भविष्य भनेको माओवादी आन्दोलन नै हो

Varavara-Rao-1क्रान्तिकारी बुद्धिजीवी वरवर रावसितको कुराकानी
(सन् १९४० मा त्यसबेलाको आन्ध्र प्रदेशको वारङ्गल जिल्लामा जन्मिनुभएको वरवर राव क्रान्तिकारी कवि तथा समालोचकका रूपमा स्थापित र चर्चित हुनुहुन्छ । बौद्धिक क्षेत्रमा माओवादी बुद्धिजीवीका रूपमा परिचित राव विरसम अर्थात् ‘विप्लव रचयिता सङ्गम’ (Revolutionary Writers Association) ) का अध्यक्ष हुनुहुन्छ । साहित्य तथा राजनीति दुवैमा उत्तिकै सक्रिय र सशक्त रावलाई आन्ध्र सरकारले १९८५ र २००२ गरी दुई पटक जेलमा निर्वासित गर्यो र पटककपटक नजरबन्द तथा हिरासतमा राखेको छ । पहिले उहाँ रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट (आरडिफ) को अध्यक्ष हुनुहुन्थ्यो । यसलाई सरकारले प्रतिबन्ध लगाएपछि अहिले उहाँ फोरम फर अल्टरनेटिव पोलिटिक्स’ (एफएपि) को संयोजक हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) निर्माणको दस वर्षको उपलक्ष्यमा भारतको हैदरावादमा यही सेप्टेम्बर २१ मा आयोजना गर्न लागिएको विचारगोष्ठीका सन्दर्भमा सेप्टेम्बर २० मा उहाँ र उपन्यासकार कल्याण रावसहित ७०० जनालाई पक्राउ गरेर सरकारले सो गोष्ठीको कार्यक्रममाथि प्रतिबन्ध लगाएको थियो । यस क्रममा भएका घटना र सिङ्गो भारतीय माओवादी आन्दोलनमा केन्द्रित रहेर स्वतन्त्र पत्रकार ऐशिक चन्दाले बरबर रावसित गरेको कुराकानीको नेपाली अनुवाद हामीले यहाँ प्रस्तुत गरेका छौँ ।)
…………………………………………………………………………………………………………..
ऐशिक चन्दा : भर्खरै तपाईँको संस्था प्रत्यात्मनया रजकीया वेदिका (फोरम फर पोलिटिकल अल्टर्नेटिव) लाई सभासेमिनार र रयाली निकाल्न दिइएन र तपाईँसहित थुप्रैलाई हिरासतमा राखियो । तेलङ्गनाको वर्तमान केसिआर सरकार विगतको एकीकृत आन्ध्रको सरकारभन्दा क्रान्तिकारी शक्तिहरूमाथि बढी आक्रामक भएको जस्तो लाग्दैन तपाईँलाई ?
वरवर राव : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठनको दश वर्ष पुगेको अवसरमा सेमिनार, र्याली र सभाको आयोजना गरिएको थियो । गोष्ठीका विषयहरू बोल्सेविक पार्टीको निर्माण, संयुक्त मोर्चाको प्रश्न र लाला सेना निर्माणको विषयसित सम्बन्धित थिए । हामीले पूर्वस्वीकृतिका लागि कुनै अनुरोध गरेका थिएनौँ । हामीहरूले गोष्ठी, र्याली र मिटिङको आयोजना गरेका थियौँ । नियमानुसार यदि कसैले लाउड स्पिकर प्रयोग गरेर , जनसभा र अन्य कुनै कार्यक्रम गर्छ भने उसले स्वीकृति लिनुपर्छ । पुलिसलाई खबर गरेर यसको स्वीकृति लिनुपर्दछ, जसबाट आमजनतालाई कुनै अप्ठेरो नपरोस् । हलहरूमा गरिने गोष्ठीहरूका लागि पुलिसहरूलाई जानकारी दिइरहनु पर्दैन । निकै कडा समय मानिएको बेङ्गा राव, यस राजशेखर रेड्डी र यस चन्द्रबाबु नायडुको समयमा पनि हलहरूभित्र गरिने सभाहरूका लागि स्वीकृति लिनु आवश्यक मानिँदैनथ्यो । तर जुलुस र सभाको त कुरै छाडौँ, कोठामा हुने गोष्ठी पनि गर्न दिइएन । म लगायत ७०० जनालाई हिरासतमा लिइयो, गोष्ठीको समापनपछि क्रान्तिकारी विचारबाट उद्वेलित भएर जनता जुलुसमा आबद्ध नहोउन् भन्ने उनीहरूको बुझाइ रह्यो । यो तर्कहीन र अप्रजातान्त्रिक भनाइ हो । केसिआर सरकारलाई म एन. टि रामाराव सरकारसित तुलना गर्न चाहन्छु, जसले आटा, माटा र पाटालाई प्रतिबन्ध लगाएर टाडा थोपरेको थियो । टाडासित थुप्रै नक्कली मुठभेड र मान्छेहरू गायब पारिएका घटनाहरू जोडिएका छन् । त्यतिबेला जतिबेर सरासयम हलमा डा. रामनाथनको हत्याको सन्दर्भमा गोष्ठी भइरहेको थियो, त्यहाँ वक्तालाई मात्र प्रवेश गर्न दिइयो र आमश्रोतालाई हलमा प्रवेश गर्नबाट रोकियो । त्यतिबेला तेलङ्गानाका कवि कालोजीले भनेका थिए—“हामीले डा. रामनाथनको हत्याको विरोधमा यो सभा आयोजना गरेका हौँ, तर यस्तो लाग्छ हामी सबै मरेका छौँ, हामीलाई श्रोताका सामु बोल्न प्रतिबन्ध छ ।” त्यही कुरा अहिले केसिआर सरकारमा पनि भएको छ । केसिआर सरकार यसअघिका सरकारहरू भन्दा पनि खराब छ ।
चन्दाः बालबिर गदर त्यहाँ देखिनुभएन, कतै तपाईँ र उहाँबीच मनमुटाव त भएको छैन ?
राव : पटक्कै होइन । उहाँ आफ्नो मोर्चा तेलङ्गना प्रजा फ्रन्ट मार्फत त्यहाँका मुद्दामा केन्द्रित हुनुहुन्छ, जुनचाहिँ वैकल्पिक राजनीतिक मञ्च हो । त्यसमा प्रजातन्त्रवादीहरू र आमजनता पनि सम्मिलित छन्, जो खुलेर माओवादी आन्दोलनलाई पनि समर्थन गर्छन् । तेलङ्गना प्रजा फ्रन्ट को आयोजनामा अक्टोबर ११ र १२ मा त्यहाँ एउटा विचारगोष्ठी हुँदैछ । र म पनि त्यहाँ उपस्थित हुने अवस्था छैन । यथार्थतः यो कामको बाँडफाट मात्र हो ।
चन्दा  : तेलङ्गना राज्यको दलित आन्दोलनका सम्बन्धमा तपाईँको के धारणा छ ? केसिआर सरकार पहिले नै आफ्ना प्रतिबद्धताबाट पछि हटिसकेको स्थिति होइन र ?
राव : दलित मुख्यमन्त्री बन्ने भन्ने कुरा एउटा देखाउने कुरा मात्र हो । उनले दलितलाई उपमन्त्रीका रूपमा उभ्याएका छन्, जसलाई वारङ्गलमा उपेक्षा गरिएको छ । डा. थाटिकोन्डा राजाह, जो मेडिगा समुदायका छन्, उपमन्त्रीका साथै स्वास्थ्य मन्त्री पनि छन्, उनले वारङ्गलमा स्वास्थ्य विश्वविद्यालय खोल्ने बाचा गरे, तर केसिआरले यस्तो आधारहीन वाचा किन गरेको भनेर सार्वजनिक रूपमै उनको आलोचना गरे र यसलाई खारेज गरिदिए । केसिआरले थरीथरीका बाचा गर्नसक्छन्, तर दलितका उपमन्त्रीले भने यसो गर्न पाउँदैनन् । यस किसिमको नकारात्मक प्रवृत्तिले केसिआरको दलितप्रतिको सामन्ती प्रवृत्तिलाई नै पुष्टि गर्छ । केसिआरलाई नजिकैबाट चिन्नेहरूले उनले कहिल्यै पनि दलितलाई मुख्यमन्त्री बनाउने छन् भनेर आशा गरेका थिएनन् ।
चन्दा : राज्यमा माओवादी आन्दोलनको विकासलाई कसरी हेर्नुभएको छ ?

राव : भविष्य भनेको माओवादी आन्दोलन नै हो, जुन एक मात्र वैकल्पिक राजनीति हो । जनता संसदीय प्रजातन्त्रबाट वाक्कदिक्क भएका छन्, खासगरेर मोदी सरकारमा आएपछि । सञ्चारमाध्यमहरूले मोदीलाई प्रधानमन्त्री बनाए । ‘अच्छे दिन’ को नारा दिएका उनले प्रधानमन्त्री भएलगत्तै इन्धनको भाउ उचाइमा पुर्याए र रेल्वेको भाडा पनि बढाए । तेलङ्गनामा राज्य सरकार र केन्द्र सरकारको व्यवहारले जनता तीनछक परेका छन् । आन्ध्रको तिरूपतिमा ‘अपरेसन ग्रिन हन्ट’ विरुद्धको कोठे सभा गर्न रोक लगाइयो । थुप्रै ठाउँमा खुला जनसङ्गठनका नेताहरूलाई पक्राउ गरिएको छ । यस्तो स्थितिमा माओवादी आन्दोलनले तेलङ्गना र अन्य नयाँ राज्यहरूमा थप शक्ति आर्जन गर्ने कुरा पक्का छ ।
चन्दा : तेलङ्गनामा प्रहरी अपरेसनपछि यहाँका कार्यकर्ताहरू बस्तर र छत्तीसगढतिर लागेका होइनन् र ?
राव : अवश्य पनि तिनीहरू फेरि तेलङ्गनामा फर्कनेछन् र यहाँका जनता र थुप्रै नयाँ कार्यकर्ताहरू आन्दोलनमा सहभागी हुनेछन् । वास्तवमा यो गोदावरीको किनार अदिलावाद, करिमनगर वारङ्गल र खमाम जिल्लाहरूमा भएका माओवादी गतिविधिहरूको निरन्तरताका कारण उत्पन्न सरकारी भयको उपज हो । तेलङ्गना राज्यको निर्माण भएपछि सरकारी फोर्स र माओवादीहरूबीच अदिलावाद जिल्लामा मात्र मुठभेडका तीनओटा घटना घटेका छन्, भूगोलको राम्रो जानकारी भएका कारण अदिलावाद जिल्लानेतृत्व सुरक्षित रहन सफल भयो ।
चन्दा : माओवादीको माथिल्लो तहमै क्षेत्रीयतावाद छ भनिन्छ । माओवादीको माथिल्लो तहमा पुग्न तेलङ्गनाको हुनुपर्छ भन्ने गरिन्छ । त्यहाँ एकमात्र किसन दा (जसले माओवादी आन्दोलनको केन्द्रको माथिल्लो तहमा उत्तर भारतबाट प्रतिनिधित्व गर्नुभएको थियो ।) भाकपा (माओवादी) को पोलिटब्युरोमा पुग्नुभएको थियो भनिन्छ नि ….?
राव : यो सञ्चारमाध्यमहरूले बनाएको कथा हो । माओवादी तहमा कुनै पनि किसिमको क्षेत्रीयतावाद छैन । १९४८ देखि १९५१ को तेलङ्गना हतियारबद्ध सङ्घर्ष, जसलाई त्यस बेलाको एकीकृत भारतीय कम्युनिस्ट पार्टीले नेतृत्व गरेको थियो, त्यस बेलादेखि नै तेलङ्गनामा क्रान्तिकारी कम्युनिस्ट परम्परा निरन्तर रूपमा रहँदैआएको छ । धेरै युवाहरू आरम्भदेखि नै पिपुल्स वार ग्रुपमा संलग्न भए, जसले माओवादी पार्टीको निर्माणपछि माथिल्लो तहमा भूमिका पाए । त्यसैले माओवादी पार्टीको पोलिटब्युरो तहमा तेलङ्गनाका नेताहरूको बाहुल्य हुनु स्वाभाविक छ । तपाईँहरूले भनौँ न हरियाणा र गुजरातबाट माओवादी पार्टीको माथिल्लो तहमा पुगेको नेता भेट्न सक्नुहुन्न । यो सबै क्रान्तिकारी परम्परासित जोडिनुको परिणाम हो ।
चन्दा : पुरुष क्याडरहरूले महिला क्याडरहरूमाथि यौन दुर्व्यवहार गर्नेगरेका कुराहरू बाहिर आइरहन्छन् नि ?
राव : यो पनि सञ्चारमाध्यमहरूले फैलाएको भ्रम हो । धेरै कार्यकर्ताहरू, जो खराब स्वास्थ्य र अन्य कारणले गर्दा सशस्त्र सङ्घर्ष परित्याग गरेर घर बसेका छन्, उनीहरूलाई यस किसिमको झूट बोलेर आन्दोलनका बारेमा भ्रम फैलाउन बाध्य पारिएको छ ।
चन्दा : उसोभए यौन दुर्व्यवहार कुरा तपाईँ स्वीकार गर्नुहुन्न त ?
राव : होइन, यसमा केही अपवाद पनि छ । ती क्याडरहरू जसले यस्ता दुर्व्यवहारका गतिविधि गरेका छन्, तिनीहरूलाई कडाभन्दा कडा कारबाही पनि गरिएको छ र ती कतिपय आन्दोलनबाट भागेका पनि छन् ।
चन्दा : ‘आम आदमी’ पार्टी, अरविन्द केजरीवाल र उनीहरूको राजनीतिबारे तपाईँको धारणा प्रस्ट पारिदिनुहुन्छ कि ?
राव : यो, संसदीय राजनीतिमा जनताको विश्वास हराउँदै गएपछि त्यसलाई जीवित राख्न गरिएको प्रयोग मात्र हो । सञ्चारमाध्यमहरूले यसको जनमत बनाएका मात्र हुन् । यिनले पहिले अन्ना हजारेलाई अघिसारे र उनलाई थेचारे, अनि केजरीवाललाई उठाए र उनलाई पनि थेचारे र अहिले मोदीको होहल्ला मच्चाएका छन् ।
चन्दा : माओवादीमाथि लगाइएको प्रतिबन्ध हटाइयो भने के यसले चुनावमा भाग लिन्छ ?
राव : अहँ कदापि लिँदैन । प्रतिबन्ध हटाएछन् भने हामी मुलुकमा विशाल जनसभाहरूको आयोजना गर्नेछौँ । हाम्रा गतिविधिहरू पनि खुला हुनेछन् ।
चन्दा : अरू मार्क्सवादी पार्टीहरू जस्तो सिपिएम, सिपिआइ (यमयल) प्रति तपाईँको धारणा कस्तो रहेको छ ?
राव : तिनीहरू अलिकति पनि मार्क्सवादी पार्टीहरू होइनन् । उदाहरणका रूपमा हामी पश्चिम बङ्गालको वाम मोर्चालाई लिनसक्छौँ, जहाँ यसले सिङ्गुर र नन्दिग्राममा भूमण्डलीकरणको साम्राज्यवादी योजना भित्र्यायो । एउटा कुरा चाहिँ के हो भने धर्मनिरपेक्षता तथा जनवादी मुद्दाहरू, खासगरेर ‘मोदीवता’ का विरुद्ध यिनीहरू आउँछन् भने आम जनसङ्गठनहरूमार्फत यिनीहरूसित काम गर्न सकिन्छ । जबसम्म उनीहरू साम्राज्यवादी भूमण्डलीकरण नीतिका पक्षमा चलिरहन्छन्, उनीहरूलाई कम्युनिस्ट पार्टी भन्नसकिने स्थिति छैन ।
चन्दा : संसदीय राजनीतिमा समेत कम्युनिस्ट पार्टीहरूको शक्तिमा ह्रास आएको अवस्थामा सबै कम्युनिस्ट पार्टीहरू एकीकृत हुने सम्भावना छ ?
राव : यदि उनीहरू स्थितिको सही किसिमकले आकलन गर्छन् र आत्मालोचना पनि गर्छन् भने तथाकथित कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू माओवादी आन्दोलनमा सहभागी हुनसक्छन्, जब कि त्यहाँ थुप्रै अन्यौलताहरू छन् । १९६७ को नक्सलबाडी आन्दोलनपछि यसमा एकता र विभाजनहरू हुँदैआएका छन् । सशस्त्र सङ्घर्ष चलाइरहेका सबै नक्सल क्रान्तिकारीहरू एउटै पार्टीमा एकताबद्ध भएर एउटा बोल्सेविक क्रान्तिकारी पार्टी निर्माण गरेर क्रान्तिलाई अगाडि बडाउन सकिने सम्भावनाचाहिँ छ ।
चन्दा : त्रिणमूल काङ्ग्रेसको आगमनपछि पश्चिम बङ्गालको माओवादी आन्दोलन निकै कमजोर भएको छ भनिन्छ नि ?
राव : यसले विस्तारै आफ्नो शक्ति आर्जन गर्दैछ । कथित मुठभेडका नाममा किसनजीको हत्यापछि त्यहाँको आन्दोलनले निकै ठूलो धक्का खाएको हो तापनि यो अहिले फेरि मजबुत हुँदैगएको छ ।
चन्दा : मुस्लिम कट्टरतावादप्रति तपाईँको के धारणा छ ?
राव : जस्तो मेरा मित्र गुडिवा थियाङ्गोले भनेजस्तै धार्मिक कट्टरतावादभन्दा ‘अन्तर्राष्ट्रिय मुद्राकोष’ को कट्टरतावाद बढी खतरनाक छ ।
चन्दा : के तपाईँ प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ ?
राव : हो, म प्रजातन्त्रमा विश्वास गर्छु, तर भारतमा प्रजातन्त्रका नाममा बुर्जुवा तानासाहीको प्रयोग भइरहेको छ । त्यसैले भारतमा हामी “नयाँ जनवाद” को पक्षमा छौँ ।
चन्दा : अपाङ्ग भएर पनि जि. एन. साइ बाबालाई जेलमा राखिएको छ भनेर विरोध भइरहेको छ । यो मानवअधिकारको उल्लङ्घन हो । तर सरकारी मान्छे भएकै कारण माओवादीहरूले कब्जामा लिएर मारिएकाहरूको मानवअधिकार नि ?
राव : कुनै पनि युद्धमा सिपाहीको दोष हुँदैन । तर ऊ कसको पक्षमा काम गरिरहेको छ भन्ने कुराले धेरै अर्थ राख्छ । यसमा हामी प्रस्ट छौँ । ती सिपाहीहरूप्रति दुखित त छौँ, तर त्यो त युद्धमा सबैले ब्यहोर्नुपर्ने मूल्य हो । उनीहरू गलतको पक्षमा छन् र हामी जनताको पक्षमा । कुरुक्षेत्रका दिनदेखि दोस्रो विश्वयुद्धका दिनहरूसम्म भएको कुरा पनि यही नै हो ।
चन्दा : के विरसम ( विप्लव रचयिता सङ्गम) ले जस्तै अन्य भाषाका साहित्यिक आन्दोलनहरूले पनि यस्तै किसिमले काम गरिरहेका छन् ?
राव : वास्तवमा हामीसित १९५३ मै भारतव्यापी रूपमै ‘लिग फर रिभोलुस्नरी कल्चर’ थियो । तर २००२ मा यसमाथि प्रतिबन्ध लगाइएपछि यसले काम गर्न सकेन । अहिले खासगरेर मोदी सरकारमा आएपछि धर्मनिरपेक्षता र प्रजातान्त्रिक मूल्यसित सम्बद्ध रहेर साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा संयुक्त रूपमा जाने किसिमका संस्थाहरूको आवश्यकता छ ।
चन्दा : बङ्गालको ‘भोको पुस्ता’ को आन्दोलन त्यसरी समाप्त भयो, तर तपाईंले कसरी विरसमको आन्दोलनलाई बचाइरहनुभएको छ ?
राव : बङ्गालको ‘भूखी पिँढी’ (भोको पुस्ता) को आन्दोलनपछि सिपिआइ (यमयल) ले फ्रन्टियर पत्रिकाको सुरवात गरेको थियो र यो १९७५ सम्म चलेको थियो । त्यसपछि त्यहाँको आन्दोलनले निकै ठूलो धक्का खानुपर्यो र २०१० मा आएर जङ्गलमहलमा यसलाई अगाडि बढाउने प्रयास गरियो । तर यसले पनि धक्का खायो । जब कि श्रीकाकुलम आन्दोलनको प्रभावबाट उत्प्रेरित भएर आन्ध्रमा विरसमको गठन गरिएको थियो । त्यहाँ सबै कुराको समीक्षा गरेर जनदिशा लागु गरिएको थियो र पिडब्लुजि (पिपुल्स वार ग्रुप) को गठन गरिएको थियो, जुनचाहिँ भाकपा (माओवादी) को प्रमुख घटकका रूपमा अहिले निरन्तरतामा छ । आन्ध्रमा क्रान्तिकारी आन्दोलनको निरन्तरताका कारणले नै हामी क्रान्तिकारी साहित्यिक आन्दोलनलाई जीवित राख्न सक्षम भयौँ ।
चन्दा : नयाँ राज्यबाट तपाईँ के आशा गर्नुहुन्छ र यसमा के परिवर्तन पाउनुभएको छ ?
राव : नयाँ राज्यबाट हामीले केही पनि आशा गरेका छैनौँ । हामी १९६९ देखि तेलङ्गना नयाँ राज्यका लागि लड्यौँ । हैदरावाद मध्ययुगीन सामन्ती व्यवस्थामा आधारित राज्य थियो, जुन ब्रिटिस भारतमा (आन्ध्र र रयालासिमा मद्रास प्रेसिडेन्सींमा थियो ) गाभिएको थियो । १९५९ मा भएको विलय अप्रत्यासित किसिमको थियो । यो साम्राज्यवादी शैलीको विलय थियो । त्यसैले हामी ‘डेमोक्रेटिक तेलङ्गना’ का पक्षमा लड्यौँ । माओवादी तप्काले मात्र तेलङ्गना आन्दोलनलाई निरन्तर र जोडदार रूपमा समर्थन गर्यो । अहिलेको तेलङ्ना अरू राज्यजस्तै मात्र छ । जनताको जीवनमा यसले केही पनि फरक पारेको छैन, त्यसैले ‘‘डेमोक्रेटिक तेलङ्गना’ को आन्दोलन जारी रहनेछ ।
चन्दा : जादबपुर विश्वविद्यालयको होक्कोलोरोब आन्दोलबारे तपाईँको भनाइ के छ ?
राव : हामी यस आन्दोलनलाई पूर्ण समर्थन गर्दछौँ । ममता बनर्जीले सबै प्रजातान्त्रिक मूल्यहरूलाई कुल्चिएकी छन्, त्यसैले यसले गति लिनु स्वाभाविक छ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.