डा. बरालद्वारा बैद्य समूह परित्याग

Baral 3 - Copy(मोहन बैद्य ‘किरण’ को नेतृत्त्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी-माओवादीका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले मे दिवश २०१५ को सन्दर्भ पारेर आज बैशाख १७ गतेदेखि सो पार्टीको साधारण सदस्य पनि नरहेको कुरा सो सम्बन्धमा जारी प्रेस वक्तव्यमा उल्लेख गरेका छन् l आफ्नो २ पृष्ठ लामो सो वक्तव्यमा उनले बैद्य समूहसित पार्टीको सातौं महाधिवेशनदेखि नै फरक मत रहेको र पछिल्लो चरणसम्म आइपुग्दा पार्टी वैचारिक रूपबाट नवसारसंग्रहवाद र संगठनात्मक दृष्टिले विसर्जनवादमा फसेको र नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड समूहलाई क्रान्तिकारी शक्ति भन्दै पार्टीएकताका नाममा आत्मसपर्पण गर्न लागेको स्थितिमा त्यहाँ रहिरहनु भनेको एक किसिमले क्रन्तिप्रतिको धोका हुने हुनाले सो समूहसित सम्बन्ध विच्छेद गरेको कुरा उल्लेख गरेका छन् l डा. बरालको वक्तव्यको पूर्ण पाठ तल दिइएको छ l
—————————————————————————————————————–
विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा

 

सर्वप्रथम, मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी–माओवादीसित मैले आजका मितिदेखि सम्बन्ध विच्छेद गरेको कुरा सार्वजनिक गर्दछु ।

 
माओवादी आन्दोलनलाई गलत दिशा दिने बैठकका रूपमा प्रमाणित भएको चुनवाङ बैठकको निर्णयलाई आधार मानेर पार्टी ‘शान्तिप्रक्रिया’ आयो र यसको नेतृत्व तहले एकपछि अर्को गरेर शान्तिसम्झौताका नाममा महान् जनयुद्धका समग्र प्राप्तिहरू जनविरोधीहरू तथा प्रतिक्रियावादीहरूलाई सुम्पदै गयो । जनसेनाप्रतिको अति उपेक्षापूर्ण व्यवहार र विघटन यसको अन्तिम परिणति थियो । जनयुद्धका सम्पूर्ण उपलब्धिहरू गुमाउनु, क्रान्तिकारी कार्यदिशा पूर्णरूपमा परित्याग गर्नुका साथै साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका सामु आत्मसमर्पण गरेर मूल नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामले नेपाली क्रान्तिप्रति गद्दारी गरेपछि त्यहाँभित्र रहेका क्रान्तिकारीहरूले विद्रोह गर्नु आवश्यक थियो । यही नै मालमाले देखाएको वैज्ञानिक बाटो थियो ।

 
त्यसपछि हामीले कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा काठमाडौँमा राष्ट्रिय भेला गरी नयाँ पार्टी नेकपा–माओवादीको निर्माण गर्यौं । पार्टी निर्माणसँगै जुन किसिमको उत्साहको निर्माण हुनुपर्थ्यो, भेलापछि पार्टी क्रान्तिकारी आशावादका साथ जसरी जानुपर्थ्यो, त्यसो हुनसकेन । भेलापछि नै पार्टीमा दुई लाइन सङ्घर्षका सङ्केतहरू देखिनथाले । पार्टी चुनाव आयोगमा दर्ता गर्ने र सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर सरकारमा जाने कुराहरू बहस र छलफलका विषय बन्नथाले । वैचारिक तथा साङ्गठनिक क्षेत्रमा भेलाले खासै केही नयाँ गर्न नसकेको सन्दर्भमा पार्टीको सातौँ महाधिवेशनबाट सबै समस्याको हल गर्ने भनियो । तर विशिष्ट परिस्थितिका नाममा महाधिवेशनमा पनि कार्यदिशाका क्षेत्रमा गुणात्मक निष्कर्ष प्रदान गर्न नेतृत्वपङ्क्ति असफल रह्यो । महाधिवेशनमा प्रस्तुत दस्ताबेजप्रति चित्त नबुझेर मैले ४५ बुँदामा करिब १२ पृष्ठको फरक मत दर्ज गरेको थिएँ । खासगरेर सबैभन्दा बहसको विषय बनेको विषय नेपाली क्रान्तिको कार्यदिशालगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, आत्मनिर्णयको अधिकार तथा जातीय पहिचानजस्ता विषयमा मेरा फरक मत थिए ।

 
महाधिवेशनले समस्या समाधान गर्दै पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने अपेक्षाविपरीत झन् नयाँ किसिमले समस्याहरू देखापरे । मूलतः कार्यदिशाका सम्बन्धमा दुई लाइन सङघर्ष तीव्र बन्यो । पोखरा बैठकसम्म पुग्दा कार्यदिशासम्बन्धी बहसले नयाँ मोड लियो र दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार कार्यक्रमपछि बसेको बैठकले पार्टीको राष्ट्रिय भेला गर्ने र कार्यदिशालाई समृद्ध पार्ने निर्णय गर्यो । तर कमरेड विप्लवबाट फरक मतको दस्ताबेज प्रस्तुत गरिएपछि एकएक बहाना बनाएर बहसछलफल नगराउने मात्र होइन, विशेष महाधिवेशन गर्ने भन्ने नाममा भेलालाई स्थगित गरियो र विशेष महाधिवेशनलाई पनि अनिश्चित कालको विषय बनाइयो । यसबाट पार्टीको नेतृत्वपङ्क्ति भेला–सम्मेलन तथा विशेष महाधिवेशन गरेर वैचारिक समस्या हल गर्नेतिर भन्दा पनि जसरीतसरी समय बिताउने, फरक मतलाई दबाउने तथा पार्टी छाडेर जान बाध्य पार्ने योजनामा रहेको यथार्थ खुलेर आयो । त्यति मात्र नभएर पार्टीको नेतृत्वपङ्क्ति नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डसित एकता गरेर पार्टीलाई दक्षिणपन्थी विचलन र विसर्जनतर्फ प्रवृत्त गराउने वातारण बनाउन भित्रैदेखि लागेको रहेछ भन्ने कुरा पनि प्रस्ट भयो ।

 
यसैबीच कमरेड विप्लव र उहाँको समूहले नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गर्यो । त्यसपछि पार्टीलाई अघि बढाउन जुन किसिमको गम्भीरताको प्रदर्शन हुनुपर्थ्यो त्यसो भएन । उल्टै नेतृत्वपङ्क्तिले बाटाको काँढो हटेजसो गरी हाइसन्चो बोध गरेको व्यवहार देखायो ।

 
पार्टीमा पहिलेदेखि नै मेरा फरक मत थिए । त्यसमा पनि पछिल्लो समयमा कमरेड किरणले महाधिवेशनले अघि सारेको कार्यदिशा ‘जयुद्धको जगमा जनविद्रोह’ भन्दा पनि पछि हटेर ‘मूलतः विद्रोह’ भनेर दस्ताबेज प्रस्तुत गरेपछि त्यसप्रति मेरो विमति र विरोध रहनु स्वाभाविक थियो । मूलतः नेपाली क्रान्तिको कार्यदिशा, नेपाली समाजको संरचना र अन्तर्विरोधको स्वरूप, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गति र दिशा, जातीय पहिचान र आत्मनिर्णयको अधिकारका सम्बन्धमा देखिएको भ्रमपूर्ण चिन्तनका साथै फरक मत राख्नेहरूप्रति असहिंष्णुताको प्रदर्शन गर्दै जिम्बेवारीविहीन बनाउने प्रवृत्तिप्रति मेरो तीव्र मतभेद रह्यो । सङ्गठनात्मक क्षेत्रमा अस्तव्यस्तता, वैचारिक तहमा सारसङ्ग्रहवाद, अकर्मण्यता र अन्योल र नेतृत्वक्षमताको ह्रासले पार्टी विसर्जनको दिशामा जान लागेको बोध भइरहेको अवस्थामा जाली शब्द र भाषाखेलको तारतम्यमार्फत नवप्रतिक्रियावादी चरित्र बोकेको प्रचण्ड समूहसित जसरी पनि एकता गर्ने जुन परिपञ्च देखियो, यो इमानदार र क्रान्तिप्रति समर्पित कार्यकर्ताका लागि पीडा र आक्रोस उत्पन्न गर्ने विषय थियो ।

 
माथि उल्लेखित सन्दर्भहरूका विषयमा पार्टीमा आफूले बराबर प्रश्न उठाउँदा गम्भीरतापूर्वक नलिने मात्र होइन, प्रताडित गर्ने तथा अनेक नाम दिएर कारबाहीको डण्डा चलाएर बहसछलफल र वैचारिक सङ्घर्षबाट वञ्चित गराउने प्रायोजित वातावरण बनाउने काम नेतृत्वपङ्क्तिबाट भएपछि गलत कुरालाई सही भनेर आत्मसमर्पण गर्ने अथवा त्यससित सम्बन्ध विच्छेद गरेर मालेमाको पक्षमा दृढतासाथ उभिने भन्ने प्रश्न मेरा सामु उपस्थित हुनु स्वाभाविक थियो । यस्तो अवस्थामा गलत तत्वबाट सम्बन्ध विच्छेद गर्नु नै मार्क्सवादी बुझाइ हुन्छ भन्ने मान्यतालाई अगाडि राखेर नेकपा–माओवादीसित सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको हुँ ।

 
चौतर्फी रूपमा माओवादी आन्दोलनमाथि प्रहार भइरहेको अवस्थामा माओवादको झण्डाको रक्षार्थ त्यहीँ बसेर सङ्घर्ष गर्दैजानु उचित हुन्छ भन्ने लागे पनि थोरै समयको अनुभवले मात्र पनि मलाई यस किसिमको निर्णय गर्नुपर्ने स्थितिमा पुर्यायो । त्यहाँ बहस छलफलको कुनै अर्थ छैन भन्ने मेरो ठहर रह्यो । वास्तवमा नेकपा–माओवादीको नेतृत्वपङ्क्तिमा क्रान्तिसम्बन्धी न त कुनै भिजन छ, न त कुनै योजना नै, यो एक हिसाबले गोलचक्करमा घुमिरहेको छ । चिन्तनमा सारसङ्ग्रहवाद, व्यवहारमा अकर्मण्यतावाद र कामकारबाहीमा इच्छाशक्तिको अभाव भएको नेतृत्वपङ्क्तिबाट नेपाली क्रान्ति अघि बढ्छ भन्ने कुरामा आफूलाई विश्वास नभएपछि त्यहाँ रहिरहनु आवश्यकता र सान्दर्भिकता दुवै लागेन । सपना मरिसकेकाहरूबाट आँधी, हुरी र चट्टानका बीचमा फसेको आन्दोलनको डुङ्गा पार लाग्छ भन्ने विश्वास रत्तिभर पनि मलाई भएन । नेपाली क्रान्तिप्रति गद्दारी गरेको निष्कर्षसाथ प्रचण्ड समूहसित विद्रोह गरेको र प्रचण्ड समूह एकपछि अर्को गरेर निरन्तर रूपमा नाङ्गिदै गएको अवस्थामा अनेक ताल र चाल मिलाएर प्रचण्डलाई क्रान्तिकारी कित्ताकै ठान्दै जसरी “क्रान्तिकारीबीच पार्टी एकता” भनेर संयुक्त हस्ताक्षर गरियो, यो वैचारिक स्खलनको नाङ्गो उदाहरणका साथै आम कार्यकर्ता तथा उत्पीडित नेपाली जनताप्रतिको धोका पनि हो । माओवादको खोल ओढेर साम्राज्यवाद र विस्तारवादको सेवा गर्ने प्रचण्ड–बाबुराम समूहसित एकता गर्नु भनेको सारतः साम्राज्यवाद र विस्तारवादको सेवामा आफूलाई लगाउनु हो ।
मार्क्सवादका आधारभूत मान्यताबाट धेरै पर पुगेको प्रचण्ड समूहसित अब देशीविदेशी प्रतिक्रियावादलाई रिझाएर आफ्नो अस्तित्व जोगाउने उपायबाहेक अरू केही छैन । क्रान्तिको कुरा गर्ने, तर यसका लागि व्यवहारमा जान अलिकति पनि तत्परता नदेखाउने किरण समूहका सामु वैचारिक तथा साङ्गठनिक विसर्जन अथवा प्रचण्डसामु आत्मसमर्पणबाहेक अर्को विकल्प छैन । यस्तो सङ्गठनसित टाँसिइरहनु भनेको सारतः आफूले आफैँलाई ध्वस्त पार्नु मात्र हो । यसका साथै विप्लव समूहको क्रान्तिकारी उत्साहको सह्राहना गर्नसकिए पनि कार्यदिशाप्रति आफ्नो असहमति रहेको कुरा मैले पहिले नै प्रस्ट पारिसकेको हुँ ।

 
अन्त्यमा,
आफू मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर बौद्धिक–सांस्कृतिक क्षेत्रमा सक्रिय रहने र राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिका लागि वर्गसङ्घर्षको बाटोमा दृढताका साथ अघि बढेका शक्तिहरूप्रति कलम र विचारको माध्यमबाट सहयोग र समर्थन निरन्तर रहने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । साथै नेकपा–माओवादीभित्र रहेका क्रान्तिकारी साथीहरूलाई पनि अब त्यहाँ बसेर केही हुन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि म हार्दिक आह्वान गर्दछु ।

 
ऋषिराज बराल
केन्द्रीय सदस्य, नेकपा–माओवादी
बैसाख १७, २०७२

You can leave a response, or trackback from your own site.

One Response to “डा. बरालद्वारा बैद्य समूह परित्याग”

  1. Divash Sharma says:

    It is late but being late than never. However, again, you are half right. To be a revolutionary change agent, you need collective effort. Hence, please better either to join a revolutionary party or form a new one. Considering your background and line of thinking and action, better to think about joining hands with Biplav’s endeavor.

Leave a Reply

See real websites hosted and built by iPage customers.