नक्सलबाडी सङ्घर्ष अन्तर्राष्ट्रिय सङ्घर्ष पनि हो

mazum-chaThis is the translation of ‘One Year of Naxalbadi  Struggle’ by Comrade Charu Mazumdar.

(सन् ६० को दशकमा भारतमा चलेको नक्सलवाडी सशस्त्र किसान आन्दोलनको आयाम भारतीय सन्दर्भमा मात्र सीमित छैन, यो विश्वकम्युनिस्ट आन्दोलनसित गाँसिएको सन्दर्भ हो । यसले ५० वर्ष पूरा गर्दैछ । नक्सलवाडी आन्दोलनले एक वर्ष पूरा गरेको सन्दर्भमा यसका अगुवा नेता कमरेड चारु मजुमदारले लेख्नुभएको रचना ‘नक्सलवाडी सङ्घर्षको एक वर्ष’ यहाँ प्रस्तुत गरिएको छ l)

………………………………………………………………………………………………….

नक्सलबाडी सङ्घर्षको एक वर्ष

नक्सलबाडी किसान सङ्घर्ष आरम्भ भएको ठीक १ वर्ष भएको छ ।  यो सङ्घर्ष अन्य सबै किसान सङ्घर्षभन्दा फरक छ । कहाँ छ त भिन्नता ? किसानहरूले विभिन्न किसिमका अन्यायपूर्ण दमनका विरुद्ध सङ्घर्ष गरेका छन् । यो पहिलो चोटि हो, किसानहरूले आफ्ना केही मागहरूका लागि मात्र नभएर सिङ्गो राज्यसत्ता प्राप्तिका लागि सङ्घर्ष गरेका छन् । यदि हाम्रा लागि नक्सलबाडी  किसान सङ्घर्षको कुनै शिक्षा  छ भने, यो हो : जुझारु सङ्घर्ष जमिन, अन्नबाली आदिका लागि होइन, बरु सिङ्गो सत्ता प्राप्तिका लागि जारि राख्नुपर्छ । ठीक यही नै नक्सलबाडी सङ्घर्षले प्रदान गरेको विशिष्ट पक्ष हो । विभिन्न क्षेत्रका किसानहरूले आफूलाई यसरी तयार पार्नुपर्छ, जसबाट उनीहरूको क्षेत्रमा सरकारी राज्यसंयन्त्रलाई प्रभावहीन बनाउन सकियोस् ।  भारतीय किसान सङ्घर्षको इतिहासमा पहिलोपल्ट नक्सलबाडीमा यो बाटोलाई अवलम्बन गरिएको छ । अर्को शब्दमा क्रान्तिकारी युगले ढोका ढकढक्याएको छ र यो त्यस युगको पहिलो वर्ष हो । त्यसै अर्थमा विश्वभरिका क्रान्तिकारीहरूले हृदयदेखि नै नक्सलबाडी सङ्घर्षको स्वागत गरिरहेका छन् ।

भारत साम्राज्यवाद र संशोधनवादको आधारभूमिमा परिणत भएको छ, र अहिले प्रतिक्रियावादी शक्तिहरू यसलाई आधारभूमि मानेर मुक्तिका लागि लडिरहेका जनताका विरुद्ध काम गरिरहेका छन् । त्यसैले नक्सलबाडी सङ्घर्ष केवल राष्ट्रिय सङ्घर्ष मात्र नभएर, यो अन्तर्राष्ट्रिय सङ्घर्ष पनि हो । यो सङ्घर्ष कष्टकर छ र हामीले रोजेको बाटो सजिलो र सुविधाजनक बाटो होइन । क्रान्तिको बाटो कष्टकर छ, सुविधाजनक र सहज छैन, यसमा कठिनाइहरू, खतराहरू छन् र पछाडि फर्किनु पर्ने पनि हुन्छ । तर किसानहरू, जो नयाँ अन्तर्राष्ट्रियतावादबाट जाज्वल्यमान छन्, तिनीहरू यसको सामना गर्न तयार छन् र सम्झौता गर्न अस्वीकार गरेका छन् । उनीहरू आफ्नो सङ्घर्षको बाटोमा निरन्तर अघि बढिरहेका छन् ।

एक वर्षको हाम्रो अनुभवले के देखाउँछ भने एउटा सानो क्षेत्रको सन्देश भारतको हरेक कुनामा फैलिएको छ । मुलुकमा भएका सबैजसो राजनीतिक पार्टीहरूले नक्सवबाडी सङ्घर्षको विरोध गरेका छन्, र पनि मान्छेहरू यस सङ्घर्षलाई बुझ्न थालेका छन् र  सङ्घर्षले कोरेको बाटोमा नक्सलबाडी सङ्घर्षका वीर नेताहरू अझै जीवित छन् र सबै प्रयासका अतिरिक्त पनि प्रतिक्रियावादी सरकार तिनीहरूलाई समाप्त पार्न सक्षम हुनसकेको छैन । यसले अध्यक्ष माओका शब्दहरू कति सत्य रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ : “सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् । बाहिरबाट हेर्दा प्रतिक्रियावादीहरू भयङ्कर छन्, तर यथार्थमा तिनीहरू त्यस्तो शक्तिशाली छैनन् l”

अध्यक्षले (अध्यक्ष भनेर यहाँ कमरेड माओलाई भनिएको हो—अनुवादक) भन्नुभएको छ : “उपनिवेशवाद, साम्राज्यवाद  र शोषणका सबै व्यवस्थाको पूर्ण अन्त्य र विशवका सबै उत्पीडित जनता र राष्ट्रको पूर्ण मुक्ति त्यति टाढा छैन ।”

मुक्तिको त्यो चम्किलो प्रकाशपुञ्जलाई पछ्याउँदै अघि बढौँ !

लिबरेसन, जुन १९६८

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.