‘न्यु सिन्थेसिस’ : विवाद र बहस

ऋषिराज बराल
(प्रिय मित्रहरू ! हामी फेरि आएका छौँ । एताका एक महिना भन्दा बढी समयमा हामीले केही पनि पोस्ट गर्न सक्ने स्थिति रहेन । मार्चदेखिका हाम्रा रचनाहरू गाएब भएका छन् । साइबर अपराधीहरूको सिकार भयौं हामी । यसबारे पछि विस्तृतमा  केही लेखने छु । तर अब हामी निरन्तर आइरहने छौँ । यसबीच हामीले केही महत्त्वपूर्ण रचनाहरू- वित्तीय पुँजी र साम्राज्यबाद सम्बन्धी र बभ अभाकियनको दस्ताबेजबारे लामा लेख तयार पारेका छौँ। हामी क्रमिक रूपमा तिनलाई पोस्ट गर्दै जानेछौं ।)
क्रान्तिकारी कम्युनिस्ट पार्टी, अमेरिकाका अध्यक्ष बभ अभाकियनद्वारा प्रस्तुत र त्यसका पक्षधर पार्टी र व्यक्तिहरूले एक्काइसौं शताब्दीको कम्युनिस्ट घोषणापत्रका रूपमा चर्चापरिचर्चा र प्रचारप्रसार गरेको यो दस्ताबेज अहिले कम्युनिस्ट आन्दोलनमा निकै बहस र विवादको विषय बनेको छ । यसलाई लिएर माओवादी पार्टी र सङ्गठनहरू सामान्यतः दुई कित्तामा विभाजित देखिएका छन् । आरसिपि अमेरिका र उसका पक्षधरहरूले यसलाई आजको क्रान्तिको दस्ताबेज भनेका छन् । माओको मृत्युपछि कम्युनिस्ट आन्दोलनको एउटा चरण समाप्त भयो र अबको चरणको वैचारिक उच्चताको नेतृत्व र प्रतिनिधत्व बभ एभाकियन र उनको दस्ताबेज ‘न्यु सिन्थेसिस’ ले गर्छ गर्न भनेका छन् । उनीहरूले यसमा निहित वैचारिक पक्षलाई आधार बनाएर नयाँ रिम गठन गनुपर्ने जस्ता तर्क पनि अघि सारेका छन् । यसप्रति विमति जनाउने पार्टी तथा व्यक्तिहरूले ‘न्यु सिन्थेसिस’ ले मार्क्सवाद–लेनिनवाद–माओवादको न्यूनीकरण गरेको, माओपछि भएका माओवादी आन्दोलन र सैद्धान्तिक तथा व्यावहारिक पक्षलाई निषेध गरेको र सारमा ‘उत्तर–माओवादी’ धारणा व्यक्त गरेको भन्ने तर्क गरेका छन् । साथै विमति राख्नेले यस दस्ताबेजले समग्र माओवादी आन्दोलप्रति नकारात्मकता प्रस्तुत गरेको, सङ्घर्षको व्यावहारिक रूपप्रति विमति जनाएर मालेमालाई प्राज्ञिक र विमर्श सिद्धान्तमा सीमित गरेको र इतिहास र वर्तमानप्रति शून्यवादी भावका साथ विसर्जनवादको पुर्पक्ष गरेको विचार पनि व्यक्त गरेका छन् । कसले के भन्यो, को कसको पक्षमा लाग्यो, उनीहरूले उठाएका कुरा कति सही र गलत छन् भन्ने कुरातिर भन्दा सही अर्थमा ‘न्यु सिन्थेसिस’ मा के छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नु आवश्यक छ र यसका लागि यसको आरम्भदेखिको इतिहास खोतल्नु आवश्यक छ ।
के छ ‘न्यु सिन्थेसिस’ मा
‘न्यु सिन्थेसिस’ ‘कम्युनिज्मः दि बिगिनिङ अफ ए न्यु स्टेज, अ मेनिफेस्टो फ्रम दि रिभोलुस्नरी कम्युनिस्ट पार्टी, युएसए’ नामक दस्ताबेजको संश्लेषित नाम हो । बभ अभाकियनले हिजोदेखिको कम्युनिस्ट आन्दोलनको सम्रग विश्लेषण गरेर क्रान्तिकारी विचारका साथ विश्वक्रान्तिको रूपरेखा खिचेको भावलाई दर्शाउन ‘न्यु सिन्थेसिस’ भनिएको हो भन्ने उनीहरूको तर्क छ । यसको नाम ‘कम्युनिज्मः दि बिगिनिङ अफ ए न्यु स्टेज’ मात्र हो ।
यो एक लाख पन्ध्र हजार आठसय चौहत्तर अक्षर र एक्काइस हजार आठसय शब्दमा लेखिएको दस्ताबेज हो । विषयप्रवेश उल्लेख नगरी यसमा छोटो विषयप्रवेश छ र विषयवस्तुलाई ७ वटा उपशीर्षकमा बाँडेर व्याख्या गरिएको छ :
१. लामो अन्धकार र ऐतिहासिक फड्को, २. कम्युनिस्ट आन्दोलनको पहिलो चरण, ३. एउटा युगको अन्त र यो ऐतिहासिक अनुभवबाट केही निष्कर्ष निकाल्नुपर्छ कि पर्दैन, ४.नयाँ चुनौतीहरू र नयाँ संश्लेषण, ५. साम्यवाद दोसाँधमा : भविष्यको अग्रगामिता कि विगतको अवशेष ? , ६.आरसिपिभित्र सांस्कृतिक क्रान्ति र ७.निष्कर्ष : चुनौती र आव्हान ।
पहिलो, दोस्रो र तेस्रो उपशीर्षक इतिहाससित सम्बद्ध छन् । यिनमा समाजविकास र सर्वहारावादी आन्दोलनको विकासको क्रालक्रमिक विश्लेषण छ । माओको मृत्युपछि चिनिया“ कम्युनिस्ट पार्टी र सत्तामा देङको प्रभुत्व कायम भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा एउटा चरण (वेभ) को अन्त भयो भनिएको छ ।
खासगरेर तेस्रो उपशीर्षकदेखि ‘संश्लेषण’ सुरु हुन्छ । बहस र विवादका मूल सन्दर्भहरू ३ देखि ५ सम्मका उपशीर्षकहरूमा प्रस्तुत गरिएको छन । उपशीर्षक ६ सांस्कृतिक क्रान्तिको महत्व देखाउ“दै आरसिपि अमेरिकाभित्रको समस्या र समाधानलाई प्रस्ट पारिएको छ ।
पूरै दस्तावेजको पूर्ण शब्दशब्द अनुवाद ययहाँ सम्भव छैन । विषयवस्तुको विश्लेषण गर्नुअघि यसमा के छ भन्ने कुरा जान्नका लागि सबै उपशीर्षकहरूको सार अनुवाद प्रस्तुत गर्नु चाँहि आवश्यक र सान्दर्भिक देखिएको छ ।
(बाँकी अर्को पोस्टमा)

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.