”बर्की नम्बर १३९९९” अर्थात् नयाँ प्रतिबद्धता

Barki No 13999 cover(भर्खरै आख्यानकार ऋषिराज बरालका पछिल्ला कथाहरूको सङ्ग्रह ”बर्की नम्बर १३९९९” बजारमा आएको छ l यसमा जम्मा १३ ओटा कथाहरू सङ्कलित छन् l यहाँ हामीले यस सङ्ग्रहका बारेमा कथाकारको आत्मस्वीकृति प्रस्तुत गरेका छौं l यसबाट यसमा के-कस्ता कथाहरू समाविष्ट छन् भन्ने कुरा थाहा हुन्छ l जस्तो कथाकारको भनाइ छ : ”यसमा समाविष्ट कथाहरूमा केही मात्रमा पीडा छ, आक्रोश छ र मूलतः चिन्ता र चिन्तन छ । वर्तमान विकृतिमाथि निर्मम प्रहार छ र भविष्यको दिशाबोध पनि छ । धोका र गद्दारीका विरुद्ध यस सङ्ग्रहका कथाहरूले प्रतिरोधको झण्डा उचालेका छन् र क्रान्तिकारी आशावादको सञ्चार गरेका छन् । यस सङ्ग्रहभित्रका कथाहरूलाई म कुरूपका विरुद्ध सत्य र सुन्दरका सम्बाहक भन्न रुचाउँछु । कथित शान्तिप्रक्रिया यताको समय पीडा, आक्रोश र विद्रोहको समय रह्यो । बाहिरै लड्यौँ हामी, भित्रै लड्यौँ । यसै लडाइँका बीचबाट विकसित नयाँ प्रतिबद्धताका उद्घोष हुन् यस सङ्ग्रहका कथाहरू।” )

कथा भन्नुअघि

कथा लेख्छु भनेर लेख्न थालेको पाँच दशक जति हुनलागेछ र कथाहरू प्रकाशित हुनथालेका पनि ठ्याक्कै चारदशक भएछ । आफूले लेखेका सबै कथाहरूमा मैले समाज र साहित्यप्रतिको मेरो बुझाइ र ठम्याइँलाई प्रस्तुत गर्ने प्रयास गरेँ । समाज र समयसित सङ्घर्ष गर्दै जाँदा मैले मार्क्सवादमै जीवन देखेँ । मार्क्सवादसिबाय मानवमुक्तिको अर्को वैज्ञानिक दर्शन मानवसमाजमा उपलब्ध छैन भन्ने मेरो ठहर छ । यसै अर्थमा मेरो कथालेखन मार्क्सवादी सौन्दर्यशास्त्रीय मूल्यद्वारा निर्देशित छ ।

 

मेरा कथाहरू समयका उपज हुन् । समाज र सङ्घर्षशील मान्छेप्रतिको मेरो हेराइ र बुझाइका कलात्मक प्रतिबिम्बन हुन् मेरा कथाहरू । म समाजको सक्रिय यथार्थलाई कलात्मक प्रतिबिम्बन गर्ने प्रयास गर्छु । ती समयको प्रवक्ता बन्न सके/सकेनन्, ती यथार्थको प्रभावकारी प्रतिबिम्बन हुन समर्थ भए/भएनन्, तिनमा प्रारूपीयताको के-कति निर्बाह हुनसक्यो, यो अर्को पक्ष हो । परन्तु, गाउँको कथा भन्छु है त (२०४२) देखि हालसम्म म यसै मूल्य प्राप्तिका लागि सङ्घर्षरत छु ।
यसमा समाविष्ट कथाहरूमा केही मात्रमा पीडा छ, आक्रोश छ र मूलतः चिन्ता र चिन्तन छ । वर्तमान विकृतिमाथि निर्मम प्रहार छ र भविष्यको दिशाबोध पनि छ । धोका र गद्दारीका विरुद्ध यस सङ्ग्रहका कथाहरूले प्रतिरोधको झण्डा उचालेका छन् र क्रान्तिकारी आशावादको सञ्चार गरेका छन् । यस सङ्ग्रहभित्रका कथाहरूलाई म कुरूपका विरुद्ध सत्य र सुन्दरका सम्बाहक भन्न रुचाउँछु । कथित शान्तिप्रक्रिया यताको समय पीडा, आक्रोश र विद्रोहको समय रह्यो । बाहिरै लड्यौँ हामी, भित्रै लड्यौँ । यसै लडाइँका बीचबाट विकसित नयाँ प्रतिबद्धताका उद्घोष हुन् यस सङ्ग्रहका कथाहरू ।
‘शान्तिप्रक्रिया’ मा आएपछिको मेरो पहिलो अनुभव बडो पीडादायी रह्यो । सबैका छोराछोरी, बाआमा, दाजुभाइ सबै रमाउँदै र खुसी हुँदै घर आए । तर, ती घरहरू जसका परिवारका सदस्यहरूले वलिदानको इतिहास रचे, ती परिवारहरू जसका सदस्यहरू बेपत्ता पारिएका थिए, त्यहाँ खुसी थिएन । बाहिर घाम लागे पनि त्यहाँ घाम लागेको थिएन । त्यहाँ रमाउने कुनै पनि सन्दर्भ थिएन, कतै पनि ठाउँ थिएन । सबैभन्दा पीडा सन्तान गुमाउने आमाहरूलाई थियो, सबैभन्दा पीडा बाआमा गुमाउने सन्तानलाई थियो । प्रस्टरूपमा भन्दा जसरी सबै कुरा प्राप्त भयोझैँ गरी सबै कुरा छाडेर आइयो, रगतको इतिहाससित गाँसिएकाहरू सबैका लागि परिस्थिति उस्तैउस्तै पीडादायी थियो । यो छाती चर्काउने, आक्रोसित तुल्याउने र विद्रोही बनाउने पीडा थियो र हो । मैले यिनै कुराहरूलाई कथारूप दिने प्रयास गरेको छु ।

 

समानता र स्वतन्त्रताका लागि हामी लडेका थियौँ । हामीले रहर र लहडमा बन्दुक उठाएका थिएनौँ । नयाँ संसार निर्माण गर्ने महान् अठोटका साथ हामी लामबद्ध भएका थियौँ । हामीभित्रै नयाँ सामन्तहरू जन्मेलान् र रगतको इतिहाससित सौदाबाजी गर्लान् भनेर हामीले कल्पनासम्म गरेका थिएनौँ । पार्टीभित्रै वर्गउत्थानको यस्तो विकराल रूप, यस्तो घिनलाग्दो चरित्रको सामना गर्नुपर्ला भन्ने कुरा सपनामा पनि सोचेका थिएनौँ । विश्वलाई आश्चर्यचकित पार्न सक्षम जनमुक्ति सेना कैदीझैँ दयाको पात्र भएर क्यान्टोनमेन्टमा निरीह बनेर बस्नु पर्ला भनेर कुनै पनि योद्धाले सोचेको थिएन । त्यस्तो उपेक्षित जीवन बिताउनुपर्छ भन्ने कल्पनासम्म पनि एउटा छापामारले गरेको थिएन । जनमुक्ति सेनाका नाममा आफ्नै पङ्क्तिभित्र नयाँ युद्धसरदार र अपराधीहरू जन्मेलान् र क्यान्टोनमेन्ट नयाँ बधशालामा परिणत भएको पीडा सहनुपर्ला भन्ने पनि कसैले सोचेको थिएन । यी अनुभव र अनुभूतिलाई पनि कथाका रूपमा मैले लिपिबद्ध गर्ने प्रयास गरेको छु ।

 

‘शान्तिप्रक्रिया’ सँगै आदर्श र मूल्यहरूमा स्खलन देखिनथाल्यो । एक थरीका लागि युद्धमा लडेका इमानदार योद्धाहरू पराई हुनथाले, क्रान्तिको कुरा गर्नेहरू घाँडो हुनथाले । पार्टी ठूलो बनाउने नाममा, समयअनुसार चल्ने नाममा विजातीय तत्वहरू पार्टीमा भरिनथाले । पार्टीएकताका नाममा झारपातपतिङ्गरहरू भित्रिनथाले । जोडघटाउ र नाफानोक्सानको हिसाबकिताब हुनथाल्यो । पार्टीमा तिनकै हालिमुहाली हुनथाल्यो । क्रान्तिकारीहरू किनारामा पर्दैगए÷पारिँदैगए । उत्पीडित जनताभन्दा वैदेशिक शक्तिहरू प्यारा हुनथाले । क्रान्तिसम्पन्न भइसकेका कुराहरू आउनथाले । नयाँ जनवादी क्रान्तिलाई असान्दर्भिक ठहर गर्नथालियो । वैचारिक विचलन र स्खलनको गम्भीर स्थिति देखापर्न थाल्यो । कथामार्फत मैले यिनै विकृतिहरूका विरुद्ध मोर्चाबन्दी गर्ने प्रयास गरेको छु ।

 

जुन लक्ष्य प्राप्तिका लागि हामीले बन्दुक उठाएका थियौँ, त्यो पूरा भएको छैन । करिब चौध हजार नेपाल आमाका वीर सन्तानको रगत बगेको थियो । क्रान्तिप्रति गद्दारी गरिएको कुरा सबैका सामु प्रस्ट छ । कलम बिसाउने बेला भएको छैन । बन्दुक बिसाउने बेला भएको छैन । यही क्रान्तिकारी आशावादलाई मैले कथामार्फत प्रस्तुत गरेको छु । यस अर्थमा यसमा समाविष्ट कथाहरू युद्धमोर्चाका सिपाही हुन् । मेरो प्रयास यसैतर्फ लक्षित छ । यी कथाहरूको सफलता पनि यो आवश्यकता पूरा गर्नसक्नुमा निहित छ ।

 

ऋषिराज बरालका प्रतिनिधि कथाहरूलाई समेत लिँदा यो मेरो आठौँ कथासङ्ग्रह हो । यस सङ्कलनमा दसबर्से जनयुद्धलाई विधिवतरूपमा समाप्त घोषणा गरिएको अवधिपछि लेखिएका कथाहरू छन् । अर्थात् यसमा २०६३ देखि २०७१ सम्म, आठ वर्षको अवधिमा लेखिएका कथाहरू समाविष्ट छन् । राजनीतिक क्षेत्रमा यताका दिनमा देखापरेका विभिन्न किसिमका घातप्रतिघातमा बढी सक्रिय हुनुपरेको कारण मेरो क्रियाशीलता साहित्यिक क्षेत्रमा अपेक्षित मात्रामा हुनसकेको छैन । ८ वर्षमा १३ ओटा कथा मात्र लेख्न सकेँछु । वर्षमा २ ओटा कथा पनि पाठकहरूलाई दिन नसक्नु आख्यानकारका लागि राम्रो कुरा होइन, पक्कै पनि यो राम्रो सङ्केत होइन । यसले मलाई असाध्यै गम्भीर बनाएको छ ।

 

यतिबेर क्रान्तिकारी साहित्यिक आन्दोलनमा आख्यान, कविता र समालोचनाको क्षेत्रमा नयाँ पुस्ताको निर्माण र विकास निकै चुनौतीको विषय बनेको छ । यसका पछाडि अन्य थुप्रै कारणहरू रहे पनि राजनीतिले सही दिशा दिन नसक्नु नै प्रमुख कारण हो । जहाँसम्म मेरो लेखनको सन्दर्भ छ, यसप्रति म सचेत र गम्भीर छु । खासगरेर कथा लेखनको क्षेत्रमा मैले आर्जन गरेको स्तर र गुणवत्ताको निर्वाह र निरन्तरता मेरा लागि चुनौती बनेको यथार्थप्रति पनि म त्यत्तिकै सचेत छु । आन्दोलनमा व्यक्तिगत अगुवाइको पनि अर्थ र महत्व हुन्छ तापनि सामूहिक प्रतिबद्धता अहिलेको आवश्यकता हो । र यसका लागि हामी उपभोक्तावादी चिन्तनबाट माथि उठ्नु आवश्यक छ ।

 

आज सबैभन्दा बढी समस्या वैचारिक क्षेत्रमा देखापरेको छ र यसका लागि निर्मम वैचारिक सङ्घर्ष आवश्यक छ । आजको संशोधनवाद मालेमाको निषेध गरेर होइन, मालेमाको झण्डाका साथ हिजोको भन्दा पनि झन् खतरनाक रूपमा देखापर्न थालेको छ । यो लाल झण्डाको विरुद्ध लाल झण्डाका साथ डरलाग्दो किसिमले सक्रिय भएको छ । यसप्रति हामी चनाखो र मोर्चाबद्ध हुनु आवश्यक छ । हरेक किसिमका चुनौतीका लागि कलमलाई तमतयार राख्नु आजको आवश्यकता हो र यस कार्यमा नयाँ पुस्ताका स्रष्टाहरूले आफ्नो भूमिकालाई प्रस्ट पार्नु जरूरी छ । सत्य के हो भने फेरि एकपल्ट परीक्षाको घडी आएको छ । फेरि एकपल्ट नयाँ प्रतिबद्धता जनाउने बेला आएको छ । फेरि एकपल्ट कलममा बारुद भर्ने बेला आएको छ ।
ड्ड यसमा केही नयाँ र केही पहिले प्रकाशित भइसकेका कथाहरू समाविष्ट छन् । अन्त्यमा, यस सङ्ग्रहको प्रकाशनका लागि मलाई विभिन्न किसिमले सघाउने मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
०००

ऋषिराज बराल
risavbaral@yahoo.com

You can leave a response, or trackback from your own site.

One Response to “”बर्की नम्बर १३९९९” अर्थात् नयाँ प्रतिबद्धता”

  1. ajay sapkota says:

    http://www.samarpratik.com भन्छ “पाठकहरुका अनुसार बरालको यो कथा संग्रहले महाश्वेता देवीको ” हजार चौरासी कि आमा “को झझल्को दिने र अझ महाश्वेता देवी भन्दा एक कदम अघि बढेर नेपालको वर्ग संघर्षमा होमिएको एउटा युवा र क्रान्तिकारी आमाको सुन्दर विम्बको चित्रण पनि गरेको हुनाले सबै सबै युवा र साहित्यका अनुरागीहरुलाई सो अन्तरक्रियात्मक कार्यक्रममा आमन्त्रण पनि गरिएको छ |”

Leave a Reply

See real websites hosted and built by iPage customers.