेनिनले एकदमै ठीक भन्नुभएको थियो ।
जतिबेला सबै कुरा सहज हुन्छन्, जतिबेला पहिलेदेखि नै बलिदान र असफलता नहुने ग्यारेन्टी हुन्छ, त्यतिबेला मात्र क्रान्ति सम्पन्न हुनसक्छ भनेर कसैले ठान्छ भने ऊ कुनै पनि हालतमा क्रान्तिकारी हुनसक्तैन । क्रान्तिले ठूलो कठिनाइ भोग्नु किन नपरोस्, ठुल्ठुला बलिदान गर्नु किन नपरोस् वा ठुल्ठुला हार सहनु किन नपरोस्, सर्वहारा क्रान्तिकारीहरूले जनतामा क्रान्तिको भावना जगाउनु र क्रान्तिको झण्डा उच्च राख्नुपर्दछ, त्यसलाई त्याग्नु हुँदैन ।
यदि वस्तुगत परिस्थिति परिपक्व हुनुभन्दा पहिले नै सर्वहारा वर्गको पार्टीले उद्दण्डताका साथ क्रान्ति सुरु गरिदिन्छ भने त्यो उग्र “वामपन्थी” दुस्साहसवाद हुनेछ । तर जतिबेला वस्तुगत परिस्थिति परिपक्व हुन्छ, त्यतिबेला यदि सर्वहारा वर्गको पार्टीले क्रान्तिको नेतृत्व गर्ने र राज्यसत्ता कब्जा गर्ने साहस गर्दैन भने त्यो दक्षिणपन्थी अवसरवाद हुनेछ । साधारण समयमा पनि सर्वहार वर्गको पार्टीले दैनिक सङ्घर्षमा जनसमुदायको नेतृत्व गरिरहेको छ भने क्रान्तिको परिस्थिति परिपक्व भएको बेला प्रतिक्रियावादी शासनसत्तालाई उल्ट्याउन र नयाँ राज्यसत्ता स्थापित गर्ने मौका नगुमोस् भनेर उसले आफ्नो पङ्क्ति र जनसमुदायलाई क्रान्तिको लागि सैद्धान्तिक, राजनीतिक र सङ्ठनात्मक दृष्टिकोणबाट तमतयार राख्नुपर्छ, अन्यथा वास्तविक परिस्थिति परिपक्व हुनेबेला सर्वहारा वर्गको पार्टीले विजय हासिल गर्ने मौका गुमाउनेछ ।
सर्वहारा वर्गको पार्टी सैद्धान्तिकरूपले दृढ र व्यवहारिकरूपले लचिलो अवश्य हुनुपर्छ । उसले आवश्यकतानुसार क्रान्तिका हितहरूका लागि खास अवसरमा सम्झौता गर्नुपर्ने हुन्छ भने लचिलोपन देखाउने पनि हुन्छ । तर आवश्यक सम्झौता गर्ने नाममा सैद्धान्तिक प्रश्नहरू र क्रान्तिको उद्देश्यलाई कहिल्यै पनि त्याग्नुहुँदैन ।
सर्वहारा वर्गको पार्टीले सत्रुका विरुद्ध सङ्घर्ष गर्नका लागि निश्चय नै जनताको नेतृत्व गर्नुपर्छ र ऊ सत्रु पक्षबीचका अन्तर्विरोधहरूलाई उपयोग गर्ने विषयमा सिपालु हुनैपर्छ । तर, ती अन्तर्विरोधहरूलाई उपयोग गर्नुभनेको जनताका क्रान्तिकारी सङ्घर्षहरूलाई तिलाञ्जली दिनु नभएर, ती सङ्घर्षका उद्देश्यहरू हासिल गर्नका लागि सजिलो बनाउने हुनुपर्छ ।
अनगिन्ती तथ्यहरूले के कुरा सावित गरिदिएका छन् भने जहाँ साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूको अत्याचारी शासन हुन्छ, त्यहाँका ९० प्रतिशत जनताले ढिलोचाँडो अवश्य क्रान्ति गर्नेछन् ।
यदि कम्युनिस्टहरूले जनताका क्रान्तिकारी मागहरूबाट आपूmलाई अलग्याउँछन् भने स्वभावतः उनीहरूमाथि जनताको विश्वास हट्नेछ र क्रान्तिकारी धाराले उनीहरूलाई पछाडि धकेलिदिनेछ ।
यदि कुनै पार्टीको नेतृत्व गुटले गैरमार्क्सवादी बाटो पक्रन्छ भने र त्यसले पार्टीलाई सुधारवादी पार्टीमा बदलिदिन्छ भने पार्टीभित्र र बाहिरका क्रान्तिकारी माक्र्सवादी–लेनिनवादीहरूले त्यसलाई विस्थापित गरेर त्यसको ठाउँ लिनेछन् र क्रान्ति गर्नका लागि जनसमुदायको नेतृत्व गर्नेछन् । अन्यथा त्यस परिस्थितिमा क्रान्तिको नेतृत्वमा पुँजीवादी तत्वहरू आउनेछन् र सर्वहारा वर्गबाट क्रान्तिको नेतृत्व खोस्नेछन् । जतिबेला प्रतिक्रियावादीहरूले क्रान्तिप्रति गद्दारी गर्नेछन् र जनतालाई दमन गर्नेछन्, त्यतिबेलाको अवसरवादी नीतिले क्रान्तिकारी कम्युनिस्टहरू र जनताले अनावश्यक दुःख र कष्ट भोग्नुपर्देछ । यदि कम्युनिस्टहरू अवसरवादको दलदलमा फस्नपुग्छन् भने उनीहरू पतित भएर पुँजीवादी राष्ट्रवादी हुनपुग्नेछन् अथवा साम्राज्यवाद र प्रतिक्रियावादका पुच्छर बन्नेछन् ।
कतिपय व्यक्तिहरूले के दावा गर्नेछन् भने उनीहरूले क्रान्तिकारी सिद्धान्तलाई लेनिनपछि सबैभन्दा बढी योगदान दिएका छन् र उनीहरू मात्रै सही छन् । तर उनीहरूले विश्वकम्युनिस्ट आन्दोलनका व्यापक हितहरूप्रति वास्तवमै कहिल्यै ध्यान दिएका छैनन्, उनीहरूले सिङ्गो अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनका हितहरू, लक्ष्यहरू र कामहरूप्रति वास्तवमा कहिल्यै विचार पुर्याएका छैनन्, र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका बारेमा मार्क्सवाद–लेनिनवादअनुरूप उनीहरूको कुनै आम कार्यदिशा छ भन्ने कुरामा पनि एकदमै शङ्का छ ।
बितेका केही वर्षहरूमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनले थुप्रै अनुभव हासिल गरेको छ र थुप्रै शिक्षा ग्रहण गरेको छ । केही प्रशंसनीय अनुभवहरू छन् भने कतिपय दुःखदायी अनुभवहरू पनि छन् । सबै देशका कम्युनिस्टहरूका सफलता र असफलताबाट सही निष्कर्ष निकाल्न र लाभदायी शिक्षा लिनका लागि तिनका अनुभवमाथि विचार गर्नुपर्छ र गम्भीरतापूर्वक तिनको अध्ययन गर्नुपर्छ ।
(महाविवाद : चिनियाँ कम्युनिस्ट पार्टीले रूसी कम्युनिस्ट पार्टीलाई ३० मार्च १९६३ मा दिएको उत्तरको अंश) ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.