ठालुवादका विरुद्ध

दि नेक्स्ट फ्रन्ट
red_fist(अघिल्लो अङ्कमा हामीले हामी चौथो वर्ष प्रवेशका सन्दर्भमा एउटा सानो टिप्पणी प्रस्तुत गरेका थियौँ । यसबाट छद्म संशोधनवादी क्याम्पमा निकै हल्लीखल्ली मच्चिएको टिप्पणीहरू आएका छन् । सामन्त र जमिनदारले आफ्नो मौजाका रैतीहरूमाथि हु्कुम चलाएझैँ पार्टीलाई पनि आफ्ना् सामन्ती हुकुमका चल्ने जमिनदारी ठान्नेहरूका निम्ति यस्ता टिप्पणीहरूले आतङ्कित तुल्याउनु स्वाभाविक छ । “नेपालीमा आउनु पर्यो” , “यसमा उठाएका कतिपय सन्दर्भहरू अमूर्त भए, प्रस्ट पार्नु पर्यो ” भनेर शुभचिन्तकहरूबाट प्रतिक्रियाहरू पनि आएका छन् । मित्रहरू ! झारपातपतिङ्गरलाई मलजल गर्ने र असली विरुवा फाँड्ने प्रवृत्तिलाई प्रोत्साहित गर्ने परिपाटी रहुन्जेल र छउन्जेल हामी सबै यथार्थ भन्छौँ र सबै लेख्छौँ/लेख्दै जानेछौँ । जसको जति ठूलो टाउको हुन्छ, त्यति नै ठूलो घन बजार्छौँ ।
हामी शान्त, शिष्ट र सौम्य किसिमले आन्तरिक तहमै वैचारिक सङ्घर्ष चलाएर जानुपर्छ भन्नेमा थियौँ । कसैलाई तरवार हातमा लिएर जथाभावी फाँड्दै हिँड्न छुट दिंदै जथाभावी भाँडभैलो मच्चाउन प्रोत्साहित गरिने, कसैलाई साँढे बनेर डुक्रदै हिड्न छुट हुने र कसैलाई बोल्यो कि डन्डा बर्साउने, सत्य बोल्न र लेखन पनि नपाउने सामन्ती चलन मान्य भएन । पार्टीलाई खास गुटको मौजामा परिणत गर्ने व्यवहार सह्य छैन । पार्टी कसैको जमिनदारी होइन र हामी कसैका रेती होइनौँ । लेख्छौँ हामी । सहयोद्धा साथीहरू अनिल शर्मा, भरत बम, लिम्बुवान इन्चार्ज मौसमले पनि आफ्नो धारणा व्यक्त गरिरहनु भएको छ र मैदानमा आउन ललकारेपछि अब चूपचाप बस्ने कुरै भएन ।
आवश्यकताअनुसार नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेख्छौँ । हामी के गर्दैछौँ र कता जाँदैछौँ भन्ने कुरा भाइचारा पार्टीहरू, हाम्रा शुभचिन्तक र सहयोगीहरू सबैलाई सही कुरा जानकारी दिन पनि केही कुरा अङ्ग्रेजीमा लेख्नुपर्ने भएको छ । महाधिवेशन र केसका निर्णयविरुद्ध विषबमन गर्दै हिँड्ने प्रवृत्तिलाई निरुत्साहित पार्न पनि केही लेख्नैपर्ने भएको छ । नेपाली क्रान्तिप्रति गद्धारी गरेर नवप्रतिक्रियावादको चरित्रका साथ आएको प्रचन्ड–बाबुराम गुटसित एकताका नाममा गरिएको होहल्लाका कारण चौतर्फी रूपमा उत्पन्न भएको भ्रम निवारण गर्न पनि केही लेख्नैपर्ने भएको छ ।
यसै क्रममा हामीलाई एउटा कविता प्राप्त भएको छ । इः मेलबाट प्राप्त यो कवितामा कविले नाम लेख्न बिर्सैजस्तो लाग्दछ । कविता विचार र कलाले माझिएको छ र समकालीन अन्तरसङ्घर्षको सुन्दर चित्र प्रस्तुत गर्दछ । हामीलाई कविबाट नाम र पाठकबाट प्रतिक्रिया प्राप्त हुनेछ भन्ने विश्वासका साथ यो कविता प्रस्तुत गरेका छौँ। )
तिम्रो आरोपपत्र अस्वीकार्य छ

सुन्दर बस्ती, बिहानको खोजीमा निस्केको लाम
स्पार्टाकसले रोपेको
झुपडीको रगतपसिनाको डल्लो
आफन्तपनको गन्ध सुँघ्दै
म पनि मिसिएँ, त्यसै लाममा सहर्ष
बिहानीको खोजीमा निस्केको लामसँगै ।
०००
चौबाटोमा एक दिन
थाहै नपाई छल गरेछ मुखियाले,
र झुपडीको पीडामाथि गिर खेलेछ/ र छिनेछ लाम ।
अलिकति मनको सत्य, अलिकति मनको संयोग
परेछौँ फेरि हामी एउटै लाममा
तर अलिकति विरासत, अलिकति थप आर्जन गरेर
तिमी भने विकारयुक्त भएछौ,
त्यसैले आज तिम्रो विकारयुक्त आरोपपत्र अस्वीकार्य छ ।
०००
तिमीभित्रै मेलबेमेलको भ्रूँण छ भने
निरपेक्षता विकार मात्र हो,
‘रातो’ निरङ्कुशतालाई ‘रातो’ भ्रमलाई
जनतन्त्र कसरी भनूँ, बस्ती रुँदा खै कसरी पो हाँसू ?
विकारलाई सकार म कसरी भनूँ ?
त्यसैले तिम्रो आरोपपत्र अस्वीकार्य छ ।
०००
ठालुको विरुद्ध तिमीले हात उठाउँदा
मैले रातो सलामी चढाएँ
तिमीले त दासभक्ति पो ठानेछौँ ।
तिमीले ठालुपन डकार्दा
मैले चूपचाप बस्नुपर्छ भने,
जीवनको निम्ति ठालुपन अस्वीकार्य छ ।
तिम्रो पतनशील आरोपपत्र नालायक छ ।
०००
बस्ती क्षतविक्षत भइरहेको बेला
तिमी नशामा बर्बराउँछौँ
र मसँग स्वामीभक्तिको माग गर्छौ भने,
हाम्रो बस्तीलाई, अलिकति मेरो पनि हकलाई
बिनासित्ती जिम्दारी ठानेर डुक्रन्छौ भने,
मेरो घाँटीमा छुरी धसेर
तिम्रो नालायकपन कसरी छोपिएला !
वधशालाभित्र सयपत्री कसरी फुल्ला
०००
भीमसेनको अपमानले चिरिएको छाती
जुगेडी र जुटपानीसँगै चस्किएको मुटु
पिस्कर, छिन्ताङ र भीमानमा फाटेको मन,
रोल्पा, रुकुम अनि रामेछापको
अमुक बस्तीका मेरै आफन्तजनहरूको रगतमा,
पराइसँगै/जल्लादसँगै हाँस्नुपर्छ भने
मलाई तिम्रो अपराधभोज अस्वीकार्य छ ।
अपराधीको बगाललाई राता–काला गोमनहरूलाई
तिमीले अँगालो हाल्दा कालो झन्डा उठाउनु अनुशासनभित्र पर्दैन भने
तिम्रो कुरूप कानुन मलाई अस्वीकार्य छ ।

You can leave a response, or trackback from your own site.

One Response to “ठालुवादका विरुद्ध”

  1. ajay sapkota says:

    माथिको कविता कमरेड अनिल शर्मा विरही को पहिलो कविता संग्रह ‘मनका खाडलहरु ‘मा सङ्कलित छ |मैले माथिको कवितालाई प्रतिरोध को कविता भन्न मन पराउंछु |सबैखाले अवसरवाद र संशोधनवाद विरुद्द यो कविता पाब्लो नेरुदाले कविता एक कारवाही भनेको जस्तै गतिलो कारवाही बन्नेछ |

Leave a Reply

See real websites hosted and built by iPage customers.