”पहिचानवादी” वितण्डा विरुद्ध

vikalpa coverहरेक वर्ष विशिष्ट रचनाहरू प्रकाशित गर्दै आएको सोसियलिस्ट रेजिस्टर प्रकाशनको पचास वर्ष पुगेको सन्दर्भमा प्रकाशित विशेष अङ्कहरू “रेजिस्टरिङ क्लास” र “ट्रान्सफर्मिङ क्लासेज” मा सो पत्रिकाका सम्पादक लिओ पेन्टिचले सम्पादकीयमार्फत वर्ग राजनीतिका सन्दर्भमा गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । उनले सन् १९६० को दशकमा देखापरेका विविध राजनीतिक घटनापछि त्यसमा पनि ८० को दशकसम्म आइपुग्दा वाम विचारधाराका विरोधीहरू मात्र नभएर आफूलाई खाँटी मार्क्सवादी भन्नेहरूसमेतले वर्गको कुरा छाडेर पहिचानको राजनीतिमा आफूलाई कसरी केन्द्रित गरे भन्ने कुराको पीडा र चिन्ता व्यक्त गर्दै समाजमा वाम विचारधाराको महत्वलाई पुनः स्थापित गर्न पछिल्ला विशेष अङ्कहरू प्रकाशित गर्नुपरेको कुरा उल्लेख गरेका छन् । सोसियलिस्ट रेजिस्टरको २०१५ को वार्षिक प्रकाशनको सम्पादकीयमा उनले लेखेका छन् :
‘सोसियलिस्ट रेजिस्टर’ प्रकाशनको ५० वर्ष पुगेको सन्दर्भमा, पछिल्लो सन् २०१४ को अङ्कमा वर्ग संरचनामा केन्द्रित भएझैँ हामीले सोसियलिस्ट रेजिस्टर २०१५ को अङ्क विश्वव्यापी स्तरमा वर्ग रणनीतिका लागि समर्पित गरेका छौँ, यस क्रममा अहिले चलेको फेसनको ठीक विरुद्ध हामी २१ औँ शताब्दीको क्रान्तिका लागि वर्ग विश्लेषण, वर्ग बहस र वर्ग राजनीतिको आधारभूत महत्त्वमा जोड दिइरहेका छौँ । दुर्भाग्यको कुरा के भयो भने यताका केही दशकहरूमा वामपन्थी क्षेत्रमा समेत वर्गका कुरा, अझ त्यसमा पनि वर्गसङ्घर्षका कुराहरूलाई एकदमै असान्दर्भिक ठानियो । सन् १९६४ मा हामीले सोसियलिस्ट रेजिस्टरको प्रकाशन थाल्दा मूल धारका एकथरी बुद्धिजीवीहरूको समूहले वर्गीय प्रश्नलाई पहिले नै असान्दर्भिक घोषणा गरिसकेको थियो र पछि यसलाई सामाजिक प्रजातन्त्रवादी पार्टीहरूका नेताहरूद्वारा बढावा दिइयो । यसको बिस वर्षपछि राजनीतिक सुई यसरी घुम्न थाल्यो, आफूलाई निकै क्रान्तिकारी वाम भन्नेहरूसमेत वर्ग छाडेर ‘अन्य’ परिचयहरूको विस्तारमा चक्कर मार्नथाले । …त्यसैले हामीले विश्वव्यापी रूपमा, साम्राज्यवादको केन्द्रमा समेत उठेको श्रमजीवी वर्गको सङ्घर्षलाई समेत ध्यानमा राखेर नवउदारवादी तानासाही राजनीतिका विरुद्ध वर्ग राजनीतिको विश्वव्यापी महत्वलाई स्थापित गर्ने उद्देश्यका साथ गत अङ्कझैँ यो अङ्क पनि प्रकाशित गरेका छौँ ।
वास्तवमा सन् ७० को दशकदेखि २१ औँ शताब्दीको पहिलो दशकको आधाआधीसम्म युरोप–अमेरिकामा वामपन्थी आन्दोलनको जे–जस्तो स्थिति रह्यो, त्यसका आधारमा भन्नुपर्दा पेन्टिचको पीडा र चिन्ता सही छ । स्टालिनको मृत्यु, ‘युरो–कम्युनिज्म’ को प्रचारप्रसार, फ्रान्सको माओवादी आन्दोलनको अवसान, माओको मृत्यु र ‘उत्तरवाद’ को होहल्ला, रेगन–थ्याचर गठबन्धन र नवउदारवादी वर्चस्वका बीच युरो–अमेरिकी संसारमा मार्क्सवाद र वर्ग राजनीतिको क्षेत्रले सकस सहनुपरेकै हो । पेन्टिचको पीडा र चिन्ता यसैको उपज हो । तर समयले नवउदारवादी जञ्जाल, ‘उत्तरवादी’ विभ्रम र वित्तीय पुँजीवादमा निहित यथार्थलाई सतहमा ल्याइदियो । २१ औँ शताब्दीको पहिलो दशकको मध्यतिर भनौँ सन् २००८ को सेरोफेरोमा युरो–अमेरिकी संसारमा देखापरेको आर्थिक मन्दीले साम्राज्यवादलाई एकपल्ट पछाडि फर्केर हेर्न बाध्य पार्यो । ‘अरब स्प्रिङ’ को उभारलाई थेग्न सैन्य प्रयोगमा लागेको साम्राज्यवादका लागि युरोप र अमेरिकामा उठेको ‘अकुपाइ आन्दोलन’ ले थप सङ्कटमा पार्यो । ‘अकुपाइ आन्दोलन’ मा लागेकाहरूका हातमा मार्क्स–एङ्गेल्सका फोटाहरू देखिनथाले । प्रकाशकहरू मार्क्स–एङ्गेल्सका रचनाहरूको नयाँ संस्करणको तयारीमा लागे । यस किसिमको जनउभारले मार्क्सवाद समाप्त भयो भन्ने नवउदारवादीहरू मात्र होइन, एलेन बेदुजस्ता ‘उत्तर–मार्क्सवादीहरू’ समेत “मार्क्सको पुनरागमन” भन्दै सडकमा निस्के ।
यो पश्चिमको इतिहास हो । एसिया क्षेत्र त्यसमा पनि हामी नेपालीले मार्क्सवादका विरुद्ध त्यतिसारो पीडा भोगेनौँ । हामी पनि यही विश्वमा रहेका र साम्राज्यवादी भूमण्डलीकरणको समयमा रहेकाले सांस्कृतिक साम्राज्यवादले फैलाएको प्रदूषणबाट मुक्त हुने स्थिति न रहे पनि यस क्षेत्र त्यसमा पनि नेपालको थिति अर्कै किसिमको रह्यो । यहाँ सामन्तवाद, साम्राज्यवाद र विस्तारवादले पनि मार्क्सवादलाई निषेध गर्न सकेन । पश्चिममा जतिबेर साम्राज्यवादबाहेक सबै कुराको अन्त्यको दर्शनमा आधारित ‘उत्तरवाद’ को जगजगी थियो, त्यहाँ जतिबेर ‘परिचयको राजनीति’ को होहल्ला थियो, नेपाली समाज वर्गसङ्घर्षलाई कसरी नयाँ गति र दिशा दिने तथा क्रान्तिकारी जनउभार कसरी निर्माण गर्ने भन्ने विषयमा चिन्तनरत थियो । पश्चिमको जस्तो दुर्दशा नेपालको मार्क्सवादी आन्दोलनले भोग्नु परेन । साम्राज्यवादी शक्तिहरू मात्र नभएर संशोधनवादीहरू पनि मार्क्सवादी आन्दोलनका लागि त्यत्तिकै खतरनाक छन् र उनीहरू विरुद्ध पनि सशक्त वैचारिक आन्दोलन नचलाए नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्तैन भन्ने कुरामा नेपालका क्रान्तिकारीहरू प्रस्ट थिए । युरोपेली ‘मार्क्सवादी’ राजनीतिज्ञहरू तथा बुद्धिजीवीहरूले जस्तो स्टालिन र माओको विरोधबाट नेपालका मार्क्सवादीहरूले आफ्नो परिचय दिएनन्, बरु स्टालिन र माओ त्यसमा पनि माओले देखाएको बाटोमा अघि बढेर मात्र मार्क्सवाद–लेनिनवादको रक्षा गर्न र क्रान्तिलाई अघि बढाउन सकिन्छ भन्ने कुरामा उनीहरू दृढ भए । यही नै नेपालमा मार्क्सवादी आन्दोलनले पश्चिमको जस्तो पीडा र दुर्दशा भोग्नु नपरेको कारण हो ।
पश्चिममा ‘उत्तरवादी’ धारणाका विविध रूपहरूले समाजमा प्रभुत्व कायम गर्दै गरेको अवस्थामा नेपाल र भारतका जनता मालेमाको आलोकमा महान् जनयुद्ध लडिरहेका थिए । अर्थात्, यस क्षेत्रमा वर्गीय प्रश्न नै सबै किसिमका उत्पीडनबाट मुक्ति पाउने सैद्धान्तिक तथा व्यावहारिक आधार बन्यो र अहिले पनि बनिरहेको छ । यति हुँदाहुँदै पनि पछिल्लो समयमा स्थिति फरक किसिमले विकसित हुनथालेको आभास हुनथालेको छ । केही नेताहरूले माओवादी आन्दोलनप्रति गद्दारी गरेपछि आन्तरिक र बाह्य योजनाबद्धताका साथ यहाँ पनि वर्गीय प्रश्नलाई ओझेलमा राखेर पश्चिममै असान्दर्भिक भनेर रछ्यानमा फ्यालिएको ‘उत्तरवादी’ ‘पहिचानको राजनीति’ लाई अनेक रङ्गरोगन गरेर नेपाली समाजमा प्रयोग गर्ने काम हुनथालेको छ । यथास्थितिवादीहरू तथा यसैका नाममा साम्राज्यवादी स्वार्थका गोटी बनेकाहरूबाट यस्तो हुनु अस्वाभाविक थिएन, परन्तु, आफूलाई माओवादी भन्नेहरू नै मालेमाका आधारभूत मूल्यविपरीत र वर्गसङ्घर्षको आफ्नो गरिमामय इतिहास विरुद्ध जसरी ‘पहिचानको राजनीति’ को पछि कम्मर कसेर लागेको देखियो, यसले मार्क्सवादमा विश्वास राख्नेहरूलाई आश्चर्यमा पार्नु स्वाभाविक थियो । यस किसिमको स्थितिले ‘पहिचानको राजनीति’ का आडमा साम्राज्यवादले गरेको वर्गविरोधी प्रस्टरूपमा भन्दा मार्क्सवाद विरोधी राजनीति विरुद्धको सङ्घर्षलाई थप जटिल बनाएको छ । यतिखेर बौद्धिक–सांस्कृतिक क्षेत्रमा काम गर्ने हामीहरूले सबैभन्दा पहिले वर्गीय चिन्तनका विरुद्ध जातीय, क्षेत्रीय, लैङ्गिक प्रश्नलाई जोड दिने ‘उत्तर–मार्क्सवादी’ ‘पहिचानको राजनीति’ का विरुद्धको वैचारिक तथा व्यावहारिक सङ्घर्षलाई तीव्र बनाउनु आवश्यक छ । यसका सम्बन्धमा जे–जस्तो जालो बुनिएको छ, यो निकै जटिल छ । यतिखेर नव–उदारवादका पक्षधरहरू र सामान्य वामपन्थीहरू मात्र नभएर माओवादी ‘पार्टीहरू’ मा पनि साम्राज्यवादले आफ्ना एजेन्टहरू तयार पारेको बोध हुनथालेको छ । यसै अर्थमा यस विरुद्धको सङ्घर्ष जटिल र पेचिलो छ, तर यो अपरिहार्य छ । बौद्धिक सचेतकका रूपमा रहेका हामी बौद्धिक–सांस्कृतिक कर्मीहरूले यसको अगुवाइ गर्नु आवश्यक छ ।
एकताबद्ध र केन्द्रीकृत आन्दोलनबाट नै यस कार्यमा अपेक्षाकृत सफलता प्राप्त गर्न सकिन्छ । समाजमा ‘पहिचानको राजनीति’ प्रति विमति जाहेर गर्ने थरीथरीका मान्छेहरू छन् र तिनका स्वार्थ पनि थरीथरीका छन् । त्यसैले एकीकृत हुने भनेको मालेमाप्रति प्रतिबद्धहरू एकत्रित हुने भनिएको हो । तर यतिखेर माओवादी आन्दोलनले टूटफूट र विभाजनको नराम्रो पीडा खपेको छ । यो विभाजनको केन्द्रमा थरीथरीका आकाङ्क्षा नहोलान् भन्न सकिन्न तापनि विचारको प्रश्न नै प्रधान प्रश्न रहेको छ । माओवादी आन्दोलनभित्र ‘पहिचानको राजनीति’ ले घरजम गर्नु भनेको विचारकै समस्या हो । अर्थात् यो वैचारिक स्खलनको परिणाम हो । यस अर्थमा लडाइँ ‘उत्तरवादीहरू’ र तिनका मालिकहरूसित मात्र नभएर माओवादका नाममा ‘उत्तर–मार्क्सवाद’ को अभ्यास गरिरहेका ‘माओवादीहरू’ का विरुद्ध पनि तीव्र बनाउनु आवश्यक छ । यो बौद्धिक–सांस्कृतिक क्षेत्रमा काम गरिरहेकाहरूका लागि चुनौती र अवसर दुवै हो ।
यथार्थतः आजको प्रमुख प्रश्न र चिन्ता नेपालमा माओवादी आन्दोलनको झण्डालाई कसरी सुरक्षित राख्ने भन्ने नै हो । जबसम्म वर्गीय मुक्तिको प्रश्नलाई केन्द्रमा राखेर सङ्घर्ष र आन्दोलनका कार्यक्रमहरू तय गरिँदैन, तबसम्म यो कागजी चिन्ताको विषयमा मात्र सीमित हुन्छ । ‘पोलिटिक्स इन कमान्ड’ प्रधान पक्ष हो, तर माओवादी आन्दोलनभित्र यो पक्ष नै सबैभन्दा अन्यौलपूर्ण देखिएको छ । माओवादका नाममा ‘पहिचानको राजनीति’ गर्नेहरू र संसद्वादमा फसेकाहरूको मात्र कुरा नभएर आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत नेपाली क्रान्तिको कार्यदिशाका सन्दर्भमा अन्यौलमा देखिनु अहिलेको मूल समस्या हो । फलस्वरूप वर्गसङ्घर्षले अपेक्षित सफलता प्राप्त गर्नसकेको छैन । यस किसिमको अवस्थामा हामी क्रान्तिकारी बौद्धिक– सांस्कृतिक क्षेत्रले सचेतकको भूमिका खेल्नुपर्ने हुन्छ । राजनीतिले कमान्ड गर्न नसकेपछि बौद्धिक–सांस्कृतिक क्षेत्रले यसको अगुवाइ गर्नु स्वाभाविक हो । यतिबेर यो जिम्मेवारी इतिहासले हामी बौद्धिक–सांस्कृतिक क्षेत्रलाई सुम्पेको छ । माओले भन्नुभएझैँ भुत्ते चक्कुले रगत आउँदैन र दब्बु सेनाले लडाइँ जित्न सक्तैन । हामी बौद्धिक–सांस्कृतिक कर्मीहरू दब्बु सेना बन्ने हो अथवा क्रान्तिकारी सेना, अब निर्क्योल गर्ने बेला आएको छ ।
नेपालका बुद्धिजीवी तथा सांस्कृतिक कर्मीहरू आवश्यक पर्दा एक हातमा कलम र अर्को हातमा बन्दुक लिएर लड्न सक्छन् भन्ने कुरा दसबर्से जनयुद्धको इतिहासले प्रस्ट पारेको छ । त्यो विगत हो तापनि यही नै सत्य हो र निरन्तरता विच्छेद नभएको सत्य हो । आजको सन्दर्भमा हामीले त्यो गरिमामय मूल्य र विरासतसित आफूलाई कसरी जोड्ने भन्ने कुरामा हाम्रो चिन्तनमनन केन्द्रित हुनु आवश्यक छ । यसको पहिलो सर्त मालेमाका सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रतिको प्रतिबद्धता हो ।
शब्दमा प्रतिबद्धता व्यवहारमा उदासीनता अहिलेको समस्या हो । समस्या समाजमा छ र समस्या समाजमा मात्र छैन हाम्रो मनमस्तिष्कमा पनि छ । हाम्रो दिलदिमागमा रहेका थरीथरीका विचारले हामीलाई अघि बढ्न दिइराखेका हुँदैनन् । गोर्कीले हातलाई सशस्त्र बनाउनुअघि दिमागलाई सशस्त्र बनाउनु आवश्यक छ भन्नुको अर्थ पनि यही हो । हामी पहिले आफ्नै दिलदिमागभित्र रहेका दुस्मनका विरुद्ध लड्नु आवश्यक छ । अहिलेको प्रश्न हामी आफ्नै विरुद्ध लड्न तयार छौँ कि छैनौँ भन्ने हो । माओवादको झण्डा बोकेर दुस्मनका सामु आत्मसमर्पण गर्नेहरू मात्र होइन, क्रान्ति गर्छु भन्नेहरूमा समेत क्रान्ति र बौद्धिक– सांस्कृतिक क्षेत्रको भूमिकाप्रति प्रस्टता देखिँदैन । यसलाई हामीले चिर्नु आवश्यक छ । यो अराजकताको कुरा नभएर विचार निर्वाहको कुरा हो । क्रान्तिकारी सांस्कृतिक आन्दोलनले वैचारिक मात्र नभएर सङ्गठनात्मक प्रतिबद्धतामा जोड दिन्छ । परन्तु राजनीतिले सही दिशा दिन नसके, दिशाबोध गराउन नसके “विद्रोह गर्नु न्यायोचित छ ” भने मार्क्सवादी मूल्यलाई आत्मसात गर्नु आवश्यक हुन्छ । यो हामीलाई चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति ले देखाएको बाटो हो । यस अर्थमा मालेमालाई मान्ने नेपाली बौद्धिक–सांस्कृतिक क्षेत्रका सामु चुनौती पनि छन् र अवसरहरू पनि ।
आज चौतर्फी रूपमा माओवादी आन्दोलाई बदनाम गर्न यसका विरोधीहरू कस्सिएर लागेका छन् । उनीहरू एकातिर एकएकओटा निहुँ बनाएर कसरी भौतिकरूपमै माओवादी आन्दोलनलाई सिध्याउने भनेर लागेका छन् भने अर्कोतिर टूटफूट र विभाजनको वातावरण तयार पार्दै ‘पहिचानको राजनीति’ मार्फत चोतर्फी रूपमा अन्यौल, अकर्मयण्ता, अविश्वास, शून्यताबोध र निस्पृहताको स्थिति पैदा गरिरहेका छन् । अर्थात् उनीहरू लालझण्डाको विरुद्ध लाल झण्डाका प्रयोग गरिरहेका छन् । यो अहिलेको प्रमुख चुनौती हो ।
नेपाली समाजमा सूचना तथा सञ्चारका माध्यमहरूको भूमिका खासगरेर ठूला माध्यम भनेर नाम कहलिएका माध्यमहरूको भूमिका माओवादी आन्दोलनप्रति हिजोका दिनदेखि नै नकारात्मक रह्यो । हिजो जनयुद्धको बिम्ब विद्रुपीकरण गरिएझैँ आज पनि माओवादी आन्दोलनका विरुद्ध उनीहरूको अभियान जारी छ । यस्ता माध्यमहरूबाट जनताका कुराहरू हराएका छन् । त्यसैगरी आमजनतामा राष्ट्रिय स्वाधीनता तथा वर्गचेतना जगाउने लेखक तथा कलाकारहरूका गतिविधिहरूले प्रचारप्रसारको अवसर पाइराखेका छैनन् । यतिखेर सही अर्थका सांस्कृतिक कर्मीहरू ओझेलमा परेको स्थिति छ र बजारमा खोटा मोहरहरूको चकचकीको अवस्था छ । उनीहरूको उद्देश्य मार्क्सवादी लेखन हरायो, सकियो भन्ने किसिमको भाव सम्प्रेषित गर्नु हो । माओवादी सांस्कृतिक आन्दोलनमा लागेका कतिपयहरू पनि स्थितिको सही किसिमले यथार्थ बोध गर्न नसक्नाले अन्यौलग्रस्त भएको, कताकता निरास भएर उपभोक्तावादी होहल्लाकै पछि लागेको स्थिति छ । यो पनि अहिलेको चुनौती हो ।
यसका लागि लु स्युनले भनेझैँ योजनाबद्धताको आवश्यकता छ । योजनाबद्धताबिना न त हामी विरोधीहरू विरुद्ध भरपर्दो किसिमले लड्न सक्छौँ, न त आन्दोलनलाई नै सही गति र दिशा दिनसक्छौँ । ‘उत्तरवादी’ धारणा लगायत माओवादका नाममा भए/गरेका सबै किसिमका गलत चिन्तनका विरुद्ध देशव्यापी गति र प्रवाह ल्याउन क्रान्तिकारी कर्मीहरू एकीकृत र केन्द्रीकृत हुनुको विकल्प छैन । तर यो भावना वा इच्छाको कुरा नभएर वैचारिक प्रतिबद्धताको कुरा हो र यसका लागि राजनीति क्षेत्रको भूमिका त्यत्तिकै महत्वपूर्ण हुन्छ । राजनीतिक क्षेत्रमा गम्भीरताको आवश्यकता छ । वर्गसङ्घर्षलाई ऊर्जा दिने र वर्गसङ्घर्षबाट ऊर्जा लिने दोहोरो स्थिति बनाउनु अहिलेको प्रमुख आवश्यकता हो । अहिलेको समस्या पनि यही नै हो । यहीँनेर कतै मिलेको छैन । राजनीतिले सही दिशा लिन र दिन नसक्नु नै अहिलेको समस्या हो । द्वन्द्वात्मक सम्बन्धबाट मात्र सबै किसिमका विचलनका विरुद्धको सङ्घर्षलाई गुणात्मकता दिन सकिन्छ ।
अवश्य पनि स्थिति हिजोको भन्दा जटिल छ । एकातिर वर्गीय प्रश्नलाई निषेध गरेर ‘पहिचानको राजनीति’ लाई राजनीतिक, बौद्धिक र सूचना साम्राज्यवादका माध्यमद्वारा विस्तारित गरिँदो छ, यतिले नपुगेर धार्मिक वितण्डावादको उखरमाउलो पनि चलाइएको छ भने अर्कोतिर माओवादका नाममा संसद्वादी राजनीतिको अभ्यास भइरहेको छ । यस्तो बेला आन्दोलन अगाडि बढाउने कुरा साँच्चिकै चुनौतीपूर्ण छ, तर सम्भव छ । संसारका सबै प्रतिक्रियावादीहरू एकजुट भएर लाग्दा पनि जनयुद्ध हाँक्न हामी त्यसै सफल भएका थिएनौँ, हामीसित सही विचार थियो, जनदिशा थियो र थियो प्रतिबद्धता । हाम्रो हिजोको गरिमामय विरासतलाई निरन्तरता दिनु भनेको नयाँ जनवादी सास्कृतिक आन्दोलनप्रति प्रतिबद्ध हुनु हो । यो भनेको राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा माओले देखाएको बाटोलाई वैचारिक तथा व्यावहारिक दुवै दृष्टिले दृढताका साथ आत्मसात गर्नु हो । प्रस्ट कुरा के हो भने कवि नवारुण भट्टाचार्यले भनेझैँ यतिबेर “कविताको गाउँबाट कविताको सहरलाई घेर्नु अति जरुरी छ ।”
यही नै यतिखेर सारा चुनौतीहरूको सामना गर्ने उपाय हो ।
(भर्खरै प्रकाशित पत्रिका विकल्प को सम्पादकीय)

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.