भारतीय विस्तारवाद र देउवा-प्रचण्ड गठबन्धन

Baral NPऋषिराज बराल

भर्खरै एउटा नाटक मञ्चन भएको छ  । बिजुली चम्केझैँ झिलिक्क भएको बडो डरलाग्दो नाटकको पटाक्षेप त भएको छ, तर अन्त्य भएको छैन ।  रमाइलो कुरा के छ भने नेपाली जनताले राम्रैसित बुझ्ने गरी मञ्चित यस कलाहीन नाटकको निर्देशक तथा प्रमुख पात्रहरू सबैका सामु निर्वस्त्र भएका छन् । देशकाल सापेक्षतामा आफूलाई वैदेशिक शक्तिका वफादार कारिन्दा साबित गर्न के–कस्ता पात्रहरू अगाडि आउँदा रहेछन् भन्ने कुरा यसपल्टको घटनाक्रमले राम्रोसित प्रस्ट पारेको छ । सेरबहादुर देउबा, कृष्णबहादुर महरा, खुमबहादुर खड्का र ज्ञानेन्द्र शाहलाई अगाडि राखेर दिल्ली दरबारद्वारा मञ्चित  यस नाटकले थुप्रैथुप्रै कुराहरू सतहमा ल्याएको छ । वास्तवमा देउवा- प्रचण्ड गठबन्धनले एक किसिमको ‘कु’ को आभाष गराएको छ ।

यताका केही दिनभित्र खासगरेर माथि नाम लिइएका पात्रहरू दिल्लीबाट काठमाडौँ फर्कने बित्तिकै कल्पना नै नगरेका परिदृश्यहरू नेपालको राजनीतिक वृत्तमा देखिए । ज्ञानेन्द्र शाह र बाबुराम भट्टराईले गोप्य किसिमले भेटघाट गरेको कुरा पनि चर्चाको विषय बन्यो । काङ्ग्रेसका अमुकअमुकहरू मन्त्री बन्ने भनेर सूचीसहितका समाचारहरू प्रकाशित भए । एमाओवादीभित्र प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा मात्र होइन, अमुकअमुकले आफूलाई मन्त्रीका रूपमा चर्चामा ल्याउन थाले । जनमुक्ति सेनाको गाँस काटेर महल ठड्याउनेहरू नै सबैभन्दा बढी ताउरमाउर गर्नथाले  ।

यो अचानक देखिएको परिदृश्य थिएन । संविधान बन्नुअघि नै भारतले के चाहेको थियो भन्ने कुरा सबैलाई थाहा छ । भारतबाट को को आएर के के धम्की दिए भन्ने कुरा पनि नेपाली जनतालाई थाहा छ । मधेसी नेताहरूका नाममा क–कसलाई अघि सारेर भारतले नेपाली जनतामाथि के–कस्तो ज्यादती गर्यो , के-कस्तो आतङ्क मच्चायो, यो सबैले देखेभोगेको कुरा हो । भारतीय नाकाबन्दीलाई नेपाली जनताले सामना गरेपछि भारतीय विस्तारवादले अहिले अर्को चाल चल्यो । यो नाटक भारतीय शासक वर्गको कुण्ठाग्रस्त मानसिकता र प्रतिशोधी भावनाको उपज हो भन्ने कुरा प्रस्ट छ । एकपल्ट फेरि भारतीय विस्तारवादले चित खाएको छ र यसका नयाँनयाँ क्लाइन्टहरूको अनुहार पनि राम्रोसित उदाङ्गिएको छ । भारतीय गोटी बनेर यो मुलुकलाई अस्तव्यस्त र तहसनहस पार्न कोको तयार भएका रहेछन् भन्ने कुरा सबैका सामु छर्लङ्ग भएको छ ।

सेर बहादुर देउबा कस्ता पात्र हुन् भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो ।  अमेरिकी शक्तिसित नजिक रहेका भनिएका देउबा पछिल्ला दिनमा मोदीका पनि प्रिय बन्नु अस्वाभाविक थिएन । सहज किसिमले सुशिल कोइरालाबाट आफ्नो स्वार्थ पूरा गर्न सकिँदैन भन्ने बुझेको भारतीय शासक वर्गले सुशिल कोइरालाको रहस्यमय मुत्युपछि योजनाबद्ध ढङ्गले देउबालाई काङ्ग्रेसी नेतृत्वमा ल्याएको हो । नेपाली काङ्ग्रेसको अहिलेको संरचना अमेरिकी–भारत योजनाबद्धताको उपज हो र देउबाजस्ता कारिन्दालाई काङ्ग्रेसको नेतृत्वमा ल्याएर उनीहरूले आफ्नो उद्देश्य पूरा गर्नु स्वाभाविक थियो । देउबाले दिल्लीको आज्ञा पालन गर्ने कुरा अनौठो थिएन, परन्तु आफूलाई सबै माओवादीको नेता र आफ्नो पार्टी सबै माओवादीको केन्द्र भनेर फलाक्न नथाक्ने पुष्पकमल दाहाल उर्फ प्रचण्ड जसरी निर्वस्त्र भए, यो चाहिँ बडो रमाइलो छ, तर यो अप्रत्यासित चाहिँ होइन ।

यथार्थतः प्रचण्ड जे हुन् सोही अवतारमा देखापरे । दिल्लीले आफ्नै कारिन्दाझैँ गरेर देउबा र उनलाई सँगै बोलाएको थियो । तर सोझै देखिन्छ भनेर उनले आफ्ना व्यापारिक साझेदार र सबैभन्दा विश्वासिला पात्र कृष्णबहादुर महरालाई पठाए । महरा माओवादी आन्दोलनमा थोरै लगानी गरेर धेरै प्राप्ति हासिल गर्ने खल पात्र हुन् । कतिपयमा महरा ‘उत्तर’का  पक्षधर भन्ने भ्रम पनि छ । वास्तवमा महरा ‘दक्षिण’ कै बफादार पात्र हुन् । उनको दोहोरो भूमिकाका कारण पछिल्ला दिनमा सम्पर्कमा राखे पनि चिनियाँहरूले उनलाई विश्वास गर्न छाडेका छन् । यो कुरालाई बुझेका उनी अहिले भारतसित देखिने गरी नै लहसिन थालेका हुन् । महरा मात्र होइन, यसपल्ट भारतीय स्वार्थ पूरा गर्न प्रचण्ड समूहभित्र तिनै पात्रहरू खुलेर सक्रिय भए, जो विगतमा कुनै न किुनै किसिमले भारतीय स्वार्थसित जोडिएर चर्चामा आएका थिए–पुनदेखि किराँतीसम्म ।

दिल्लीमा गरिएको निर्णयलाई काठमाडौँमा लागू गर्न गरिएको नाटकमार्फत थुप्रै कुरा सतहका आएका छन्  । खासगरेर प्रचण्डको दोहोरो चरित्र सबैका सामु थप खुलस्त भएको छ ।  वास्तवमा राष्ट्रियताको नारा दिएर उनले भारतीय विस्तारवादसित बार्गेनिङ मात्र गरेका थिए । उनी कतिसम्म राष्ट्रघाती काम गर्न तम्सिँदा रहेछन् भन्ने कुरा भर्खरै मञ्चित नाटकबाट प्रस्ट भएको छ । मेले केही दिन अघि मात्र अन्नपूर्णकै लेखमा “प्रचण्डले जब देश र जनताप्रति चिन्तित भएको कुरा गर्छन्, थप आशङ्कित हुनुपर्ने स्थिति छ । चोर ढोकाबाट प्रचण्ड कताकता पुग्छन् र के के गर्छन्, त्यो लुकेको कुरा होइन”, भनेर लेखेको थिएँ । समयले यस यथार्थलाई प्रस्ट पारेको छ । चैत २३ मा उनले अन्नपूर्ण दैनिकसित— “छिमेकीले नेपालको सार्वभौम सत्ताका विषयमा टिप्पणी गर्न मिल्दैन” भनेका थिए ।  तर एक महिना पनि नबित्तै सही अर्थमा उनी के हुन् भन्ने कुरा उनैले प्रस्ट पारे । पत्रपत्रिकाहरू खासगरेर  अनलाइन माध्यमहरूका सूचना सही हुन् भने यसबीच उनले दर्जनौँ पटक भारतीय राजदूतसित भेटेको तथा ३२ करोडमा भारतीय स्वार्थमा काम गर्न तयार भएको भनेर लेखेको कुरा सही हो भन्नुपर्छ । एक कालखण्डका महानायक प्रचण्ड कति घीनलाग्दो पात्रका रूपमा प्रस्तुत भए । हिजो जेजस्तो भए पनि अहिले केपी ओलीका सामु प्रचण्ड बाउन्ने पात्र साबित भएका छन्  । कठै ! पतनको पनि हद हुन्छ ।

प्रचण्ड पुराणको यो अध्याय त्यतिबेर घटेको छ, जतिबेर प्रचण्डलाई राष्ट्रियताको पक्षमा लड्दै गरेका महान् राष्ट्रवादी नेता ठान्दै कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टीको एउटा टोली आत्मसमर्पणवादको डमरु बजाउँदै पेरिस डाँडातिर अलख जगाउन खुट्टा उचालिरहेको छ । केही दिनअघि मात्र राष्ट्रियता कमजोर भएकाले यसका पक्षमा उभिने प्रचण्डलाई सहयोग गर्न पार्टी एकता गर्नुपरेको जिकिर देव गुरुङले गरेको समाचार प्रकाशित भएको थियो । गुरुङ तिनै पात्र हुन् जसले सातौँ महाधिवेशनमा कार्यकर्ताबाट उठेको २५ लाखले आफ्ना लागि निजी गाडी किनेका थिए । भारतीय दूवावास लगायतसित गुरुङको राम्रो सम्बन्ध रहेको कुराको साक्षी कमरेड विप्लवको दस्ताबेज छ । यति मात्र नभएर अहिले कलाहीन नाटक मञ्चन भइरहँदा रामबहादुर थापा ‘बादल’ र देव गुरुङले ‘दक्षिण ढोका’ मा गएर ढोगभेट गरेको कुरासमेत चर्चाको विषय बनेको छ । यसो हो भने ओली सरकार ढाल्ने मात्र नभए बुद्धनगरलाई टुक्र्याउने र प्रचण्डलाई ‘बलियो बनाउने’ काममा  ‘दक्षिण’ स्रोत सक्रियताका साथ लागेको कुरा प्रस्ट हुन्छ ।

वर्तमान संबिधान जन-संबिधान होइन र यो सरकार कम्युनिस्ट सरकार पनि होइन । यसले गर्न सक्ने काम पनि गरेको  छैन  ।  परन्तु, यसले चीनसित गरेका कतिपय सम्झौता नेपालको आर्थिक समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानिताका दृष्टिले दीर्घकालीन महत्वका छन् । हुन त कतिपय कमरेडहरूले यो सरकारलाई ‘र’ र मोदी सरकारबीचको अन्तर्विरोध र अहम्को उपज ठान्दछन् । यो केही हदसम्म सही भए पनि योसित जोडिएका थुप्रै परिघटनाहरूको विश्लेषण नगरी ठाडो निष्कर्ष निकाल्नु यान्त्रिकता मात्र हुन्छ । यो सत्य हो, ओलीले गरेका कतिपय निर्णयहरूका बारेमा बाहिर मात्र नभएर उनकै पार्टीभित्र व्यापक सहमति र समझदारीको अभाव भएको देखिन्छ । भूकम्प र नाकाबन्दीबाट पीडित जनतालाई राहत दिने कुनै वैज्ञानिक कार्यक्रम छैन  । जनताको दैनिक जीवन थप कष्टकर भएको छ । त्यसैगरी जनयुद्धकालका मुद्दाहरू ब्युझाएर माओवादीहरूलाई उत्तेजित पारेर विदेशी शक्तिहरू तथा कथित मानवाधिकारवादीहरूलाई खेल्ने मौका उनले दिएका छन् ।  र पनि यसका नाममा  विदेशीको दैलो चाहर्ने अथवा भारतीय विस्तारवादको गोटी बन्ने कामलाई कदापि सही भन्न मिल्दैन । कुनै पनि  देशभक्तले यस्तो काम गर्दैन र गर्नुहुँदैन । मधेसी नेताहरू  दिल्ली दरवार र लालु दरवारमा लम्पसार पर्न गए भन्नुको पनि अब कुनै तुक छैन । प्रचण्ड–देउबाले त्यसलाई पनि माथ गरेका छन् ।

भारतीय विस्तारवाद त्यसै चुपचाप बस्नेवाला छैन । अहिलेको असफल नाटक उसका लागि थप पीडा बन्ने छ  । अब निकै खतरनाक खेल हुनसक्छ । राष्ट्रिय स्वाधीनताका पक्षधरहरूले  सचेत हुनुपर्ने चुनौतीपूर्ण समय हो यो ।  संसदीय व्यवस्थामा यस्ता खेल चलिरहन्छन्, यो संसदीय व्यवस्थाको चरित्र हो । अहिलेको सङ्कट भनेको वर्तमान संसदीय व्यवस्थाले निम्त्याएको सङ्कट हो । यसै व्यवस्थाभित्र अमुकको ठाउँमा अमुक आएर अथवा ल्याएर  समस्या हल हुनेवाला छैन । आगामी दिनमा ओली र प्रचण्डबीचको शीतयुद्ध झन् चर्किने छ, नाटकका नयाँ शृङ्खलाहरू मञ्चित हुनेछन् ।

संसदीय व्यवस्थाले नेपाली समाजको  राजनीतिक र आर्थिक अन्तर्विरोधको हल र उत्पीडित  वर्ग तथा समुदायको समस्या हल गर्न सक्तैन भन्ने कुरा व्यवहारले पुष्टि गरेको सत्य हो । यसको विकल्प भनेको नयाँ जनवादी राज्यसत्ता नै हो ।  क्रान्तिकारी माओवादीहरूको ध्रुवीकरण अहिलेको आवश्यकता हो भन्ने कुरामा हामीले जोड दिनुको अर्थ पनि यही नै हो । वस्तुगत स्थिति सकारात्मक छ  र आत्मगत स्थिति त्यसै तयार हुँदैन, यसले सचेतन प्रयासको माग गर्छ ।  समयले यसतर्फ अघि बढ्न माओवादी क्रान्तिकारीहरूलाई आह्वान गरेको छ ।

०००

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.