जनयुद्धको दिशालाई आत्मसात गरौं

red_fistआज २०७१ साल फागुन १ गते । आजभन्दा २० वर्षअघि २०५२ साल फागुन १ गते नेपाल क्मुनिस्ट पार्टी ( माओवादी) को नेतृत्वमा नेपाली जनताले महान् विद्रोहको झन्डा उचालेका थिए । यसले विश्वका प्रक्रिक्रियावादीहरूलाई बेचैन गराएको थियो र विश्वसर्वहारा वर्गका लागि आशा र विश्वासको नयाँ युगारम्भ गरेको थियो ।

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं  भन्ने नाराका साथ महान् जनयुद्धको आरम्भ भएको थियो । महान् जनयुद्ध साँच्चिकै महान् थियो र यसले दस वर्षमै २१ औँ शताब्दीमा नेपाली भूमिमा जनताको नयाँ सत्ता सम्भव छ भन्ने कुरा प्रमाणित गरिदियो । तर चुनवाङ बैठकसँगै पार्टीभित्रका दक्षिणपन्थीहरू र भारतीय विस्तारवादको साँठगाँठमा विस्तारै जनयुद्धका प्राप्तिहरूलाई विसर्जनको दिशातिर लगियो र  अन्तिम रूपमा रहेको जनसेनाको पनि विसर्जन गरियो  । संशोधनवादीहरू, सबैखाले अवसरवादीहरूले जनयुद्ध विधिवत समाप्त गरी क्रान्ति सम्पन्न भएको घोषणा गरे पनि शोषित–उत्पीडित जनताको अगुवाइ गर्दै माओवादी क्रान्तिकारीहरू नयाँ किसिमले पुनर्गठित हुँदैछन् र क्रान्तिको झन्डालाई नयाँ उचाइ प्रदान गर्न नयाँ सङ्कल्पका साथ सङ्गठित भइरहेका छन् । यस घडीमा हामी जनयुद्धका सम्पूर्ण महान् सहिदहरूप्रति लाल सलाम भन्छौँ र घाइते, अपाङ्ग तथा बेपत्ता परिवारले चलाएको आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता जाहेर गर्दछौँ।

 
१७ वर्षअघि क्रान्तिप्रति प्रतिबद्धता जाहेर गर्दै ६ बुँदे प्रतिबद्धतामा भनिएको थियो :
हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राखने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ। यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन ।

 

यस्तो प्रतिबद्धता जाहेर गरे पनि विधिवत रूपमा युद्ध समाप्तिको घोषण गरियो र क्रान्ति सम्पन्न भइसकेको बकवास गरियो । यसअर्थमा उनीहरूलाई अपराधी घोषणा गर्नु असान्दर्भिक र अस्वाभाविक हुँदैन ।
साँच्चै हो, केहीका लागि अब क्रान्ति सम्पन्न भइसक्यो । ती जमिनदार र दलाल पुँजीपतिवर्गका सेवक बनेका छन्, तिनले क्रान्तिप्रति गद्दारी गरिसकेका छन् र ती भारतीयविस्तारवाद र अमेरिकी साम्राज्यवादका बफादार पात्र बन्न थालेका छन् । ति एकातिर मधेशका सामन्त र डलरवादी- जातियतावादीहरूको प्यादा बनेर उखारमाउलो मच्चाइ रहेका छन् l त्यसैगरी क्रान्तिका कुरा गर्ने, तर एकएक बहाना गरेर सुधारवाद र दक्षिणपन्थी अवसरवादसितको सम्बन्ध विच्छेद गर्न नचाहने, उनीहरूकै वरिपरी रल्लिने प्रवृत्ति पनि नवसारसङ्ग्रहवादी चरित्रका साथ क्रियाशील हुनथालेको देखिन्छ । यसप्रति पनि खबरदारी गर्दै अब सही अर्थका माओवादी क्रान्तिकारीहरू नयाँ परिचय र कार्यक्रमका साथ अगाडि आउनु जरुरी छ ।

 

‘विद्रोह गर्नु जायज छ’ को मूल्य र मान्यतालाई व्यवहारमा रूपान्तरण गरेर मात्र सही अर्थमा अघि बढ्न सकिन्छ । सबैखाले अवसरवादसितको निर्णायक सम्बन्धविच्छेदबिना यो कार्य सम्भव छैन । विसर्जनवाद खतरनाक किसिमले सक्रिय हुनथालेको छ l जनयुद्धको दिशालाई आत्मसात नगरी नेपाली जनताको मुक्ति सम्भव छैन भन्ने यथार्थप्रति हामी सबै प्रस्ट हुनु आवश्यक छ l
यस यथार्थलाई आत्मसात नगर्नुको अर्थ एक वा अर्को किसिमले विसर्जनकै बाटोमा जानु हो । त्यसैले, आउनुहोस्, मार्क्सवाद–लेनिनवाद– माओवादको झन्डा माथि उचार्लौं, सबैखाले अवसरवाद र सारसङ्ग्रहवादको भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौँ l

फागुन १, २०७१

ऋषिराज बराल
क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मंच

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.