पार्टी एकताको होहल्ला

new photoऋषिराज बराल

यताका केही दिनहरूमा खासगरेर संविधान सभाको होहल्लाको तीव्रतासँगै प्रचण्डबाबुरामको नवप्रतिक्रियावादी गुटसित नेकपामाओवादीको एकता हुन लागेको छ भन्ने कुरा समाचार माध्यमहरूलगायत सर्वसाधारणबीच पनि चासो र चर्चाको विषय बन्यो । बाहिर मात्र नभएर पार्टीपङ्क्तिमा पनि यो विषय गरमागरम विवादको विषय बन्यो ।  हल्लाले उत्पन्न गरेको विवाद र अन्योललाई प्रस्ट पार्न पार्टी अध्यक्षका तर्फबाट प्रेस विज्ञप्ति नै निकाल्नुपर्ने स्थितिसम्म आइपर्यो ।

सैद्धान्तिक तहमा विचार मिल्नेहरूसित एकता हुने कुरा नयाँ होइन र यसप्रति विमति जनाउनु पर्ने स्थिति पनि होइन ।  आन्दोलनमा ढोका बन्दवादको अर्थ हुँदैन । पार्टीएकता गर्न सकिनेहरूसित  एकता गर्ने, एकता गर्न नसकिनेहरूसित संयुक्त मोर्चा बनाउने र  संयुक्त मोर्चामा अट्न/अटाउन नसकिनेहरूसित खासखास मुद्दाका आधारमा कार्यगत एकता  गरेर अघि बढ्ने कुरा मार्क्सवादअनुकूल नै हुन् ।

पार्टीएकता सुन्दा मीठो र आकर्षक तर व्यवहारमा जटिल कुरा हो ।  यो भावना, कामना अथवा कसैको व्यक्तिगत रुचिको प्रश्न होइन, यसमा वैचारिक पक्षले अहम् भूमिका खेल्ने गर्दछ । मार्क्सवादलेनिनवादमाओवादलाई क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्ने, नयाँ जनवादी क्रान्तिलाई नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम मान्ने, सशस्त्र विद्रोह मूलतः दीर्घकालीन जनयुद्धलाई नेपाली क्रान्तिको मूल कार्यदिशा मान्नेहरूसित एकताको पहल गर्ने कुरामा विवाद छैन । अहिले पनि परि थापाले  नेतृत्व गरेको नेकपा (एकीकुत), मातृका यादव र मणि थापा समूहहरूसित एकताका कुराहरू उठिरहेका छन् र यसका लागि एउटा समिति पनि बनाइएको छ । यसका सन्दर्भमा पनि आधारभूत प्रश्न, मूलतः वैचारिक प्रश्नमा  प्रस्ट नभई एकताको प्रक्रियामा जानुको अर्थ छैन भन्ने हो र अहिलेको आवश्यकता र पार्टी कार्यकर्ताको जोड मूलतः संयुक्त मोर्चामा हो । जहाँसम्म एनेकपा (माओवादी) सित एकता गर्ने कुरा छन्, यसबारे पार्टीको कतै र कुनै पनि निकायमा आधिकारिक छलफल र निर्णय भएको छैन ।

समाचार माध्यमहरूले आधिकारिक र सही जस्तो लाग्ने गरी निरन्तर समाचार बाहिर ल्याएका छन् ।  एकताको सन्दर्भलाई लिएर समाचारहरू अमुकअमुक नेताको स्रोत र सन्दर्भ तिथिमितिसहित जसरी बाहिर आएका छन्, यसबाट प्रश्न उठ्नु/उठाउनु स्वाभाविक बनेको छ । पार्टीको सातौँ महाधिवेशनमा  प्रचण्डबाबुराम गुटलाई नवसंशोधनवादी भनेर मात्र पुग्दैन, प्रचण्डबाबुरामहरूलाई नेपाली क्रान्तिका गद्दारहरू र सो गुटलाई नवप्रतिक्रियावादी गुट भनेर किटान गर्नुपर्छ भन्ने आवाज साभाहलको मूल आवाज बनेको थियो । दस्ताबेजमा नलेखिए पनि  प्रचण्डबाबुराम गुटलाई नवप्रतियावादी गद्दार गुट भनेर लेखन र बोल्न नेता तथा कार्यकर्ताहरूलाई रोक्न सक्ने स्थिति रहेन ।

अझ एनेकपा (माओवादी) को हेटौँडा सम्मेलनमा  भारतीय विस्तारवादले गरेको सीमाअतिक्रमणका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने कुरा प्रचण्डले दस्ताबेजमार्फत बाहिर ल्याएपछि र  सशस्त्र सङ्घर्ष र नयाँ जनवादी क्रान्तिको दिशा छाडेपछि यो नवप्रतिक्रियावादी गुटसित एकता गर्ने कुरा कल्पनाको कुरा पनि रहेन ।  भारतले ७१ ठाउँमा सीमा मिचेको र ६०, ००० हेक्टर नेपाली भूमि कब्जा गरेको अवस्था छ । कठपुतली सरकारहरूमार्फत लाखौँलाख भारतीयलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको स्थिति छ । यस्तो अवस्थामा भारतीय दलाल पार्टी भनेर भन्ने गरिएका पार्टीहरूले समेत भन्न नसकेको जनमत सङ्ग्रहको कुरा गर्नु भनेको आत्मसमर्पणवादी र राष्ट्रघाती अपराधी चिन्तनसिबाय केही होइन ।  बलपूर्वक  अर्थात् सशस्त्र सङ्घर्षको कार्यदिशा  र नयाँ जनवादी क्रान्तिलाई नै छोडेपछि नेपाली क्रान्तिका लागि बाँकी रहने कुरा पनि अब केही रहेन ।  मे २५ मा भारतका माओवादी क्रान्तिकारीहरूले गरेको साहसी र ऐतिहासिक आक्रमणविरुद्ध सोनियाँ गान्धीलाई प्रचण्डले लेखेको चिठीले प्रचण्ड र उनको गुटको  जनविरोधी र पाखण्डी चिन्तनव्यवहारको थप पुष्टि गरेको छ ।  यस्तो प्रवृत्तिसित एकताको कुरा गर्नु भनेको पार्टी कार्यकर्तालाई मात्र होइन, समग्र मुलुक र उत्पीडित जनतालाई धोका दिनुसिबाय अरू केही होइन ।

पार्टीका कतिपयले अनौपचारिक सन्दर्भमा अथवा भोजभतेरको मानसिक अवस्थामा यस्ता कुरा गरेका भए त्यो भिन्नै कुरा हो । तर यसलाई पार्टी एकताको वार्ता वा छलफल  कदापि भन्न मिल्दैन । यथार्थ के हो भने चार दलको सिन्टकेटमार्फत भित्रिएको खतरनाक राजनीतिका विरुद्ध सङ्घर्षलाई कसरी घनीभूत बनाएर लैजाने भन्ने कुरामा चिन्ता र चिन्तन गरिहेको  नेकपामाओवादीलाई प्रचण्डबाबुरामगुटसित वार्ताका लागि समय पनि छैन र आवश्यकता पनि छैन ।  यो हाम्रो आवश्यकता र समस्या दुवै होइन । यसको आवश्यकता एनेकपा (माओवादी)  त्यसमा पनि पनि प्रचण्डलाई बढी छ ।  जति भारतको दलाली गरेर लम्पसार परे पनि प्रचण्डलाई भारतले अलिकति पनि विश्वास गरेको अवस्था छैन र चीनले त झन्  विश्वास गर्ने कुरै भएन ।

उत्पीडित जनता, सहिद परिवार र सिङ्गो क्रान्तिलाई धोका दिएर आर्थिक भ्रष्टाचारमार्फत मोजमस्ती र रसरङमा रमाउने नवसामन्ती चिन्तनका कारण  प्रचण्ड जनमानसबीच एउटा बदनाम पात्रका रूपमा परिचित हुन पुगेका छन् । अब आमजनमानसले उनलाई पत्याउने कुरै भएन । पार्टीपङ्क्तिमा  इमानदार र सङ्घर्षशील कार्यकर्ताको खडेरी छ ।  पैसा र प्रभलोभनको फर्मुलाले सधैँभरि  चल्न सक्ने स्थिति छैन । चारैतिर अविश्वास छ ।  बाबुरामको पेलान र नारायणकाजीको घुर्की पचण्डका लागि खतराको घन्टी बनेको छ । आफ्नो हैसियत, क्षमता र योग्यताभन्दा धेरै हैसियत र स्थान पाएका नारायणकाजी घुर्क्याएकै भरमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् । २००७ साल यताका नेताहरूमध्ये सबैभन्दा बढी भ्रष्टाचार गरेर  सात पुस्तालाई सम्पति थुपारेको  बाबुरामहिसिला मण्डली एकातिर पैसाका भरमा र अर्कातिर भारतीय विस्तारवादको आडभरोसामा प्रचण्डलाई थर्काइरहेका छन् ।  हावा भरिएको बेलुनजस्तो अथवा  मरेको बाघको छालामा पराल खाँदेर जिउँदोझैँ पारेर प्रदर्शनीमा राखेजस्तो स्थितिमा रहेका प्रचण्डलाई  अब काङ्ग्रेसएमालेले पनि  टेरपुच्छर लगाउनुपर्ने स्थिति रहेन । अहिले प्रचण्ड आफू स्वयम् र उनका  खास मतियारहरू, त्यसमा पनि कृष्णबहादुर महराजस्ता पाखण्डीहरूबाट एकताका कुरा आउनु प्रचण्डमा निहित पीडा, छटपटी,  बेचैनीको परिणाम मात्र हो । एकताको कुरा गरेर काङ्ग्रेसएमालेलाई थर्काउने कुराभन्दा यसमा प्रचण्डको कायर र आतङ्कित मानसिकताले बढी काम गरेको छ ।  बाहिर जेजस्तो होहल्ला गरे पनि नेपाली जनताका सामु प्रचण्डको स्थिति भिजेको मुसोझैँ भएको छ । त्यसैले उनी एकातिर अरू पार्टीका फोहोरमैलालाई धमाधम भित्र्याइरहेका छन्, अर्कोतिर नेकपामाओवादीसित एकताको होहल्ला पनि चलाइहेका छन् । यो प्रचण्ड र एनेकपा (माओवादी) नामको संयुक्त मोर्चामा  आएको सङ्कटको द्योतक हो ।  नवप्रतिक्रियावादी गुटमा आएको सङ्कट हल गर्न नेकपामाओवादीको कोही पनि इमानदार पात्र अघि सर्छ जस्तो लाग्दैन । यस्तो नीच, दलाल र विश्वासघाती  पात्र नेकपामाओवादीमा छ जस्तो लाग्दैन ।

वैद्यहरूसित एकता गर्ने, अमुकलाई प्रधानमन्त्री, अमुकलाई पार्टीअध्यक्ष दिने र अमुक राष्ट्रपति हुनेभनेर गरिएको होहल्ला नयाँ होइन । सुनको बाला बोकेर लोभी बाहुनलाई फकाउने बुढो बाघको कथासित हामी सबै परिचित छौँ । जो फस्यो ऊ सिद्धियो । कमजोर ठाउँ खोजेर  विरोधीहरू पार्टीभित्र खेन्न चाहन्छन् । एकता वार्ता  पार्टीभित्रको अशन्तुष्टिलाई घुर्कीमा बदल्ने माध्यम हुन सक्तैन भन्ने कुरामा हामी प्रस्ट छौँ । विस्तारवादीसाम्राज्यवादी शक्तिहरू नेकपामाओवादीलाई वैचारिक र साङ्गठनिक दृष्टिले ध्वस्त पार्न चाहन्छन् भन्ने कुराप्रति पनि हामी  अनभिज्ञ छैनौँ ।

हामीले महाधिवेशनमा विगतका एकताप्रक्रियाका सन्दर्भमा भएका कमीकमजोरीदेखि लिएर धोबीघाट प्रकरणसम्मका कुराको समीक्षा  गरेका छौँ ।  विगतका एकता प्रक्रियाहरूमा रहेका कमजोरीले निम्त्याएका परिणामहरूप्रति पनि हामी सचेत छौँ । नवप्रतिक्रियावादीहरूको विसर्जनवादी राजनीतिक सङ्कट  हल गर्नका  लागि हामीले महान् सहिदहरूको सपनाको हत्या गर्ने प्रश्नै आउँदैन । हामी हाम्रो मृत्युको घोषणा गर्न सक्तैनौँ ।  यो भनेको अर्को राष्ट्रघात र जनघात हो ।

 महाधिवेशनले निर्देशित गरेको दिशामा अघि बढ्नुसट्टा कहिले संविधानसभाको चुनावलाई लिएर अलमलिने र कहिले एकता नामको होहल्लाको पात्र बन्ने कार्य, काम नभएकाहरूको दिमागको उपज मात्र हो ।  यस्तो प्रवृत्ति क्रान्तिकारी आदर्श, नैतिकता र मूल्यभित्र पर्दैन । पार्टीको महाधिवेशनको स्पिरिटतिर भन्दा अरूले देखाएको हरियो घाँस, त्यो पनि कृत्रिम घाँसमा लोभिएर दाम्लो चुडाल्न खोज्ने प्रवृत्तिको प्रदर्शन तलमाथि जताबाट भए पनि निन्दनीय छ । यसका सन्दर्भमा कमरेड किरणबाट जारी प्रेसवक्तव्य नै सही हो । जस्तो सो वक्तव्यमा भनिएको छ :

यी दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणका क्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको यथार्थता जगजाहेर नै छ । यहासम्म कि प्रचण्डबाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ । त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन । उक्त गुटसँग पार्टी एकताबारे हाम्रो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफलसम्म पनि नभएको कुराबारे हामी सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौ

 पार्टी र क्रान्तिको हितभन्दा  बाहिर गएर कोही अर्काको घरमा पाहुना बन्न जाने आदतबाट ग्रस्त छ भने उसले गद्दारहरूको थप गद्दारीलाई सघाइरहेको छ भनेर बुझ्नु पर्दछ । सबै किसिमका अकर्मण्यता र दायाँबायाँ चाहर्ने प्रवृत्तिका विरुद्ध खबरदारी गर्दै महाधिवेशनको  स्पिरिटअनुसार अघि बढ्नु आजको आवश्यता हो । कसैबाट पनि एक वा अर्को बहनामा  गरिने भ्रमको खेती मान्य छैन ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.