जनयुद्ध पदावलीदेखि त्रसित हुनेहरू

Baral NPडा. ऋषिराज बराल

अहिले विश्वमा दुई किसिमका हावा चलेका छन् : एउटा पुर्बेली हावा र अर्को पश्चिमी हावा । चिनियाँ कथनअनुसार कि त पूर्वको हावाले पश्चिमको हावालाई पराजित गर्छ, कि त पश्चिमको हावाले पूर्वको हावालाई पराजित गर्छ । मेरो विचारमा वर्तमान परिस्थितिको चरित्र हेर्दा पूर्वको हावाले पश्चिमको हावामाथि विजय प्राप्त गरिसकेको छ ।
माओ त्से–तुङ

माओले सन् १९५७ मा मास्कोमा भएको एउटा जमघटमा व्यक्त गरेको पूर्वी हावा र पश्चिमी हावाको सन्दर्भ त्यतिबेर निकै चर्चाको विषय भएको थियो । खासगरेर यो युवाहरूबीच निकै लोकप्रिय कथन बनेको थियो । १९६० को दशकमा फ्रान्सेली जागरणको समयमा आम युवाहरूमाझ मात्र नभएर पत्रकार, लेखक, बुद्धिजीवी सबैका लागि यो पक्षधरता जनाउने एक किसिमको थेगो नै बनेको थियो । माओले पुर्बी हावालाई साम्राज्यवाद र संशोधननवाद विरोधी क्रान्तिकारी हावा र पश्चिमी हावालाई साम्राज्यवाद र सशोधनवादपरस्त हावाका रूपमा प्रस्तुत गरेर पुर्बी हावाको विजय निश्चित मात्र होइन, यसको विजय नै भइसकेको भनेर क्रान्तिकारी आशावादको सञ्चार गराएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीमा यो पदावली संशोधनवादविरोधी अभियानमा निकै लोकप्रिय र चर्चित बनेको कुरा कार्यकर्ताहरूको प्रशिक्षणका लागि तयार पारेको सन् १९७६ को दस्ताबेज “टक्स् कन्सर्निङ ‘क्रिटिसाइजिङ तेङ एन्ड रिपल्सिङ राइट डेभिएसनिस्ट विन्ड’” बाट अवगत गर्न सकिन्छ । ‘पुर्बी हावा र पश्चिमी हावा’ को सन्दर्भ हाम्रा लागि पनि निकै सान्दर्भिक र समसामयिक छ ।
वास्तवमा अहिले विश्वमा क्रान्ति र प्रतिक्रान्तिबीच भीषण द्वन्द्व चलेको छ । साम्राज्यवादी मुलुकहरू आपसी द्वन्द्वमा फसेका छन् । इराकदेखि अफगानिस्तानसम्म भएका अमेरिकी आक्रमण र पछिल्ला सन्दर्भहरूले अमेरिकी साम्राज्यवाद हायलकायलको स्थितिमा छ । उसको नेटो शक्तिसमेत अपुग भएको छ र सहयोगका लागि चारैतिर हारगुहार गरिरहेको छ । हिजो विश्वमा प्रभृत्व कायम गर्न लागु गरेको ‘वार अन टेरर’ को उसको नीति पनि असफल भइसकेको छ र हिजो उसलाई सहयोग गर्नेहरू पनि एकएक बाहना बनाएर पछि हट्नथालेका छन् । ‘अरब स्प्रिङ’ को समयजस्तै एकपल्ट फेरि नयाँ किसिमको स्प्रिङको चर्चा हुनथालेको छ । हङ्कङ विद्यार्थी जागरण अर्थात् ‘अम्रेला आन्दोलन’ का सन्दर्भमा विवाद र बहसका थुप्रै सन्दर्भहरू रहे पनि यसले चिनियाँ सत्ताधारीहरूलाई पनि नयाँ किसिमले सोच्न बाध्य पारेको छ ।
यता “भारतीय सुरक्षाका लागि नक्सलवादीहरू सबैभन्दा खतरनाक” भन्दै भारतीय प्रतक्रियावादीहरूले सन् २००९ देखि चलाएको माओवादी विरुद्धको ‘अपरेसन ग्रिन हन्ट’ नामको हत्याअभियानलाई नरेन्द्र मोदीको सरकारले झन् तीव्र बनाएको छ । मोदी सरकारले सूचना भ्रमदेखि लिएर आतङ्कका सबै नीति र योजना लागु गरेको छ । नेताहरूको टाउकाको मोल तोकेको छ । यसका मूल नेता कमरेड गणपतिका बारेमा सूचना दिनेलाई अढाई करोड भारुको घोषणा गरेको छ । माओवादी छापामारहरूविरुद्ध वायु सेनाका ड्रन्सहरूसमेत प्रयोग गरिएको छ । भारतीय सत्ताधारीहरूले छापामार इलाकाहरू र मुक्त क्षेत्रमा नयाँ हतियारसहित थप सेना र विशेष कमान्डोहरू तैनाथ गरेका छन् । भर्खरै पनि माओवादीहरूलाई समाप्त पार्न एकैचोटि विभिन्न जिल्लामा कम्बिङ अपरेसन चलाइएको छ । वास्तवमा अहिले उसले ‘अपरेसनन ग्रिन हन्ट’ को तेस्रो फेजका रूपमा ‘एन्टी नक्सल’ नामको नयाँ दमन अभियानको थालनी गरेको छ । भाकपा (माओवादी) का प्रवक्ता अभयद्वारा २५ सेप्टेम्बरमा जारी प्रेस वक्तव्य “युनाइट, फाइट ब्याक एन्ड डिफिट अपरेसन ग्रिन हन्ट–थर्ड फेज अफ दि फासिस्ट मोदी गभर्नमेन्ट” ले धेरै कुरा बाहिर ल्याएको छ । यसमा मोदी सरकारले माओवादीहरूलाई समाप्त पार्न हातहतियारदेखि सैन्यप्रविधि सबैलाई नयाँ किसिमले व्यवस्थापन गरेको कुरा उल्लेख गरिएको छ । वास्तवमा मोदी सरकारले जसरी सजिलै यसलाई समाप्त पार्न सकिन्छ भन्ने सोचेको थियो, अहिले त्यो हैरान छ । सारा चुनौतीहरूको सामना गर्दै माओवादी जनयुद्धको आयाम विस्तार भइरहेको छ । हिजो एउटा कुनामा स्थान दिनु पनि आवश्यक नठान्ने भारतीय बिग हाउसका माध्यहरूका हेड लाइन बन्नेगरेका छन् अहिले माओवादी आन्दोलनका समाचारहरू ।
हालै भाकपा (माओवादी) ले घोषणा गरेको विशेष क्षेत्र ‘पश्चिम घाट’ अर्थात् कर्नाटका, केरला र तमिलनाडुको सीमाक्षेत्रअन्तर्गतका सहरी क्षेत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) स्थापनाको दशौँ वर्षगाँठका सन्दर्भमा टाँसिएका र टाँगिएका ठुल्ठुला पोस्टर र ब्यानरले भारतीय प्रतिक्रियावादी शासकवर्गलाई मात्र नभएर र उसका अमेरिकी तथा इजरायली मालिकलाई समेत हैरान पारेको छ । यसै सन्दर्भमा केरलाको स्थानीय भाषाको टेलिभिजनमा छामामार कमान्डरको कम्ब्याट ड्रेससहितको अन्तर्वार्ता आएपछि भारतीय प्रतिक्रियावाद झन् आतङ्कित भएको छ । यी सन्दर्भहरूले जतिसुकै दमन गरे पनि यस क्षेत्रमा अब माओवादी आन्दोलन रोकेर रोकिनेवाला छैन भन्ने यथार्थलाई पुष्टि गर्छ । यसले संसारभरिका क्रान्तिकारीहरूलाई हर्षित तुल्याउनु र प्रतिक्रियावादीहरूको मुख खुम्चिनु स्वाभाविक छ । हामी अर्थात् नेपालका क्रान्तिकारी बौद्धिक तथा सांंस्कृतिक कर्मीहरू भारतीय प्रतिक्रियावादी सरकारले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) माथि दमनका लागि चलाएको ‘अपरेसन ग्रिन हन्ट’ लगायतका आततायी गतिविधिको निन्दा तथा भत्र्सना गर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र जनयुद्ध लडिरहेका कमरेडहरूप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौँ । यही नै सर्वहारावादी अन्तर्राष्ट्रियतावादप्रतिको प्रतिबद्धता र आबद्धता हो ।
आज विश्वमा चलिरहेको माओवादी आन्दोलनलाई कसरी समर्थन गर्ने, खासगरेर जनयुद्ध चलिरहेका देशहरूमा भएका आन्दोलनलाई कसरी सहयोग र समर्थन गर्ने भन्ने विषयमा यसका समर्थक र शुभचिन्तकहरूका साथै भाइचारा पार्टीहरूबीच पनि व्यापक छलफल हुननु आवश्यक छ र यसमा जेजति प्रयासहरू भएका छन्, त्यो सह्राहनीय छ । त्यसैगरी विश्वका माओवादीहरू कसरी एउटै केन्द्रमा एकजुट हुने, कसरी साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्ने कुरामा पनि विश्वका माओवादीहरूबीच बहस–छलफल चलिरहेको छ । यसमा केही सकारात्मक प्रयासहरू पनि भएका छन् । यस सन्दर्भमाइन्टरन्यास्नल ‘कमिटी अफ टु दि पिपुल्स वार इन इन्डिया’ को आयोजनामा भारतीय कम्युनिस्ट पार्टी (माओवादीं) को दशौँ वर्षगाँठ पारेर इटालीमा भएको सभाले धरै अर्थ राख्दछ ।
इटालीमा भएको सो सभा सेप्टेम्बर २१देखि २३ सम्म चलेको दुईदिने कार्यक्रम थियो । यो सभाको उद्देश्य भारतमा चलिरहेको जनयुद्धको आवश्यकता र महत्वलाई विश्वव्यापी रूपमा प्रचारमा लैजानु, यसलाई हरतरहले सहयोग गर्नु र नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणका लागि वातावरण बनाउनु थियो र हो । आयोजक समितिले प्रेस वक्तव्य र प्रतिवेदनसहित समग्र कार्यक्रमको जानकारी दिएको छ । सो वक्तव्यअनुसार सो कार्यक्रममा सहभागी भएर मन्तव्य दिनेमा १२ ओटा पार्टी तथा सङ्गठनहरू थिए भने शुभकामना दिनेहरूमा १० ओटा पार्टी र सङ्गठनहरू थिए । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले पठाएको ऐतिहासिक सन्देशभारतमा चलिरहेको जनयुद्धको समर्थनमा भइरहेको मिलान सभालाई सन्देशबाट आरम्भ गरिएको कार्यक्रममा यसरी मन्तव्य दिनेहरूमा पहिलेरिभोलुस्ननरी इन्टरनेस्नलिस्ट मुभमेन्ट (रिम) मा संलग्न आरसिपि अमेरिका, माओवादी कम्युनिस्ट पार्टी (इरान) र नेकपा (माओवादी) बाहेक पहिले रिमसित सम्बद्ध पार्टीहरू र हाल माओवादी आन्दोलनसित गाँसिएका युरोप र अरब क्षेत्रका पार्टी र मोर्चाहरू लगायत नयाँ केन्द्र निर्माणमा सक्रिय रहेका माओवादी पार्टीहरूको सक्रिय सहयोग र सहभागिता थियो ।
यस कार्यमा दस वर्ष जनयुद्ध चलाएका नेपाली माओवादीहरूको सक्रिय भूमिका हुनु आवश्यक थियो तापनि स्थिति त्यति उत्साहजनक देखिँदैन । व्यक्तिगत रूपमा कसैले समर्थनमा सन्देश पठाए पनि आयोजकहरूको प्रतिवेदनअनुसार नेपालबाट माओवादी नाम जोडिएका कुनै पनि पार्टी सहभागी थिएन र शुमकामना सन्देश पनि पठाइएको थिएन । विश्वका माओवादी पार्टीहरू र साम्राज्यवाद विरोधी मोर्चाहरूले त्यत्रो सहयोग र सहभागिता जनाउँदा र नेपालबाट कुनै सन्देश नजाँदा प्रश्न उठ्नु÷उठाउनु स्वाभाविक थियो । यसलाई नेपालमा कुनै पनि माओवादी पार्टी रहेनछन् अथवा भारतमा चलिरहेको जनयुद्धप्रति नेपालका कुनै पनि पार्टीहरूमा सकारात्मक सोचाइ रहेनछ भनेर त्यस सभामा उपस्थितहरूले बुझ्नुलाई अन्यथा ठान्नु हुँदैन । मात्रिका यादव र मणि थापाको नेतृत्वमा रहेका समूहहरू पार्टी बनिनसकेका ‘टुक्राहरू’ हुन्, तिनले किन पठाएनन् भन्ने प्रश्न उठ्ने स्थिति छैन । भारतका माओवादी क्रान्तिकारीहरूलाई आतङ्ककारी भन्दै मेनका गान्धीलाई समवेदना सन्देश पठाउने प्रचण्ड–बाबुरामको गद्दार गुट उपस्थित भएन अथवा त्यसले सन्देश पठाएन भनेर सहभागीहरूबीच टीकाटिप्पणी हुने कुरा पनि भएन । त्यसैले जब नेपाल, माओवादी आन्दोलन र अन्तर्राष्ट्रिय सर्वहारावादको कुरा आउँछ, नेकपा–माओवादीप्रति सबैको ध्यान जानु स्वाभाविक हुन्छ । विश्वका सारा माओवादीहरू तथा माओवादी आन्दोलनका शुभचिन्तकहरू कुनै न कुनै किसिमले उपस्थित भएको सो सभामा नेपालमा माओवादीहरूबाट संस्थागत रूपमा सामान्य सन्देश पनि नपठाउनु साँच्चिकै प्रश्नको विषय हो । प्रश्नको विषय मात्र नभएर यो चिन्ता र चिन्तनको पनि विषय हो ।
यथार्थतः यो प्राविधिक समस्या नभएर विचारकै समस्या हो । यो भारतमा चलिरहेको माओवादी आन्दोलनको समर्थन र विरोध अथवा बेवास्ताको विषयमात्र नभएर माओवाद, माओवादी आन्दोलन, नयाँ जनवादी क्रान्ति र जनयुद्ध र सर्वहारावादी अन्तर्राष्ट्रियतावादप्रतिकै वितृष्णा अथवा अस्वीकार हो । सचेतताबस होस् अथवा केही, यसले प्रमाणित र प्रतिबिम्बन गर्ने सत्य भनेको यही नै हो । हामीले हाम्रो मुलुकको विशिष्टतामा कस्तो किसिमको कार्यदिशा अँगाल्ने भन्ने कुरालाई यहाँको विशिष्ट पक्ष मान्न सकिन्छ, तर वैचारिक तहमा माओवादी जनयुद्धप्रति नै वितृष्णा जनाउनु भनेको दक्षिणपन्थी विसर्जनवादी चिन्तनको उपज हो । यसअघि पनि जर्मनीको ह्यामबर्गमा भएको यस्तै सभालाई नेकपा–माओवादीले सहभागिता जनाउनु र सामान्य सन्देश पठाउनु पनि आवश्यक ठानेन । यसलाई लिएर पार्टीमा गम्भीर प्रश्नहरू उठेका थिए, पोखरा बैठमा परेको दबाबका कारणा नेतृत्व पङ्क्ति मन नलागीनलगी केही प्रस्ताव पारित गर्न बाध्य भएको थियो । सत्य कुरा के हो भने नेकपा–माओवादीभित्र मार्क्सवाद कि सुधारवाद, नयाँ जनवादी क्रान्ति कि भँडुवा विकासवाद ? नेपाली विशिष्टताको जनयुद्ध कि संसदीय चुनाव भन्ने विषयमा मूर्त रूपमा बहस आरम्भ भएपछि जनयुद्ध विरोधी एक थरी नेताहरूको दिमागबाट सैद्धान्तिक तथा वैचारिक तहबाटै माओवादी आन्दोलन, जनयुद्ध सर्वहारावादी अन्तर्राष्ट्रियतावादजस्ता पदावलीहरू गायब भएका छन् । यस्ता पदावलीहरू सुन्दा पनि आतङ्कित हुने र चिडचिडाहट उत्पन्न हुने स्थिति उनीहरूको छ । भारतीय माओवादी आन्दोलनप्रतिको बेवास्ता (वितृष्णा ?) यसैको परिणाम हो ।
सत्य के हो भने जुन पार्टीका ‘नेताहरू’ सामाजिक अन्तर्विरोधको हल द्वन्द्वात्मक भौतिकवादमा भन्दा मठमन्दिर धाउनु र माताहरूको शरणामा जानुमा देख्छन् र राष्ट्रियता र क्रान्तिप्रति प्रतिबद्ध कार्यकर्ताहरूलाई कारबाहीको डन्डाले आतङ्कित पार्छन्, जुन पार्टीका नेताहरू गद्दार घोषणा गरेको गुट र त्यसका नेताहरूसित चोचोमोचो मिलाउनमा आनन्दित हुन्छन् र भोजभतेर र जाँडपार्टीमा रमाउन थाल्छन्, त्यसपछि हुने भनेको यही नै हो । दिमागबाट क्रान्ति हटेपछि हुने नहुने सबै कुरा हुनथाल्छन् । जुन पार्टीको माथिल्लो तहमा क्रान्तिबाट थाकेकाहरूको बहुमत हुन्छ, जुन पार्टीका नेताहरू आफ्ले गरेको नेतृत्वप्रति नै विश्वस्त हुन नसकेर आफैँले गद्दार घोषणा गरेका प्रचण्ड मार्काका व्यक्तिलाई नेतृत्व सुम्पेर आफू कार्यकर्ता बन्नमा गौरव गर्ने वातावरणको खोजीमा लाग्छन् र जुन पार्टीका नेताहरू फासिवादी चिन्तन राख्ने मोदीलाई राष्ट्रवादी देख्छन्, त्यो पार्टी भारतमा चलिरहेको माओवादी आन्दोलनको पक्षमा भएको सभामा सहभागी भएन अथवा त्यसमा सन्देश पठाएन भनेर अचम्म मान्नुपर्ने कुरा छैन । यो त पक्षधरताको कुरा हो । यो माओले भनेझैँ पुर्बेली हावाको पक्षमा उभिने कि पश्चिमी हावाको पक्षमा उभिने भन्ने प्रश्न हो । पश्चिमको हावामा रमाउन थालेकाहरू, जनयुद्ध पदावलीदेखि नै तर्सिने र आतङ्कित हुनेहरू र भारतीय माओवादी कमरेडहरूलाई आतङ्ककारी भन्नेहरूलाई नेता मान्नेहरू भारतमा चलिरहेको माओवादी आन्दोलनको पक्षमा उभिने भन्ने कुरै भएन । यसलाई समयले कित्ता काट गरिसकेको यथार्थका रूपमा बुझ्नुपर्छ ।
यथार्थत: अहिले एकथरीहमा देखिएको छटपटाहट, असामान्य गतिविधि, स्वेच्छाचारी प्रवृत्ति र निरङ्कुशता क्रान्तिविरोधी चिन्तनको उपज र आतङ्कित मानसिकताको द्योतक हो । सारमा यो दक्षिणपन्थी विसर्जनवादको परिचायक हो । यस अर्थमा अब मोर्चा प्रस्ट भएको छ । तिनीहरू जति आतङ्कित हुँदैजान्छन्, त्यति खुल्दै जानेछन् र त्यति नै असमान्य व्यवहार गर्दैजानेछन् । भारतीय सर्वहारा वर्गले उठाएको त्यो बन्दुक सारतः र अन्ततः नेपाली जनताले उठाएको बन्दुक हो । मार्क्सवादले यसै भन्छ । भाकपा (माओवादी) को अगुवाइमा भारतीय जनताले लड्दैगरेको महान् युद्धप्रति ऐक्यद्धता तथा फासिवादी मोदी सरकारका विरुद्धमा व्यापक जनमत सिर्जना गर्नु हामी नेपाली माओवादीहरूको दायित्व हो । यही नै हामी क्रान्तिकारी हुनुको परिचायक हो ।
०००

You can leave a response, or trackback from your own site.

2 Responses to “जनयुद्ध पदावलीदेखि त्रसित हुनेहरू”

  1. Sheela says:

    भारतीय सर्वहारा वर्गले उठाएको त्यो बन्दुक सारतः र अन्ततः नेपाली जनताले उठाएको बन्दुक हो । जनताले लड्दैगरेको महान् युद्धप्रति ऐक्यद्धता तथा फासिवादी मोदी सरकारका विरुद्धमा व्यापक जनमत सिर्जना गर्नु हामी नेपाली माओवादीहरूको दायित्व हो ।

    • Roomba Lama says:

      आफ्नै मौलिक क्रान्तिको विकास गर्नु पारो बराल सर ना कि रसियन चाइनिज वा भारतीय क्रान्तिलाई समर्थन वा बिरोध समस्या समाधान होइन अरुको बिचारमा उतेजक भएर के वास्तविक नेपाली क्रान्ति सम्पन्न हुन्छ येस्ता धेरै महान मानब हरु थिए तपाइको क्रान्तिमा जो हिजो भारतीय बिस्तार बादी भन्दै गर्जन्ठे खोई त कहाँ छन् ति भातेहरु आज तपाई सत्ता र सक्ति बाहिर हुनु भएकै आधारमा यसो भन्दै हुनुहुन्छ सक्ति र पावरमा पुग्न साथ् तपाइको विचार एकै पटक सतह मा आउन बेर लाग्ने छैन भाकपाले राज्यसत्ता कब्जा गरे भने नि तपैलई के लाग्छ भा क पाले नेपालको हित मा काम गर्ने छ कोरा सपना नदेखाऊ सर

Leave a Reply

See real websites hosted and built by iPage customers.