‘जनयुद्ध कहिल्यै पुरानो हुन सक्तैन’

aadaesh(चुडामणि ओली ‘आदर्श’ दसबर्से जनयुद्धको महत्वपूर्ण आधारइलाका रोल्पा जिल्लाको युवा नेता हुनुहुन्छ । दसबर्से जनयुद्धमा सक्रिय सहभागी कमरेड ओली युद्धको समयमा राजनीतिक तथा फौजी दुवै छेत्रमा उत्तिकै सक्रिय हुनुभयो । क्रान्तिकारी जुझारु युवा नेताका रूपमा परिचित ओली हाल नेकपा -माओवादीको केन्द्रीय समिति सदस्य हुनुहुन्छ । केन्द्रीय समितिको बैठकमा काठमाडौं आउनुभएको बेला लोकप्रिय साप्ताहिक जनजिब्रोले उहाँसित गरेको कुराकानी पाठकहरूक लागि उपयोगी हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौं । यो अन्तर्वार्ताले नेकपा-माओवादीभित्र चलेको दुई लाइन शंघर्षको स्थिति बोध गर्न सघाउ पुग्ने विश्वास हामीले लिएका छौं ।)
——————————————————————————————————————-
तपाईं नेकपा–माओवादीको केन्द्रीय सदस्य र रोल्पाको चर्चित युवा नेता हुनुहुन्छ, वर्तमान माओवादी आन्दोलनको समीक्षा कसरी गर्नुहुन्छ ?
माओवादी आन्दोलनको समीक्षा गर्दा हामीले मुख्यतः २००६ सालदेखिको नेपाली कम्युनिस्ट आन्दोलनकै गर्नुपर्ने हुन्छ । मालेमावादलाई नेपालमा सही ढंगबाट आत्मसात् गर्न नसक्दा र व्यवहारमा लागु गर्न नसक्दा यसको लक्ष्य पूरा हुनसकेको छैन । मुख्यगरी ०५२ सालदेखि सुरु भएको जनयुद्ध विजयको सन्निकट पुग्दै गर्दा मुख्य नेतृत्वमा ठूलो विचलन आयो । जनयुद्धको महानताबाट मूल नेतृत्व विचलित मात्र भएन, उसले ठूलो गद्दारी गर्दा जनयुद्धका सारा उपलब्धि गुम्न पुग्यो । मुख्य नेतृत्वले देशीविदेशी प्रतिक्रियावादी वर्गसँग आत्मसमर्पण गरेपछि जनयुद्धले केही हदसम्म सेटब्याक खानपुग्यो ।
उसोभए माओवादी आन्दोलन रक्षात्मक अवस्थामा छ भन्न खोज्नुभएको हो ?
पक्कै पनि । हाम्रो जनयुद्धका मुख्य आधारहरू जनसेना रहेन, जनसत्ता विघटन भयो, जनअदालत खारेज गरियो, क्रान्तिकारी पार्टीलाई विसर्जन गरियो । वर्गसङ्घर्षलाई भुलियो । जनयुद्धबाट आएको ठूलो हिस्साले यी नहुने कार्यहरू गरेपछि यतिबेला माओवादी आन्दोलन रक्षात्मक चरणमा छ । तर हामी यसलाई तोडेर अघि बढ्न सक्छौं। त्यो हिम्मत र साहस हामीसँग छ ।
अनि पार्टी निर्माणको २ वर्षलाई तपाईं कसरी समीक्षा गर्नुहुन्छ नि ?
पहिलो कुरा त पार्टी स्थापित गर्न नै हामीलाई समस्या पर्यो । त्यो भनेको कार्यदिशा ठोस गरेर जान नसक्नु नै हो । जनता र कार्यकर्तासँग यो कुरा हामीले भन्नैपर्छ । सैद्धान्तिक र वैचारिक रूपले सम्बन्ध विच्छेद गरेर आएपनि कार्यदिशा ठोस गर्न नसक्नु हाम्रो कमजोरी हो । यसलाई स्पष्ट गरेर लैजानुपर्छ ।
• के कारणले पार्टी निर्माणको औचित्य पुष्टि गर्न नसकेको होला ? अहिले फेरि पार्टीमा दुई लाइन सङ्घर्ष चलिरहेको अवस्था छ । किन यस्तो हुनपुग्यो ?
पार्टीमा सधै दुई लाइन सङ्घर्ष चलिरहन्छ । त्यसमा हामी स्पष्ट रहनुपर्छ । दुई लाइन सङ्घर्षदेखि आत्तिनु हुँदैन र जनताले सही कार्यदिशा पाए भने मात्रै क्रान्ति हुन्छ भन्ने बुझ्नुपर्छ । पार्टीमा सही कार्यदिशालाई स्पष्ट गर्ने भन्नेमा छलफल चल्दैछ । सारसंग्रहजस्तो, दुईतिर फर्किएको कार्यदिशा बनाएर हामी गयौं भने हामीलाई क्रान्ति गर्न गाह्रो हुन्छ । राज्यसत्ता प्राप्त गर्न सकिंदैन । त्यसैले वर्गसङ्घर्षमा स्पष्ट भएको कार्यदिशा बनाएर जानुपर्छ ।
• जनयुद्ध कि जनविद्रोह भन्नेमा तपाईंहरूभित्र घनिभूत बहस भएको देखिन्छ । वास्तवमा के हुनुपर्छ नेपाली क्रान्तिको बाटो ?
त्यो त देशको विशेषताअनुसार हुन्छ । जनयुद्धबाट कि जनविद्रोहबाट जाने भन्नेमा हामीभित्र ठूलो बहस चलिरहेको कुरा सत्य हो । रूसमा भएको जस्तो जनविद्रोह नेपालको सन्दर्भमा हुन सक्दैन । फेरि चीनमा अंगालिएको जनयुद्ध पनि नेपालमा हुबहु लागु हुन सक्दैन । हामीले मुख्यत: नेपालको हकमा जनयुद्धको बाटो समाउनु पर्ने हुन्छ । किनकि नेपाल अहिले पनि कृषिप्रधान देश हो । अहिले पनि नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो । यहाँको सामन्तवादी उत्पादन सम्वन्ध र दलाल पुँजीवादी उपरिसंरचनाले नेपालको परिवर्तन र समृद्धिलाई रोक्ने काम गरिरहेको छ । यस्तो बेला यो संरचनालाई भत्काउन लमो सङ्घर्ष अपनाइने बाटो मुलतः जनयुद्ध नै हो । जनविद्रोहले नेपालको विशेषतालाई पकड्न सक्दैन । त्यो विकसित देशहरूमा अंगालिने बाटो हो । फेरि हाम्रो अहिेले पार्टीको आन्तरिक अवस्था कमजोर बन्दैजानु, हामीसँग जनयुद्धका कुनै पनि आधारहरू नभइरहेको बेला जनयुद्ध नै नेपाली क्रान्तिको स्पष्ट बाटो बन्नपुगेको छ । यसबारे कोही पनि भ्रममा पर्न जरुरी छैन ।
• फेरि जनयुद्धको पुरानो बाटो अपनाएर क्रान्ति गर्न सकिन्न भन्ने कुराहरू आएका छन् नि !
केही कुरा सत्य हुन्, तर सबै होइनन् । राजनीतिमा थकावट हुँदैन । सर्वहारा क्रान्तिमा त झन् कहिल्यै यस्तो हुनुहुँदैन । जनयुद्धबाट थाकेका, हार खाएका धेरै मान्छेहरूले जनयुद्धको बाटो पुरानो बाटो भन्ने गर्छन् । जनयुद्ध कहिल्यै पुरानो हुन सक्दैन । यो त संसारमा क्रान्तिकारीहरू बहुमतमा नआउदासम्म यो बाटो सधैं अनिवार्य बनिरहन्छ । अहिले नेपालमा जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वमा विचलन आएपछि धेरै माओवादी नेता र कार्यकर्ता समेत अन्योलमा परेका छन् । तर, हामीले क्रान्तिकारी बाटो क्लियर गरेर जाने बित्तिकै सारा चिज हल भएर जानेछ ।
• जारी केन्द्रीय समिति बैठकमा दुई लाइनबीच छलफल चलिरहँदा छलफलको सार के पाउनुभयो ?
धेरै कुरा आउन बाँकी छ । तर हिजोकै तरिकाले नै युद्ध लड्ने भन्दा पनि दीर्घकालीन जनयुद्धको स्पिरिटलाई समातेर त्यो बाटो पकड्नै पर्छ । यसो नगरेर विद्रोहको कुरा गर्न लाग्यौं भने असफल भइन्छ । विद्रोह नै नगर्ने भन्ने हुँदैन, तर अहिले नेपालमा त्यो अवस्था छैन । जारी बैठकमा धेरै कमरेडहरूले क्रान्तिकारी स्पिरिट अनुसार जनयुद्धको बाटोलाई छोड्नु हुँदैन भनेर राख्ने गर्नुभएको छ । क्रान्तिकारी दस्ताबेज निर्माण गरेर जानुपर्छ भन्नेमा सबै कमरेडहरूको राय रहेको छ ।
• आफ्नै पार्टी निर्माणको औचित्य पुष्टि गर्न बाँकी रहँदै गर्दा यस बीचमा प्रचण्डहरूसँग ‘कार्यगत एकता’को बाटोहुँदै पार्टी एकता गर्नेसम्मको चर्चा चलिरहेको छ नि, यसलाई कसरी लिनुभएको छ ?
बाहिर जसरी आएको छ, त्यो आधिकारिक रूपले आएको जस्तो लाग्दैन । केही नेताहरूसँग छलफल हुनसक्छ । पार्टी एकता त्यति सजिलो विषय होइन । लामो समयसम्म ती पार्टीहरूसँग कार्यगत एकता गरेर अभ्यास गर्दैगर्दा कार्यदिशा र विचारमा मिलन भेटियो भने कुनै समयमा पार्टी एकता हुनसक्ला । तर अहिले चलिरहेको एकताको बहस फोस्रो बहस मात्र हो । दसबर्से जनयुद्धका सारा उपलब्धि समाप्त पारेर प्रतिक्रियावादीहरूसँग मिल्न पुगेका प्रचण्ड–बाबुरामहरूसँग कार्यगत एकता हुँदै पार्टी एकतासम्मको कुरा गर्नु त्यो घोर अनैतिक र अक्षम्य गल्ती मात्र हुनेछ । वास्तवमा प्रचण्डलाई केन्द्रमा राखेर गरिने कार्यगत एकता पनि लचकताको पराकाष्ठा हो भन्ने मलाई लागेको छ । यहाँनेर प्रचण्डको मिसन सफल भएको छ । हाम्रा केही नेताहरूले त्यसैमा हैंसे गरिदिएका छन्, त्यो गलत हो ।
• जनयुद्धमा जाने कुरा अहिले हतार हुन्छ भनिन्छ नि ?
त्यो गलत कुरा हो । हामीले अहिल्यै, भोलि नै बन्दुक बोकेर हिंडिहाल्नु पर्छ भनेका छैनौं । त्यसका निम्ति लामो पहलकदमी, लामो तयारी गरेर मात्र अघि बढ्ने कुरा हुन्छ । पार्टीको आत्मगत स्थिति हेरेर जाने कुरा हुन्छ । स्थिति हेरी परिआएमा सुरु गर्दा हुन्छ । हतारको कुरा गर्ने हो भने ०५२ मा सुरु गरियो, त्यो बेला त झन् निकै कम मान्छेबाट सुरु गरिएको थियो । आज त देशभरिको कुरा गर्नुहुन्छ, धेरै नेता कार्यकर्ताहरू हामीसँग छन् । हिजो हामीले देशैभरिबाट जम्मा सयको हाराहारीको संख्याबाट जनयुद्ध सुरु गरेका हौँ, तर आज एउटै जिल्लाबाट हजार पन्ध्र सय मान्छे केन्द्रीत गर्न सक्छौं । अहिले जनयुद्धका लागि पनि स्थिति अनुकूल नै छ । त्यो गरेर देखाउने कुरा हो ।
• विगतको जनयुद्ध र त्यसले खाएको धक्काका कारण अब मान्छेहरू फेरि जनयुद्धमा कसरी सहभागी होलान् र भन्ने चर्चा पनि छ नि ?
केही हदसम्म मान्छेमा निराशा र अन्योलता छ, तर त्यसलाई चिरेर जान हामी माओवादीहरूले ठूलो त्याग र बलिदानको संस्कृति निर्माण गरेर जान सकियो भने हामीले हजारौं युवालाई जनयुद्धमा सहभागी गराउन सक्छौं । त्यो सक्ने हामीसँग विचार, राजनीति र कार्यक्रम पनि छ । ल मानिलिनुस्, पार्टीले भोलि सैद्धान्तिक रूपमा जनयुद्धको लाइन पास गर्ने वित्तिकै तुरुन्तै बन्दुक बोकी हाल्ने भन्ने हुन्छ र !
• केही मान्छेहरूले त्यस्तै कुरा गरिरहेका छन् नि ?
त्यो अरूले प्रचार गरेजस्तो होइन र यहाँ अहिले गलत प्रचार गरिएको छ । हिजोको जस्तो बन्दुक बोकेर जंगलमा हिड्ने जुन प्रचार छ, त्यो पनि भ्रामक प्रचार हो । माओले भनेका थिए नि, ‘तिमी तिम्रो तरिकाले लड्, हामी हाम्रै तरिकाले लड्छौं ।’ हो, हामीले पनि नेपालमा त्यसरी नै लड्ने हो । निश्चय पनि हिजोको जस्तो जनयुद्ध अब नेपालमा हुँदैन पनि । यो हामीले पटकपटक भन्ने गरिरहेका छौं । आज नेपाली जनताको चेतनास्तर, मुलुकमा आएको केही राजनीतिक परिवर्तन, यी सबै स्थितिले हामी हिजोको पाराबाट जनयुद्ध गर्दैनौं । यो चाहिं सत्य हो ।
तपाईं त रोल्पाबाट जनयुद्धमा खारिएर आउनु भएको पुरानो युवा नेता पनि हुनुहुन्छ, के अब फेरि रोल्पाली जनताहरू जनयुद्धमा सहभागी बन्लान् त ?
पक्कै पनि दशबर्से जनयुद्धमा रोल्पाले ठूलो योगदान र बलिदान गर्यो । जनयुद्धमा करिब एक हजार रोल्पाली सपुतहरू सहिद बने । कयौं घाइते भए, कयौं मान्छेहरू बेपत्ता बने । तर यहाँका जनताले जुन अनुपातमा बलिदान गरे, त्यो अनुरूपको फल पाउन सकेनन् । त्यसले केही हदसम्म जनतालाई निराशा बनायो । तर हामीले उनीहरूसँग प्रत्यक्ष भेटघाट र छलफलबाट के कुरा पाएका छौं भने आवश्यक परे फेरि पनि रोल्पाबाट हजारौं क्रान्तिकारी योद्धाहरू जन्माउन सकिन्छ भन्ने हामीलाई विश्वास छ । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारका समस्याले सिंगो मुलुकलाई जसरी पिरोलिरहेको छ, त्यो भन्दा कयौं गुणा रोल्पालाई पिरोलेको छ । भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक समस्याले जर्जर बनेको रोल्पाले अर्को क्रान्ति खोजेको छ । त्यो हामीले नेतृत्व गर्ने छौं ।
• रोल्पालगायत देशभरिबाट जनयुद्धमा योगदान गरेका सयौं योद्धाहरू आज विदेशमा पलायन हुन पुगेका छन्, ती युवाहरूलाई मुख्यतः रोल्पाली युवाहरूलाई अबको क्रान्तिमा आकर्षित गर्न नेकपा–माओवादीसँग के छ योजना ?
जनयुद्ध र क्रान्ति मात्र यस्तो चिज हो, जसले आम गरिब किसान, मजदुर, दलित, महिला, जनजातिलगायत थुप्रै पछि परेका योद्धाहरूलाई राज्यसत्ताको मालिक बनाउने ध्येय राख्दछ । महान् दसबर्से जनयुद्धमा त्यही भएको थियो । जनयुद्धले जनसेना जन्मायो । जनसत्ता निर्माण गर्यो, जनअदालत खडा गर्यो । हजारौ योद्धाहरू उत्पादन गर्यो । त्यो मूलतः क्रान्तिकारी सिद्धान्त, राजनीति, जनताका कार्यक्रमहरूले गर्दा भएको थियो । रोल्पालगायत देशभरिका कुनै पनि जनता माओवादी सिद्धान्त बुझेर जनयुद्धमा सरिक भएका थिएनन् । उनीहरू माओवादीको त्याग, तपस्या, बलिदान र क्रान्तिकारी संस्कारलाई व्यवहारमै देखेर सहभागी भएका थिए । अब हुने क्रान्तिमा पनि त्यही हो । जब हामी बहुसंख्यक गरिब किसान, मजदुर, पछि पारिएका दलित, महिला, जनजातिहरूका मुद्धाहरू अघि सार्छौ, त्यसपछि स्वत:स्फूर्त रूपमा जनता क्रान्तिमा गोलबन्द हुनेछन् । त्यही प्रक्रियासँगै आम रोल्पाली युवाहरू पनि जनयुद्धमा सहभागी हुनेछन् ।
• अहिले पार्टीमा दुईवटा दस्ताबेज पेश भएका छन् । ती दुबै प्रस्तावकहरूलाई के सल्लाह दिनुहुन्छ ?
सकेसम्म घनिभूत बहसबाट एउटा क्रान्तिकारी कार्यदिशा बनाएर ल्याउन सुझाव दिन्छौं । नेपालको सन्दर्भमा सही कार्यदिशा बनाएर जाने सोच्नुपर्छ । अर्को जसको कार्यदिशा सही छ, त्यसैले नेतृत्व गरेर जानुपर्छ । यो अहिलेसम्म चलिआएको प्रचलन हो । तर हाम्रो सन्दर्भमा नेताहरू रूपान्तरण भएर आएको स्थितिमा ती नेताहरूलाई सच्चिने मौका दिन सकिने छ । अनि क्रान्तिमा सम्मानित जिम्मेबारी दिएर अघि बढ्ने मौका पनि दिनु पर्नेछ । आग्रह र पुर्वाग्रह नपालेर के भन्नैपर्छ भने कार्यदिशा जसको भए पनि त्यो क्रान्तिकारी हुनुपर्छ, नेपाली क्रान्तिलाई सम्पन्न पार्ने खालको हुनुपर्छ ।
००

You can leave a response, or trackback from your own site.

One Response to “‘जनयुद्ध कहिल्यै पुरानो हुन सक्तैन’”

  1. Rebati upadhaya says:

    राम्रो अन्तर्वार्ता . केहि मान्छेलाई यसले पर्नु पिर पर्ला . पेरिस डाँडाका लागि ठिक पारेको कुम्लोकुटुरो कम नलाग्ने भयपछी रुवावासी चलेको बेला यो अन्तर्वार्ताले फेरी पिरलने भो

Leave a Reply

See real websites hosted and built by iPage customers.