तीन टिप्पणी : ऋषिराज बराल

१. डाबरमय बनेको महासङ्घ

हिजोका दिनहरूमा बाइबल बोकेर पादरीहरूले जनताको विरुद्धमा र साम्राज्यवादको पक्षमा काम गरेझैँ आजभोलि गैरसरकारी अन्तर्राष्ट्रिय संस्थाहरू, मल्टिनेसनल कम्पनीहरू र  सूचनासाम्राज्यवादी संयन्त्रहरू त्यही काम गरिरहेका छन् । त्यसमा पनि भारतकेन्द्रित बहुराष्ट्रिय कम्पनीहरूको काम सूचना–सञ्चार, स्वास्थ्य, सहयोग, शिक्षा आदिमार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि धावा बोल्नु र  विज्ञापनका नाममा माध्यमहरू कब्जा गर्नु रहेको छ । मैले यसबारे धेरै ठाउँ चर्चा गरिसकेको छु । खास गरेर स्वास्थ्य र दैनिक उपभोग गरिने वस्तुहरूको विज्ञापनमार्फत भारतीय राजनीति, अर्थतन्त्रको प्रभावविस्तार र सांस्कृतिक प्रदूषण फैलाउने काम तीव्र रूपमा भइरहेको छ र यसमा डाबर कम्पनी सबैभन्दा अघि छ भन्ने कुरा रियल जुस प्रकरण र कान्तिपुर को कागज प्रकरणलगायत थुप्रै सन्दर्भहरूबाट थाहा पाउन सकिन्छ ।

रियल जुस प्रकरणमा भारतका लागि नेपाली  राजदूतसमेत मुछिनुबाट यो कुरा प्रमाणित हुन्छ। राजस्व छलीका साथै डाबरले  जनताको स्वास्थप्रति के–कति खेलवाड गरेको रहेछ भन्ने कुरा सार्वजनिक भएपछि र जनताका आँखामा यसको जनघाती–राष्ट्रघाती चाल सार्वजनिक भएपछि यस कम्पनीले डाबरको ‘छवि’ सपार्न ‘समाजमा नाम चलेका’ सेलिब्रेटीहरू राजेश हमाल र कमरेड प्रचण्डकी प्रिय नायिका भनेर चर्चा पाएकी करिश्मा मानन्धरलाई  लाखौँ दिएर रियल जुसको विज्ञापनको मोडलका रूपमा निकै तामझामका साथ प्रस्तुत गर्यो। यसको चौतर्फी टीकाटिप्पणी र विरोध भयो । ‘महानायक’ ‘महानायिका’ भनिएकाहरू जनताका आँखामा घृणाका पात्र बने । माध्यमहरूले तीव्र टिप्पणी गरे ।  राष्ट्रियता र जनतन्त्रप्रति प्रतिबद्ध सांस्कृतिककर्मीहरूले पैसाका नाममा इमान बेच्नेहरूविरुद्ध आवाज उठाए । तर विडम्बवना, चुनु गुरुङ, कृष्ण सेन सहित १६० जना सांस्कृतिक सहिदरूको त्याग, बलिदान र आत्मोत्सर्गले भरिएको इतिहास बोकेको ‘अखिल नेपाल जनसांसकृतिक महासङ्घ’ अन्तर्गतको चलचित्रकर्मी सङ्घले  प्रगतिशील र देशभक्त जनताका नजरमा  खलनायक साबित भएका तिनै राजेश हमाल र करिश्मा मानन्धरलाई विशेष अथिति बनाएर उच्च सम्मान प्रकट गर्यो ।

‘शान्तिप्रक्रिया’ पछि एमालेबाट माओवादीमा पसेका माधव ढुङ्गेलको  चलाचित्रसम्बन्धी पुस्तकको प्रकाशन र सो कार्यक्रमको खर्चसमेत डाबरले व्यहोरेको भनिएको सो कार्यक्रमा सो पुस्तकको विमोचन कमरेड बाबुराम भट्टराईले गर्नुलाई संयोग मान्न सकिए पनि ‘जागै बस’  भनेर राष्ट्रियता र जनतन्त्रप्रति जनतामा चेतना जगाउने र क्रान्तिकारी धारका भनेर परिचित माइला लामाले समेत मच्चीमच्ची राजेश हमाल र करिश्मालाई महानायक र महानायिका भन्नु चाहिँ निकै गम्भीर विषय हो । सबैको ध्यान हाम्रा महानायकहरु सेन, शारदा र च्याङवा आदितिर जानु स्वाभाविक छ । कहाँ पुग्यौं हामी !  कति नराम्रो गरी फस्यौँ उपभोक्तवादमा । हाम्रा नेताहरू  कहिले  आध्यात्मवाद र भौतिकवादको फ्युजनको कुरा गर्छन कहिले गरुड पुराणका प्रमुख आथिति बन्छन्, कहिले भैंसी पूजामा सरिक हुन्छन् अनि कार्यकर्ताहरूचाँहि डाबरको तालमा नाच्न थाल्छन्,  यो अरू केही नभयर विसर्जजनवादको थालनी नै हो । घुस्यो, घुस्यो डाबर पेरिस डाँडामा घुस्यो । मजदुरमा घुस्यो र सबैभन्दा सचेत हुनुपर्ने सांस्कृतिक मोर्चामा पनि घुस्यो । लौ  उठौँ साथी हो, जुटौं यसका विरुद्ध ।

 

२.साझा प्रकाशनमा  चमत्कार

राजतन्त्रको अन्त्यपछि सबै क्षेत्रमा नयाँ विचार, नयाँ व्यवस्थापनका सन्दर्भहरू जोडदार रूपमा उठे र उठिरहेका छन् । पुरानो विचार र व्यवस्थापनलाई विस्थापन गर्दै  पुराना पात्रहरूका स्थानमा नयाँ विचार बोकेका पात्रहरू पठाउनुपर्दछ भन्ने आवाज र चिन्तन  आमजनमानस र सचेत समुदायबाट अहिले पनि जोडदार रूपमा उठिरहेको छ ।

साझा प्रकाशनको वार्षिक साधारण सभामा हामी सबैले जोडबल गरेर यस्तै प्रयास गर्यौँ। प्रगतिशील चेतना बोकेका कम्तीमा पनि दुई जना पात्र पठाउन हामी सफल भयौँ । साझा प्रकाशनको नीतिगत पक्ष, व्यवस्थापन र आर्थिक पक्षमा केही गर्लान् भन्ने आशा थियो । राजनीतिक सङ्क्रमणको स्थितिमा त्यतातिर खास गर्न नसकिए पनि साहित्यिक–बौद्धिक क्षेत्रसित गाँसिएको गरिमा पत्रिकालाई समयअनुकूल र फेरिएको परिस्थितिअनुसार नयाँ र राम्रो बनाएर लग्लान् भन्ने लागेको थियो ।  तर गरिमाले केही नयाँ दिन सकेन । बरु यो त उल्टो दिशामा पो हिँड्यो ।  यसको स्तर, पाठकीय आकर्षण र लोकप्रियता झन् पो  घट्तै गएको देखियो । माओवादी पार्टीसित सम्बद्ध स्रष्टाहरूलाई मात्र होइन, सामान्य प्रगतिशील चेतना बोकेका रचनालाई समेत निषेध गरिन थालियो । हुँदाहुँदा पञ्चायती कालमा दरवारको सेरोफेरोमा रहेका विवादास्पद र  नागरिकता काण्डमा मुछिएका मधुपर्कसमकालीन साहित्यमा छँदा साहित्यिक क्षेत्रमा निकै ‘नाम कमाएका ’ र संस्थालाई नै अप्ठेरोमा पारेको भनिएका पात्रलाई गरिमाको सम्पादकमा दुई वर्षको नियुक्ति दिइएछ । एसका लागि सक्षम र सक्रिय कर्मचारी  साझा प्रकाशनमा हुँदाहुँदै बाहिरबाट मान्छे लानु साझा प्रकाशनलाई थप डुबाउने  कार्य हो र जनयुद्ध र  जनआन्दोलनविरोधी मान्छे सम्पादकमा लानु लोकतन्त्र र गणतन्त्रको उपहास हो । अझ यस्तो पात्र नियुक्ति गर्न एक समयका माओवादी आन्दोलनविरोधी र अहिले माओवादी पार्टीका केन्द्रीय सल्लाहकार बनेका कमरेड नै सबैभन्दा सक्रिय थिए भन्ने सुन्दाचाहिँ व्यङ्गले हाँस्नुपर्ने स्थिति बनेको छ । कार्यकर्ताहरु प्रश्न गर्छन् हाम्रा यी कमरेड माओवादीका सल्लाहकर हुन् कि कांग्रेसका हँ ?

 

३.कमरेड ! के अब वर्ग हराएकै हो त ?

हामी मार्क्सवादी हौँ । खास जात, क्षेत्र, लिङ्गआदिका खास विशिष्ट पक्ष  रहे पनि यी सबै समस्याको हल वर्गीय मुक्तिको आन्दोलनबाट मात्र  हुन्छ र हल गर्न सकिन्छ भन्दछौँ र यो यथार्थ पनि हो । अवश्य पनि हो, उत्पीडित जातजाति, क्षेत्र र लिङ्गका केही विशिष्ट समस्याहरू हुन्छन्। मार्क्सवादले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा तिनको अध्ययन र विश्लेषण गरेर समस्याको हल गर्ने गर्दछ ।

मार्क्सवादको शक्तिशाली विचार र रूपान्तरणको क्रान्तिकारी माध्यमलाई ध्वस्त पार्न साम्राज्यवाद र उसको शून्यवादी दर्शनले नसकेपछि यसले जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनलाई मार्क्सवादबाट कटाउन मार्क्सवादको अनुहारजस्तै लाग्ने समाजशास्त्रवादलाई अघि सार्यो ।  यत्तिले मात्र नपुगी यसले भिन्नताको सिद्धान्तलाई अधि सार्यो | यसले जात, क्षेत्र लिङ्ग फरक चिज हुन्, यिनलाई मार्क्सवादले समाधान गर्न सक्तैन भनेर मार्क्सवादका विरुद्ध जातिवाद, क्षेत्रवाद, दलितवाद, बाहुनवाद र नारीवादजस्ता सरसरती हेर्दा उत्पीडित जातजाति, क्षेत्र र लिङ्को पक्षमा रहेजस्तो देखिने, तर सारमा उनीहरूकै विरुद्धको  चिन्तन अघि सार्यो  । त्यसपछि साम्राज्यवादले एनजिओ/आइएनजिओमार्फत यसलाई व्यवहारीकृत गर्यो । आजभोलि यसले समावेसी र सीमान्तकृत नागरिकका नाममा निकै भ्रम दिइरहेको छ ।

अहिले सूचनाभूमण्डलीकरणमार्फत साम्राज्यवादले मार्क्सवादका विरुद्ध जातिवाद, लिङ्गवाद र क्षेत्रीयतावादलाई उचालिरहेको छ । साम्राज्यवादले दलित समस्या मार्क्सवादले हल गर्दैन भन्दै अम्डेकरवादलाई उचालिरहेको छ । नेपालको सन्दर्भमा साम्राज्यवाद र विस्तारवादले लिङ्गवाद, जातिवाद र क्षेत्रीयतावादलाई उचालिरहेको छ । पहाडमा जनजातिवाद, तराईमा एकमधेस एकप्रदेशको विखण्डनकारी क्षेत्रीयतावादका वितण्डा यसैका उदाहरण हुन् ।

उत्पीडित जात, लिङ्ग र क्षेत्रका समस्याहरूको  हल आधारभुत सिद्धान्तभित्र रहेर गर्नुपर्दछ र गर्न सकिन्छ,  मार्क्सवादको विरुद्ध गएर होइन । तर उल्टो भएको छ । राजनीति र अन्य क्षेत्रमा त भएकै छ, सौन्दर्यशास्त्र जस्तो दार्शनिक र सौन्दर्यमूल्य प्रधान हुने स्थानमा समेत  मगरवादी,  किराँतवादी, नारीवादी र दलितवादी सौन्दर्यशास्त्र भन्दै वितण्डा मच्चाउने काम भएको छ. यो हाँसउठ्दो र दुख लाग्दो कुरा हो।  कोही माओवादी पार्टीको जिम्मेवार पदमा बसेर मार्क्सवादी सौन्दर्यशास्त्रविरुद्ध जातिवादी सौन्दर्यशास्त्रको वकालत गर्छ र कोहीचाहिँ माओवादी पार्टीको सांस्कृतिक मोर्चाको सेरोफेरोमा रहेर ‘मलाई मार्क्सवादप्रति होइन, नारीवादमा मात्र विश्वास छ” भनेर सार्वजनिक रूपमा भन्दै हिँड्छ भने यो भन्दा विडम्बनानाको विषय अरू के हुनसक्छ ? नबुझेर  वा अज्ञानताबस कसैले भन्न सक्छ । तर कसैले आफूलाई माओवादी पार्टीको  नेता तथा कार्यकता भन्छ र खुलेआम मालेमालाई चुनौती दिएर जातिवाद, क्षेत्रवाद र लिङ्गवादको पुर्पक्ष गर्छ भने एउटा क्रान्तिकारी मार्क्सवादीको काम यस्ता गलत चिन्तनको निर्मम भण्डाफोर गर्नु हो । तर सौन्दर्यशास्त्रको क्षेत्रमा अगुवा पात्रका रूपमा रहेका कमरेडहरूबाट नै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यस्ता  प्रवृत्तिलाई प्रोत्साहित गर्नै काम हुन थालेपछि चाहिँ साँच्चिकै प्रश्न उठाउनुपर्ने हुन्छ —कमरेडहरू ! के अब वर्गको युग समाप्त भएको हो । हामी सबै उत्तरआधुनिकतावादी रमझममा रमाउन थालेको हो ? अहँ यस्तो हुँदै होइन, सहि आर्टका मार्क्सवादीहरू मार्क्सवादी सौन्दर्यशास्त्रको विदृपीकरन्  विरुद्ध निरन्तर सङ्घर्षरत छन् |

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.