‘नयाँ पार्टी’ बारे आरसिपि, अमेरिका

new logo(नयाँ पार्टी अर्थात् नेकपा—माओवादीको सातौँ राष्ट्रिय सम्मेलन भएको दुई महिना भइसकेको छ र यो अहिले आफ्नै गति र चिन्तनका साथ अघि बढेको छ । यसका बारेमा भाइचारा पार्टीहरूको धारणा के–कस्तो रहेको छ भन्ने कुरा उनीहरूका शुभकामना सन्देशबाट अवगत गर्न सकिन्छ । भर्खरै सम्पन्न महाधिवेशनमा यसरी शुभकामना दिने पार्टीहरूमध्ये एक, हाल निष्क्रिय बनेको  रिमसित सम्बद्ध महत्त्वपूर्ण घटक आरसिपि, अमेरिका पनि थियो । महाधिवेशनको बन्द शत्रमा सो पार्टीका प्रतिनिधि रबर्टद्वारा प्रस्तुत सन्देशलाई सँगसँगे नेपालीमा पनि अनुवाद गरी सुनाइएको थियो, जुन ठीक ढङ्गले अनुवाद हुन सकेको थिएन । पछि चितवनबाट प्रकाशित पत्रिका  समरप्रतिक मा सो शुभकामनाको नेपाली अनुवाद भनेर छापिएको अंशको  अनुवादमा पनि थुप्रै त्रुटिहरू रहेका छन्  ।

हालै आरसिपि, अमेरिकाले आफ्नो अनलाइन प्रकाशन रिभोलुसनको फेब्रवरी २४, २०१३ को अङ्कमा सो सन्देशलार्इ केही परिमार्जनसहित प्रकाशित गरेको छ । त्यसमा थप टिप्पणी पनि समावेस  गरिएको छ । सो टिप्पणीमा आरसिपि, अमेरिकाले दस बर्से जनयुद्धको आरम्भदेखि हालसम्मको सङ्क्षिप्त इतिहास प्रस्तुत गर्दै कमरेड किरणको नेतृत्वमा विभाजित समूहलाई उसले  क्रान्तिकारीहरूको विभाजन नभनी अशन्तुष्टहरूले नयाँ पार्टी बनाएको र पुरानो विराशतबाट मुक्त हुन नसकेको भनेको छ । जस्तो सो टिप्पणीमा भनिएको छ ।

“नयाँ बनेको  पार्टी नेकपा (माओवादी) ले भर्खरै आफ्नो प्रथम महाधिवेशन सम्पन्न गर्यो । क्रान्तिलाई पछाडि धकेल्नेहरूप्रति तीव्र घृणा गर्नेहरू तीव्र रूपमा आकर्षित भएको यो नयाँ पार्टी नेकपा (माओवादी) ले दुर्भाग्यवस लाइनका मामिलामा आफूलाई पुरानो पार्टीबाट आवश्यक मात्रामा मुक्त पार्न सकेको छैन, जुन लाइनले  नेपाली क्रान्तिलाई यस किसिमको विनाशको स्थितिमा पुर्यायो ।”

हामी आरसिपि, अमेरिकाका अध्यक्ष बभ अभाकियनले अघि सारेको ‘न्यु सिन्थेसिस’ को पक्षमा छैनौँ । यसले  उत्तर–मालेमाको पुर्पक्ष गर्दछ र मार्क्सवादलाई व्यवहारबाट पूर्ण रूपमा अलग्याएर बौद्धिक विमर्शमा सीमित गर्दछ भन्ने हाम्रो ठहर छ । सारमा यसले मालेमाको नभएर   विसर्जनवादको सेवा गर्छ भन्ने हाम्रो निष्कर्ष छ । ‘न्यु सिन्थेसिस’ बारे यसै साइटमा प्रकाशित ‘प्रिलिनिमेरी रेन्सपोन्स टु ‘न्यु सिन्थेसिस’ मा  हामीले आफ्नो  धारणा प्रस्ट पारिसकेका छौँ ।  साथै यसबारे विस्तृत अध्ययन ऋषिराज बरालको पुस्तक आजको साम्राज्यवाद र माओवादी आन्दोलन नामक पुस्तकमा गर्न सकिन्छ ।

यो शुभकामना सन्देशमा पनि आरसिपि, अमेरिकाले पहिलेदेखि भन्दै आएको पुरानै कुरा दोहोर्याएको छ । तर माओवादी जनयुद्धको पछिल्लो चरण, त्यसमा पनि चुनवाङ बैठकयताका सम्बन्धमा आरसिपिको विश्लेषणप्रति भने हामी सकारात्मक छौँ । कथित उपचरण, चुनवाङ बैठक  र कथित शान्तिप्रक्रियाका बारेमा हामी आरसिपिको मूल्याङ्नप्रति सहमत छौँ । यसबारे नयाँ पार्टीले आफनो धारणा बाहिर ल्याउनु आवश्यक छ भन्ने हाम्रो ठहर छ ।  प्रचण्ड र एकीकृत (माओवादी) सित सङ्गठनात्मक सम्बन्ध विच्छेद गरे पनि लाइनका पक्षमा अझै ऊसितको सम्बन्ध विच्छेद गर्न नसकेको भन्ने निष्कर्ष ध्यान दिनयोग्य  छ । इतिहासको मूल्याङ्कनका सम्बन्धमा र कार्यदिशाका सम्बन्धमा नयाँ पार्टीमा थुप्रै भ्रम रहेको यथार्थलाई अस्वीकार गर्न सकिंदैन  । सो सन्देशमा रहेका कतिपय सन्दर्भप्रति हाम्रो विमति रहे पनि पाठकहरूको जानकारीका लागि हामीले सो सन्देशसित सम्बद्ध टिप्पणीको महत्त्वपूर्ण अंश र मूल पाठ यहाँ प्रस्तुत गरेका छौँ । )

—————————————————————————————–

नेपाल अप्ठ्यारो स्थितिमा : नयाँ पुनर्गठित नेकपा (माओवादी) प्रति आरसिपि, अमेरिकाको धारणा

 …यताका दिनहरूमा चिजहरू जसरी गलत दिशातिर गएर क्रान्तिका सारा  उपलब्धिहरूलाई एकएक गरेर परित्याग गर्ने काम भयो, यसले एकीकृत (माओवादी)  भित्रका धेरै कमरेडहरूले  असहजताको  बोध गर्न थाले । एकीकृत (माओवादी) भित्रका यस्तो असहजता बोध गर्नेहरूमध्ये केहीले   प्रचण्डको  नेतृत्वविरुद्ध एउटा समूह निर्माण गरे । अन्ततः यो समूहले पार्टीको पुरानै नाम नेकपा (माओवादी)  राखेर सन् २०१२ मा एकीकृत (माओवादी) बाट  आफूलाई अलग्यायो । (यहाँ  आरसिपि, अमेरिकाले नयाँ पार्टीको नाम पुरानै मूल पार्टी राख्यो भनेर भनेको छ । यसो नभएर नयाँ पार्टीले आफ्नो नाम  नेकपा—माओवादी राखेको छ ।)

नयाँ बनेको  पार्टी नेकपा (माओवादी)ले भर्खरै आफ्नो प्रथम महाधिवेशन सम्पन्न गर्यो  । क्रान्तिलाई पछाडि धकेल्नेहरूप्रति तीव्र घृणा गर्नेहरूलाई आकर्षित गर्न सफल भएको यो नयाँ पार्टी नेकपा (माओवादी) ले दुर्भाग्यवस लाइनका मामिलामा आफूलाई पुरानो पार्टीबाट आवश्यक मात्रामा मुक्त पार्न सकेन, जुन लाइनले  नेपाली क्रान्तिलाई यस किसिमको विनाशको स्थितिमा पुर्यायो ।

यस परिपेक्ष्यमा आरसिपि, अमेरिका, जुन पार्टी नेपाली क्रान्तिको सहयोग र समर्थनमा वर्षौँदेखि  सक्रिय रह्यो, त्यसलाई भखैरै सम्पन्न महाधिवेशनमा आफ्नो धारणा राखन  निम्त्याइएको थियो । तलको पाठ त्यसै महाधिवेशनमा प्रस्तुत गरिएको सन्देशको केही परिमार्जित रूप हो ।

लाल सलाम कमरेडहरू !

            सोझै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु ।  नेपाली क्रान्ति चुनौतीपूर्ण मोडमा उभिएको छ । नेपाली क्रान्तिको दृष्टिकोणले मात्र होइन, विश्वक्रान्तिको दृष्टिले पनि हामी गम्भीर मोडमा छौँ । केही वर्ष अघिसम्म लाखौँ नेपालीहरूले माओवादीहरूलाई उनीहरूमाथिको शोषणको अन्त्य गर्ने शक्तिका रूपमा हेरेका थिए । अहिले उक्त आधिकारिक नेतृत्व शोषक र पीडकको रूपमा कुरूप भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (RIM) लाई संशोधनवादको बाहक जस्तो बनाइएको छ । त्यस्तो किन भयो —समस्या के हो — र समाधान के हो त ?

            म यहाँ संयुक्त राज्य अमेरिकाको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकजना समर्थकको हैसियतमा नेपाली क्रान्तिलाई सही बाटोमा फर्काउन इच्छुक जो कोहीलाई पनि सघाउ पुर्याउन आएको हुँ । तर क्रान्ति जोगाउनका लागि सबैभन्दा पहिले गलत लाइनसँग छुट्टिनु आवश्यक पर्दछ, जुन लाइनले  यो पार्टीलाई सर्वनास पार्यो , अझै त्यससितको  सम्बन्ध विच्छेद भएको छैन ।

            मैले प्रचण्ड र बाबुरामले क्रान्तिलाई धोखा दिनु अथवा उनीहरूले आफूहरूलाई  भारतको हातमा सुम्पिनु नै मूल समस्या हो भन्ने गरिएको सुनेको छु । मार्क्सका निकटतम मित्र एङ्गेल्सले यस किसिमको  धोकाका सम्बन्धमा के भनेका थिए सुनौँ – “प्रतिक्रान्तिकारीहरू सफल हुनुको कारण सोध्नु भयो भने फलाना–फलानाले धोका दिए भन्ने तयारी जवाफ पाउनुहुन्छ । तर यो जवाफले त्यसको कारणबारे केही बोल्दैन । यो जवाफले कसरी धोका दिइयो ? सम्म पनि बोल्दैन ।  यसले आफूलाई कसरी धोका दिनेलाई अनुमोदन गरियोसम्म भन्दैन । जुन राजनीतिक पार्टीले असफलताका लागि खाली व्यक्ति विशेषलाई दोषी देख्छ, तर त्यसको कारक तत्त्व खोतलेर समाधान खोज्दैन, त्यस पार्टीले सफलता पाउन सक्दैन ।”

  ध्यान दिनुस्, एङ्गेल्सको प्रश्न के छ भने–मानिसहरू धोका हुने वातावरण किन दिन्छन् ? त्यसको राम्रो जवाफ माओले दिनुभएको छ – “राजनीतिक कार्य दिशा सही या गलत हुनुले सबै कुराको फैसला गर्दछ ।” गलत लाइनले होनहार योद्धाहरूलाई समेत बिगार्छ । सही लाइनले बाटो बिराएकाहरूलाई समेत सही बाटोमा  ल्याउँछ ।

            म यस पार्टीको इतिहासलाई सही लाइन लिनेतर्फ निरन्तर प्रयास भइरहेको स्थितिका रूपमा बुझ्दिन ।  पार्टीमा पहिलेदेखि नै दुई लाइन सङ्घर्ष भएको भए तापनि सात वर्षअघि टाउको उठाएको संशोधनवाद जसले पार्टीमा प्रभुत्व कायम गरेको थियो र पार्टीलाई एउटा नाजुक मोडमा पुर्याएको थियो, सबैजसो त्यसैमा समाहित भएका थिए । उदाहरणका रूपमा सन् २००८ को निर्वाचनलाई लिन सकिन्छ । धेरै कमरेडहरू त्यसबेला सुधारवादको खतराप्रति जानकार थिए । तर पनि पूरै पार्टी र क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) सित सम्बद्ध धेरजसो पार्टीले विजयलाई ‘चुनाबी चमत्कार’ का रूपमा उच्च महत्त्व  दिए । किन चमत्कार ? हामीलाई थाहा छ क्रान्तिलाई बुर्जुवा संसदमार्फत अघि बढाउन खोज्नु भनेको वर्गीय समाजको नियमविपरीत जानु हो, साँच्चै हो,  यो मार्क्सवादको क ख ग विरुद्ध  जानु हो । तपाईंहरूले यसलाई इश्वरको वरदानका  रूपमा लिनु भयो ।  तर कुरा त्यस्तो थिएन । त्यो वास्तवमा साम्राज्यवादीहरू र  प्रतिक्रियावादीहरूले थापेको  धराप थियो र त्यसले पार्टीलाई संसदीय भासमा फसाउने एउटा गहकिलो कदमको प्रतिनिधित्व गर्थ्यो।  प्रचण्डको नियत जे भए पनि  सिङ्गो पार्टीले  बुर्जुवा धरापमा जाने निर्णय किन गर्यो  त ?

किनभने पार्टी संशोधनवादी  चिन्तनको कब्जामा  थियो । जब सन् २००५ मा चुनवाङबाट संशोधनवादी लाइन हाबी भयो ; अनि सबै कुरा त्यसैअनुसार चल्न थाले र सबै कार्यनीतिले त्यसै लाइनलाई सेवा गरे । त्यो लाइन नछोडेसम्म, प्रचण्ड भौतिक रूपमा तपाईहरूसँग नभए पनि तपाईँहरूसँग प्रचण्डबिनाको प्रचण्डवाद रहिरहनेछ  ।

            प्रचण्ड कुरा एउटा गर्छन् र काम अर्को गर्छन् भनेर गुनासो गरेको कुरा कमरेडहरूबाट मैले बारंबार सुन्ने गरेको छु ।  यो चाहिँ पार्टीको साझा लाइन नै मूल समस्या हो भन्ने यथार्थको सामना गर्न नसक्नुको उपज हो । प्रचण्डसित सम्बद्ध समस्या भनेको उनले भनेअनुसार गरेनन् भन्ने होइन कि बरू उनले नियोजित रूपमा संशोधनवादी लाइनअनुसार गर्दै गए भन्ने हो । आधारभूत रूपले उनले त्यही गरे, जुन उनले गर्न चाहेका थिए । उनले त्यही ७ वर्षअघि पारित गरिएको संशोधनवादी लाइन जुन, पार्टीमा हाबी हुँदै आएको थियो, त्यसैलाई ठ्याक्कै लागु गरे ।

समस्यालाई तपाईँले सही किसिमले ठम्याउन सक्नु भएन भने तपाईँले समाधानको उपाय पनि पत्ता लगाउन सक्नु हुन्न । समस्या के थियो त ?

 राज्यसत्ता, राष्ट्रियता र कम्युनिस्ट कार्यविधि लगायतका कयौँ महत्त्वपूर्ण मुद्दामा त्यो संशोधनवादी लाइन गलत थियो  । त्यो संशोधनवादी लाइनले राज्यसम्बन्धी मार्क्सवादी मान्यतालाई निषेध गर्यो  । यसले ‘सङ्क्रमणकालीन वर्गविहीन गणतन्त्र’ को कुरा गर्यो र संसदीय निर्वाचन र बुर्जुवा प्रजातन्त्रसम्बन्धी सबै प्रकारका भ्रमहरूलाई प्रोत्साहित गर्यो । वर्गीय समाजमा हरेक वर्गले आफ्नो स्वार्थ र वर्गीय शासनसँग अनुकूल भिन्न भिन्न प्रकारका प्रजातन्त्रका रूपहरू स्थापित गर्दछ । नेपालमा थोपरिएको संसदीय प्रजातन्त्रले प्रतिक्रियावादी शासनलाई सुदृढ गर्ने र आधारइलाका र जनमुक्ति सेनाको विघटनबाहेक अरू केही गर्न सक्दैनथ्यो ।

            त्यो संशोधनवादी लाइनले राष्ट्रियतावादको मुखुण्डो लगाएको थियो । नेपाललाई स्विटजरल्याण्ड बनाउने चुनाबी नारा सम्झनु होस् । हामी सबैलाई थाहा छ, स्विटजरल्याण्ड विश्वक्रान्तिको कुनै आधारइलाका होइन । त्यो खाली एउटा सानो प्रतिक्रियावादी राज्य हो, जुन विश्वका ठूला साम्राज्यवादी शक्तिहरूसँग गाँसिएको छ र उनीहरूको स्वार्थलाई सघाउँछ । यो  प्रचण्डको चिन्तनको नमुना थियो ।   प्रचण्डले नेपाल,  भारत र चीनबीचको गतिशील केन्द्रबिन्दु हुनुपर्छ भनेर वकालत गरिरहेको  बेलामा   पनि कसैले यसको विरोध गरेन । यी सबै कामहरू सारसङ्ग्रहवादी कार्यपद्धतिका विशेषता थिए, जसलाई फ्युजन भनियो, अर्को शब्दमा भन्दा व्यवहारवाद र उपयोगिताका नाममा गरिएको थियो, जसमा क्षणिक लाभका लागि सैद्धान्तिक प्रश्नलाई तिलाञ्जली दिइएको थियो ।

            पार्टीले, विश्वक्रान्तिलाई सघाउने जुझारु पार्टीद्वारा नेतृत्व गरिएको शक्तिशाली सर्वहारा वर्गीय सत्ता कायम गर्ने लक्ष्यलाई छोड्यो । यसले कम्युनिस्ट दृष्टिकोणलाई राज्यको पुनरसंरचना गर्ने संशोधनवादी दृष्टिकोणद्वारा पुनर्स्थापित गर्यो , यसको अर्थ जुनसुकै कार्यनीति अँगाले पनि त्यसको परिणाम प्रतिक्रियावादी सत्तालाई  सुधार्नु मात्र हुन्थ्यो । अढाई वर्षअघिको मे आन्दोलनतिर ध्यान दिनुहोस् ।  विद्रोहका लागि जीवन बलिदान गर्न लाखौँ जनता काठमाडौँ ओइरिए । नेतृत्वको राज्यसत्तासम्बन्धी गलत दृष्टिकोणले गर्दा, अझ भनौँ त्यो आन्दोलन सफल भएकै भए पनि पुरानो सत्ता र प्रतिक्रियावादी सेनाको विघटन हुने  स्थिति थिएन । समग्र रणनीति नै प्रतिक्रियावादी अधिकारीहरूलाई समेत तथाकथित ‘विद्रोह’ मा सामेल गर्ने कुरामा आधारित थियो । सफल भएकै भए पनि भेनेजुयलाको ह्युगो चाभेजको जस्तो हुन्थ्यो, चीनको माओको जस्तो हुँदैनथ्यो । शान्तिपूर्ण या सशस्त्र जुनसुकै माध्यम अँगालेर गरिने सुधारवादी परिणामले  राज्यसत्ताको सार बदलिने स्थिति हुँदैन ।

            कमरेडहरूको दिमागमा संशोधनवादी धारले बलियोसँग घरजम गरेका कारण प्रचण्ड–बाबुरामले पार्टीमा प्रतिपक्षी शक्तिलाई दबाब समूहको रूपमा परिचालित हुन दिए । त्यो निरन्तर विकास गरिरहेको क्रान्तिकारी लाइनको स्तरमा पनि थिएन ।  बरू यसले केही वर्ष यतादेखि सुरक्षाकवच (Safety velve) को काम गरिरह्यो,  जसबाट विरोधी स्वरलाई निकास दिन सहज भयो  । संशोधनवादी लाइनका विरुद्ध दह्रो प्रतिरोध गरिएन, यसरी क्रान्तिकारी ऊर्जा र उभारलाई सखाप पारियो र चुनावी सहभागितामार्फत माओवादीले यताका सात वर्षमा पुरानो सत्तालाई वैधानिकता प्रदान गर्यो ।

            संशोधनवादसित सम्बन्ध विच्छेद गर्ने कुराको इन्कारीप्रति यताका वर्षहरूमा मैले बारम्बार के व्याख्या सुन्दै आएको छु भने— तपाईँलाई थाहा छैन, प्रचण्डबिना क्रान्ति सफल पार्न सम्भव छैन, उसलाई ठीक ठाउँमा ल्याउन हामीले पार्टीभित्र सङ्घर्षलाई निरन्तर जारी राखनु आवश्यक छ । अर्को शब्दमा भन्दा पार्टीको कार्यदिशाको सही र गलतपना भन्दा प्रचण्डलाई नगुमाउनु महत्त्वपूर्ण कुरा ठानियो  ।

 सात वर्षयता पार्टीमा हाबी भएको व्यवहारवाद र प्रजातान्त्रिक भ्रमहरूको उजागर गर्ने र भत्काउने काम केही मात्रामा भएको छ र अझै धेरै गर्न बाँकी छ । के यो कार्यभार पूरा भयो भन्ने तपार्इँहरूलाई लाग्छ ? छैन, यो त भर्खर आरम्भ भएको छ । बुर्जुवा स्थितिसमेतलाई ध्यान नदिएर व्यवहारवाद र  सानासाना उपलब्धीमा रमाउने  प्रचण्ड र बाबुरामको भारतप्रतिको  निर्लज्ज सहकार्यबारे सबैलाई थाहा छ । तर चीनसँगको नेकपा–माओवादीको धारणामा चाहिँ के भिन्नता छ त ? चिनियाँ संशोधनवादीहरूले चीनलाई विश्वसाम्राज्यवादको उत्पीडनको पसिनाको आहालमा परिणत गरिदिएका छन् । चीन विश्वकै असमान समाजमध्येको एक समाज हो । हो, दुस्मनहरूबीच कूटनीति र अन्तर्विरोधको उपयोग गर्नुपर्छ । मैले यो कुरा बुझेको छु । तर रणनीति र कार्यनीतिक चालबाजीका बीचमा फरक हुन्छ । मलाई भनिएको छ – हामी चीनका बारेमा प्रस्ट छौँ । चिनियाँ पुँजीवादी  आतङ्कको  पर्दाफास गरिएको एउटा मात्र लेख सम्म पनि तपाईँहरूका प्रकाशनहरूमा प्रकाशित भएको मलाई देखाउनोस् त । यसले विश्वका जनतालाई पारेको भ्रमका बारेमा सोच्नोस्न त ।  चीनका लाखौँ जनता सही अर्थको परिवर्तन चाहन्छन् । चीनले साम्यवादको नाममा आफ्नै देश, अफ्रिका र अन्यत्र के गरिरहेको छ भन्ने कुरालाई उनीहरू आफैँ पनि बुझ्न सक्छन् ।  प्रतिक्रियावादीहरूको अन्तर्विरोधलाई राष्ट्रवादको आँखाबाट होइन, सर्वहारावादी  अन्तर्राष्ट्रवादको आँखाले हेर्नुपर्छ ।

            अहिले तपाईँहरू भारतविरुद्ध  जनविरोधीहरू र चिनियाँ शासकहरूजस्ता क्रान्तिको विध्वंश गर्ने बुर्जुवाहरूसमेत ‘सबैलाई’ एकीकृत गर्ने कुरा गर्दै हुनुहुन्छ । के यो त्यही पुरानो सिपिए ( बृहत् शान्ति सम्झैता) र राजसंस्थाका विरुद्ध भारतसहित ‘सबैलाई’ एकीकृत गर्ने बाबुरामको उपचरण जस्तो होइन र ? (बाबुरामको जस्तो उपचरणको रूपमा नभएर,  नयाँ जनवादी क्रान्तिको अंशका  रूपमा जनताको व्यापक जनप्रदर्शन गर्ने कुरा सही हुन्थ्यो ।) अहिले जे गरिँदैछ, के त्यो भन्दा यो सही छ ?  नयाँ जनवादी क्रान्तिको आधारभूत परिवर्तन र वर्गीय नयाँ संरचना र नयाँ जनवादी क्रान्ति भनेको के हो ? अनि मजदुर, किसान र क्रान्तिकारी बुद्धिजीवीका बारेमा के भन्नुहुन्छ ? धेरै  राष्ट्रवादीहरू र प्रजातान्त्रिक बुर्जुवा प्रजातन्त्रवादीहरू क्रान्तिमा सहभागी भए भन्ने कुरा प्रमुख होइन, मूल कुरा उनीहरू क्रान्तिको हिस्सा बन्नुपर्छ; त्यसमा पनि नयाँ जनवादी चरणमा ।  उनीहरूलाई सर्वहारा अन्तर्राष्ट्रियतावादी दृष्टिकोणले डोर्याउनुपर्दछ ।

             सात वर्षयता प्रभुत्वशाली रहेको राष्ट्रवादबाट क्रान्तिकारी छलाङ् हान्नु आवश्यक छ । निर्वाचनबाट नेपाललाई स्विटजरल्याण्ड बनाउने प्रचण्डको बाचा भारतसँग उही पुरानो आत्मसर्पणमा गएर टुङ्गियो । सात वर्ष अघिदेखि आरसिपिले संशोधनवादी लाइनको प्रतिवाद गर्दै लेखेको पत्र जसलाई, धेरै कमरेडहरूले खारेज गरे,  लाई बेवास्ता गर्नुको एउटा कारण राष्ट्रवाद नै होइन र ? यसमा पनि कमरेडहरूद्वारा कुन लाइनको वकालत गरिएको छ भन्दा पनि कसले गर्यो भन्नेमा बढी महत्त्व दिइयो ।

            नेपालमा जे भइरहेको छ, त्यो बृहत् विश्वप्रक्रियाको एउटा हिस्सा हो । मालेमावाद एकको दुईमा विभाजित भइरहन्छ र विज्ञान नयाँ चरणमा अगाडि बढ्छ । अन्र्तरारष्ट्रिय कम्युनिस्ट यस्ताहरू पनि छन्, जो आफूलाई तपाईँका सहकर्मी बताउँछन्,  तिनीहरू आरसिपि र अध्यक्ष अभाएकिएनको साम्यवादको नयाँ संश्लेषणमाथि आक्रमण गर्छन् । मेरो विचारमा वास्तवमा उनीहरू सहकर्मी होइनन् ।  तिनीहरूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा खुसी व्यक्त गरेका थिए, सिए (संविधान सभा) को चुनावमा भाग लिँदा उनीहरू खुसी थिए र अहिले पनि उनीहरू खुसी छन् । अब भन्नुस् के उनीहरू क्रान्तिका असल साथी हुन् ?

            मैले हालसालै यस्तै गलत साथीहरूमध्येका एकले लेखेको बक्तव्य पढेँ,  जसमा उनले ७ वर्षदेखि गलत लाइनप्रति खुसी मनाइरहेकोमा कुनै पश्चाताप गरेका छैनन् । नेपालका साथी भनाउँदा उनले आरसिपिले ७ वर्षदेखि माओवादीको लाइनको प्रतिवाद गरेकोमा ‘जडसूत्रवादी’ भन्दै भ्रत्सना गरेका छन् र नेपाली क्रान्तिले गलत बाटो लिएको कारणले पराजय भएको भन्न मिल्दैन भन्ने गर्दछन् । हामी दिल्ली जाने हवाइजहाजमा चढेका छौँ । जहाजमा दिल्लीसम्म जाने इन्धन भरिएको छ ।  उडानको योजना दिल्लीको छ ।  चालकले जहाज दिल्ली जाने जानकारी दिन्छ र जब जहाज उत्रिन्छ, तपाईँहरू आश्चर्यले दुबै हात झट्कारेर भन्नुहुन्छ–हे भगवान ! हामी कसरी दिल्ली पुग्यौँ ! अब कृपया मलाई भन्नोस् संशोधनवादी लाइनले विश्वमा कहाँ क्रान्तिको नेत्रृत्व गरेको छ ?

            अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्न चाहनेहरू अहिले तपाईँहरूको पार्टीले  नयाँ सङगठनको आधार जनयुद्ध हुनुपर्छ  भन्नेमा सहमति जनाइदेओस् अथवा  बोलिदेओस् भन्ने चाहन्छन् । यसको अर्थ अबको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सही राजनीतिक र वैचारिक लाइनलाई होइन, व्यावाहारिक प्राप्तिलाई प्रमुख  आधारको घोषणा गर्दछ । त्यसो गर्नाले पुनः त्यही समस्या दोहोरिन्छ,  जसले क्रान्तिलाई विनासतर्फ डोर्यायो– प्रथमतः लक्ष्यमा पुग्न चाहिने रणनीतिलाई अलग्याएर कसरी लक्ष्यमा पुग्न सकिन्छ । सन् २००५ मा के भयो भन्नेबारे ध्यान दिनुहोस् । राज्यशक्ति जस्तो अहम् प्रश्नलाई भट्टराईले  गलत दिशा दिइरहेको बेला  उनले सर्वहारा वर्गको अधिनायकत्वलाई र एसिया र चीनका अनुभवहरूलाई उल्टाएर त्यसका ठाउँमा बहुदलीय बुर्जुवा प्रजातन्त्रलाई सबल बनाउने वकालत गरिरहेका थिए, त्यतिखेर धेरै कमरेडहरूले आधारभूत वैचारिक प्रश्नलाई बेवास्ता गरेर  तात्कालिक विषयमा मात्र सङ्घर्षलाई केन्द्रित गरे । कमरेडहरूले जनयुद्ध लड्नुको मूल उदेश्यबाट ध्यान विकेन्द्रित गरे,जसको उद्देश्य पुरानो सत्ताको ध्वंस र नयाँ क्रान्तिकारी सत्ताको स्थापनाद्वारा विश्वक्रान्ति अघि बढाउनु थियो । विगत ३० वर्षदेखि साम्राज्यवादीहरूले विश्वव्यापी रूपमा सोभियत सङ्घ र चीनको स्थितिलाई लिएर साम्यवादले विनाश मात्र निम्त्याउँछ भनेर कुप्रचार गरिरहेका छन् । त्यसको जवाफ कसरी दिनुहुन्छ ? समाजवादी नेपालको अर्थतन्त्र कसरी  परिचालन गर्नुहुन्छ ? नयाँ क्रान्तिकारी सत्ताले दक्षिण–एसिया र बाँकी विश्वमा क्रान्तिसँग कस्तो सम्बन्ध राख्छ ? तपाईँहरू भारतसँग ‘राम्रो सम्बन्ध’ चाहनुहुन्छ कि भारतका शोषित–पीडितलाई सहयोग, जो त्यहाँको प्रतिक्रियावादी, विस्तारवादी सत्ता फ्याक्न चाहन्छन् ?

            नयाँ जनवादी क्रान्ति भनेको  सामाजिक क्रान्ति र राष्ट्रिय क्रान्तिको मेल हो—एउटाबिना अर्कोको प्राप्ति सम्भव छैन । आधारभूत रूपमा यो  कुनै असल व्यक्तिद्वारा सरकार चलाउने प्रश्न होइन ।  यो भिन्न राज्यसत्ता र भिन्न वर्गीय मोर्चा हो । यसको अर्थ पुरानो उत्पादन सम्बन्धलाई ध्वस्त पार्दै नयाँको स्थापना गर्दै जानु हो । अर्थात् यसको अर्थ प्रतिक्रियावादी विश्वमा विशिष्ठ स्थान प्राप्त गर्नु नभएर ग्रामिण वर्गसङ्घर्ष,  जातीय विभेदको अन्त्य गर्न र विश्वपरिवर्तन गर्न आमजनसमुदायको परिचालन हो । तपाईँहरूले लडेको क्रान्तिकारी युद्धलगायतका हामीले गरेको हरेक काम हाम्रो गन्तव्यको प्रस्ट दृष्टिकोणसित गाँसिनु पर्दछ ।

            नेपालको क्रान्तिलाई बर्बादबाट बचाउन चाहने कुनै पनि इमानदार व्यक्ति यताका सात वर्षदेखि   पार्टीमा बजिरहेको संशोधनवादी  घण्टीको आवाजबाट कसरी विमुख हुन सक्छ ? निरन्तर विपरीत दिशामा प्रवाहित भइरहेको दक्षिणपन्थी खाडलतिर गइरहेको पार्टी र अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनका बारेमा तपाईँ बढीभन्दा बढी चासो र ज्ञान राख्नुपर्ने आवश्यकताबाट कसरी विमुख रहन सक्नुहुन्छ  ? म तपाईंहरूलाई कमरेड बभ अभाकियनको न्यु सिन्थेसिस अध्ययन गर्न आग्रह गर्छु । उहाँले यी समस्याहरू, व्यवहारवाद, वस्तुपरकता, राष्ट्रवाद र सारसङ्ग्रहवादले तपाईँहरूको आफ्नै क्रान्ति र  अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई कसरी घाटा पुर्याएको छ भन्ने कुरामा प्रश्स्त प्रकाश पार्नु भएको छ । सर्वहारा क्रान्तिको विगतका अनुभवहरूबारेमा उहाँले निरन्तर प्रकाश पारिरहनु भएको छ र भविष्यमा यसलाई अझ कसरी राम्रो पार्न सकिन्छ भनेर प्रस्ट पार्नु भएको छ ।

            अन्तमा : २० वर्षअघि क्रान्तिकारीहरूले पेरूमा धक्का खाएपछि नेपाली क्रान्तिकारीहरू लक्ष्यमा पुग्छौँ भन्ने अठोटका साथ अघि बढेका थिए । आज विश्वव्यापी रूपमा नै कम्युनिस्ट आन्दोलन एकदमै नाजुक अवस्थामा  छ र त्यसैले कम्युनिस्ट आन्दोलनलाई विनाशबाट मुक्त गर्न र नयाँ उचाइमा पुर्यायउन थप साहसको आवश्यकता छ । तर नेपालमा वर्षोंदेखि हाबी भएको संशोधनवादी लाइनसँग  पूर्ण सम्बन्ध विच्छेद नगरी यो कार्य पूरा गर्न सकिँदैन— जस्तो माओले भन्नुभएको छ, राजनीतिक लाइन सही या गलत हुनुले नै सबै कुराको निर्णय गर्दछ ।

ááá

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.