मधेस र ‘आन्तरिक उपनिवेशवाद’ को वितण्डा

Cover smallनेपाली समाज यतिबेर दोहोर मारमा छ । एकातिर नेपाली समाजले ‘अङ्ग्रेजी पढ, सभ्य बन’ को साम्राज्यवादी भूमण्डलीकृत आतङ्क खप्नुपरेको छ भने अर्कोतिर साम्राज्यवादी योजनालाई व्यावहारिक रूप दिन गरिएको क्रिस्चियन धर्मको प्रचारप्रसार तीव्र बनेको छ । धर्मनिरपेक्षताको नारामा साम्राज्यवादीहरू पद, पैसा र अनेक प्रलोभनका साथ ईसाइ धर्मको प्रचारप्रसारलाई तीव्र पारिरहेका छन् । त्यसैगरी नेपाली समाजमा क्षेत्रीय हस्तक्षेप पनि तीव्र रूपमा बढेको छ । सबैको प्रहार नेपाली समाज, यसको विशिष्टता र मौलिकता, यसको समृद्ध इतिहास र वीरत्वपूर्ण संस्कृति र राष्ट्रिय अखण्डतामाथि नै छ । अहिले नेपाल र नेपाली विरोधी विखण्डनवादी चिन्तन राख्ने एक थरीले तराई त्यसमा पनि मधेसको नाम लिएर यसलाई पहाडेहरूद्वारा दमनमा परेको ‘आन्तरिक उपनिवेशवाद’ जस्ता दुराग्रहपूर्ण विचार र व्यवहार प्रस्तुत गरिरहेका छन् । उनीहरू आवेग र उत्तेजना फैलाएर आन्तरिक विद्वेश र वितण्डा मच्चाउन चाहन्छन् भन्ने कुरा प्रस्ट छ ।

 

सत्यको पाटो योभन्दा फरक छ । २००७ सालदेखिको इतिहास हेर्ने हो भने नेपाली समाजको रूपान्तरणमा लगानी गर्ने, बलिदानको मूल इतिहास रच्ने आधारभूत वर्ग र समुदायले कहिल्यै अवसर पाएको छैन । यो करिबकरिब पहाड र तराई–मधेस दुवैको स्थिति हो, अझ मधेसमा बढी हो । मधेसका नाममा भएका आन्दोलनको मात्र कुरा गर्दा यो पक्ष अझ राम्रो गरी प्रस्टिन्छ । निकै होहल्ला गरिएको ‘मधेस आन्दोलन’ पछि पनि उही मधेसको ठालु वर्ग नै सुखसुविधा र अवसरमा हाबी भएको छ, मधेसका नाममा राजनीति गर्ने टाठाबाठा, भारतीय शासकवर्गको आड पाएका र विश्वासको लाइसेन्स पाउका उच्च जात, सम्पन्न र जमिनदार वर्गका मधेसीले मात्र यो अवसर पाएका छन् । वेदानन्द झादेखि उपराष्ट्रपति परमानन्द झासम्मको इतिहास हो यो । पञ्चायत कालभरि र यता २०४६ सालपछि पनि मधेसका नाममा सबै अवसर प्राप्त गर्ने र गर्नका लागि राजदरवारको वरिपरि रमाउँदै गुनगान गर्ने जमिनदार र ठालुहहरूले नै अहिले सबैभन्दा चर्को कुरा गरेर मधेसलाई ‘आन्तरिक उपनिवेश’ भन्दा साँच्चिकै हाँसउठ्दो स्थिति बन्छ “मधेस टुक्रिन सक्छ” भनेर धम्कीको भाषा बोलिरहेका हुन्छन्, यो भन्दा विरक्त लाग्दो स्थिति अरू हुनसक्तैन । तथ्याङ्कले अर्कै सत्य बोल्छ । यता खासगरेर ‘लोकतन्त्र’ आएपछि राष्ट्रपति, उपराष्ट्रपति मात्र होइन, सिङ्गो तराईको कुरै छाडौँ, मधेसबाट मात्र मन्त्री हुनेहरूको सङ्ख्या हेर्ने हो भने सबैभन्दा बढी अवसर मधेसकाहरूले नै पाएका छन् । अझ बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा सबैभन्दा बढी अवसर उनीहरूले नै पाएका छन् । यिनै व्यक्तिहरू आन्तरिक उपनिवेशको कुरा गर्छन्, यिनै व्यक्तिहरू नेपालमा हिन्दी भाषालाई तराईको मातृ भाषा र दोस्रो भाषा बनाउने वकालत गर्छ्न् । यिनीहरू आफ्नो मातृ भाषामा नबोलेर भारतीय शासक वर्गलाई रिझाउन संसद्मा समेत हिन्दी भाषामा बोल्छन् र आफूले भनेअनुसार भएन भने “नेपालबाट तराईको नक्सा फेरिने” धम्की दिन्छन् । यो भन्दा विडम्बनाको विषय अरू के हुनसक्छ ! संविधानसभाको दोस्रो चुनाबमा कथित मधेसवादीहरूको लज्जास्पद हारपछि यताका दिनमा भारतीय विस्तारवादका सबैभन्दा खाँटी प्रवक्ता बनेर देखिएका राजेन्द्र महतोले मधेसीहरूको हारलाई भारतकै हार हो भनेर लाजै नमानी भने । उनका भनाइमा “हामी भारतवादीहरूका लागि मधेस वाद हार्नु सामान्य हुनसक्ला, तर भारतकै लागि यो असामान्य कुरा हो । आज मधेस मा मधेस वादी होइन, भारत पराजित भएको सन्देश गएको छ ।”३७ यसले मधेसी जनताका नाममा केकस्ता मान्छेले राजनीति गरिरहेका रहेछन् र केकस्ता मान्छे सविधान निर्माण गर्ने थलोमा पुग्दा रहेछन/पुगेका रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ । यसै सन्दर्भलाई लिएर जिवेश झाको टिप्पणी ‘माइन्ड योर लङ्वेज’ निकै सान्दर्भिक भएको कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । यी सबै सन्दर्भहरूबाट भाषिक कोणबाट मात्र नभएर राजनीतिक कोणबाट पनि नेपालको संसद् भारतीय नवउपनिवेशवादी अभ्यासको अखडा बनेको यथार्थ पुष्टि हुन्छ ।

 
यस क्रममा कथित मधेसी राजनीतिक नेताहरू मात्र होइन, आफूलाई मधेसको खाँटी हिमायती र बौद्धिक अगुवा भन्ने कतिपय बुद्धिजीवीहरूले पनि आफूलाई अनावृत्त गरेका छन् । राज्यबाट पुग्दो अवसर लिइसकेका र बाँकी जीवन रमाइलो गरी बिताउने उद्देश्यका साथ यस्ता मान्छेहरू विवेक र तर्कभन्दा बाहिर गएर बौद्धिक स्खलनको स्थितिमा पुगेर यथार्थबोधबाट विमुख भएका छन् । राजनीतिक नेताहरू नतराम्रो गरी नाङ्गिएपछि नेपाली माटो र जनताका विरुद्धमा जनमत निर्माण गर्ने, उत्तेजना फैलाउने र भारतलाई रिझाउने काममा यतिबेर मधेसका बुद्धिजीवी भनेर चिनिएका केही व्यक्तिहरू सक्रिय भएका छन् । भाषा र अभिव्यक्तिको शैली फरक होला, तर यिनीहरू महन्थ ठाकुर र राजेन्द्र महतोभन्दा तल झरेर, मधेस मुक्तिका नाममा अनेक मोर्चा खोलेर तराईमा लुटपाट र हत्या गर्ने अपराधी समूहको भाषा बोल्नथालेका छन् । उनीहरू उत्तेजना र भावावेगमार्फत नयाँ आतङ्क सिर्जना गर्नथालेका छन् । यिनीहरू मधेसमा भएका लुटपाट, हत्या बलात्कार र राष्ट्रियताविरोधी गतिविधि देख्दैनन् । यिनीहरू बर्दिबासको चोकमा “हमारा भारत” भनेर लेखेको देख्दैनन् । पहाडिया मूलका नागरिकको हत्या र बलात्कार देख्दैनन् र उनीहरूको सम्पति हडपेर विस्थापन गरेको देख्दैनन् । यताका वर्षमा खास गरेर ‘लोकतन्त्र’ को स्थापनापछि सबैभन्दा मधेसका नाममा लाभको पदमा बसेर मोजमस्ती गर्नेहरूको सङ्ख्यालाई पनि उनीहरू देख्दैनन् । उच्च जातका राष्ट्रपति र उपराष्ट्रपति मधेसकै यादव र झा हुन् भन्ने कुरा पनि उनीहरू देख्दैनन् र भन्छन् “नेपालमा कुकुरको भ्यालु छ, तर मधेसीका छैन’ । यो भन्दा हाँसउठ्दो कुरा अरू केही हुन सक्तैन । राजदुत हुने लोभमा पहाडिया प्रचण्डको चुनाव प्रचारको प्यादा बनेका सिके लाल जब मधेस र मधेसी जनताका चिन्ताको कुरा गर्छन्, यो भन्दा लाजमर्दो कुरा अरू केही हुनसक्तैन । मधेसभित्रकै उच्च जातिका पक्षधर बनेर र ‘शक्तिशाली’ पहाडियाहरूको चाकर बनेर पनि केही हात नपरेपछि अब आएर उनी मधेसको निकै हिमायती देखिएका छन् । मधेस र मधेसी उत्पीडित जनताको हिमायती हुन र बन्न पहाडिया समुदाय, नेपाली माटो, नेपालीको विरत्वपूर्ण गाथा र नेपाली भाषा र नेपाली राष्ट्रिय अस्मिताको विरोध गर्नुपर्दैन । सिके लालले आफू उभिएको धरातल र पक्षधरता प्रस्ट पारेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका कथित मधेसी नेताहरू जसरी उनी सोझै “नेपाल टुक्रिन्छ”, “तराईको भातृ भाषा हिन्दी हुनुपर्छ”, “हामी भारतपरस्त हौँ” भनेर आएका छैनन्, तर, उनका लेखादिहरूमा नेपाली राष्ट्रियता र पहाडिया समुदायप्रति जुन किसिमको आक्रोस र विसङ्गत चिन्तन पाइन्छ, प्रकारान्तरले उनलाई पनि महन्थ ठाकुर र राजेन्द्र महतोहरूकै लाइनमा उभ्याउँछ, यद्यपि निर्देर्शित ऊर्जा अर्के हुनसक्छ । मिथिलाको इतिहासप्रतिको चिन्ता र यसको समृद्धिप्रतिको गम्भीरताप्रति कतै आपत्ति छैन, परन्तु, यसका नाममा उनले मिथिला मन्थन मार्फत जेजस्ता उट्पट्याङ्पूर्ण, विरोधाभाषी र आपत्तिजनक सन्दर्भको चर्चा गरेका छन्, त्यसबाट गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ । उनका भनाइमा “‘नेपाली’ भनेर नेपालको राष्ट्रियता अब रहन सक्तैन । यो आउटडेटेड भइसक्यो”। निचता र पाखण्डपनको पनि हद हुन्छ । ‘पहिचानको राजनीतिक चिन्तन’ को घिनलाग्दो उदाहरण यो भन्दा अरू हुनसक्तैन । ‘पहिचान’ को कुरा गर्ने सिके लाल कस्ता पात्र हुन् भन्ने कुरा उनी आफैँले आफ्नो ‘परिचय’ मार्फत प्रस्ट पारिसकेका छन् ।

 
उनको प्रहार सोझै नेपाली भूमि र नेपाली भाषामाथि छ । “नेपाली’ भाषा अङ्ग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका” जस्ता सन्दर्भहरू पढेपछि उनको बौद्धिकताप्रति टीठ लाग्नु स्वाभाविक हुन्छ । यो निकृष्ठ चिन्तनको परिणाम र परिचायक हो । नेपाली भाषाप्रतिको उनको बुझाइ पनि ऐतिहासिक दृष्टिले त्रुटिपूर्ण छ र उपेक्षा र घृणाले भरिएको छ । यसको तीव्र प्रतिक्रिया हुनु स्वाभाविक छ । यसका बारेमा सौरभ र विवेक पौडेलका टिप्पणीहरू साँच्चिकै सान्दर्भिक र समयबद्ध छन् ।
(मार्क्सवाद र परिचयको राजनीति पुस्तकमा समाविष्ट डा. ऋषिराज बरालको लेख ‘तराई, मातृभाषा र कथित आन्तरिक उपनिवेश’ बाट)

You can leave a response, or trackback from your own site.

2 Responses to “मधेस र ‘आन्तरिक उपनिवेशवाद’ को वितण्डा”

  1. ajay sapkota says:

    किताबको प्रचार पुगेकै छैन |जुन किताव हरेक जनताको घर घरमा पुग्न पर्ने हो त्यो कितावको प्रचार नै हुँदैन यो कस्तो परिवेश हो ?हामि कस्तो समाजमा बसेका छौ कस्तो कम्युनिष्ट पार्टी हो हाम्रो जहाँ हामीले यस्तो कितावलाई प्रचार गर्न पनि डराउन पर्ने ?सत्य कुरा जुन तथ्यमा आधारित छ अझ कमरेड ऋषिराज बरालले त त्यो माथिको लेख जुन त्यो पुस्तकको सबैभन्दा लामो लेख हो त्यहाँ हरेक पन्नामा सप्रमाण सहित प्रस्तुत गर्नु भएको छ |यति महत्वपूर्ण जुन नेपालको राष्ट्रियता संग प्रतक्ष संग जोडिएको छ त्यस्तो पुस्तकलाई जोड जोडले प्रचार गर्न पनि हामि डराउन पर्ने मलाई त पटक्कै चित्त बुझेको छैन |

    मानौ कुनै पार्टीको कुनै अमूक नेताले पुस्तक विमोचन कार्यक्रम नराख्ने भन्यो रे तर यो विषयमा कुनै न कुनै कार्यक्रम त गर्न सकिन्छ ?
    धेरै नै दुखित भैयो |हिमाल वरिपरी फ्री तिब्बतको अभियन्ताहरु हातमा अईप्याड अत्यन्तै गुणस्तर किसिमका क्यामरा हरु ब्रान्डेड जुत्ता उनीहरुको लवाई खवाई हेर्दा पनि थाहा हुन्छ उनीहरु कसरि र कहाँ बाट परिचालित छन् भनेर पुरै साम्राज्यवादको अखडा बनाईदै छ र अर्को तिर तराईमा एक मधेश एक प्रदेश नभए देश टुक्राउने धम्कि ….| यस्तो बेलामा यो पुस्तक निक्लेको छ कम्तिमा अलिकता आशावादी बनाएको छ |म चाहन्छु हरेक युवाहरुले यो किताब पढून |

  2. rebati upadhaya says:

    क्रान्तिकारी भनिएको पार्टीमा नै राष्ट्रघाती त्वत्वहरू हाबी भएपछि सायद यस्तै हुन्छा क्यार . मैले सुने अनुसार किरणले त यस पुस्तकको विरोध पो गरे रे.

Leave a Reply

See real websites hosted and built by iPage customers.