बिहेको कथा : भक्तबहादुर श्रेष्ठ

rukmini-bhaktaरुक्मिणी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली !
(नेपालको कम्युनिस्ट आन्दोलनका धरोहर क्रान्तिकारी नेता शेरसिंह अर्थात् भक्तबहादुर श्रेष्ठकी जीवनसाथी रुक्मिणी श्रेष्ठको यही कात्तिक ८ गते भएको निधनप्रति गहिरो दुख प्रकट गर्दै हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्छौं र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौं । उहाँ भक्तबहादुर श्रेष्ठको क्रान्तिकारी जीवनको उर्जा हुनुहुन्थ्यो । कमरेड भक्तबहादुरसित उहाँको बिहे कसरी भयो भन्ने सन्दर्भ पनि निकै रोचक छ । उहाँसित कमरेड भक्तबहादुरको बिहे कसरी भयो भन्ने सन्दर्भमा कमरेड भक्तबहादुरले लेख्नु भएको आत्मजीवनीको अंश ‘बिहेको कथा’ हामीले यहाँ प्रस्तुत गरेका छौं । यो हामीले भक्तबहादुर स्मृति प्रतिष्ठानले प्रकाशन गर्न लागेको उहाँको आत्मजीवनी भक्तबहादुरका आँखामा भक्तबहादुर बाट लिएका हौँ ।)

—————————————————————————————————————————

बिहेको कथा
मेरो विवाह २०११ साल माघ २८ गते भयो । हाम्रो घरदेखि पूर्व हर्नामाडी मौजाको बाँझो खेत भन्ने ठाउँकी रुक्मिणी श्रेष्ठसँग भएको थियो । मेरो उमेर १८ वर्ष पूरा भएपछि मागिए पनि ३ वर्षपछि २१ वर्ष पूरा भएपछि मात्र विवाह भयो । पूरा ३ वर्ष त धाउँदाधाउँदैमा बित्यो । केटीको घरबाट नदिने भन्न नसक्ने, दिन पनि अल्याङटल्याङ गर्ने । आफू भने त्यो केटी नपाए बिहे नै नगर्ने कुरामा अड्डी लिएको थिएँ । केटीको पनि भित्रभित्रै मञ्जुरी नै भएको पाएकोले यो ध्वम्सखान गर्नपरेको थियो । घरमा मेरा बाबु, आमा, दाजुहरू भने त्यसलाई मात्र किन यस्तो जिद्दी लिन्छस् भनेर मलाई हप्काइरहन्थे । मेरा घरका गाउँघरका र वरिपरि गाउँका सबै भद्रभलाद्मी को गएन मेरो लागि त्यो केटी माग्न ? किनभने त्यसबेलासम्म मैले त्यस वरपर आफ्नो प्रतिष्ठा बनाइसकेको थिएँ । एकचोटि अकस्मात मेरो दाजु रामबहादुर श्रेष्ठसँग मलाई काठमाण्डौं लैजान करकाप गरेर काठमाडौंँ जान तयारी गरे । के कारणले काठमाडौँ लैजान लागे भनेर घुइरोघुइरो बुझ्दा, काठमाडौँ जाने र कीर्तिपुर, बनेपा, पनौती जहाँ पाइन्छ नातेदारहरूलाई भनेर केटी खोजेर बिहा गरिदिने घरको सल्लाहा भएको रहेछ । किनभने त्यसबेला नेवारहरूमा अलि दुःखीदरिद्र घरका केटीहरू पैसा तिरेर भए पनि ल्याउने चलन थियो । त्यसलाई लाखामरी दिने भनिन्थ्यो । अब त त्यस्तो चलन हराँउदै गएकोछ ।
एकदिन बिहान साँच्चिकै जान तयारी गरेछन् र खाना खाएर हिड्ने ठेगान भइसकेको रहेछ । त्यो बेलामा मकवानपुर गढीमा हाम्रो घर र त्यहाँबाट ३/४ किलोमिटर बेँसी ओर्लेर हटिया, गैरीगाउँ, चौघरा फाँट हुँदै नागदहको झाडीको बाटो हुँदै हेटौँडा निस्केर भीमफेदीसम्म मोटर चढी चिसापानी गढीको उकालो पार गरेर कुलेखानी, मार्खु, चित्लाङ हुँदै चन्द्रागिरिको उकालो ओर्लेर थानकोट हुँदै काठमाडौँ गइन्थ्यो । काठमाडौं जान म असमन्जसमा परिरहेको थिएँ । त्यसैबेला मेरो साथी राधेश्याम खतिवडा, वंशगोपालको पूजा गर्न हाम्रै घरको बाटो भएर आएको देखेँ । वंशगोपालका पुजारी खतिवडा थरका ब्राम्हणले गर्दथे । यो मकवानपुरे राजाको पालादेखिकै चलन हो । पूजा गरेवापत तराईतिर बिर्तासमेत पाएका थिए । अनि म उसैको पछि लागेर वंशगोपालको स्थानतिर गएँ । ऊ पूजा गर्नतिर लाग्यो । म भने गढीभित्रबाट पूर्वतिर २ कोस जति टाढा देखिने डाँडागाउँ हेर्नथालें । त्यो डाँडागाउँ नै मैले रोजेको केटीको घर थियो । उनीहरू हिउँदमा तल हर्नामाडीको बाँझो खेतमा सर्थे र वर्षा लागेपछि डाँडागाउँमा आउँथे । त्यो गाउँ देख्नासाथ त्यही केटी सम्झेँ । अनि म काठमाडौं नजाने निधो गरेर उही पुजारी साथी राधेश्यामलाई घरमा खबर पठाएँ, काठमाडौँ जान्न भनेर । यसरी एउटा खडगो काँटे ।
एउटी अर्की केटी, त्यही गाउँकी, उसका बाबुआमाले मलाई दिन भनेर हत्तेहालेका रहेछन् । उसका दुइटी छोरी एउटीलाई भरत बानियाँ क्षेत्रीले फँसाएर लगेको रहेछ । बाँकी रहेकी छोरी मलाई दिने भित्रभित्रै कुरो चलाएको रहेछ । एक दिन बिहान बाबुआमा र दाजुहरूले घेरेर त्यही केटी विवाह गर्न फकाउन थाले । मैले नमानेपछि मलाई हप्कीदप्की गर्नथाले । मलाई झनक्क रिस उठ्यो र के भनु, कसो भनु, के भनेर टार्ने भन्ने सोच्दै गर्दा सारै झाँेक चलेछ र “तिमीहरूका आमाले त भुँडी बोकेको छ” भनेर फन्केर त्यहाँबाट उठेर हिंडें । नभन्दै त्यो केटीले भिनाजु चाहिँको भुँडी नै बोकेकी रहेछ र केही महिनापछि भिनाजु चाहिँले नै लग्यो । दुइटै छोरी हात पारेपछि सबै सम्पत्ति आपूmले पाउने उद्देश्यले भिनाजुले भुँडी बोकाइदिएको रहेछ ।
अर्को, मैले चाहेको र मागेको केटीको फुपूmको छोरी दिने मनसाय उसका दाजुहरूले व्यक्त गरेका रहेछन् । बाबु र दाजुहरूले फेरि मलाई जोर जबरजस्ती गर्नथाले । मैले नमानेपछि कुरा छिनेर बलजफ्ती पनि विवाह गरिदिने अठोट गरेछन् । घरबाट यसो गर्नेमा मैले माँगेको केटीको घरबाट आलटाल गरेकाले त्यसको रिस फेर्न नै त्यही नजिकको केटी बिहा गरिदिने मेरा परिवारको मनसाय रहेछ । एक दिन त्यही केटीको फुपूकी छोरीको कुरा छिन्न मलाई थाहै नदिई गएछन् । त्यो केटीको घरमा २ मत भएछ । केटीका दाजुहरू दिने भन्ने बाबु चाहिँले ठूलो जहान छ भनेर दिन इन्कार गरेपछि मेरा दाजुहरू लोप्रेकान लगाई फर्केछन् । केही महिनापछि बावु चाहिँ मरेपछि उसको जेठो दाजुले स्वयं मलाई आएर केटी दिन विचार गरे र मैले विचार गरौँला भनेर टारिदिएँ । किनभने मेरो इच्छा त्यही रुक्मिणी नै बिहा गरिछाड्ने अठोट थियो । यसरी अरू केटीहरू पन्छाउँदै गएँ ।
मैले भनेको केटी दिन अलमल गरेको रहस्य बल्ल थाहा पाएँ । केटीका मामाहरूले हलो जोतेकोले हाम्रा परिवारले हलो जोत्नेका सन्तान र नातेदारको हातको भात नखाने भनेका रहेछन्् । हाम्रा परिवारले हलो जोत्दैनथे । नेवारहरूले हलो जोत्न हुँदैन भन्नेथियो । यसरी ३/३ वर्षसम्म हरेक महिना, हरेक हप्ता केटीको घरमा धाउँदा धाउँदा आजित भएपछि एकदिन मैले आफैँ गएर हुने नहुने टुङ्गो लगाउँछु भनेर एक दिन झपटे दमाईं (कुरा गर्न सिपालु) लाई साथमा लिएर केटीको घरमा आफैँ गएँ । पिँढीमा सुकुल ओछयाइदिए, हामी बस्यौँ । केटीकी आमा पनि नजिक आएर बस्नुभयो । केटीका आमाका दुइटा छोरा र दुइटी छोरी थिए । छोरा लाठे भए पनि हर्ताकर्ता आमाचाहिँ नै हुनुहुन्थ्यो । कुरामा बिछट्टै सिपालु । कुरै कुरामा उहाँले भन्नुभयो । हजुरहरूलाई धेरै दुःख दिइयो । कसैको नभएको छोरी जस्तो भयो । यहाँको लागि भनेर को को आए गनी साध्य छैन, तर जसलाई चाहिने हो उसको मुखबाट आजसम्म एक वचन पनि सुन्न पाइएन भनेपछि मैले बोल्नैपर्ने भयो ।
अनि मैले भन्न सुरु गरेँ — ‘‘केटी माग्दा मानिसहरू अनेक थरी भए नभएका धक्कु लगाउँछन्, म त्यस्तो धक्कु लगाउँदिन किनभने मेरो परिवार कस्तो छ, सम्पत्ति कति छ, म कस्तो छु भन्ने कुरा दुनियाँलाई थाहा छ । यहाँहरूलाई पनि थाहा हुनुपर्ने हो । म फुलझढी कुरा गर्दिन । म सुखैसुख दिन्छु पनि भन्न सक्तिन । सुखदिन्छु भनुँला, दुःख पाइएला । दुःख पाउनेले सुख पनि पाएका छन् र सुख पाएकाले दुःख पनि पाएका छन् । यो त भविष्यको कुरा हो । रह्यो भातभान्छाको कुरा, छोरी मलाई दिने अरूलाई होइन, मबाट त्यस्तो केही हुने छैन ।” मेले यसो भनेपछि ‘‘बोली सुन्न पाइयो लाख भो’ । अब धेरै दुःख दिन्न । मिलाएर कुरा छिन्न आएहुन्छ’’ भन्ने सुनेपछि मलाई महाभारतको लडाईँ जितेजस्तै भयो र अर्को बुधबार कुरा छिनियो— माघ २८ गतेको दिन विवाह ।
विवाह अनौठो पाराको भयो । छ्यासमिसे ढङ्गको । हुन त त्यसबेला आधुनिक ढङ्गको त्यति प्रचलित भएको थिएन । मनमोहन, पुष्पलाल र निरञ्जन गोविन्द वैद्यको जस्तो गर्ने कुरा मदनमणिजीले उठाउनुभयो । आधुनिक र परम्परावादी दुबै मिस्कट थियो । आधुनिक यस कुरामा थियो कि त्यो कागजमा वाचाबन्धन बाँधिएर जन्तीलाई साछी राखेर गरिएको थियो ।
साथीभाइ कुलकुटुम्ब सबैलाई निम्ता दिइयो । बाजा नहाल्ने भनियो । तर दमाइँ साथीहरूले “पैसा नलिने हामी ईच्छाबमोजिम बाजा बजाउन किन नपाउने ?” भनी बलजफ्ती बाजा बजाए । घोडा नचढ्ने भनिए पनि सूर्यलाल श्रेष्ठले घोडा ल्याए । तर घोडा चाढिएन र घोडा अर्कैले चढ्यो । जन्तीमा कम्युनिस्ट पार्टीको झन्डा सबैभन्दा अगाडि, त्यसपछि बाजाहरू र अनि जन्तीसँगै हिँडेर दुलहा । कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लागे तापनि झन्डा खुलेआम राखियो । किनभने प्रहरीहरू वरपर थिएनन् । जन्ती एक कोस पूर्व जानुपर्ने । बेलुकी जन्ती गइयो । जन्ती पर्सिनेहरू दङ्ग परे । दुलहा घोडा चढेको हुुनुपर्ने, घोडा अर्कैले चढेको छ, दुलहा हिँडेको । अब स्वयंवर गर्नुपर्ने बेला भयो । उनीहरूले बाहुन ल्याएका रहेछन्् । पुराना चलन बन्द भनेर बाहुन हटाइयो, सबै दङ्ग परे । दुलहा र दुलहीलाई कुर्सी राखिदिए सबभन्दा पहिले मदनमणिद्वारा प्रतिज्ञापत्र पढेर सुनाइयो । त्यसको मुख्य सारांश थियो— “जबसम्म गण्डकी, कोशी, कर्णाली, अविरल रूपमा बगिरहन्छन्, जबसम्म धर्तीमा चन्द्रसूर्य उदाइरहन्छन्् तबसम्म हाम्रो प्रेम अटल रहन्छ । नेपालमा जनवाददेखि साम्यवादसम्मका लागि निरन्तर लडिरहने छौँ र विश्वशान्तिका लागि अथक परिश्रम गर्नेछौँ” भन्ने थियो । अब जन्तीलाई साछीको रूपमा राखियो र जन्तीले सहिछाप गरेपछि दुलहादुलहीले माला औँठी पहिराएर स्वयंवर सम्पन्न गर्ने निधो भयो । जन्तीले सहिछाप गर्न बखेडा निकालिहाले । यो मञ्जुरीको विवाह हो कि होइन ? दुलहीको मुखबाट नसुनुन्जेल सहिछाप गर्दैनौँ भनेर जन्तीको आवाज आयो । माइतीले दुलहीलाई मञ्जुरी भन् भने । भने दुलहीको वाक्य फुटेन । गाउँले महिला, त्यस्तो हूलमा हत्तपत्त वाक्य फुटेन । अनि मैले पनि दुलहीले त्यो नभनी जन्तीले सही नगर्ने, जन्तीले सही नगरे म पनि उठ्ने भनेपछि माइती आत्तिएर भन्न कर लगाए र दुलहीले मेरो मञ्जुरी हो भनेपछि गडड्ड तालीको आवाज आयो र जन्ती सबैले सहिछाप गरेपछि परस्पर माला पहियाएर विवाह सम्पन्न भयो ।
-०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.