बौद्धिक स्खलनको पीडा

ऋषिराज बराल new photo
गएको हप्ता अङ्ग्रेजी अलाइन पत्रिका “काउन्टरपन्च” मा आन्द्रे भल्चेक र मिचेल वेल्टनका दुइटा महत्वपू्रर्ण रचनाहरू प्रकाशित भए । सन्दर्भ केही फरक भए पनि यी दुवै रचना पश्चिमा बौद्धिकजगत् कसरी पङ्गु, निस्पृह र उपभोक्तावादमा फसेको छ र सत्यको उद्घाटन गर्न अक्षम बनेको छ भन्ने कुरामा केन्द्रित छन् । यति मात्र नभएर यसमा वाम क्षेत्रले पनि जति भूमिका खेल्नसक्नुपर्दथ्यो खेल्न सकेको छैन भन्ने पनि उल्लेख गरिएको छ । दुवै लेखले सूचना साम्राज्यवादले सत्यलाई झूठ, कुरूपलाई सुन्दर र सुन्दरलाई कुरूप पारेर प्रस्तुत गरिरहेको छ र आमजनमानसमा मनोवैज्ञानिक आतङ्क उत्पन्न गरिरहेको छ भनेका छन् । दुवै लेखमा आलोचनात्मक दृष्टिकोण राख्ने भनिएको बौद्धिक जगत साम्राज्यवादका सामु कति निरीह बनेको छ भन्ने कुरालाई समीक्षात्माक विश्लेषण गरिएको छ ।

 

आन्द्रे भल्चेक शोध पत्रकार, लेखक र वाम बुद्धिजीवीका रूपमा परिचित छन् । उनको र नोम चोम्सकी बीचको कुराकारीको लामो शृङ्खला पत्रकारिताका साथै बौद्धिक क्षेत्रमा पनि निकै चर्चित छ । यस सन्दर्भ उनको पुस्तक “अन वेस्टर्न टेरोरिज्म” निकै चर्चित पुस्तक हो । भर्खरै पनि उनको अर्को पुस्तक “फाइटिङ अगनेस्ट वेस्टर्न इम्पेरियलिज्म” प्रकाशित भएको छ । यो पुस्तक पनि त्यतिकै चर्चित बनेको छ । त्यसैगरी डा. मिचेल वेल्टन अत्हाबास्का विश्वविद्यालयका प्राध्यपक हुन् । उनको पुस्तक “डिजाइनिङ दि जस्ट लर्निङ सोसाइटी” पनि निकै चर्चित पुस्तक हो । भल्चेकले आफनो अध्ययनको क्षेत्र फ्रान्सलाई बनाएका छन् र वेल्टनले मूलतः अमेरिकालाई । तर दुवैले बौद्धिक क्षेत्रमा हराउँदै गएको आलोचनात्मक चेतप्रति चिन्ता र चिन्तन प्रकट गरेका छन् ।
भल्चेकले आफ्नो लेख ‘दि कोल्याप्स अफ फ्रेन्च इन्टेलेक्चुअल डाइभर्सिटी’ मा फ्रान्सको चार्लि हेब्दोको सन्दर्भ लिँदै यस किसिमको परिस्थिति उत्पन्न हुनुको कारण खोज्नतिर भन्दा सरकारले उल्टै एकतर्फी रूपमा भावनात्मक र आक्रोशात्मक आवेग उत्पन्न गरेको कुरा उल्लेख गरेका छन् । फ्रान्सलाई प्रजातान्त्रिक मुलुक भनिन्छ, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता छ भनेर देखाउन खोजिएको छ । तर स्थिति त्यस्तो होइन भन्दै उनले भनेका छन् : “यदि फ्रान्समा अमेरिका तथा बेलायतजस्तो पुलिस राज छैन भन्ने तपाईँलाग्छ भने यसबारे एकपल्ट फेरि सोच्नोस् । जताततै हतियारबद्ध सिपाहीहरू र कमान्डो फोर्सको तैनाथी छ । सरकारले इन्टरनेट सेवाग्राहीहरूको खुला गुप्तचरी गरेको छ । मास मिडियाहरू आफ्ना रिपोर्टहरू आफैँ सेन्सर गर्न बाध्य छन् । प्रोपोगन्डा राजको चकचकी छ ।”
उनका भनाइमा आर्ट ग्यालरीमा अमूर्त चित्रहरू देख्न पाउनुहुन्छ, तर भोक र रोगले ग्रस्त आम नागरिकको पीडा र विश्वका जनताले गरेका विद्रोहका चित्रहरू कतै देख्न पाउनुहुन्न । फ्रान्स किन साम्राज्यवादको कारिन्दा मात्र बनेको छ भनेर सोध्दा आर्ट ग्यालरीका मान्छेले आफूलाई डेरा आँखा पारेर हेरे भन्ने पनि उनको भनाइ छ । ग्यालरीको अध्ययनपछि नोटप्याडमा यस्तो लेख्न बाध्य भएँ भन्दै उनले लेखेका छन् : “फ्रान्समा कुकुरहरू क्याफेमा बियर पिउन स्वतन्त्र छन् ।”
सङ्गीत क्षेत्रको अध्ययमा पनि यस्तै विसङ्गतिपूर्ण अवस्था देखेको कुरा उनले उल्लेख गरेका छन् । जनताका पीडा, आफ्नो अस्तित्वका लागि विश्वका जनताले गरेका सङ्घर्षहरू, पपुवा, काश्मिर, प्यालेस्टाइन, लिबिया, माली, सोमालिया, कङ्गो इराक आदि ठाउँमा भएका साम्राज्यवादी हस्तक्षेप र जनताको प्रतिरोधप्रति समर्पित गीतको चर्चा कतै पनि आफूले सुन्न नपाएको कुरा उनले उल्लेख गरेका छन् । फ्रान्सको विगतको इतिहास रगतले लेखिएको भए पनि यो अहिले अर्कै भएको छ । मान्छेहरू आफूलाई फान्सका हौँ त भन्छन्, तर यसको इतिहास कस्तो थियो भन्ने कुरा बुझ्दैनन् भन्ने पीडा पनि उनले व्यक्त गरेका छन् ।
अहिलेको फ्रान्सको बौद्धिक निस्पृहताले उनलाई पोलेको छ । कहाँ गए ती बहादुर बुद्धिजीवीहरू, जसको चर्चा हामी अक्सर गरेर गर्छौँ भनेर उनले प्रश्न गरेका छन् । उनका भनाइमा उनीहरू सम्पूर्ण त थिएनन्, तर ती उत्पीडित जनताको पक्षमा उभिएका थिए । उनीहरूले क्रान्तिको कुरा गरेका थिए र उपनिवेशबाट विश्वका जनताको मुक्तिको पक्षमा आफूलाई उभ्याएका थिए । हामीसित एक कालखण्डका जोला, ह्युगो र अनि अलि पछि सात्र,कामु मालरक्स, सिमोन द बुआ, आराँगोहरू थिए । तर आज स्थिति उल्टो छ । लेखकहरू अब पश्चिमा आतङ्ककारी चिन्तनको पछि लागेका छन् । जतिसुकै स्वतन्त्र समाजको कुरा गरे पनि फ्रान्समा अभिव्यक्ति स्वतन्त्रता छैन र फ्रान्सेली बुद्धिजीवी समुदाय पश्चिमा साम्राज्यवादी आतङ्कका सामु निरीह बनेको छ भन्ने भल्चेकको ठहर छ ।
यथार्थत: यो फ्रान्सको मात्र कुरा होइन । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने अमेरिकाको स्थिति पति त्यस्तै छ । मिचेल वेल्टनको विश्लेषणले यसै भन्छ । आफनो लेख “दि प्रोपागान्डिस्ट्स अफ एम्पायर” मा उनी पढेलेखेका शिक्षित भनिनेहरू त्यसमा पनि वाम बुद्धिजीजीहरूले यतिबेर निकै ठूलो चुनौतीको सामनाका लागि आफूलाई उभ्याउने अवस्था आएको तर्क गर्छन् । उनी प्रस्टताका साथ भन्छन् : “सबैभन्दा पहिले हामीले साम्राज्यवाद र प्रोपोगन्डाको सम्बन्धबारे बुझनु जरुरी छ ।”
हिजोको बृटिस साम्राज्यदेखि अहिलेको ‘इस्लाम विरोधी आभियान’ को उदाहरण दिएर कसरी प्रोपोगन्डाद्वारा सत्यको अपहरण गरिएको छ भन्ने कुरा उनले उल्लेख गरेका छन् । आलोचनात्मक दृष्टिकोण राख्ने बुद्धिजीवीहरू साम्राज्यवादले फिँजाएको सूचनाभ्रमका विरुद्ध उभिनु पर्ने कुरामा उनले जोड दिएका छन् । आफ्ना गलत कामलाई ढाकछोप गर्न अमेरिकाले अहिले गरेको गलत प्रचार, त्यसमा पनि युक्रेन सन्दर्भमा अमेरिकी कुतर्कको भण्डाफोर जसरी गरिनुपर्दथ्यो, त्यसो हुन नसकेको चिन्ता प्रकट गरेका छन् । उनका भनाइमा जर्ज अर्वेलको शैलीमा सबै कुरा भएका छन् र बुद्धिजीवी भनौँदाहरू उपभोक्तावादको सिकार बनेर टुलुटुलु हेरिरहेका छन् । मिडिल इस्टमा भएका कुकुत्यबारे केही नबोल्नु भनेको बौद्धिकता र विवेकको स्खलन हो भन्ने उनको ठहर छ । अमेरिकी बुद्धिजीवीको प्रभृत्वशाली समुह उत्तरआधुनिकतावादी छ र यसले बुस, कोलिन पावेल्स र ओबामाका लागि थिङ्कट्याङकको काम गरेको छ भन्ने पनि पनि उनको ठहर छ । पश्चिमा संसारले निकै चर्चा र प्रशंसा गर्ने गरेका लेखक मिलान कुन्देराप्रति पनि उपभोक्तावादमा फसेको भनेर व्यङ्ग्य गरेका छन् ।
अमेरिकाले नयाँ बार्बरिज्मको प्रयोग गरेको भन्दै बेल्टनले सञ्चारका माध्यमहरू साम्रज्यवादले एकलौटी रूपमा प्रयोग गरेकाले पनि सत्य ओझेलमा परेको हो भनेका छन् । अमेरिकामा जस्तो किसिमको बौद्धिक निस्पृहता देखिएको छ, त्यो पीडादायी छ र बुद्धिजीवीहरू सूचनाभ्रमका विरुद्ध र सत्यको पक्षमा उभिनु जरुरी छ भन्ने उनको निष्कर्ष छ ।
अवश्य पनि हो । अहिले विश्वप्यापी रूपमा सञ्जाल फिँजाउन सफल भएका अधिकांश सूचना माध्यमहरू साम्राज्यवादपरस्त मिडिया मुगल्स र कंग्लोमेरट्सहरूको हातमा छन् र साम्राज्यवादले तिनलाई आफ्नो स्वार्थमा प्रयोग गरिरहेको छ । बुद्धिजीवीको एउटा पक्ष थिङ्क ट्याङ्क बनेर साम्राज्यवादी सत्ताको पक्षमा उभिएको र एउटा पक्ष निरीह बनेर टुलुटुलु हेरिहेको छ भन्न सकिन्छ । यसका साथै के पनि सत्य हो भने वुद्धिजीवीको एउटा तप्का निरन्तर रूपमा सत्यको पक्षमा लडिरहेको छ । थुप्रै नामहरू छन्, तर पनि नोम चम्स्की, जेम्स पेट्रास, रेमन्ड लोट्टा, समिर अमिन, लगायत अमेरिकाबाट प्रकाशित ‘मन्थली रिभ्यु’ पत्रिकाको टोलीको भूमिका यसमा साँच्चिकै सह्राहनीय छ ।
भल्चेक र वेल्टनले भोगेको पीडा आजको यथार्थ हो । यी दुइटा लेखले अहिलेको सूचनासाम्राज्यवाद र पश्चिमा बौद्धिक क्षेत्रको मनोवोज्ञानिक पक्षलाई उजागर गरेका छन् । उपभोक्तावादले बौद्धिक क्षेत्रलाई कसरी हाटबजारको वस्तुमा परिणत गरेको छ भन्ने चिन्ताका साथै चिन्तन पनि लेखक द्वयले गरेका छन् ।
यस टिपोटको समाप्ति सँगै एउटा प्रश्नले तपाईं-हामीलाई पनि कोतरेको छ : अहिले नेपाली समाजले पनि बौद्धिक स्खलनको भयावह स्थिति भोगिरहेको छैन र ? नेपालको बौद्धिक क्षेत्रले विगतमा खेलेको भूमिकाको नयाँ किसिमले खोजी गर्नुपर्ने बेला आएको होइन र ? समयले यसमा विषय प्रवेशको माग गरेको छ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.