दशैँ र हाम्रा कामरेडहरू

Baral-latestऋषिराज बराल

एक हिसाबले अब दशैँ सकियो । द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्नेहरूले यस्ता चाडपर्वहरूलाई कसरी हेर्ने र बुझ्ने भन्ने बहस र छलफलहरू हिजोका दिनदेखि  नै  चलेका हुन् ।

पुर्वीय र पाश्चात्य समाजको चरित्र र मूल्यअनुसार चाडपर्वहरूको प्रकृति र मूल्य  फरकफरक भएपनि प्रत्येक समाज, जातजाति र समुदायसित चाडपर्वहरू अभिन्न रूपमा गाँसिएका छन् । चाडपर्वहरूको सान्दर्भिकता, आवश्यकता, औचित्य निरपेक्ष छैन, समाजशास्त्रीय र द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा मानव इतिहास र उत्पादन इतिहासको अध्ययन गर्नु जरुरी छ । 

चाडपर्वहरू समाज विकास र मानवजीवनको क्रिया–प्रतिक्रियाको  लामो सङ्घर्षका उपज हुन् । मान्छेले श्रम, सिर्जना र प्रकृतिसित गरेका सङ्घर्षहरूदेखि लिएर आफ्नो अस्तित्वका लागि गरेका हरेक सङ्घर्षहरू, त्यसमा पनि वर्गसङ्घर्षहरू र तीसित गाँसिएका घटना–परिणामहरू चाडपर्वसित गाँसिएका छन् । टोटेमवाददेखि मार्क्सवादसम्मको लामो इतिहासबाट चाडपर्वहरूको वैज्ञानिक अध्ययन र  विश्लेषण गर्दा यी निकै रोचक र विविधताले भरिपूर्ण अनुभूत हुन्छन् । जुनसुकै जातजाति वा धर्मावलम्बीहरू किन नहोऊन्, चाडपर्वहरूका प्रमुख तीनवटा स्रोतहरू रहेका छन्—१.प्रकृति,२. श्रम–सामूहिकता र  ३.राज्यसत्ता ।

राज्यसत्तासित गाँसिएका चाडपर्वहरू, समाज विकासका क्रममा भएका वर्गङ्घर्षहरू र पराजित र विजयी पक्षको मानसिकता, चाहना, स्वार्थ, अहम् र विजयोत्सव आदिसित गाँसिएका छन् । खास घटना–प्रसङ्गलाई लिएर गरिएको रमाइलो र विजयी वर्गको दम्भ प्रदर्शनको घटना क्रमिक रूपमा पछिपछि गएर सत्ताधारी वर्गको संस्कृति बनेर धार्मिक सारत्वत रूपान्तरित भई परम्परा, रीतिरिवाज, चालचलन, चाडपर्व र मेलाको रूपमा स्थापित भएका छन् । दास युग र सामन्ती युगको इतिहास र सत्ताचरित्रबाट मात्र पनि यो यथार्थ पुष्टि हुनआउ“छ ।

राज्यसत्तामा जुन वर्गको प्रभुत्व छ,त्यसै वर्गको सांस्कृतिक वर्चस्व रहने वैज्ञानिक नियम हुनाले नेपाली समाजको सांस्कृतिक स्थिति र चाडपर्वहरूमा पनि सत्ता र संस्कृतिसम्बन्धी नीति र नियम लागू हुन्छ । सामन्तवादको आरम्भसँगै सामन्ती संस्कृति र  चाडपर्वहरू स्थापित भए र तिनले स्थयित्व प्राप्त गर्दैगए । दशैँ, तिहार तीज, कृष्ण अष्टमीजस्ता चाडहरू मात्र होइन, रूख–झारपात समेतलाई धार्मिक आवरण ओढाइदिएर हिन्दू धर्म र संस्कृतिले गर्नु नगर्नु गरेको छ । अरू कुरा त परै जावोस् स्वास्थ्यसम्बन्धी जडीबुटीलाई समेत धार्मिक आवरणमा प्रस्तुत गरेर सामन्ती संस्कृतिले त्यसको महŒवलाई धार्मिक रूढिमा फेरिदिएको छ । अर्थात् कतिपय चाडपर्वहरू प्रकृति र श्रमसित जोडिएका भए पनि सामन्ती  राज्यसत्ताले सम्पूर्ण चाडपर्वहरूलाई धार्मिक आवरणमार्फत सामन्ती सत्ता स्वार्थमा रूपान्तरण गरेको छ ।

दशैंको मात्र कुरा गर्दा यसलाई नेपाली मात्रको एकमात्र ठूलो चाड भनेर स्थापित गरिए पनि बहु धर्मावलम्बी र बहु सांस्कृतिक समाजमा यो सम्पूर्ण नेपालीको चाड हुनसकेको छैन ।दशैंसित विभिन्न सन्दर्भहरू गाँसिएका छन् । यसलाई आर्य र अनार्यसितको सङ्घर्षसित जोड्न सकिन्छ ।  काली, देवी, चण्डी आदिको भूमिका भएकाले यसलाई  मातृसत्तात्मक अवस्थासित पनि जोड्न सकिन्छ । सामान्य रूपबाट हेर्दा दशैंको सम्बन्ध  विजयी वर्ग र समुदायको विजयोत्सवसित गाँसिएको सन्दर्भका रूपमा देखापर्छ ।  विडम्बना त के छ भने, योसित राम–रावण युद्ध र रामको विजयसित जोडेर, शुभ र अशुभ, सुन्दर र कुरूपको व्याख्या गरिएको छ ।  यो व्याख्यामा वैज्ञानिकताको मात्रा रत्तिभर पनि छैन । यो व्याख्यामा सामन्ती आदर्शलार्इ सुन्दर, शिव र सत्यसित जोडिएको छ । योसित जोडिएको उत्पादन इतिहासको घतलाग्दो तथ्य प्रकाशमा ल्याउन पनि यसको ऐतिहासिक भौतिकवादी व्याख्या गर्नु आवश्यक छ ।

दशैंलाई समाजशास्त्रीय तथा ऐतिहासिक उत्पादनइतिहासको कोणबाट व्याख्या गर्न सकिन्छ । तर यसमा पनि धार्मिक सारत्वत्त प्रधान बनाई सामन्ती सत्तालाई जनसत्ताको रूपमा स्थापित गर्ने आधार बनाइएको छ । यसमा रामराज्य र रामआदर्शको आवरणभित्र विज्ञानविरोधी सामन्ती चिन्तनलाई स्थापित गरिएको छ । लामो अवधि ओगटेको दशैं आजको युगमा समय र श्रमका दृष्टिले पनि व्यावहारिक र वैज्ञानिक छैन । जसरी पनि दशैं मान्नुपर्ने बाध्यताले आर्थिक समस्या, सामाजिक–आर्थिक आडम्बरको प्रदर्शन र समयको बर्बादीका कारण पनि आजको असाध्यै व्यस्त समयमा दशैं  उपयोगी र वैज्ञानिक छैन । अग्रजहरूबाट आर्शीवाद लिने र परिवारहरू भेटघाट गर्ने र रमाइलो गर्ने कुरालाई पनि आर्थिक पक्षले निर्धारित गर्छ । साथै आशीर्वाद कुनै पनि बेला लिन सकिन्छ । आर्शीवादका लागि दशैं नै पर्खनु आवश्यक छैन । जन्म दिन आशीर्वादका लागि सबैभन्दा उत्तम दिन हो । यहाँ आशीर्वाद प्रधान बनेको छैन, प्रधान पक्ष सामन्ती आदर्शको पालना र  धार्मिक परम्परा र चलनको निर्वाह बनेको छ ।

समयको बर्बादीका साथै जनतालाई मनोवैज्ञानिक त्रास र धार्मिक पाखण्डपनमा कैद गरी सदैव अन्धकारमा राख्ने यस्ता चाडपर्वहरूको विस्थापन गरी जनताको सङ्घर्षसित गाँसिएका चाडपर्वहरूको स्थापना गर्नु, पुरानोका ठाउँमा नयाँको विकल्प दिनु चुनौतीपूर्ण तर आवश्यक र ऐतिहासिक कार्य हो । जनसामान्यलाई भौतिक र आत्मिक मनोरञ्जन दिन जीवननेपयोगी, वैज्ञानिक र जनगाथासित सम्बद्ध चाडपर्वहरूलाई स्थापित गर्नु आजको आवश्यकता हो । यी चाडपर्वहरूसित धार्मिक र मनोवैज्ञानिक पक्ष पनि गा“सिएको छ । समयको क्रममा स्वःस्फूर्त र सचेतन दुवै प्रक्रियामार्फत यिनमा परिष्कृतता आएको पनि छ । तर धार्मिक पाखण्ड र सामन्ती आडम्बरमा आधारित चाडपर्वहरूको सुधार र परिमार्जन मात्र पर्याप्त छैन । यिनलाई क्रमिक रूपबाट विस्थापित गर्दै लैजानु आवश्यक हुन्छ । पुरानोको ध्वंस र नया“को निर्माणले मात्र नयाँ संस्कृतिको स्थापना र  स्थायित्वमा बल पुग्दछ । यस्ता शोषणमूलक सामन्ती संस्कृतिलाई पनि सामान्य, कम घातक, घातक र अति घातकमा विभाजन गरी विस्थापनको प्रक्रियालाई एकपछि अर्को गरे अभियान नै चलाएर अघि बढाउनु आवश्यक छ ।

सामन्ती सत्ताद्वारा संरक्षित संस्कृतिलाई विस्थापित गर्ने र नयाँ संस्कृतिलाई स्थापित गर्ने सन्दर्भमा चाडवाड र मेलापर्वसित सम्बद्ध केही विशिष्टताहरूमाथि ध्यान दिनु आवश्यक छ । क्षेत्रीय तथा जातजातिगत विशेषताहरू एकातिर छन् भने अर्कातिर केन्द्रीय राज्यसत्ता कब्जा गर्ने वर्गद्वारा लादिएर ‘राष्ट्रिय’ बनाइएका चाडपर्वहरू पनि हाम्रै समाजमा छन् । नयाँ संस्कृतिको प्रमुख लडाइं यही ‘राष्ट्रिय’ चाडपर्वलाई लाद्ने सामन्ती संस्कृतिसित छ र हुनुपर्दछ । चाडपर्व, आदि कुराहरू जातीय, क्षेत्रीय संवेदनशीलता र परिचयसित पनि गाँसिएका  हुन्छन् । यो पनि एउटा जटिल पक्ष हो । त्यसैले  पुरानोेको विस्थापन संगसंगै नयाँ   विकल्पको प्रस्तुति पनि उत्तिकै आवश्यक हुन्छ ।

ऐतिहासिक र वैचारिक दुवै दुष्टिले के कुरा सत्य हो भने जुन अनुपातमा राजनीतिक परिवर्तन हुन्छ, सोही अनुपातमा सांस्कृतिक परिवर्तन हुँदैन, यसले केही समय लिन्छ । तर त्यस दिशातिर हामी गर्यौं कि गरेनौं ? हाम्रो प्रयास कस्तो रह्यो भन्ने कुरा चाहीं प्रधान हो । सामन्त वर्ग  र दलाल पुंजीपति वर्गले त्यतातिर सोच्ने कुरा भएन, र संशोधनवादीहरूका लागि पनि यो चासो र आवश्यकताको विषय होइन । सोच्नुपर्ने क्रान्तिकारी माओवादीहरूले हो ।  इमानदारीपूर्वक भन्नुपर्दा यो पक्ष पनि त्यति उत्साहप्रद छैन । हाम्रा कामरेडहरू ठाडा चन्दनमा सजिएका हुन्छन् । हाम्रा कमरेडहरूको घरघरमा पाठपूजा र घण्टीहरू बिहानै बज्दछन् । मठमन्दिरको नजिक पुग्दा तिनीहरूको टाउको निहुरिन्छ र हात जोडिन्छ । सामन्ती धार्मिक अनुष्ठानमा हाम्रा उच्च तह र नेतुत्वमा रहेका महिला कमरेडहरू रङ्गीचङ्गी भएर नाचिरहेका हुन्छन् । हातमा वलि राजाको डोरो बाँधेर र कानमा जमरा सिउरेर हाम्रा वौद्धिक-सांस्कृतिक क्षेत्रका नेताहरू आमूल परिवर्तन र सांस्कृतिक रूपान्तरणको भाषण फलाक्छन् । सेतो लुगा भिरेर तेर दिनसम्म गरूड पुराण लगाउँछन् र बाहिर आएर त्यसैको धुवाँधार विरोध गर्छन् ।  दशैंमा हाम्रा साना–ठूला कमरेडहरू श्रीमतीलाई पछिपछि कुदाउंदै र बालबच्चा घिसार्दै  निधारभरि राता टीकामा असिनपसिन भएर कुदेको देख्न पाइन्छ । खाओवादीहरूको त कुरै छाडौँ, आफूलाई संसारकै एक नम्बर क्रान्तिकारी भन्नेहरूका फेसबुक लगायतका सञ्जालहरू “नेपालीहरूको महान चाड विजया दशमीको पावन अवसरमा हार्दिक शुभकामना” ले भरिएको पढ्न पाइन्छ । घरभित्र निधारभरि टीका र कानभरि जमरा सिउरिन्छन् र बाहिर आएर पुछपाछ गरेर फोटो खिच्छन् क्रान्तिकारी देखाउन । कतिपय त निधारभरिको टीका लगाएर फेसबुकमा राख्नुमा गौरव गर्छन् । यस्ता ‘कामरेडहरू’ स्वर्गको सपना देखाउने पाखण्डी धर्म गरूहरूभन्दा खतरनाक हुन् ।  हाम्रा कमरेडहरूमा, श्रम, सङ्घर्ष, सङगठित शक्ति, क्रान्तिकारी आदर्शभन्दा धर्मगुरू र बाबाहरूमा विश्वास बढ्नथालेको छ ।

एकातिर हामीले कम्युनिस्ट मेनिफेस्टो तयार भएदेखि यता वर्गसङ्घर्षद्वारा निर्माण गरेका र श्रम र चेतनासित विकसित भएर स्थापित भएका चाडपर्वहरू बिर्सिदै गएका छौं, तिनलाई औपचारिकतामा सीमित पारेका छौं, अर्कातिर रूग्ण र सामन्ती संस्कृतिलाई विस्थापित गर्नुको साटो त्यसैमा रमाउन थालेका छौं । हिजो हामीले महान् जनयुद्धका सन्दर्भमा निर्मित र जनसत्तासितै स्थापित हाम्रो बलिदानको इतिहाससित गाँसिएका चाडपर्वहरूलाई समेत आजभोलि बिर्सिसकेका छौं र सहरिया रमझममा रमाइरहेका छौं । हामी पुंजीवादी रमझममा मात्र होइन,  र सामन्ती संस्कृतिको प्रचारप्रसार, पुराण वाचन र सप्ताह आदिमा अतिथिका रूपमा र फूलमालासहित मुसुमुसु हाँस्तै मञ्चमा आसिन हुनमा गर्व गर्नथालेका छौं  । पुरानाको विस्थापनको स्थिति जटिल भए पनि यो एकदमै आवश्यक छ । श्रमचेतना, समतामूलक र वैज्ञानिक आधारसित जोडिएका चाडपर्वहरूको जनवादीकरण गर्नु र नयाँ चाडपर्वहरूको स्थापनाका आधारहरू निर्माण गर्दै जानु आजको आवश्यकता हो ।  यसका लागि वैचारिक र राजनीतिक सङ्घर्षलाई हरेक मोर्चामा तीव्र बनाउनु आवश्यक छ ।

 

नयाँ चाडपर्वहरूको स्थापना वर्गसङ्घर्षका बीचबाट हुन्छ । यसमा सचेतन प्रयासको भूमिकाले अहम् महत्व राख्दछ । राजतन्त्र ढल्यो । तर सामन्ती चिन्तन ढलेको छैन । वर्षौदेखि नेपाली समाजमा जरा गाडेर बसेको सामन्ती संस्कृति सितिमिति ढङ्गले ढल्नेवाला पनि छैन । त्यति मात्र नभएर सामन्ती—व्राम्हणवादी प्रवृत्ति विभिन्न पार्टीमा छ, पार्टीका नेताहरूमा छ, क्रान्तिकारी भनिएका तपाई—हामीभित्र छ । यसले लामो र दीर्घकालीन लडाइ“को बाटो खोज्दछ र रोज्दछ । यसलाई नयाँ  राज्यसत्ता निर्माणको अभियानसित जोडेर लानु पर्दछ । प्रश्न चाडपर्वको विस्थापन र स्थापनाको होइन, प्रश्न चिन्तनको हो । तपाई—हाम्रो मनमस्तिष्कमा रहेका  सामन्ती र रूग्ण चिन्तनविरुद्ध सङ्घर्ष गरेर नै हामी, हामीभित्रको सामन्ती—व्राम्हणवादी चिन्तन र संस्कृतिलाई परास्त गर्न सक्छौं । पहिले हामी आफैँभित्र र  हाम्रै घरपरिवारभित्र वैचारिक शुद्धीकरण आवश्यक छ । हामीले  आफैंभित्रको सामन्ती—व्राम्हणवादी संस्कृति नफालुन्जेलसम्म समाजमा रहेका गलत चाडपर्वहरूलाई विस्थापित र  निषेध गर्न र नयाँ र वैज्ञानिक चाडपर्व स्थापित गर्न सक्षम हुन सक्तैनौं । फेसबुकका विजया दसमी भन्ने र निधारभरि टीका र जमरा लाउने कामरेडले भोलि जनताका बीच गएर कसरी सामन्ती संस्कार र  संस्कृतिको विरोध गर्न सक्ला ! लडाइं भित्र र बाहिर दुवै मोर्चामा तीव्र बनाउनु आवश्यक छ ।

नेपाली समाजमा विद्यमान चाडपर्व, तिनको चरित्रको विशलेषण र विस्थापनको कुरा गर्दा तिनमा निहित जटिलता र  सम्बेदनशीलतामा पनि ध्यान दिनु आवश्यक छ । चाडपर्वहरूलाई वलपूर्वक विस्थापन गर्ने कार्यले नकारात्मक स्थिति पैदा हुन सक्ने भएकाले यसलाई वैचारिक चेतनाद्वारा मूलतः सांस्कृतिक रूपान्तरणको प्रक्रियासँगै  लैजानु पर्दछ र यो कार्य सबैभन्दा सचेत वर्ग, समुदाय, व्यक्ति र नेताहरूबाट आरम्भ हुनु पर्दछ ।  । लादिएको संस्कृति अर्थहीन हुन्छ, जनता आफैं संस्कृतिको निर्माण र स्थापनामा लाग्नु पर्दछ । यहाँ चित्तप्रसन्नताले पनि ठूलो अर्थ राख्दछ । यसमा सचेतन प्रयासको ठूलो भूमिका हुन्छ भन्ने कुरा पनि बिर्सिनु हुँदैन । सामन्ती सोचाइ र संस्कृतिलाई टेवा पुर्याउने चाडपर्वहरूको विस्थापन गर्ने भनेको पुंजीवादी संस्कृति र चाडपर्वहरूलाई ठीक ठहर्यएर व्यवहारमा लागू गर्ने होइन भन्ने कुरामा पनि हामी त्यत्तिकै सचेत हुनु आवश्यक छ । यताका दिनमा पाश्चत्य पुँजीवादी सांस्कृतिक विकृतिको विस्तार जसरी भइरहेको, यो कम खतरनाक छैन । सामन्ती संस्कृतिको विरोधमा  पाश्चात्य विकृत संस्कृति ठीक हो भनेर अभिमत दिन सकिँदैन र पाश्चात्य संस्कृतिको विरोध र “नेपाली संस्कृतिको जगेर्ना” का नाममा मोदी मार्काको हिन्दू फासिवाद र पाखण्डीपनलाई पनि सही मान्न सकिँदैन ।

यथार्थतः पुराना, विषाक्त र जनविरोधी चाडपर्वहरूको विस्थापन र नयाँ जनपक्षीय र वैज्ञानिक चाडपर्वहरूको स्थापनाको प्रयास आफैंमा वर्गसङ्घर्षको स्वरूप हो । यो समाजमा रहेका गलत प्रवृत्ति र सामन्ती संस्कृतिसित मात्र जुध्ने कुरा होइन, यो त  तपाईँ—हाम्रै दिलदिमागमा रहेका सामन्ती सोचाइ र पाखण्डी चिन्तन  र उपभोक्तावादका विरुद्ध लड्ने कुरा पनि हो । विडम्बनाको कुरा के भएको छ भने, गलत चिन्तन विरुद्ध आन्दोलनको अगुवाइ गर्नुपर्ने कमरेडहरू नै गलत सांस्कृतिक चिन्तन प्रवृत्तिलाई टेवा पुर्याउने कामकुराको प्रचार अभियन्ता बनिरहेका छन्  । यस्तो बेला थप जटिलता पैदा हुन्छ । त्यसैले भित्र–बाहिर सङ्घर्षलाई नचर्काइकन सर्वहारावादी मानवतावादमा आधारित नयाँ संस्कृति र नयाँ  चाडपर्वहरूको स्थापना सम्भव छैन । यसलाई राज्यसत्ता प्राप्तिको आन्दोलनसित जोडेर लैजानु पर्दछ  र निरन्तर क्रान्तिको मूल्यद्वारा निर्देशित भई अगाडि बढ्नु पर्दछ ।  चाडपर्व र तिनका बारेमा  बहस छलफल गर्दा यी सबै पाटा र पक्षलाई अगाडि राख्नु पर्दछ ।

०००

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.