जनयुद्ध पराजित भएको छैन

Udaya-Chalaune-Dipakउदयबहादुर चलाउने ‘दिपक’

(उदयबहादुर चलाउने ‘दिपक’, गद्दारीपूर्ण किसिमले विघटित  ‘जनमुक्ति सेना नेपाल’ तेस्रो डिभिजनका भाइस- डिभिजन कमाण्डर हुनुहुन्छ l उहाँ जनमुक्ति सेनाको कुशल कमाण्डर मात्र नभएर विचारक तथा सक्रिय साहित्यिक सर्जक पनि हुनुहुन्छ l उहाँकै पार्टीभित्रका कतिपय नेताहरूमा ‘१२ बुँदे सहमति’ ‘शान्ति प्रक्रिया’ लगायत जनयुद्धकै सन्दर्भमा पनि अनेक भ्रम रहेको अवस्थामा उहाँले विगतको जनयुद्धका साथै माओवाद र माओवादी जनयुद्धको सान्दर्भिकता र सार्वभौम पक्ष्यमा व्यक्त गर्नुभएको विचार निकै महत्वपूर्ण छ l नेतृत्वमा रहेकाहरूले महान् जनयुद्धको गद्दारीपूर्ण किसिमले विशर्जन गरे पनि माओवादको पराजय भएको छैन, जनयुद्धको पराजय भएको छैन भन्ने उहाँको भनाइप्रति हामी पूर्ण सहमत छौं l महान् जनयुद्ध आरम्भको २२ औँ दिवशका सन्दर्भमा लेखिएको यो लेखले बहसमा रहेको माओवादी आन्दोलनबारे पाठकलाई सटिक खुराक प्रदान गर्ने विश्वासका साथ यहाँ प्रस्तुत गरेका छौं l )

फागुन १ गते, माओवादी ‘जनयुद्ध दिवस’ । नेपाली सर्वहारा आन्दोलनको इतिहासमा एक गौरवपूर्ण दिन । नेपालको जनपक्षीय राजनीतिमा एक अविस्मरणीय र ऐतिहासिक दिन । दस वर्षको युद्ध अवधि र दस वर्षकै शान्ति अवधि गुजारेर यही ०७२ फागुन एक गते त्यही दिनको सम्झनामा हामी एक्काईसौं जनयुद्ध दिवस मनाउन गइरहेका छौं । तर, यो घडीसम्म आइपुग्दा भने माओवादी जनयुद्ध सम्पूर्ण रुपले बिघटित भएको तितो यथार्थ हाम्रा सामु खडा छ । जनयुद्धको महाअभियान भौतिकरुपले त विघटन भयो नै राजनैतिक र वैचारिकरुपले समेत विकेन्द्रीत र स्खलित हुन पुगेको छ । यो समग्र परिणतिले एउटा बहस जबर्जस्त उठिरहेको छ कि : यो माओवादको पराजय हो या माओवादीहरूको ?

जनयुद्धको विघटन नेपाली राजनीतिको यस्तो एउटा परिघटना हो, जो मूलभूतरुपले माओवादी आन्दोलनसँग जोडिएको छ । तर, यसको अन्तरसम्बन्ध माओवादी आन्दोलनसँग मात्र भने छैन । सिंगो नेपाली राजनीतिसँग माओवादी आन्दोलन र माओवादी आन्दोलनसँग नेपाली राजनीतिको विशेष अन्तरसम्बन्ध छ । यो अर्थमा भन्ने हो भने माओवादी जनयुद्धको विघटन नेपाली जनपक्षीय राजनीतिको समेत एउटा चुनौती हो ।

माओवादी आन्दोलन बाहिरबाट जनयुद्धको विघटनलाई मार्क्सवाद–लेनिनवाद–माओवाद विशेषतः माओवादकै पराजयको रुपमा अथ्र्याउनु कुनै नौलो कुरा होइन । यसका पछाडि पुँजीवादको ठूलो वर्गीय स्वार्थ अन्तर्निहित छ । मार्क्सवादको तथाकथित मृत्यु उत्सवमा मात्र पुँजीवाद आफ्नो आयु लम्ब्याइरहेको छ । यसर्थ, उसले मालेमाको मृत्युका अनेकौ परिकल्पनाहरु अन्तर्गत अफवाहहरू फैलाइरहेको छ । नाटकहरु मञ्चन गरिरहेको छ । त्यतिमात्र होइन जहाँ–जहाँ क्रान्तिकारी आन्दोलनहरु चलिरहेका हुन्छन्, त्यसका विरुद्ध हरतरहले लागिपर्दै आइरहेको छ । नेपालको जनयुद्ध पनि यही पुँजीवादी कोपभाजनको समेत एउटा सिकार अवश्य हो, जसबारे थप चर्चा गरिने नै छ । तर, माओवादी आन्दोलनकै ठूलो हिस्सा समेत प्रकारान्तरले यही तर्कका पछि कुदिरहेको विडम्बनापूर्ण वर्तमानमा विषयको सुरुवात यहाँबाटै गरौं ।

जनयुद्धका पूर्व नेतृत्वकर्ता ‘महारथी’हरू प्रचण्ड–बाबुराम र किरण–बादल आ–आफ्नै मोहडामा फर्किएर आज महान् जनयुद्ध र माओवादको उपहास गरिरहेका छन् । उनीहरुमध्ये बाबुराम निकै टाढा पुगिसकेका छन् । उनका पछिल्ला अभिव्यक्तिहरू अनुसार जनयुद्ध र माओवाद त के मार्क्सवादबाटै उनले सन्यासको घोषणा गरिसकेका छन् । त्यसैगरी, बाबुरामकै हाराहारीमा पुगेर प्रचण्डले समेत ‘अब पनि जनयुद्धको कुरा गर्नु सहिदहरुको अपमान’ हो भन्दै माओवाद र जनयुद्धबाट अलग्गिएको घोषणा गरिसकेका छन् । अघिल्लो पंक्तिमा कुदिरहेका बाबुराम र प्रचण्डको भन्दा अलिकति धिमा र भिन्न शैलीमा तर, आफ्ना सम्पूर्ण दार्शनिक र राजनीतिक अश्त्रहरुसहित किरण–बादल पनि माओवाद र जनयुद्धमाथि भर्मामार खनिएका छन् । जनयुद्धको बाटो पुरानो भइसक्यो, दुस्मनले एक–एक थाहा पाइसक्यो । उनीहरूका अनुसार नेपालमा त के संसारका कुनै पनि मुलुकमा ‘जनयुद्ध’को उच्चारणसम्म सम्भव छैन । के साँच्चै जनयुद्धको रणनीति नकाम भइसकेको हो त ? यसबारे एउटा गम्भीर बहस अनिवार्य भइरहेको छ ।

जुन जनयुद्धले हाम्रा पूर्व महारथीहरुलाई नेपाली राजनीतिको आजको उचाइंमा उभ्याइदियो, उनीहरू नै जनयुद्धप्रति धारे हात लगाउदै निर्वस्त्र चौबाटोमा उभिएपछि बडो बिडम्बनापूर्ण स्थिति हाम्रा सामु आइलागेको छ । आजसम्मका समग्र घटना श्रृङ्खलाहररू र परिणामबाट देख्न र बुझ्न सकिन्छ कि जनयुद्धको महाअभियान अधुरो मात्रै रहेन, बरु निकै बेसहारा बनेको छ । अर्कोतिर, जनयुद्धको विघटनसँगै नेपाली समाजमा रहेको पूरातन रुढिग्रस्त चिन्तन संस्कृतिले पूनर्जीवन पाउनुको साथै दलाल संस्कृति झन् त्यसमाथि थप ऐजेरु बनेर पलाइरहेको छ र नेपाली समाजलाई चौफेरो लपेटिरहेको छ, जसको परिणाम सामाजिक विभेद र विखण्डन, गरीबी, महङ्गी, कालोबजारी, भ्रष्टाचार र शोषण आदि विकृतिहरु चरमचुलीमा पुगेका छन् । राष्ट्रिय स्वाधीनताको विषय निकै संवेदनशील स्थितिमा पुगेको छ ।

यो एक सङ्गीन अवस्थामा हामी एक्काइसौं जनयुद्ध दिवस मनाउन गइरहेका छौं । यतिबेला हामीले आफैप्रति इमान्दार भएर सच्चाइका साथ भन्न जरुरी छ– नेपाली जनयुद्धको यो पराजय के माओवादकै पराजय हो ? होइन यदि यो पराजय माओवादीको हो, त्यो पनि नेपालका माओवादीको र त्यसमा पनि अझ पूर्व नेतृत्वकर्ताहरूको हो भने एक पटक संसारभरिका श्रमजीवी, सर्वहारा र उत्पीडितहरुले सुन्नेगरी सच्चा माओवादीहररूले नेपालको भूमीबाट उद्घोष गर्न जरुरी छ— जनयुद्ध जिन्दावाद ! माओवाद जिन्दावाद !!

यसर्थ यो माओवादको पराजय होइन

१) बाबुराम–प्रचण्डहरुको गद्दारी र आत्मसमर्पण तथा किरण–बादलहरुको अकर्मण्यताले माओवाद र जनयुद्ध पराजित हुँदैन ।

बाह्र बुँदे सहमति नेपालको राजनीतिक इतिहासमा अर्को एक राष्ट्रिय आत्मसमर्पणको दस्तावेज हो भन्नेमा अब पनि द्विविधा रहनु चरम अज्ञानता, घोर आत्मघात या नाङ्गो दलाली मात्र हो । अतः बाह्र बुँदे सहमति नै त्यसप्रकारको विचलनकारी यात्रा भइसकेपछि ‘शान्ति प्रक्रिया’लाई ‘निर्दोष’ तुल्याउन खोज्नु ‘गधा पखालेर गाई बनाउनु’ जस्तै मुर्खता मात्र हो । यहाँ बुझ्नुपर्ने कुरा यो कि यसमा ‘बाबुराम–प्रचण्ड’ प्रस्टतापूर्वक सहभागी थिए । बाह्र बुँदेको अगावै कयौं लिखित र अलिखित सम्झौताहररूमा ल्याप्चे लगाइसकेको उनीहरु स्वयमले स्वीकार गरिसकेका पनि छन् । ‘शान्तिप्रक्रिया’ का नाउँमा आज जुन संसद्वाद (प्रतिक्रान्ति) नेपाली जनतामाथि पुनः थोपरिएको छ, त्यो उनीहरुको पूर्ण सहमतिअनुसार नै भएको हो । किनकि बाह्र बुँदेमा उल्लेखित राज्य व्यवस्था सम्बन्धी सहमति ‘निरंकुश राजतन्त्रको अन्त्य’ हो । न कि संसदीय व्यवस्थाको अन्त्य । अझ साँचो भन्ने हो भने त्यहाँ राजतन्त्रको समेत अन्त्य भनिएको छैन । यसमा बुर्जुवाहररूले आफ्नो अडान राख्नुलाई धोका या षडयन्त्र भनेर बाबुराम–प्रचण्डहरूलाई दोष मुक्त बनाउन खोज्नु बेकार कुरा हो । संसदवादी दलहरू संसदीय व्यवस्थाको रक्षामा लाग्नु उनीहरूको कर्तव्य हो । बरु, जुन संसदीय व्यवस्थाको अन्त्यका लागि भनेर जनयुद्धको उद्दघोष गरिएको थियो, त्यही जनयुद्धलाई विघटन भइसकेको (किनकि बाह्र बुँदे सहमति अगाडि शाही सत्ता या जनसत्ता मात्र थिए) संसदीय व्यवस्थाको पुनरुत्थानको हतियार बनाउनु पो प्रतिगमन, गद्दारी र धोका हो ।

अर्कोतिर, बाबुराम–प्रचण्डहरुले त्यागेको झण्डालाई उठाउने जिम्मेवारीमा पुगेको भनी दावा गर्ने किरण–बादलहरूले समेत माओवादी आन्दोलन र जनयुद्धको पूनर्गठन गर्नुको साटो त्यसलाई ‘निकै नै पुरानो’ भइसकेको र फेरि पनि त्यही बाटोबाट जाँदा ‘धराप’मा परिन्छ भन्ने तर्क पेश गरेर संसदवादकै वरीपरि फन्को मारिरहनु अर्को विडम्बना हो । के बाबुराम–प्रचण्डको यो गद्दारी र आत्मसमर्पण तथा किरण–बादलहरुको अकर्मण्यताले पैदा गरेको चुनौतीलाई जनयुद्धका रणनीतिहरु पराजित भएको, मालेमाकै पुनर्विचार गर्नुपर्ने भन्न मिल्छ ? बरु यो त भयङ्कर दक्षिणपन्थी विचलन र विल्कुल आत्मसमर्पणवादी यात्रा भन्नु न्यायोचित हुन्छ ।

२) आफूले हार्दैमा र नसक्दैमा कसैले सक्दैन र जितिदैन भन्नु मार्क्सवाद विरोधी कुरा हो ।

बाबुराम–प्रचण्ड र किरण–बादलहरू जनयुद्धलाई विजयको मञ्जिलमा पुर्याउन असफल भए । यो कुरा साँचो हो कि जनयुद्ध स्वयमको एक पछि अर्को विजय र त्यसको ‘प्रतिजवाफ’मा पुरानो सत्ताले सञ्चालन गरेको फौजी हमला दुबैको उच्चता निकै नै माथिल्लो तहमा विकसित हुँदैथियो । जनयुद्ध विजयी हुनु या पुरानो सत्ता विजयी बन्नु यो एक खतरनाक खेल बन्दैथियो । यसक्रममा दुबै पक्षले आफूलाई श्रेष्ठ साबित गर्नु सामान्य कुरा थिएन । नारायणहिटी हत्याकाण्ड जस्तो भीषण र कहाली लाग्दो परिघटना त्यसकै एउटा परिणाम थियो । हो, यो कुरा पनि साँचो हो कि लडाइँको एकपछि अर्को भीषणता र तीव्रतामा माओवादी केन्द्रीय योजना अन्तर्गतका केही लडाइँहरुमा जनमुक्ति सेनाले हार्न पुगेको थियो । जो युद्ध नियमका दृष्टिले स्वभाविक थिए । किनकि, संसारमा त्यस्तो कुनै युद्ध छैन, जहाँ शतप्रतिशत लडाइँहररू जितिएका होउन् । एकाध हारेका तिनै लडाइँहररूलाई सन्दर्भ दिएर आज समग्र जनयुद्ध पराजयको निष्कर्ष निकाल्नु कुनै पनि तरिकाले तर्कसम्मत मानिदैन । यसखाले निष्कर्षलाई स्वीकार गर्दै प्रचण्ड–बाबुरामहरुले जनयुद्धलाई ‘नसकिने बाटो’ भन्नु र किरण–बादलहरुले ‘पुरानो बाटो’ भन्नुमा कुनै तात्विक भिन्नता छैन ।

कुनै निश्चित परिस्थितिमा एउटा लडाइँले समग्र युद्ध पराजयको प्रतिनिधित्व गर्न त सक्छ तर, त्यो नै समग्र युद्ध पराजयको कारण भने कदापि हुन सक्दैन । जनयुद्धका अन्तिम मोर्चाहररूमा समेत जनमुक्ति सेनाले अधिकांश लडाइँहरू जित्दै गइरहेको थियो र केही एकाध लडाइँहररूमा हार्नु परेको थियो, त्यसले यो प्रमाणित गर्दछ कि जनयुद्धको त्यस्तो कुनै पराजित लडाइँ छैन, जसले समग्र युद्ध पराजयको प्रतिनिधित्व गरोस् । जस्तो कि नेपोलियनलाई ‘वाटर लू’ को लडाइँ भएको थियो । प्रचण्डले भन्ने गरेको ‘जुम्ला’ र ‘खारा’को पराजित लडाइँभन्दा पछाडि पनि जनमुक्ति सेनाले ठुल्ठुला लडाइँहररू जितेको थियो । अतः जनयुद्धका रणनीति र कार्यनीतिहररूलाई थप सुदृढ र विकसित गर्ने आवश्यकता र जिम्मेवारीमा रहेको नेतृत्वले आफुले घुँडा टेक्ने अनि आफूले नसके कसैले, कहिल्यै पनि सक्दैन भन्नु कुतर्क मात्र हो ।

३) युद्धमा जितहारको निर्णायक तत्व राजनीति हो ।

मार्क्सवादले हतियार–प्रविधिलाई महत्वपूर्ण तत्व त मान्दछ, तर निर्णायक कहिल्यै मान्दैन । निर्णायक तत्व राजनीति अर्थात् मानिसहरू हुन्छन् । लेनिनले ‘सर्वहारा वर्गले मार्क्सवादमा बैचारीक अस्त्र प्राप्त गर्छ भने मार्क्सवादले सर्वहारा वर्गमा भौतिक अस्त्र प्राप्त गर्छ’ भन्नु र माओले हाइड्रोजन बमलाई समेत ‘कागजी बाघ’को संज्ञा दिएको प्रसंगलाई यहीरूपमा बुझ्न सकिन्छ । नेपाली जनयुद्ध पनि हतियार–प्रविधिको न्यूनता या जनशक्तिको अभावले हारिएको युद्ध कदापि होइन ।

माओवादी जनयुद्धको निर्णायक हार युद्ध मैदानमा होइन कि मूलतः राजनीतिमा भएको छ । सिर्जनशीलताको नाममा एकपछि अर्को गर्दै जनयुद्धको कार्यदिशाबाट भएको विचलन नै पराजयको प्रमुख कारण हो । लेनिनको भाषामा ‘प्रत्येक नयाँ परिस्थितिअनुसार आफ्नो आचरण निर्धारण गर्नु, वर्तमान घटनाहरु, साना–तिना राजनैतिक तिकडमहरु अनुसार आफूलाई ढाल्नु, सर्वहारा वर्गको मूल हित र संपूर्ण पुँजीवादी व्यवस्थाका आधारभूत लक्षणहररू, सम्पूर्ण पुँजीवादी विकासबारे बिर्सिदिनु, वास्तविक अथवा अनुमानित क्षणिक लाभको लागि यी मुलभूत हितहरुको बलिदान गर्नु– यही हो संशोधनवादी नीति ।’ (लेनिन, मार्क्सवाद र संशोधनवाद पेज २०) यथार्थ यो हो कि जनयुद्धका पछिल्ला वर्षहररूमा मालेमाको ठाउँमा संशोधनवाद लागू भयो ।

४) माओवाद विज्ञान हो । विज्ञानको पराजय होइन, विकास हुन्छ ।

माओवाद सामाजिक विज्ञानको विकसित संश्लेषण हो । यो मार्क्सवाद–लेनिनवादको विकास तथा मूलतः तेस्रो विश्वका मुलुकहररूमा सम्पन्न हुने सर्वहारा क्रान्ति (राष्ट्रिय मुक्ति र जनवादी आन्दोलनको एकत्व) को पथप्रदर्शन हो । त्यसक्रममा जनयुद्ध माओवादको एक आम कार्य अभिव्यक्ति बन्नगयो । चीनमा यसको प्रक्षेपण ‘गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्ध’को सिद्धान्तमार्फत गरियो । यसर्थ, माओवादलाई दीर्घकालिन जनयुद्धको सिद्धान्तको पर्यायवाचीका ररूपमा पनि बुझिन्छ । वास्तवमा दीर्घकालीन जनयुद्ध चीनको सन्दर्भमा मार्क्सवादको मौलिक प्रयोग र विकास थियो, जसको विशिष्ट पक्ष भनेको तेस्रो विश्वमा गरिने सर्वहारा क्रान्तिको मार्गदर्शन हो ।

यति हुँदाहुँदै पनि, चीनको तरिका सबै देशहररूमा हुबहु कार्यान्वयन गरिने कार्यबिधि भने होइन । तथापि, चीनमा प्रयोग भएको जनयुद्धका आधारभूत मान्यताहरुलाई भने अर्धसामन्ती र अर्धऔपनिवेशिक तथा तेस्रो विश्वका सबै देशहररूमा समानररूपमा लागू गर्नु माओवादप्रतिको सच्चा समर्पण हो । जस्तो कि संगठनका दृष्टिलेः बलियो पार्टी, बलियो सेना (जनमुक्ति सेना) र संयुक्त मोर्चाको गठन, युद्ध क्षेत्रका दृष्टिले : ग्रामीण प्रधान्यता र आधार इलाका/रणनीतिक इलाका (स्थायी या अस्थायी) निर्माण, फौजी रणनीतिका दृष्टिलेः युद्धमा जनशैली, घरेलु (निम्न) प्रविधि र छापामार युद्ध कलाको व्यापक प्रयोग, यी ती सबै देशहरुमा समानररूपमा लागू हुने र लागू गरिनुपर्ने तत्वहररू हुन् ।

यो कुरा हेक्का राख्नैपर्छ कि जनयुद्धको आम पक्ष र चीनीयाँ क्रान्तिको विशिष्टताबीच केही भिन्नता अवश्य छ । चीनमा जनयुद्धको प्रयोग चीनको सापेक्षतामा भयो, अरू देशमा त्यहाँकै सापेक्षतामा हुन्छ । दुनियाँलाई थाहा छ कि चिनियाँ क्रान्तिकै सेरोफेरोमा सम्पन्न भएको भियतनामको क्रान्ति, त्यसपछिको उत्तर कोरीया, क्युबा र कम्बोडियाका सफल क्रान्तिहररू तथा टर्की, इरान, फिलिपिन्स, इण्डोनेसिया , निकारागुवा, वर्मा, पेरू आदिका असफल क्रान्तिहररू र भारतमा जारी भाकपा (माओवादी)को नेतृत्वमा संचालित सशस्त्र आन्दोलन ती मूलतः माओवादी क्रान्तिहरू थिए र हुन् । जनयुद्धको सिद्धान्त अन्तर्गत फरक–फरक देशहररूमा गरिएका ती मालेमाका प्रयोगहररू हुन् । ती मूलतः माओवादका प्रयोग हुन् । तर, ती कोही पनि चिनियाँ क्रान्तिका हुबहु नक्कल थिएनन् र होइनन् ।

विज्ञानको प्रयोग आफैंमा विकास पनि हो । जब प्रत्येक सिद्धान्त व्यवहारमा कार्यान्वयन हुँदैजान्छ त्यसले निरन्तर परिष्कार पाउँदैजान्छ । तर, त्यसका लागि नयाँ सन्दर्भमा भएको परिस्थितिको विकासलाई भने आत्मसात गरिनैपर्छ । त्यो माओको संश्लेषणमा ‘अन्तरविरोधको विशिष्टता’ले पार्ने फरकपन हो । भौतिक विज्ञानमा नयाँ–नयाँ सिद्धान्तहरूको आविष्कारले यसखाले विशिष्टताको सम्बोधन गर्दछ । यो प्रक्रियालाई भौतिकशास्त्रका ज्ञाता स्टिफेन हकिन्सले ‘प्रत्येक नयाँ सिद्धान्त आफैंमा पुरानोको विस्तार हो’ भनेर अथ्र्याएका छन् । यो कुरा समाज विज्ञानमा पनि स्वभाविकरूपमा लागू हुन्छ । मालेमावादी विज्ञानको ‘विस्तार’ अर्थात् समृद्धि पनि निरन्तर अनिवार्य छ । प्रत्येक देशहररूमा गरिने क्रान्तिको मौलिक प्रयोग मालेमाको यही निरन्तर विस्तार हो ।

तर, सामाजिक प्रणालीमा आएको ऐतिहासिक फेरबदलले भने यो विकासलाई कुनैकुनै बेला गुणात्मक बनाइदिन्छ । त्यतिबेला क्रान्तिका आधारभूत तरिकाहरु (मोडल)मै परिवर्तन आउँछ । उदाहरणको लागि मार्क्स–एङ्गेल्सको परिकल्पनामा तत्कालीन युरोपका धेरै देशहरूमा एकसाथ सर्वहारा क्रान्ति सम्भव छ भन्ने थियो । लेनिनको पालासम्म आइपुग्दा त्यसमा आमूल परिवर्तन भइसकेको थियो । मार्क्स–एङ्गेल्सको धेरै देशमा एकसाथ गरिने क्रान्तिको मोडलको ठाउँमा लेनिनले एक देशमा क्रान्तिको नयाँ मोडल अघि सारे । त्यसलाई नै सहर केन्द्रित अल्पकालीन सशस्त्र विद्रोहको मोडल भनिन थाल्यो । मार्क्स–एङ्गेल्सका बेलाको पुँजीवाद जसको मूल चरित्र प्रतिस्पर्धात्मक र सामन्तवादको तुलनामा निकै क्रान्तिकारी थियो, त्यो लेनिनको पालासम्म आइपुग्दा प्रतिक्रान्तिकारी साम्राज्यवादी चरित्रमा फेरिइसकेको थियो । त्यसको ठाउँ समाजवादी क्रान्तिले लिइसकेको थियो, जसको नेतृत्व नवोदित सामाजिक वर्ग ‘मजदुर’ले गरेको थियो । माओको पालासम्म आइपुग्दा त्यो अझै फेरिएर ‘गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्ध’को अर्को मोडलका रूपमा विकसित भयो, जसलाई नयाँ जनवादी क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनको धाराकारूपमा संश्लेषिण गरियो । तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीको संश्लेषणमा चिनियाँ नव जनवादी क्रान्ति पुँजीवादी क्रान्ति नै हो । तर, त्यो राष्ट्रिय पुँजीवादी क्रान्ति थियो । त्यसको वर्गीय नेतृत्व पुरानो जनवादी आन्दोलनको जस्तो पुँजीपति वर्गले होइन, बरु किसान र मजदुर वर्गले गरेको थियो । त्यसको मार्गदर्शनमा कम्युनिस्ट पार्टी थियो र त्यसलाई समाजवादी क्रान्तिको पूर्व चरण पनि मानियो ।

यसर्थ, आजसम्मको ऐतिहासिक भौतिकवादको विकासले प्रमाणित गरेको तथ्य यो हो कि उत्पादनका साधनहररू (विज्ञान–प्रविधि)को नयाँ–नयाँ आविष्कारले क्रान्तिको विकासमा अनिवार्य मात्रात्मक परिवर्तन ल्याउँछ भने निश्चित सामाजिक प्रणालीमा हुने परिवर्तनले क्रान्तिको विकासमा अनिवार्य गुणात्मक परिवर्तन ल्याउँछ । यहाँ क्रान्तिको गुणात्मक परिवर्तन भन्नाले क्रान्तिका मोडलहररूमा हुने विकास हो भने क्रान्तिको मात्रात्मक परिवर्तन भन्नाले प्रत्येक देशको क्रान्तिका रणनीतिहरूमा गरिने विकास हो । नेपालको सन्दर्भमा जनयुद्धको सिद्धान्तमा विकासको अर्थ माओवाद र जनयुद्धका कार्यनीतिक सिद्धान्तहरूमा विकास हो । यसलाई अर्को अर्थमा नेपाली भूमिमा जनयुद्धका रणनीतिहररूको विकास र नयाँ संश्लेषण पनि भन्न सकिन्छ । यसर्थ, नेपाली क्रान्तिको आजको आवश्यकता जनयुद्ध पराजयको हतासापूर्ण संश्लेषणमा ‘उछिना–पाछिनी’ होइन, बरु नेपाली जनयुद्धका रणनीतिहररूको विकासमा सही निरूपण र वस्तुनिष्ट संश्लेषण हो ।

‘जनयुद्ध पराजय’को बाह्य कारण

भनिन्छ— “जहाँ पातलो त्यहीँ चुहिन्छ ।” माओवादी जनयुद्धको पूर्वनेतृत्व पातलो साबित भयो र उसबाट धेरै चुहियो । उसको दृष्टिकोण, इमान्दारी, तौरतरीका सबै पातलो अर्थात् कमजोर साबित भयो । यति पातलो कि सुनको जलप लगाएको माटोको भाँडो जस्तो ! परिणामतः माओवादी पूर्व नेतृत्वले जनयुद्धका लिखित र घोषित मान्यताहरुलाई बेइज्जतिपूर्वक चौबाटोमा छोडिदियो । उनीहरूको यही कमजोरी नै जनयुद्धका दुस्मननहरूका लागि अन्तरध्वंसको सजिलो बाटो भयो, जुन कुरा उनिहररूले खोजिरहेका थिए ।

नेपालको जनघाती तथा राष्ट्रघाती तत्व र त्यसका विदेशी पृष्ठपोषकहरू माओवादी जनयुद्धका विरुद्ध हरपल क्रियाशील थिए नै l त्यसका साथै नेपालको इतिहासमा उनीहरू धेरै लामो समयदेखि नेपालको सार्वभौमिकता, अखण्डता र नेपाली जनताको समृद्धिमाथि गिद्दे दृष्टि लगाउंदै आइरहेका थिए । यसमा उनीहरू जनयुद्धरुपी स्वतन्त्रता र समृद्धिको आन्दोलन कुनै पनि हालतमा सफल भएको देख्न चाहदैनथे । त्यसका लागि उनीहरू प्रथमतः दमनबाटै जनयुद्धको निस्तेज गर्न सकियोस् भन्ने चाहन्थे, जसको कार्यान्वयनस्वरूप उनीहरुले ‘किलो सेरा वन’, ‘किलो सेरा टु’, ‘जंगल सर्च’, ‘गोरखा वन’, गोरखा टु’ आदि फौजी अपरेसनहरू व्यापक संचालन गरे । त्यत्तिले नपुगेर विदेशी तालिम, विदेशी प्रविधि सबथोक प्रयोग गरियो । तर, त्यसबाट उनीहररूलाई चाहेजस्तो सफलता मिलेन, बरु त्यसले नकारात्मकरूपमा जनयुद्धलाई नै मद्दत गर्यो । तब उनीहरूले दोस्रो तरिका अंगाल्न सुरु गरे, त्यो थियो-घुसपैठ, अन्तरध्वंस र उपयोगको तरिका । जनयुद्ध संचालनको एउटा अनुभवसम्म आइपुग्दा उनीहरूले माओवादी नेतृत्वका कमजोरीहरू र जनयुद्धका चुनौतीहररू धेरथोर बुझ्न सफल भइसकेका पनि थिए । त्यसका लागि उनीहरूले सबैभन्दा पहिला नीतिगत घुसपैठ र त्यसमार्फत अन्तरध्वंसको तरिका अंगाले । ‘संविधानसभा’ र ‘लोकतान्तिक गणतन्त्र’ तथा ‘एक्काईसौं शताब्दीको जनवाद’ आदि एजेण्डाहररू त्यसकै प्रयोगहरू थिए । किनकि, जनयुद्ध न संविधानसभाको लागि भएको थियो न त लोकतान्त्रिक गणतन्त्रका लागि नै । अन्ततः परिणाम यो भयो कि संविधानसभा र लोकतान्त्रिक गणतन्त्रले जनयुद्धलाई नै निषेध गरिदियो । जनयुद्धका लागि संविधानसभा र लोकतान्त्रिक गणतन्त्र हुनुपर्नेमा त्यसको उल्टो संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि नै जनयुद्ध बन्नगयो ।

त्यसका साथै राजसंस्थाका विरुद्ध माओवादी र संसदवादी दलहररू , संसदवादी दल र माओवादीका विरुद्ध राजसंस्था, माओवादीका विरुद्ध राजसंस्था र संसदवादी दलहरूको प्रयोगको रणनीति पनि सँगसँगै सुरु भयो । माओवादी पार्टी, राजसंस्था र संसदीय दलहरू सबैका लागि कतिबेला कुन शक्तिसँग कार्यगत एकता गर्ने भन्ने स्वतन्त्रता अवश्य थियो । तर, त्यसको निर्धारण राष्ट्रिय सार्भभौमिकताको रक्षा, जनअधिकारको बहाली र सर्वहारा वर्गको लक्ष्यलाई केन्द्रमा राखेर मात्र हुनसक्थ्यो । आज ‘शान्ति प्रक्रिया’ को समग्र परिणामले यो बताइरहेको छ कि जनता, राष्ट्र र सर्वहारा वर्गको नाममा उल्टो जनता, राष्ट्र र सर्वहारा वर्गमाथि नै घात भयो । त्यसमा सबैभन्दा धेरै माओवादी पार्टी चुक्यो । त्यसकै परिणामस्वरूप भएको ‘बाह्र बुँदे सहमति’ सर्वहारा वर्गीय उद्देश्य र जनअधिकारको तिलाञ्जली त थियो नै, इतिहासमै सबभन्दा भद्दा तरिकाले विदेशी हस्तक्षेपको निम्तो साबित भयो । जहिले पनि नेपालको अस्थिरतामा आफ्नो स्वार्थ रक्षा देख्ने विदेशी तत्व (विशेषतः भारत) र तिनका घरेलु दलालहरू यो प्रक्रियामा निकै क्रियाशील भएर लागेका थिए र छन् । जनयुद्धको अघिल्लो चरणमा गरिएको ‘दरवार हत्याकाण्ड’ र ‘शान्ति प्रक्रिया’मा गरिएको जनमुक्ति सेना (क्यान्टोनमेन्ट) र पहिलो संविधानसभाको विघटन यसकै सुनियोजित परिणामहरू मात्र हुन् । दोस्रो संविधानसभाको नौटङ्कीपूर्ण निर्वाचन र अहिलेको तराई–मधेस आन्दोलनको नाममा भइरहेको नाकाबन्दीको ‘कनेक्सन’ पनि यही ‘डिजाइन’को निरन्तरता अन्तर्गत रहेको सहज अनुमान गर्न सकिन्छ । यो कुरा सत्य हो कि एक न एक दिन अवश्य भइछाड्ने यो ‘डिजाईन’को अन्त्य नै नेपाली स्वाधीन राजनीतिक युगको सुरुवात हुनेवाला छ । त्यो नै नेपालको सार्वभौमिकता र नेपाली जनताको समृद्धिको आरम्भ ‘पल’ हुनेछ । यदि कसैले यो कुरा सम्भव छैन भन्ने तर्क गर्छ भने उसका लागि न स्वाधीनताको हक रहन्छ न अवसर नै प्राप्त हुनेवाला छ ।

निष्कर्ष स्वरूप

नेपाली जनयुद्धका सामु उपस्थित चुनौतीहरूमध्ये कतिपय व्यवहारिक खालका थिए र कतिपय सैद्धान्तिक किसिमका । यस अर्थमा माओवादी नेतृत्वले गरेका कतिपय कमजोरीहरू अचेतनकाका उपज थिए भने कयौं कमजोरीहरू सचेतनताका उपज थिए । जनयुद्धका व्व्यावहारिक चुनौतीहरूबाट अचेतनताका कम्जोरीहरू हुनजान्थे, जुन सच्याउन सकिने स्तरका हुन्छन् । र त जनयुद्धको प्रवाह रोकिएको थिएन । कयौं व्यवहारिक चुनौतीहररूका बाबजुद पनि जनयुद्धको अभियान एकपछि अर्को विजयका मञ्जिल चुम्दै अघि बढिरहेको थियो । जब आन्दोलनसामु सचेतन (नीतिगत तथा सैद्धान्तिक) कमजोरीहरु सुरु भए अर्थात् नेतृत्वले जानीबुझी आत्मसमर्पणको दस्ताबेजमा ल्याप्चे लगाएपछि प्राप्त परिणामहरू सुझबुझपूर्ण हुनु स्वाभाविक थियो । जब परिणामहरूले एकपछि अर्को दुश्परिणामको रूप लिँदै जानथाले त्यतिबेलासम्म नेतृत्व चारैतिर बाँधिइसकेको थियो । तब ऊ चाहेर पनि त्यो चक्रव्यूहबाट उम्किन सक्ने स्थिति थिएन।

पुरानो सत्ताको घेराबन्दी, दमनचक्र तथा विदेशी शक्तिकेन्द्रहरुको चलखेल आज मात्र होइन कि नेपाली जनताले विगत कयौं पटक गरेका आन्दोलनहरुबाट प्राप्त शिक्षा हो । नेपाली जनयुद्धका लागि समेत त्यो कुनै नौलो कुरा थिएन र पूर्वानुमान नगरिएको विषय पनि होइन । त्यति हुँदाहुँदै पनि त्यो दोहरियो । यो त कम्जोरी मात्र नभएर महाभूल बन्नगयो, अपराध बन्नगयो । अतः जनयुद्धको एक्काइसौं वार्षिकोत्सवका अवसरमा हामीले निष्कर्ष निकाल्नुपर्ने कुरा के हो भने नेपाली जनयुद्धको पराजय माओवादको पराजय होइन, यो न त जनयुद्धका रणनीतिहरूको नै पराजय हो । बरु, यो पराजय नेपाली माओवादीहरूको हो । अझ प्रस्टरूपमा भन्दा यो पराजय जनयुद्धका मुख्य नेतृत्वकर्ताहरूको हो । उनीहरको पराजय नेपाली जनता र माओवादी कार्यकर्ताको पराजय कदापि हुन सक्दैन ।

माओवाद अपराजेय छ । जनयुद्धका रणनीतिहरू महान् छन् । नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारका लागि युगौंदेखिका लडाइँहरू र नेपाली जनयुद्धका क्रममा आफूलाई बलिदानको कोटामा नाम लेखाउने सहिद तथा बेपत्ता योद्धाहरू स्वाधीनता र स्वतन्त्रताको हाम्रो अभियानमा सदा प्रेरणा र मार्गदर्शक हुन् । नेपाली आमाका ती वीर छोराछोरीहरु अमर छन् । घाइते योद्धाहरू सम्मानित छन् । जनता, माओवादी कार्यकर्ता र जनमुक्ति सेनाको तर्फबाट बगेको पसिना अनमोल छ । एक्काइसौं जनयुद्ध दिवसको महान् अवसरमा ती सबै जनमनप्रति हार्दिक सम्मान् प्रकट गर्दै सगर्व घोषणा  गर्छु :
माओवाद जिन्दावाद !
नयाँ जनवादी क्रान्ति जिन्दावाद !
महान् जनयुद्ध जिन्दावाद !
एक्काइसौं जनयुद्ध दिवस जिन्दावाद !

२०७२ माघ २०
(भाषा सम्पादनसहित nonstop.com बाट )

You can leave a response, or trackback from your own site.

One Response to “जनयुद्ध पराजित भएको छैन”

  1. prasantagole says:

    Deepak kamredko lekh Deepak kamredkai netaaharooka lagi chunouti ho.

Leave a Reply

See real websites hosted and built by iPage customers.