”बर्की नम्बर १३९९९” र क्रान्तिकारी आशावाद

Katha Cover smallडा. नन्दीश अधिकारी
ऋषिराज बराल । यो नाम नेपाली साहित्यको क्षेत्रमा अब चिनाइरहनुपर्ने नाम होइन । के कथा–उपन्यास (आख्यान), के समालोचना, के निबन्ध, के सौन्दर्य चिन्तन, के विचारपरक लेखन (चिन्तनपरक लेखन) जताततै उनको कलम चलेको छ । यतिमात्रै होइन उनका कथाहरू उच्चशिक्षाका कतिपय विश्वविद्यालयका कक्षाका पाठ्क्रममा पनि समाविष्ट छन् । भर्खरै बर्की नम्बर १३९९९ नामको उनको नयाँ कथासङ्ग्रह प्रकाशित भएको छ ।
बर्की नम्बर १३९९९ ऋषिराज बरालको आठौं कथासङ्ग्रह हो । यसमा जम्मा १३वटा कथाहरू समाविष्ट छन् । यी कथाहरू माओवादीले जनयुद्धलाई छोडेर शान्तिप्रक्रियामा आएपछिको समयमा देखिएको नेपाली समाजको प्रातिनिधिक यथार्थताको उद्घाटक बनेर प्रस्तुत भएका छन् । नेपाली समाजमा माओवादी सशस्त्र आन्दोलन वा जनयुद्धको विधिवत् विसर्जनपछि देखिएको एक प्रकारको पीडाजन्य स्थितिलाई यस सङ्ग्रहमा सङ्गृहित कथाहरूले पाठककसमक्ष उपस्थित गराएका छन् ।
माओवादीले हतियार बिसाएर जनयुद्धको विसर्जनको प्रक्रियालाई शान्तिप्रक्रिया भन्दै काठमाडौ सहर प्रवेश गरेपछि र समग्र पार्टीलाई संसदीय व्यवस्थाको चुनवी पार्टीमा परिणत गर्नथाल्दा जे जस्ता विकृति, विसङ्गतिहरू देखिए तिनकै प्रतिनिधि पक्षमाथि केन्द्रित भएर कथाकारले यी कथाहरूको रचना गरेको देखिन्छ ।
माओवादी जनयुद्धमा मान्छेहरू त्यसै लागेनन्, उनीहरू कुनैनकुनै प्रकारको राज्यहिंसामा परेर लागेका थिए । त्यस समय राज्यको प्रतिपक्षी माओवादी मात्र थियो । समाजमा राज्यद्वारा पीडित मान्छेहरू माओवादीतिर लहसिनु स्वाभाविक थियो । माओवादीतिर ढल्किएकै भरमा मात्र पनि कतिपयले मृत्यवरण गर्नुपरेको थियो । त्यसलाई माओवादीले सहिदको सम्मान दियो तर सवै परिस्थिति यस्तो होइन । मान्छेहरू सचेत रुपमा बुझेर लागेका पनि थिए तर शान्तिप्रक्रियाको समय वा सङ्क्रमण कालमा आइपुग्दा ती सम्पूर्ण प्रक्रियामाथि पानी खन्याइयो । बुझेरै लागेका मान्छे पनि जिल्ल परे, उनीहरूले केही पनि नबुझेजस्तो भयो । फलतः सामान्य मान्छेहरूको भागमा पीडा मात्रै प¥यो । त्यही पीडालाई यो कथासङ्ग्रहले प्रस्तुत गरेको छ ।
यसको पहिलो कथा हो ‘सगर डढेको बेला’ । यो ग्रामीण परिवेशको कथा हो । यो माओवादीले सञ्चालन गरेको जनयुद्ध जितेर आफ्नो सुसाशन ल्याउन हिंडेको छोराले सहादत प्राप्त गेको खबर सुनेर नातिलाई हुर्काउँदै गरेकी आमाको पीडाले भरिएको कथा हो भने दोस्रो कथा हो ‘अकथ्य’ । यो रोल्पाको केरवाङ्को भौगोलिक परिवेशमा अडिएको छ । यसले जनयुद्धमा लागेर सहिद हुनेहरूका घरको वा सहिद परिवारको पीडालाई अभिव्यक्त गरेको छ । त्यस्तै तेस्रो कथा ‘अर्कै स्पर्श’ हो । यस कथाले माओवादी जनयुद्धमा लागेका जनसेनाको पीडालाई व्यक्त गरेको छ र युद्धमा लागेका सबैको स्थिति पीडामय बनाइएको छ भन्ने कुरालाई देखाएको छ । चौथो कथाको नाम ‘अर्थात् टीकारामहरू’ हो । यसमा हतियारबद्ध जनयुद्धलाई विसर्जन गरेर पार्टीलाई मास पार्टी वा ठूलो पार्टी बनाउँदा चुनावी खर्च जुटाइदिने वा धेरै भन्दा धेरै भोट खसाउन सक्ने भन्ने नाममा जसलाई पनि टीको लगाइदिएर माआवादी नेताको पगरी गुथाइदिने चलनप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको छ । त्यो चलन वा अभियानले जनयुद्धको प्रक्रियामा संलग्न पुराना र इमानदार कार्यकर्ता पाखालाग्दै गए र तिनै टीको लगाइएका टीकारामहरू मञ्चासीन हुँदैगएको स्थितिलाई यस कथाले प्रस्तुत गरेको छ । पाँचौ कथा ‘आमाहरू’ हो । यसमा बेपत्ता परिवारका आमाहरूको पीडा र दिनचर्यालाई प्रस्तुत गरिएको छ । छैटौं कथा ‘क्यान्टोनमेन्ट नम्बर ०३७३०’ को शीर्षकमा आएको छ । यसमा क्यान्टोनमेन्टमा बसेका जनसेको पीडा र दिनचर्या अभिव्यक्त भएको छ । सातौं कथा ‘अविनाश/अविनाशहरू’ हो । यस कथाले शान्तिप्रक्रियापछि पार्टीमा देखापरेको पार्टीजीवन र पर्टीका कार्यकर्ताहरूको स्थितिलाई देखाएको छ । आठौं कथाको शीर्षक हो ‘अर्को गन्तव्य’ । यसमा शान्तिप्रक्रियापछिको पार्टीजीवन र पर्टीले उत्पन्न गरेको पार्टीको स्थिति अनि कार्यकर्तामा आएको एक प्रकारको व्यघ्रताको स्थितिको उद्घाटन गरिएको छ । नवौं कथाको शीर्षक ‘बाँसुरीवादक ’ हो । यसमा बाँसुरीबादक एउटा सपना हो भने त्यो सपनाको आकर्षण बाँसुरीको धुन हो । त्यसैले एउटा क्रन्तिकारी सँधै क्रान्तिको धुनमा कसरी विमुग्ध भएर लागिरहेको हुन्छ भन्ने देखाइएको छ । दसौं कथा ‘विस्थापन’ हो । यस कथाले जनयुद्धमा लागेर अनेकौं मोर्चा जितेको जनसेनाको कम्पनी कमाण्डरले आफू अयोग्य ठहरिएर विस्थापित हुनुपर्दाको पीडा वा अयोग्य घोषित जनसेनाको पीडालाई प्रस्तुत गरेको छ । एघरौं कथा ‘बर्की नम्बर १३९९९’ हो । यो सङ्ग्रहको शीर्ष कथा पनि हो । यसले पार्टीमा फूट भएपछि क्रन्तिप्रति इमानदार योद्धा/जनसेनाका कार्यकर्ताको स्थितिलाई औंल्याएको छ । कथामा एउटा बेवारिसे लास भेटिएको छ र बर्कीमा अङ्कित नम्बरले मात्र ऊ जनसेनाको योद्धा हो भन्ने थाहा हुन्छ । वास्तवमा क्रान्तिप्रति निष्ठावान कुनै पनि व्यक्ति क्रान्तिकारी पार्टीको कार्यकर्ता वा सेना हो, तर क्रान्तिलाई तिलाञ्जलि दिइसकेका पार्टीले उसलाई आफ्नो पार्टीको झण्डा ओढाउने आँट गरेनन् किनभने उसले आफू मुर्दामा परिणत हुँदा पनि बन्दुक छोडेको थिएन र ऊ मलामी विहीन बेवारिसे अवस्थामा पुगेको थियो । बाह्रौं कथाको शीर्षक ‘ थुप्रै बिन्देसरहरू’ हो । यो तराईको ग्रमीण परिवेशको यथार्थताको उद्घाटक कथा हो । देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि र माओवादीले बन्दुक बिसाइसकेपछि तराईमा विभिन्न प्रकारका आन्दोलनहरू भए । यिनै आन्दोलनका सन्दर्भको यथार्थलाई यसमा प्रस्तुत गरिएको छ । तेह्रौं कथा ‘अलबम’ शीर्षकमा तयार गरिएको छ र यो सङ्ग्रहको अन्तिम कथा हो । यसमा ग्रमीण भेगमा माओवादी पार्टीका क्रान्तिकारी कार्यकर्ताप्रति जनताको अगाध स्नेह र आस्थालाई देखाइएको छ तर माओवादी पनि थरीथरीका भएपछि र पहिले आफैँले बसाएको बस्ती आफैँ उठाउन थालेपछि गाउँले पनि माओवादी हुँ भन्दै गाउँ पस्ने जोकोहीदेखि पनि डराउन थालेको, सकङ्कित हुनथालेको र अविश्वास गर्न थालेको देखाइएको छ । यसका साथै सच्चा माओवादीको खोजी हुनथालेको पनि देखाइएको छ ।
यसरी बरालले आफ्ना कथाहरूमा शान्तिप्रक्रियाको आरम्भपछि समाजमा देखापरेका थुप्रै विकृति/विसङ्गति, पीडा र व्यथालाई देखाएर त्यसको कारणप्रति व्यङ्ग्य प्रहार गर्दै राजनीतिक जनक्रान्ति नसिद्धिएको र अझै पनि नेपाली समाजमा क्रान्तिप्रति अगाध आस्था कायम भएको देखाएका छन् ।
‘दि नेक्स्ट फ्रन्ट, नेपाल’ द्वारा प्रकाशित यस सङ्ग्रहमा कथाहरूलाई माओवादी जनयुद्धको विसर्जनपछि समाजमा देखापरेका विकृति/विसङ्गति, पीडा र व्यथाका उद्घाटक मात्र नभनेर क्रान्तिकारी आशावादले भरिएका कथा हुन् भन्न सकिन्छ ।
०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.